सेयर बजार घटेका बेला लगानीकर्ता स्ट्याण्डड चाटर्ड र नविल बैंकमा झुम्मिए, यस्तो छ कारण
काठमाडौं । सेयर बजार घटेका बेला लगानीकर्ता भने दुई बैंकमा झुम्मिएका छन् । स्ट्याण्डर्ड चाटर्ड बैंक र नविल बैंकमा लगानीकर्ताको झुम्मिन पुगेका हुन । स्ट्याण्डर्डको प्रतिकित्ता ८२५ रुपैयाँमा १ करोड ७० लाख ६८ हजार रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै नविल बैंकको पनि प्रतिकित्ता ९४५ रुपैयाँमा १ करोड ४४ लाख रुपैयाँको सेयर किनबेच भएको छ । गत बिहीबारको तुलनमा आइतबार स्ट्याण्डर्डको सेयर मूल्य प्रतिकित्ता ४० रुपैयाँ र नविलको २५ रुपैयाँ घटेको छ । बैंकको सेयर मूल्य सस्तो हुदै गएको छ । दुबै बैंकको सेयर मूल्य १ हजार माथि थियो । स्ट्याण्डर्ड र नविल दुबैले लगानीकर्तालाई लाभांश वितरण गरिसकेका छन् । दुबै बैंकको सेयर मुल्य सस्तो भएपछि लगानीकर्ताको आकर्षण बढेको एक ब्रोकरले बताए । दुबै बैंकको वित्तीय अवस्था राम्रो हुनुका साथै आगामी वर्षमा पनि राम्रो प्रतिफल दिने लोभमा लगानीकर्ताले सेयर किनेको ती ब्रोकरको विश्लेषण छ । स्ट्याण्डर्ड चाटर्ड र नविलले लगानीकर्तालाई राम्रो प्रतिफल दिदै आएका छन् । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको पनि १ करोड प्रतिकित्ता १ हजार ५६ रुपैयाँमा १ करोड ३५ लाख ७० हजार रुपैयाँको सेयर किनबेच भएको छ । नेपाल लाइफले पनि लगानीकर्तालाई आकर्षक प्रतिफल दिदै आएको छ । नेपाल लाइफको गत बिहीबार प्रतिकित्ता १ हजार १ सय रुपैयाँमा करोबार भएको थियो । आइतबार ४४ रुपैयाँ घटेको छ ।
आइएमई जनरल इन्स्योरेन्स र भरपर्दो कृषक सहकारीबीच बीमा सम्झौता
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र बलाजुमा रहेको भरपर्दो कृषक बचत तथा ऋण सहकारी संस्था लिमिटेडबीच संस्थाका सदस्यहरुको स्वास्थ्य बीमा तथा सामुहिक दूर्घटना बीमा गर्ने सम्बन्धमा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र भरपर्दो कृषक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रमेश तिमल्सिनाले हस्ताक्षर गरेका छन् । सम्झौता पश्चात सहकारी संस्थाका भरपर्दो नियमित जीवन साहारा बचत योजना अन्तर्गतका ५ सय जनाभन्दा बढी सदस्यहरुको स्वास्थ्य बीमा तथा सामुहिक दूर्घटना बीमा हुने जनाइएको छ । सोही अवसरमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले सहकारी संस्थाले आफैले बीमा शुल्क भुक्तानी गरेर आफ्ना ग्राहक हरुको रू ५० हजारको औषधोपचार बीमा तथा रू १ लाखको व्यक्तिगत दुर्घटना बीमा गरेको बताए । साथै संस्था तथा संस्थासंग आवद्ध सदस्यहरुलाइ आवश्यक सबै निर्जीवन बीमा सेवा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट प्राप्त हुने भन्दै ढुक्क भएर सेवा लिन उनको आव्हान थियो ।
यातायात व्यवसायीको दादागिरी सकियो, सिन्डीकेट लगाउन खोजे ठाउँको ठाउँ कारवाही हुने
काठमाडौं । यातायात व्यवसायीले अघोषित रुपमा लगाउँदै आएको सिन्डिकेट आज आइतबारबाट अन्त्य भएको छ । यातायात व्यवस्था विभागले सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४ को नियम ६२ ले दिएको अधिकार प्रयोग गर्दै सिन्डिकेट तोडेको घोषणा गरेको हो । सिन्डिकेट तोडिएको जानकारी गराउँदै विभागका निर्देशक तल्सीराम अर्यालले अब सार्वजनिक सवारी व्यवस्थापन प्रभावकारी हुने बताए । सिन्डिकेटको अन्त्य हुदाँ प्रतिस्पर्धात्मक ढंगले सार्वजनिक सवारी साधनहरु सञ्चालन हुने, सडक दुर्घटना न्युनिकरण, वर्कशप, संगित रोयल्टी, ड्राइभिङ स्कुलहरुको नियमन प्रभावकारी हुने विभागले जनाएको छ । यस नियमलाई नमान्ने जुनसुकै यातायात व्यावसायी संघलाई तुरुन्त कारवाहि गर्न विभागले निर्देशन दिएको छ । मयुर यातायात कम्पनीको बस सेवालाई यातायात व्यवसायीले रोक्ने प्रयास गरेपछि विभागले कानून बमोजिम सिण्डिकेट खारेज गरेको जानकारी गराएको हो ।विभागले १० वटा निर्देशिका तथा मापदण्डहरु बनाएर लागू गरेको छ । यस्ता छन् विभागले जारी गरेको निर्देशिका तथा मापदण्डहरु १. यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० संशोधन २०७४ २. सवारी प्रदुषण परीक्षण निर्देशिका, २०७४ ३. मालवाहक सवारी साधनको भारवहन नियमन सम्बन्धी निर्देशिका,२०७४ ४. मझौला तथा साना सवारी परिक्षाण सम्बन्धी मापदण्ड,२०७४ ५. बाटो निर्धारण निर्देशिका,२०७४ ६. स्कुल बस निर्देशिका, २०७४ ७. बस बडी बिल्डिङ निर्देशिका, २०७४ ८. कारखाना तथा वर्कशप सञ्चालन निर्देशिका, २०७४ ९. सवारी चालक प्रशिक्षण केन्द्र सञ्चालन निर्देशिका, २०७४ १०. मझौला तथा साना सवारी निरीक्षण सम्बन्धी मापदण्ड, २०७४
गर्मी भगाउन स्प्राईटको समर क्याम्पेन सार्वजनिक
काठमाडौं । पेय पदार्थ उत्पादक कम्पनी कोकाकोला नेपालले लेमोन र लाइम स्वादका आफ्ना उत्पादन ‘स्प्राईट’को समर क्याम्पेन सार्वजनिक गरेको छ । कम्पनीले यो क्याम्पेनको प्रचार प्रसारमा ‘ज्ञान बिलायो, रिफ्रेस बनायो’ नामक योजना सञ्चालनमा ल्याएको छ । उक्त ‘ज्ञान बिलायो, रिफ्रेस बनायो’ थिमको समर क्याम्पेन आफ्ना उपभोक्ताको गर्मी भगाउन कम्पनीले ल्याएको जनाएको छ । नयाँ स्प्राइटको टिभिसी एक ‘सरप्राइज’को रुपमा आएको कम्पनीले बताएको छ । कन्सेप्टको बारेमा जानकारी दिदै कोकाकोला नेपालका कन्ट्रि डाईरेक्टर अम्बुज सिंहले स्प्राईट एउटा रिफे्रसिङ चिसो पेय पदार्थ हो, जसले प्यास मेटाउँछ र दिमागलाई ताजा बनाउने बताए ।
अर्थमन्त्रीको संस्थागत र नीतिगत सुधार संकेतलाई लगानीकर्ताले पत्याएनन्, सेयर बजार २४ अंकले घट्यो
काठमाडौं । सरकारले सेयर बजारको विकासका लागि ठुलो परिमाणको लगानी परिचालन गर्न संस्थागत र नीतिगत सुधार गर्ने संकेतलाई लगानीकर्ताले पत्याएनन् । अर्थमन्त्री डा. युवराज खतिवडाले शुक्रबार श्वेतपत्र सार्वजनिक गर्दै पुँजीबजारमा ठुलो लगानी परिचालन गर्न संस्थागत र नीतिगत सुधार आवश्यक भएको औल्याएका थिए । अर्थमन्त्रीले संस्थागत र नीतिगत सुधार गर्ने श्वतेपत्रमार्फत संकेत गरेका छन् । श्वेतपत्रमा नीतिगत सुधारका कुरा आएपछि आइतबारदेखि बजारमा केही सुधार हुने अपेक्षा गरिएको थियो । सो विपरित बजार २४ अंकले घट्यो । नेप्से परिसुचक १ हजार १ सय भन्दा तल झरेको छ । यसबाट सरकारलाई सेयर बजारले नपत्याएको स्पष्ट हुन्छ । सेयरको मूल्य घटेसंगै कारोबार रकममा पनि गिरावट आएको छ । आइतबार ३१ करोड २३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । बजार खुलेको ५० मिनेटमै साढे ३३ अंकले घटेको बजार विस्तार सम्हालिदै २४ अंकमा सीमित भएको छ । बैंकिङ, होटल, बीमा, जलद्यिुत, बीमा, लघुवित्त र उत्पादनमुलकलगायत सबै क्षेत्रको सेयर मूल्य घटेको छ । अर्थमन्त्रीले संस्थागत र नीतिगत सुधारको कुरा गरेपनि नेपालको पुँजीबजार सतही भएको र दायरा पनि संकुचित भएको उल्लेख गरेका थिए । उनले बजार धितोपत्र कारोबारमा मात्र सिमित रहेको र यसलाई ऋण बजारको रुपमा विकास नसकिएको बताएका छन् ।
सिजीले ल्यायो नयाँवर्ष उपहार योजना, एउटा सामानको खरिदमा अर्को सित्तैमा
काठमाडौं । नयाँवर्ष २०७५ सालमा सिजीले आफ्ना समस्त ग्राहकहरुको लागि विभिन्न सामानहरुको खरिदमा आकर्षक र उपयोगी योजनाहरु बजारमा ल्याएको छ । ‘सिजी नगदमा गद् द्’ नामक उक्त योजना अन्तर्गत सिजीका सामानहरु खरिद गरे बापत विभिन्न आकर्षक पक्का उपहारहरु तथा २० प्रतिशत नगद छुट प्राप्त गर्ने अबसर रहेको कम्पनीको भनाइ छ । ओजाना अनुसार ४९ इन्चदेखि माथिका साइजका टिभीहरुको खरिदमा सिजीकै आकर्षक २.१ मोडलको स्पिकर प्रदान गरिने छ । त्यसभन्दाकम साइजका टिभीको खरिदमा (२० इन्च देखि ४३ इन्च) सम्म २० प्रतिशत नगद छुट उपलब्ध गराउने जनाइएको छ । त्यसैगरि डलब डोर फ्रिजमा केन्टको एग् बोइलर र सिङगल डोरमा २० प्रतिशत नगद छुट खरिदकर्ताले प्राप्त गर्न सक्नेछन् । एसिमा निशुल्क जडानको सुविधा, ट्रलि स्पिकर तथा साउण्ड बारमा सिजीकै टिसर्ट, माईक्रोवेभ ओभनमा कुकिङ किट, फ्रन्ट लोडिङ वासिङ मेसिनमा सिजीको इन्डक्सन र टपलोडि वासिङ मेसिनमा सिजी कै आइरन प्राप्त गर्न सक्ने जानाइएको छ । साे योजना आइतबारदेखि देश भर सिमित अवधिकाला लागू गरिएको कम्पनीको भनाइ छ ।
आशा लघुवित्तले जारी पूँजी दोब्बर तथा चुक्ता पूँजी १४ करोड पुर्याउने
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो विशेष साधारण सभा सम्पन्न गरेको छ । केन्द्रीय कार्यालयमा सम्पन्न भएको विशेष साधारण सभाले हाल रहेको अधिकृत तथा जारी पूँजी रू. १० करोडलाई बृद्धि गरि २० करोड रुपैयाँ पुर्याउने निर्णय गरेको छ । साथै १ः१ बराबर हकप्रद शेयर जारी गरी चुक्ता पूँजी रू १४ करोड पुयाउने समेत निर्णय गरेको छ । संस्थाकाे फागुन मसान्तसम्ममा संस्थाको ग्राहक सदस्य २८ हजार ५३५, लगानीमा रही रहेको कर्जा १ अर्व एक करोड ४६ लाख ३१ हजार र बचत १८ करोड २ लाख ९५ हजार रहेको छ । संस्थाले २३ जिल्लामा ३६ वटा शाखा कार्यालयहरुमार्फत न्युन आय भएका तथा विपन्नवर्गका महिलाहरुलाई कर्जा प्रदान गरेर उद्यमशील बनाइ रहेको जानकारी दिएको छ ।
एनएमबी बैंकको एफपीओमा ढिलाइ, कहिले आउछ १ करोड १४ लाख किता ?
काठमाडौं । एनएमबी बैंकको थप निष्कासन (एफपीओ) मा ढिलाइ भएको छ । चुक्तापुँजी बढाएर ८ अर्ब रुपैयाँ पुर्याउन एनएमबीले गत जेठ २२ गते प्रिमियम मूल्यमा एफपीओ निष्कासन गर्न धितोपत्र बोर्डमा निवेदन दिएको थियो । बैंकले १ करोड १४ लाख १५ हजार १६३ कित्ता एफपीओ निष्कास गर्न लागेको हो । निवेदन दिएको १० महिना बितिसक्दा पनि बैंकले बोर्डबाट एफपीओ निष्कासको स्वीकृति पाएको छैन् । बोर्डबाट स्वीकृति पाउनसाथ एफपीओ निष्कासन हुने एनएमबीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल केसीले बताए । प्रक्रियागत कारणले ढिलाइ हुन गएको बताउदै उनले चाँडै एफपीओ निष्कासन हुने जानकारी दिए । एफपीओ प्रिमियम मूल्य टुङो लाग्न बाँकी रहेको केसीले जानकारी दिए । बैंकको सेयर मूल्य प्रतिकित्ता ४२१ रुपैयाँ छ । बजार घटेपछि बैंकको सेयर मूल्यमा पनि गिरावट आएको छ । बैंकको चुक्तापुँजी ६ अर्ब ४६ करोड ५४ लाख रुपैयाँ छ । बैंकले अझै १ अर्ब ५४ करोड रुपैयाँ चुक्तापुँजी पुर्याउन बाँकी छ । बैंकले आउदो असारसम्म चुक्तापुँजी ८ अर्ब रुपैयाँ पुर्याउने योजना राष्ट्र बैंकमा पेश गरेको छ ।