विकासन्युज

धुर्मुस सुन्तलीले भने-पहिले नमूना नेपाल कि अन्तराष्ट्रिय क्रिकेट मैदान ?

काठमाडौं । नमूना बस्ती निर्माणबाट नमूना नेपाल बनाउन लागि परेका धुर्मुस सुन्तली फाउन्डेशनले अब अन्तराष्ट्रिय क्रिकेट मैदान निर्माण गर्ने भएका छन् । अब विश्वले चिन्नेछ नेपाल, नेपाल भित्रको नेपाल ‘नमुना नेपाल’ निर्माण परियोजनाको सर्वेको काम सकेर मास्टर प्लान, डि पिआर र ईआईए को प्रकृयामा अघि बढाएको फाउण्डेशनले क्रिकेट मैदान पनि निर्माण गर्ने भएको हो । सिताराम कट्टेल सामाजिक सञ्जालमा भनेका छन् – नेपालमा एउटा अन्र्तराष्ट्रिय स्तरको क्रिकेट मैदान अपरिहार्य रहेको र सो निर्माणको संयोजन पनि तपाईहरुले गरिदिनुपर्यो भनेर एकप्कारको सुझाव अनि अनुरोध आईरहेकै थियो । हामीलाई दुबै परियोजनालाई अघि बढाउन सकिन्छ कि सकिँदैन भन्ने ठुलो चिन्ता थियो । सबैको ईच्छा, चाहाना मात्र नभई क्रिकेटको स्तर उन्नती अनि खेलाडिहरुको मनोबल बढाउन पनि हामी दुबै चिजलाई अगाडि बढाउने निर्णयमा पुगेका छौं । नेपालको क्रिकेटले अन्र्तराष्ट्रिय जगतमा देशको शिर ठाडो बनाएर हरेक नेपालीलाई खुसी दिलाउने मात्र नभई देशकै गरिमा उच्च राख्ने काम गरेको छ । र यो अभियान धुर्मुस सुन्तली फाउण्डेशनको मात्रै नभई राष्ट्रकै अभियान हो । फाउण्डेशनले मात्र निर्माण संयोजन गर्नेछ । यसका लागि छुट्टै ईन्टरनेशनल क्रिकेट स्टेडियम निर्माण समिति बन्नेछ । त्यहि समितिको रोहवरमा ईन्टरनेशनल क्रिकेट स्टेडियम बन्नेछ । हामीले हरेक परियोजना सरकारको समन्वयमै सम्पन्न गर्न सकेका हौं र हाम्रो लक्ष्य, उदेश्य भनेकै सरकारलाई हरेक क्षेत्रमा सघाउनु हो । यो अभियान नितान्त सरकारलाई सघाउन गरिएको अभियान हो । यसमा नेपाल सरकारले गम्भिरता पूर्वक साथ, सहयोग अनि समन्वय गर्नेछ भन्नेमा हामी विश्वस्त छौं । सबै मिलेर निर्धारित समय भित्रै अन्र्तराष्ट्रिय स्तरको क्रिकेट स्टेडियम बनाउन हामी सक्नेछौं, विश्व चिनाउने अझै धेरै खेलाडिहरु उत्पादन गर्न सक्नेछौ, विश्वभरी नेपालको नाम चम्काउन सक्नेछौं । यसले सिंगो खेल जगतलाई मात्रै लाभ हुने होईन नेपाल लाईनै आर्थिक समृद्धि तर्फ अघि बढाउन पनि महत्वपुर्ण भुमिका खेल्नेछ । किनकी यो एउटा सुन्दर पर्यटकिय गन्तब्य पनि हुनेछ । राष्ट्रिय तथा अन्र्तराष्ट्रिय प्रतियोगीता भईरहँदा विश्व भरीबाट खेलका पारखीहरु अनि खेलाडिहरु नेपाल भित्रिँदा देशलाई महत्वपुर्ण आर्थिक लाभ मात्रै नभएर देशका हरेक महत्वपुर्ण सम्पदाहरुको प्रचार पनि स्टेडियमकै माध्यमले हुनेछ र देशका हरेक क्षेत्र फष्टाउनमा अहम भुमिका खेल्नेछ । त्यसैले यो अभियानमा सबैजना एकजुट भएर लागौं । हामी नेपालीका लागि दुबै परियोजना महत्वपुर्ण छन् नमुना नेपाल अनि क्रिकेट स्टेडियम । अब भन्नुहोस कुन चाँही पहिला ?  

कलंकी-नागढुंगा सडकः ४ किलोमिटर बैशाख भित्रै कालोपत्रे

काठमाडौं । कलंकी-नागढुंगा सडकको ४ किलोमिटर खण्ड बैशाख भित्रै कालो पत्रे हुने भएको छ । काठमाडौं सडक विस्तार आयोजनाका प्रमुख दिपक केसीका अनुसार कलंकी नागढुंगा सडकको ४ किलोमिटर खण्ड बैशाख भित्रै कालो पत्रे गर्ने काम सुरु गरिएको हो । | ‘४ किलोमिटर सडक चाँही बैशाख भित्रै कालोपत्रे गर्ने तयारी भैसकेको छ, हामीले कहि काम सुरु गरिसकेका छौं’, केसीले भने ।  केसीका अनुसार अदालतको अवरोध नभएका बिभिन्न ठाउँमा गरि कुल ४ किलोमिटर सडक कालो पत्रे गर्ने काम अघि बढेको हो । सडक कालो पत्रे गर्नु पुर्वका सबै काम सम्पन्न भैसकेको पनि जानकारी दिए ।  ‘४ किलोमिटर खण्डमा ढल, खानेपानी, फुटपाथ, बिजुलीका पोल लगायतका सबै काम गरिसकिएको छ, कालोपत्रे गर्नु अघि बिछ्याइने माटो र ढुंगाको काम समेत सकिएको छ’, केसीले भने । आयोजनाले सो खण्डमा असार अघि कालो पत्रे सक्ने गरि काम अघि बढाउन लागेको थियो । तर प्रधामन्त्री कर्यालयले अदालतको अवरोध नभएको ठाउँमा कालो पत्रेको काम सन्पन्न गर्न निर्देशन दिएपछि आयोजनाले काम अघि बढाएको हो । १२.४८ किलोमिटर लामो कलंकी नागढुंगा सडक खण्डमा दर्जनौं मुद्धा परेका छन् । २०७४ साल असोजमा सर्वाेच्च अदालतले सडक विस्तारका सवालमा महत्वपुर्ण फैसला गरेको भएपनि अझैसम्म पुर्ण पाठ भने आईसकेको छैन् । सर्वाेच्च अदालतका प्रवक्ता नारायण प्रसाद पन्थीले सडक विस्तार सम्बन्धी फैसलाको पुर्ण पाठ कहिले आउने भन्नेबारे कुनै जानकारी नभएको बताए । फैसलाको पुर्ण पाठ कहिले आउँछ भन्ने जानकारी छैन्, फैसला लेखेर आयो भने हामी तुरुन्तै पठाईदिन्छौं’, सर्वाेच्च अदालतका प्रवक्ता पन्थीले भने । त्रिपुरेश्वर कलंकी नागढुंगा सडक खण्डमा ५७० वटा घर भत्काउन बाँकी छ भने ३१२ वटा विजुलीको पोल, १७२ वटा टेलिकमको पोल, ३० वटा रुख, २२ वटा स्ट्रिट लाइट, २७ वटा ट्रान्सफर्मर, १५ वटा टेलिफोन म्यान होल र एक वटा पानी ट्यांकीको अवरोध रहेको छ । सडक विस्तारको ठेक्का लागेको ३२ महिना बितिसक्दा जम्मा १७ प्रतिशत मात्रै काम सम्पन्न भएको छ ।

सेयर बजारप्रति काँग्रेसकाे गम्भीर ध्यानाकर्षण, बैठक भोलि बिहान ११ बजे पुनः बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा सेयर बजार केही दिनदेखि नियमित ओरालो लागेको सम्बन्धमा छलफल भएको छ । वाम गठबन्धन दलहरुले १० प्रतिशत आर्थिक वृद्धि र समृद्धिको नारा दिएर सरकार गठन गर्ने बेला सेयर बजारको अवस्था ओरालो लागेकोप्रति काँग्रेसले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । बैठकमा केन्द्रीय सदस्य भीष्मराज आङदम्बेले स्थानीय, प्रदेश र संघीय संसद्को निर्वाचन सम्पन्न भई मुलुकमा तुलनात्मक सहज राजनीतिक वातावरण बनेका बेला शेयर बजार नियमित ओरालो लाग्नु सुखद् पक्ष नभएको भनी टिप्पणी गरेका थिए । यसअघि बैठकमा काँग्रेस नेता डा रामशरण महतले पनि सेयर बजार ओरालो लागेको सम्बन्धमा आफ्ना धारणा व्यक्त गरेका थिए । पार्टीको केन्द्रीय कार्यालय सानेपामा जारी चुनावी समीक्षा बैठकमा आज ज्ञानेन्द्रबहादुर कार्की, रमेश रिजाल, आङदम्बे र महेन्द्र यादवले आफ्ना धारणा राखेका काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए । यही चैत ९ गतेदेखि शुरु भएको बैठकमा आजसम्म ३८ जना केन्द्रीय सदस्यले आफ्ना धारणा राखी सकेका छन्। संघीय संसद्लाई राष्ट्रपति विद्यादेवी भण्डारीले आज सम्बोधन गर्ने कार्यक्रम भएकाले काँग्रेस बैठक आजका लागि सम्पन्न भएको छ । बैठक भोलि बिहान ११ बजे पुनः बस्ने उनले जानकारी दिए। रासस

नयाँ शहर ‘काठमाडौं उत्तर’को डिजाइन बनाउने ५ कम्पनीले मापदण्ड पुरा नगरेको भन्दै पुन: टेण्डर प्रक्रियामा

काठमाडौं । १० हजार रोपनी क्षेत्रफलमा बन्ने ‘काठमाडौं उत्तर’ नामक नयाँ शहरको डिजाइन (डीपीआर) निर्माणका लागि ५ कम्पनीबिच पुन टेण्डर प्रक्रिया सुरु भएको छ । डीपीआर निर्माणका लागि उपत्यका विकास प्राधिकरणमा यसअघि आवेदन परेका कम्पनीले मापदण्ड पुरा नगरेको भन्दै रद्ध गरिएको थियो । प्राधिकरण समिती र कम्पनीबिच भएको छलफलबाट पुन ५ वटै कम्पनी योग्य रहेको निस्कर्षपछि कम्पनीलाई पुन टेण्डर प्रक्रियामा बोलाइएको प्राधिकरणका आयुक्त भाइकाजी तिवारीले बताए । ‘पहिले गरिएको टेण्डर प्रक्रियामा कम्पनीहरुले आवश्यक मापदण्ड पुर्याएका थिएनन, छलफलबाट कम्पनीले मापदण्ड पुरा गरेका छन्, कम्पनीलाई आवेदनको लागि १५ दिन दिइएको छ, छिटै कम्पनी छनोट हुनेछ’, तिवारीले विकासन्युजसँग भने । सामान्यतय टेण्डर प्रक्रयाको लागि ३० देखि ३५ दिन समयअवधि दिइने प्रचलन भएपनि पुन टेण्डर प्रक्रिया भएकोले १५ दिन मात्र दिइएको प्राधिकरणका इन्जिनियर भागवतभक्त खोखालीले बताए । उनका अनुसार पुन टेण्डर प्रक्रियामा बिडीए, मल्टिी, सिनेका, ट्युस एण्ड फुल ब्रेज र सिभिल इन्फरमेटिभ सोलुसन रहेका छन् । टेण्डर प्रक्रियामा भाग लिने सबै कम्पनी नेपाली रहेका छन् । ‘काठमाडौं उत्तर’ नामक यो शहरले काठमाडौं जिल्लाको १० हजार रोपनी जमिन ओगट्नेछ । यसको पुर्वतिर सामाखुसी, टोखा रोड हुँदै बाइपाससम्म आउनेछ । त्यस्तै, पश्चिममा काभ्रेस्थली देखि बाइपास आउने मुल सडक पर्नेछ । उत्तरतर्फ भने सपनतिर्थ मालुङ हुँदै काभ्रेस्थलीको बाटोसम्म पुग्नेछ । दक्षिणमा भने यो शहरले ग्रीनल्याण् चौक देखि महादेवखोला काभ्रेस्थली मुल सडक छुनेछ । यस बाहेक काठमाडौं आग्नेय र काठमाडौं नैऋत्य शहर डिजाइनको जिम्मा पाएको इएमआरसी कम्पनीले पहिलो महिनाको रिपोर्ट बुझाइसकेको छ । १ लाख रोपनी क्षेत्रफलम बन्ने इशान काठमाडौं शहर डिजाइनको जिम्मा फिनल्याण्डको हेलेन एण्ड आर्किटेक जेभीले जिम्मा पाएको छ । सरकारले उपत्यकामा जनसंख्याको समानुपातिक वितरण गर्न नयाँ शहको निर्माणको सुरु गरेको हो ।  

नेप्से परिसूचक दोहोरो अंकले उकालो, सबैभन्दा बढी मेघा बैंकको प्रमोटर सेयर बिक्री

काठमाडौं । साताको अन्तिम कारोबारको दिन नेप्से परिसूचक दोहोरो अंकले उकालो लागेको छ । दिनभर उतारचढाव आएको सो दिनको बजारमा अन्तत परिसूचक १५.४८ अंकले बढेर १२२० अंकमा पुगेको छ । बजारमा परिसूचकमा सुधार आएता पनि सेयर कारोबारमा भने गिरावट आएको छ । बुधबार ५१ करोडको कारोबार भएको बजारमा बिहीबार भने जम्मा ३८ करोड ७१ लाख रुपैयाँ बराबरको सेयर बिक्री भएको छ । जुन अघिल्लो दिनको तुलनामा १३ करोड रुपैयाँ घटी हो । १६४ कम्पनीको कारोबार भएको सो दिनको बजारमा सबैभन्दा बढी मेघा बैंकको प्रमोटर बिक्री भएका छन् । यस बैंकको एकैदिन ३ करोड ६४ लाख रुपैयाँ बराबरको प्रमोटर सेयर कारोबार भएको छ । बिहीबार यस कम्पनीको प्रमोटर सेयरको मूल्य प्रतिकित्ता २२५ रुपैयाँ रहेको छ ।

प्रोगेसिभ फाइनान्सको अध्यक्षमा किशोरकुमार महर्जन

काठमाडौं । प्रोगेसिभ फाइनान्स लिमिटेडको सञ्चालक समितिको अध्यक्ष्यमा किशोरकुमार महर्जन चयन भएका छन् । संस्थाको चैत १३ गते सम्पन्न संस्चालक समितिको बैठकले संचालक सदस्य महर्जनलाई सोही दिनदेखि लागु हुने गरि कम्पनीको अध्यक्षमा सर्वसम्मत रुपमा चयन गरेको हो । संस्थाको हाल संचालक समितिको अध्यक्षता गरिरहेका मुकुन्दप्रसाद दाहालले उक्त पदबाट राजिनामा दिए पछि नवनियुक्त महर्जनले उक्त पद सम्हाल्ने भएका हुन् । दाहाल भने यस संस्थाको संचालक सदस्यमा यथावत रहने भएका छन् । नवनियुक्त अध्यक्ष महर्जन सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा दुई कार्यकाल पुरा गरि अवकास प्राप्त गरेका छन् । त्यसका साथै, उनको नेपालको बैंकिङ्ग क्षेत्रमा करिव ३३ बर्षको अनुभव रहेको छ । संस्थाको चैत १२ गते बसेको समितिको बैठकले संस्थापक सेयरधनीको प्रतिनिधित्व गर्न महर्जनलाई नै संचालक सदस्यमा नियुक्त गरेको थियो ।

सार्वजनिक बिदा कटौतीप्रति चेम्बर खुसी, मागको सुनुवाई गरेकोमा सरकालाई धन्यवाद

काठमाडौं । नेपाल चेम्वर अफ कमर्सले सरकारले सार्वजनिक विदा कटौती गरेकोमा खुशी व्यक्त गरेको छ । चेम्वरले बिहीबार प्रेस विज्ञप्ति प्रकाशित गरी सरकारले गरेको यस कार्यप्रति धन्यवाद व्यक्त गरेको छ । ‘हामीले निरन्तर राख्दै आएको मागको सुनुवाई गरी बिदा कटौती गरेकोमा हामी सरकारप्रति आभार व्यक्त गर्दछौ’, चेम्बरद्धारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । बढी सार्वजनिक विदाका कारण मुलुकको अर्थतन्त्रमै नकारात्मक असर पारेको भन्दै चेम्वरले बिदा कटौती गर्न सरकारसँंग निरन्तर माग राख्दै आएको थियो । प्रधानमन्त्री, मन्त्रीलगायतका उच्चपदस्थ सरकारी अधिकारीहरुसँंगको भेटघाटमा चेम्वरले यो माग राख्दै आएको थियो । साथै चेम्वरले सार्वजनिक बिदाहरुमा बैंक तथा वितीय संस्थाहरु सञ्चालनको माग पनि राख्दै आएको थियो । सरकारले आगामी २०७५ सालको सार्वजनिक बिदा कटौती गरेको हो । मन्त्रिपरिषद्को बुधबार साँझ बालुवाटारमा बसेको बैठकले नयाँ वर्षदेखि बिदा कटौती गर्ने निर्णय गरेको थियो । सरकारले अघि सारेको समृद्धिको लक्ष्य पूरा गर्न सार्वजनिक बिदा कटौती गर्ने र कार्यदिन बढाउने उद्देश्यले वर्षभरीमा जम्मा बिदा ८९ दिन कायम गर्ने निर्णय गरेको थियो । सम्बन्धित धर्म, सम्प्रदाय र क्षेत्रका लागि २२ दिन बिदा र सबैलाई हुने सार्वजनिक बिदा ६७ दिन कायम गरिएको नेपाल चेम्बर अफ कमर्शका प्रमुख कार्यकारी अधिकृत कैलाश कुमार बजियमले बताएका छन् । यसअघि वर्षभरीमा १०४ दिन बिदा हुँदै आएको थियो ।

पेट्रोलियम इन्धनका सवारी हटाउँदै भारत, पाइपलाइन बनाउँदै नेपाल

काठमाडौं । भारतले सन २०३० पछि पेट्रोलियम इन्धनका  सवारी साधनको बिक्रिमा रोक लगाउने तयारी थालिसकेको छ । तर नेपाल भने दिर्घकालिन उपयोगको रणनीति अनुसार पेट्रोलियम पाइपलाइन निर्माणको बाटोमा जुटेको छ । भारतीय उर्जा मन्त्री पियुस गोयलले भनेका छन–‘हामी ठुलो मात्रामा विद्युतिय सवारी साधनको उत्पादनमा जोड दिँदैछौं, हामी उजाला अभियानमा जस्तै विद्युतिय सवारी साधनमा पनि आत्म निर्भर बन्न गैरहेका छौं, सन २०३० पछि भारतमा एउटा पनि पेट्रोलियम इन्धनका सवारी साधन बिक्रि हुने छैनन् ।’ भारतले त्यसका लागि विद्युतिय तथा सौर्य उर्जाबाट गुड्ने सवारी साधन उद्योगको प्रवद्र्धनका कार्यक्रम समेत अघि सारिसकेको छ । भारतको नीति आयोगले गरेको सिफारिसका आधारमा सरकारले सन २०३० पछि विद्युतिय सवारी साधन मात्रै उपयोगमा ल्याउने कार्यक्रम ल्याएको हो । भारतमा बायु प्रदुषणका कारण बर्षेनी १२ लाख मानिसको मृत्यु भैरहेको अध्ययनहरुले देखाएका छन् । भारतले पेट्रोलियम इन्धनका सवारी साधनको बिक्रि कटौती अभियान सुरु गर्ने वित्तिकै भारतमा गाडी बनाउने कम्पनीहरुले पनि धमाधम विद्युतिय सवारी साधन निर्माणको अभियानलाई तिब्र बनाईरहेका छन् । तर नेपाल भने त्यहि भारतबाट पेट्रोलियम पदार्थ भित्र्याउन भन्दै पाइपलाइन निर्माणमा जुटिरहेको छ, त्यो पनि १५ बर्षसम्म भारतीय एकाधिकार रहनेगरि । बेलायतले सन २०४० पछि पेट्रोलियम इन्धनबाट चल्ने सवारी साधनमा रोक लगाउँदैछ । बेलायतमा बर्षनी ४० हजार मानिस वायु प्रदुषणका कारण मर्ने गरेको बताइन्छ । फ्रान्सले पनि सन २०४० बाटै पेट्रोलियम इन्धनका सवारी साधनमा रोक लगाउने बताएको छ । नर्वेले सन २०२५ बाटै डिजेल र पेट्रोलका कार हटाउने निर्णय गरिसकेको छ । नेदरल्याण्डले पनि सन २०३० बाटै पेट्रोलियम इन्धनका कारहरुमा रोक लगाउने निर्णय गरिसकेको छ । नेदरल्याण्डले सन २०२० सम्ममा २ लाख विद्युतिय सवारी साधन गुडाउने योजनामा काम गरिरहेको छ । जर्मनीले सन २०२० मा १० लाख विद्युतिय सवारी साधन सडकमा गुडाउने लक्ष्य तय गरेको छ । उसले सन २०३० देखि नै पेट्रोलियम इन्धनका सवारी साधनको बिक्रिमा रोक लगाउने कानुनै बनाईसकेको छ । अष्ट्रेलिया, जापान, डेनमार्क, आयरल्याण्ड, पोर्चुगल, स्पेन र दक्षिण कोरिया लगायतका देशहरु पनि पेट्रोलियम इन्धनबाट गुड्ने सवारी साधनहरुको कटौती अभियानमा जुटिसकेको छन् । पेट्रोलियम पदार्थको खानी मानिएको साउदी अरबले पनि सन २०३० बर्षभित्र सम्पन्न हुने गरि २०० गिगावाट क्षमताको सौर्य उर्जा प्रणालीको निर्माण सुरु गरिसकेको छ ।