विकासन्युज

बीमा कम्पनीमा सीईओः योग्यता र उमेरमा दिलदार, सुशासनमा कडाई

काठमाडौं । बीमा समितिले बीमकको संस्थागत सुशासन सम्बन्धि निर्देशिका मार्फत प्रमुख कार्यकारी अधिकृत(सीईओ)को शैक्षिक योग्यतामा लचकता अपनाएको छ । तर समितिले अन्य धेरै बिधी अघि सारेर सीईओहरुमाथीको निगरानीलाई कडा पारेको छ । समितिले एउटा कम्पनीको सीईओ छाडेर अर्काे कम्पनीको सीईओ बन्नलाई ६ महिना पर्खनुपर्ने कुलिङ पिरियडको व्यवस्था अघि सारेको छ । त्यति मात्रै होइन, अब सीईओहरुले सञ्चालक समिति समक्ष ४ वर्षको व्यवसायीक योजना पेश गर्नुपर्नेछ । सञ्चालक समितिले सो व्यवसायीक योजनाका आधारमा सीईओसँग करार सम्झौता गर्न सक्नेछ । तर सञ्चालक समितिले सीईओको व्यवसायीक योजना, सेवा सुबिधा र करार सम्झौतासहितको विवरण बीमा समितिलाई बुझाउनुपर्नेछ । त्यति मात्रै होइन, अब बीमा कम्पनीका सीईओहरुले कम्पनीको कामको सिलसिलामा गर्ने विदेश भ्रमणलाई सञ्चालक समितिबाट समेत अनुमोदन गराउनुपर्नेछ । यस अघि सीईओहरुले बीमा समितिबाट स्वीकृति गराएर सिधै विदेश भ्रमण गर्न सक्ने व्यवस्था थियो । सीईओले सात दिन भन्दा बढि समय कार्यालयमा अनुपस्थित नहुँदा वा विदामा बस्दा डेपुटी सीईओ तोकेर त्यसको पूर्व जानकारी समितिमा दिनुपर्नेछ । त्यस्तै, अब सीईओहरुले कम्पनी सचिवका रुपमा काम गर्न रोक लगाइएको छ । यस अघि सीईओहरुलाई कम्पनी सचिवका रुपमा पनि काम गर्न कुनै रोकतोक थिएन् । बीमा समितिले बीमकको संस्थागत सुशासन सम्बन्धि निर्देशिका, २०७५ मार्फत सीईओहरुको शैक्षिक योग्यता र उमेर हद प्रति दिलदार देखिएको भए पनि बिभिन्न सर्तहरु अघि सारेर संस्थागत सुशासनका सवालमा भने थप कडाई गरेको छ ।

२४ करोड ७२ लाखको हकप्रद सेयर आउँदै, एकैदिन दुई कम्पनीले पाए बोर्डको अनुमति

काठमाडौं । विभिन्न २ कम्पनीले २४ करोड ७२ लाख २५ हजार ३५० रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्ने भएका छन् । नेपाल धितोपत्र बोर्डले सिद्धार्थ इन्स्योरेन्स लिमिटेड र वोमी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडलाई २४ लाख ७८ हजार २५३ कित्ता सेयर निष्काशन गर्न अनुमति दिएको हो । यी दुबै कम्पनीले आ-आफ्नो संस्थाकाे चुक्तापुँजी बढाउन हकप्रद निष्कासन गर्न लागेका हुन् । सिद्धार्थ इन्स्योरेन्सले ३५ प्रतिशत(अर्थात १०ः३.५ को अनुपातमा) हकप्रद निष्कासन गर्ने भएको छ । कम्पनीले २२ करोड ४४ लाख रुपैयाँ बराबरको २२ लाख ४४ हजार ९७३ कित्ता सेयर निष्काशन गर्न बोर्डको अनुमति पाएको छ । सो मात्राको सेयर निष्काशन गर्न कम्पनीको बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमिटेड रहेको छ । त्यस्तै, वोमी माइक्रोफाइनान्सले पनि ३० प्रतिशत अर्थात २ करोड ३३ लाख रुपैयाँ बराबरको हकप्रद निष्कासन गर्न बोर्डको अनुमति पाएको छ । संस्थाले बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेड मार्फत २ लाख ३३ हजार २८० कित्ता निष्काशन गर्ने भएको छ । चालु आर्थिक वर्ष शुरु भएयता ४२ कम्पनीले २० अर्ब १२ करोड रुपैयाँ बराबरका हकप्रद सेयर निष्काशन गर्न अनुमति पाएका छन् । यी सबै कम्पनीले आफ्नो चुक्ता पुँजी वृद्धि गर्नको लागि हकप्रद सेयर जारी गर्ने प्रक्रिया अघि बढाएका हुन् ।

बीपीसीको एसीआइजीले किन्यो ८८२ मेगावाटका २ आयोजना, लगानी जुटाउन नसकेपछि जीएमआर नेपालबाट बाहिरिदै

काठमाडौं । बुटबल पावर कम्पनी लिमिटेड (बीपीसी) र चिनियाँ कम्पनीको बहुमत स्वामित्व रहेको एसीआइजी इन्टरनेसनल नेपाल हाइड्रो ज्वाइन्ट डेभलपमेन्ट कम्पनी प्राइभेट लिमिटेडले ८८२ मेगावाट क्षमताका २ जलविद्युत आयोजनाको सम्पुर्ण स्वामित्व खरिद गरेको छ । एसीआइजी इन्टरनेसनलले भारतको जीएमआर इनर्जी लिमिटेडको ६०० मेगावाटको माथिल्लो मस्र्याङदी २ र राजरत्न इनर्जी होल्डिङस प्राइभेट लिमिटेड र नेपाली मनाङ मस्र्याङदी पावर कम्पनीको स्वामित्वमा रहेको २८२ मेगावाटको मनाङ–मस्र्याङदी जलविद्युत आयोजनाको सबै स्वामित्व खरिद गरेको  बीपीसीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) उत्तरकुमार श्रेष्ठले बताए । जीएमआरल माथिल्लो मस्र्याङदी हिमताल हाइड्रोपावर र राजरत्न इनर्जीले मनाङ मस्र्याङदी पावर कम्पनीमार्फत निर्माण गर्ने लक्ष्य लिएका थिए । जीएमआर र राजरत्नले लगानी जुटाउन नसकेपछि बीपीसीअन्र्तगतको एसीआईजीलाई सम्पुर्ण स्वामित्व बिक्री गरेका हुन् । जीएमआर, बीपीसी र ३ चिनियाँ कम्पनीबीच शुक्रबार आयोजना खरिदबिक्री सम्बन्धित सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा नेपालको बीपीसी, चीनको क्वाइसी इन्टरनेसनल कम्पनी लिमिटेड, एसीआईजी इन्टरनेसन लिमिटेड र ज्याङसी इन्टरनेसनल इन्भेष्टमेन्ट कम्पनी लिमिटेडबीच सम्झौता भएको हो । यस्तै चैत १२ र १५ गते राजरत्न तथा मनाङमस्र्याङदी र एसीआईजीबीच खदिबिक्री सम्झौता भएको बीपीसीले जनाएको छ । ३ वटा चिनियाँ र बीपीसीको साझेदारीमा नेपालमा १ हजार मेगावाट बिजुली उत्पादन गर्नका लागि एसीआइजी इन्टरनेसनल नेपाल हाइड्रो ज्वाइन्ट डेभलपमेन्ट कम्पनी स्थापना गरिएको छ । यस्तै सो आयोजनामा बीपीसीको १९.४ प्रतिशत स्वामित्व रहने छ । बीपीसीले नेपाल स्टक एक्सचेन्ज लिमिटेड, सीडीएस क्लियरिङ हाउस लिमिटेड र धितोपत्र बोर्डलाई दूई आयोजना खरिद गरेको जानकारी गराएको छ । एसीआईजीले १०८ मेगावाटको मनाङमस्र्याङदी आयोजना पनि निर्माण गर्ने भएको छ । यो समेत गरी कुल जडित क्षमता १ हजार मेगावाट पुग्ने छ । गत मंसिरमा आउदो ५ वर्षमा थप १ हजार मेगावाट विद्युत उत्पादन गर्नका लागि ३ चिनियाँ र बीपीसीबीच सम्झौता भएको थियो ।१ हजार मेगावाट भन्दा बढी क्षमताका आयोजना स्वामित्व लिइसकेकाले आउदो ५ वर्षपछि उसले विद्युत उत्पादनमा लिएको लक्ष्य पुरा हुने भएको छ । सम्झौताअनुसार ३ वटा चिनियाँ कम्पनीले संयुक्त रुपमा एसीआईजीमार्फत २ अर्ब डलर अर्थात २ खर्ब रुपैयाँ विदेशी लगानी ल्याउने सम्झौता भएको थियो । सोही सम्झौता बमोजिम एसीआईजीले दुई ठुला आयोजनाको सम्पुर्ण स्वामित्व खरिद गरेको हो । जीएमआरले प्रतिस्पर्धाबाट लिएको ९०० मेगावाटको माथिल्लो कर्णाली आयोजनामा लगानी जुटाउन सकेको छैन् । आउदो भदौसम्म लगानी जुटाउन नसके सरकारले उसको स्वामित्वमा रहेको माथिल्लो कर्णाली आयोजनाको लाइसेन्स खारेज गर्नेछ ।

सनराइज बैंकको दुहवी शाखा स्थानान्तरण

काठमाडौं । सनराइज बैंक लिमिटेडले सुनसरीको दुहवी शाखालाई साविकको स्थानबाट करिव ५० मि.को दुरीमा स्थानान्तरण गरेकोे छ । बैंकले छिटो, सुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा ग्राहकहरू समक्ष पुर्याउने उद्देश्यले उक्त स्थानमा शाखा स्थानान्तरण गरेको हो । आईतबार बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य, दुहवी नगरपालिकाका मेयर वेदनारायण गच्छदार र उद्योग वाणिज्य संघ, दुहवीका अध्यक्ष उमेश गोश्वानीले संयुक्त रुपमा उक्त शाखाको उद्घाटन गरेका हुन् । हाल यस बैंकले ८० वटा शाखा, ९५ वटा एटिएम, २१ वटा शाखारहित बैंकिङ् सेवा र ३ वटा एक्सटेन्सन काउण्टरद्धारा बैकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । साथै, मर्चेन्ट बैकिङ्ग तथा ईन्भेष्टमेन्ट बैकिङ्ग कार्य गर्नका लागि बैंकको सहायक कम्पनी सनराइजक्यापिटल लिमिटेड रहेको छ ।

नबिल बैंक र युकेएड सक्षमबीच लगानी गर्ने सम्झौता, एसएमई हबको उद्घाटन

काठमाडौं । नबिल बैंक तथा युकेएड सक्षम एक्सेस टु फाइनान्स प्रोग्राम (सक्षम) ले लघु तथा साना र मझौला व्यवसायको क्षेत्रमा लगानी गर्ने सम्झौता भएको छ । वित्तीय पहुँचलाई विस्तार गर्नको लागि यी दुई संस्थाले एक अर्काबीच हातेमालो गरेका हुन् । यस सम्झौता पश्चात बैंकले हाल सञ्चालित लघु, साना र मझौला व्यवसायमा गरिने लगानीमा पहुँच बढाउने उदेश्यले एसएमई कर्जा ईकाई स्थापना गरेर ग्रामिण क्षेत्रमा उक्त व्यवसायमा लगानी गरी त्यस क्षेत्रको प्रवर्धनको गर्ने बताएको छ । सोही लक्ष प्राप्तिको लागि दुई संस्थाले एक सहमतिपत्रमा हस्ताक्षर गरिसकेका छन् । बैंकले आइतबार मिड-कर्पोरेट एण्ड एसएमई हबको उद्घाटन गरेको छ । युनाइटेड वर्ल्ड ट्रेड सेन्टर त्रिपुरेश्वरमा रहेको उक्त हबको उद्घाटन बैंकका अध्यक्ष शम्भुप्रसाद पौड्यालले गरेका हुन् । यस हबले मिड-कर्पोरेट तथा साना तथा मझौला प्रकृतिका व्यापार, उत्पादन र सेवाको काममा संलग्न व्यावसायीहरुलार्ई सेवा प्रदान गर्दछ । यस हबले नबिल बैंकका देशभरीका विभिन्न शाखाहरुमा हुने प्रत्यक्ष तथा अप्रत्यक्ष लघुवित्त सम्बन्धी कार्यहरुलाई समेत हेर्ने गर्दछ । मिड-कर्पोरेटले एउटा इकाई तथा समुहलाई ३ करोड देखी १० करोड रुपयाँ सम्मको कर्जा प्रवाह गर्दछ । एसएमइले ३ करोड रुपयाँ सम्मको कर्जा प्रवाह गर्दछ भने लघुवित्तले कुनै ब्यक्ति तथा इकाईलाई प्रत्यक्षरुपमा प्रदान गर्ने कर्जालाई समेट्छ । त्यसैगरी, होलसेल कर्जाले एमएफआई र सहकारी लगायत एमएफआइमा गरिने सेयर लगानीलाई समेत समेट्छ । कार्यक्रममा बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत अनिल शाहले यस हबको उद्घाटन र सक्षमसँग समझदारीपत्रमा भएको हस्ताक्षरले देशभरी एसएमई तथा मिड-कर्पोरेट कर्जाको हिस्सालाई विस्तारको लागि बैंकले गरेको प्रतिवद्धतालाई थप मजवुत गराएको बताएका छन् । उनका अनुसार यस बैंकसँग एसएमई तथा मिड-कर्पोरेट कर्जा २५ अर्ब रुपैयाँ रहेको छ । त्यसैगरी सक्षमका टिम लिडर वलजित वोहराले भने “यस एसएमई हब मार्फत साना तथा मझौला व्यवसायको वित्तीय आवष्यकतालाई सरल तथा सहज किसिमबाट पुरागर्न संसारमा स्थापित उच्चतम अभ्यासहरु तथा सेवाप्रदान गर्ने संयन्त्रहरुलाई प्रयोगमा ल्याउन मद्दत गर्ने छौं । ” कार्यक्रमा नबिल बैंकले नयाँ व्यवसाय वा कायम रहेका साना तथा मध्यम स्तरका व्यापारिक, उत्पादनमुलक तथा सेवामुलक व्यवसायलाई सहयोग प्रदान गर्ने उदेश्यले उक्त सेवा प्रदान गर्न लागेको बताएको छ । आकर्षक निश्चित ब्याजदर ११.५०, सरल तथा छोटो प्रकृया, ५ दिन भित्रमा कर्जा स्वीकृत, कर्जा रकमको सिमा ५ लाख देखि ३ करोड रुपैयाँसम्म, मध्यमस्तरको प्रगति उन्मुख ब्यवसायलाई आवष्यक पर्ने सबै प्रकारको लगानीको लागि यस सेवा प्रदान गरिने बैंकले जनाएको छ । साथै, बैंक अत्यन्त सरल व्याजदरमा नबिल एसएमइ फास्टट्रयाक कर्जा नामको कर्जा सुबिधा प्रदान गर्ने कामको शुरुवात गरेको छ । यो सेवा यस बैंकको सबै शाखाहरुमा उपलब्ध हुनेछन् ।

१५ दिनदेखि काठमाडौं भ्यू टावरको काम राेकियाे, के गर्छ महानगरले ?

काठमाडौं । एपेक्स डेभलभमेन्ट बैंकको घोटला काण्डमा काठमाडौं टावर निर्माणका प्रमुख मनोजकुमार भेटवाल पक्राउ परेपछि भ्यू टावरको काम रोकिएको छ । आन्तरिक कारण देखाउदै कम्पनीले १५ दिन अघिबाट काम रोकेको हो । आन्तरिक कारण देखाउँदै कम्पनीले काम रोकेको महानगरपालिका इजिपी प्रमुख महेश काफ्ले बताए । ‘हामी भ्यु टावरको काम अगाडी बढाउन निरन्तर दबाब दिइरहेका छौं, गत १५ दिन अघि बाट रोकिएको काम अब ७ हप्तापछि सुरु हुन्छ’ काफ्लेले विकासन्युसँग भने । कम्पनीले हालसम्म काम रोकिएको कुनैपनि कारण पेश नगरेको महानगरका सहप्रवक्ता नवराज ढकालले बताए । ‘कम्पनीले लामो समयसम्म काम अघि नबढाए महानगर चुप लागेर बस्दैन, सम्झौता अनुसार कम्पनीले काम अघि नबढाए, कानूनी प्रक्रिया अनुसार अघि बढ्ने महानगरका सहप्रवत्ता ढकालले भने ।’ कम्पनीले सरकारलाई निर्माणधिन अवधिमा वार्षिक ९० लाख बुझाउनु पर्ने र निर्माण भैसकेपछि वार्षिक ३ करोड बुझाउने सम्झौता गरेको छ । तर गत वर्षको महानगरलाई तिर्नुपर्ने ९० लाख तिरेको छैन् । भेटवाल पक्राउ परेपनि काम नरोकिने बताउदैं आएको कम्पनीले आर्थिक अभावका कारण काम रोकेको हो । यसअघि भेटवालले झापाको दमक नगरपालिका वडा नम्बर १७ को कित्ता नम्बरर ४८५ को ०६७७२।६३ वर्ग मिटर जमिन धितो राखेर ऋण लिएका थिए । कमसल धितो राखेर अधिक ऋण लिएको तथ्य फेला परेपछि उनी बैशाख ५ गते पक्राउ परेका थिए । उनी पक्राउ परेसँगै काठमाडौं टावरको निर्माण भने अन्यौलमा पर्दै गएको छ । काठमाडौं महानगरपालिकाले २०७१ फागुन ८ गते जलेश्वर स्वच्छन्द विकोई विल्डर्ससँग सार्वजनिक निजी साझेदारीमा २९ तले बहुउदेश्यिय काठमाडौं भ्यु टावर निर्माण सम्झौता गरेको थियो । २०७२ कात्तिक २५ गते उपराष्ट्रपति नन्द बहादुर पुनःले टावरको शिलान्यास गरेका थिए । कम्पनीले टावर निर्माणका लागि भन्दै २०७३ साल बैशाख २२ गते पुरानो बस पार्कलाई खुल्ला मञ्चमा सारेको थियो ।

राष्ट्रिय वाणिज्य बैंकका नवनियुक्त अध्यक्ष गुरङ्गद्धारा शपथ ग्रहण

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड संचालक समितिका नवनियुक्त अध्यक्ष महेन्द्रमान गुरुङ्गले आइतबार(अाज) पद तथा गोपनीयताको शपथ लिएका छन् । नवनियुक्त अध्यक्ष गुरुङ्गले नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरन्जीबी नेपाल समक्ष बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १२७ को उपदफा १ वमोजिम शपथ खाएका हुन् । अध्यक्ष गुरुङ्ग नेपाल सरकार संचार मन्त्रालयका सचिव हुन् । सो कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेल, राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ लगायत अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

सरकारले २६ जिल्लाका ४ लाख गरीबलाई ६ महिनाभित्र परिचय पत्र वितरण शुरु गर्ने

काठमाडौं । सरकारले अगामी ६ महिभित्र २६ जिल्लाका गरीब घर पहिचान भएकाहरुलाई परिचयपत्र वितरणकाे कार्य शुरु गर्ने भएको छ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले रुकुमबाहेक पूर्व समेत गरी गरीब घर पहिचान भएका ३ लाख ९१ हजार ८३१ घर परिवारलाई आगामी ६ महिनाभित्र परिचयपत्र बितरणको कार्य प्रारम्भ गरिने बताएको छ । त्यस्तै बाँकी ५१ जिल्लाहरुमा गरीब घरपरिवार पहिचान गरी २ वर्षभित्र परिचयपत्र बितरणको कार्य थालनी गर्ने मन्त्री चक्रपाणी खनालले बताए । ‘यस्ता परिवारलाई थप आत्मनिर्भर र व्यवसायी बनाउन आवश्यकतामा आधारित ऋण ब्याज अनुदानको प्याकेज ल्याइनेछ,’ उनले भने ‘साथै शिक्षा विशेष प्याकेजहरु समेत ल्याउने सरकारले तयारी गरिरहेको छ । उनले आइतबार सार्वजनिक गरेको कृषि, पशुपंछी, भूमि व्यवस्था र सहकारी क्षेत्र रुपान्तरणको मार्गचित्र प्रस्तुत गर्ने क्रममा सरकारले गरीब परिवार सम्बन्धि आगामी कार्यक्रमको प्रकाश पारेका हुन् ।