प्रभु लाइफ इन्स्योरेन्स अब पोखरामा, ६० करोडको साधारण सेयर जारी गर्दै
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स सोमवारदेखि आफ्नो पोखरा शाखा कार्यालयको शुभारम्भ गरी कारोबार शुरु गरेको छ । उक्त शाखाको उद्घाटन सोही प्रदेशका मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङले गरेका छन् । कार्यक्रममा गुरुङले जीवन बीमाको सम्भाब्य बजार धेरै भएकाले र बीमा कम्पनीहरुले अन्य जीवन बीमा योजना संगै स्वास्थ्य बीमा योजना समेत संचालन गर्नु पर्ने कुरामा जोड दिएका छन् । प्रदेशहरुमा यसरी नयाँ बीमा कम्पनी संचालनमा आउँदा थप रोजगारीका अवसरहरु सृजना हुने तथा बीमा बजारलाई समेत थप विस्तार गर्न सघाउ पुग्ने बिचार ब्यक्त गरेका छन् । कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत किशोरप्रसाद लामिछानेले कम्पनीका हाल विभिन्न २० शाखा कार्यालयहरुबाट जीवन बीमा सेवाहरु उपलब्ध रहेको बताएका छन् । साथै, आगामी दिनहरुमा कम्पनीले देशका सबै जिल्लाहरुमा आफ्नो संजाल बिस्तार गर्ने लक्ष्य राखेको उनले बताए । २ अर्ब चुक्ता पूँजी रहेको यस इन्स्योरेन्समा संस्थापक शेयरधनीले १ अर्ब ४० करोड रुपैयाँ लगानी गरेका छन् । कम्पनीले केही समयभित्रै ६० करोड रुपैयाँ बराबरको साधारण सेयर जारी गर्दै छ ।
कर्णाली राजमार्गमा जोडियो डाेल्पाकाे जगदुल्ला गाउँपालिका
त्रिपुराकोट, डोल्पा । जगदुल्ला गाउँपालिका कर्णाली राजमार्गसँग जोडिएको छ । छिमेकी जिल्ला जुम्लासम्म पुगेको कर्णाली राजमार्गबाट जगदुल्ला गाँउपालिकामा पहिलो पटक जीप पुगेको हाे । जुम्लाको सिमानामा पर्ने जगदुल्ला गाउँपालिकामा पहिलो पटक छिमेकी जिल्ला जुम्लाबाट बा १९ च १६६८ नंको जिप पुगेपछि स्थानीयवासीले खुशी हुँदै स्वागत गरेको र जीप हेर्नेहरुको भीड लागेको स्थानीयवासी हरिबहादुर शाहीले बताए। साविकको रिमी र काइगाउँ गाविस मिलेर बनेको जगदुल्ला गाउँपालिकामा कर्णाली राजमार्गमा जोडिने डोल्पाको पहिलो स्थानीयतह भएको जगदुल्ला गाउँपालिकाका अध्यक्ष नारासिंह रोकायालेले बताए । “ठूलो प्रयासबाट जगदुल्ला गाउँपालिकालाई जीप सञ्चालन कर्णाली राजमार्गमा जोड्न सफल भयौँ, अबको केही महीनामा साना मालवाहक गाडी पनि सञ्चालनमा आउने छन्” अध्यक्ष रोकायले भने । जुम्ला र डोल्पाको सिमानामा पर्ने मौरे लेकबाट त्रिपुरासुन्दरीसम्मको ७२ किलोमिटर सडकखण्ड हाल निर्माणाधीन छ । नेपालगञ्जबाट लामो दूरीमा पर्ने भए पनि कर्णाली राजमार्गमा जगदुल्ला गाउँपालिका जोडिएपछि स्थानीयवासीलाई दैनिक उपभोग्य सामान सस्तो हुने र यात्राका लागि पनि सहज हुनेछ । रासस
क्षमापूजा गरेर काष्ठमण्डप पुनःनिर्माण शुरु
काठमाडौ । सातौँ शताब्दीको काष्ठमण्डप पुनःनिर्माण शुरु भएको छ । विसं २०७२ को भूकम्पले पूर्णरुपमा क्षति पुगेको ऐतिहासिक काष्ठमण्डप पुनःनिर्माणको सोमबार पुनःनिर्माण समितिका अध्यक्ष तथा प्रदेशसभा सदस्य राजेश शाक्यले क्षमापूजा गरेर शुरु गरे। नेपालको राजधानी काठमाडौँको नाम ‘काष्ठमण्डप’बाट नै रहेको हो । बाह्रौँ शताब्दीमा राजा लक्ष्मीनरसिंह मल्लले निर्माण गराएको र बिसेत नामका मानिसले कल्पतरुलाई चिनी समातेर एउटा रुख उपलब्ध गराउने वाचा गराई छाडेपछि कल्पतरुले सालको काठ दिएको र त्यसैबाट मूर्तिविहीन मरुसतः बनाए जसलाई काष्ठमण्डप भनेर चिनिन्छ । पछि मरुसतःमा गोरखनाथ र अन्य मूर्ति थपिएको बताइन्छ । केही वर्षअघि बेलायतको दुर्हाम विश्वविद्यालयबाट भएको उत्खननपछि यो सातौँ शताब्दीको भएको इतिहासकारले बताएका छन् । अध्यक्ष शाक्यका अनुसार अब करीब चार महीना पुनःनिर्माणका लागि आवश्यक पर्ने सामग्री तयार गरिने र चार महिनापछि निर्माणको काम शुरु गरिने योजना छ । पुनःनिर्माण चार वर्षभित्र सकिने लक्ष्य छ । क्षमापूजाका अवसरमा सरीक संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले सम्पदाको पुनःनिर्माण गर्न सके मात्र पर्यटन क्षेत्रको विकास हुने बताए । मन्त्री अधिकारीले भने्, “काष्ठमण्डप मात्र होइन, अन्य बाँकी सबै ऐतिहासिक सम्पदा जतिसक्दो छिटो पुनःनिर्माण गरिनुपर्छ, यसका लागि मन्त्रालयका तर्फबाट गर्नुपर्ने कामका लागि तयार छौँ ।” काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काष्ठमण्डप पुनःनिर्माण गर्न ढिला भइसकेको छ भन्दै निर्माणका क्रममा आफ्नो र कामपाका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले सबै ऐतिहासिक सम्पदालाई मौलिक रुपमै निर्माण गर्नुपर्नेमा जोड दिए । रासस
नेपाल बङ्गलादेश बैंकको थप ५ शाखाबाट कारोबार शुरु
काठमाडौं । नेपाल बङ्गलादेश बैंक लिमिटेडले थप ५ शाखाहरु संचालनमा ल्याएको छ । बैंकले बाराको सिमरा, परवनीपुर तथा मकवानपुरको मकवानपुरगढीे, दाङ्गको बबई, हापुरे र कपिलवस्तुको चन्द्रौटाबाट कारोबार शुरु गरेको छ । यी शाखाहरुबाट सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पुर्ण बैंकिङ्ग सेवा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । यी ५ शाखासहित बैंकले ६७ शाखा, ५ एक्सटेन्सन काउन्टर, ७ शाखारहित घरदैलो बंैकिङ्ग सेवा तथा ५१ वटा एटीएबाट बैंकिङ्ग सुविधा दिंदै आएको छ ।
एनआईसी एशिया बैंकको नयाँ शाखा कास्कीको लेकसाइडमा
काठमाडौं । एनआईसी एशिया बैंकको नयाँ शाखा कास्कीको लेकसाइडमा विस्तार भएको छ । बैंकले सोमबार एक समारोहका बीच नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलले उद्घाटन गरेका छन् । बैंकले सम्पुर्ण स्थानिय निकायहरुमा वाणिज्य बैंकहरुको शाखा कार्यालय खोल्ने नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको अभियानमा सहभागी भई ३३ वटा त्यस्ता स्थानीय निकायहरुमा शाखा कार्यालय खोल्ने प्रतिबद्धता जनाएको छ । हाल बैंकले २१० शाखा कार्यालयहरु, २०० एटिएम, ६ वटा एक्स्टेन्सन काउन्टर एवं ६ वटा शाखारहित बैंकिङ्ग मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । साथै, बैंकले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ । बैंकको वासलातको आकार १५८ अर्ब रुपैयाँ भन्दा बढि पुगेको छ भने बैंकको कुल कर्जा करिब ११० अर्ब रुपैयाँ र कुल निक्षेप करिब १३४ अर्ब रुपैयाँ पुगिसकेको छ ।
एनजिओ/आइएनजीओको अखडामा नागरिकताको लफडा
काठमाडौं । समाज कल्याण परिषदका निर्देशक शिवकुमार वस्नेतलाई विभागिय मन्त्रीले काखी च्याप्दा अनुसन्धान फितलो हुन पुगेको छ । दोहोरो नागरिकता लिएको भन्दै छानविनमा परेका बस्नेतलार्इृ मन्त्रीले साथ दिएपछि अनुसन्धान फितलो भएको हो । दोहोरो नागरिकता लिएको भन्दै निर्देशक बस्नेतमाथी गत ७ गते लिखित उजुरी परे पनि महिला बालबालिका, महिला र जेष्ठ नागरिक मन्त्री थममाया थापामगरले अनुसन्धान रोक्न दबाब दिएकी हुन् । छानविनमा परेका वस्नेतलाई कारवाही गर्नुको सट्टा योजना शाखा र प्रशासन शाखाको दोहोरो जिम्मेवारी दिए पछि परिषदमा असन्तुष्टी बढेको हो । ‘किर्ते नागरिकताको अभियोगमा छानविनमा राखेर कारवाही गर्नुपर्ने मानिसलाई उल्टै महत्वपुर्ण जिम्मेवारी दिइएको छ,’ परिषद स्रोतले भन्यो, ‘मन्त्री र सचिव विच पैसाको चलखेल नभएको भए किन थप जिम्मेवारी दिइयो ? यो शंकास्पद छ ।’ नागरिकता माथी छानविन भईरहेको वेला प्रशासन शाखाको जिम्मेवारी दिएर मन्त्रीले किर्ते काण्डमा जोगाउन खोजेको परिषदका कर्मचारीहरु बताउँछन । पहिलो नागरिकता अनुसार सेवामा प्रवेश गरेकाले अवकास पाइसक्नु पर्ने व्यक्ति दोस्रो नागरिकता अनुसार पदवहालमा नै रहेको भन्दै नविन योगीले गत वैशाख ७ गते जिल्ला प्रशासन कार्यालयमा उजुरी गरेका थिए ।
बीमा संस्थानमा कस्ले मार्ला बाजी ?
काठमाडौं । राष्ट्रिय बीमा संस्थामा रिक्त रहेको प्रशासकका लागि ५ जनाले आवेदन दिएका छन् । कविप्रसाद पाठक, झापा, डिल्लीराज अर्याल, गुल्मी, बुद्धकाजी श्रेष्ठ काठमाडौं, लक्ष्मण पोखरेल, गुल्मी र सुरेन्द्र थापा पाल्पा रहेका छन् । प्रशासक नियुक्तिका लागि गठित छनौट तथा शिफारिश समिलिाई उम्मेदवारले आइतबार संस्थाको व्यवसायिक योजना प्रस्तुत गरेका थिए । सोमबार अन्तरवार्ता दिन काम पनि सकिएको छ । समितिले ३ जनालाई छनौट गरेर अर्थ मन्त्रालयमा शिफारिश गर्नेछ । त्यसपछि मन्त्रिपरिषदले एक जनालाई प्रशासक बनाउने छ ।
औद्योगिक क्षेत्रलाई लोडसेडिङ मुक्त गरिएकोमा महासंघद्धारा स्वागत
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आजबाट औद्योगिक क्षेत्रमा हाल कायम लोडसेडिङ अन्त्य भएको घोषणा गरेकोमा नेपाल उद्योग वाणिज्य महासंघले स्वागत गरेको छ । वैशाखबाट लागू हुने गरी औद्योगिक क्षेत्रको लोडसेडिङ अन्त्य गर्ने यसअघिको घोषणा सफल रुपमा कार्यान्वयन गर्न उर्जा मन्त्री, उर्जा मन्त्रालय र नेपाल विद्युत प्राधिकरणलाई प्राप्त सफलताप्रति महासंघ खुशी व्यक्त गरेकाे छ । औद्योगिक क्षेत्रमा हाल गर्दै आएको दैनिक तीन घण्टासम्मको लोडसेडिङ अन्त्यको घोषणाबाट अब मुलुकभित्र उद्योग व्यवसाय विस्तार भएका उद्योग व्यवसायको निर्वाध संचालन, उत्पादन प्रवद्र्धन तथा नयाँ औद्योगिक विस्तारमा सघाउ पुग्नुका साथै समग्रमा मुलुकको आर्थिक व्यवसायिक विकास, लगानी आकर्षणमा समेत मद्दत पुग्ने महासंघले विश्वास लिएको छ । महासंघले नयाँ आउने उद्योगहरु र क्षमता विस्तार गर्न चाहने उद्योगधन्दाहरुका लागि आवश्यक विद्युत उनीहरुले मागेका बखत सहज रुपमा उपलव्ध गराई दिने वातावरणका लागि महासंघ, उर्जा मन्त्रालय र प्राधिकरण समक्ष आग्रह गरेको छ । साथै, प्राधिकरणले विद्युत प्रसारणमा गुणस्तरीय विद्युत प्रवाह गर्न ध्यान दिनुपर्ने महासंघको सुझाव छ ।