विकासन्युज

शिखर इन्स्योरेन्सले संस्थापकलाई भन्यो : साधारण सेयरमा परिवर्तन गर्ने कि नगर्ने ?

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड संस्थापक सेयरधनीलाई आफनो स्वामित्व साधारण सेयरमा परिवर्तन गर्ने कि नगर्ने स्पष्ट पार्न भनेको छ । कम्पनीले लगानी संरचनामा परिवर्तन गरी संस्थापकको स्वामित्व ७० बाट घटाएर ६० र सर्वसाधारणको बढाएर ४० प्रतिशत पुर्याउने भएपछि संस्थापकलाई स्वघोषण गर्न भनेको हो । कम्पनीले आउदो ३५ दिनभित्र संस्थापक सेयर परिर्तन गर्ने वा नगर्ने स्पष्ट पार्न अनुरोध गरेको हो । कम्पनीको सेयर संरचना परिवर्तन गर्ने प्रस्ताव साधारणसभाबाट पारित भएको र कम्पनीको प्रवन्धपत्र र नियमावलीमा संशोधन गरिसकेको छ । नियामक बीमा समितिबाट स्वीकृति पनि प्राप्त गरिसकेको शिखरले जनाएको छ ।

अरुण ३ जलविद्युत आयोजनाबाट नेपालले केहि पनि पाउँदैन्ः उपाध्याय

भिम प्रसाद उपाध्याय काठमाडौं । भारतले बनाउने अरूण ३ जलविद्युत परियोजना सम्झौतामा के छ, के हो ? जानकारी राखौं । अरूण ३ योजना ९०० मेगावाट क्षमताको हुनेछ । २५ बर्षसम्म भारतीय कम्पनीको स्वामीत्वमा हुनेछ, त्यसपछि पछि पूरै आयोजना नेपालको हुनेछ । आयोजनाको कुल लागत लागत १०४ अर्बको हुनेछ । नेपालले २५ वर्षसम्म अधिकतम १९७ मेगावाटसम्म बिजुली प्रतिमेगावाट ५० लाख रुपैयाँका दरले भारतसँग खरिद गर्न पाउनेछ । बाँकी विजुली भारतले लैजाने छ । तर नेपाल सरकारले यो आयोजनाको लागि भारतीय कम्पनीलाई १० वर्षसम्म १०० प्रतिशत करछुट दिनेछ । थप अर्को ५ वर्षसम्म नेपालले आयकरमा ५० प्रतिशत छुट दिनेछ । त्यति मात्रै होइन, आयोजना बनाउन आवश्यक सामाग्री सबै भारतबाटै आयात गरिने र सम्पूर्ण सामाग्रीमा ५० प्रतिशत भन्सार छुट दिईनेछ । आयोजनाका लागि आवश्यक सिमेन्ट, रड र स्टिलजन्य सामाग्री नेपाली बजारबाट नभई भारतीय कम्पनीले उतैबाट ल्याउनेछ । आयोजनामा काम गर्ने सबै जनशक्ति भारतीय कम्पनीले भारतबाटै ल्याउनेछ । पाँच बर्ष निर्माण अवधी रहेको आयोजना निर्माणका क्रममा कुनै बिपत्ति, हड्ताल, प्रकोप, चाडपर्ब जस्ता कारणले गर्दा महिनामा २१ दिनभन्दा बढी काम गर्न नसक्ने अवस्था आएमा नेपाल सरकारले कम्पनीलाई क्षतिपूर्ति दिनुपर्नेछ । यो आयोजनाबाट नेपालले के फाईदा पाउने यसमा ठोस केही देखिदैन । नेपालले २५ वर्षपछि आयोजनाको स्वामीत्व प्राप्त गर्ने बाहेक अन्य कुनै लाभ लिन सक्ने अवस्था छैन् ।

सिर्जना फाइनान्सको विशेष साधारणसभा जेठ १२ मा, ६० प्रतिशत हकप्रद सेयर निष्कासन प्रस्ताव पारित गर्ने

काठमाडौं । सिर्जना फाइनान्स लिमिटेडले ६० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।  फाइनान्सले चुक्तापुँजी बढाउन हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हकप्रद सेयर निष्कासन प्रयोजनका लागि कम्पनीले आउदो जेठ १२ गते विराटनगरमा विशेष साधारणसभा बोलाएको छ । साधारणसभाले चुक्तापूंजीको ६० प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्ताव पारित गर्ने छ । यस्तै सभाले वित्तीय संस्थाको कार्यक्षेत्र विस्तार, बीमा कम्पनीको अभिकर्ता भइ काम गर्ने, प्रवन्धपत्र र नियमावली संशोधन हुने फाइनान्सले जनाएको छ ।

एशियन लाइफको साधारणसभा जेठ १९ मा, ४ प्रतिशत बोनस सेयर र ६० प्रतिशत हकप्रद सेयर निष्कासन प्रस्ताव पारित गर्ने

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ६० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले चुक्तापूँजी बढाएर २ अर्ब रुपैयाँ पुर्याउन ६० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको हो । बीमा समितिले आउदो असारसम्म चुक्तापुँजी २ अर्ब रुपैयाँ पुर्याउन निर्देशन दिएपछि हकप्रद जारीबाट चुक्तापुँजी बढाउन लागेको हो । कम्पनीको आउदो जेठ १९ गते वीरगञ्जमा हुने १० औं वार्षिक साधारणसभामा हकप्रद सेयर निष्कासन गर्न विशेष प्रस्ताव पेश हुने भएको छ । साधारणसभाबाट पारित भएपछि हकप्रद सेयर निष्कासन प्रक्रिया अघि बढ्ने छ । गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई ४ प्रतिशत अर्थात ४ करोड ८३ लाख रुपैयाँ बोनस सेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ । बोनस सेयर जारीपछि कम्पनीको चुक्तापुँजी १ अर्ब २५ करोड ६७ लाख रुपैयाँ पुग्ने छ । सोको ६० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको हो । यसैगरी संस्थापक सेयरलाई साधारणमा परिणत गरी स्वामित्व अनुपात संस्थापकको ५१ र सर्वसाधारणको ४९ प्रतिशत कायम गर्ने प्रस्ताव सभाले पारित गर्ने छ । हाल संस्थापक र सर्वसाधारणको स्वामित्व ७०ः३० रहेको छ । सेयर संरचना परिवर्तनपछि सञ्चालक समितिमा परिवतर्न गरी ७ जनाको गठन हुने प्रस्ताव पनि सभामा पेश हुने भएको छ । जसअनुसार संस्थापकतर्फबाट ४, सर्वसाधारण २ र एकजना विज्ञ सञ्चालक नियुक्त हुने छन् । अधिकृत पुँजी २ अर्बबाट बढाएर ५ अर्ब रुपैयाँ पुर्याउने प्रस्ताव पेश हुने कम्पनीले जनाएको छ ।

नेपाल लाइफ इन्स्योरेन्सको नाफा ४३ करोड ५७ लाख

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चालु आर्थिक वर्षको ९ महिनामा नाफा ६.३७ प्रतिशत बढेको छ । गत चैतसम्म कम्पनीले ४३ करोड ५७ लाख रुपैयाँ खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले ४० करोड ९६ लाख रुपैयाँ नाफा गरेको थियो । चालु आवको चैतसम्म नेपाल लाइफले ८२ करोड ६५ लाख रुपैयाँ आम्दानी गरेको छ । गत आवको सोही अवधिमा ५४ करोड २१ लाख रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीले हालसम्म ६३ अर्ब १५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । चालु आवमा मात्रै १० अर्ब ७७ करोड रुपैयाँ आर्जन गरेको कम्पनीले जनाएको छ । कम्पनीसंग हालसम्म ११ लाख १२ हजार ५७९ बीमालेख रहेको छ ।कम्पनीको जगेडा कोषमा ३ अर्ब ४८ करोड रुपैयाँ रहेको छ ।  

लुम्बिनी बैंकको ४९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । लुम्बिनी विकास बैंकको संस्थापक सेयर बिक्री हुने भएको छ । संस्थापक सेयरधनीले ४९ हजार ५३२ कित्ता सेयर बिक्री गर्न निवेदन दिएपछि बैंकले बिक्री खुला गरेको हो । ३५ दिनभित्र खरिदका लागि निवेदन दिन बैंकले भनेको छ । विद्यमान संस्थापक सेयरधनीबाट खरिदका लागि आवेदन नपरे कानून बमोजिम बिक्री प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।

यातायातको सिन्डिकेट हट्यो, सरकारले अब तरकारीको हटाउने

काठमाडौं । अहिले मुलुकमा यातायातको सिन्डिकेट हटेको छ । त्यसरी नै तरकारी क्षेत्रमा रहेको सिन्डिकेट समेत हटाउन सरकारले घाेषणा गरेकाे छ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले तरकारीको सिन्डिकेट हटाउने घोषणा गरेका हुन्। उनले हाल देखिएको तरकारी क्षेत्रमा भएको विचौलिया प्रतिस्थापन गर्न सकार अघि बढ्ने बताए । ‘कृषि उपजहरुको उपभोक्ता मुल्यको उचित हिस्सा कृषक वा उत्पादकले प्राप्त गर्ने गरी बिचौलिया प्रतिस्थापन गरिनेछ,’ उनले आइतबार सिंहदरबारमा कृषि, पशुपंछी, भूमि व्यवस्था र सहकारी क्षेत्र रुपान्तरणको मार्गचित्र प्रस्तुत गर्दै भने ‘कालिमाटी बजार लगायत मुलुकका विभिन्न ठूला कृषि उपज बजारहरुमा कम्तिमा २५ प्रतिशत तरकारी बिक्री स्टलहरु उत्पादक सहकारीहरुलाई उपलब्ध गराउने व्यवस्था मिलाइनेछ ।’ त्यस्तै उनले कृषि उपजहरुको मुल्य निर्धारण गरी उचित मुल्यमा खरिद बिक्रीको लागि उपयुक्त स्थानहरुमा कृषि उपजका लिलाम बढावढ (अक्सन) केन्द्रहरु स्थापना गर्ने जानकारी गराए । कालिमाटी तरकारी बजारमा अहिले कृषि उपज उत्पादक सहकारीहरुको स्टलको हिस्सा ५ प्रतिशत मात्रै रहेको छ । कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिका उपनिर्देशक विनय श्रेष्ठले कालिमाटी बजारमा जम्मा कृषि उपज स्टल ४४२ वटा रहेको बताए । ‘जसमा थोकको ३७६ वटा र खुद्राको ६६ वटा स्टल रहेको छ,’ उनले भने ‘त्यसमध्ये सहकारीको स्टल १८ वटा मात्रै छ ।’ अहिलेसम्मको सरकारको प्रावधान अनुसार कालिमाटी बजारको कुल स्टलको ९ प्रतिशत हिस्सा उत्पादक स्टललाई उपलब्ध गराउनु पर्ने छ । यद्यपि बिचैमा छोड्ने लगायत समस्यकाको कारण देखाउदै सहकारी स्टलको हिस्सा बढ्न नसकेको उपनिर्देशक श्रेष्ठले जानकारी दिए । केही हप्ताअघि मात्रै कृषिमन्त्री खनालाई भेटेर उपभोक्तावादीहरुले यातायात क्षेत्रमा जस्तै तरकारीमा पनि कहालिलाग्दो सिन्डिकेट रहेको जानकारी गराएका थिए । उपभोक्ता संरक्षण मञ्चले तरकारीमा यातायात क्षेत्रको भन्दा डरलाग्दो सिन्डिकेट रहेको तथ्य सार्वजनिक गरेका थिए । उनीहरुले किसानदेखि उपभोक्तासम्म तरकारी आइपुग्न ५/७ तहको बिचौलिया पार गर्नु पर्ने व्यथिति रहेकोे बताएका छन् । विचौलियाको कारण अहिले तरकारीको मुल्य चार गुणा बढी पर्ने गरेको छ । त्यसबाट एकातिर भाउ नपाएर किसानहरुले आफ्नो पेशा छोड्दै गएका छन् भने अर्कातिर सिन्डिकेटधारी मोटाउदै गएका छन् । साथै उपभोक्ताले महङगो मुल्यमा तरकारी खरिद गर्नु पर्ने बाध्यता छ । त्यहाँ रहेको बिचौलियाको सिन्डिकेटको कारण किसानहरुले तरकारीको मुल्य तोक्न पाउदैनन् । काभ्रेको पाँचखालमा प्रतिकिलो १९ रुपैयाँ पर्ने काउली काठमाडौं आइपुग्दा ८० रुपैयाँ पर्छ । सरलाहीको लालबन्दीमा ६ रुपैयाँ पर्ने गरेको गोलभेडा काठमाडौंमा प्रतिकिलो ४० रुपैयाँ पर्ने गरेको छ । अध्ययन अनुसार किसानदेखि उपभोक्तासम्म आइपुग्दा प्रतिकिलो ४० रुपैयाँ पर्ने तरकरी १६० र प्रतिकिलो ५० रुपैयाँ पर्ने बिचौलिया सिन्डिकेटको कारण २ सयमा रुपैयाँ पर्ने गरेको छ । मञ्चका महासचिव वावुराम हुमागाईले कालिमाटीमा रहेको तरकारी स्टलको ५ हजार ५ सय रुपैयाँ रहेको भाडा सिन्डिकेटको कारण २५/३० हजारदेखि डेढ लाखसम्म बुझाउन पर्ने परिस्थिति रहेको उनको भनाइ छ । उनको अनुसार वास्तविक स्टल हुने व्यक्ति पाउन सकिन्न । एकले अर्कोलाई, अर्कोले अर्कोलाई गरी ४/५ जनाले एउटै स्टललाई दलाल गर्दै भाडामा लगाउने गरेका छन् । केही महिना अघि मात्रै पनि सरकारी निकाय आपूर्ति व्यवस्थापन तथा उपभोक्त हित संरक्षण विभागले गरेको एक अध्ययनले तरकारी क्षेत्रमा विचौलियाको हालिमुहाली रहेको तथ्य सार्वजनिक गरेको थियो । विभागले गरेको अध्ययनमा  ५ तहको बिचौलियाले बजार नियन्त्रणमा लिएको खुलासा भएकाे थियाे ।

कृषि अनुसन्धानद्वारा ६७ बालीका ३१६ जात विकास

काठमाडौं । कृषि अनुसन्धान परिषद (नार्क)ले कृषि अनुसन्धानको शुरुवात पछि हालसम्ममा मुलुकमा ६७ बालीका ३१६ जात विकास भएको बताएको छ । नार्कको स्थापनापछि मात्रै पनि २०४ बालिको जात उन्मोचन गरिएको नार्कका सञ्चर प्रकाशन तथा अभिलेख महाशाखा प्रमुख हरिकृष्ण उप्रेतीले बताए । नार्कको २७ औं वार्षिकोत्सव समारोहको अवसरमा उनले विगत २५ वर्षमा मकै र गहुँको क्षेत्रफल क्रमशः १७.७ र २५.८ क्षेत्रफल बढेको बताए । ‘त्यस्तै उत्पादनमा समेत ८१ र ६५ प्रतिशत वृद्धि भएको छ,’ उनले भने ‘यद्यपि धानको उत्पादनमा २२ प्रतिशत वृद्धि भएपनि धान उत्पादनको क्षेत्रफलमा ६.३ प्रतिशत घटेको छ ।’ वालीको वृद्धिमा नार्कले विकास गरि उन्मोचन वा सिफारिस गरेका जातहरुको उल्लेखनिय योगदान रहेको उनको भनाइ छ । उनकोअनुसार धानको उत्पादकत्व बृद्धिका लागि सुख्खा सहन सक्ने र रोग प्रतिरोधी जात विकास गरिएको छ । त्यस्तै मकैको उत्पादननको माग बृद्धिभइ पुर्ण गराउने उद्देश्य अनुसार बर्णासंकर मकैको विकासमा थप अनुसन्धान भइरहेको उनले कार्यक्रममा जानकारी गराए । धान, गहुँ,मकैको जात विकास तथा सिफारीस नार्कले खाद्यन्न बालीतर्फ धानमा चैते–५, हर्दिनाथ–३, बहुगुणी धान–१ सिफारीस गरेको छ । गहुँमा मुनाल, च्यखुरा लगायत विकास गरि खेतीको लागि सिफारीस गरिएको प्रमुख उप्रेतीको भनाइ छ । उनको अनुसार मकै, दलहन, बोडी, तेलहन बालीतर्फ मेरङ रायो(तोरी) लगायतका बालीहरु सिफारीस गरिएको छ । लुलु, आछामी गाई संरक्षण नार्कले स्थानीय बालीसँगै पशुपंक्षीहरुको संकलन, संरक्षण तथा प्रवद्र्धन कार्य गरीरहेको छ । पशुहरुमा लुलु, आछामी गाई, खरी बाख्राको जमेको विर्य जिन बैंकमा राखि संरक्षण कार्य शुरु गरेको नार्कको भनाइ छ ।नार्कका अनुसार बोयर बाख्रको पाठापठीको उत्पादन तथा वितरण संख्यामा निरन्तर बृद्धि भइरहेको छ । मनाङ र मुस्ताङमा मात्रै ११० ट्राउट फार्म ट्राउट माछाको प्रविधि विकास तथा विस्तारले गर्दा मध्य तथा उच्च पहाड (मनाङ र मुस्तङ) का जिलहरुमा निजी तथा सहकारी स्तरमा ११० वटा ट्राउट माछा फार्म स्थापना भएको छ । मोती उत्पादन सिपिको प्रजाती पहिचान गरिएको छ । त्यस्तै सानन बाख्राबाट उत्पादित दुधबाट सरल तरीकाले पनिर उत्पादन गर्न सकिने प्रविधि समेत विकास गरिएको कार्यक्रममा जानकारी गराइएको थियो ।