विकासन्युज

क्षमापूजा गरेर काष्ठमण्डप पुनःनिर्माण शुरु

काठमाडौ । सातौँ शताब्दीको काष्ठमण्डप पुनःनिर्माण शुरु भएको छ ।  विसं २०७२ को भूकम्पले पूर्णरुपमा क्षति पुगेको ऐतिहासिक काष्ठमण्डप पुनःनिर्माणको सोमबार पुनःनिर्माण समितिका अध्यक्ष तथा प्रदेशसभा सदस्य राजेश शाक्यले क्षमापूजा गरेर शुरु गरे। नेपालको राजधानी काठमाडौँको नाम ‘काष्ठमण्डप’बाट नै रहेको हो । बाह्रौँ शताब्दीमा राजा लक्ष्मीनरसिंह मल्लले निर्माण गराएको र बिसेत नामका मानिसले कल्पतरुलाई चिनी समातेर एउटा रुख उपलब्ध गराउने वाचा गराई छाडेपछि कल्पतरुले सालको काठ दिएको र त्यसैबाट मूर्तिविहीन मरुसतः बनाए जसलाई काष्ठमण्डप भनेर चिनिन्छ । पछि मरुसतःमा गोरखनाथ र अन्य मूर्ति थपिएको बताइन्छ । केही वर्षअघि बेलायतको दुर्हाम विश्वविद्यालयबाट भएको उत्खननपछि यो सातौँ शताब्दीको भएको इतिहासकारले बताएका छन् । अध्यक्ष शाक्यका अनुसार अब करीब चार महीना पुनःनिर्माणका लागि आवश्यक पर्ने सामग्री तयार गरिने र चार महिनापछि निर्माणको काम शुरु गरिने योजना छ । पुनःनिर्माण चार वर्षभित्र सकिने लक्ष्य छ । क्षमापूजाका अवसरमा सरीक संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले सम्पदाको पुनःनिर्माण गर्न सके मात्र पर्यटन क्षेत्रको विकास हुने बताए । मन्त्री अधिकारीले भने्, “काष्ठमण्डप मात्र होइन, अन्य बाँकी सबै ऐतिहासिक सम्पदा जतिसक्दो छिटो पुनःनिर्माण गरिनुपर्छ, यसका लागि मन्त्रालयका तर्फबाट गर्नुपर्ने कामका लागि तयार छौँ ।” काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काष्ठमण्डप पुनःनिर्माण गर्न ढिला भइसकेको छ भन्दै निर्माणका क्रममा आफ्नो र कामपाका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले सबै ऐतिहासिक सम्पदालाई मौलिक रुपमै निर्माण गर्नुपर्नेमा जोड दिए । रासस

नेपाल बङ्गलादेश बैंकको थप ५ शाखाबाट कारोबार शुरु

काठमाडौं । नेपाल बङ्गलादेश बैंक लिमिटेडले थप ५ शाखाहरु संचालनमा ल्याएको छ । बैंकले बाराको सिमरा, परवनीपुर तथा मकवानपुरको मकवानपुरगढीे, दाङ्गको बबई, हापुरे र कपिलवस्तुको चन्द्रौटाबाट कारोबार शुरु गरेको छ । यी शाखाहरुबाट सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पुर्ण बैंकिङ्ग सेवा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । यी ५ शाखासहित बैंकले ६७ शाखा, ५ एक्सटेन्सन काउन्टर, ७ शाखारहित घरदैलो बंैकिङ्ग सेवा तथा ५१ वटा एटीएबाट बैंकिङ्ग सुविधा दिंदै आएको छ ।

एनआईसी एशिया बैंकको नयाँ शाखा कास्कीको लेकसाइडमा

काठमाडौं । एनआईसी एशिया बैंकको नयाँ शाखा कास्कीको लेकसाइडमा विस्तार भएको छ । बैंकले सोमबार एक समारोहका बीच नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलले उद्घाटन गरेका छन् । बैंकले सम्पुर्ण स्थानिय निकायहरुमा वाणिज्य बैंकहरुको शाखा कार्यालय खोल्ने नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको अभियानमा सहभागी भई ३३ वटा त्यस्ता स्थानीय निकायहरुमा शाखा कार्यालय खोल्ने प्रतिबद्धता जनाएको छ । हाल बैंकले २१० शाखा कार्यालयहरु, २०० एटिएम, ६ वटा एक्स्टेन्सन काउन्टर एवं ६ वटा शाखारहित बैंकिङ्ग मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । साथै, बैंकले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ । बैंकको वासलातको आकार १५८ अर्ब रुपैयाँ भन्दा बढि पुगेको छ भने बैंकको कुल कर्जा करिब ११० अर्ब रुपैयाँ र कुल निक्षेप करिब १३४ अर्ब रुपैयाँ पुगिसकेको छ ।

एनजिओ/आइएनजीओको अखडामा नागरिकताको लफडा

काठमाडौं । समाज कल्याण परिषदका निर्देशक शिवकुमार वस्नेतलाई विभागिय मन्त्रीले काखी च्याप्दा अनुसन्धान फितलो हुन पुगेको छ । दोहोरो नागरिकता लिएको भन्दै छानविनमा परेका बस्नेतलार्इृ मन्त्रीले साथ दिएपछि अनुसन्धान फितलो भएको हो । दोहोरो नागरिकता लिएको भन्दै निर्देशक बस्नेतमाथी गत ७ गते लिखित उजुरी परे पनि महिला बालबालिका, महिला र जेष्ठ नागरिक मन्त्री थममाया थापामगरले अनुसन्धान रोक्न दबाब दिएकी हुन् । छानविनमा परेका वस्नेतलाई कारवाही गर्नुको सट्टा योजना शाखा र प्रशासन शाखाको दोहोरो जिम्मेवारी दिए पछि परिषदमा असन्तुष्टी बढेको हो । ‘किर्ते नागरिकताको अभियोगमा छानविनमा राखेर कारवाही गर्नुपर्ने मानिसलाई उल्टै महत्वपुर्ण जिम्मेवारी दिइएको छ,’ परिषद स्रोतले भन्यो, ‘मन्त्री र सचिव विच पैसाको चलखेल नभएको भए किन थप जिम्मेवारी दिइयो ? यो शंकास्पद छ ।’ नागरिकता माथी छानविन भईरहेको वेला प्रशासन शाखाको जिम्मेवारी दिएर मन्त्रीले किर्ते काण्डमा जोगाउन खोजेको परिषदका कर्मचारीहरु बताउँछन । पहिलो नागरिकता अनुसार सेवामा प्रवेश गरेकाले अवकास पाइसक्नु पर्ने व्यक्ति दोस्रो नागरिकता अनुसार पदवहालमा नै रहेको भन्दै नविन योगीले गत वैशाख ७ गते जिल्ला प्रशासन कार्यालयमा उजुरी गरेका थिए ।

बीमा संस्थानमा कस्ले मार्ला बाजी ?

काठमाडौं । राष्ट्रिय बीमा संस्थामा रिक्त रहेको प्रशासकका लागि ५ जनाले आवेदन दिएका छन् ।  कविप्रसाद पाठक, झापा, डिल्लीराज अर्याल, गुल्मी, बुद्धकाजी श्रेष्ठ काठमाडौं, लक्ष्मण पोखरेल, गुल्मी र सुरेन्द्र थापा पाल्पा रहेका छन् । प्रशासक नियुक्तिका लागि गठित छनौट तथा शिफारिश समिलिाई उम्मेदवारले आइतबार संस्थाको व्यवसायिक योजना प्रस्तुत गरेका थिए । सोमबार अन्तरवार्ता दिन काम पनि सकिएको छ । समितिले ३ जनालाई छनौट गरेर अर्थ मन्त्रालयमा शिफारिश गर्नेछ । त्यसपछि मन्त्रिपरिषदले एक जनालाई प्रशासक बनाउने छ ।

औद्योगिक क्षेत्रलाई लोडसेडिङ मुक्त गरिएकोमा महासंघद्धारा स्वागत

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आजबाट औद्योगिक क्षेत्रमा हाल कायम लोडसेडिङ अन्त्य भएको घोषणा गरेकोमा नेपाल उद्योग वाणिज्य महासंघले स्वागत गरेको छ । वैशाखबाट लागू हुने गरी औद्योगिक क्षेत्रको लोडसेडिङ अन्त्य गर्ने यसअघिको घोषणा सफल रुपमा कार्यान्वयन गर्न उर्जा मन्त्री, उर्जा मन्त्रालय र नेपाल विद्युत प्राधिकरणलाई प्राप्त सफलताप्रति महासंघ खुशी व्यक्त गरेकाे छ । औद्योगिक क्षेत्रमा हाल गर्दै आएको दैनिक तीन घण्टासम्मको लोडसेडिङ अन्त्यको घोषणाबाट अब मुलुकभित्र उद्योग व्यवसाय विस्तार भएका उद्योग व्यवसायको निर्वाध संचालन, उत्पादन प्रवद्र्धन तथा नयाँ औद्योगिक विस्तारमा सघाउ पुग्नुका साथै समग्रमा मुलुकको आर्थिक व्यवसायिक विकास, लगानी आकर्षणमा समेत मद्दत पुग्ने महासंघले विश्वास लिएको छ । महासंघले नयाँ आउने उद्योगहरु र क्षमता विस्तार गर्न चाहने उद्योगधन्दाहरुका लागि आवश्यक विद्युत उनीहरुले मागेका बखत सहज रुपमा उपलव्ध गराई दिने वातावरणका लागि महासंघ, उर्जा मन्त्रालय र प्राधिकरण समक्ष आग्रह गरेको छ । साथै, प्राधिकरणले विद्युत प्रसारणमा गुणस्तरीय विद्युत प्रवाह गर्न ध्यान दिनुपर्ने महासंघको सुझाव छ ।

करमा एग्रेसिभ बन्दै सरकार, विज्ञ भन्छनः ९५० अर्ब राजश्व संकलन सम्भव छ

काठमाडौं । सरकारले नयाँ बजेटमा एग्रेसिभ कर नीति अवलम्बन गर्नेे स्पष्ट संकेत गरेको छ । अर्थमन्त्री युवराज खतिवडा, राजश्व सचिव शिशीर ढुंगानाले करको दायरा विस्तार नयाँ बजेटको प्रमुख प्राथमिकतामा पर्ने बताउँदै आएका थिए । सोमबार नेपाल आर्थिक संघले आयोजना गरेको पुर्व बजेट छलफल कार्यक्रममा सहभागी अर्थमन्त्रालयको राजश्व महाशाखा प्रमुख रामशरण पुडासैनीले पनि राजश्वमा सरकार एग्रेसिभ हुने स्पष्ट पारे । ‘राजश्व संकलनमा सरकार एग्रेसिभ हुन्छ, भन्सारदेखि आन्तरिक बजारमा पनि व्यापक सुधार गर्छाै’, पुडासैनीले भने । कार्यक्रममा सहभागी विज्ञहरुले पनि राजश्वका दर बढाउने प्रशस्तै ठाउँ रहेको बताएका थिए । अर्थशास्त्री प्रा.डा. मदन कुमार दाहालले भन्सारले २५ प्रतिशत आयातलाई मात्रै ट्रयाक गरेकाले राजश्व संकलनको लक्ष्य ठुलो मात्रामा बढाउन सकिने बताए । ‘भन्सारले २५ प्रतिशत आयातलाई मात्रै समेटेको छ, अब आफैं बुझ्नुस हाम्रो अर्थतन्त्र कस्तो छ र हामीले के गर्नु पर्छ’, अर्थशास्त्री डा. दाहालले भने । अर्का अर्थशास्त्री डा. खिमलाल देवकोटाले पनि संघियताले अधिक श्रोत खोजेको र त्यसका लागि राजश्व संकलनको लक्ष्य बढाउनै पर्ने धारणा राखे । उनले आगामी आर्थिक बर्षको बजेटमा ९५० अर्बको राजश्व संकलन लक्ष्य तय गरिनु उपयुक्त हुने धारणा राखेका थिए । नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले निजी क्षेत्र भन्दा पहिले सरकार सुध्रिनुपर्ने धारणा राखेका थिए । उनले बजार अनुगमनलाई राजनीतिज्ञले पैसा कमाउने माध्यम र कर्मचारीले शक्ति प्रदर्शनको माध्यम बनाएको आरोप समेत लगाएका थिए । डा. देवकोटाले बजेटको आधार १७ खर्ब हाराहारी बनाउनुपर्ने सुझाव समेत दिए । प्रा.डा. दाहालले भने १५ खर्बको बजेट उपयुक्त हुने सुझाव पेश गरेका थिए ।राजश्व संकल ३० प्रतिशत बढे मात्र साढे ९ खर्बको लक्ष्य पुरा हुने छ । चालु आर्थिक वर्षमा सरकारले २२ प्रतिशत राजश्व वृद्धिको लक्ष्य राखेकोमा पुरा गर्न हम्मे परेको छ । ३० प्रतिशत राजश्व बढाउन कर संरचनामा ठुलो परिवर्तनका लागि प्रयास गर्नुपर्ने देखिएको छ ।

अन्तर्राष्ट्रिय सार्वजनिक क्षेत्र सम्बन्धि सम्मेलन सकियो

काठमाडौं ।अन्तर्राष्ट्रिय सार्वजनिक क्षेत्र सम्बन्धि सम्मेलन आइतबार सम्पन्न भएको छ । सोही दिन एसिया प्रशान्त लेखा व्यवसायीहरूको संस्थाहरुको बैंठक समेत बसेको थियो । नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था(आइक्यान)द्धारा आयोजित बैठकले सम्वन्धित संस्थाको वार्षिक प्रतिवदेन पारित गर्नुका साथै आगामी रणनीतिका बारेमा छलफल गरेको जानकारी गराएकाे छ । लेखापरीक्षणको पारदर्शिता, लेखापरीक्षकहरुलाई थप जिम्मेवार बनाउने, नयाँ–नयाँ प्रविधिको प्रयोग र चुनौती लगायत विषयमा छलफल भएको आइक्यानका अध्यक्ष सिए प्रकाशजंग थापाले जनाएका छन् । आयोजकका अनुसार वैठकमा हरेक सदस्य राष्ट्रहरुले सम्वन्धित मुलुकको वार्षिक प्रतिवदेन प्रस्तुत गरेका थिए । उक्त वैठक यसअघिका वैठकहरुकै निरन्तरता भएको हो । सोही क्रममा वोर्ड डाइरेक्टरहरुको वैठक पनि बसेको थियो । वैठकमा आगामी रणनीति र कार्यान्वयनसम्वन्धमा व्यापक छलफल भएको अध्यक्ष थापाले जानकारी दिएका छन् । शनिबार सुरु भएको अन्तर्राष्ट्रिय सार्वजनिक क्षेत्रसम्वन्धि सम्मेलनको अन्तिम दिन अर्थात सोमबार आइक्यानले सिए शिक्षा मेला समेत आयोजना गरेको थियो ।