विद्यार्थी संगठनको दबाब पछि अस्थायी शिक्षकको चैत २३ तोकिएको परीक्षा स्थगित
काठमाडौं । विद्यार्थी संगठनको दबाबपछि अस्थायी शिक्षकको चैत २३ गते तोकिएको परिक्षा स्थगित भएको छ । शिक्षक सेवा आयोगले सूचना जारी गर्दै परिक्षा स्थगित भएको जानकारी दिएको हो । शुक्रबार परिक्षा स्थगित गर्न अखिल क्रान्तीकारी एमाले निकट अनेरास्ववियू लगायत विद्यार्थीले आन्दोलन गरेका थिए ।
अर्थमन्त्री खतिवडाले भने : सरकारको ढुकुटी रित्तो छ
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले राष्ट्रिय ढुकुटी रित्तो अवस्थामा रहेको बताएका छन् । मुलुकको आर्थिक अवस्थालाई समेटेर ल्याउन लागिएको श्वेतपत्रका बारेमा संघीय संसदलाई जानकारी गराउदै राष्ट्रिय ढुकुटी रित्तो अवस्थामा रहेको जानकारी गराएका हुन् । उनले बजेट अनुशासनको अभावले गर्दा सरकारी ढुकुटी रित्तो अवस्थामा पुगेको जानकारी दिए । श्वेतपत्रको पूर्ण विवरण अर्थ मन्त्रालयले पत्रकार सम्मेलन आयोजना गरेर सार्वजनिक गर्दै छ । अर्थमन्त्री खतिवडाले समाजवाद उन्मुख राष्ट्र निर्माणका लागि सार्वजनिक निजी र सहकारी क्षेत्रलाई अघि बढाइ फराकिलो आर्थिक वृद्धिको लक्ष्यलाई प्राथमिकतामा राखिएको बताएका छन् ।
जनता बैंकको एकैसाथ ८ शाखाबाट कारोबार शुरु, शाखा संख्या १०६ पुग्यो
काठमाडौं । जनता बैंक नेपाल लिमिटेडले एकैसाथ ८ नयाँ शाखाबाट कारोबार शुरु गरेको छ । बैंकले पाल्पाको रामपुर, कैलालीको टिकापुर, स्याङ्जाको वालिङ, काठमाडौंको महाराजगंज, ललितपुरको ग्वार्को, रुपन्देहीको नयाँमिल, नवलपरासीको दुम्किबास र बर्दियाको भुरीगाँउ शाखाबाट कारोबार संचालन गरेको हो । यी शाखा मध्ये बैंकले चैत रामपुर, टिकापुर र वालिङ शाखाको कारोबार गत चैत १५ गते देखि कारोबार शुरु गरेको थियो । त्यसैगरी, बैंकले अन्य बाँकी शाखाको आज(शुक्रबार)देखि शुरुवात गरेको छ । यस सगै बैंकको शाखा संख्या १०६ पुगेको पुगेको छ भने काठमाडौं उपत्यकामा १७ शाखाहरु रहेका छन् । यस अतिरिक्त बैंकले ३३ शाखा रहित बैंकिङ्ग, २ सीमित बैंकिङ्ग ईकाइ, ३ एक्सटेन्सन काउन्टर र ६९ एटिएमबाट सेवा प्रदान गरिरहेको छ ।
२१ करोड निक्षेप राख्न बैंक खोज्दै विद्युत प्राधिकरण
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले २१ लाख डलर (२१ करोड डलर) कल खातामा राख्न बैंकसंग प्रस्ताव आब्हान गरेको छ । विद्युत प्राधिकरणले आफुसंग भएको २१ लाख अमेरिकी डलर कल खातामा राख्नका लागि चैत २२ गते प्रस्ताव खोल्ने जानकारी दिएको छ । आफुलाई आवश्यक परेका बेला झिक्न मिल्ने गरी प्राधिकरणले कल खातामा रकम जम्मा गर्न लागेको प्राधिकरण संस्था वित्तीय विभागका उपकार्यकारी निर्देशक लेखनाथ कोइरालाले बताए । “जुन बैंकले बढी ब्याज दिने प्रस्ताव गर्छ हामी सोही बैंकमा रकम जम्मा गर्ने छौं” उनले भने । बैंकले बढीमा २१ लाख डलरसम्मका लागि प्रस्ताव गर्न सक्ने कोइरालाको भनाइ छ ।
उत्तर कोरियालाई सम्झँदै माधव नेपालले ‘म फेन्ट भएँ भनेपछि…’
काठमाडौं । ‘उत्तर कोरियाले प्योङयोङ विमानस्थल २ बर्षमा बनायो, १५ हजार बाढी पीडितलाई २ महिनामा घर बनायो, मैले निजगढ विमानस्थल कहिले बनिसक्छ भनेर हाम्रा प्राबिधिकलाई सोधेको त १० देखि १५ बर्ष भने, म त फेन्ट भएँ’, यो भनाई हो पूर्व प्रधानमन्त्री तथा एमाले बरिष्ठ नेता माधव नेपालको । शुक्रबार राजधानीमा आयोजीत समाजवादका लागि भौतिक पुर्वाधार विकास बिषयका कार्यक्रममा एमाले बरिष्ठ नेता नेपालले उत्तर कोरिया, चीन, भियतनाम र पाकिस्तानले पुर्वाधार विकासमा गरेको प्रगतिका केहि कथा पनि सुनाए । उनले ती देशहरुले जस्तै द्रुत गतिमा नेपालको विकास गर्नुपर्ने धारणा पनि राखे । ‘चीन, भियतनाम, पाकिस्तान, उत्तर कोरियाले २ बर्षमा गर्न सक्ने काम हामीलाई किन १५ बर्ष लाग्ने ?’, नेता नेपालले प्रश्न गरे । उनले नेपालको विकास गतिका बारेमा टिप्पणी गरिरहँदा भौतिक पुर्वाधार मन्त्री रघुविर महासेठ, मन्त्रालयका सचिव देवेन्द्र कार्की, सडक विभागका महानिर्देशक गोपाल सिग्देल, यातायात व्यवस्था विभाग, रेल विभागका उच्च अधिकारी, महानगरिय ट्राफिक महाशाखा प्रमुख डिआइजी सर्वेन्द्र खनाल लगायतका उपस्थित थिए । नेता नेपालले प्रधानमन्त्रीदेखि मुख्य सचिव, सचिव र विभागका प्रमुख देखि कर्मचारीसम्मले भ्रष्टाचार नगर्ने प्रण गर्नुपर्ने धारणा पनि राखेका थिए । कति लेनको सडक बनाउने भन्ने काम अदालतको हो ? नेता नेपालले बिराटनगरमा सडक विस्तार सम्बन्धी अदालतको फैसलाबारे रोचक प्रशंग पनि सुनाए । ‘बिराटनगरको एउटा सडकमा अदालतले ४ लेनको मात्रै बनाउनु भनेर आदेश दिएछ, कति लेनको सडक बनाउने भन्ने काम अदालतको हो र ? मैले त्यो कुरा सुन्ने वित्तिकै प्रधानन्यायधिसलाई भेटेर सोँधे, उहाँले म मिलाउँछु भन्नु भयो’, नेपालले भने । उनले सरुवा र बढुवामा पैसा लिन्न भनेर प्रधानमन्त्री, मन्त्री, मुख्यसचिव देखि विभागका महानिर्देशकहरुले सार्वजनिक घोषणा गर्नुपर्नेमा पनि जोड दिएका थिए । कार्यक्रममा भौतिक पुर्वाधार मन्त्री रघुबिर महासेठले बैशाख भित्रै यातायात क्षेत्रको सिण्डीकेट खारेज गर्ने, चैत भित्रै काठमाडौंका ठुला सडकलाई खाल्डा खुल्डी मुक्त बनाउने, बैशाख १५ भित्र राष्ट्रिय राजमार्गलाई खाण्डाखुल्डी मुक्त बनाउने लगायतका घोषणा गरेका थिए । नेकपा(एमाले)को भौतिक पुर्वाधार तथा यातायात व्यवस्था विभागले आयोजना गरेको कार्यक्रममा सडक, यातायात, रेल, ट्राफिक महाशाखाका अधिकारीहरुले कार्यपत्र प्रस्तुत गरेका थिए ।
काठमाडौं उपत्यकामा झण्डै ६० प्रतिशत किसान थोपा सिँचाइमा
ललितपुर । काठमाडौं उपत्यकामा झण्डै ६० प्रतिशत किसानले थोपा सिँचाइ गर्न थालेका छन् । झण्डै एक दशकमा तरकारीखेतीमा थोपा सिँचाइको प्रयोग ह्वात्तै बढेको नेपाल कृषि अनुसन्धान परिषद्अन्तर्गतको तरकारी विकास निर्देशनालयका वरिष्ठ तरकारी विकास अधिकृत खेमराज जोशीले बताएका छन् । थोपा सिँचाइका कारण जनशक्ति र पानी दुवैको बचत भएको छ । काठमाडौं उपत्यकामा पानीको कमीका कारण थोपा सिँचाइ उपयुक्त रहेको छ । उनले भने, “अहिले किसानले पनि दिनभर पाइपले पानी हालेर मेहनत गर्नेभन्दा पनि छिटो र सजिलो कुरा खोजेका छन् ।” काठमाडौं उपत्यका बाहिरका तरकारीखेती हुने जिल्लामा पानी पर्याप्त भएकाले र प्रविधि पहुँच नभएकाले पनि थोपा सिँचाइ फैलिन सकेको छैन । थोपा सिँचाइबाट बोटबिरुवालाई पानी हाल्दा उत्पादन बढ्ने वरिष्ठ तरकारी विकास अधिकृत जोशीले बताए । पाइपबाट पानी हाल्दा लामो समयसम्म सुख्खा बिरुवाले एकै पटक ह्वात्त पानी पाउँछ । थोपा सिँचाइबाट पानी हाल्दा बिरुवाले चाहिने मात्रामा र जरामा नै पानी पुग्छ । उनले भने “यो विधिबाट बिरुवा सुक्न र एकै पटक बिरुवामा बाढी जसरी नै पानी ह्वात्तै जान पाउँदैन ।” एक किलो गोलभेँडा फलाउनका लागि थोपा सिँचाइबाट औसत चार लिटर र पाइपबाट औसत ४० लिटर पानी आवश्यक पर्छ । इजरायलबाट फर्किएका नेपाली कामदारले थोपा सिँचाइलगायतका सो प्रविधि भित्र्याएका हुन् । रासस
राष्ट्र बैंकको निर्देशनपछि नविल बैंकले बन्द गर्यो अग्रिम ब्याज भुक्तानी योजना
काठमाडौं । नविल बैंकले अग्रिम ब्याज भुक्तानी दिने योजना बन्द गरेको छ । गत चैत ८ गतेदेखि कार्यान्वयनमा आएको नविल बम्पर मुद्धति योजना शुक्रबारदेखि बन्द भएको बैंकले जानकारी दिएको छ । नेपाल राष्ट्र बैंकले अग्रिम ब्याज भुक्तानी योजना रोक्ने सुचना बाहिर आएपछि बैंकले योजना रोक्ने निर्णय गरेको हो । अग्रिम ब्याज भुक्तानी योजना बन्द गरेर मासिक ब्याज भुक्तानी निक्षेप योजना लागु भएको बैंकले जानकारी दिएको छ । बैंकले निक्षेप बढाउन ११ प्रतिशत ब्याज अग्रिम भुक्तानी दिने भनेको थियो । बैंकिङ क्षेत्रमा अस्वस्थ प्रतिस्पर्धा भित्रिने र प्रणालीगत जोखिम समेत बढ्ने भन्दै राष्ट्र बैंकले अग्रिम ब्याज भुक्तानी योजना बन्द गराउन तयारी थालेको थियो । अग्रिम ब्याज भुक्तानीले अस्वस्थ प्रतिस्पर्धा ल्याइ भविष्यामा बैंकिङ प्रणालीमा समस्या आउने राष्ट्र बैंकले भनेपछि यसलाई बन्द गरिएको नविलका डेपुटी प्रमुख कार्यकारी अधिकृत अनिल शाहले बताए । उनले अब अग्रिम नभइ मासिक रुपमा ११ प्रतिशतका दरले मुद्धति निक्षेपको ब्याज भुक्तानी हुने जानकारी दिए । पछिल्लो समय नविल बैंक, एनआइसी एसिया बैंक र बैंक अफ काठमाण्डूले अग्रिम ब्याज भुक्तानी योजनाबाट निक्षेप संकलन अघि बढाईसकेका छन् ।
नागरिक लगानी कोष, बिओके र राष्ट्रिय बीमा कम्पनीबीच पेन्सन वितरण सम्झौता
काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको अवकास प्राप्त कर्मचारीहरुको निवृतीभरण भुक्तानी गर्न नागरिक लगानी कोष, बैक अफ काठमाण्डौं (बिओके) र राष्ट्रिय बीमा कम्पनीबीच सम्झौता भएको छ । सम्झौतामा कोषका कार्यकारी निर्देशक रामकृष्ण पोखरेल र बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत वीरविक्रम रायमाझीले हस्ताक्षण गरेका हुन् । हस्ताक्षरपछि कोषका कार्यकारी निर्देशक पोखरेलले सार्वजनिक संस्थाहरुमा अवकाश प्राप्त कर्मचारीहरुको पेन्सन वितरण कार्य कोषले गरेकोले कोषे ढुङा सावित भएको बताएका छन् । उनले बीमा कम्पनीबाट अवकास भएका कर्मचारीहरुको पेन्सन वितरण कोष माफर्त बिओकले गर्ने जानकारी दिएका छन् । सम्झौतापछि निवृत्तिभरण रकम भुक्तानीका लागि बैंकमा कोषले तोकेको खाता खर्च गरी पेन्सन–पट्टामा बैंक र पेन्सन भुक्तानीलिनेको दस्तखत गरी बैकले रकम भुक्तानी गर्ने छ । निवृत्तिभरकले पाउने १२ महिनाको मासिक निवृत्तिभरण र थप एक महिना बराबरको चाडपर्व खर्च सहित १३ महिनाको निवृत्तिभरण रकम कोषको निर्देशनपछि बैकले भुक्तानी गर्ने छ । निवृत्तिभरकलाई थप अन्य सुबिधा बापतको रकम भुक्तानी गर्नु परेमा बिमा कम्पनीले कोष मार्फत गरेको अनुरोधका आधारमा मात्रै बैकले थप भुक्तानी गर्ने छ । निवृत्तिभरणको भुक्तानी प्रत्येक महिनाको १५ गते पछि गर्ने ब्यवस्था मिलाइएको छ । निवृत्तिभरण रकम भुक्तानी लिन निवृत्तिभरक पेन्सन–पट्टाका साथ प्रत्येक छ/छ महिनामा बैंकमा स्वयं उपस्थित हुनु पर्ने व्यवस्था गरिएको छ । स्वयं उपस्थित हुन असमर्थ भएमा मञ्जुरीनामाबाट भुक्तानी लिन मञ्जुरीनामाको निवेदन राष्ट्रिय बीमा कम्पनीले प्रमाणित गरेपछि मात्र पाइने कोषका सूचना अधिकृत उद्धव सिलवालले बताए । कोषले यो भन्दा अघि नेपाल दुर संचार र प्रशाशनिक प्रशिक्षण प्रतिस्ठानबाट अवकाश प्राप्त कर्मचारीहरुलाई पेन्सन वितरण कार्य गरिसकेको छ । यो सँगै कोषमा निजी क्षेत्र र अन्य संस्थाको पनि पेन्सन वितरण गर्ने अनुभव रहेकोले आगामी दिनमा सरकार र अन्य निकायको पेन्सन वितरणको व्यवस्था गर्ने तर्फ पनि कोषले गृहकार्य गरिरहेको छ ।