कन्काई विकास बैंकको साधारणसभा माघ १६ मा, बोनस सेयर वितरण गर्ने
काठमाडौं । कन्काई विकास बैंकको ११ औं साधारणसभा माघ १६ गते हुने भएको छ । सभाले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई २ करोड ९० लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने छ । बैं कको चुक्तापुँजी वृद्धि गरी ५० करोड रुपैयाँ पुर्याउने प्रस्ताव सभाले अनुमोदन गर्नेछ । सञ्चालक समितिको संख्या घटाई ७ जना मात्र हुन व्यवस्था सभामा पेश हुनेछ । बैंकलाई अन्य संस्थामा गाभ्ने वा प्राप्ति गर्ने सम्बन्धित काम अघि बढाउनका लागि सभाले सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्ने कार्यक्रम रहेको बैंकले जानकारी दिएको छ ।
अधिक तरलता भएपछि राष्ट्र बैंकले आज २ अर्ब बजारबाट उठाउदै
काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता रहेको भन्दै नेपाल राष्ट्र बैंकले आज सोमबार २ अर्ब रुपैयाँ बजारबाट उठाउने भएको छ ।केन्द्रीय बैंकले दुई साताका लागि निक्षेप संकल वित्तीय औजारमार्फत बोलकबोलबाट पैसा उठाउन लागेको हो । न्युनतम ब्याजदर ३ प्रतिशत तोकिएको छ । बजारमा तरलताको अवस्था सहज बन्दै गएको अनुमानका आधारमा सोमबार परीक्षणका लागि निक्षेप संकलन गर्न लागेको हो । यो रकम माघ ८ गते फिर्ता हुने छ । राष्ट्र बैंकले सरकारको विकास ऋणपत्र सिधै खरिद गर्ने उपकरणमार्फत बजारमा पैसा पठाएपछि आइतबारसम्म तरलता बढेर ५१ अर्ब रुपैयाँ पुगेको छ । तरलता नभएर लगानी गर्न नपाएपछि राष्ट्र बैंकले ४ पटक गरेर २७ अर्ब ६३ करोड रुपैयाँ बजारमा पठाएको थियो । आइतबार बैंकहरुले ब्याजदर करिडोरको सीमा नाघेर ३ प्रतिशत भन्दा तल ब्याजदर प्रस्ताव गरेपछि राष्ट्र बैंकले आज बजारबाट पैसा तान्न लागेको हो । आइतबार १० अर्ब रुपैयाँ बजारमा पठाउने राष्ट्र बैंकले तयारी गरेपनि ६ अर्ब ५३ करोड २७ लाख रुपैयाँ माग भएको थियो । अधिकाँश बैंक तथा वित्तीय संस्थाले ३ प्रतिशत भन्दा कम दर प्रस्ताव गरेपछि २ अर्ब ६३ करोड २७ लाख रुपैयाँ मात्र बजारमा पठाएको हो । राष्ट्र बैंकले गत वर्ष पनि यस्तै समस्या आएपछि सिधै विकास ऋण खरिद उपकरणमार्फत ८ अर्ब ७५ करोड रुपैयाँ बैकिङ प्रणालीमा पठाएको थियो । बजारमा लगानीयोग्य पुँजीको अभाव भएको बैंकहरुले बताइरहदा राष्ट्र बैंकले रिपो जारी गर्न पाएको छैन् ।अन्तर बैंक ब्याजदर ३ प्रतिशत भन्दा तल झरेको छ । यस कारण राष्ट्र बैंकले रिपो निष्कासन गर्न नपाएको हो । अन्तर बैंक ब्याजदर ५ प्रतिशतबाट माथि गएपछि केन्द्रीय बैंकले रिपो वित्तीय उपकरणमार्फत बजारमा पैसा पठाएर हस्तक्षेप गर्छ । अन्तर बैंक ब्याजदर नबढेकाले बजारमा अधिक तरलता रहेको राष्ट्र बैंकको भनाई छ । सरकारले खर्च गर्न नसक्दा ढुकुटीमा ३ खर्ब २८ अर्ब रुपैयाँ वचतमा छ । यो महिना सरकारले कुल राजश्व लक्ष्यको ४० प्रतिशत उठाउदै छ । अर्बौ रुपैयाँ करको रुपमा ढुकुटीमा थपिदै छ ।
नेपाल लाइफ इन्स्योरेन्स र एभरेष्ट बैंकमा लगानीकर्ता झुम्मिए, यस्तो छ कारण
काठमाडौं । सेयर बजार सामान्य अंकले बढेसँगै लगानीकर्ताकाे आकर्षण दुई कम्पनीमा भएको छ । लगानीकर्ता झुम्मिएपछि आइतबार नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड र एभरेष्ट बैंकको सेयर कारोबार बढी भएको छ । नेपाल लाइफले गत आर्थिक वर्षमा गरेको नाफाबाट दिने लाभांश घोषणा गर्ने समय नजिकिदै गएपछि सेयर किनबेच बढेको छ । नेपाल लाइफले न्युनतम ४५ देखि ६० प्रतिशतसम्म लाभांश दिने आशमा लगानीकर्ता झुम्मिएका हुन् । आइतबार नेपाल लाइफको प्रतिकित्ता १ हजार ८२२ रुपैयाँमा ५ करोड २७ लाख ६४ हजार रुपैयाँको सेयर किनबेच भएको छ । नेपाल लाइफको २९ हजार ५१५ कित्ता सेयर किनबेच भएको छ । आइतबार नेपाल लाइफको सेयर प्रतिकित्ता ९२ रुपैयाँ बढेको छ । गत बिहीबार नेपाल लाइफको सेयर १ हजार ७३० रुपैयाँमा किनबेच भएको थियो । यस्तै एभरेष्ट बैंकको सेयर किनबेच बढेको छ । आइतबार एभरेष्टको सेयर प्रतिकित्ता ८७५ रुपैयाँमा १ करोड ९५ लाख ४७ हजार रुपैयाँको कारोबार भएको छ । एभरेष्टको २२ हजार ३५२ रुपैयाँको सेयर किनबेच भएको छ । एभरेष्टको सेयर सस्तो भएको र आगामी दिनमा भाउ बढ्ने अनुमानका आधारमा लगानीकर्ताले सेयर खरिद गरेका हुन् । नेपाल लाइफ र एभरेष्ट बैंकको वित्तीय अवस्था मजवुत रहेको छ । जीवन बीमा व्यवसायमा नेपाल लाइफ अग्रस्थानमा रहेको छ । यस्तै बैंकिङ क्षेत्रमा एभरेष्टको अवस्था पनि बलियो नै छ । दुबै संस्थाको वित्तीय अवस्था र लगानीकर्तालाई दिने प्रतिफल पनि उच्च छ । यस्तै स्ट्याण्डर्ड चाटर्ड बैंकको पनि प्रतिकित्ता १ हजार ५८ रुपैयाँमा १ करोड ४६ लाख ३७ हजार रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै नागवेली लघुवित्त विकास बैंकको संस्थापक सेयर किनबेच भएको छ । नागवेलीको संस्थापक सेयर प्रतिकित्ता १ हजार ३ सय रुपैयाँमा १ करोड ३० लाख कित्ता कारोबार भएको छ ।
सेयर बजारमा ८ अंकको वृद्धि, बीमा समूह १६५ अंकले उक्लियो
काठमाडौं । आइतबारको सेयर बजारमा करिब ८ अंकको वृद्धि भएको छ । सो दिन नेप्से परिसूचक ७.९७ अंकले बढेर १४३१.८० अंकमा पुगेको छ । बजार नेप्से परिसूचकमा सुधार भएतापनि कारोबार रकममा भने गिरावट आएको छ । आइतबारको बजारमा कुल १५७ कम्पनीको जम्मा ३६ करोड १६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आइतबार सबैभन्दा बढी मल्टिप्रपोज फाइनान्स कम्पनीका लगानीकर्ताले करिब १० प्रतिशत कमाएका छन् । सो दिन यस कम्पनीको सेयर मूल्य ९.९७ प्रतिशतले बढेर प्रतिकित्ता ३४२ रुपैयाँ पुगेको छ । जुन अघिल्लो कारोबारको तुलनामा ३१ रुपैयाँ बढी हो । त्यस्तै, बीमा समूहको परिसूचक १६५ अंकले उकालो लागेको छ । त्यस्तै, माइक्रोफाइनान्सको २०, होटलको १४ र उत्पादनमूलकको १० अंकले परिसूचक बढेका छन् । बजारमा फाइनान्स र अन्य समूहको परिसूचक भने क्रमशः १.१४ र ०.५७ अंकले ओरालो लागेका छन् । उता ट्रेडिङ समूह भने स्थिर छ ।
बोनस सेयरपछि तीन कम्पनीको सेयर मूल्य समायोजन
काठमाडौं । आइतबार मात्रै विभिन्न तीन कम्पनीको सेयर मूल्य समायोजन भएको छ । सो दिन अपी पावर कम्पनी, सप्तकोशी डेभलपमेन्ट बैंक र कञ्चन डेभलपमेन्ट बैंकको बोनस सेयर पछिको सेयर मूल्य समायोजन भएको हो । अपी पावरको ८ प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन भएको छ । समायोजन पछि कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४३५ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता ४११ रुपैयाँ रहेको थियो । त्यस्तै, सप्तकोशी डेभलपमेन्ट बैंकको ४.७८२ प्रतिशत बोनस पश्चात कम्पनीको सेयर मूल्य समायोजन गरेको छ । समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता १४० रुपैयाँ रहेको छ । त्यसैगरी, कञ्चनको पनि १२.३३ प्रतिशत बोनस सेयर पछिको सेयर मूल्य समायोजन भएको छ । जसको समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता २१० रुपैयाँ रहेको छ ।
जबजको च्याप्टर क्लोज भएको छैन- राजेन्द्र राई
खासमा जबज क्रान्तिपछिकै लागि निर्माण गरियो भने क्रान्ति लगत्तै यो कसरी क्लोज हुन्छ ? कम्यूनिष्टहरू फुट्नै हुँदैनथ्यो त्यसैले जुट्नु धेरै खुशीको कुरा हो तर एकताको नाममा गर्न नपर्ने र गर्न नहुने कुरा गर्न बेमनासिब हुन्छ, त्यस्तै बेमनासिब काम जबजमाथि अनावश्यक रूपमा धावा बोलेर भइ रहेको छ । जबजको महत्वपूर्ण २ पक्ष छनः एक–क्रान्ति पूर्वको सन्दर्भमा वा क्रान्तिको बाटोको सन्दर्भमा । दुई– क्रान्तिपछिको सन्दर्भमा वा क्रान्तिपछि कस्तो शासन व्यवस्था, प्रणाली रहने भन्ने सन्दर्भमा । १) क्रान्तिको सन्दर्भमा जबजको मान्यता हो, क्रान्ति शान्तिपूर्ण बाटोबाट नि संभव छ अथवा शान्तिपूर्ण बाटोको संभावना रहेसम्म त्यसै बाटोबाट हिड्नुपर्छ, अरूको नक्कल गरेर वा रहर गरेर जनयुद्धको, हिंसाको बाटोमा लाग्नु अनुचित हुनेछ । २) क्रान्तिपछिको व्यवस्था, शासन प्रणाली बहुदलीय रहने भन्ने जबजको मान्यता हो । खसोखास भन्ने हो भने जबज भन्ने नामले, शब्दावलीले क्रान्तिपछिकै शासन व्यवस्थालाई ईँगित गर्छ । हो क्रान्ति सम्पन्न भई सकेको सन्दर्भमा क्रान्तिको बाटो सन्बन्धमा जबजले राखेको मान्यताको सान्दर्भिकता समाप्त भयो भन्न सकिन्छ । तर, क्रान्ति पछिको सन्दर्भमा वा क्रान्तिपछिको शासन व्यवस्था, प्रणालीको सन्दर्भमा जबजको मान्यता यति छिट्टै, क्रान्ति लगत्तै, क्रान्तिलाई कानूनी रूपमा समेत व्यबस्थित गरी नसक्दै कसरी असान्दर्भिक हुन सक्छ ? यदि हुन्छ भने के कम्यूनिष्टहरूले सकेको दिन एक दलियता लाद्ने हो ? श्रमजीवी जनताको अधिनायकत्वको नाममा कम्यूनिष्ट पार्टीको अधिनायकत्व लाद्ने हो ? विचार र कामको प्रतिस्पर्धामा श्रेष्ठता हासिल गरेर शासन गर्ने बाटो छाडेर बलपूर्बक अरू विचार, पार्टी, शक्तिलाई दबाएर शासन गर्ने बाटोमा जाने हो ? यसो गर्ने होईन भने अथवा अहिले हामीले एक दलियता लाद्न नसक्ने भएको कारणले मात्र बहुदलियता मानेको होइन, वर्गहरू रहेसम्म फरक फरक विचार र पार्टीहरू रहनेछन् । फरक विचार र पार्टीहरूलाई बलपूर्बक दमन गरेर जनताको नाममा शासन गर्ने होइन । विचार र काममा, प्रतिस्पर्धामा श्रेष्ठता हासिल गरेर मात्र शासन गर्नुपर्छ । सत्तामा बस्नुपर्छ भन्ने मान्यता राख्ने हो भने जबजको सान्दर्भिकता सकिएको छैन, च्याप्टर क्लोज भएको छैन । जबजका थप १४ बिशेषताहरू–आवधिक निर्वाचन, बहुमतको शासन अल्पमतको प्रतिपक्ष, कानूनको शासन, संविधानको सर्वोच्चता, शक्ति पृथकीकरणको सिद्धान्त, नेतृत्व र अधिनायकत्व आदिको पनि सान्दर्भिकता सकिने कुरै भएन । यी बिशेषताहरू सामान्य लागे पनि विगतमा कतिपय कम्युनिष्ट मुलुकहरूमा तिनीहरूको कार्वान्वयनमा कमजोरी रहन गयो, त्यसैले जवजले बिशेष र बेग्लै ब्याख्या सहित तिनीहरूलाई प्रतिबद्धताको रूपमा महत्वका साथ समावेश गरेकोले बिशेष मान्न सकिन्छ । निष्कर्षमा जबजले क्रान्ति अघिको बाटो मात्र होइन क्रान्ति पछिको बाटो पनि देखाएकोले जबजमाथि धावा बोल्नुको साटो त्यसले देखाएको बाटोमा हिँडे नेपालका कम्यूनिष्ट पार्टीहरू नअलमली गन्तव्यमा पुग्न सक्छन् । हो समय र परिस्थिति अनुसार जबजलाई पूर्णता दिँदै जान सकिनेछ, पर्नेछ ।
शिवम् सिमेन्टको कीर्ति समारोह सम्पन्न, ६४ डिलर तथा बिक्रेतालाई विभिन्न विधाका अवार्ड
काठमाडौं । शिवम् सिमेन्टले आफ्नो ‘कीर्ति समारोह २०७४’ सम्पन्न गरेको छ । शुक्रबार सम्पन्न उक्त समारोह मार्फत सिमेन्टले आफ्नो उत्कृष्ट ६४ डिलर तथा बिक्रेताहरुलाई विभिन्न विधाका अवार्डबाट सम्मानित गरेको थियो । उक्त समारोहमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहेको थियो । राष्ट्रिय कलाकारहरुमा स्वस्तिमा खड्का, हेमन्त राना, कार्टुन क्रुज जस्ता लोकप्रियनामहरु समावेश थिए भने अन्तर्राष्ट्रिय कलाकारमा भारतीय सुपरिचित हास्य वंग्य कलाकार डा. महसुर गुलाटी अर्थात सुनिल ग्रोबरको प्रस्तुती रहेको थियो । उक्त समारोहलाई सम्बोधन गर्ने क्रममा शिवम् सिमेन्टका अध्यक्ष सुरेन्द्र्रकुमार गोएलले आफ्ना सम्पूर्ण बिक्रेता तथा डिलर साथीहरुलाई अझ मेहेनत गरी लगनका साथ शिव्म सिमेन्टलाई नेपालको मात्र नभई दक्षिण एसिया कै नं. १ सिमेन्ट बनाउनका लागि आवहन गरेका थिए । त्यसैगरी, उक्त कार्यक्रमका नेशनल डाईमण्ड अवार्ड विजेता सोहन मुरर्काले यस्तो कार्यक्रमहरुको आयोजनाले डिलर्सहरुलाई थप उत्साहित बनाउने र भविष्यमा दिगो मेहनत गर्न प्रेरित गर्ने बताएका छन् ।
काठमाडौंको तापक्रम शून्य डिग्रीमा, चिसो अझै बढ्ने अनुमान
काठमाडौं । काठमाडौंको न्यूनतम तापक्रम शून्य डिग्रीमा झरेको छ । काठमाडौं उपत्यकाको तापक्रम घटेसँगै आइतबार यस वर्षकै बढी चिसो महसुस गरिएको छ । उपत्यकासहित देशभर चिसो बढेको छ । तराई क्षेत्रमा बाक्लो हुस्सुले जनजीवन प्रभावित बनेको छ । काठमाडौंको आइतबारको न्यूनतम तापक्रम ० र बिहान ११ बजेको तापक्रम १४ डिग्री सेल्सियस रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसअघि पुुस २० देखि २२ गतेसम्म निरन्तर काठमाडौंको तापक्रम १ डिग्रीको हाराहारीमा पुगेको थियो । उपत्यकाको तापक्रम अझै एक दुई दिन स्थिर (शून्य डिग्री) रहने मौसमविद् शान्ति कँडेलले जानकारी दिए । उनका अनुसार आइतबार पनि तराई क्षेत्रमा बाक्लो हुस्सु लागेको छ । चिसो अझै बढ्ने अनुमान गरिएको छ । सबैभन्दा कम जुम्लामा आज ऋणात्मक ८ दशमलव ७ तथा सबैभन्दा बढी विराटनगर र नेपालगञ्जमा ८–८ डिग्री सेल्सियस छ । रासस