९४ करोड ३ लाखको हकप्रद सेयर आउँदै, एकैदिन तीन कम्पनीले पाए बोर्डको अनुमति
काठमाडौं । विभिन्न ३ कम्पनीले ९४ करोड ३ लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्ने भएका छन् । नेपाल धितोपत्र बोर्डले एसियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड, फष्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड र कामना सेवा विकास बैंकलाई ९४ लाख ३ हजार कित्ता सेयर निष्काशन गर्न अनुमति दिएको हो । चुक्तापुँजी बढाउन कम्पनीले हकप्रद निष्कासन गर्न लागेका हुन् । एसियन लाइफलाई ५० प्रतिशत(अर्थात २ः१ को अनुपातमा) हकप्रद निष्कासन गर्ने भएको छ । कम्पनीले ४० करोड २७ लाख रुपैयाँ बराबरको ४० लाख २७ हजार कित्ता सेयर निष्कासन गर्ने भएको हो । इन्स्योरेन्सको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबीएल क्यापिटल मार्केट लिमिटेड रहेको छ । त्यस्तै, फष्ट माइक्रोफाइनान्सले पनि ५० प्रतिशत अर्थात २२ करोड ८१ लाख रुपैयाँ बराबरको हकप्रद निष्कासन गर्न बोर्डको अनुमति पाएको छ । संस्थाले २२ लाख ८१ हजार कित्ता सेयर निष्कासन गर्ने भएको छ । संस्थाको बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड छ । कामना सेवा विकास बैंकले चुक्तापुँजी वृद्धि गर्न १५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । बैंकले एनएमबी क्यापिटल मार्फत ३० करोड ९४ लाख रुपैयाँ बराबरको सेयर निष्काशन गर्न बोर्डको अनुमति पाएको छ । यस्तै सिनर्जी फाइनान्स लिमिटेडले चुक्तापुँजी बढाउन ११ करोड ८६ लाख रुपैयाँ बराबरको ११ लाख ८६ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्नका लागि बोर्डमा निवेदन दिएको छ । चालु आर्थिक वर्ष सुरु भएयता २९ कम्पनीले १७ अर्ब १३ करोड रुपैयाँ बराबरका हकप्रद सेयर निष्काशन गर्न अनुमति पाएका छन् । यी सबै कम्पनीले आफ्नो चुक्ता पुँजी वृद्धि गर्नको लागि हकप्रद सेयर जारी गर्ने प्रक्रिया अघि बढाएका हुन् ।
कामना सेवा विकास बैंकको माघ ३ गते बुक क्लोज, हकप्रद सेयर जारी गर्दै
काठमाडौं । कामना सेवा विकास बैंकको आगामी माघ ३ गते बुक क्लोज हुने भएको छ । बैंकले हकप्रद सेयर जारी गर्ने प्रयोजनको लागि उक्त एक दिनका लागि सेयर नामसारी तथा दाखिल खारेज बन्द गर्न लागेको हो । यस बैंकले हाल कायम चुक्ता पुँजीको १५ प्रतिशतका दरले हकप्रद सेयर निष्काशन गर्न लागेको हो । हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब ८२ करोड रुपैयाँ रहेको छ । सो मात्राको हकप्रद पश्चात कम्पनीको पुँजी २ अर्ब नाघ्ने छ ।
जेसीबीका तीन नयाँ एस्काभेटर नेपाली बजारमा, इन्धनको खपत कम गर्ने
काठमाडौं । नेपालका लागि जेसीबी ब्रान्डका हेभि इक्विपमेन्ट तथा निर्माण उपहरणको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले विभिन्न क्षमताका तीन नयाँ एस्काभेटर सार्वजनिक गरेको छ । एमएडब्लु अर्थमुभर्सले ३ टनको जेसीबी ३० प्लस, ३० टनको जेसीबी ३०५ एलसी र ३८ टनको जेसीबी ३८० एस्काभेटर पहिलो पटक नेपाल भित्र्याएको हो । नयाँ प्रडक्ट लाइन-अपसँगै, जेसीबीले आफूलाई पूर्ण निर्माण उपकरण साझेदारका रुपमा स्थापित गरेको छ । नेपालको तीन वटै तहका निर्वाचनसम्पन्न भएसँगै भौतिक पूर्वाधार निर्माणले गति पाउन थालेको परिप्रेक्षमा एस्काभेटरका नयाँ मोडेलहरु नेपाल ल्याइएका हुन् । ‘लामो समयदेखि रोकिएको विकास निर्माणको कार्य अब सुचारु भएको छ । विभिन्न प्रकारका निर्माणका लागि आवश्यक फरक फरक क्षमताको माग भएका कारण हामीले नयाँ एस्काभेटरहरु नेपाली बजारमा ल्याएका हौं ।’ राजधानीमा आयोजित जेसीबी कन्क्वेष्ट इभेन्टमा एमएडब्लु अर्थमुभर्स प्रालिका सेल्स एन्ड मार्केटिङ हेड दिपकराज गिरीले भने, ‘अब हामीसँग एस्काभेटरको कम्प्लिट रेन्ज उपलब्ध छ ।’ नेपाली बजारमा जेसीबीको जेएस ८१, जेएस १४०, जेएस२०५, जेसीबी २२० एलसी एक्स्ट्रा पहिलेदेखि नै उपलब्ध छन् । नयाँ उत्पादनसँगै अब जेसीबीसँग फरक फरक प्रकृतिका कामका लागि ३, ८, १४, २०, २२, ३० र ३८ टनका गरी सात प्रकारका एस्काभेटर उपलब्ध हुनेछन् । ‘परियोजनाको आकार ठूलो हुन थालेपछि निर्माण व्यवसायीहरुको नजरमा ठूला क्षमताका मेसिनहरु पर्न थालेका छन् । यस्ता मेसिनले उत्पादकत्वलाई बढाउनुका साथै इन्धनको खपतलाई समेत घटाउँछ । यी दुवै जेसीबीका मेसिनहरुको विशेषता नै हुन्,’ गिरीले अगाडि थपे । एमएडब्लु अर्थमुभर्सले केही समयअघि मात्र २० प्रतिशत डाउन पेमेन्ट अफर ल्याएको थियो जुन नेपालमै पहिलो पटक थियो । एनसीसी बैंक लिमिटेडसँगको सहकार्यमा सुरु भएको यो योजनामा एमएडब्लुले मात्र २० प्रतिशत डाउनपेमेन्टमा ग्राहकलाई जेसीबी ब्रान्डका कुनै पनि मेसिन उपलब्ध गराउँदै आएको छ । नेपालको हेभि इक्विपमेन्ट क्षेत्रमा जेसीबीको बजार हिस्सा ५० प्रतिशतभन्दा बढी छ । ब्याकहो र एस्काभेटरबाहेक नेपाली बजारमा जेसीबीका रोलर, कम्प्याक्टर, ह्विल लोडर, लोडअल, रोबोट र जेनसेट उपलब्ध छन् । इन्धन कम खपत हुने, मर्मत खर्च कम लाग्ने र उत्कृष्ट काम गर्ने भएका कारण यी मेसिनहरु लोकप्रिय छन् । पर्याप्त जनशक्ति र स्पेयर्सका कारण जेसीबीप्रतिको जनविश्वास बलियो छ । देशभर १२ स्थानमा ‘थ्रि एस’ सुविधासहितको शाखा, चार वटा आधिकारिक विक्री केन्द्र (एआरओ) र एक सय ६६ जना सर्भिस इन्जिनियर जेसीबीका ग्राहकको सेवामा सदा तत्पर छन् । जेसीबीले विक्रीपछिको सेवालाई जोड दिन्छ र यसकै कारण यो नेपालको हेभि इक्विपमेन्ट क्षेत्रमा नम्बर १ ब्रान्ड बन्न सफल भएको हो ।
बर्जरको वेदरकोट एन्टि डस्ट पेन्ट अब बजारमा
काठमाडौं । नेपालमा रङ्ग उत्पादन गर्ने कम्पनीहरु मध्ये एक ठूलो रङ्ग उत्पादक बर्जरले नेपालमा वेदरकोट एन्टि डस्ट पेन्टको उत्पादन एवं बिक्री वितरण शुरु गरेको छ । नेपालमा द्रुततर गतिमाअघि बढिरहेका निर्माण कार्यहरु, सवारी साधनहरुले पारिरहेको प्रदुषण, सडकमा र यत्रतत्र उडिरहेको धुलो नेपालको हरेक क्षेत्रमा एक जल्दोबल्दो समस्या बनिरहेको छ । यसप्रकारले हावामा उडिरहेको धुलो बाहिरी भित्ताहरुमा टाँसिएर ती भित्ताहरुलाई पुरानो र फाहोर बनाइदिन्छ, साथै यसरी जमेर बसेका धुलोले रङ्ग र बाहिरी भित्ताहरुको आयु घटाउँछ । बर्जर पेन्ट्स नेपालले पहिलो पटक डस्ट गार्ड टेक्नोलोजीसहितको एन्टि डस्ट पेन्ट प्रस्तुत गरेको छ । वेदरकोट एन्टि डस्ट पेन्टले तपाईंको घरको बाहिरी भित्ताहरुमाधुलो टिक्न दिँदैन र धुलोबाट छुट्कारा दिलाउँछ जस्ले गर्दा घर हरेक दिन नयाँ र चम्किलो देखिन्छ । कार्यक्रममा कम्पनीका प्रतिनिधिले भने ̎हामी सदैव हाम्रो गुणस्तर, इनोभेसन र ग्राहकको सन्तुष्टिका लागि कटिबद्ध रहने गर्दछौं । हामीले औद्योगीक क्षेत्रमाउच्चदरको वृद्धिका साथ अभूतपूर्व सफलता हात पार्नुको एक कारण यही नै हो । एक कम्पनीको रुपमा हामी अझ बढी अत्याधुनिक इनोभेटिव उत्पादनहरुको विकास गर्ने चुनौतीहरुलाई पार गर्न प्रतिबद्ध छौं । हामी नेपालमा बर्जर वेदरकोट एन्टि डस्ट जस्तो उत्पादन प्रस्तुत गर्न पाएकोमा खुसी भएका छौँ । रमसस
यसरी तयार हुँदैछ सातै प्रदेशमा एक हजार विगाह जमिनमा औद्योगिक क्षेत्र
काठमाडौं । ‘राजनीतिक आन्दोलनको चरण सकिएर समृद्धिको चरणमा प्रवेश गरेका छौं, त्यसको पहिलो अस्त्र भनेकै औद्योगीकरण हो’, यो भनाई हो औद्योगीक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष तथा महाप्रबन्धक नन्द किशोर बस्नेतको । उनी यतिबेला सात वटै प्रदेशमा न्युनतम १ हजार विगाह जमिन ओगट्ने औद्योगीक क्षेत्र निर्माणमा जुटेका छन् । त्यसका लागि उनीसँग ४९ करोड रुपैंयाँ बजेट छ । सोही बजेट खर्चेर उनले यसै बर्षभित्र सबै प्रदेशमा निर्माण हुने औद्योगीक क्षेत्रको डिपिआर निर्माण सक्ने लक्ष्य राखेका छन् । ‘अहिले जग्गा प्राप्ति र डीपीआर निर्माण एकै पटक अघि बढेको छ, कुनै प्रदेशमा जग्गा प्राप्ती भैरहेको छ भने अधिकांशमा डीपीआर निर्माणको काम अघि बढिसकेको छ’, बस्नेतले सुनाए । कहाँ कहाँ कति भयो काम ? अध्यक्ष बस्नेतका अनुसार प्रदेश नम्बर ७ का लागि कञ्चनपुरको दैजीमा १९८.७१ हेक्टरमा डिपिआर र वातावरणीय प्रभाव मूल्यांकनका लागि ४७ लाख १५ हजारको ठेक्का लागेको छ । त्यस्तै, कैलालीको लम्कीमा ७४४.८२ हेक्टर जमिनमा निर्माण हुने औद्योगीक क्षेत्रको डीपीआर र वातावरणीय प्रभाव अध्ययनका लागि ६० लाख ५७ हजार ५ सय रुपैंयाँको ठेक्का लागेको हो । प्रदेश नम्बर ६ को सुर्खेतमा पनि ६७७ हेक्टर जमिनमा सम्भाव्यता अध्ययनका लागि ३२ लाख ४० हजारमा ठेक्का लागेको छ । ५ नम्बर प्रदेशको रुपन्देहीको मोतिपुरमा ५५०.४९ हेक्टर जमिनको वातावरणीय प्रभाव मूल्यांकनका लागि २५ लाख ९० हजारको ठेक्का लागिसकेको छ । त्यस्तै, बाँकेका नौवस्तामा २२८.८६ हेक्टर जमिनमा पनि वातावरणीय प्रभाव मूल्यांकनका लागि २३ लाख ४० हजारको ठेक्का लागेको छ । दाङकै लक्ष्मीपुरमा पनि ३७१ हेक्टर जमिनमा सम्भाव्यता अध्ययनका लागि १७ लाख ९० हजारको ठेक्का लागेको छ । नन्द किशोर बस्नेत, अध्यक्ष-औद्योगीक क्षेत्र व्यवस्थापन लिमिटेड प्रदेश नम्बर ४ को गोरखास्थित चंगेलीफाँटमा १७. २८ हेक्टरमा सम्भाव्यता अध्ययनका लागि ८ लाख ९७ हजार ५ सय रुपैंयाँमा कम्पनी छनौट भएको छ । प्रदेश नम्बर ३ का लागि मकवानपुरको मयुरधापमा १३७.८६ हेक्टर जमिनको वातावरणीय प्रभाव मूल्यांकनका लागि १८ लाख ९७ हजार ५ सय रुपैंयाँको ठेक्का लागेको छ । त्यस बाहेक चितवनको शक्तिखोरमा ११७८.६७ हेक्टरमा औद्योगीक क्षेत्रको डीपीआर र वातावरणीय प्रभाव मूल्याकनका लागि ५१ लाख २२ हजार ५ सय रुपैंयाँको ठेक्का लागेको हो । प्रदेश नम्बर २ का लागि सर्लाही जिल्लाको मुर्तियामा २०३१.३३ हेक्टर जमिनमा निर्माण हुने औद्योगीक क्षेत्रको डीपीआर र वातावरणीय प्रभाव मूल्यांकनका लागि ६८ लाख २५ हजारको ठेक्का लागेका हो । त्यस्तै १ नम्बर प्रदेशका लागि भने झापाको दमकमा १ हजार १ सय विगाह जमिन प्राप्तिको चरणमा पुगेको छ । सो औद्योगीक क्षेत्रको पुर्वाधार निर्माणमा चीनले सहयोग गर्ने सम्बन्धी सम्झौता पत्रमै हस्ताक्षर समेत भैसकेको छ । बस्नेतले आगामी ५० बर्षसम्म नेपालमा उद्योग कहाँ खोल्ने भन्ने समस्या नै नहुने दावी समेत गरिरहेका छन् । ‘अहिले उद्योग खोल्ने उपयुक्त ठाउँको ठुलो अभाव छ तर अबको ५० बर्षसम्म उद्योग कहाँ खोल्ने भनेर धाउनुपर्ने बाध्यताको अन्त्य हुँदैछ, लगानी गर्न आउने उद्योगी व्यवसायीलाई हामी पुर्वाधारसहितको जमिन उपलब्ध गराउँछौं’, बस्नेतले भने । उनले सात प्रदेशमा निर्माण हुने औद्योगीक क्षेत्रमा १० लाख नेपालीले रोजगारी पाउने समेत दावी समेत गरे । ‘एउटा ओद्योगीक क्षेत्र सञ्चालनमा आउँदा हजारौंले प्रत्यक्ष र लाखौंले अप्रत्यक्ष रोजगारीको अवसर पाउनेछन्, नेपाली युवाले रोजीरोटीका लागि विदेशिनु नपरोस भन्ने उदेश्यले काम गरिरहेका छौं’, बस्नेतले भने । निजी क्षेत्रले आफैं जमिन खोज्ने र पुर्वाधार बनाएर उद्योग सञ्चालन गर्ने काम कठिन बन्दै गएकाले सरकारले नै औद्योगीक पुर्वाधार बनाउने सोँच बनाएको हो । ‘औद्योगीक क्षेत्र भन्दा बाहिर उद्योग सञ्चालन गर्ने हामी उद्योगीहरुले २५ देखि ३० प्रतिशत आफ्नो उर्जा स्थानीय बासिन्दासँगको किचलो मिलाउनै खर्च गर्नु पर्छ, त्यसैले नेपालमा औद्योगीक विकास चुनौतीपुर्ण बनिरहेको छ’, नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले भने । उनले ठुला औद्योगीक पुर्वाधार, वत्ति, पानी, सुरक्षा लगायतको ग्यारेण्टी सरकारले गरिदिनुपर्नेमा जोड दिए । हाल बालाजु, पाटन, हेटौँडा, पोखरा, धरान, बुटवल र नेपालगञ्जमा ५ हजार १ सय ६२ रोपनी क्षेत्रफलमा सात वटा औद्योगीक क्षेत्र सञ्चालनमा रहेका छन् । सरकारले सञ्चालन तथा व्यवस्थापन गरिरहेका यी औद्योगीक क्षेत्रमा १२ हजार ५ सय ५ जनाले प्रत्यक्ष रोजगारी पाईरहेको देखिन्छ । ती क्षेत्रमा ५१ वटा नयाँ उद्योग धमाधम निर्माणको चरणमा रहेका छन् । हाल सञ्चालनमा रहेका औद्योगीक क्षेत्रबाट व्यापारीक कम्पनीलाई भने हटाउने तयारी बस्नेतले अघि बढाईरहेका छन् । बिभिन्न औद्योगीक क्षेत्रमा अटोमोबाइल लगायतका व्यापारिक कम्पनीका शोरुमहरु सञ्चालनमा रहेका छन् । त्यस्ता शोरुमलाई हटाएर उद्योग धन्दा मात्रै राख्नुपर्ने माग समेत उठ्दै आएको थियो ।
दुई पहाडी जिल्लाका सदरमुकाम सडक सञ्जालमा जोडियो
तेह्रथुम । तेह्रथुमको माझीटार–पोक्लाबाङ कृषि सडकको बाटो खोलेसँगै कोशी र मेची अञ्चलका दुई जिल्ला तेह्रथुम र पाँचथरका सदरमुकाम सडक सञ्जालमा जोडिएका छन् । सडकको बाटो खोलेपछि कोशी पहाडी जिल्ला तेह्रथुमको सदरमुकाम म्याङ्लुङ र मेची पहाडी जिल्ला पाँचथरको सदरमुकाम फिदिम सडक सञ्जालमा जोडिएका हुन् । यही साताबाट व्यवसायीले म्याङ्लुङदेखि फिदिमसम्म सिधा यातायात सेवासमेत सञ्चालन गरेका छन् । म्याङलुदेखि फिदिमसम्म र फिदिमदेखि म्याङलुङसम्म दैनिक एक/एक वटा ट्याक्सी सञ्चालन भइरहेका छन् । कच्ची सडकबाटै भए पनि सवारी सञ्चालन हुन थालेपछि म्याङ्लुङबाट धनकुटा, सुनसरी, मोरङ र झापा हुँदै इलाम उक्लिएर फिदिमसम्म पुग्नुपर्ने बाध्यता हटेको छ । एकफन्को मारेर फिदिम पुग्नुपर्ने अवस्थामा ट्याक्सी सञ्चालन हुन थालेपछि यस क्षेत्रका यात्रुलाई सुविधा मिलेको छ । लामो समयपछि दुई जिल्ला सदरमुकामलाई यातायात सञ्जालले जोडेपछि दुवै जिल्लावासीलाई सहज भएको छ । सवारी साधन सञ्चालन नहुँदा म्याङ्लुङ र फिदिम आवतजावत गर्दा पाँच जिल्ला हुँदै महँगो भाडा तिरेर यात्रा गर्नुपर्ने बाध्यता थियो भने कम्तीमा पनि दुई दिनको यात्रा तय गर्नु पर्दथ्यो । म्याङ्लुङ बसपार्कबाट फेदापको पोक्लाबाङ हुँदै थोक्लुङ–माझीटार सडकखण्डबाट पाँच घण्टामा फिदिम पुगिने ट्याक्सी चालक कुमार लिम्बूले बताए । “सडक कच्ची भए पनि चाँडै पुगिन्छ, यात्रु पनि पर्याप्त छन्”– चालक लिम्बूले भने । प्रादेशिक राजधानी माग गर्दै धनकुटा बन्दसमेत हुन थालेपछि अहिले तेह्रथुमबाट पाँचथर, इलाम, झापा हुँदै मोरङ आउनेसमेत यही सडकलाई वैकल्पिक मार्गकारुपमा प्रयोग गर्न थालेका छन् । तेह्रथुमबाट ताप्लेजुङ र इलाम जाने यो सडक भएर सार्वजनिक सवारीबाटै एकै दिनमा पुग्न सक्छन् । “यो बाटो भएर ताप्लेजुङ, इलाम जाने पनि धेरै छन्, भाडा पनि सस्तो पर्छ, अहिले त यात्रुको पनि खाँचो छैन”– व्यवसायी सन्तोष निङलेकुले भने । अहिले सडकको बाटो खोलेसँगै सवारी सञ्चालन भएपछि वर्षा लागेपछि यो सडक सञ्चालन हुने सम्भावना देखिँदैन । सो सडक खण्डको कोयाखोलामा पुल छैन भने सडकलाई समेत स्तरोन्नतिको खाँचो छ । रासस
एनआईसी एसिया ग्रोथ फन्डले लगानीकर्तालाई वार्षिक १६ प्रतिशत प्रतिफल दिने, माघ २ गतेदेखि बिक्री खुला
काठमाडौं । एनआईसी एसिया बैंकले निष्कासन गर्न लागेको एनआईसी एसिया ग्रोथ फण्डले लगानीकर्तालाई वार्षिक १६.१३ प्रतिशत प्रतिफल दिने भएको छ । ग्रोथ फण्डको निष्कासन आउदो माघ २ गतेदेखि हुदैछ । प्रति इकाई मूल्य १० रुपैयाँका दरले १ अर्ब रुपैयाँ बराबरका १० करोड इकाई निष्कासन हुन लागेको फण्डले प्रत्यक वर्ष १६ प्रतिशत लगानीकतालाई लाभांश दिने जानकारी दिएको छ । उसले सार्वजनिक गरेको लगानी आब्हानपत्रमा ७ वर्ष अवधिको योजनाले पहिलो वर्ष १५.७५, दोस्रो वर्ष १६.१४ र त्यसपछिका वर्षमा १६.१३ प्रतिशत लाभांश दिने प्रतिवद्धता जनाएको छ । ग्रोथ फण्डले सुरुको वर्षमा १० करोड रुपैयाँ नगद लाभांश वितरण गर्ने छ । त्यसपछिका वर्षमा ११ करोड, १२ करोड, १३ करोड १४ करोड र छैठौ वर्षमा १५ करोड रुपैयाँ नगद लाभांश बाड्ने एनआईसीले जनाएको छ । उक्त लाभांश दिन ग्रोथ फण्डले पहिलो वर्ष १८ करोड ७५ लाख रुपैयाँ आम्दानी गर्नेछ । त्यसपछिको बढ्दै गएर अन्तिम वर्षमा आम्दानी बढेर २५ करोड ३८ लाख ८३ हजार रुपैयाँ पुग्नेछ । ग्रोथ फण्डले पहिलो वर्ष १५ करोड ५६ लाख ८४ हजार रुपैयाँ नाफा गर्ने छ । त्यसपछि लगातार नाफा बढाउने प्रक्षेपण गरेको छ । लगानीकर्ताले ग्रोथ फण्डका लागि न्युनतम १ सय र अधिकतम २० लाख ईकाइसम्मलाई आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । एनआईसी एसिया बैंकको म्युचल फण्ड अन्र्तगत सञ्चालन हुने ग्रोथ फण्डको कोष प्रवन्धकमा बैंक र योजना व्यवस्थापक एनआईसी एसिया क्यापिटल रहेको छ । ग्रोथ फण्डको निष्कासन छिटो बन्द हुने मिति माघ ८ र ढिलोमा माघ २१ गतेसम्म हुने छ । ग्रोथ फण्ड कुल बिक्री भएको इकाई संख्याको न्युनतम १५ प्रतिशत अर्थात १ करोड ५० लाख कोष प्रवद्र्धक एनआईसी एसिया बैंकलाई सुरक्षित राखी ८ करोड ५० लाख कित्ता बिक्रीका लागि खुला गरिएको छ । न्युनतम बिक्री हुनुपर्ने इकाइ ५ करोड रहेको छ । आस्वा सेवामा सहभागी सबै बैंक तथा वित्तीय संस्थाबाट इकाई खरिद गर्न पाइने व्यवस्था गरिएको छ । योजनाका इकाइ नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सुचिकृत भई कारोबार हुने छ । खुदनाफा वितरण र संचित नाफा पुनः लगानी गर्ने योजना रहेको बैंकले जनाएको छ ।
मनाङमा माइनस १८ डिग्री
मनाङ । देशभरि नै चिसो बढेकाबेला मनाङमा भने माइनस १८ डिग्री तापक्रम पुगेको छ । रातिको बेला परेको शीत जमिनमा बरफ बनेको छ । मनाङमा अहिले काम गर्ने कामदार र सरकारी कार्यालयका कर्मचारी मात्र देखिने गरेका छन् । पिउने पानीका मुहान जमेका छन् । खोलामा पानी होइन बरफ चिप्लेको देखिन्छ । अत्यधिक चिसो बढेपछि यहाँ रहेका बासिन्दा घरबाट बाहिर निस्कन सकेका छैनन् । सबैजसो ढोका लगाएर घरभित्रै बस्ने गरेका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले बताए । बाह्रै महिना चिसो हुने मनाङ जिल्लामा जाडोको समयमा प्रायः बासिन्दा जाडो छल्न अन्यत्र ठाउँमा जाने गर्दछन् । यो समयमा गाउँ घरमा घर कुर्ने चौँरी हेर्ने र हिउँ फाल्ने बासिन्दा मात्र बस्ने गर्दछन् । जाडो छल्नका लागि यहाँका बासिन्दा काठमाडाै, पोखरा, चितवनलगायत भारतको बुद्धगया जाने गर्दछन् । गाउँघरको सबै कामकाज सकेर व्यापारिक प्रयोजनका लागि धुपी जुम्भु पाँचऔँलेलगायतका जडीबुटी लिएर जाने गर्दछन् । मंसिरको अन्तिम साताबाट मनाङ सुनसान हुने भएकाले अक्सर गरेर माथिल्लो मनाङका विद्यालय वर्षैपिच्छे जाडोको मौसममा तीन महिना बन्द हुने गरेको जिल्ला शिक्षा अधिकारी टुकराज अधिकारीले बताए । रासस