विकासन्युज

नगरपालिकाको बजेट आफुखुशि खर्च गर्ने अधिकृत नवीनकुमार श्रेष्ठ प्रहरी हिरासतमा

काठमाडौं । नगरपालिकाको रकम आफुखुशि खर्च गर्ने नगरपालिका कार्यालय धनकुटाका अधिकृत नवीनकुमार श्रेष्ठलाई अख्तियारले हिरासतमा लिएको छ । श्रेष्ठलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय धनकुटाले हिरासतमा लिएको हो । उनले नगरको रकम बैंकमा दाखिला नगरी व्ष्क्तिगत प्रयोगमा ल्याएको भन्ने जनगुनासो बढ्न थालेपछि अख्तियारले कारवाहि प्रक्रिया अघि बढाएको थियो । अख्तियारको अनुसार उ नीमाथीअनधिकृत रुपमा रकम समेत झिकी अनियमितता गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ बमोजिम पक्राउ गरी हिरासतमा राखी अनुसन्धान भइरहेको छ ।

मुआब्जाको लागि सबैले पहल गर्ने भएपछि साँफे मार्तडी सडक सुचारु

काठमाडौं । मुआब्जाका लागि सबै निकायले पहल गर्ने सहमतिसँगै साँफे—मार्तडी सडक खण्ड सुचारु भएको छ । सडक डिभिजन कार्यालयबाट सडकको सीमा निर्धारण गर्ने टोली बोलाई मूल्यांकन गर्ने र यसअघि भएका दोहोरो अर्थ लाग्ने सर्वपक्षीय भेलाका निर्णयको पुष्ट्याँइका लागि अदालत जाने सहमति पछि बाटो सुचारु भएको प्रहरी नायब निरीक्षक हरिबहादुर ओलीले बताए । तिपाडामा स्थानीयले बिहान ६ बजेदेखि सडक अवरुद्ध गरेका थिए । सडक सोमबार दिउँसो सञ्चालनमा आएको हो । स्थानीयले तिपाडा बजार क्षेत्रको सरकारले मुआब्जा नदिएको भन्दै सडक अवरुद्ध गरेका हुन् । २०७२ सालदेखि नै छलफलको विषय रहेको उक्त सडक क्षेत्रमा राज्यले मुआब्जा दिन ढिलासुस्ती गरेको जग्गाधनी धीरबहादुर सिंहको गुनासो छ । सडक कालोपत्रेको प्रक्रियामा रहेपनि स्थानीयले मुआब्जा नपाएसम्म काम गर्न नदिने बताउँदै आएका छन् । जिल्ला प्रशासन कार्यालय, सडक डिभिजन कार्यालय र स्थानीय राजनीतिक दलबीच मुआब्जा दिने सहमति भएपछि अहिलेसम्म भुक्तानी भएको छैन । पटकपटक भएका निर्णयमा मुआब्जा दिने कुरा भएपनि कति दिने भन्नेमा साझा निर्णय नभएकाले भुक्तानीमा समस्या भएको प्रशासनले बताउने गरेको छ । उनीहरुले बिहानै पर्खाल र तारबारसहित बन्द गरेका थिए । सडक अवरुद्ध गरिएपछि करिब छ घण्टा दर्जनौँ सवारी साधनका यात्रु तिपाडामा अलपत्र परेका थिए । जिल्ला बाहिर जान र आउन लागेका दुवैतिरका यात्रु सडक सुचारु भएसँगै गन्तव्यतर्फ लागेका छन् । आइतबार मात्र प्रशासन कार्यालयमा सहमतिका लागि प्रयास गरिए पनि २०७२ सालको मूल्यांकनका आधारमा मुआब्जा दिने कुरा भएपछि आफूहरुले न्यायका लागि सडक बन्द गरेको बताएका छन् । रासस

५ बैंक तथा वित्तीय संस्थाको १ करोड ६० लाख कित्ता नेप्सेमा सुचिकृत, हेर्नुस कसको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा ५ बैंक तथा वित्तीय संस्थाको बोनस सेयर कारोबारका लागि सुचिकृत भएको छ । नेप्सेमा मंगलबार १ करोड ५९ लाख ७९ हजार ३२४ कित्ता सेयर सुचिकृत भएको हो । जसअनुसार नेपाल बंगलादेश बैंकको ८ लाख ७० हजार ६१, ज्योति विकास बैंकको २३ लाख २ हजार ८७२ कित्ता बोनस सेयर सुचिकृत भएको छ । यस्तै स्वावलम्ब लघुवित्त वित्तीय संस्था लिमिटेडको ८ लाख ४१ हजार ४७७, सिटिजन्स बैंकको १ करोड ११ लाख १५ हजार ४६७ र सहयोगी विकास बैंकको ८ लाख ४९ हजार ४४७ कित्ता सुचिकृत भएको हो । ५ वटै बैंक तथा वित्तीय संस्थाले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई बोनस सेयर वितरण गरेका हुन् । चुक्तापुँजी बढाउन बैंक तथा वित्तीय संस्थाले बोनस सेयर वितरण गरेका छन् ।

१५०० सयको सामान किन्दा १०० रुपैयाँ फिर्ता, साथमा नविल बैंकले २७ लाखको कार उपहार दिने

काठमाडौं । नबिल बैंक भिसाकार्ड वाहक (डेविट/क्रेडिट/प्रिपेड) प्रयोग गर्नुहुन्छ ? खुशीको खवर छ । नविल बैंकले आफ्ना ग्राहकलाई १५०० रुपैयाँको किनमेल गर्दा १०० रुपैयाँ फिर्ता दिने भएको छ । साथै २७ लाख रुपैयाँ मूल्यको कार उपाहार पनि दिने भएको छ । बैंकले आफ्ना भिसाकार्ड वाहक ग्राहकहरुलाई लक्षित गरेर ‘कार्डबाट कार लगातार” नामक नबिल भिसाकार्ड प्रवर्धनात्मक अभियानको शुरुवात गरेकोछ । यस अभियानमा दुई वटा योजना छन् । पहिलोमा ग्राहकहरुले नेपाल भित्रका पीओएस तथा ई–कमर्श साइटबाट एउटै कार्डबाट प्रत्येक ३ पटक सफल कारोबार गरे पश्चात १०० नगदै फिर्ता पाउनेछन । नगद फिर्ता योजनाको लागि योग्य हुन प्रत्येक कारोवार रकम कम्तिमा ५०० वा सो भन्दा बढीको हुुनु पर्ने बैंकले जनाएको छ । बम्पर उपहार योजनाको अन्त्यमा योजना अवधिभर सबैभन्दा धेरै पटक कारोबार गर्ने एक जना ग्राहकलाई बम्पर उपहार स्वरुप हुण्डाई ग्राण्ड आई१० (माज्दा) कार प्रदान गरिने बैंकले जनाएको छ । यस कारको बजार मूल्य २६ लाख ९६ हजार रुपैयाँ तोकिएको छ । यो योजना २० गतेदेखि प्रारम्भ भई तीन महिनासम्म अर्थात आगामी असार १९ गतेसम्म रहने नविल बैंकले जनाएको छ । “यस योजनाले हाम्रा कार्डवाहक ग्राहकहरुलाई कार्ड मार्फत भुक्तानी गर्ने अभ्यासलाई प्रोत्साहन गर्ने तथा नगद रहित कारोबारलाई बढावा दिनुका साथै उहाँहरुलाई पीओएस तथा ईकमर्शको लागि कार्डको प्रयोग बढी भन्दा बढी गर्न र विद्युतिय कारोवारलाई सजिलोसँग प्रयोग गर्नको लागि प्रोत्साहन गर्नेछ । साथै यस अभियानले नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको नीति बमोजिम विद्युतिय कारोबारका लागि प्रेरित गरी हाल भुक्तानीका लागि नगद प्रयोग गरिरहेका ग्राहकलाई कार्ड मार्फत नियमित कारोवार गर्न प्रेरित गरी डिजिटल बैंकिङ विकास गर्नको लागि सहयोग पुग्नेमा विश्वास लिएको छु” नबिल बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले भनेका छन् । नबिल बैंक भिसा इन्टरनेशनल, मास्टरकार्ड इन्टरनेशनल र युनियन पे इन्टरनेशनलको नेपालमा रहेको एक प्रमुख अग्रणी सदस्य हो र यसले डेबिट कार्ड, प्रिपेड कार्ड र क्रेडिट कार्ड जारी गर्नुका साथै एटीएम, पोइन्ट अफ सेल्स र इलेक्ट्रोनिक पेमेण्ट गेट वे नेटवर्क मार्फत कार्डको कारोवार गर्दै आएको छ ।

वाणिज्य बैंकको सेयर १०० रुपैयाँ नजिक, सबैभन्दा कम सिभिल र बढी नविलको, हेर्नुस कसको कति ?

काठमाडौं । सेयर बजार घट्दै गएपछि वाणिज्य बैंकको सेयर मूल्य साधारण (आईपीओ) हारहारीमा आइपुग्न लागेको छ ।पछिल्लो समयमा सेयर बजारमा गिरवाट आएपछि बैंकको सेयर मूल्य घट्दै गएको छ । बैंकको सेयर मूल्य आईपीओको हारहारीमा आइपुग्ने देखिएको छ । केही दिन घट्दै गयो भने सिभिल बैंक, सेन्चुरी कमर्शियल बैंक, जनता बैंकको सेयर मूल्य १ सय भन्दा तल पुग्ने देखिएको छ । सेयर मूल्य धेरै घटेकाले बैंकको किन्ने बेला आएको लगानीकर्ताको भनाई छ । ८ अर्ब रुपैयाँ पुँजी भएका बैंकको सेयर मूल्य धेरै कम छ । करोडमा पुँजी भएका लघुवित्तीय संस्था, बीमा कम्पनीको सेयर मूल्य बढी छ । सबैभन्दा सस्तो सेयर सिभिल बैंकको छ । सोमबारसम्म सिभिलको सेयर प्रतिकित्ता १४५, जनताको १५४ र सेन्चुरीको १६८ रुपैयाँ छ । बढी सेयर मूल्य नविल बैंकको छ । नविलको सोमबार ९४५ रुपैयाँमा कारोबार भएको छ । २ हजार भन्दा बढी सेयर मूल्य भएको स्ट्याण्डर्ड चाटर्ड बैंकको सेयर मूल्य ८२० रुपैयाँमा झरेको छ । ५ सयदेखि १ हजार नजिक सेयर मूल्य भएकामा नविल, स्ट्याण्डर्ड चाटर्ड, एभरेष्ट बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, नेपाल एसबीआई बैंक र हिमालयन बैंक रहेका छन् । अधिकाँश बैंकको सेयर मूल्य ५ सय भन्दा कम छ । ५०० रुपैयाँ भन्द कम सेयर मूल्य भएकामा नेपाल बैंकको ३०२, कृषि विकास बैंकको ३१४, बैंक अफ काठमाण्डुको ३१३, सिटिजन्स बैंकको २५५, ग्लोबल आइएमई बैंकको ३००, कुमारी बैंकको २३५, लक्ष्मी बैंकको २३०, माछापुच्छ्रे बैंकको २१७, मेगा बैंकको ४४९ मा छ । यस्तै नेपाल बंगलादेश बैंकको २२१, नेपाल क्रेडिट एन्ड कमर्श बैंकको २३०, एनआईसी एसियाको ३०८, एनएमबी बैंकको ४१३, प्रभु बैंकको २०८, प्राइम कमर्शियल बैंकको २७८, सानिमा बैंकको ३४४, सिद्धार्थ बैंकको २९९ र सनराइज बैंकको २३१ रुपैयाँ रहेको छ । सेयर बजार घट्दै गए बैंकको सेयर मूल्य अझै सस्तिने देखिएको छ ।  बोनस सेयर र हकप्रदले गर्दा अधिकाँश बैंकको सेयर मूल्य समायोजन भएका छन् ।  

४२ वडा सचिवविहीन, सेवाग्राहीलाई समस्या

काठमाडौं । स्थानीय तहको निर्वाचन भएको नौ महिना पूरा भइसक्दासमेत स्थानीय तहमा कर्मचारी अभावमा सेवा प्रभावित हुने गरेको छ । सिंहदरबारको सेवा गाउँघरमै पाउने आश गरेका नागरिकले पहिला गाउँमा सजिलै पाउने सेवा पाउनसमेत असजिलो सहसुस गर्न थालेका छन् । बैतडीका ८४ वडामध्ये ४२ वडा सचिवविहीन रहेका छन् । जिल्लाको शिवनाथ गाउँपालिकाका छवटै वडामा सचिव नभएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउदले बताए । उनले भने “वडामा सचिव नहुँदा व्यक्तिगत घटना दर्ताका काम रोकिएका छन् ।” यस्तै, पञ्चेश्वर गाउँपालिकाका छ वडामध्ये तीन वडामा मात्रै सचिव रहेका र भएका सचिव पनि सदरमुकाममै बस्ने गरेको गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले जानकारी दिए । सिगास गाउँपालिकाका ९ वडामध्ये ७ मा सचिव नभएको गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले बताए । उता पुरचौडी नगरपालिकाका १० मध्ये सात वडामा सचिव नभएका नगरपालिकाका प्रवक्ता गौतमप्रसाद भट्टले बताउए । यस्तै, डिलासैनी गाउँपालिका–७ वडामध्ये चार वडामा सचिव छैनन् भने सुर्नया गाउँपालिकाका तीन वडामा सचिव छैनन् । पाटन नगरपालिकाका ३ वडा, मेलौलीका पाँच वडा र दशरथचन्द नगरपालिकाका दुई वडामा सचिव नभएका सम्बन्धित स्थानीय तहले जनाएका छन् । दोगडाकेदार गाउँपालिकाका पनि दुई वडामा सचिव नभएका गाउँपालिकाका अध्यक्ष चक्रसिंह कार्कीले जानकारी दिए । वडामा भएका सचिवलाई पनि गाउँपालिकामा काजमा राख्नुपर्ने अवस्था आएको छ उनले भने “वडा तहबाट हुने काम प्रभावित हुदै आएका छन्” वडामा सचिव नहुँदा आफूहरुले सेवा नपाएको सेवाग्राहीले गुनासो गरेका छन् । देश संघीय संरचनामा गइसकेपछि पनि नागरिकले पाउनुपर्ने सेवा सुविधा नै नपाउनु गम्भीर कुरा भएकाले सरकारले कर्मचारी पदपूर्ति गर्नु जरुरी देखिएको छ । रासस

सरकारलाई यातायात व्यवसायीको चुनौति, सिण्डिकेट खारेज निर्णय नमान्ने

काठमाडौं । सरकारले ल्याएको यातायात व्यवस्था सम्बन्धि कार्यविधि निर्देशिका नमान्ने यातायात व्यवसायीले अडान लिएका छन् । समन्वय र सल्लाह नै नगरी सरकारले एकतर्फी निर्देशिका ल्याएको भन्दै यातायात व्यवसायीको छाता संगठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले नमान्ने बताएको छ । महासंघले प्रेस विज्ञप्ति प्रकाशित गरी समन्वयन नै नगरी निर्देशिका ल्याएको र सञ्चालनमा रहेका सवारीसाधानको सडक इजाजत समेत खारेज गर्ने यातायात व्यवस्था विभागको निर्णयको महासंघले विरोध गरेको छ । महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्मचार्यद्धारा हस्ताक्षरित विज्ञप्तिमा सरकारले एकतर्फी रुपमा लागु गरेको संगीत रोयल्टी र मनोरञ्जन कर नबुझाउन व्यवसायीलाई निर्देशन दिइएको छ । अर्को व्यवस्था नभएसम्म सवारीसाधानमा संगीत नबजाउन निर्देशन दिएको छ । महासंघको सोमबार बसेको आकस्मिक बैठकले प्रधानमन्त्री, भौतिक पुर्वाधार तथा यातायातमन्त्रीको ध्यानकर्षण समेत गराउने निर्णय भएको अध्यक्ष कर्मचार्यले जानकारी दिए । महासंघले यस विषयमा छलफल गर्न चैत २६ गते केन्द्रीय परिषदको बैठक बोलाएको छ । सरकारले आइतबारदेखि यातायात व्यवसायीले अघोषित रुपमा लगाउँदै आएको सिन्डिकेट अन्त्य भएको घोषण गरेको छ । यातायात व्यवस्था विभागले सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४ को नियम ६२ ले दिएको अधिकार प्रयोग गर्दै सिन्डिकेट तोडेको घोषणा गरेको हो । सिन्डिकेटको अन्त्य हुदाँ प्रतिस्पर्धात्मक ढंगले सार्वजनिक सवारी साधनहरु सञ्चालन हुने, सडक दुर्घटना न्युनिकरण, वर्कशप, संगित रोयल्टी, ड्राइभिङ स्कुलहरुको नियमन प्रभावकारी हुने विभागले जनाएको छ । यस नियमलाई नमान्ने जुनसुकै यातायात व्यावसायी संघलाई तुरुन्त कारवाहि गर्न विभागले निर्देशन दिएको छ । मयुर यातायात कम्पनीको बस सेवालाई यातायात व्यवसायीले रोक्ने प्रयास गरेपछि विभागले कानून बमोजिम सिण्डिकेट खारेज गरेको जानकारी गराएको हो । विभागले १० वटा निर्दे्शिका तथा मापदण्डहरु बनाएर लागू गरेको छ ।

गुराँश लाइफले हकप्रद सेयर निष्कासन गर्न पायो अनुमति

  काठमाडौं । नेपाल धितोपत्र बोर्डले गुराँश लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलाई हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको छ । बोर्डले कम्पनीलाई २९ करोड ७० लाख रुपैयाँ बराबरको २९ लाख ७० हजार कित्ता हकप्रद निष्कासन गर्न अनुमति दिएको हो । चुक्तापुँजी बढाउन कम्पनीले २० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको हो । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रवन्धकमा लक्ष्मी क्यापिटल मार्केट्स लिमिटेड रहेको छ । आउदो असारसम्म जीवन बीमा व्यवसाय गर्ने कम्पनीले २ अर्ब रुपैयाँ चुक्तापुँजी पुर्याउन बीमा समितिले निर्देशन दिएको छ ।