चार जना पत्रकारलाई ‘प्याफ’ जर्नालिज्म पुरस्कार, प्रत्येकले पाए ४० हजार
काठमाडौं। गरिबी निवारण क्षेत्रमा सशक्त रुपमा कलम चलाउदै आएका चार जना पत्रकारलाई ‘प्याफ नेशनल जर्नालिजम एवार्ड–२०७४ वितरण गरिएको छ । आइतबार राजधानीमा दक्षिण एसियाली हस्तकला महोत्सवको समापनको अवसरमा पत्रकारहरुलाई उद्योगमन्त्री सुनिलबहादुर थापाले पुरस्कार वितरण गरेका थिए । चार विधामा पुरस्कार वितरण गरिएको थियो । जसमा नेपाली छापामा नागरिक दैनिकका महेशकुमार दास, अंग्रेजी छापामा हिमालय टाइम्सका बाजुराका संवाददाता प्रकाशसिंह, विद्युतिय इलेक्ट्रोनिककातर्फबाट कमिनिटी रेडियो नेटवर्कका लक्ष्मी बस्नेत पुरस्कृत भएका छन् । त्यस्तै मोफसलतर्फ जनता पत्र सिन्धुपाल्चोकका टिका सुवेदी पुरस्कृत भएका छन् । उनीहरुलाई जनही ४० हजार रुपैयाँ, प्रमाण पत्र लगायत प्रदान गरिएको छ । प्याफले विगत वर्षदेखिनै गरिबी निवारण सम्बन्धमा कलम चलाउने पत्रकारलाई पुरस्कार वितरण गर्दै आएको छ । गरिबी निवारण विकास सम्बन्धमा सशक्त कलम चलाएको, पत्रकारीता गरेको अबधि लगायत तथा निर्णय मण्डलले गरेको छनौट गरेको आधारमा ती पत्रकारहरु पुरस्कृत गरिएको बताइएको छ ।
आशा लघुवित्तद्धारा २ दिने लघुवित्त व्यवस्थापन तालिम सम्पन्न
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले कृषि विकास बैंक, क्षेत्रिय तालिम केन्द्र विरेन्द्रनगर, चितवनमा २ दिने लघुवित्त व्यवस्थापन तालिम दिएको छ । संस्थाले पुस २८ र २९ गते २० वटा शाखा कार्यालयहरुका सम्पुर्ण फिल्ड कर्मचारीहरुलाई उक्त तालिम प्रदान गरेको हो । सो २ दिने कार्यक्रममा वर्तमान परिस्थितीमा विपन्न वर्गमा लघुवित्त कार्यक्रमको प्रभावकारीता, सम्भावना र चुनौती, कर्मचारीको व्यक्तित्व विकासका विषयमा तालिम दिइएको थियो । सो कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद दुलाल, मानव संशाधन तथा कार्य संचालन विभाग प्रमुख जीवन खनाल, कर्जा तथा अनुगमन विभाग प्रमुख रविन खतिवडा, सुचना प्रविधि विभागका सुदिप रेग्मी, अनुगमन अधिकृतहरु सुजित खतिवडा, सुशिल पौडेल र शाखा कार्यालय भरतपुर, चितवनको शाखा प्रवन्धक कमला बश्यालले कार्यक्रममा विविध विषयमा सहभागीहरुलाई तालिम दिएका थिए । साथै, संस्थाले यहि महिनाको पहिलो साता बाँकेको, कोहलपुरमा १६ वटा शाखा कार्यालयहरुमा कार्यरत सम्पुर्ण फिल्ड कर्मचारीहरुलाई सोही तालिम प्रदान गरेको थियो । हाल संस्थाको ३६ वटा शाखा कार्यालयहरु रहेको छ ।
जलविद्युत र पर्यटन आर्थिक विकासकाे मेरुदण्ड : चन्द्रप्रसाद ढकाल
काठमाडौं । आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले जलविद्युत र पर्यटन मुलुकको आर्थिक विकासका मेरुदण्ड भएको बताएका छन् । म्याग्दी उद्योग वाणिज्य संघको आयोजनामा आइतबार बेनीमा आयोजित छैठौं म्याग्दी महोत्सव तथा सक्रान्ति मेलालाई विशिष्ट अतिथीको रुपमा सम्बोधन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष समेत रहेका ढकालले सो कुरा बताएका हुन् । स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले महासंघले एक जिल्ला एक उत्पादन कार्यक्रम संचालन गरेको उल्लेख गर्दै म्याग्दीमा कृषि उत्पादनका अतिरिक्त खनिज पदार्थको उत्पादन र प्रशोधनको उत्तिकै सम्भावना रहेको उल्लेख गरे । मुलुकले संघीय संबिधान बमोजिम सबै निकायका निर्वाचन सम्पन्न भइसकेकाले अब सबैको ध्यान मुलुकको आर्थिक विकासमा केन्द्रीत भएको विचार व्यक्त गरे । म्याग्दी रेमिट्यान्स भित्राउन अग्रणी भुमिका रहेको बताउँदै उनले रेमिटेन्सलाई सामुहिक लगानीमा आकर्षित गरी म्याग्दीको आर्थिक विकासमा लगाउन सबैसंग आग्रहगरे । पुर्वप्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा नवनिर्वाचित जनप्रतिनिधि, विभिन्नकार्यालय प्रमुखहरु , स्थानीय उद्योगी एवम् व्यवसायीहरुले महोत्वस सफलताको शुभकामना व्यक्त गरेका थिए ।
एभरेष्ट बैंकको २३ औं साधारणसभा सम्पन्न, ३३ प्रतिशत बोनस सेयर पारित
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको २३ औं साधारण सभा सम्पन्न भएको छ । शुक्रबार सम्पन्न कम्पनीको उक्त सभाले सेयरधनीलाई ३३ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको छ । साथै, उक्त सभाले संचालक समितिले प्रस्ताव गरेको १.७४ प्रतिशत नगद लाभांश (कार प्रायोजनको लागि) लाई दिने प्रस्ताब अनुमोदन गरेको छ ।३३ प्रतिशत बोनस वितरण पश्चात बैंकको चुक्तापुँजी ८ अर्ब रुपैयाँभन्दा बढि हुने कम्पनीले जनाएकाे छ । बैंकले वार्षिक साधारण सभाको अबसरमा ५ वटा नयाँ शाखासमेत खोलेको छ । महोत्तरीको पिपरा, स्याङ्जाको बिरुवा, नुवाकोटको दुप्चेश्वर, बर्दियाको बनसादी र डोटीको शिखरमा आफ्नो नयाँ शाखा खोलेको हो । साथै, बैंकले मोरङको बिराटचोक, इलामको फिक्कल, रौतहटको गौरादह, कैलालीको लम्की र झलारीमा नयाँ एक्टेन्सन् काउन्टर खोलेको छ । बैंकले साधारण सभाको अवसरमा आफ्ना कर्मचारीको क्षमता अभिवृद्धिको लागि केन्द्रिय कार्यालयमा ‘इबिएल ट्रेनिङ एकेडेमी’ समेत संचालनमा ल्याएको छ । प्रविधिमा लगानी बढाउदै बैंकले कर्मचारीको लागि इ लनिङ मोवाइल एप ‘सरस्वति’को समेत सुरुवात गरेको छ । बैंकले आफ्नो २३ औं बार्षिक उत्सबको अवसर पारेर प्रतिबिम्ब “प्रतिबिम्ब” नामक बार्षिक प्रकाशन सुरु गरेको छ । बैंकले आफ्नो ६९ शाखा, ७ एक्स्टेन्सन काउन्टर, २८ राजस्व संकलन केन्द्र, ९५ एटिएम मेशिनहरुबाट दिदै आएको छ । बैंकले निकट भबिष्यमा नै ११ नयाँ शाखा थप गर्दै आफ्नो सेवा बिस्तार गर्ने योजना बनाएको छ ।
जनता बैंकका नवनिर्वाचित अध्यक्ष रायमाझी र ५ संचालकद्धारा सपथ ग्रहण
काठमाडौं । जनता बैंक नेपाल लिमिटेडका नवनिर्वाचित अध्यक्ष केशवबहादुर रायमाझीले आइतबार नेपाल राष्ट्र बैंकमा आयोजित एक कार्यक्रममा गभर्नर डा.चिरञ्जीवी नेपालबाट पद तथा गोपनियताको सपथ ग्रहण गरी पदभार ग्रहण गरेका छन् । गत पुस २९ गते सम्पन्न संचालक समितिको बैठकबाट रायमाझी सर्वसम्मत रुपमा अध्यक्ष चयन भएका थिए । आइतबार बैंकमा आयोजित एक कार्यक्रममा नवनिर्वाचित संचालकहरु लंङ्कबहादुर के.सी., रामबहादुर भण्डारी, गौतमप्रसाद खनाल, विनितकुमार अग्रवाल र संजिव न्यौपानेलाई संचालक समितिका अध्यक्ष रायमाझीले सपथ ग्रहण गराएका छन् । नवनिर्वाचित संचालकहरुले आजैबाट पदभार ग्रहण गरेका छन् । सपथ ग्रहण पश्चात अध्यक्ष रायमाझीले आगामी ५ बर्ष भित्र जनता बैंकलाई अग्रणी बैंकका रुपमा रुपान्तरण गरीने प्रतिबद्धता व्यक्त गरेका छन् ।
ग्लोबल आइएमई बैंकको नयाँ शाखा बाग्लुङ्गको बुर्तिवाङ्गमा
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आइतबार बाग्लुङ्ग जिल्लाको बुर्तिवाङ्गमा रहेको शाखाको औपचारिक उद्घाटन गरेको छ । उक्त शाखाको उद्घाटन बैंकका चन्द्रप्रसाद ढकाल र बाग्लुङ्ग जिल्ला निर्वाचन क्षेत्र नंं. २ का प्रतिनिधि सभा सदस्य देवेन्द्र पौडेलले संयुक्त रुपमा गरेका छन् । त्यस्तै, सोहि शाखामा खोलिएको एटिएम सेवाको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले उद्घाटन गरेका हुन् । उक्त शाखा उद्घाटन समारोहमा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकले प्रदान गरिरहेका सुबिधाहरु जस्तै साना व्यवसायी कर्जा, कृषि कर्जा, रेमिट्यान्स सुविधा, होम लोन लगायतका सेवाको माध्यमबाट बुर्तिवाङ्ग क्षेत्रको आर्थिक सम्बृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् । ग्लोबल आइएमई बैंकले हालसम्म ११३ वटा शाखा, १२७ एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर १४ वटा राजश्व संकलन काउण्टर ५९ शाखा रहित बैंकिङ्ग सेवा माफर्त आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दे आइरहेको छ । त्यस्तै, बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्ट्रेलया, बेलायत र भारतमा प्रतिनिधि/सम्पर्ककार्यालय स्थापना गरेर ती देशमा रहेका नेपालीहरु माझ सेवा प्रदान गर्दै आईरहेको छ । त्यसैगरि, बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दे आइरहेको छ ।
भूकम्प पीडितले दोश्रो किस्ताका लागि निवेदन दिने म्याद सकियो, कति बने घर ?
काठमाडौं । २०७३ साल पुस मसान्तसम्ममा पहिलो किस्ता रकम लिएका भूकम्प पीडितहरुले दोश्रो किस्ताका लागि निवेदन दिने म्याद सकिएको छ । प्राधिकरणको निर्देशक समितिले २०७३ पुस मसान्तअघि निजी आवास निर्माणका लागि पहिलो किस्ता रकम बुझेका भूकम्प पीडितले २०७४ पुस भित्रै दोश्रो किस्ता रकमका लागि निवेदन दिईसक्नुपर्ने निर्णय गरेको थियो । ‘पहिलो किस्ता लिएर घर बनाउने काम गरुन भन्नका लागि समय सिमा तोकिएको थियो, पहिलो किस्ता लिएर चुप लागेर बस्नेहरुलाई कुरेर बस्ने अवस्था छैन’, पुननिर्माण प्राधिकरणका सूचना अधिकारी मनोहर घिमिरेले भने । हालसम्म ७ लाख ६७ हजार ७ सय ५ परिवार भूकम्प पीडितहरु लाभग्राहीको सूचिमा परेका छन । तीमध्ये ६ लाख ६८ हजार ९६ परिवारसँग अनुदान सम्झौता गरिएको छ । ६ लख ६६ हजार ९ सय ७७ परिवारले पहिलो किस्ताको रकम लिईसकेका छन् । १ लाख २९ हजार ६ सय ६८ परिवारले दोश्रो किस्ता लिएका छन भने ३१ हजार ५ सय ३५ परिवारले तेश्रो किस्ता समेत लिएका छन् । एक लाख ८६ हजार ४ सय २९ परिवारले दोश्रो किस्ता भुक्तानीका लागि आवेदन दिएका छन् । एक लाख ७१ हजार ४ सय ४८ परिवार भने दोश्रो किस्ता भुक्तानीका लागि प्रमाणिकरणमा परेका छन् । हालसम्म ८३ हजार ७ सय ७० भूकम्प पीडित परिवारले मात्रै नयाँ घर निर्माण सम्पन्न गरेका छन् । २ लाख २४ हजार ६ सय ७ परिवारले भने यतिबेला धमाधम घर निर्माण गरिरहेका छन् । अब के हुन्छ ? प्राधिकरणका सूचना अधिकारी मनोहर घिमिरेका अनुसार २०७३ पुस मसान्त अघि नै पहिलो किस्ता लिएका पीडितहरुले अब के कारणले दोश्रो किस्ताका लागि आवेदन निदएको हो भन्ने कारण खुलाएर स्थानीय तहमा निवेदन दिन सक्नेछन् । तर उनीहरुले दिएको निवेदनको सुनुवाई भने हुन्छ वा हुन्न अझै एकिन भएको छैन् । ‘तोकिएको अवधी भित्र दोश्रो किस्ताका लागि आवेदन नदिएकाहरुले कारण खुलाई स्थानीय तहमा निवेदन दिन सक्नेछन् तर प्रधानमन्त्री नेतृत्वको निर्देशक समितिले निर्णय गरेकाले सुनुवाईका लागि पनि फेरी सोही तहको निर्णय हुनुपर्छ’, घिमिरेले भने ।
नेपाल टेलिकमको ५५ प्रतिशत नगद लाभांश पारित, माघ २ गतेदेखि वितरण गरिने
काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड(नेपाल टेलिकम)को सेयरधनीलाई ५५ प्रतिशत नगद लाभांश पारित भएको छ । आइतबार सम्पन्न टेलिकमको १०औँ वार्षिक साधारणसभाले कम्पनीको उक्त प्रस्तावलाई पारित गरेको छ । सभाले पारित गरे बमोजिम टेलिकमले आर्थिक वर्ष २०७३/७४ को मुनाफा रकम मध्येबाट ५५ रुपैयाँ प्रतिसेयरका दरले सेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीले आगामी माघ २ गते देखि सो मात्राको लाभांश रकम आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने भएको छ । कम्पनीले वितरण गर्न लागेको उक्त लाभांश रकम अहिलेसम्म वितरण गरिएको लाभांश रकम मध्ये सबैभन्दा बढी हो । साथै, सभाले सर्वसाधारण शेयरधनी मध्येबाट निर्वाचित हुने सञ्चालकको कार्यकाल ३ वर्ष वा नियुक्ति भएको मिति देखि तीन वटा साधारणसभा बस्ने मिति मध्ये जुन पहिलो हुन्छ, सो मितिसम्म मात्र हुने व्यवस्था गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७३/७४ मा खुद मुनाफा १५ अर्ब ३७ करोड रुपैयाँ कमाएको छ । साथै, गत आवको तुलनामा १७.२३ प्रतिशतले ग्राहक संख्यामा वृद्धि भई १ करोड ७६ लाखभन्दा बढी ग्राहकहरूलाई सस्तो तथा भरपर्दो दूरसञ्चार सेवा उपलब्ध गराउन कम्पनी सफल भएको सभामा जानकारी गराइएको छ ।