नेको इन्स्योरेन्सलाई ५० प्रतिशत हकप्रद निष्कासन गर्न बोर्डकाे अनुमति
काठमाडौं । नेको इन्स्योरेन्सलाई ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ । कम्पनीले अंकित मूल्य १०० रुपैयाँका दरले ३९ लाख २० हजार कित्ता सेयर निष्कासन गर्ने भएको छ । इन्स्योरेन्सले बिक्री प्रबन्धक एनएमबी क्यापिटल मार्फत ३९ करोड २० लाख रुपैयाँ बराबरको सेयर जारी गर्न बोर्डको अनुमति पाएको हो । मंगलबार मात्रै कम्पनीलाई सो मात्राको हकप्रद निष्कासन गर्न बोर्डले अनुमति दिएको हो । हाल कम्पनीको चुक्ता पुँजी ७८ करोड ४१ लाख रुपैयाँ रहेको छ । ५० प्रतिशत हकप्रद पश्चात कम्पनीको पुँजी एक अर्ब १७ करोड रुपैयाँ पुग्ने छ । मंगलबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८६२ रुपैयाँ रहेको थियो ।
एसियन लाइफ इन्स्योरेन्सको माघ ८ गते बुक क्लोज, ५० प्रतिशत हकप्रद जारी गर्दै
काठमाडौं । एसियन लाइफ इन्स्योरेन्स कम्पनीको आगामी माघ ८ गते बुक क्लोज हुने भएकाे छ । गत २५ गते बसेको कम्पनी सञ्चालक समितिको बैंठकले हकप्रद सेयर जारी गर्ने प्रयोजनको लागि बुक क्लोज गर्ने निर्णय गरेको हो ।कम्पनीले ५० प्रतिशत हकप्रद सेयर जारी गर्दै छ । हाल कम्पनीको चुक्ता पुँजी ८० करोड ५५ लाख रुपैयाँ रहेको छ । ५० प्रतिशत हकप्रद पश्चात कम्पनीको पुँजी एक अर्ब २० करोड रुपैयाँ पुग्ने छ । बुधबार कम्पनीको सेयर मूल्य करिब प्रतिकित्ता १४४८ रुपैयाँमा कारोबार भइरहेको छ ।
मेगा बैंकले ९.४५ प्रतिशत बोनस सेयर दिने
काठमाडौं । मेगा बैंक नेपालले ९.४५ प्रतिशत बोनस सेयर दिने भएको छ । पुस २५ गते बसेको बैंक सञ्चालक समितिले गत आवको नाफाबाट लगानी कर्तालाई सो मात्रामा बोनस सेयर दिने निर्णय गरेको हो । बैंकले गत आवमा ७९ करोड १४ लाख नाफा कमाएको थियो । बैंकले ६९ करोड ७१ लाख २ हजार १ सय ६८ रुपैंयाँ बराबरको बोनस सेयर दिने भएको हो । हाल बैंकको चुक्ता पुँजी ७ अर्ब ३७ करोड ६७ लाख रुपैंयाँ रहेको छ । बोनस सेयर वितरण गरेपछि बैंकको चुक्ता पुँजी ८ अर्ब ७ करोड पुग्नेछ ।
विश्व बजार जोड्ने रेलवे नेटवर्क, कहाँ पुग्यो काम ?
काठमाडौं । सम्भावित प्रधानमन्त्रीका रुपमा हेरिएका एमाले अध्यक्ष केपी ओलीले रसुवागढी नाका पुगेर चिनियाँ रेल यहिँबाट नेपाल आउँछ भनिदिए । ओलीकै अगुवाईमा केरुङ–काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्गको अध्ययनका लागि चिनसँग सम्झौता भैसकेको छ । यस बाहेक काठमाडौं–बिरगञ्ज विद्युतिय रेलमार्गको सम्भाव्यता अध्ययनका लागि आव्हान गरिएको ग्लोबल टेण्डरबाट ६ वटा कम्पनीलाई प्रारम्भिक छनौट गरिसकिएको छ । र ती कम्पनीमध्येबाट पनि सम्भाव्यता अध्ययनका लागि अन्तिम छनौट तत्कालै अघि बढ्दैछ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा अघि बढाइएको मेची महाकाली रेल मार्गको ६१९ किलोमिटर डिपिआर तयार भएको छ । रेल विभागले गत नोभेम्बर २० तारिखका दिनसम्ममा ६१९ किलोमिटर क्षेत्रको डिपिआर तयार पारेको हो । यसरी केरुङबाट काठमाडौं आउने रेलले नेपाललाई चीनसहित रसिया र पुर्वी युरोपको बजारसम्म जोड्नेछ । त्यस्तै झापाको काकडभिट्टामा आउने रेलले मध्यपुर्व एसियासँग जोड्नेछ । कञ्चनपुरको गड्डाचौकीबाट भारत जाने रेलले नेपाललाई पश्चिम युरोपसम्म जोड्नेछ । ‘केरुङबाट नेपाल आउने रेल र पुर्वपश्चिम रेल वे नेटवर्क दिर्घकालिन समृद्धिसँग जोडिएको छ, यसले नेपाललाई विश्व बजारमा जोड्छ’, रेल विभागका सिनियर डिभिजनल इञ्जिनियर प्रकाशभक्त उपाध्यायले भने । उपाध्यायका अनुसार पुर्वी नाका काकडभिट्टादेखि वुटवलसम्मको डिपिआर तयार भएको छ भने वुटवलदेखि पश्चिमी नाका गड्डा चौकीसम्मको ४२१ किलोमिटर रेलमार्गको डिपिआर निर्माण धमाधम अघि बढेको छ । ‘वुटवलदेखि पुर्व तर्फको डिपिआर तयार भैसकेको छ, अब वुटवलदेखि गड्डा चौकीसम्मको डिपिआर पनि एक बर्षभित्रै तयार पर्ने गरि धमाधम काम भैरहेको छ’, उपाध्यायले भने । विभागले बर्दिबासदेखि काकडभिट्टा खण्डको २४७ किलोमिटरको डिपिआर तयार पारेको छ । त्यस्तै, बर्दिबास–सिमरा–तम्सारिया–बुटवल खण्डको ३७२ किलोमिटर डिपिआर पनि तयार भैसकेको छ । सोही खण्डको बर्दिबास–लालबन्दीको ३० किलोमिटरमा ट्रयाक बेड,पुल पुलेसा निर्माणको काम सम्पन्न भैसकेको छ । लालबन्दीदेखि सिमरासम्मको ७८ किलोमिटरको काम पनि चालु आर्थिक बर्षमा सुरु भएको छ । क्रस बोर्डर रेल वे नेटवर्क भारत सरकारको सहयोगमा जयनगर–जनकपुर– बर्दिवास ६९ किलोमिटरमध्ये जयनगर–जनकपुर बिजुलपुराको ५२ किलोमिटरमा ट्रयाक बेड तथा स्ट्रक्चरको काम सम्पन्न भैसकेको छ । सो खण्डमा अब रेलको डब्बा राखेर गुडाउन सकिने अवस्था निर्माण भैसकेको छ । त्यस्तै, बिजुलपुरा–बर्दिबासको १७ किलोमिटर क्षेत्रमा जग्गा अधिग्रहणको प्रक्रिया पनि अघि बढेको छ । कटहरी–विराटनगर–बथनाहाको १८ किलोमिटरको पनि ट्रयाक बेड तथा स्ट्रकचरको काम धेरै अघि बढिसकेको छ । मध्यपश्चिमको नेपालगञ्जदेखि भारतको नेपालगञ्ज रोडसम्मको १५ किलोमिटर रेल मार्ग, भैरहवादेखि नौतन्वासम्मको १२ किलोमिटर र न्यु जलपाइगुडीदेखि काकडभिट्टासम्मको रेल वे नेटवर्क निर्माणको काम पनि अघि बढेको छ । कति लाग्छ लागत ? तराईमा निर्माण हुने रेलमार्गका औषत लागत प्रति किलोमिटर ४० करोड लाग्छ । पहाडमा पुलमा बनाईने रेलमार्गको निर्माण लागत तराईको भन्दा तीन गुणा बढि अर्थात करिब १ अर्ब २० करोड पर्ने अनुमान गरिएको छ । त्यस्तै, सुरुङ मार्फत निर्माण हुने रेलमार्गको लागत पुलको भन्दा तीन गुणा बढि अर्थात प्रति किलोमिटर ३ अर्ब ६० करोडसम्म पर्छ । बामपन्थी रेल सपना सरकार गठनको तयारीमा रहेको बामपन्थी गठबन्धनले निर्वाचन पुर्व आगामी पाँच बर्षमा २३४५ किलोमिटर विद्युतिय रेलमार्ग बनाउने प्रतिवद्धता व्यक्त गरेको थियो । अब बामपन्थीहरुले नै आगामी पाँच बर्षसम्म सत्ता सञ्चालन गर्ने देखिन्छ । बामपन्थीहरुले पाँच बर्षभित्र रसुवागढी–काठमाडौं–बिरगञ्ज रेलमार्ग, पुर्वपश्चिम रेलमार्ग र मध्यपहाडी लोकमार्गमा तिब्रगतिको विद्युतिय रेलमार्ग निर्माण गर्ने बताएका छन् । ‘आगामी ५ बर्षमा पुर्व पश्चिम राजमार्ग, पुर्व पश्चिम औद्योगीक करिडोर राजमार्ग, मध्यपहाडी लोकमार्गहरुका समानान्तरमा तिब्र गतिको विद्युतिय रेलमार्ग सञ्चालन गरिनेछ । त्यसै गरि यसै अवधीमा रसुवागढी–काठमाडौं–बिरगञ्जमा तिब्रगतिको विद्युतिय रेलमार्ग सञ्चालन गरिनेछ’, बामपन्थी घोषणा पत्रमा भनिएको छ । यो सबै रेलको लम्बाई करिब २३४५ किलोमिटर हुन आउँछ । हाल धमाधम काम भैरहेको पुर्वपश्चिम रेलमार्गको लम्बाई ९४५ किलोमिटर रहेको छ । पुष्पलाल मध्यपहाडी लोकमार्गको लम्बार्ई १७७६ किलोमिटर छ । यसमा रेल मार्ग निर्माण गर्दा करिब १२०० किलोमिरटको हुन सक्ने रेल विभागका सिडिई प्रकाशभक्त उपाध्यायले बताए । रसुवागढी–काठमाडौं–बिरगञ्ज विद्युतिय रेलमार्गको लम्बाई २०० किलोमिटर हुने पनि उनले बताए । के के सम्भव छ पाँच बर्षमा ? रेल विभागका सिडिई उपाध्यायका अनुसार आगामी पाँच बर्षमा पुर्व पश्चिम रेलमार्गको केहि खण्डमा रेल सञ्चालन गर्न सकिन्छ । रसुवागढी–काठमाडौं रेलमार्गको डिपिआर तयार भएर निर्माण कार्य समेत केहि अघि बढिसकेको हुनेछ । काठमाडौं–बिरगञ्ज विद्युतिय रेलमार्ग निर्माणका लागि सम्भाव्यता अध्ययन गर्न ६ वटा कम्पनीलाई प्रारम्भिक छनौट गरिसकिएको छ । आगामी पाँच बर्षभित्र यसको पनि डिपिआर तयार भएर निर्माण कार्य अघि बढिसकेको हुनेछ । ९४५ किलोमिटर पुर्व पश्चिम रेलमार्ग सञ्चालनका अलवा भारतीय नाकासम्म पुग्ने रेलमार्ग पनि आगामाी पाँच बर्षभित्र निर्माण गरेर सञ्चालन गर्न सम्भव तर त्यसका लागि सरकार लगानी भने जुटाउनुपर्नेछ । ‘बामपन्थीहरुको रेल सपना अलि महत्वकांक्षी छ तर दृढ इच्छाशक्ति राखेर काम गर्ने भने हो पाँच बर्षमा धेरै गर्न सकिन्छ’, उपाध्यायले भने । फास्ट ट्रयाकमा काम गर्ने हो भने आगामी पाँच बर्षमा उपत्यकामा मेट्रो रेलको निर्माण पनि निकै अघि बढिसक्नेछ ।
एभरेष्टको सेयर खुल्ने वित्तिकै १० प्रतिशतले घट्यो, किन्ने कोहि छैनन्, बेच्नेहरु लाइनमा
काठमाडौं । बुधबार सेयर बजार खुल्ने वित्तिकै एभरेष्ट इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशतले घटेको छ । सेयर कारोबार खुल्ने वित्तिकै एभरेष्टको सेयर बेच्नेहरुको ठुलो संख्या बढेपछि कम्पनीको मूल्य १० प्रतिशतले घटेर कारोबार बन्द भएको हो । ४ हजार ७ सय ५४ कित्ता सेयर बिक्रिमा राखिए पनि कुनै लगानी कर्ता खरिद गर्न निस्किएनन् । एभरेष्टको सेयर मूल्य २१९ रुपैंयाँले घटेर १९७१ रुपैंयाँमा आईपुगेको छ । मंगलबार पनि एभरेष्टको सेयर मूल्य २४३ रुपैंयाँले घटेको थियो । कम्पनीले पुर्व घोषित ६ सय प्रतिशत हकप्रद सेयर निष्काशन गर्न नपाउने भएपछि लगानी कर्ता निरास बनेका छन् । हाल सबै साधारण सेयर मात्रै रहेको कम्पनीले अब संस्थापक र साधारण सेयरको अनुपात ५१ः४९ बनाउनै पर्ने भएको छ । सो सेयर संरचना कायम गराउँदा पुर्व घोषित ६ सय प्रतिशतको हकप्रद सेयर निष्काशन गर्न नपाउने भएको हो ।
श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको हकप्रद माघ १५ देखि
काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको हकप्रद सेयर माघ १५ देखि बिक्रि सुरु हुने भएको छ । कम्पनीले प्रति १० कित्ता बराबर ८.३ कित्ताको अनुपातमा एक सय रुपैंयाँ दरका २८ लाख ६८ हजार २ सय २५ कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो । सेयर निष्काशनका लागि कम्पनीले सिद्धार्थ क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरिसकेको छ । पुस २९ गतेसम्म नेपाल स्टक एक्सचेञ्जबाट सेयर खरिद गरेका लगानी कर्ताहरुले हकप्रद सेयर भर्न पाउँनेछन् ।
सिभिल बैंकको हकप्रदको म्याद थपियो, माघ १२ गतेसम्म आवेदन दिन पाउने
काठमाडौं । सिभिल बैंकको हकप्रद सेयर निष्कासन तथा बिक्री खुलाको समय थप भएको छ । सिभिलको हकप्रद बिक्रीको समय बढाएर माघ १२ गतेसम्म तोएिको बिक्रीप्रवन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले जनाएको छ । यसअघि पुस २७ गते बिहीबारसम्म हकप्रद निष्कासनको अन्तिम समय तोकिएको थियो । बैंकले चुक्तापुँजी बढाएर ८ अर्ब रुपैयाँ पुर्याउन ४० प्रतिशत अर्थात २ अर्ब ७ करोड ४० लाख रुपैयाँ बराबरको २ करोड ७ लाख ४० हजार कित्ता हकप्रद निष्कासन गरेको हो ।
पञ्चकन्या हाइड्रोपावरले माघ ५ गतेदेखि आईपीओ निष्कासन गर्ने
काठमाडौं । पञ्चकन्यामाई हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीय बासिन्दालाई साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले माघ ५ गतेदेखि ११ करोड रुपैयाँ बराबरको ११ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । आईपीओ निष्कासन बन्द माघ १९ गतेसम्मपछि हुने छ । न्युनतम २० र अधिकतम ५ हजार ५ सय कित्तासम्म दरखास्त दिन पाउने कम्पनीले जनाएको छ । स्थानियबासिन्दाको आईपीओ बाँडफाँडपछि सर्वसाधारणलाई निष्कासन गर्ने कम्पनीले जनाएको छ । आयोजना प्रभावित स्थानीय बासिन्दालाई निष्कासन गर्न लागेको आईपीओ मध्ये सन्दकपुर गाउँपालिकाका स्थानियबासिन्दालाई ६ करोड ६ लाख रुपैयाँ बराबरको ६ लाख ६ हजार र इलाम नगरपालिकाका बासिन्दालाई ४ करोड ४० लाख रुपैयाँ बराबरको आईपीओ पाउने निष्कासन तथा बिक्रीप्रवन्धक सनराइज क्यापिटलले जनाएको छ । सेयर बाँडफाँड भएको मितिले ३ वर्षसम्म बिक्री र हस्तान्तरण गर्न नपाइने व्यवस्था गरिएको सनराइजले जनाएको छ । कम्पनीले इलाममा ६ मेगावाटको जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ ।