एशियन लाईफ इन्स्योरेन्सको हकप्रद बिक्रीको म्याद थप, वैशाख २ गतेसम्म भर्न पाइने
काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनीले हकप्रद निष्कासनको म्याद १४ दिन थपेको छ । कम्पनीले हाल जारी गरिरहेको ५० प्रतिशत हकप्रद सेयर बिक्रीको म्याद आगामी वैशाख २ गतेसम्म थपको हो । यसअघि इन्स्योरेन्सले सो मात्राको सेयर गत फागुन १३ गतेदेखि चैत १८ गतेसम्म बिक्री गर्ने निर्णय गरेको थियो । तर कम्पनीको हकप्रद निष्कासनको प्रयोजनको लागि तयार गरिएको विवरणको दफा ‘र’ मा भएको व्यवस्था अनुसार कम्पनीले उक्त दिनसम्म म्याद थपेको इन्स्योरेन्सले जनाएको छ । कम्पनीले हाल २ बराबर १ को अनुपातमा अंकित मूल्य १०० रुपैयाँको दरले ४० लाख २७ हजार ९६६ कित्ता सेयर जारी गरिहेको छ । यसैअनुसार कम्पनीको माघ ७ गतेसम्म कायम साविक सेयरधनीहरुले बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलमार्फत सो मात्राको सेयर भर्न पाउने छन् । उक्त सेयरको लागि इच्छुक सेयरधनीले अन्तिम म्याद वैशाख २ गते(बैंकिङ्ग समयभित्र भित्र) आवेदन दिन सक्नेछन्् ।
१४७७ डायल गर्नुहोस् एनटीसीको निर्ब्याजी ४० रुपैंया सापटी लिनुहोस
काठमाडौं । नेपाल टेलिकमले आजबाट प्रिपेड ग्राहकहरुलाई सापटी योजना सुरु गरेको छ । सापटी लिन ग्राहकले अग्रेजी अक्षर स्टाटस (status) लेखेर १४७७ मा पठाउनु पर्नेछ । ‘नमस्ते क्रेडिट’ नामक यो सेवा सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले उद्घाटन गरेका हुन् । कार्यक्रममा मन्त्री बास्कोटाले ढिलै भएपनि टेलिकमको यस सेवाबाट ग्राहकलाई सजिलो हुने बताए । टेलिकमकी प्रमुख कामिनी राजभण्डारीले अबका दिनमा टेलिकमले थप आधुनिक कार्यक्रम विस्तार गरी राज्यलाई टेवा दिने बताइन् । यो सेवाका लागि टेलिकमले ग्राहकले प्रयोग गरेको सिमकार्डको कल हिस्ट्री हेर्नेछ । यसबाट ग्राहकले ५ देखि ४० रुपैंयासम्म निब्र्याजी सापटी लिन सक्नेछन् । यो सेवा लिन नचाहने व्यक्तिले अग्रेजी अक्षर स्टप (stop) लेखी १४७७ मा पठाउनुपर्ने छ । यदि पुन सरु गर्न चाहेको खण्डमा start लेखि १४७७ म्यासेज पठाउनु पर्नेछ । यसरी लिएको सापटी रकममा कुनै व्याज नलाग्ने टेलिकमले जनाएको छ । सापटी लिइएको रकम पुन रिचार्ज गर्दा काटिनेछ । तर ग्राहकको सापटी लिएको रकम भन्दा कम ब्यालेन्स भएकमा रकमको ६० प्रतिशत मात्र रकम कटौती गरिनेछ ।
५ वर्ष भित्र केरुङबाट रेल काठमाडौंमा
काठमाडौं । ५ वर्षभित्र केरुङबाट काठमाडौं रेल आइपुग्ने भौतिक तथा पुर्वाधार मन्त्री रघुविर महासेठले बताएका छन् । राजधानीमा अायाेजित एक कार्यक्रममा मन्त्री महासेठले ५ वर्षभित्र केरुङबाट रेल काठमाडौं आइपुग्ने ठोकुवा गरेका हुन । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री महासेठले नेपालको सबै क्षेत्रको सडक र रेलमार्गलाई तिब्र गतिमा विकास गर्ने बताएका हुन् । केरुङ,काठमाडौ, पोखरा र लुम्बिनी रेल मार्गलाइ उच्च प्राथमिकता मा राखेका छौं, आगामी पाँच बर्ष भित्र केरुङ काठमाडौं रेलमार्ग निर्माण सम्पन्न गर्ने गरी योजना बनेको छ, सोहि अनुसार काम अघि बढाउनेछौं, महासेठले भने । उनले चैतभित्रै यातायात क्षेत्रको सिन्डीकेट तोडिने पनि दाबी गरेका छन् । बैशाख भरिमा राष्ट्रिय राजमागहरुको सुधार गर्ने र काठमाडौंको सडकको खाल्लाखुल्डी तत्काल पुर्न सरु गरिनेछ, साउन भित्रमा अदालतबाट पुर्ण पाठ झिकाई त्रिपुरेश्वर कलंकी र नागढुगा सडकखण्ड कालोपत्रे गर्ने उनले बताए ।
स्टीलकाे मूल्य प्रतिकेजी ३५ रूपैयाँ बढेकाे भन्दै ग्रील व्यवसायी अाक्राेशित, १६ रुपैंयाँ बढेकाे उद्योगी भनार्इ
काठमाडौं । पछिल्लो समय फलाम र स्टिलजन्य निर्माण समाग्रीहरुको मूल्य निरन्तर बढेर प्रतिकिलो ३५ रुपैयाँ पुगिसकेको ग्रिल तथा स्टिल व्यवसायी महासंघका अध्यक्ष मोहन कटुवालले बताए । ‘गएको सात दिनमा मात्रै प्रतिकिलो फलामजन्य सामाग्रीको मूल्य ३ रुपैयाँ बढेको छ,’ उनले भने ‘पछिल्लो ४ महिनामा प्रतिकिलो ३५ रुपैयाँसम्म मूल्य बढेको छ ।’ हप्तादिनमै २/३ पटक मूल्य बढ्दा पनि सरकारले चासो नदिएको उनको गुनासो छ । यसरी नै फलाम र स्टीलकाे मूल्य बढ्ने हो भने ग्रिल तथा स्टिल व्यवासय धरासायी हुने उनको दावी छ । महंगाइको कारण केही महिनापछि व्यवसायनै बन्द हुने अवस्था आउने उनको भनाइ छ । ‘हामीले रोलिङ मिल हाडवेयर लगायत ठूला फलामजन्य उद्योगीहरुसँग छलफल गर्न वैठक डाक्यौं तर उनीहरु आएनन्,’ गुनासो गर्दै उनले भने । स्टील उद्योगीहरुले पनि चार महिनामा प्रतिकिलो १६ रुपैंयाँले मूल्य बढाएको स्वीकार गरेका छन् । अम्बे स्टिलका डाइरेक्टर पूर्णभद्र पौड्यालले पछिल्लो ४ महिनाको अबधिमा प्रतिकिलो १६ रुपैंयाँको हाराहारीमा मूल्य बढेको बताए । उनले बजारमा हल्ला गरे जसरी मूल्य नबढेको तर अन्तराष्ट्रिय बजारमा बढेको मूल्य र लागत अनुसार डन्डीको मूल्य समायोजन गरिएको बताए । ‘अन्तर्राष्ट्रिय बजारमै फलामजन्य पदार्थको मूल्य बढेकोले अाफूहरुले पनि डन्डीको मूल्य बढाउन बाध्य भएका हौं,’ उनले भने ‘अधिकांश डन्डी र स्टीलको कच्चा पदार्थ भारतबाट भित्रिने गरेको छ ।’ उनका अनुसार भन्सार, भाडा जोड्ने हो भने कच्चा पदार्थको मूल्य पनि करिब प्रतिकिलो १५/१६ रुपैयाँ नै बढेको छ ।’ आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागको महानिर्देशक कुमारप्रसाद दाहालले केही समय अघि मात्रै सिमेन्ट र डन्डीको मूल्य बढेको उजुरी आएपछि विभागले अनुगमन गरेको बताए । अनुगमनपछि विभिन्न सिमेन्ट उद्योगीहरुले २४ प्रकारका सिमेन्टको भाउ घटाएका थिए । केही डन्डी उद्योगहरुले पनि भाउ घटाएको उनको भनाइ छ । ‘अहिले फेरी बजारमा डण्डी, रड, स्टिल लगायतको मूल्य बढेको समाचारबाहिर आइरहेको छ,’ उनले भने ‘उजुरी आए लगत्तै हामी अनुगमन कार्य अघि बढाउने तयारीमा छौं ।’
डा. उपेन्द्र देवकोटाकाे उपचार कसैले गर्न नसके म सक्छु –सुवास सुब्बा
सुवास सुब्बा लिम्बु, कार्यकारी निर्देशक, ग्रीन वेल्थ इन्डस्ट्रिज ग्रीन वेल्थ इन्डस्ट्रिजले अन्तिम विकल्पको नरासहित आयुर्वेदिक उपचारलाई अघि बढाएको छ । कुनै पनि ठाँउमा, कसैबाट पनि उपचार गर्न नसकिने रोगको लागि अन्तिम विकल्पको रुपमा उक्त इन्डस्ट्रिलाई आयुर्वेदिक विधिबाट उपचार गर्दै आएको छ । प्रस्तुत छ दैनिक ५० जनासम्म उपचार भइरहेको उक्त इन्डस्ट्रिका कार्यकारी निर्देशक सुवास सुब्बा लिम्बुसँग विकासन्युजका पृथराज थेगिमले गरेको कुराकानी । अन्तिम विकल्पको नारासहित आयुर्वेदिक उपचार गर्दै आउनु भएको छ । त्यसलाई कसरी बुझ्ने ? अन्तिम विकल्प भन्नाले कहीँ कतै उपचार हुन नसक्ने रोगको उपचार मेरो इन्डस्ट्रिबाट हुन्छ भन्न खोजेको हो । प्राकृतिक हर्बल विधिबाट उपचार गर्दै आएको छु । काँही पनि कसैले पनि जाति गर्र्न नसक्ने रोगको उपचार म गर्छु । यहाँ विभिन्न स्वदेशी विदेशी अस्पतालले गर्न नसकेको भनिएका रोगहरुको उपचार हुन्छ । विभिन्न किसिमको क्यान्सर, किड्नी फेल, प्यारालाइसिस्, हड्डी खिइने, थाइराइड, एड्स लगायत रोगको उपचार गर्छु । अहिलेसम्म तपाई उपचार केन्द्रमा आएर कतिले उपचार पाए ? करिब ३ सय जनालाई जटिल रोगको उपचार गरेको छु । साधारण नसा च्यापेको, पायल्स लगायत रोगको गन्ती छैन, धेरैको उपचार गरेको छु । सबै उपचारहरु सफल भएका छन् । कसैले निको भएन भनेर गुनासा गरेका छैनन् । सामान्यतया हेरेर अथवा जाँचेर नै रोग पत्ता लगाउछु । उपचार गर्ने क्रममा बजेट भएकाहरुले खर्च गर्न हिच्किचाउन नहुने मेरो प्रष्ट मान्यता छ । उपचार गर्न नसक्नेहरुलाई भने निःशुल्क पनि उपचार गरिदिने गरेको छु । पछिल्लो समय वरिष्ठ डाक्टर उपेन्द्र देवकोटालाई दुर्लभ क्यान्सर रोग लागेको छ । उहाँले मुलुकबाहिर उपचार गराउँदै हुनुहुन्छ । केही हप्ताअघि मात्र उहाँको अस्पतालबाट उच्च अधिकारी मलाई भेट्न आएका थिए । मैले भने उपेन्द्र देवकोटालाई कुनै देशमा पनि उपचार हुन नसके मेरोमा ल्याउनु । उनको उपचार म गरिदिन्छु । किनभने त्यस्ता डाक्टरलाई हामीले जोगाइ राख्नु पर्छ । म उनलाई आयुर्वेदिक विधिबाट उपचार गर्छु । मैले दिएको औषधि खाइदिनु पर्छ । उपचार अवश्य हुन्छ । कतिपय अवस्थामा बिरामीहरुको उपचार गर्छु । उनीहरु जाती हुन्छन् तर मुख बार्दैनन् । मुख नबार्दा जाती भएको बिरामी पनि पछि फेरी बितेका पनि छन् । स्वदेशमै उत्पादन भएको कच्चा पदार्थ उपचारको लागि प्रयोगमा ल्याउने गरेकोछु । त्यो बाहेक उपचारको लागि आवश्यक विभिन्न इलेक्ट्रोनिक लगायतका सामाग्रीहरु भने खरिद गर्ने गरेको छु । उपचार शुल्क कतिसम्म लिने गर्नु भएको छ ? जटिल उपचार गर्न फुल डोजको लागि ४५ हजार रुपैयाँ शुल्क लाग्छ । त्यसको लागि एक महिनाभन्दा बढी औषधी खानु पर्छ । पहिला पहिला कोही कोहीलाई निःशुल्क पनि उपचार गरिदिएको छु । अहिले पनि ४/५ को निःशुल्क उपचार गरिरहेको छु । ती बिरामीहरुलाई अपाङ्गता, क्यान्सर, प्यारालाइसिस लगायतको समस्या छ । उनीहरुलाई आफैसंग राखेर उपचार गरिहेको छु । गएको २ वर्षदेखि त्यसरी बिरामी राख्न थालेको हुँ । निःशुल्क उपचार गर्दा खर्च होला, स्रोत कहाँबाट जुटाउँदै हुनुहुन्छ ? स्रोत म आफैँ जुटाइरहेको छु । सहयोग मागे दिन्छन् होला । तर म माग्ने पक्षमा छैन । बेलायत लगायत युरोपका देशहरु त्यतिकै धनि भएका होइनन् उनीहरुले गरिब देशलाई सहयोग गर्ने गरेका छन् । पुण्य गरेको कारणले आशिर्बाद मिलेको हो । त्यसैले मैले पनि धर्म र आशिर्बादको लागि सहयोग गरेको हुँ । वृद्धाश्रम खोल्ने मेरो सोच छ । अहिले मसँग ८/१० जना असहाय बालबालिका छन् । दुई वर्षअघिदेखि राख्न शुरु गरेको हुँ । शुरुवातमा ३÷४ जना थिए । वैशाखदेखि केही बालबालिका थपिँदैछन् । अब ८/१० जना थप्ने सोचमा छु । कहीँ कतै उपचार नहुने रोग निको पार्छु भन्नुभएको छ । बिरामीले कसरी विश्वास गर्ने ? अस्पतालमा जाँदा पहिले नै रकम जम्मा पार्न लगाउछन् । यहाँ त्यस्तो छैन । एक महिनाको लागि औषधी खानु पर्यो भने औषधी खाएको केही दिनमै औषधीले असर देखाउँछ । त्यसपछि बिरामीे आफैले निको भएको महशुस गर्दै पैसा बुझाउने हो । बिरामीले एकै पटक ठूलो रकम बुझाउनु पर्दैन । बिरामीले विश्वास गर्ने सम्पूर्ण वातावरण छ । र, बिरामीहरुले विश्वास गरेका छन् । यही निको भएकाहरुले अरु बिरामीहरुलाई भनेको भरमा मेरोमा उपचारको लागि टाढा टाढाबाट बिरामीहरु आउने गरेका हुन् । उपचारको लागि कहाँ–कहाँबाट आउछन् ? अहिले मात्रै डिल्ली, जापान, यूकेबाट आएका छन् । एउटा प्यारालाइसीस्, अर्को रोगै पक्ता नभएका बिरामी आएका छन् । उपचार हुँदैछ । विभिन्न ठाँउमा उपचार गरेर निको नभएपछि यहाँ आएका हुन् । त्यसरी नै विभिन्न मुलुकहरुबाट बिरामी उपचारको लागि आउने गरेका छन् । आन्तरिक रुपमा भने नेपालको पूर्वमेचीदेखि पश्चिम महाकालीसम्मका बिरामीहरु आउँछन् । दैनिक २० देखि ५० जनासम्म रोगीहरु आउने गरेका छन् । तपाईले आयुर्वेदिक विज्ञान सम्बन्धी अध्ययन गर्नु भएको हो ? हैन । मैले भारतको कालेम्पुङबाट एग्रिकल्चरमा ग्रयाजुएट गरेको हुँ । त्यसताका बोटनी पनि अध्ययन गरे । बाँकी मेरो गडगिफ्टेड उपचार बिधि हो । १९९४ बर रुख भाले होइन पोथि हो भनेर मैले नै प्रमाणित गरेको थिए । त्यसबेला मैले रानी ऐश्वर्यको हातबाट तक्मा पनि पाए । पछिल्लो भारतीय नाकाबन्दीको बेलामा मैले सय लिटर पेट्रोल तथा केही ग्याँस बनाएको थिए । त्यो पनि मेरो गडगिफ्टेड क्षमता हो । विभिन्न जडिबुटी प्रशोधन गरेर बनाएको पेट्रोल बिक्री गरेको थिए । त्यस्तै फोहोर पदार्थहरुबाट ग्याँस निकालेको थिएँ । मान्छेहरुले नपत्याउला ? अर्को म यार्सागुम्बालाई जति वर्ष पनि सञ्चय गरेर राख्न सक्छु । मसँग त्यो विधि छ । मैले ठूला–ठूला यार्सागुम्बा व्यवसायीहरुलाई यार्सागुम्बाको बैंक खोल्ने समेत प्रस्ताव गरेको थिएँ । म बिग्रेको यार्सागुम्बालाई पनि जस्ताको त्यस्तै बनाउँदै यार्सागुम्बा व्यवसायीहरुलाई धेरै सहयोग गरेको छु । बिग्रेको यार्सागुम्बालाई राम्रो बनाउँदै लगेका छन् । चित्तबुझेन भने ल्याबमा परिक्षण गर्न सक्नछन् । गुणस्तरमा कुनै सम्झौता हुँदैन । अध्ययन एग्रिकल्चर, बोटनीको गर्नुभएको भन्नुहुन्छ । तपाईलाई आयुर्वेदिक उपचारतर्फ आउने प्रेरणा कहाँबाट मिल्यो ? हो, मैले विगतमा फ्लोरिकल्चर सम्बन्धि काम गरें । बोटनी सम्बन्धि पनि काम गरेँ । त्यसपछि अहिले जडिबुटी क्षेत्रमा आएको हुँ । यस क्षेत्रमा लागेको १७/१८ वर्ष भयो । अहिले म उमेर ४७/४८ वर्षको भइसकेँ । सुरुमा मलाई मान्छेलाई लाग्ने रोगको किन औषधि पाइँदै भन्ने चासो बढ्यो । म त्यसको अध्ययनमा लागे पछि थाहा भयो आयुवेर्दिक उपचारबाट जस्तो रोग पनि निको पार्न सकिने उपाय । त्यसपछि पहिला एचआईभी एड्सको उपचारदेखि मैले मेरो आयुर्वेदिक उपचारको शुरुवात गरेको हुँ । सन् २००४/०५ सालको कुरा हो । एक जना ३० वर्ष उमेर पुगेको महिलालाई एचआईभी एड्स लागेको थियो । उनलाई उनको श्रीमान्ले सारेको थियो । उनको श्रीमान्को देहवसान भइसकेको छ । आमालाई लागेपछि छोरालाई पनि सरको थियो । ती दुवैलाई मैले उपचार गरेको हुँ । अहिले दुवै छन् । तपाईको भावी योजना के छ ? ललितपुर जिल्लामै आयुर्वेदिक अस्पताल खोल्ने योजना छ । बजेट जुटे १०/२० करोडको राम्रै अस्पताल बनाउने सोच छ । अहिले मसँग एम्बुलेन्स छ । अर्को सववहान गाडी किन्ने इच्छा छ । मैले भुकम्पको बेला डेडबडीहरु प्रीजभ गर्न सुरक्षाकर्मीहरुलाई सहयोग गरेको थिए । म कफीन बक्स पनि बनाउँछु । उक्त बक्सभित्र सव लगाएपछि १५/२० दिन केही हुँदैन । त्यस्तै एउटा स्कुल खोल्ने योजना छ । मैले जानेको कुराहरु विद्यार्थीहरुलाई सिकाउन सकौं । मेरो आफ्नै नारा छ, डलर आफ्नै देशमा कमाउन सकिन्छ । मैले अनुसन्धान गरिसकेको छु । नेपाल असाध्यैै धनी देश हो ।
कानून निर्माणमा सांसदहरुको भुमिका विषयक छलफल
काठमाडौ । संबिधान बमोजिम संसदबाट अब बन्ने ऐन कानून लैङ्गिक मैत्री बनाउन सांसदहरुको भुमिका महत्वपुर्ण हुने बताइएको छ । जागरण नेपालको आयोजनामा राजधानीमा भएको लैङ्गिक मैत्री संघीय कानून निर्माणमा महिला सांसदहरुको भुमिका बिषयक कार्यक्रममा सांसदहरुले नेपाल नयाँ युगमा प्रबेश गरेकोले अब नयाँ ढंगले अगाडि बढाउनुपर्ने बताएका छन् । सबिधानसभाले बनाएको संबिधान बमोजिम संसदबाट बन्ने ऐन कानुन निर्माण र ती ऐन कानून जनतामुखी बनाउन सबै सांसदको प्रभाबकारी सक्रियता हुनुपर्ने कुरामा जोड दिएका हुन् । सबै खाले हिंसा र अन्याय अन्त नभए सम्म समृद्धि र बिकास हुन नसक्ने भन्दै सांसदहरुले समाजमा रहेका बिकृतिहरुलाई हटाएर सुखी र समृद्धि नेपाल बनाउन आफुहरु लागि पर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । स्थायी खालको नयाँ सरकार बनेको सन्दर्भमा बिगतका बिकृति हटाएर सामाजिक न्याय सहितको सुशासनयुक्त समाजको खाँचो रहेको र त्यसका लागि परिबर्तनको प्रारम्भ आफैबाट गर्नु पर्ने आबश्यकता माथि पनि सांसदहरुले जोड दिएका छन् । संसदमा विभिन्न पार्टीका सांसदहरुको उपस्थिति रहेको कार्यक्रममा स्वास्थ्य राज्य मन्त्री पद्मा अर्यालले राजनीतिमा महिलाको सहभागिता जति प्रभाबकारी रहेको छ त्यत्तिकै रुपमा अब प्रभाबकारी कानून निर्माणमा पनि सबै पक्षको सहयोगी भुमिका हुनुपर्ने बताएकी छन । मन्त्री अर्यालले सांसदहरुकै सुझाबका आधारमा बर्तमान सरकारले सामाजिक न्याय सहितको नीति तथा कार्यक्रम ल्याउने र स्वास्थ्यसंग सम्बन्धित बिषयमा पनि आफुले समानता र महिलामुखी , जनमुखी भएर योजना बनाएर लागु गर्ने प्रतिबद्धता ब्यक्त गरेकी छन् । कानुनविद् सबिन श्रेष्ठले कानुन निर्माणमा सांसदहरुको भुमिका कस्तो हुने र बिधेयक निर्माण प्रक्रिया बारे जानकारी गराएका थिए । समानतामुखी कानुन निर्माणका लागि बिगतमा जस्तै महिलाहरुको ककस बनाउन पनि उनले सुझाब दिएका थिए । अखिल नेपाल महिला संघकी नेतृ एवं जागरण नेपालकी संस्थापक अध्यक्ष शर्मिला कार्कीले राजनीतिमा महिला सहभागिता जस्ता बिषयमा ठूलो उपलब्धि हाँसिल भएकोले त्यसलाई अब सस्थागत गर्नुपर्ने बताएकी छन ।
माछापुच्छ्रे बैंकको एमथ्री प्लस बजारमा, ग्राहकलाई सुविधै सुविधा
काठमाडौं । माछापुच्छ्रे बैंकले अत्याधुनिक सुबिधासहितको एमविएल मोबाइल मनी(एमथ्री प्लस) बजारमा ल्याएको छ । बैंकले सरल माध्यमबाट बैंकिङ्ग सुविधा प्रदान गर्ने उदेश्यले “हातमा नै बैंक” भन्ने नाराका साथ नयाँ मोबाइल बैंकिङ्ग (एमथ्री प्लस) शुरु गरेको हो । उक्त सेवाका विशेषताहरु इन्टरनेट/जीपीआरएसमा आधारित, ग्राहकद्धारा आफै मोबाईलबाट मुद्दति खाता खोल्न सकिने, तालिकाबद्ध भुक्तानी निर्देशन दिन सकिने, अन्तर बैंक रकमान्तर गर्न सकिने, मोबाइल रिचार्ज/टपअप, विल भुक्तानी, ई–वालेट टपअप, क्रेडिट कार्डको भुक्तानी गर्न सकिने आदि जस्ता थुप्रै सुबिधाहरु रहेको बैंकले जनाएको छ । साथै यसको प्रयोगबाट ग्राहकहरुले बैंकका शाखा तथा एटीएमहरु पत्ता लगाउन सकिने, विनियम दर तथा धितोपत्र सम्बन्धि जानकारी प्रप्त गर्न सकिने, सि-आस्वा भर्ने सुविधा तथा यो बैंकिङ्ग कारोवारको सरल, सुरक्षित तथा भरपर्दाे माध्यम भएको समेत जनाएको छ । हाल बैंकले ६२ वटा शाखाहरु, ४ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत १४ शाखा रहित बैंकिङ्ग सेवा समेत गरी जम्मा ८० स्थानबाट बैंकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर ८६ वटा एटीएमहरु संचालनमा रहेको छ ।
महालक्ष्मी विकास बैंकको ९ प्रतिशत नगद लाभांश स्वीकृत
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडको प्रस्तावित ९ प्रतिशत नगद लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएको छ । उक्त लाभांश बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र वितरण गरिने छ । बैंकले पेश गरेको आर्थिक वर्ष २०७३/७४ को लेखापरीक्षण भएको वित्तीय विवरण अनुसार सो मात्राको लाभांश दिने प्रस्ताव राखेको थियो । हाल बैंकको चुक्तापुँजी २ अर्ब ६३ करोड रुपैयाँ रहेको छ । बैंकले फाल्गुन मसान्तसम्म २४ अर्ब ४४ करोड रुपैयाँ निक्षेप संकलन गरी २१ अर्ब ३७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । यस बैंकको नेपालभरी जम्मा ७१शाखा रहेको छ भने एटिएम संख्या ३५ रहेको छ ।