विकासन्युज

सुर्योदय यातायातद्धारा अशोक लेलैण्डका १५ थान बसहरु सञ्चालनमा

काठमाडौं । नयाँ वर्षको अवसरमा सूर्योदय यातायात एण्ड अटो प्रालीले अशोक लेलैण्डका १५ थान ल्यांस स्मार्ट इलाईट प्लस मोडेलका बसहरु सञ्चालनमा ल्याएको छ । सो बसहरुमा डिजिटल डिस्प्ले, टि.भी., वाईफाई, जि.पि.एस्, सि.सी क्यामेरा लगायत उपकरणहरु उपलब्ध छन् । पूर्वाञ्चलमा नमुना रुपमा यात्रुहरुलाई सेवा दिने उद्देश्यले यस किसिमका लाईफ टाईम इन्जिन जडित गाडिहरुमा फिल्टर र मोविल खर्च बाहेक अन्य खर्च नआउने अध्यक्ष देवेन्द्रकुमार न्यौपानेले बताएका छन् । कार्यक्रममा संस्थाका प्रबन्ध निर्देशक सरोज न्यौपानेले आगामी दिनहरुमा यस संस्था देशभरी विस्तार गर्दै यात्रुहरुलाइ गुणस्तरीय सेवा प्रदान गर्ने एक अग्रणी संस्थाको रुपमा परिचित रहने बताए । आईएमई मोटर्स प्रालीका सेल्स हेड सुधिर सुबेदीले ‘समयको आवश्यकता अनुसार न्यून खर्चमा कसरी बस सञ्चालनमा ल्याउन सकिन्छ भन्ने उदाहरण, नेपाली बजारमा अशोक लेल्याण्डका बसहरुले पुष्टि गरिरहेको’ बताए । साथै, १५ प्रतिशत धेरै माइलेज तथा न्यून मर्मत खर्च भएका यी बसहरु व्यवसायी तथा ग्राहक मैत्री रहेको उनले बताए । आईएमई मोटर्सले ग्राहकवर्गको निम्ति विभिन्न नौलो योजना ल्याउने गरेको र साथसाथै ग्राहकहरुलाई विभिन्न सुविधा प्रदान गर्ने लक्ष्य लिएको छ ।

अन्जन भण्डारी यो वर्षकै उत्कृष्ट जीवन बीमा अभिकर्ता, सबैभन्दा धेरै प्रिमियम संकलन गर्न सफल

काठमाडौं । नेपालको जीवन बीमा क्षेत्रमा प्रिमियम संकलकको रुपमा नेपाली युवा अन्जन भण्डारी यो वर्ष पहिलो स्थानमा रहेका छन् । लाईफ इन्स्योेरेन्स कर्पोरेशन नेपाल (एलआईसी नेपाल)मा अभिकर्ताको रुपमा कार्यरत भण्डारीले यस वर्ष सबैभन्दा धेरै प्रिमियम संकलन गर्ने अभिकर्ताको रुपमा स्थान बनाउन सफल भएका हुन् । भण्डारी यसअघि पनि लगातार दुई वर्ष नेपालको उत्कृष्ट जीवन बीमा अभिकर्ताको रुपमा सम्मानित भईसकेका छन् । उनले यो वर्षपनि एलआईसीको विश्वभर भएको २१ वटा शाखाहरुमध्ये नै सबैभन्दा धेरै प्रिमियम संकलन गर्न सफल भएको र उत्कृष्ट अभिकर्ता समेत भएका छन् । उनले यसअघि पनि एलआईसीबाट उत्कृष्ट अभिकर्ताको सम्मान ग्रहण गरिसकेका छन् । भण्डारीलाई कम्पनीले उच्चतम बीमा शुल्क आर्जन गरेको भन्दै उत्कृष्ट अभिकर्ता भएको जानकारी समेत दिएको छ । यसअघि पनि उनलाई कम्पनीले लगातार दुई वर्ष सम्मान गरिसकेको छ । युवा अभिकर्ताको रुपमा परिचित भण्डारी केबल २८ वर्षका छन भने उनले नेपालको बीमा क्षेत्रमा प्रिमियम संकलन तथा सरकारलाई सो बापत बुझाउनुपर्ने करको क्षेत्रमा विगत ३ वर्षदेखि लगातार उत्कृष्ट हुँदै आएका छन् । बीमा क्षेत्रको ज्ञान र सिप आर्जन गर्न करिब ६० देश भ्रमण गरिसकेका भण्डारीले ४ लाख भन्दा बढि बीमा एजेन्टहरुलाई प्रतिस्पर्धामा पछाडि पार्दै यो सफलता हासिल गरेका हुन् । कडा मिहिनेत र परिश्रमले नै यो सफलता हासिल भएको र यसले अझ मिहिनेत गर्न हौसला दिएको उनले बताए । ‘कम्पनीको कयौं शाखाहरु छन र सयौं बीमा एजेन्टहरु छन्, उनीहरुलाई जित्नु निकै कठिन र महत्वपूर्ण हो,’ उनले भने । एक दशकदेखि नेपालको बीमा क्षेत्रमा सक्रिय युवा अभिकर्ता भण्डारी नेपालबाट अमेरिकास्थित बीमा व्यवसायीहरुको संस्था मिलियन डलर राउण्ड टेबलमा विगत ६ वर्षदेखि सदस्य समेत रहेका छन् । उनी नेपालबाट सो संस्थामा टप अफ दि टेबलमा लगातार ३ वर्षदेखि सदस्य हुँदै आएका छन् । सो संस्थामा सदस्यताको लागि वार्षिक २ करोड ४० लाख रुपैयाँभन्दा बढि प्रिमियम संकलन गर्नुपर्ने हुन्छ । नेपालमा थोरै मानिसहरुले मात्र हाल जीवन बीमा गरिरहेको हुँदा यसको संभावना अझै रहेको बताउँछन् । ‘हाल केबल १० प्रतिशत नेपालीले मात्र बीमा गरेको अनुमान छ यसलाई जनचेतनामुलक गतिबिधिले बढाउन सकिने हुँदा यसको संभावना अझै धेरै छ,’ भण्डारीले भने । आम्दानीको निश्चित प्रतिशत सामाजिक कार्यमा खर्च गर्नुपर्ने सोचअनुसार भण्डारी आफ्नो व्यवसायीक गतिबिधिका साथमा सामाजिक सेवामा समेत सक्रिय हुँदै आएका छन् । उनले हाल सिन्धुपाल्चोकमा रहेको श्री आनन्द उच्च मा.वि.का ६ जना विद्यार्थीहरुलाई निजी खर्चमा छात्रवृत्ति प्रदान गर्दै आएका छन् ।  

बखान सहकारीका संस्थापक सञ्चालक कृष्णमान गुरुङलाई पाँचताराको सम्मान

काठमाडौं । पुरानो सिनामंगल अवस्थित पाँचतारा बचत तथा ऋण सहकारी संस्थाले दशौं स्थापना दिवसको अवसरमा सहकारी अभियन्ता कृष्णमान गुरुङलाई पाँचतारा राष्ट्रियसहकारी व्यक्तित्व सम्मान २०७५ बाट सम्मान गरेको छ । बखान सहकारी संस्थाका संस्थापक सञ्चालक गुरुङलाई मुलुककै पहिलो सहकारी संस्थामा सञ्चालक रहेर हालसम्म पनि अभियानमा क्रियाशील रहेको भन्दै उक्त सम्मान प्रदान गरेको संस्थाले जनाएको छ । कार्यक्रममा एमाले नेता तथा सांसद माधवकुमार नेपालले नगद १० हजार १ सय ५१ रुपैयाँ र ताम्रपत्रले गुरुङलाई सम्मान गरेको हो । सम्मान गर्दै नेता नेपालले मुलुकको समृद्धिका लागि सहकारी अपरिहार्य भएको र सहकारीलाई उत्पादनसँग जोड्न सके मुलुकले छिट्टै आर्थिक फड्को मार्न सक्ने बताए । सहकारी विभागका पूर्व रजिष्ट्रार सुदर्शनप्रसाद ढकालले जनताले रुचाएको व्यवसायिक पद्धति सहकारी भएको बताए । नेफ्स्कुनका अध्यक्ष डिबी बस्नेतले पाँचताराले गरेको हरेक क्रियाकलापको प्रशंसा गर्दै सहकारी अभियानमा छुट्टै पहिचान बनाउन सकेको जानकारी दिए । सहकारीको संख्या धेरै हुँदैमा सदस्यको आर्थिक सामाजिक रुपान्तरण हुन नसक्ने उनको बुझाइ छ ।  

आर्थिक समृद्धि प्राप्तिका लागि चार बाटाे र तीन पूर्व शर्त

२०७४ सालमा सम्पन्न ५ वटै चुनावमा सबै राजनीतिक दलको नारा देश विकास र समृद्धि नै रहेको थियो । विधि र विचार धारामा थोरै अन्तर भएपनि सबै दलको गन्तव्य र निष्कर्ष आर्थिक समृद्धि हासिल गर्ने नै रहेका छन् । कुनै दलको पुँजीवाद, कुनै दलका उद्धारवादी अर्थनीति भनेतापनि विकासमा सरकार, निजी क्षेत्र सबैको समान सहभागिता हुनुपर्ने रहेको छ । लामो समयको विवादपछि नेपालले संविधानसभाबाट संविधान पायो । ७० वर्षको राजनीतिक इतिहासमा देशले ठूलो राजनीतिक फड्को मारेको छ । अब कुनै पनि राजनीतिक दल देशको राजनीतिक परिवर्तनको लागि लड्नु पर्ने अवस्था रहेको छैन । संविधान जारी भएपछि सबै दलको साझा नारा आर्थिक समृद्धि नै भएको छ भने निजी क्षेत्र पनि स्वरमा स्वर मिलाउँदै सोहि नारामा जाने कुरामा सहमत छन् । त्यसैले देश अब समृद्धिको दिशामा अघि बढ्छ भनि आशा गर्ने ठाउँ धेरै रहेका छन् । विगतमा जुन आर्थिक विकासका निम्ति अवरोध, समाज विकासका निम्ति अवरोध रहेको थियो । यसको अन्त्य भएपछि अब अलिकति आर्थिक समृद्धिको झल्को दिएको छ । विगतमा लोडसेडिङ रहेको थियो, चक्काजाम रहेको थियो, बन्द र हड्ताल भैरहन्थ्यो । अहिले बन्द हड्ताल सकिएको छ, लोडसेडिङ हटेको छ, चक्काजाम हँुदैन, दक्ष जनशक्ति पनि पहिलेको तुलनामा बढेकै छ । विदेश गएर फर्कने नेपालीहरुले पनि सीप मात्र होइन, काम पनि गर्नुपर्छ भन्ने भावनामा वृद्धि भएको छ । श्रम सम्बन्धी रहेका अवरोधहरु श्रम ऐन संशोधनसँगै सकिएको छ । पूर्वाधार निर्माणतर्फ पनि केही काम भएकै छन् । यसले समृद्धिको दिशामा अघि बढ्न सकारात्मक धारणाको विकास भएको आम विश्लेषण रहेको छ । तर आर्थिक सम्वृद्धि सजिलै हासिल हुँदैन । विकासमा रहेको पुराना अबरोध हटे, दलहरुले पनि समृद्धिको सोच बनाए, निजी क्षेत्र पनि आशाबादी भएको छ, विदेशी लगानी पनि आउन थाल्यो भनेर मात्र आर्थिक समृद्धि हासिल हुँदैन । हामी केही गम्भीर विषयमा सावधानी भएनौं भने समृद्धिको नारा कोरा कल्पना मात्र हुन सक्छ । सुशासन यदि सरकारी संयन्त्रमा सुशासन भएन भने जस्तोसुकै समृद्धिको अवसर भएपनि त्यो उपयोग हुन सक्दैन । एउटा लगानीकर्ताले आफूले लगानी गर्ने संस्था दर्ता गर्न १ महिना लगाउनु पर्ने, दर्ता गरिसकेपछि त्यससँग सम्बन्धित प्राकृतिक स्रोतको उपयोगिता गर्न अर्को १ वर्ष कुर्नुपर्ने, उत्पादन गर्नुअघि त्यसको प्रमाणीकरण गर्न विभिन्न नियामक निकायमा ६ महिना कुर्नुपर्ने अवस्था रह्यो भने समृद्धि हासिल हुन सक्दैन । व्यवसाय सञ्चालन गर्न कानूनी रुपमा रहेको अवरोधलाई त सरकारले ऐन संशोधन गरेर हटाउन सक्छ । तर व्यवसाय सञ्चालन अनुमति दिने, नियमन गर्ने, व्यवसाय वृद्धिमा सरकारको तर्फबाट टेवा दिने कर्मचारी तन्त्रको खराब आचारण सुधार गर्न कठिन हुन्छ । कुनै कम्पनी दर्ता गर्न लाग्दा वा त्यसलाई राज्यको सेवा सुविधा प्रयोग दिँदा, उनीहरुको सेवा व्यवसायमा सरकारी टेवा दिने समयमा कर्मचारी तन्त्र वा राजनीतिक संयन्त्रले त्यसको अंश, मुनाफाको प्रतिशत खोज्न थाल्यो भने लगानी विस्तार पनि हुँदैन । रोजगारी सिर्जना पनि हुँदैन । आर्थिक समृद्धि पनि हासिल हुँदैन । समष्टिगतमा सरकारी संयन्त्र कमजोर भए, सार्वजनिक संस्थाहरुमा सदाचार भएन, उनीहरु लगानीमैत्री वातावरण कस्सिएर लागेनन्, उनीहरुले शुसासन दिन सकेनन् र नियामक निकायहरुले सही निमन गर्न सकेनन्, आफ्ना मान्छेलाई सजिलै सहयोग गर्ने र अरुलाई अप्ठ्यारो पार्ने प्रवृतिको अन्त्य भएन भने समृद्धिको सपनामा हासिल हुँदैन । सार्वजनिक सेवाको स्तर र कर्मचारीतन्त्रको प्रवृति पुरानै रहने हो भने आर्थिक समृद्धि हासिल हुन सक्दैन । सार्वजनिक संस्थाहरुको नेतृत्व, व्यवस्थापन, कार्यशैलीमा धेरै परिवर्तन जरुरी छ । सार्वजनिक संस्थामा इमान्दार र काम गर्न सक्ने मानिस हुनैपर्छ । यस्ता संस्थामा राजनीतिक नियुक्तीको अन्त्य हुनुपर्छ । पार्टीलाई सहयोग गरेकै आधारमा सम्मानको लागि सार्वजनिक संस्थामा नियुक्त गर्ने, विचार नमिल्ने योग्य व्यक्तिलाई हटाउने काम गर्न थालियो भने सार्वजनिक संस्थाहरुबाट राम्रा कामहरुको आशा गर्न सकिँदैन । बलियो सार्वजनिक संस्थानहरु नभएको कुनैपनि देशमा आर्थिक समृद्धि हुन सक्दैन । पूर्वाधार नेपालमा राजनैतिक दलले भने जस्तो दोहोरो अंकको आर्थिक वृद्धि हात पार्न र लागानी मैत्री वातावरको सृर्जना गर्न पूर्वाधारको स्तर बढाउनैपर्छ । सन् १९६५ ताका नेपाल र दक्षिण कोरियाको आर्थिक हैसियत समान रहेको थियो । तर उनीहरु मानव संसाधनमा बलिया रहेका थिए । हाम्रो साक्षरता प्रतिशत ७ रहँदा उनीहरुको ६५ प्रतिशत रहेको थियो । जापानीजहरुको सहयोगमा केही प्राविधिक रुपमा बलिया थिए । त्यस्तै २० वर्षअघि पाकिस्तान, बंगलादेश श्रीलंका लगायत देशहरु नेपाल जस्तै अवस्थामा थिए । अहिले उनीहरु नेपाल भन्दा धेरै अगाडि पुगिसकेका छन् । हामी पछि पर्नुको कारण कमजोर पूर्वाधार हो । नेपालले पूर्वाधार निर्माणमा आवश्यक लगानी गर्न सकेको छैन । कुनै बेला लगानी गर्ने पैसा नै थिएन । पैसा हुँदा द्वन्द्वको वातावरणले लगानी हुन सकेन । पछिल्लो समयमा सरकारले पूर्वाधार निर्माणमा लगानी बढाउँदै लगेको छ । तर ठूला आयोजनाका कामहरु छिटो हुन सकेन । ती कम्पनीहरुले आयोजना ओगटेर मात्र बसे काम समयमै सक्न सकेनन् । निर्माण व्यवसायीको क्षमता नभएर वा उपयुक्त वातावरण नभए पूर्वाधार निर्माणमा बजेट भएर, ठेक्का लागेर पनि काम हुन सकेको छैन । त्यसमा सुशासनको पाटो पनि धेरै गम्भिर देखिएको छ । राम्रो पूर्वाधारको अभावमा नेपालमा उद्योग धन्दा फस्टाउन सकेनन् । ठूला विश्वविद्यालय, ठूला अस्पताल खुल्न सकेनन् । आजको दिनमा चाहेर पनि प्रदेश नम्बर ७ मा ठूला उद्योग खोल्न सकिदैन । ठूला उद्योग खोल्नको लागि ठूला सवारी, बढी भार बोकेका सवारी थेग्ने फराकिलो र बलियो सडक आवश्यक हुन्छ । ठूलो उद्योगको लागि ठूलै मात्रामा कच्चा पदार्थ ल्याउनुपर्छ । ठूलै मात्रामा उत्पादित सामान बजारमा पुर्याउनुपर्छ । त्यस्तो प्रयाप्त बिजुलीको पहुँच हुुनुपर्छ । अन्तराष्ट्रिय बजार जोड्नको लागि त्यस्तै किसिमको विमानस्थलको प्रबन्ध हुनुपर्छ । नेपालमा जति पनि सडक बनेका छन् ती यात्रु बोक्ने बस गुड्नको लागि बनेका हुन् । औद्योगिक उत्पादन ढुवानी गर्न, बढी भार भएको माल बहाक गाडी गुढाउन बनेकै हैनन् । अहिलेका सडकमा जति संख्यामा ट्रक गुड्छन्, त्यसको १० गुणा बस, कार, मोटर साईकल गुड्छन् । विना अवरोध प्रतिघण्टा ६०÷७० किलोमिटर ट्रक गुड्न सक्ने सडक आवश्यक छ । जसले ढुवानी लागत र उत्पादन लागत घटाउने छ । जनशक्ति नेपालको द्वन्द्वकालमा ठुलो संख्यामा नेपाली युवाहरु विदेशीए । यसले नेपालमा द्वन्द्व थप उत्कर्षमा नपुग्नुमा सहयोग गर्यो । त्यस अवधिमा वार्षिक २ लाख जना जनशक्ति श्रम बजारमा आयो । यो जनशक्तिलाई व्यवस्थापन गर्न सरकाले कुनै प्रयास गर्न सकेन र नेपाली युवाहरु विदेश जान बाध्य भए । यसरी विदेशिएका युवाहरु अत्यन्तै अदक्ष जनशक्ति रहेका छन् । उनीहरुले केहि सीप त सिके तर आवश्यक मात्रामा सीप सिक्न सकेनन् । नेपालमा दक्ष जनशक्तिको अभाव रहेको देखिएको छ । समृद्धिको लागि उद्योगिकरण हुनैपर्छ । ठूला र आधुनिक प्रविधियुक्त मेसिनहरुको प्रयोग हुँनैपर्छ । तर यस्तो प्रयोगियुक्त मेसिन चलाउने जनशक्ति नेपालमा कमी छ । अरु देशमा मेसिन चलाउने रोवटको विकास भईसक्यो तर नेपालमा विदेश बनेका मेसिन चलाउने सीपयुक्त जनशक्तिको अभाव छ । जति पनि विदेशी लगानीकर्ता नेपाल आएका छन् उनीहरुको एउटै गुनासो दक्ष जनशक्ति पाइएन । उदाहरणको लागि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बनाउन चिनियाँ कम्पनीले २ सय जना चिनिया नागरिक ल्याएर काम गर्न अनुमति मागेको छ । नेपालमा दक्ष जनशक्तिको अभाव हुनुमा नेपालले पुरानै प्रविधिमा विश्वास गर्नु हो । सीटीभीटीबाट उत्पादित जनशक्ति पनि आधुनिक छैनन् । सीटीभीटीले पढाउने विधा र तरिका दुबै पुरानो छ । आधुनिक सबै उपकरणहरुमा सेन्सर हुन्छ । तर त्यो सेन्सरले कसरी काम गर्छ भन्ने सम्म हाम्रा प्राविधिक जनशक्तिलाई छैन । हाम्रा उत्पादन प्रतिस्पर्धी बनाउने विश्व बजारमा विकासित भएको प्रविधि हामीले भित्र्याउनै पर्छ । प्रविधि मात्र भित्र्याएर पुगेन, प्रविधि प्रयोग गर्न सक्ने जनशक्ति पनि विकास गर्नुपर्छ । सार्वजनिक संस्थाको सेवाको स्तरमा सुधार, पूर्वाधार निर्माण र दक्ष जनशक्ति विकास गर्न सकियो भने हामीले सोचेको आर्थिक समृद्धि हासिल गर्न सकिन्छ । समृद्धिका चार बाटो आयात प्रतिस्थापन हामीले विदेशी मेसिन, विदेशी प्रविधि, विदेशी कच्चा पदार्थ, विदेशीको इनोभेशनलाई नेपालमा ल्याएर, उत्पादन गरेर निर्यात गर्न खोज्यौ भने त्यो सफल र सहज हुँदैन । सबैभन्दा पहिला आयात प्रतिस्थापनलाई ध्यान दिनुपर्छ । विदेशी उपकरण, विदेशी प्रविधि, विदेशी कच्चा पदार्थको प्रयोग गरेर पनि तयारी बस्तुको ढुवानी भाडा र सस्तो श्रमशक्तिको प्रयोग गरेर विदेशमा उत्पादित वस्तु भन्दा नेपालमा उत्पादित वस्तु सस्तो बनाउन सकियो भने आयातित वस्तुलाई प्रतिस्थापन गर्न सकिन्छ । यस्ता उद्योगलाई खुट्टा टेक्ने अवस्था आउने समयमा सरकारले पनि सहयोग गर्नुपर्छ । सिमेन्ट, स्टील उद्योग जस्तै अरु केही उद्योगले यस्तो सम्भावनालाई उर्जागर गरिसकेको छ । पेट्रोलको प्रतिस्थापनको लागि विद्युतको विकास गर्न सकिन्छ । कृषि क्षेत्रमा लगानी आकर्षित गर्ने वातावरण बनाउने हो भने धेरै आयात प्रतिस्थापन गर्न सकिन्छ । सघन विद्युत खपत हुने उद्योगको प्रवद्र्धन अहिले विश्व बजारमा उद्योगीहरु जुन देशमा लागत कम पर्छ त्यस्ता देशमा आकर्षित भैरहेका छन् । अमेरिकाका कयौं उद्योगहरु अन्य देशमा खोल्न गइरहेका छन् । यसको कारण भनेकै उद्योगीलाई लागत कम लाग्नु हो । नेपालमा यस्तो वातावरण बनाउन सकियो भने विदेशी लगानीकर्र्ता आउन सक्छन् । खासगरी बढी विद्युत खपत हुने खालका उद्योगहरु जस्तै रासायनिक मल उद्योग, सीसा उत्पादन गर्ने उद्योग, सोलार उद्योग, ठूला सिमेन्ट उद्योग, मोटर उत्पादन गर्ने ठूला उद्योग नेपालमा आउन सक्छन् । यस्ता उत्पादन भारत र चीनमा निर्यात गर्न सकिन्छ । उर्जा सघन उद्योगहरुको लागत भविष्यमा पनि नेपालमा सस्तो पर्ने कुरा उनीहरुलाई बुझाउन सक्नुपर्छ । यस्ता उद्योगले नेपालमा प्रशस्त रोजगारी सिर्जना गर्न सक्छ । सेवा क्षेत्र सेवा क्षेत्रमा नेपालले धेरै काम गर्न सक्छ । शिक्षा, स्वास्थ्य, पर्यटन, प्रविधिका क्षेत्रबाट नेपालले राम्रो आम्दानी गर्न सक्छ । मेडिकल टुरिजमको विकास गर्न सकिन्छ । ठूला विश्व विद्यालय नेपालमा खोल्न सकिन्छ । नेपालले अमेरिका जस्तो प्रविधिको विकास गरी बेच्न सक्दैन । तर मौसमी अनुकूलता, भौगोलिक अनुकूलता, प्रयाप्त बिजुली आपूर्ति, युद्धको सम्भावना नभएको देश नेपालमा विश्वका ठूला कम्पनीहरुलाई डाटा सेन्टर राख्न आकर्षित गर्न सकिन्छ । त्यसबाट पनि लाभ लिन सकिन्छ । वित्तीय सहजीकरण नेपालको उत्पादन क्षेत्रमा लगानी बढ्न नसक्नुको विभिन्न कारण मध्ये वित्तीय पहँुच र मध्यस्तता कमजोर हुनु पनि हो । अहिले मानिसहरुमा अनुत्पादक क्षेत्रमा लगानी बढाइरहेका छन् । एकै व्यक्तिले ७ वटासम्म घर बनाउने गरेको देखिन्छ । जग्गा खरिदमा बैंकहरुले सजिलै लगानी गर्छन् । यसबाट अर्थतन्त्रलाई नकारात्मक असर पार्ने गर्दछ । बैंक तथा वित्तीय संस्थाले छोटो समयमै बढी मुनाफा दिने क्षेत्रमा लगानी गरिरहेका छन् । यो अवस्था चलिरह्यो भने नेपाली अर्थतन्त्रलाई दीर्घकालिन असर गर्दछ । र, उद्योग धन्दाले कर्जा पाउन सक्दैन । यस्तो परिपाटीलाई बन्द गर्नको लागि र उद्योगमा लगानी बढाउन सरकार उचित प्रबन्ध गर्नुपर्छ । बैंकहरुको कर्जा सट्टा बजारीबाट बिमुख गराएर उत्पादन मुलक क्षेत्रमा लगानी बढाउनुपर्छ । (पूर्व सचिव खनालसँग गरिएको कुराकानीमा आधारित)

सेयर कारोबारमा १ अर्ब ६ करोड पुँजीगत लाभकर छली, थप छानविन गर्न महालेखाको निर्देशन

काठमाडौं । महालेखा परीक्षकको कार्यालयले सेयर कारोबार हुदाको पुँजीगत लाभकर छली भएको भन्दै थप छानविन गर्न सरकारलाई निर्देशन दिएको छ । महालेखाले गत वर्षको सेयर कारोबारबाट १ अर्ब ६ करोड ६५ लाख रुपैयाँ लाभकर कम दाखिला भएको भन्दै थप छानविन गरेर असुल गर्न सरकारलाई भनेको हो । महालेखाले आर्थिक वर्ष ०७३÷०७४ मा बढी दावी गरेको लागत खर्च ५ अर्ब ३२ करोड ३० लाख र गत आव ०७३÷०७४ मा १० अर्ब २६ करोड ६७ लाख रुपैयाँ समेत जोड्दा १५ अर्ब ५८ करोड ९७ लाखको ५ प्रतिशतले हुन आउने ७७ करोड ९५ लाख रुपैयाँ छलि भएको देखाएको छ । यस्तै दुई आर्थिक वर्षको बोनस तथा हकप्रद सेयर बिक्रीमा ५ अर्ब ७४ करोड २ लाख ५ पप्रतिशतले हुन आउने २८ करोड ७० लाख रुपैयाँ लाभकर घटी असुल भएको महालेखाले आफनो प्रतिवेदनमा औल्याएको छ । यस्तो कारोबार विगतका वर्षमा पनि भएकाले थप छानविन गरी आय कर ऐनको दफा १३ बमोजिम वास्तविक लागत खर्च मात्र कट्टिको व्यवस्था हुनुपर्ने महालेखाले जनाएको छ । यस्तै आयकर ऐन बमोजिम धितोपत्र बोर्डमा सुचिकृत भएको निकायको हितको निसर्गबाट प्राप्त हुने लाभमा ५ प्रतिशत कर लाग्ने व्यवस्था रहेको छ । तर लाभ गणना गर्ने प्रयोजनका लागि बुक क्लोज गर्दाको अन्तिम मूल्यलाई बोनस तथा हकपव्रद सेयरको अनुपतले समायोजन गरी बजार मूल्यको औसत गरेर कायम भएको आधारमा मूल्यको अंकमा खर्च छुट दिने मन्त्रिस्तरबाट निर्णय भएको छ । यो व्यवस्था पुँजीगत लाभकर निर्धारण गर्ने अर्को व्यवस्था भएसम्मका लागि भएको थियो ।  

ओरेन्टल को–अपरेटिभका वचतकर्ता र अपार्टमेन्ट पीडितले पैसा फिर्ता पाउने, भुक्तानी लिन आजदेखि दावी पेश गर्नुपर्ने

काठमाडौं । ओरेन्टेल को–अपरेटिभ लिमिटेडबाट पीडित भएका वचतकर्ता र अपार्टमेन्ट खदिकर्ताले पैसा फिर्ता पाउने भएका छन् ।आफनो पैसा फिर्ता लिनका लागि वचतकर्ता र अपार्टमेन्ट पीडितले प्रमाणसहित आज आइतबारदेखि दावी पेश गर्नुपर्ने छ । ६ गतेसम्म दावी पेश गर्नेले मात्र रकम फिर्ता पाउने छन् । समस्याग्रस्त सहकारी संस्था वा संघको व्यवस्थापन समितिले सहकारीका वचतकर्ता र अपार्टमेन्ट खरिदकर्तालाई पैसा लिन बोलाएको हो । समितिको कार्यालयले बैशाख २ देखि ६ गतेसम्म सहकारीका वचतकर्ता र ओरेन्टल अपार्टमेन्ट खरिदका लागि रकम भुक्तानी गरेकालाई प्रमाणसहित माग दावी पेश गर्न भनेको छ । प्रमाणका आधारमा रकम पाउने समितिको कार्यलयले जनाएको छ । समितिले जिल्ला समन्वय समितिको कार्यालय बिराटनगर, वीरगञ्ज, ललितपुर, भक्तपुर, पोखरा, नेपालगञ्ज, सुर्खेत, धनगढीमा प्रमाणसहित आफुले पाउनुपर्ने रकम दावी गर्न भनेको छ । मागदावी पेश गर्दा आफुले वचत रकमको निस्सा, सेयर सदस्यताको प्रमाणपत्र, अपार्टमेन्ट बुकिङ गर्दा बुझाएको रकमको निस्सा, धितो राखेको चलअचल सम्पत्तिको विवरण र नागरिकता संलग्न गर्नुपर्ने समितिले जानकारी दिएको छ । माग दावी पुष्टि नभए रकम नपाउने समितिले स्पष्टपारेको छ । गत कात्तिक २० गते ओरेन्टललाई समस्याग्रस्त सहकारी घोषणा गरी संस्थाको सम्पत्ति व्यवस्थापन र दायित्व भुत्तानी गर्न सरकारले पुस २८ गते समस्या ग्रस्ता सहकारी संस्था वा संघको व्यवस्थापन समिति गठन गरी सम्पत्तिको मूल्याँकन गरेको थियो । समितिले ओरेन्टलको काठमाडौस्थित र देशभरी रहेका कार्यालयमा विभिन्न मितिमा जम्मा गरेको वचत रकम, संस्थाका तत्कालिन सञ्चालक सुधीर वस्नेत र सञ्चालकहरुबाट समेत सञ्चालित अपार्टमेन्ट बुकिङ गर्ने बुकिङकर्ता, सेयर सदस्य र साहु, संस्थाको विभिन्न परियोजनामा लगानी गर्ने बैंक तथा वित्तीय संस्था र संस्थाले लिनुपर्ने रकम उठाउने भएको छ । अपार्टमेन्ट समस्यामा परेपछि डुबेको ओरेन्टलका तत्कालिन अध्यक्ष वस्नेत अहिले जेलमा छन् । सम्पत्ति र जायजेथा बिक्री गरेर वचतकर्ता र हाउजिङ बुकिङ गर्नेको रकम फिर्ता दिन लागेको हो । वस्नेतले ५ अर्ब रुपैयाँ भन्दा बढी रकम डुवाएका छन् ।  

देशभर विद्यार्थी भर्ना अभियान शुरु, सरकारले निःशुल्क पाठ्यपुस्तक दिने

भक्तपुर । ‘हामी सबैको इच्छा, अनिवार्य निःशुल्क आधारभूत शिक्षा’ भन्ने मूल नाराका साथ सरकारले देशभर एकैसाथ विद्यार्थी भर्ना तथा पाठ्यपुस्तक वितरण अभियान शुरु गरेको छ । विद्यालयभन्दा बाहिर रहेका सबै बालवालिकालाई विद्यालयमा ल्याउन यसवर्ष हातहातमा पाठ्यपुस्तकसहित आजदेखि भर्ना अभियान शुरु भएको हो । शैक्षिकसत्र २०७५ मा भर्ना हुने विद्यार्थीलाई हातहातमा निःशुल्क पाठ्यपुस्तक वितरण गर्न सरकारले २ अर्ब २२ करोड २२ लाख बजेट विनियोजन गरिएको छ । शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलले वैशाखको दोस्रो सातासम्म देशका विशिष्ट व्यक्तिबाट पाठ्यपुस्तकसहित विद्यार्थी भर्ना अभियान सञ्चालन गरिने जानकारी दिँदै अभियानमा छुटेका विद्यार्थीलाई वैशाखको तेस्रो हप्तामा घरदैलो अभियानमा भर्ना गराइने बताए । शिक्षा विभाग अनिवार्य शिक्षा शाखाका उपनिर्देशक नरहरि अर्यालले शैक्षिक सत्र २०७४ मा ९७।२ प्रतिशत विद्यार्थी भर्ना दर पु¥याएकोमा यसवर्ष यसलाई वृद्धि गर्न प्रभावकारी रुपमा अभियान शुरु भएको बताए । विभागका अनुसार ५ वर्षदेखि ९ वर्ष उमेर समूहका ८८ हजार २०७ बालबालिका अझै विद्यालय बाहिर रहेको र आधारभूत तह उमेर समूहका तीन लाख १३ हजार २८९ बालबालिका विद्यालय बाहिर रहेका छन् । प्राथमिक उमेर समूहको खुद भर्ना दर ९७।२ प्रतिशत र कक्षा १ देखि ९ सम्मको आधारभूत तहको खुद भर्ना दर ९२।३ प्रतिशत छ । सरकारले यसवर्ष खुद भर्ना दर शतप्रतिशत पु¥याउने लक्ष्य लिएको उपनिर्देशक अर्यालले जानकारी दिए। यसअघिका वर्षमा शिक्षा मन्त्रालय, शिक्षा विभाग, जिल्ला शिक्षा कार्यालय र शिक्षामा कार्यरत गैरसरकारी संस्था भर्ना अभियानमा सहभागी हुँदै आएकामा यसवर्ष भने सरकारले केन्द्र, प्रदेश र स्थानीय सरकार भर्ना अभियानमा सहभागी हुन निर्देशन जारी गरेको छ । यसवर्ष प्रधानमन्त्री केपी शर्मा ओली आफैँ विद्यार्थी भर्ना अभियानमा सक्रिय हुने भएका छन् । त्यस्तै मन्त्रीहरु, सचिव, सहसचिव, अधिकृत, उच्च राजनीतिक नेतृत्व, जनप्रतिनिधि, कलाकार, कर्मचारी र स्थानीय तहलाई भर्ना अभियानमा सक्रिय बनाइने भएको छ । उपनिर्देशक अर्यालका अनुसार आधारभूत तहमा सबैभन्दा बढी सर्लाही, धनुषा, रौतहट, पर्सा, बारा, कपिलवस्तु, मोरङ, सुनसरी, रूपन्देही, सप्तरी, सिरहा, महोत्तरी र बाँकेमा बालबालिका विद्यालयभन्दा बाहिर रहेकाले ती क्षेत्रमा विशेष रुपमा नै अभियान संचालन गरिनेछ । रासस

यस्तो छ २०७५ सालको आर्थिक राशिफलः धनु, कर्कट र मकर राशिलाई यो वर्ष सेयर बजार नफाप्ने

ज्यो.प. नारायणप्रसाद दुलाल मेष: मेष राशि भएका व्यक्तिहरूका लागि समग्रमा २०७५ साल शुभफलदायी नै रहनेछ । व्यापार व्यवसायका निम्ति वर्षको पूर्वार्ध उत्तम फलदायी रहनेछ । बैंकिङ क्षेत्रमा गरेको लगानीबाट अधिक सफलता मिल्नेछ । होटल व्यवसायबाट प्रसस्त फाईदा मिल्नेछ । सेयर बजारमा लगानी गर्नेहरूका लागि पनि निकै फाइदाजनक हुनेछ । शैक्षिक क्षेत्रबाट राम्रो प्रतिफल पाईनेछ । वैदेशिक क्षेत्र शुभ फलदायी रहनेछ । मेसिनरी सामानको व्यवसायबाट बढी फाइदा मिल्नेछ । कार्तिक महिनाबाट आयमा स्थिरताका साथै स्वाथ्यमा प्रतिकूलता रहन सक्नेछ । यात्रामा सजगता अपनाउनु नै उत्तम हुनेछ । कार्तिक र मङ्सिर महिनामा हानी हुनेछ भने असार,असोज, माघ र फाल्गुनमहिनामा अधिक लाभ मिल्नेछ । वृष वृष राशि भएका व्यक्तिहरूका लागि २०७५ साल अर्थदायीनै रहनेछ । व्यापार वा व्यवसायिक दृष्टिले विशेष लाभ हुनेछ । कार्तिक महिनाबाट अझ बढी उत्तम फलदायी रहने देखिन्छ । नयाँ व्यवसाय प्रारम्भ सुरु गर्न सकिनेछ । फैन्सी क्षेत्रमा गरेको लगानी लाभदायक हुनेछ । वस्त्रको कारोवारबाट विशेष सफलता मिल्नेछ । स्वास्थ्य तथा बीमाबाट भने नोक्सान हुनेछ । शनि अढैया वर्षभरि रहने भएकाले कार्यमा अवरोधका साथै खर्चमा वृद्धि हुने देखिन्छ । अनावश्यक झन्झट तथा झमेलाको सामना गर्नुपर्नेछ । वाहनबाट त्यति फाईदा नहोला । व्यवसायिक दृष्टिले असार पौष र आश्विन महिना कष्टदायी रहने छन् । भाद्र, मंसिर, माघ र चैत्र महिना फलदायी हुनेछन् । मिथुन मिथुन राशि हुनेहरूको लागि यो वर्षको मध्य भागमा केही कठीन परिस्थितिको सामना गर्नुपरे पनि समग्रमा अनुकूल नै रहनेछ । व्यावसायिक दृष्टिले यस वर्ष राम्रै प्रतिफल मिल्नेछ । आर्थिक उन्नतिका साथै व्यवसायमा वृद्धि हुनेछ । कर्म क्षेत्र सबल रहने भएकाले पदोन्नतिका अवसर पनि प्राप्त हुनेछ । घर जग्गाको कारोबारबाट भने जस्तो आम्दानी गर्न सकिनेछ । सुखद् यात्राको योग पनि देखिन्छ । वैदेशिक लगानीका लागि समय राम्रो छ । तथा कृषि क्षेत्रबाट प्रशस्त आम्दानी गर्न सकिनेछ । सेयर बजारमा भने केही उतारचढाव हुनेछ । आर्थिक दृष्टिले श्रावण, असार, कार्तिक, पौष , फाल्गुन र माघ महिना खर्चदायी हुनसक्छ । बैशाख, जेठ, भदौ र मसिर महिना उत्तम रहने छन् । कर्कट कर्कट राशि हुनेहरूकालागि यो वर्षआर्थिक दृष्टिले वर्षको पूर्वार्ध उन्नतिकारक रहनेछ । विद्या,बुद्धि र सन्तान सुख मिल्नेछ । विज्ञान प्रविधीको सहयोगले व्यवसाय फस्टाउनेछ । फलाम तथा हार्डवेयरले फलिफाप गराउनेछ । कृषि क्षेत्रको व्यावसायबाट मनग्य धनार्जनगर्न सकिनेछ । घरजग्गाबाट मनग्य आम्दानी गर्न सकिनेछ । वर्षको उत्तरार्धमा खर्चमा वृद्धि हुनेछ । चिन्ता, शत्रुबाधा तथा गरेको कर्यमा ढिलासुस्ती हुनेछ । तपाई विरुद्ध षड्यन्त्रको योजना बन्नसक्छ । शेयर बजारको लगानी डुब्ने भय छ । नयाँ ठाउँमा लगानी गर्दा विचार पुर्याएर लगानी गर्नु पर्नेछ । व्यवसायिक दृष्टिले भाद्र, कार्तिक र फाल्गुन महिना फलदायी हुनेछ र श्रावण, कार्तिक र फागुन महिना खर्चिलो रहने देखिन्छ । सिंह सिंह राशि हुनेहरूकालागि २०७५ सालमा आँटेको र ताकेको कार्याहरू पूराहुनेछ । यो बर्ष आर्थिक हिसावले निकै राम्रो एवम् सुखद् रहनेछ । छ । गरेको कार्यमा सफलता मिल्नेछ । भौतिक सुखमा बढोत्तरी हुनेछ । मंगल कार्यको अवसर मिल्नेछ । बैंकिङ तथा वित्तिय क्षेत्रमा गरीएको लगानि मौलाउनेछ । कृषी तथा चौपायाको व्यापार फस्टाउनेछ । अनावस्यक खर्च नियन्त्रण हुनेछ । फेन्सी तथा सजावटी क्षेत्रको लगानी विशेष फलदायी हुनेछ । व्यापार व्यवसायमा वृद्धि हुनुका साथै वैदेशिक यात्राको योग पनि देखिन्छन् । तपाईको राशिबाट वर्ष भरिनै पंचम भावमा शनिले गोचर गर्ने भएकाले अग्नी तथा चोरको भय रहनेछ ।वाहनको लगानिबाट भने नोक्सानी बेहोर्नु पर्नेछ । कन्या कन्या राशिका जातकहरूकालागी यो वर्ष शुभरअशुभ मिश्रीत फल मिल्नेछ । वर्षको पूर्वार्धमा समचार सुन्नमा आउने र देश बिदेशको यात्रा हुनेछ ।रोकिएका धन हात पर्नेछ । फेन्सी तथा कपडाको व्यापार फस्टाउनेछ ।आश्विन १९ गतेबाट फाल्गुन २० गतेसम्म मानशिक चिन्ता बढाउनेछ । गरेको कार्यमा नोक्सानी वेहोर्नु पर्नेछ । सेयर कारोवारको लगानी भने सुझबुझमा भरपर्छ । घरजग्गाको कारोवारमा मन्दि आउनेछ ।फाल्गुन २० बाट भौतिक सुख प्रदान गर्नेछ । जलीय पदार्थबाट विशेष लाभ रहनेछ । अढैयाशनिको प्रभावले गर्दा कार्यमा उल्झनआई आत्मघाती कार्यगर्न पुगिएला सचेत रहनुहोला ।साउन, असोज र चैत्रमा कुनैपनि कारोवारमा लगानी गर्नुपूर्व विशेष विचार गर्नुहोला । तुला तुला राशिका लागि यो वर्ष उन्नतिकारक रहनेछ । नयाँ कार्यको योजनाले पूर्णता पाउनेछ । आँटेको र ताकेको कार्यले पूर्णता पाउनेछ । व्यापार व्यवसायको आर्थिक संकट नाश हुनेछ । वैदेशिक लगानीबाट सफलता मिल्नेछ । शैक्षिक क्षेत्रमा गरिएको लागानीबाट राम्रै प्रतिफल पईनेछ । वित्तिय संस्थाको लगानी फस्टाउनेछ । पदोन्नतिका अवसर पनि प्राप्त हुनेछन् । खाद्यान्नको लगानी फलदाई हुनेछ । तर वर्ष भरिनै तृतीय भावमा शनिले गोचर गर्ने भएकाले मनमा निराशा र शरीरमा आलस्य आउनेछ । मानसिक चिन्ता पनि बढ्नेछ । धनमाल हराउने योग पनि भएकाले सजग रहनुहोला । आर्थिक दृष्टिले साउन, भदौ र पौष र महिना लाभदायी रहनेछन् भने कार्तिक, माघ र फागुन महिना अस्थीर रहने देखिन्छ । वृश्चिक वृश्चिक राशि हुनेहरूको लागि २०७५ सालको पूर्वार्धमा समस्यामा झेलिनु पर्नेछ भने उत्तरार्धमा इच्छा र आकांक्षा पूर्ण हुनेछन् । सेयर बजारबाट पनि मनग्य आम्दानी गर्नेछन् । धातुजन्य व्यावसायबाट अधिक सफलता मिल्नेछ । मित्र सहयोग प्राप्त हुनुका साथै सुखद् यात्राका अवसर पनि प्राप्त हुनेछन् । व्यापार व्यावसायबाट अपार एवम् चमत्कारी ढंगले सफलता मिल्नेछ । यो वर्ष भरिनै शनिको अन्त्य शाढेशाति दशाको कारणले गर्दा झुटा आरोप लाग्ने, गरेको कार्यमा बिलम्ब हुने तथा चोट पटकको भय रहनेछ । आर्थिक दृष्टिले भद्रा, आश्विन, माघ महिनामा लाभदायक परिणाम प्राप्त हुनेछ भने आषाढ, कार्तिक र चैत्र महिना खर्चिला रहनेछन् । धनु २०७५ साल धनु राशि भएका व्याक्तिहरूलाई शुभ र अशुभ मिश्रीत फल मिल्नेछ । आश्विन १८ गतेसम्म धन, विद्या र बुद्धिको विकास हुनेछ । व्यापार व्यावसायमा लगानी बढाई प्रसस्त आम्दानी गर्न सकिनेछ । वित्तीय क्षेत्रमा गरिएको लगानी फस्टाएर जानेछ । सेयर बजारमा लगानी नगरेकै राम्रो हुनेछ । खाद्यान्न तथा होटल व्यवसाय गर्नेहरूका लागि निकै फाइदाजनक देखिन्छ । आश्विन १९ गतेबाट खर्च बढ्नुका साथै विदेशीनु पर्नेछ । साढेसातिको प्रभाव वर्षभरिनै रहनाले उक्तसमय केहि संघर्षमय रहनेछ । जन्म कुण्डलिमा यदि शनि कमजोर भए अनावस्यकविविध समस्या आईपर्ने, अन्तिम समयमा काम बिग्रिने, झुटा आरोप लाग्ने तथाकार्यमा ढिलासुस्ती हुनेछ । आर्थिक दृष्टिले जेठ, असोज,कार्तिक र फागुन महिना शुभ रहनेछन् । यसैगरी वैशाख, श्रावण र मंसिर महिना भने खर्चिला रहनेछन् । मकर २०७५ साल मकर राशि हुनेहरूका लागि मिश्रित फल लिएर आएको छ । आश्विन १८ गतेसम्म राज्य तथा समाजिक कार्यमा प्रगति हुनेछ । आय आर्जनका अवसर प्राप्त हुनेछन् । पारिवारिक साथ सहयोग प्राप्त हुनुका साथै सुखद् यात्राका अवसर पनि प्राप्त हुनेछन् । घर जग्गा तथा स्थायी सम्पतिबाट भने सफलता मिल्नेछ । फाग्गुन १९ गतेबाट खर्च भावमा जाने बृहस्पतिले मानसिक चिन्ता बढाउनेछ । पैसा फस्ने तथा धनमाल हराउने योग भएकाले अलि बढी सजग रहनु होला । सेयर बजारबाट नोक्सानी नै वेहोर्नु पर्नेछ । वर्षभरिनै शनिको अढैयाको प्रभावले कार्यमा ढिलासुस्ती र चोटपटकको भए रहनेछ । आर्थिक दृष्टिले असार, कार्तिक, मंसिर र चैत महिना शुभ छन् भनेवैशाख, श्रावण र पौष महिना खर्चिला रहनेछन् । कुम्भ कुम्भ राशि हुनेहरूका लागि २०७५ साल सानो प्रयासले ठूलो सफलता मिल्नेछ । उच्च पद प्राप्ति तथा भाग्यमा वृद्धि हुनेछ । व्यवसायिक सन्दर्भमा वैदेशिक यात्रा हुनेछ । भौतिक सुखमा बढोत्तरी हुनेछ । नयाँ कार्यको थालनी हुनेछ, आर्थिक पक्ष सबल नै रहनेछ । घर, जग्गामा गरेको लगानीबाट चमत्कारी परिणाम आउन सक्छ । शेयर बजारको कारोवार मध्यम रहनेछ । शैक्षिक क्षेत्रमा गरेको लगानीबाट मनग्य फाईदा मिल्नेछ । वर्षको उत्तरार्धमा अनावस्यक खर्च र मानसिक चिन्ता बढ्नेछ । यान्त्रिक वस्तुका साथै अग्नि जन्य कुरा हानिकारक रहनेछन् । वैशाख साउन र मंसिर महिना विशेष लाभदायी रहनेछन् भने जेठ, असोज र माघ महिना कष्टदायी रहने देखिन्छ । मीन मीन राशि भएका व्याक्तिहरूका लागि २०७५ सालमा मिश्रीत फल मिल्नेछ । यो वर्ष व्यापार तथा व्यवसायबाट अपेक्षित लाभ मिल्नेछ । वर्षको पूर्वार्धमा बैंकिङ कारोबारबाट अधिक फाइदा हुनेछ फेन्सी तथा सजावटिका व्यवासायिलाई मनग्य फाइदा हुनेछ । भूधन विशेष लाभदायी रहनेछ । सामाजिक कार्यमा रुचि जाग्नुका साथै कीर्ति वृद्धिका योग देखिन्छन् । शेयर बजारले सफलता दिलाउनेछ भने उत्तरार्धमा शरीरमा आलस्य र मनमा निराशा छाउने छ । सवारी साधनको प्रयोग गर्दा वा पैदल यात्रा गर्दा ध्यान दिनुहोला । जेठ महिनामा केही धनमाल हराउने योग छ । आर्थिक दृष्टिकोणले भाद्र, पौष र माघ पहिना शुभ रहेका छन् भने असार, कार्तिक र फागुन महिना खर्चिलो रहनेछ । (ज्यो.प. नारायणप्रसाद दुलाल, सम्पर्क ९८४९५५९५०२)