विकासन्युज

एभरेष्ट इन्स्योरेन्सका लगानीकर्ताले ६ सय प्रतिशत हकप्रद सेयर नपाउने

काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडका लगानीकर्ताले ६ सय प्रतिशत हकप्रद सेयर नपाउने भएका छन् । संस्थापक सेयर कारोबार(खरिद बिक्री) गर्ने सम्बन्धमा समितिको निर्देशन २०६६ अनुसार संस्थापक र साधारण सेयरको संरचना ५१ः४९ बनाउनुपर्ने भएपछि लगानीकर्ताले ६ सय प्रतिशत हकप्रद सेयर नपाउने भएका हुन् । हाल सबै साधारण सेयरधनी रहेका एभरेष्ट इन्स्योरेन्सले गत असार २३ गतेको १८ औँ, १९ औँ, २० औँ, २१ औँ तथा २२ औँ वार्षिक साधारणसभा गरी २० प्रतिशत बोनस सेयर र ६ सय प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको थियो । संस्थापक सेयरलाई साधारण बनाउने व्यवस्था भएपनि हालसम्म साधारण सेयरलाई संस्थापक बनाउने व्यवस्था छैन् । कम्पनीमा नयाँ लगानीकर्तालाई संस्थापक सेयरधनीका रुपमा प्रवेश गराउनै पर्ने बाध्यात्मक अवस्था सृजना भएपछि कम्पनीका लगानीकर्ताले पूर्व घोषित ६ सय प्रतिशत हकप्रद सेयर नपाउने भएका हुन् । धितोपत्र बोर्ड पनि भदौ २३ गते नै आवेदन दिएको कम्पनीको हकप्रद सेयर निष्काशन सम्बन्धी प्रस्तावलाई अझै स्वीकृत दिएको छैन् । ‘साधारण सेयरलाई संस्थापक बनाउने नियम छैन, ५१ः४९ प्रतिशतको सेयर संरचना बनाउनै पर्छ, त्यसो गर्दा नयाँ लगानी कर्ता भित्रिनेछन र पुराना लगानी कर्ताले अहिले घोषणा भएको ६ सय प्रतिशत हकप्रद सेयर पाउने छैनन्’, बीमा समिति स्राेतले भन्यो । धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले पनि एभरेष्ट इन्स्योरेन्सको हकप्रद सेयर निष्काशनका बारेमा केहि प्रश्न सोधेर पठाईएको बताए । ‘एभरेष्ट इन्स्योरेन्सको सेयर संरचना सम्बन्धी केहि समस्या देखिएका छन्, त्यसैले हकप्रद निष्काशनको प्रक्रिया रोकिएको हुन सक्छ’, बोर्डका प्रवक्ता गिरीले भने । कम्पनीले साधारण सभाको निर्णय अनुसार भदौ २३ गते ७२ करोड ९० लाख मूल्यको हकप्रद सेयर निष्काशनका लागि धितोपत्र बोर्डमा निवेदन दिएको थियो ।

३ दिने हाइड्रो एक्स्पो सम्पन्न, ६० हजार बढीद्धारा अवलोकन

काठमाडौं । शुक्रबारदेखि ३ दिनसम्म चलेको ‘हिमालयन हाइड्रो एक्स्पो २०१८’ सम्पन्न भएको छ । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इपान) र एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिको आयोजनामा सम्पन्न एक्स्पोको ६० हजार बढीले अवलोकन गरेका छन् । ‘हामीले अपेक्षा गरे अनुसारको नतिजा एक्स्पोले दिएको छ । उत्साहजन सहभागिताका साथै विदेशी कम्पनीहरुले नेपालको जलविद्युत विकासमा देखाएको चासोले आगामी दिनमा उर्जा क्षेत्रमा धेरै सुधार आउनेमा हामी आशावादी छौं ।’ आयोजक इपानका अध्यक्ष शैलेन्द्र गुरागाईले भने । एक्स्पोमा हाइड्रो पावर निर्माता, हाइड्रो पावरका सामान उत्पादक, सप्लायर्स, डिजाइनर्स, कन्सलट्यान्ट, इन्स्योरेन्स कम्पनी, लगानीकर्ता र बैंकतथा वित्त कम्पनीहरु लगायत झण्डै सय वटा भन्दा बढी स्टल थिए । जसमध्ये करिब पचास प्रतिशत स्टल विदेशी कम्पनीहरुको थियो । एक्स्पोमा चीन, भारत, नर्वे, दक्षिण कोरिया, जर्मनी, अस्ट्रिया, बुल्गेरिया, चेक रिपब्लिक, इटली, स्वीडेन, बेलायत, ब्राजिल लगायत मुलुकका कम्पनी तथा सरोकारवालाहरुको पनि सहभागिता रहेको थियो । ‘एक्स्पो भव्य रुपमा सफल भयो । निकट भविष्यमा नै यस्ता एक्स्पो आयोजना गर्न एक्स्पोमा सहभागि स्वदेशी तथा विदेशी कम्पनीहरुले हौसला दिनु भएको छ । यसबाट हामी आगामी दिनमा उर्जाको विकासमा ठुलो फड्को मार्न सक्छौं भन्ने देखिएको छ ।’ एक्स्पोको अर्को आयोजक संस्था एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रा लिका प्रबन्ध निर्देशक विजय सागर प्रधानले भने । यसैगरी, हाइड्रो पावरको विकास र विस्तारमा सहयोग पुग्नेगरी हाइड्रोपावर सम्बन्धी नयाँ अवधारणा बारे विद्यार्थीहरु एवं व्यक्तिगत तवरवाट आविष्कार गरेका वस्तु तथा सेवाबिच प्रतिस्पर्धा समेत गराइएको छ । प्रतियोगितामा साउथ वेष्टर्न विजनेश कलेज प्रथा भएको छ भने काठमाडौं विश्वविद्यालयले दोस्रो र तेस्रो स्थान हासिल गरेको छ । कलेजहरुबाट समुहमा प्रतिष्पर्धा गराइएको थियो । प्रतियोगितामा प्रथम हुनेले ५५ हजार ५ सय ५५ रुपैयाँ पचपन्न पैसा तथा द्वितीय र तृतीय हुनेलाई क्रमश २२ हजार २२२ रुपैयाँ २२ पैसा र ११ हजार १११ रुपैयाँ ११ पैसा नगद पुरस्कार प्रदान गरिएको छ । एक्सपोलाई नेपाल सरकार राष्ट्रिय योजना आयोग, उर्जा मन्त्रालय, जनसंख्या तथा वातावरण मन्त्रालयको संरक्षकत्व रहेको छ । नेपाल विद्युत प्राधिकरण, नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल बैंकर्स एसोसिएसन्स, युथ कम्युनिटी फर नेपलिज कन्ट्राक्टर्सले एक्स्पोलाई सहयोग गरेका थिए । नेपाल टनेलिंग एसोसिएशन, नेपाल जर्मन चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिज, नेपालभारत उद्योग बाणिज्य संध, नेपाल युरोपियन चेम्वर अफ कर्मश एवं स्वदेशी तथा विदेशी कम्पनीहरुको पनि एक्स्पोलाई सहयोग गरेका थिए एक्स्पोको प्लाटिनियम प्रायोजक इटलीको सिएमसी दी रभेन्ना कम्पनीले गरेको थियो । अफिसियल पार्टनरको रुपमा होटल अन्नपूर्ण, नेपाल सिपिंग एण्ड एयर लजिस्टिक प्राली र एनएमबि बैंक लिमिटेड रहेका थिए ।

बजारमा पैसा फालाफाल, ४ वटा बैंकले बुझाए ३ अर्ब ९० करोड

काठमाडौं । नेपाल राष्ट्र बैंकले अधिक तरलता भएका ४ वटा वाणिज्य बैंकबाट २ अर्ब रुपैयाँ उठाएको छ । बैंकिङ प्रणालीमा अधिक तरलता रहेको भन्दै राष्ट्र बैंकले आज सोमबार २ अर्ब रुपैयाँ बजारबाट उठाउनका लागि प्रतिस्पर्धा आब्हान गर्दा ४ वटा बैंकले ३ अर्ब ९० करोड रुपैयाँ दिने प्रस्ताव गरेका थिए । मागेको २ अर्ब रुपैयाँ मात्र तरलता प्रशोचन भएको केन्द्रीय बैंकले जनाएको छ । आज पनि ५१ अर्ब रुपैयाँ हारहारीमा अधिक तरलता रहेको राष्ट्र बैंकले जनाएको छ । केन्द्रीय बैंकले ३ प्रतितशत ब्याज दिने गरी १४ दिनका लागि २ अर्ब रुपैयाँ प्रशोचन गरेको हो । २ अर्ब रुपैयाँ माघ ८ गते फिर्ता हुने छ । अघिल्लो साता लगानीयोग्य पुँजी नभएको भन्दै बैंक तथा वित्तीय संस्थाले हारगुहार गरेपछि राष्ट्र बैंकले ४ पटक गरेर २७ अर्ब ६३ करोड रुपैयाँ बजारमा पठाएको थियो । आइतबार बैंकहरुले ब्याजदर करिडोरको सीमा नाघेर ३ प्रतिशत भन्दा तल ब्याजदर प्रस्ताव गरेपछि केन्द्रीय बैंकले आजदेखि बजारबाट पैसा तान्न लागेको हो ।

डेढ वर्षभित्र भृकुटीमण्डपमा रक्तसञ्चार भवन बन्ने, २१ करोड ७४ लाखको लागत

काठमाडौं । आगामी १८ महिनाभित्र नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय रक्तसञ्चार भवन भृकुटीमण्डपमा निर्माणका लागि निर्माण व्यवसायी लामा कन्स्ट्रक्सन प्रा. लि. र नेरेसोबीच आइतबार दुई पक्षीय सम्झौता सम्पन्न भएको छ । सो सम्झौता पत्रमा नेपाल रेडक्रस सोसाइटीका महामन्त्री देवरत्न धाख्वा र लामा कन्स्ट्रक्सनका निर्देशक पिताम्बर वडुले हस्ताक्षर गरेका छन् । हस्ताक्षर कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष संजीव थापा लगायत अन्य पदाधिकारी र उच्च पदस्थ कर्मचारीहरुको उपस्थिति रहेको थियो । २१ करोड ७४ लाखको लागतमा पुरानो भवन भएकै स्थान काठमाडौंको भृकुटीमण्डपमा बन्ने सो भवनको निर्माण कार्य डेढ वर्षभित्र सम्पन्न गरिनेछ । भृकुटीमण्डपको केन्द्रीय रक्तसञ्चार सेवा भवनमा भूकम्पबाट क्षति पुगेपछि सोही ठाउँमा नयाँ भवन निर्माण गर्न लागिएको हो । नेपाल रेडक्रसको भूकम्प पुर्ननिर्माण कार्यक्रमअन्तर्गत थाइ रेडक्रसको आर्थिक सहयोगमा सो भवन निर्माण हुँदैछ । हाल सोसाइटीको केन्द्रीय रक्तसञ्चार सेवा ललितपुरको बालकुमारीबाट सञ्चालन भइरहेको छ ।

एनआईसी एशिया बैंकको थप दुई शाखा सिन्धुलीमाडी र बेसीशहरमा

काठमाडौं । एनआईसी एशिया बैंकको थप दुई शाखा सिन्धुलीको सिन्धुलीमाडी र लम्जुङ्गको बेसीशहरमा सञ्चालनमा ल्याएको छ । सिन्धुली जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष बिनेशकुमार श्रेष्ठबाट सिन्धुली शाखाको र लम्जुङ्ग जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष राजेश थापाबाट बेसीशहर शाखाको औपचारिक रुपमा उद्घाटन सम्पन्न भएको हो । यस २ शाखा कार्यालयहरुको उद्घाटनसँगै हाल यस बैंकले हाल १५६ शाखा कार्यालय, १४१ एटिएम एवंम् ४ एक्स्टेन्सन काउन्टरहरुबाट सेवा प्रदान गर्दै आईरहेको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।

सरकारी कोषका ४ खर्ब बढी रकम पूँजीबजारमार्फत परिचालन गरिने

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेडले सरकारी कोषमा रहेको झण्डै ४ खर्ब ५ अर्ब रुपैयाँ स्थिर रकमलाई पूँजी बजारमार्फत परिचालन गरी बजार विस्तार गर्ने पहल शुरु गरेको छ । सरकारी स्वामित्वमा रहेका कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, नेपाली सेनाको सैनिक कल्याणकारी कोष, नेपाल प्रहरीको कोष, सशस्त्र प्रहरी कोष, सामाजिक सुरक्षा कोषलगायतका कोषको रकम पूँजी बजारमा आकर्षित गराउने पहल गरेको हो । कोषलाई स्थिररुपमा मात्रै राख्दा त्यसले कुनै पनि नाफा नदिएको र लगानीको विस्तारसमेत नभएकाले बजार विस्तारका लागि स्टकले पहल शुरु गरेको हो । स्टकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्रसिंह साउदले नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोषका उच्च अधिकारीसँग छलफल गरिसकेको जानकारी दिए । कर्मचारी सञ्चय कोषसँग २ खर्ब ५० अर्ब रुपैयाँ सञ्चित कोष रहेको छ । नेपाली सेनाको सैनिक कल्याणकारी कोषमा ४० अर्ब, नागरिक लगानी कोषसँग चालु आर्थिक वर्षको कात्तिकसम्म ९६ अर्ब ४३ करोड ८३ लाख तथा सामाजिक सुरक्षा कोषमा१४ अर्ब रकम रहेको छ । नेपाल प्रहरीको कल्याणकारी कोषमा २ अर्ब १९ करोड तथा सशस्त्र प्रहरीको कल्याणकारी कोषमा १ अर्ब २७ करोड रुपैयाँ रहेको छ । साउदले सेना र प्रहरीसँग छिट्टै पूँजी बजारमा लगानीका लागि छलफल गर्ने आन्तरिक योजनामा रहेको बताए । “बजार विस्तारसँगै लगानीमा अभिवृद्धि हुने भएकाले स्टकले सरकारी कोषको रकमलाई परिचालन गर्ने नीतिअनुसार छलफल शुरु गरिएको हो । हामी छिट्टै त्यस्ता कोषको रकमलाई पूँजी बजार विस्तारमा परिचालन गर्न लागेका छौँ” उनले भने। नेपालको पूँजी बजार करिब १६ खर्ब रुपैयाँको छ । बजार विस्तार गरी लगानीका थप स्रोतको पहिचान, परिचालनका लागि सरकारी स्थिर कोषको पनि योगदान रहन सक्ने बुझाइमा स्टक रहेको छ । साना लगानीकर्ताले मात्रै बजारको विस्तार हुन नसक्ने र बजारको स्थायित्वसमेत हुन नसक्ने भएकाले सबै प्रकारका स्रोत तथा कोषलाई लगानीका लागि परिचालन गर्न लागिएको स्टकको भनाइ छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र सामाजिक सुरक्षा कोषमा रहेको रकम पूँजी बजारमा प्रयोग गर्न सकिन्छ भन्ने ज्ञानको अभावमा पनि परिचालित हुन नसकेको स्टकको बुझाइ छ । “पहिले हामी त्यस्ता निकायसँग छलफल गर्छौं र उनीहरुलाई पूँजी बजारमा जाँदाको फाइदा र लगानी विविधिकरणको विषयमा जानकारी दिन्छौँ । आशा छ उहाँहरु पनि पूँजी बजारमा आउनुहुनेछ” साउदले भने । यस्तै स्टकले  ५० करोडभन्दा माथि कारोबार गर्ने निजी क्षेत्रका संस्थालाई समेत साधारण शेयर जारी गर्ने वातावरण बनाउन लागिपरेको छ । सहज र स्वच्छ व्यावसायिक कारोबारका लागि पनि पछिल्लो दिनमा निजी क्षेत्रका व्यापारिक संस्थाले समेत साधारण शेयर जारी गर्ने तत्परता देखाएका छन् । पछिल्लो दिनमा डिस होम नेपाल, शिवम् सिमेन्ट, अर्घाखाँची सिमेन्टलगायतले पनि साधारण शेयर जारी गर्ने तयारी थालेका छन् । वास्तविक क्षेत्रलाई पूँजीबजारमा ल्याइँदै स्टकले अस्पताल, शैक्षिक संस्था, यातायात कम्पनी, व्यावसायिक संस्था, सेवा क्षेत्रलाई पनि पूँजी बजारमा ल्याउन पहल शुरु गरेको छ । यस्तै पछिल्ला दिनमा सिमेन्ट उद्योग, केबलकार, उद्योग तथा सेवा क्षेत्रमा लगानी बढेको छ । लगानीको मात्रा बढ्दै गएका त्यस्ता वास्तविक क्षेत्रलाई पनि पूँजी बजारमा ल्याउन आफूहरुले पहल गरेको साउदको भनाइ छ । “ ५० करोडभन्दा बढीका कारोबार गर्ने निकाय ढिलो चाँडो पूँजी बजारमा आउँछन् । हामी सहजीकरण गरिरहेका छौँ । वास्तविक क्षेत्र छिट्टै शेयर बजारमा प्रवेश गर्छ भन्नेमा हामी विश्वस्त छौँ” उनले भने । बजार विस्तारका लागि विविध स्रोतको परिचालन गर्नु आवश्यक भएको भन्दै स्टकले सानो लगानीले मात्रै आर्थिक समृद्धिको दिशा समात्न नसक्ने हुँदा थप क्षेत्रको खोजी गरिएको जनाएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पूँजी बजारमा सूचीकृत नभएका दूरसञ्चार सेवा प्रदायक कम्पनीलाई पब्लिक कम्पनीमा ल्याई नागरिकको पहुँचमा पुर्याउने नीतिगत पहल शुरु गरेको छ । पूँजी बजारमा त्यस्ता क्षेत्रको प्रवेशपछि राम्रो मुनाफा आर्जन गरेका निजी क्षेत्रबाट सञ्चालित सेवामूलक क्षेत्र तथा कम्पनीबाट नागरिकले समेत आर्थिक लाभ लिन सक्नेछन् । रासस

धेरै लाभांश पाउने आशमा नेपाल लाइफको सेयरमा लगानीकर्ताकाे भीड ,२ दिनमा बढ्यो १४५ रुपैयाँ

काठमाडौं । लगानीकर्ताले धमाधम नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर किन्न थालेका छन् ।नेपाल लाइफले यो साता आकर्षक लाभांश घोषणा गर्ने बजारमा हल्ला चलेपछि लगानीकर्ता सेयर किन्न झुम्मिएका हुन् । आइतबार र सोमबार गरी नेपाल लाइफको सेयर प्रतिकित्ता १४५ रुपैयाँ बढेको छ । सोमबार मात्रै नेपाल लाइफको सेयर ५३ रुपैयाँ बढेको छ । आइतबार ९२ रुपैयाँ बढेको थियो । नेपाल लाइफले बोनस सेयर र नगद गरी न्युनतम ४० देखि ५० प्रतिशतसम्म लाभांश दिने बजार हल्लाका आधारमा लगानीकर्ताले सेयर खरिद गर्न थालेका हुन् । दुबै दिन नेपाल लाइफको सेयर बढी कारोबार भएको छ । सोमबार मात्र नेपाल लाइफको ८ करोड २६ लाख १७ हजार रुपैयाँको सेयर किनबेच भएको छ । आइतबार ५ करोड २७ लाख ६४ हजार रुपैयाँको सेयर किनबेच भएको थियो । बिहीबार नेपाल लाइफको सेयर १ हजार ७३० रुपैयाँमा किनबेच भएको थियो । यस्तै, नेपाल बंगलादेश बैंकको पनि धेरै सेयर कारोबार भएको छ । बैंकको प्रतिकित्ता २७५ रुपैयाँमा २ करोड ७ लाख ७४ हजार रुपैयाँको सेयर किनबेच भएको छ । एभरेष्ट बैंकको पनि सेयर किनबेचमा वृद्धि भएको छ । सोमबार एभरेष्टको सेयर १७ रुपैयाँ बढेर ८९२ रुपैयाँ पुगेको छ । सोमबार एभरेष्टको १ करोड ७० लाख ८० हजार रुपैयाँको सेयर किनबेच भएको छ । आइतबार यस बैंकको सेयर प्रतिकित्ता ८७५ रुपैयाँमा १ करोड ९५ लाख ४७ हजार रुपैयाँको कारोबार भएको थियो । नेपाल बंगलादेश बैंक र एभरेष्टको सेयर सस्तो भएको र आगामी दिनमा बढ्ने अनुमानका आधारमा लगानीकर्ताले खरिद गरेका हुन् ।    

नेप्से १२ अंकले उकालो, होटल बाहेक सबै समूह हरिया

काठमाडौं । सोमबारको नेप्से परिसूचक दोहोरो अंकले उकालो लागेको छ । सो दिन परिसूचक १२ अंकले उकालो लागेर १४४३.८० अंकमा पुगेको छ । दोहोरो अंकले बढेको बजारमा ४६ करोड ४६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सको ८ करोड २६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बजारमा कुल १५७ कम्पनीका ८ लाख ५५ हजार कित्ता सेयर किनबेच भएका थिए । सोमबार होटल समूह बाहेक अन्य बाँकी समूहको परिसूचक हरिया भएका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक १२२ अंकले उकालो लागेको छ । त्यस्तै, अन्य समूह र बैंकिङ समूहको परिसूचक क्रमशः १२ र ९ अंकले उकालो लागेका छन् । होटल समूह भने १७ अंकले ओरालो लागेको छ । सो दिन मल्टि प्रपोज फाइनान्सका लगानीकर्ताले ९.०६ प्रतिशत कमाएका छन् । सोमबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३७३ रुपैयाँ रहेको छ ।