आइतबारको बजार निरन्तर ओरालो, फाइनान्स बाहेक सबै समूह राताम्मे
काठमाडौं । आइतबारको सेयर बजार खुलेदेखि बन्द हुँदासम्म निरन्तर रूपमा ओरालो लागेको छ । बजार खुल्दा १३६६ अंकमा रहेको बजार १३५३ अंकमा झरेर बन्द भएको छ । समग्रमा नेप्से परिसूचक १२.५१ अंकले घटेर १३३५३.६४ अंकमा झरेको छ । त्यस्तै, बजारमा परिसूचक सँगै सेयर कारोबारमा पनि गिरावट आएको छ । सो दिनको बजारमा कुल १६० कम्पनीको ३६ करोड १६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बजारमा दिनभर ६ हजार ६८२ कित्ता सेयर किनबेच भएका छन् । बजारमा फाइनान्स बाहेक सबै समूह राताम्मे भएका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक ६८.३२ अंकले ओरालो लागेको छ । त्यस्तै, उत्पादनमूलक, माइक्रोफाइनान्स र अन्य समूह सामान्य अंकले घटेको छ भने बाँकी दोहोरो अंकले घटेका छन् । दोहोरो अंकले घटेको बजारमा सबैभन्दा बढी सांग्रिला डेभलपमेन्ट बैंकका लगानीकर्ताले एकैदिन ६.२५ प्रतिशत गुमाएका छन् । सबैभन्दा बढी एभरेष्ट बैंकको कन्भर्टिभल प्रिफेरेन्स सेयरका लगानीकर्ताले ७.७६ प्रतिशत कमाएका छन् । बजारमा नेपाल बैंकको २ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ ।
स्नातक उत्तीर्णले पनि बीमा कम्पनीको सीईओ हुन पाउने, कुलिङ पिरियड ६ महिना(पूर्ण पाठसहित)
काठमाडौं । काठमाडौं । स्नातक तह उत्तीर्णहरुले पनि अब बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत(सीईओ) हुन पाउने भएका छन् । बीमा समितिले बीमकको संस्थागत सुशासन सम्बन्धि निर्देशिका, २०७५ मार्फत स्नातक उत्तीर्णहरुले पनि बीमा कम्पनीको सिइओ बन्न पाउने व्यवस्था गरेको हो । चिरञ्जीवि चापागाई, अध्यक्ष, बीमा समिति अब बीमा, व्यवस्थापन, वित्त, अर्थशास्त्र, गणित, इञ्जिनियरिङ, लेखा, चाटर्ड एकाउण्टेन्सीमा स्नातक उतिर्ण गरेर बीमा क्षेत्रमा १२ बर्ष, बैंक तथा वित्तिय क्षेत्रमा १५ बर्ष वा दुबै क्षेत्रमा भए एक बर्षको अनुभवनसहित १३ बर्ष काम गरेकाहरुले बीमा कम्पनीको सीईओ बन्न पाउनेछन् । तिनै बिषयहरुमा स्नातकोत्तर उत्तीर्णहरुले भने बीमा क्षेत्रमा पाँच बर्ष, बैंक तथा वित्तिय क्षेत्रमा ८ बर्षको अनुभव हासिल गरेपछि सीईओ बन्न पाउनेछन् । अब बीमा कम्पनीका सिइओहरुले एउटा कम्पनी छाडेको ६ महिनापछि मात्रै अर्काे कम्पनीमा सीईओ बन्न पाउनेछन् । बीमा समितिले लामो छलफलपछि आइतबारदेखि लागु हुने गरि बीमकको संस्थागत सुशासन सम्बन्धि निर्देशिका, २०७५ ल्याएको हो । अब सीईओहरुले ७० बर्षसम्म मात्रै जागिर खान पाउनेछन् । सीईओहरुले ४ बर्षको व्यवसायीक योजना सञ्चालक समितिमा पेश गर्नुपर्नेछ । सञ्चालक समितिले सीईओले पेश गरेको व्यवसायीक योजना, तलब सुबिधा र करार सम्झौतासहितको विवरण बीमा समितिमा बुझाउनुपर्नेछ । बीमा समितिले चाहेको खण्डमा कारणसहित सच्याउन निर्देशन समेत दिन सक्ने व्यवस्था अघि सारिएको छ । त्यस्तै, निर्देशिकाले बीमा कम्पनीमा डेपुटी सीईओ अनिवार्य गरेको छ । अब आगामी ६ महिनाभित्र सबै बीमा कम्पनीहरुमा डेपुटी सीईओको नियुक्ती गरिसक्नुपर्नेछ । प्रत्येक पाँच पाँच बर्षमा बीमा कम्पनीहरुले डिडिए गराउनुपर्नेछ । अब बीमा कम्पनीका सञ्चालकहरुले विदेश भ्रमण जाँदा बीमा समितिको स्वीकृति लिनुपर्ने छैन् । सञ्चालकहरुले बीमा समितिलाई जानकारी गराएर विदेश भ्रमण्मा जान सक्नेछन् । समितिले बीमा कम्पनीका सञ्चालकहरुको भत्ता सम्बन्धी आधार पनि तोकिदिएको छ ।
महालक्ष्मी विकास बैंकको अध्यक्षमा पून: राजेश उपाध्याय, ९ प्रतिशत लाभांश पारित
काठमाडौं । महालक्ष्मी विकास बैंक लि.को समितिको अध्यक्षमा पून राजेश उपाध्याय निर्विरोध निर्वाचित भएका छन् । उपाध्याय कम्पनीको हालै सम्पन्न १६औँ वार्षिक साधारणभाबाट उक्त पदमा फेरि नियुक्त भएका हुन् । नेपाल राष्ट्र बैँकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले नवनियुक्त अध्यक्ष उपाध्यायलाई आइबार(आज) आयोजित एक समारोहबीच पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् । साथै, कम्पनीको सभाले संस्थापक शेयरधनीको तर्फबाट राजेश उपाध्याय, संजय गिरी र राजेशकुमार रौनियारलाई र सर्वसाधारण शेयरधनीको तर्फबाट राहुल अग्रवाल, श्यामसुन्दर रुङ्गटा र रुपेन्द्र पौडेललाई चयन गरेको छ । सोही सभाले शेयरधनीहरुलाई चुक्ता पूँजीमा ९ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
वीरगञ्ज र लुम्बिनी चिनी कारखानालाई सहकारी मोडेलमा लाने सरकारकाे तयारी
काठमाडौं । सरकारले वीरगञ्ज चिनी कारखाना र लुम्बिनी चिनी कारखानालाई सहकारी मोडेलमा ल्याउने तयारी गरेको छ । आयातित चिनीलाई प्रतिस्थापन गरी स्वदेशमै उत्पादन बढाउने उद्देश्यले कृषि, पशुपन्छी, भूमि व्यवस्था र सहकारी मन्त्रालयले आगामी एक वर्षभित्र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग समन्वय गरी प्रदेश नं. ३ को वीरगञ्ज चिनी कारखाना र प्रदेश नं. ५ को लुम्बिनी चिनी कारखानालाई सहकारी मोडलमा ल्याउने विशेष पहल थाल्ने बताएकाे हो । सिंहदरबारमा कृषि, पशुपंछी, भुमि व्यवस्था र सहकारी क्षेत्रको रुपान्तरणका मार्गचित्र–२०७५ प्रस्तुत गर्दै मन्त्री चक्रपाणी खनालले मन्त्रालयले चिनी उद्योगको स्थापनालाई प्राथमिकतामा राखेको बताए । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रालयको अनुसार लुम्बिनी चिनी कारखना चलेको भए पनि वीरगञ्ज चिनी कारखाना हाल सञ्चालनमा आएको छैन । त्यस्तै उनले प्रदेश नं. ७ मा सहकारी चिनी उद्योग स्थापना गर्ने जानकारी गराए । उनको अनुसार सहकारी उद्योग प्रवद्र्धन गर्न ७ वटै प्रदेशमा प्रदेशस्तरीय औद्योगिक ग्रामको स्थापना गरिनेछ । पहिलो चरणमा सहकारी उद्योग विकास र प्रवद्र्धन हुन सक्ने कम्तिमा २ प्रदेशहरु छनौट गरी कार्य प्रारम्भ गरिनेछ । यसैबीच उनले सहकारीको सम्बन्धमा भावि योजना प्रस्तुत गर्दै भने,‘सहकारी क्षेत्रमा सम्पत्ति शुद्दिकरण सम्बन्धि विषयलाई लागु र नियमन गर्न सम्पत्ति शुद्दिकरण निदेशक,२०७४ को प्रभावकारी कार्यान्वन गरिनेछ । साथै रु ५० करोडभन्दा बढी बचत परिचालन गर्ने सहकारी संस्थाहरुको सघन अनुगमन तथा वित्तीय विश्लेषण गर्न विशेष संयन्त्रको निर्माण गरिनेछ ।
बनेपामा गुराँस लाइफ इन्स्योरेन्सको जीवन बीमाअभिकर्ता तालिम सम्पन्न
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड शाखा कार्यालय बनेपाको आयोजनामा जीवन बीमा अभिकर्ता तालिम सम्पन्न भएको छ । ३ दिन सम्म संचालित उक्त तालिममा उक्त शाखाका प्रमुख चण्डिका वाग्लेलेबीमा अभिकर्ता भई काम गर्दा ध्यान दिनुपर्ने कुराहरु, जिवन बीमाको आधारभुत अवधारणा तथा अभ्यासहरुको जानकारी दिएकी छिन् । साथै, वाग्लेले अभिकर्ताको गुणस्तर तथा उनीहरुको ज्ञानका स्तरको आधारमा बीमाको ब्यापार बढ्ने तथा अभिकर्ताको समेत आम्दानी हुने बताएकी छिन् । वाग्लेले बीमा व्यवसायलाई मर्यादित ढङ्गले अगाडी बढाउन बीमा अभिकर्ता आचारसहिंताको अक्षरशः पालना गरी कम्पनीको गरिमा र छबीलाई उच्च राख्न आग्रह गरेकी छिन् । ।
श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले २६ प्रतिशत बोनस सेयर दिने, पुँजी ८० करोड नाघ्ने
काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीले सेयरधनीलाई २६.५७ प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीले चुक्ता पुँजी बढाउनको लागि सो मात्राको बोनस वितरण गर्ने निर्णय गरेको हो । फाइनान्सले गत आर्थिक वर्षको मुनाफाबाट हालको चुक्ता पुँजीको १६ करोड ७९ लाख ७८ हजार ५६८ रुपैयाँ बोनस दिन लागेको हो । कम्पनीको ८३ प्रतिशत हकप्रद सेयर जारी पश्चात ६३ करोड २१ लाख रुपैयाँ कायम हुने छ । यसको २६.५७ प्रतिशत बोनस पछि कम्पनीको पुँजी ८० करोड रुपैयाँ नाघ्ने छ । कम्पनी सञ्चालक समितिको यस प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा फाइनान्सको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ ।
प्रभु इन्स्योरेन्सको विशेष साधारणसभा जेठ १० गते, कहिले देखि बुक क्लोज?
काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनी आगामी जेठ १० गते कम्पनीको विशेष साधारणसभामा जाँदै छ । सो प्रयोजनको लागि वैशाख २८ गतेदेखि जेठ १० गतेसम्म कम्पनीको बुक क्लोज हुने भएको छ । उक्त निर्णय कम्पनीको ३६०औँ सञ्चालक समितिको बैठकले गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी ६८ करोड ८४ लाख रुपैयाँ रहेको छ । पछिल्लो समय कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७७८ रुपैयाँ रहेको छ ।
जग्गा प्लटिङमा रोक लगाउदै सरकार, के होला बैंकको लगानी ?
काठमाडौं । सरकारले खेतियोग्य जमिनमा प्लटिङ गर्न रोक लगाउने भएको छ । सरकारले यसका लागि आउदो ६ महिनाभित्र भूमि नीति र भू–उपयोग ऐन ल्याइ जग्गा प्लटिङ रोक्न लगाउने भएको हो । खेतीयोग्य उर्वर जमिन गैर कृषि क्षेत्रमा प्रयोग भइरहेको सरकारको ठहर छ । पछिल्लो समयमा सहरीकरण विस्तारसंगै खेतियोग्य जग्गामा प्लटिङ बढ्दै गएर उत्पादनमा असर पर्ने भन्दै सरकारले यस्तो व्यवस्था गर्न लागेको हो । कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणी खनालले आइतबार मन्त्रालयमा कृषि, पशुपंक्षी, भूमि व्यवस्था र सहकारी क्षेत्रको रुपान्तरणको मार्गचित्र सार्वजनिक गर्दै खेतियोग्य जमिन बचाउन प्लटिङ रोक्न लागाएने भएको हो । ‘कानून तर्जुमा र कार्यान्वयनका लागि उच्च स्तरीय विज्ञ समूह गठन गरी आवश्यक सुझाव र सहयोग लिइनेछ,’ उनले भने । त्यस्तै उनले १ वर्षभित्र मोही प्रथाको पनि पूर्णतः अन्त्य गर्ने जानकारी दिए । मन्त्री खनालले अब पनि भूमि व्यवस्थापन गर्न नसके कृषि क्षेत्रमा ठूलो समस्या आउने बताउँदै भूमिलाई वर्गिकरण गर्नु आवश्यक रहेको बताएका छन् । जमिन खण्डीकरण हुँदा खेतीयोग्य जमिन सकिँदैं गएको भन्दै उनले यसलाई रोक्नका लागि भू उपयोग नीति तथा भू–नीतिको तयारी भइरहेको जानकारी दिए । मन्त्री खनाललले भने ‘कृषियोग्य जमिनको खण्डीकरण डरलाग्दो अवस्थामा छ, यसलाई रोक्नुपर्छ, यसका लागि सरकार लागिरहेको छ ।’ नेपाल राष्ट्र बैंकले पनि घरजग्गालाई अनुपादक क्षेत्र भनको छ । बैंकअनुसार जग्गा प्लटीङमा मात्रै बैंकको लगानी २२ अर्ब २४ करोड रुपैयाँ छ । चालु आर्थिक वर्षको गएको ८ महिनामा १ अर्ब ७८ करोड रुपैयाँ लगानी भएको छ । मन्त्रालयले जनयुद्धको समयमा तत्कालीन नेकपा माओवादी पक्षबाट किनबेच गराइएका जग्गाहरुको एकीकृत तथ्याङ्क संकलन गरी स्थानीय समाधानको लागि आवश्यक नीतिगत व्यवस्था गरिने उनको भनाइ छ । उनले मार्गचित्र प्रस्तुत गर्ने क्रममा अन्तरदेशीय भूमिको वैज्ञानिक नापी गर्न स्याटेलाइट, हवाई तथा स्थलगत विधिबाट भूमिको नापी कार्य परियोजना अगाडी बढाइने बताए । उनका अनुसार आफै खेती गर्न नचाहने जग्गाधनीले खेतीयोग्य जग्गा लिजमा दिन सक्ने र जग्गा नभएका वा कम भएका कृषकका लागि चक्लावन्दी भूमि करारमा लिन व्यवसायिक कृषि खेती गर्ने प्रणलाीको विकास गरिने छ । त्यसका लागि आगामी दुई वर्षभित्र किसान भूमि बैंक स्थापना गर्ने उद्देश्यले प्रदेश तथा स्थानीय तहको समन्वय, सहकार्य र सरोकारवालासंगको समेत परामर्शमा उपयुक्त निर्णय गरिनेछ ।