विकासन्युज

६ वटा वाणिज्य बैंकलाई कारवाही गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले ६ वटा वाणिज्य बैंकहरुलाई कारवाही प्रक्रिया बढाएको छ । सिडी रेसियो भन्दा बढि कर्जा लगानी गरेको फेलापरेपछि राष्ट्र बैंकले कारवाही प्रक्रिया अघि बढाएको गभर्नर डा. चिरञ्जीवी नेपालले जानकारी दिए । ‘सिमा भन्दा बढि कर्जा लगानी गरेका ६ वटा बैंकलाई कारवाही गर्न पत्राचार गरिसकेका छौं, ती बैंकहरुले अनुत्पादक क्षेत्रमा कर्जाको मात्रा धेरै प्रवाह गरेको पनि भेटिएको थियो’, मंगलबार मौद्रिक नीतिको मध्यावधी समिक्षा कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर डा. नेपालले भने । उनले बैंक तथा वित्तिय संस्थालाई कारवाही गर्ने कुरा जेल हाल्ने वा जरिवाना तिराउने मात्रै नभएको पनि स्पष्ट पारे ।‘वित्तिय क्षेत्रमा कारवाही भनेको जेल हाल्ने वा जरिवना गराउने मात्रै हुँदैन, हामीले ६ वटा बैंकलाइं कारवाहीका लागि पत्र काटिसकेका छौं’, डा. नेपालले भने । बजारमा लगानी योग्य पूँजीको अभाव सुरु भएपछि जथाभावी कर्जा लगानी गरेको आंशकामा राष्ट्र बैंकले अनुसन्धान गरेको थियो । सोक्रममा १३ वटा वाणिज्य बैंकहरुको सुक्ष्म अध्ययन भएको थियो । तीमध्ये ६ वटाले भने जभाभावी रुपमा कर्जा प्रवाह गरेको फेला परेपछि कारवाही प्रक्रिया अघि बढेको हो । डा. नेपालले कुन कुन बाणिज्य बैंकहरु कारवाहीको प्रक्रियामा तानिएका हुन भन्नेबारे भने केहि जानकारी दिएनन् ।

महिन्द्राको नयाँ शोरुम दोलखाको चरिकोटमा

काठमाडौं । महिन्द्रा गाडीहरुको आधिकारिक विक्रेता अग्नि इन्कर्पाेरेटेड प्रा. लि. ले दोलखा जिल्लाको चरिकोटमा आफ्नो नयाँ शोरुम “कार्की मल्टिमिडिया कन्सर्न” को उद्घाटन गरेको छ । सो उद्घाटन नेपालका लागि महिन्द्रा, इन्डियाका तर्फबाट कन्ट्री म्यानेजर आशिष जोशी तथा उद्योग वाणिज्य संघ, दोलखाका उपाध्यक्ष दिनेश बस्नेतद्वारा भएको थियो । ग्राहकहरुका माझ अझ सहज तरिकाले आफ्नो सेवा प्रदान गर्ने उद्देश्य अनुरुप यस नयाँ शोरुमले सेल्स्, सर्भिस तथा स्पेयर पार्ट्स सबै उपलब्ध गराउने भएको छ । महिन्द्राका ट्रयाक्टर, पिक-अप तथा लोकप्रिय यूभी सिरिज लगायत महिन्द्राका अन्य उत्कृष्ट सेवाहरु लिई शोरुम चरिकोटमा प्रस्तुत भएको हो । उक्त उद्घाटन कार्यक्रममा बोल्दै अग्नि इन्कर्पाेरेटेडका असिस्टेन्ट् डिरेक्टर-सेल्स्, वरदान बस्नेतले सो नयाँ शोरुमको स्थापनाले ग्राहकहरुलाई महिन्द्राका उत्कृष्ट सेवाहरुको पहुँच झनै सहज हुने बताएका छन् ।

उत्पादनशील क्षेत्रलाई कर्जा लगानी गर्ने बैंकहरूलार्इ थप १८० अर्ब लगानी विस्तार गर्ने सुविधा

काठमाडौं । नेपाल राष्ट्र बैंकले उत्पादनशील क्षेत्रतर्फको कर्जा प्रवाहलाई विशेष प्राथमिकता दिने नीति लिएको छ । आव २०७३/७४ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै राष्ट्र बैंकले उत्पादन क्षेत्रलाई प्राथमिकता दिने उल्लेख गरेको छ । साथै, कर्जा निक्षेप अनुपात सीमामा राख्न कठिन भएको तर उत्पादन मुलक क्षेत्रमा राम्रो लगानी गरेको बैंकहरुलाई करिव १८० अर्ब रुपैयाँको राहात मिल्ने गरी कर्जा सुविधा प्रधान गरेको छ । वाणिज्य बैंकबाट विपन्न वर्गमा प्रत्यक्ष रुपमा प्रवाह हुने दुई प्रतिशतसम्मको कर्जा ‘युवालाई व्यावसायिक कृषि कर्जामा प्रदान गरिने ब्याज अनुदानसम्बन्धी कार्यविधि, २०७१’ बमोजिम प्रवाह हुने थप कर्जाको ५० प्रतिशतसम्मको रकमलाई २०७४ असार मसान्तसम्म ८० प्रतिशतको कर्जा निक्षेप अनुपात घटाउन पाउने व्यवस्था गरेको हो । यस्तो कर्जा कुल कर्जाको १.५ प्रतिशत अर्थात करिव २८ अब ४२ करोड रुपैयाँ लगानी गरिएको छ । यस्तो कर्जालाई पनि सीसीडी रेसियोबाट घटाउन पाउने व्यवस्था गरेको छ । त्यस्तै, साना तथा लघु व्यवसायलाई चल/अचल सम्पत्ति धितो लिई वा उद्यम परियोजना धितो व्यवस्था लिई बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने रु १० लाखसम्मको कर्जालाई पनि विपन्न वर्गमा गणना हुने व्यवस्था गरेको छ । त्यस्तै उत्पादन मुलक क्षेत्रमा गरिएको लगानीको ५० प्रतिशत रकमलाई कर्जा निक्षेप अनुपात सीमा ८० प्रतिशतबाट घटाउने सुविधा दिइएको छ । पुस मसान्तसम्मका बैंक तथा वित्तीय संस्थाले १८ खर्ब ९५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छन् । त्यसको १६ प्रतिशत अर्थात ३ खर्ब ३ अर्ब रुपैयाँ उत्पादन मुलक क्षेत्रमा लगानी भएको छ । सीसीडी रेसियो ८० प्रतिशतको सीमा नाघेका बैंक तथा वित्तीय संस्थाहरुलाई यो सुविधाले धेरै राहात दिनेछ । राष्ट्र बैंकले दिएको यो सुविधाबाट बैंक तथा वित्तीय संस्थालाई करिब १५१ अर्ब रुपैयाँ लगानी विस्तार गर्न स्रोत उपलब्ध हुने पूर्व बैकर्स अनलराज भट्टराईले बताए । वित्तीय पहुँच विस्तार, गरिबी न्यूनीकरण तथा सामाजिक उत्पादनमा योगदान पुर्याउने उद्देश्यले स्थापना हुन लागेका लघुवित्त संस्थाको निवेदनलाई राष्ट्र बैंकले अगाडि बढाउने राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले जानकारी दिए । वाणिज्य बैंकले विपन्न वर्गतर्फको प्रत्यक्ष लगानीअन्तर्गत न्यूनतम दुई प्रतिशत कर्जा लगानी गर्नुपर्ने विद्यमान व्यवस्थाको पुनरावलोकन गरी यस्ता कर्जाको गणना एवम् हर्जना लगाउने व्यवस्था २०७५ असार मसान्तबाट लागू गर्ने भएको छ । यो व्यवस्थाले वाणिज्य बैंकहरुलाई निकै राहात पुगेको सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत किशोर महर्जनले बताए । बैंक तथा वित्तीय संस्थाले रु एक अर्ब वा सोभन्दा बढी रकमको बहु-बैंकिङ कर्जा उपभोग गर्ने ऋणिको कर्जा सहवित्तीयकर्जामा परिणत गर्नुपर्ने व्यवस्था नभएमा त्यस्तो कर्जालाई २०७४ असार मसान्तसम्म सूक्ष्म निगरानी वर्गमा वर्गीकरण गर्ने भएको छ । मौद्रिक नीतिले २०७३ मा जारी गरिएका भुक्तानी हुन बाँकी रु ४५ अर्ब ३० करोड बराबरका ऋणपत्र शून्य ब्याजदरमा सोझै गरिद गर्न राष्ट्र बैंकले आह्वान गर्ने जनाएको छ । अर्धवार्षिक समीक्षाका अवसरमा गभर्नर डा नेपालले सन्तुलित वित्तीय विकास, संस्थागत सुदृढीकरण, वित्तीय ग्राहकको हित संरक्षण, संस्थागत सुशासन एवम् उद्यमशीलतातर्फको लगानी प्रवद्र्धन गर्नेतर्फ मौद्रिक नीतिले ध्यान दिने बताए । चालु आवका लागि जारी गरिएको मौद्रिक नीतिले राखेका लक्ष्य हासिल गर्न सकिने विश्वास व्यक्त गर्दै उनले ६.५ प्रतिशतको आर्थिक वृद्धि र ७.५ प्रतिशतको मुद्रास्फीति कायम हुने बताए ।

तरलता अभावको ठिक औषधी आएको छ, अब ब्याजदर पनि घट्छः अनिल शाह

नेपालको बैंकिङ क्षेत्रमा जुन रोग लागेको थियो त्यसको उपचारका लागि औषधी आएको छ । जुन ढंगले अनुत्पादक क्षेत्रमा व्यापक ऋण गएको थियो त्यसलाई कसरी नियन्त्रण गर्ने भन्नेबारेमा हामीले सोच्नै पर्ने समय आईसकेको थियो । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्ध बार्षिक समिक्षा मार्फत बाटो देखाइदिएको छ । अहिले लगानी योग्य पूँजीको जुन अभाव देखिएको छ । त्यसको समाधानका लागि युवाहरुलाई व्यवसायीक कृषि कर्जामा प्रदान गरिने व्याज अनुदान कार्यबिधी २०७१ अनुसार प्रवाह हुने थप कर्जा तथा उत्पादक क्षेत्रमा प्रवाह हुने २ प्रतिशत कर्जाको ५० प्रतिशतसम्मको रकमलाई विद्यमान कर्जा निक्षेप अनुपातबाट घटाउन सकिने व्यवस्थाले केहि राहत प्रदान गर्नेछ । यसले कर्जा लगानीको क्षेत्रलाई केहि विस्तार गर्नेछ । यसको अर्थ अब फेरी पनि बैंकहरुले कर्जा लगानीलाई तिब्ररुपमा विस्तार गर्छन भन्ने चाँही होइन् । अब जुन मात्रामा डिपोजिट वृद्धि हुन्छ, त्यहि अनुपातमा मात्रै कर्जा लगानी पनि बढ्छ । हामी अब कर्जा लगानीलाई ह्वात्तै बढाएर लैजाने योजनामा छैनौं । अबका दिनहरुमा ब्याज दर स्थिर हुन्छ । मलाई लाग्छ ब्याज दर स्थिर मात्रै होइन अब घट्छ पनि । कल डिपोजिटको रकममा साधारण डिपोजिटको भन्दा धेरै ब्याज दिन नपाउने व्यवस्था अघि सारिएको छ । यसले ब्याजदरलाई नियन्त्रणमा ल्याउन सघाउ पुर्याउँछ । द्रुतगतिमा बढिरहेको ब्याजदरलाई यसले घटाउन मदत गर्छ । आज राष्ट्र बैंकले नेपालको वित्तिय क्षेत्रमा जुन रोग लागेको हो त्यसकै औषधी बाँडेको छ । नेपाल बैंकर्स संघले प्रारम्भिक अध्ययनका आधारमा यसको स्वागत गर्छ । यसका बारेमा हामी अझै बसेर छलफल भने गर्छाै नैं । मलाई लाग्छ विकास बैंकर्स संघ, वित्त कम्पनी संघ र लघु वित्त कम्पनीको एसोसियसनहरुले पनि यसलाई स्वागत नै गर्नेछन् । मध्यावधी समिक्षाले सकारात्मक सन्देश दिएको छ, नेपालको वित्तिय क्षेत्रमा यसले आउदो दिनहरुमा स्थायीत्व कायम गराउन थप मदत गर्छ भन्ने हामीलाई लागेको छ । नेपाल राष्ट्र बैंकले दिएको सुबिधाको हामी सदुपयोग गर्छाै, दुरुपयोग गर्दैनौं । अब हामी केन्द्रिय बैंकले ल्याएको नीतिलाई राम्रोसँग कार्यान्वयनमा लैजान्छौं । हामीले डिपोजिट दर भन्दा कर्जा लगानी धेरै मात्राले बढाएकैले आजको अवस्था आएको हो । हाम्रो त्यहि कदमका कारण बजारमा लगानी योग्य पूँजीको अभावको अवस्था आएको हो। हामीले त्यसमा आत्मालोचना गरिसकेका छौं । अब बढाउँदैनौं भनेर प्रतिवद्धता पनि व्यक्त गरिसकेका छौं । बजेट समयमै आएपछि पूँजीगत खर्च बढ्छ भन्ने अपेक्षामा कर्जा लगानी बढाएका थियौं तर विकास बजेट खर्च भएन । त्यसैले आजको अवस्था खडा भयो । हामीले अहिले पाठ सिकेका छौं । अब जसरी निक्षेप बढ्छ त्यसरी मात्रै कर्जा लगानी बढाउँछौं । विकास बजेट खर्च हुन्छ भनेर कर्जा लगानी गर्दैनौं । बरु बजेट खर्च भैसकेपछि मात्रै कर्जा लगानी बढाउँछौं । (मौद्रिक नीतिको अर्ध बार्षिक समिक्षापछि बैंकर्स एसोसियसनका अध्यक्ष शाहले दिएको प्रतिक्रिया)

रेनोल्ट टेस्ट ड्राइभ बुधबारदेखि शुरु, रेनो कारको आविष्कारिक अनुभव लिने अवसर

काठमाडौं । नेपालमा रेनोल्टको आधिकारिक वितरक, एडभान्स अटो मोबाईल प्रा लि (विशाल समूहको सहायक) ले फागुन १० गते (मंगलबार) देखि रेनोल्ट टेस्ट ड्राइभ कार्यक्रम आयोजना गरेको छ । कम्पनीले रेनोल्ट कार प्रेमीहरुका लागि देशका विभिन्न शहरहरुमा उक्त कार्यक्रमको आयोजना गरेको छ । कम्पनीका अनुसार ग्राहकहरुले कावासोती, चितवन, जितपुर र कसौलीमा यूनाइटेड अटो कन्र्सनमा रेनो कारहरुको आविष्कारिक अनुभव लिन सक्नेछन् । रेनोल्टे टेस्ट ड्राइभ कार्यक्रममा, रेनोल्टे प्रेमीहरुले रेनोल्ट क्विड आफैंले चलाएर परिक्षण गर्न सक्नेछन् । ग्राहकहरुलाई रेनोल्टे ब्राण्डको बारेमा अधिक जानकारी प्रदान गर्न आयोजना गरिएको यस कार्यक्रम यहि फागुन १९ गते समापन हुनेछ । कार्यक्रमको अवधिमा ग्राहकहरुले रेनोल्ट क्विडको २५.१७ किलोमीटर प्रति घण्टाको इन्धन खपतको क्षमता, १८० मिलिमीटरको ग्राउण्ड क्लियरेन्स, ७ इन्चको एलसिडी टचइन्फोटेनमेन्ट सिस्टम, तथा रिमोट सेन्ट्रल लकिंग, १६ इन्चको गन मेटलह्विल्स, क्रुजकन्ट्रोल लगायतका अन्य विशेषताहरुको बारेमा जानकारी प्राप्त गर्नेछन् । रेनोल्टे टेस्ट ड्राइभ कार्यक्रममा विश्वस्तरिय रेनोल्ट ब्राण्डको अनुभव प्र्राप्त गर्नुका साथै प्रत्येक टेस्ट ड्राइभ ग्राहकहरुले आकर्षक पुरस्कारहरु पनि जित्न सक्नेछन् । रेनोल्टले आफ्ना ग्राहकहरुका लागि आगामी दिनहरुमा देशका विभिन्न भागहरुमा यस्तै प्रकारका कार्यक्रमहरु गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

ट्रम्पद्वारा राष्ट्रिय सुरक्षा सल्लाहकारमा लेफ्टिनेन्ट जनरल हर्वर्ट म्याकमास्टर नियुक्त

वासिङटन। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकारमा लेफ्टिनेन्ट जनरल हर्वर्ट म्याकमास्टरलाई नियुक्त गरेका छन् । “उहाँ निकै क्षमतावान व्यक्ति हुनुहुन्छ, उहाँको अनुभव पनि अथाह छ, सैन्य क्षेत्रमा उहाँ सम्मानित व्यक्तित्व हुनुहुन्छ, उहाँलाई हामीले जिम्मेबारी दिन पाँउदा हामीलाई गौरव महसुसा भएको छ,” फ्लोरिडामा ट्रम्पले भनेका छन् । राष्ट्रपति ट्रम्पले यसअघि नियुक्त गरेका माइकल फ्लिनको रुससँग गलत सम्बन्ध रहेको भन्ने विवादका कारण राजीनामा दिएकाले नयाँ सल्लाहकारका रुपमा म्याकमास्टरलाई नियुक्त गरेका हुन्। चवन्न वर्षीय नयाँ सल्लाहकार म्याकमास्टरले इराकलगातका देशमा यसअघि विभिन्न अभियान सञ्चालन गर्ने काम गरिसकेका छन् । उनी एकदमै विचारवान, सिधा कुरा गर्ने व्यक्ति र सेनाका रणनीतिकारका रुपमा चिनिन्छन् । उनको रुससँग कुनै निकट सम्बन्ध रहेको बताइएको छ । रासस÷एएफपी

तरलता व्यवस्थापनमा राष्ट्र बैंकका ११ उपाय, अटोलोन कटौतीदेखि कल डिपोजिटको ब्याजदरसम्म

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्ध बार्षिक समिक्षा मार्फत तरलता व्यवस्थापनका ११ उपाय अघि सारेको छ । राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले मंगलबार राजधानीमा मौद्रिक नीतिको अर्ध वार्षिक समिक्षा कार्यक्रम मार्फत अटो लोनमा कटौती, कड डिपोजिटको ब्याजदर कटौती लगायतका ११ वटा उपाय सार्वजनिक गरेका हुन् । गभर्नर डा. नेपालका अनुसार अब निजी प्रयोजनका सवारी साधनमा ऋण प्रवाह गर्दा सो सवारीको मूल्यांकनको अधिकतम ५० प्रतिशतसम्म मात्र बैंकले लगानी गर्न सक्नेछन् । तर सार्वजनिक प्रयोजनका सवारी साधन तथा विकास निर्माणमा प्रयोग हुने सवारी सधानमा भने त्यस्तो सीमा तोकिने छैन् । त्यस्तै, बजारमा तरलता अभाव भएसँगै ब्याजदरमा भैरहेको उच्च वृद्धिलाई रोक्न कल डिपोजिटमा दिने ब्याजदरको पनि सीमा तोकिएको छ । माग तथा अल्प सूचनामा आधारित कल डिपोजिटलाई पारदर्शीत तथा यथार्थ परक बनाउन भन्दै राष्ट्र बैंकले साधारण निक्षेपमा भन्दा बढी ब्याज दिन नपाइने व्यवस्था गरेको छ । यस्तो व्यवस्थाले ब्याजदर घटाउन सघाउन पुग्ने गभर्नर डा. नेपालले बताए । त्यस्तै, ओभर ड्राफ्टको सिमालाई एक करोडबाट घटाएर ७५ लाखमा सीमित गरिएको छ । हाल उपयोगमा रहेका ओभर ड्राफ्ट पनि २०७४ असारसम्म्मा ७५ लाखको सीमामा ल्याउनुपर्ने डा. नेपालले बताए । बाणिज्य बैंकले प्रवाह गर्ने २ प्रतिशत उत्पादनशिल कर्जालाई २०७४ असार मसान्तसम्ममा ८० प्रतिशतको सिडी रेसियोबाट घटाउने सुबिधा पनि प्रदान गरिएको छ । २५ वटा गैर सरकारी संस्थालाई लघु वित्त कम्पनीका रुपमा स्थापित हुनका लागि कानुनी जटिलता फुकाउने पनि मौद्रिक नीतिको मध्यावधि समिक्षामा उल्लेख गरिएको छ ।

सेयर बजारमा उतारचढाव, नेप्से ७ अंकले घट्यो, ६० करोडको सेयर कारोबार

काठमाडौं । मङगलबारको सेयर बजारमा केही उतारचढाव देखिएको छ । सो दिन नेप्से परिसूचक ७ दशमलव ५४ प्रतिशतले घटेर १३३७ दशमलब ५७ अंकमा झरेको छ । कारोबार शुरु हुँदा १३६५ अंकमा रहेको परिसूचक करिब ३ घण्टाको कारोबारमा करिब २० अंकले घटेको थियो । त्यसपछिको कारोबारमा भने बजारलाई हल्का टेवा पुगेको देखिन्छ । मंगलबार परिसूचकसँगै सेयर काराबोरमा पनि गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा सो दिन कारोबार रकममा करिब २१ करोडको गिरावट भएको छ । मंगलबार १३७ कम्पनीको १० लाख ९ कित्ता सेयर ६० करोड ४३ लाख रुपैयाँमा किनबेच भएको छ । सो दिन होटल, विकास बैंक उत्पादनमूलक समूह समूह बाहेक कारोबारमा आएका बाँकी समूहहरुको परिसूचक ओरालो लागेपछि नेप्से परिसूचकमा गिरावट आएको हो । सबैभन्दा बढी बीमा समूहको परिसूचक १३८ अंकले ओरालो लागेको छ । आईएलएफसिओ माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य करिब १० प्रतिशत बढेको छ । सो दिन कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६६५ रुपैयाँ रहेको छ । त्यस्तै, एक्सेल डेभलपमेन्ट बैंकको करिब ६ प्रतिशतले सेयर मूल्य बढेको छ । सो दिन सबैभन्दा बढी सेती फाइनान्सका लगानीकर्ताले करिब १० प्रतिशत गुमाएका छन् । मंगलबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता १६४ रुपैयाँ रहेको छ ।