नेपालमा वैदेशिक लगानी बढ्दो, १९२ उद्योग सञ्चालन गर्न ३५ अर्ब वैदेशिक लगानी भित्रियो
काठमाडौँ । चालू आर्थिक वर्षको ८ महिनामा विभिन्न उद्योग व्यवसाय सञ्चालनका लागि ३५ अर्ब रुपैयाँ विदेशी लगानी भित्रिएको छ । यसअवधिमा विभिन्न मुलुकका लगानीकर्ताले ३४ अर्ब ९० करोड रुपैयाँ लगानी गर्न १९४ उद्योग विभागमा दर्ता भएका छन् । विभागले दिएको जानकारीअनुसार फागुन मसान्तसम्म ठूला १०, मझौला चार र साना १८० उद्योग दर्ता भएका हुन् । विदेशी लगानीका साना उद्योग, स्वदेशी तथा विदेशी लगानीका मझौला र ठूला उद्योग गरी विभागले १९४ उद्योग दर्ता गरेको हो । स्वदेशी लगानीका साना उद्योग भने घरेलु तथा साना उद्योग विकास समिति र घरेलु तथा साना उद्योग विभागले दर्ता गर्दै आएका छन् । दर्ता भएका उद्योगमध्ये कृषिजन्य ११, ऊर्जामूलक चार, सूचना, प्रसारण तथा सञ्चार प्रविधि १७, उत्पादनमूलक ३९, खनिज एक, सेवामूलक ६२ र पर्यटन ६० उद्योग रहेका छन् । १० करोडभन्दा सानो लगानीका उद्योगलाई साना उद्योग, १० करोडदेखि २५ करोड रुपैयाँ लगानीसम्मका मझौला र २५ करोडभन्दा बढी लगानी भएका उद्योगलाई ठूला उद्योगका रुपमा दर्ता गर्दै आएको छ । विभागमा हालसम्म ७ हजार ५०० उद्योग दर्ता भएका छन् । विभागका सूचना अधिकारी दुर्गाप्रसाद भुसालले देशमा तिनै तहको निर्वाचन सम्पन्न भएर स्थिर सरकार बनेकाले औद्योगिक क्षेत्रमा लगानी बढेको बताए। “अघिल्ला वर्षको तुलनामा यो वर्ष उद्योग क्षेत्रमा लगानी बढेको उनले जानकारी दिए ।
भ्रष्ट र तस्करको लगानी भएको मिडियालाई म छोड्दिन–उद्योगमन्त्री यादव
काठमाडौं । सिंहदरबारमा आइतबार अनुगमन सम्बन्धि जानकारी गराउने क्रममा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले पत्रकार क्षेत्रमा पनि भ्रष्ट र तस्करहरुको लगानी रहेको भन्दै विगतदेखिनै त्यसको बिरुद्धमा रहेको बताए । उनले सो क्षेत्रको समेत अनुगमन गर्ने जानकारी दिए । पत्रकार क्षेत्रमा भ्रष्ट र तस्करहरु रहेकोप्रति आफु जनाकार रहेको उनको भनाइ छ । ‘पत्रकार क्षेत्रमा भ्रष्ट र तस्करहरुको पनि लगानी छ,’ उनले भने ‘त्यसको बिरुद्धमा म छु, उनीहरुकोप्रति पनि मेरो अनुगमन हुन्छ ।’
लक्ष्मी बैंकले ल्यायो क्यास क्याक अफर, साथै नयाँ खाताहरुमा निःशुल्क इबैंकिङ प्याकेज
काठमाडौं । लक्ष्मी बैंक लि.ले आफ्नो भिजा कार्ड प्रयोगकर्ताका लागि क्यास क्याक अफर ल्याएको छ । जस अन्तर्गत लक्ष्मी बैंकबाट भिजा कार्ड लिएका सबै ग्राहकहरुले नेपाल तथा भारतमा कार्ड मार्फत अनलाइन/पीओएसबाट जुनसुकै किसिमको खरिदमा १० प्रतिशत वा १००० रुपैयाँसम्म रकम पुनः फिर्ता हुने क्यास क्याकको व्यवस्था गरिएको छ । यो व्यवस्था आज(आइतबार)देखि कम्तिमा ३ पटकसम्म कार्ड प्रयोग गर्ने ग्राहकहरुले यो सुबिधा प्राप्त गर्न सक्नेछन् । यसका साथै बैकले यस अवधिभर खोलिने नयाँ खाताहरुमा इबैंकिङ प्याकेज अन्तर्गत एक हजार रुपैयाँसम्मको बैकिङ्ग सेवाहरु जस्तैः भिजा डेबिट कार्ड, मोबाइल मनि र इन्टरनेट बैकिङ्ग सेवा निःशुल्क उपलब्ध गराएको छ । उक्त सुबिधाले ग्राहकलाई सहुलियत दिनुका साथै नगद रहित डिजिटल पेमेन्टलाई समेत प्रवर्धन गर्नेछ भन्नेमा बैकले विश्वास लिएको छ ।
यामाहाका स्कुटरको ‘रिसेल प्रोमिस’, एक्सचेन्जमा ७५ प्रतिशत नगद फिर्ता
काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले यामाहाका हरेक स्कुटरको खरिदमा अभुतपूर्व ‘रिसेल प्रोमिस’ अर्थात् ‘पुनर्विक्रिय वाचा’ घोषणा गरेको छ । यो योजनाअनुसार यामाहा स्कुटर खरिद गर्ने ग्राहकले एक वर्षभित्रमा यामाहा मोटरसाइकल वा स्कुटरसँग एक्सचेन्ज गर्न चाहेमा पुरानो स्कुटरको मूल्यांकन खरिद मूल्यको ७५ प्रतिशत पाउनेछन् । यसका साथै, स्कुटर किनेको १२ महिनादेखि १८ महिनाको अवधिमा एक्सचेन्ज गर्न चाहने ग्राहकले पुरानो स्कुटरको मूल्यांकन पहिलेको खरिद मूल्यको ७० प्रतिशत पाउनेछन् । त्यसैगरी, १८औं महिनादेखि २४ औं महिनामा यामाहाका दुईपांग्रेसँग एक्सचेन्ज गर्न चाहने स्कुटरधनीले ६५ प्रतिशत मूल्यांकन पाउनेछन् । यामाहाको ‘रिसेल प्रोमिस’ चैत १ गतेदेखि स्कुटर खरिद गर्ने सबै ग्राहकले पाउनेछन् भने यो योजनाको वैधता तीन वर्षसम्म हुनेछ । ‘भर्खरै भएको एक अध्ययनले यामाहाका स्कुटरहरु स्टाइल र कम्फर्टमा सबैभन्दा बढी रुचाइएको देखाएको थियो । ग्राहकको रोजाइमा पर्नु गर्वको कुरा हो । उहाँहरुप्रति कृतज्ञता व्यक्त गर्न हामीले यो अभुतपूर्व योजना ल्याएका हौं,’ एमएडब्लु इन्टरप्राइजेज यामाहा डिभिजनका मार्केटिङ हेड प्रदिप पोखरेलले भने, ‘अब यामाहाका स्कुटर स्टाइलिस र कम्फर्टेबल मात्र छैन, रिसेल प्रोमिस ग्यारेन्टी गरिएको पनि छ ।’ यामाहाले ६ वर्षअघिदेखि नेपालमा स्कुटर भित्र्याउन थालेको थियो । यो छोटो अवधिमा यामाहाका स्कुटर नेपाली ग्राहकमाझ लोकप्रिय बनिसकेको छ । डिजाइन र प्रविधिमा यामाहाको नविनतम प्रयोगले गर्दा विश्व बजारमा नै यामाहाको स्कुटर चर्चित छ । यामाहाको इन्जिनियरिङले स्कुटरलाई स्टाइलिस र स्पोर्टी भिजुअल अपिल मात्र दिँदैन यसले हरेक राइडलाई आरामदायी र रोमाञ्चकारी समेत बनाउँछ । नेपालमा अहिले यामाहाको फेसिनो, रेजी, रे जेडआर र अल्फा गरी चार मोडेलका स्कुटर उपलब्ध छन् । यी स्कुटरहरु विभिन्न उमेर र फरक पेसामा आबद्ध महिलापुरुषलाई सुहाउने गरी तयार पारिएका हुन् । यामाहा स्कुटरमा प्याटेन्डेट ब्लुकोर टेक्नोलोजीजडित इन्जिन छ जसले स्कुटरको पर्फमेन्स र माइलेजलाई पनि बढाउँछ । यामाहाले नयाँ वर्ष २०७५ को अवसरमा ‘आमन्त्रण’ नामको ग्राहक योजना ल्याएको थियो । यो योजनामा यामाहा ब्रान्डका मोटरसाइकल र स्कुटर खरिद गर्ने ग्राहकले एउटा स्क्र्याच बुक पाउनेछन् जसमा उनले पाँच हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म ‘स्योर सट डिस्काउन्ट’ र १०० प्रतिशतसम्म ‘क्यास ब्याक’ पाउनेछन् ।
प्रभु बैंकका ग्राहकलाई नेपाल मेडिसिटी हस्पिटलमा १० प्रतिशत छुट
काठमाडौं । प्रभु बैंक लिमिटेड र ललितपुरको नेपाल मेडिसिटी (अश्विन्स मेडिकल कलेज एण्ड हस्पिटल प्रा.लि.) बीच प्रभु बैंकका कर्मचारी तथा ग्राहकहरुलाई सेवा सुविधामा लाग्ने शुल्कमा छुट उपलब्ध गराउने सम्बन्धी सम्झौता सम्पन्न भयो । उक्त सम्झौतामा बैंकका तर्फबाट चिफ मार्केटिङ्ग अफिसर अशोक खड्गी र नेपाल मेडिसिटीका तर्फबाट महाप्रबन्धक बिजय रिमालले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता बमोजिम प्रभु बैंकका कर्मचारी तथा बैंकका प्रिभिलेज कस्टुमर एवं डेविट तथा क्रेडिट कार्ड होल्डरहरुलाई नेपाल मेडिसिटीले प्रदान गर्ने सेवाहरुमा लाग्ने सेवा शुल्कमा १० प्रतिशतसम्म छुट सुविधा उपलब्ध हुनेछ । सम्झौता पश्चात् प्रभु बैंकका सम्पूर्ण कर्मचारी एवं बैंकका उल्लेखित ग्राहकहरु नेपाल मेडिसिटी (अश्विन्स मेडिकल कलेज एण्ड हस्पिटल प्रा.लि.) को उच्चस्तरीय स्वास्थ्य सेवा सुपथ मुल्य उपभोग गरी लाभान्वित हुनुहुनेछ भन्ने बैंकले विश्वास लिएको छ ।
उद्योगमन्त्री मातृका यादवले भने– अब ठूलो माछा समाइन्छ
काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले यसअघि कमजोर बजार अनुगमन भएको भन्दै अब व्यवस्थित अनुगमन गर्ने बताए । आइतबार सिंहदरबारस्थित मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै यसअघि अव्यवस्थित, कमजोर अनुगमन भएको जानकारी दिदै अब व्यवस्थित अनुगमन गर्ने बताए । ‘सम्बन्धित अनुगमन गर्ने विभागहरुसँगको छलफल गरी व्यवस्थित अनुगमन गर्ने निर्णयमा पुगकेका हौं,’ उनले भने ‘त्यसका लागि संशोधन गर्न पर्ने आवश्यक नियम कानूनहरु परिमार्जित गर्नेछौं ।’ अनुगमनको पहिलो प्राथमिकता ठूलो माछा हुने उनले पत्रकारहरुलाई जानकारी गराए । मन्त्रालयको अनुसार नयाँ योजनासहित बजार अनुगमन गरिनेछ । अब हल्ला गरेर अनुगमन हुदैन विधि प्रक्रिया पुर्याएर हुन्छ । दोष नगरेको दोषीको भागिदार हुदैन् । यदि दोष भेटिए कसैलाई नछोड्ने मन्त्री यादवको भनाइ छ । अनुगमन एकिकृत हुने उनले विगत जस्तो छुट्टाछुट्टै नभइ आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, नेपाल गुणस्तर तथा नापतौल विभाग लगायत सम्बन्धित सम्पूर्ण अनुगमनकारी निकायहरु एकिकृत रुपमा अनुगमनमा निस्कने बताए । ‘अबको अनुगमनबाट शुरुमा ठूला माछाहरुलाई समात्नेछौं,’ उनले भने ‘२/४ वटा ठूला माछा समातेपछि त्यसै बाँकी माछाहरु तर्सनेछन्, यद्यपि गडबढ गर्ने कसैलाई छोड्ने छैनौं, साना माछाकाे पनि अनुगमन हुन्छ ।’ पहिले भएका अनुगमका मुद्धाहरुलार्इ अघि बढाउने आजभन्दाअघिका विभिन्न ठूला अस्पताल, गाडी विक्रेता ठूला कम्पनी, विद्यलयको मुद्धाको प्रक्रिया समेत अघि बढ्ने उनको भनाइ छ । त्यसकाे लागि सम्बन्धित स्वास्थ्या र शिक्षा मन्त्रलयलार्इ प्रक्रिया अघि बढाउन पत्र पठाइ सकेकाे उनकाे भनाइ छ । ‘निर्दोषलाई छोड्छाै, दोषिलाई छोड्ने छैनाै,’ उनले भने ‘समय स्वास्थ्य, विद्यालय लगायतकाे क्षेत्रमा बढी व्यथिति रहेकाे छ । ’ दैनिक उपभोग्य वस्तुहरु तेल लागतयका खाद्यपदार्थहरुको अनुगमनलाई पनि सरकारले मुख्य प्राथमिकतामा राखेकाे सुनाए । विगतमा अनुगमनकाे क्रममा सरकारी निकायहरुबाट समेत कमिकमजोरी भएको सुनाउदै आब त्यस्तो नहुने उनको दावी छ । उनले अनुगमनलाई व्यवस्थित पार्न आवश्यक सम्पूर्ण प्रक्रियाहरु अगाडी बढाइसकेको जानकारी दिए । ‘त्यसैअन्तर्गत मन्त्रालयलेनै दर्वन्दीमा सरकारी वकिल राख्ने भएकाे छ,’ उनले थपे । अनुगमनले केही समयभित्रै बजारमा गतिल्लो प्रभाव पार्ने उनको भनाइ छ ।
नायब सुब्बा कमल भुजेललाई २८ हजार बिगो माग गर्दै अख्तियारले हाल्यो अदालतमा मद्दा
काठमाडौं । भूमिसुधार कार्यालय ब्यासी, भक्तपुरमा कार्यरत नायव सुब्बा कमल भुजेल भ्रष्टाचारको अभियोगमा पक्राउ परेका छन् । भुजेल भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिका वडा नं ८ स्थित रहेको जग्गाको मोही कायम गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग १० हजार पैसा लिदाँलिदै पक्राउ परेका हुन् । आयोगको टङ्गालबाट खटिइ गएको टोलीले उनलाई पक्राउ गरेको हो । सुब्बा भुजेललाई अनुसन्धान गर्ने क्रमममा अन्य सेवाग्राहीहरुसँग पनि जग्गाको फिल्ड निरीक्षण गरेबापत पैसा लिएको अनुसन्धानबाट प्रमाणित भएको अख्तियारले जनाएको छ । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १० बमोजिम कसुर गरेको देखिन आएकोले उनलाई बिगो रु २८ हजार कायम गरी जरिवाना र कैद सजायको माग गर्दै विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।
टेलिकमले ल्यायाे ह्याप्पी सोसल मिडिया प्याक र विद्यार्थी अफर, सोमबारदेखि शुरु
काठमाडौं । नेपाल टेलिकमले भोलि बैशाख ३ गतेदेखि ह्याप्पी सोसल मिडिया प्याक र विद्यार्थी अफर उपलब्ध गराउने भएको छ । टेलिकमले आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी) को अवसरमा उक्त अफरहरु ग्राहकमाझ ल्याएको हो । ह्याप्पी सोसल मिडिया प्याक बैशाख ३ गते मनाइने आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी) को अवसरमा नेपाल टेलिकमले जीएसएम तथा सीडीएमएका प्रिपेड/पोष्टपेड मोबाइलमा ‘ह्याप्पी सोसल मिडिया प्याक’ उपलब्ध गराउने भएको छ । ह्याप्पी सोसल मिडिया प्याक अन्तर्गत फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप चलाउन सकिने छ । उक्त अफर २०७५ बैशाख ३ गते देखि लागू हुनेछ । अफर आगामी २०७५ बैशाख १८ गते सम्म लिन सकिने छ । ह्याप्पी सोसल मिडिया प्याक अन्तर्गत २१ रुपैयाँमा २ सय ५० एमबी डाटा प्राप्त हुनेछ । सो प्याक विहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म प्रयोग गर्न सकिने छ । सो प्याक ७ दिन अवधिसम्म प्रयोग गर्न सकिने छ । ह्याप्पी सोसल मिडिया प्याक चलाउदा वेब ब्राउजर नभई सम्बन्धित सोसल मिडियाको एप्स नै प्रयोग गर्नु आवश्यक हुन्छ । विद्यार्थी अफर कम्पनीले एसईई परीक्षा दिएका र उच्च शिक्षा अध्ययनरत विद्यार्थीहरुका लागि विद्यार्थी अफर उपलब्ध गराउने भएको छ । सो अफर भोलि बैशाख ३ गते देखि उपलब्ध हुनेछ । विद्यार्थीहरुलाई ५० रुपैयाँ टक भ्यालु भएको सिम निःशुल्क उपलब्ध गराइने छ । सो रकम मध्ये १० रुपैयाँमार्फत कल गर्न, डाटा खरिद गर्न वा एसएमएस गर्न जस्ता सबै सुविधा उपयोग गर्न सकिने छ । बाँकी ४० रुपैयाँमार्फत ४० मिनेट कल गर्न, ६० एमबी डाटा खरिद गर्न र २० वटा एसएमएस गर्न सकिने छ । यी सबै सुविधा ३० दिन भित्र उपभोग गरिसक्नु पर्नेछ । विद्यार्थीहरुलाई ६ महिनासम्म बोनसको रुपमा प्रतिमहिना ४० मिनेट भ्वाइस कल गर्ने, ६० एमबी डाटा चलाउने र २० वटा एसएमएस पठाउने सुविधा समेत उपलब्ध गराइने छ । यो सुविधा उपभोग गर्ने समयावधि ७ दिनको हुनेछ । त्यसैगरी सो अफर अन्तर्गत रजिष्टर गरिएका सिममा ५० रुपैयाँ वा सो भन्दा बढी रकम रिचार्ज गर्दा समेत १ वर्षसम्म प्रत्येक रिचार्जमा बोनस उपलब्ध गराइने छ । ५० रुपैयाँ रिचार्ज गर्दा बोनस अन्तर्गत १० मिनेट भ्वाइस कल गर्न र ५० एमबी डाटा खरिद गर्न सकिने छ । रिचार्ज गरिसके पछि यो सुविधा ३ दिन भित्र उपभोग गरिसक्नु पर्नेछ । अफर अन्तर्गत उपलब्ध भ्वाइस कल र एसएमएस नेपाल टेलिकमकै नेटवर्क भित्रका नम्बरका लागि मात्र उपलब्ध हुनेछ । आगामी ३ महिनासम्म विद्यार्थी अफर उपलब्ध गराइने छ । अफर अन्तर्गत प्राप्त प्याकेज भने सिम एक्टिभ भएको ६ महिनासम्म उपलब्ध हुनेछ भने रिचार्जमा प्राप्त बोनस एक बर्ष सम्म उपलब्ध हुनेछ । एसईई, उच्च मावि र सोभन्दा माथिल्लो तहका बिद्यार्थीहरुलाई बिद्यार्थी अफरको सिम उपलब्ध गराइने छ । एसईई परीक्षा दिएका विद्यार्थीहरुले सो सिम लिनका लागि विद्यालयको आईडी कार्ड वा परीक्षाको एडमिट कार्ड, फोटो र आफ्नो अभिभावकको नागरिकताको प्रतिलिपी उपलब्ध गराउनु पर्नेछ । त्यसैगरी उच्च मावि र सोभन्दा माथिल्लो तहका विद्यार्थीहरुले आफ्नो नागरिकताको प्रमाणपत्र, फोटो र उच्च मावि वा कलेजको परिचय पत्रको प्रतिलिपी उपलब्ध गराउनु पर्नेछ । टेलिकमले हाल नयाँ वर्ष २०७५ को अवसरमा उपभोक्ताको थप सुविधाका लागि ह्याप्पी विकेन्ड प्याक, अनलिमिटेड जीएसएम/सीडीएमए नाइट डाटा प्याक, एडीएसएल भोलुम बेस्ड प्याकेज र एडीएसएल अनलिमिटेड प्याकेज समेत उपलब्ध गराइरहेको छ ।