शुक्रबार मात्रै ९ कम्पनीको २ करोड ९० लाख सेयर सूचिकृत, सबैभन्दा बढी हकप्रद
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा विभिन्न ९ वटा बैंक तथा वित्तीय संस्थाको २ करोड ९० लाख ५२ हजार ५३ कित्ता सेयर सूचिकृत भएका छन् । उक्त विभिन्न कम्पनीको बोनस र हकप्रद गरी शुक्रबार(एकैदिन) मात्र सो मात्राको सेयर सूचिकृत भएको हो । त्यसमध्ये सबैभन्दा बढी हकप्रद सेयर थपिएका छन् । २ कम्पनीको गरी २ करोड २१ लाख ८३ हजार कित्ता सेयर नेप्सेमा सूचिकृत भएका छन् । हकप्रद सेयर सूचिकृत गर्नेमा पोखरा फाइनान्स र प्रभु बैंक लि. रहेका छन् । त्यस्तै, कूल सूचिकृत सेयर मध्ये विभिन्न ७ कम्पनीको ६८ लाख ६९ हजार कित्ता बोनस सेयर नेप्सेमा थपिएका छन् । जसमध्ये सबैभन्दा बढी शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको २७ लाख ५७ हजार २३१ कित्ता बोनस सेयर रहेको छ ।
२० वर्ष पुराना गाडी हटाउनेबारे पुर्नविचार हुन्छ: मन्त्री महासेठ
काठमाडौं । यातायातमन्त्री रघुविर महासेठले २० वर्ष पुराना गाडीलाई पुन सञ्चालनमा ल्याउने बताएका छन् । २० वर्ष पुराना गाडी चलाउन पाउनु पर्ने व्यवसायीको मागलाई सम्बोधन गर्दै यस विषयमा पुन विचार गर्ने बताएका हुन् । महासेठले २० वर्ष पुराना सवारी साधन हटाउने विषयमाआफूले पुनःविचार गर्ने बताए । “२० वर्ष पुराना गाडी हटाउने निर्णयका विषयमा हामी गम्भीर छौँ, चाँडै नै नयाँनीति बनाउँछौँ ।”उनले भने । यद्यपी पुराना गाडी कुनै न कुनै दिन हटाउनै पर्नेउनको तर्क छ । यसअघि नेपाल राष्ट्रिय यातायात सर्वोच्च महासंघले २० वर्ष पुराना गाडीले प्रदुषणको मापदण्ड पास गरे सञ्चालन गर्न पाउनु पर्ने र नयाँ सवारी खरिदमा करछुट दिनुपर्ने माग गरेका थिए ।
मार्जिन ट्रेडिङ कार्यविधि पास, जेठदेखि कारोबार सुबिधा, बढ्ला त सेयर बजार ?
काठमाडौं । नेपाल धितोपत्र बोर्डले मार्जिन ट्रेडिङ कार्यविधि पास गरेको छ । बिहीबार धितोपत्र बोर्ड सञ्चालक समितिले कार्यविधि पारित गरेको बोर्डका सहायक प्रवक्ता निरञ्जय घिमिरेले बताए । कार्यविधि पास भएसँगै आगामी जेठ महिनाभत्रै योग्यता पुगेका ब्रोकरहरुले मार्जिन कारोबार गर्न सक्ने भएका छन् । उक्त कार्यविधि तत्काल कार्यान्यनमा ल्याउन बाेर्डले जेठ ३ गते नै नेप्सेलाई निर्देशन दिएको छ । बाेर्डको निर्देशन बमोजिम नेप्सेले छिट्टै उक्त कार्यविधि कार्यान्वयनमा ल्याउने र सोबाट धितोपत्रको दोस्रो बजारमा नयाँ अध्याय थपिने बोर्डको विश्वास छ । दक्षिण एसियाका कतिपय मुलुकहरुमा समेत कार्यान्वयनमा आइनसकेको यो सुविधाबाट दोस्रो बजारको तरलतामा अभिबृद्धि हुने, लगानीकर्ताहरुलाई शेयर खरिद बिक्री गर्न थप सहज हुने तथा धितोपत्र व्यवसायको दायरा समेत फराकिलो हुनगई धितोपत्र कारोवार बढी गतिशिल हुन मद्दत पुग्ने बोर्डको अपेक्षा रहेको छ । मार्जिन ट्रेडिङको सुबिधाले सेयर बजारको विकास र स्थायीत्वमा सहयोग पुग्ने अनुमान गरिएको छ । तर मार्जिन कारोबार सम्बन्धी निर्देशन अनुसार थोरै ब्रोकर कम्पनीले मात्रै यो सुबिधा दिन सक्ने सेयर ब्रोकरहरुको भनाई छ । अन्तर्राष्ट्रिय मूल्य र मान्यता अनुरुप लगानीकर्तालाई मार्जिन कारोवार सुविधा उपलब्ध गराउने तथा धितोपत्र दलाल व्यवसायीको कार्यक्षेत्र विस्तार गर्ने उद्देश्यले बोर्डले मार्जिन कारोवार सुविधा सम्बन्धी निर्देशन २०७४ र कार्यविधि २०७५ जारी गरेको बोर्डले जनाएको छ ।
एनआईसी एशियाले ल्यायो कृषि तथा पर्यटन व्यवसाय कर्जा, ५ प्रतिशत व्याज अनुदान दिने
काठमाडौं । एनआईसी एशिया बैंकले हालै ‘कृषि ब्यवसाय कर्जा’ र ‘पर्यटन व्यवसाय कर्जा’ योजना सार्वजनिक गरेको छ । बैंकले कृषि तथा पर्यटन क्षेत्रमा लगानी बढाई यस क्षेत्रलाई सबल बनाउने उद्देश्यले उक्त योजना सार्वजनिक गरेको हो । कृषि तथा पर्यटन क्षेत्रमा स्व–व्यवसायलाई थप प्रबद्र्धन तथा भएको व्यवसायलाई विस्तार गर्ने योजना बनाईरहेका व्यवसायीहरुलाई साथ दिने उद्देश्यले बैंकले यो योजना ल्याएको र यस योजनाले कृषि तथा पर्यटन व्यवसाय बृद्धिमा थप टेवा पुर्याउने विश्वास लिएको छ । व्यवसायीक कृषि क्षेत्रमा निर्धारण गरिएको मापदण्ड पुरा गरेका कृषि उद्यमीलाई नेपाल सरकारको नीति बमोजिम ५ प्रतिशत व्याज अनुदानको लागि आवश्यक व्यवस्था मिलाउनुका साथै शुन्य प्रशासनिक शुल्कमा कर्जा प्रवाह गरिने यस योजनाबाट कृषि उद्यमीलाई आफ्नो व्यवसाय विस्तारमा लाभ पुगि मुलुकको कृषि क्षेत्रको विकासमा थप टेवा पुग्ने विश्वास बैंकले लिएको छ । उपरोक्त व्यवसायीक कृषि क्षेत्रमा निर्धारण गरिएको मापदण्ड भित्र नपर्ने कृषि तथा पर्यटन व्यवसायीहरुलाई समेत यस बैंकले सुलभ ब्याजदरमा कर्जाको व्यवस्था गरेको र सो बाट सम्पुर्ण कृषि तथा पर्यटन व्यवसायी लाभान्वित हुने बैंकको विश्वास छ ।
नागरिक लगानी कोषले ४२५ मा नकिन्ने भनेपछि एनएमबी बैंकको एफपीओ रोकियो, अब के होला ?
काठमाडौं । सेयर निष्कासन तथा बिक्री प्रवन्धक नागरिक लगानी कोषले प्रतिकित्ता ४२५ रुपैयाँमा थप निष्कासन (एफपीओ) नकिन्ने भएको छ । लगानी कोषले नकिन्ने भनेपछि एनएमबीको एफपीओ अन्यौलमा परेको छ । बैंकको एफपीओ निष्कासनको जिम्मा कोषले पाएको छ । लगानी कोष सञ्चालक समितिले प्रतिकित्ता ४२५ रुपैयाँमा प्रत्याभूति (अण्डरराइटिङ) गर्ने प्रस्ताव अस्वीकृत गरेपछि एफपीओ निष्कासन अन्यौलमा परेको हो ।बिक्री प्रवन्धक लगानी कोषले प्रतिकित्ता ४२५ रुपैयाँमा लिने मौखिक सहमति जनाएपछि एनएमबीले सोही दर प्रस्ताव गरेको थियो । तर कोषको सञ्चालक समितिले बैंकको यथास्थिती भन्दा बढी भएको भन्दै अस्वीकृत गरेपछि एफपीओको प्रक्रिया रोकिएको कोष स्रोतले बतायो । बुटबल पावर कम्पनी लिमिटेड (बीपीसी) को एफपीओ बढी मूल्य निर्धारण भएर बिक्री नभएपछि प्रत्याभूतिकर्ता मर्चेन्ट बैंकरले सकार्नुपरेको देखेपछि कोष सञ्चालक समितिले सो दरमा प्रत्याभूति गर्न नसक्ने भनेको हो । बीपीसीको ५५ करोड रुपैयाँ बराबरको एफपीओ बिक्री नभएपछि ८ वटा अण्डरराइटरले सकारेका थिए । ४२५ रुपैयाँ दर सञ्चालक समितिले अस्वीकृत गरेपछि कति दरमा गर्ने भन्ने विषयमा अझै सहमति जुटन नसकेको कोषे स्रोतको भनाई छ । चुक्तापूँजी न्युनतम् ८ करोड रुपैयाँ पुर्याउन बैंकले गत वर्षको जेठ २२ गते प्रिमियम मूल्यमा १ करोड १४ लाख १५ हजार १६३ कित्ता एफपीओ निष्कासन गर्न धितोपत्र बोर्डमा निवेदन दिएको थियो । एफपीओका लागि बैंक बोर्डमा गएको १ वर्ष पुगेको छ । बैंकले वार्षिक १५ प्रतिशत लाभांश दिने र सो बराबर लाभांश दिने बैंकको सेयर मूल्य ३०० रुपैयाँमा पाइने भन्दै सञ्चालक समितिले अस्वीकार गरेको स्रोतको भनाई छ । आउदो असारसम्म बैंकले न्युतम चुक्तापुँजी पुर्याउनु पर्ने छ । न्युनतम चुक्तापुँजी नपुगे निक्षेप संकलन, कर्जा लगानी, लाभांश वितरणमा प्रतिवन्ध लगाउने निर्देशन केन्द्रीय बैंकले जारी गरिसकेको छ । ८ अर्ब रुपैयाँ पुँजी नपुर्याउन वाणिज्य बैंकलाई केन्द्रीय बैंकले निगरानीमा राखेको छ । विषयमा नेपाल राष्ट्र बैंकको सञ्चालक समितिमा गम्भिर बहस शुरु भएको छ । बैंक अफ काठमाडौं, सिभिल बैंक, कुमारी बैंक, नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंक र एनएमबी बैंकको ८ अर्ब पुँजी पुगेको छैन । पुँजी नपुगेकै कारण उनीहरुलाई राष्ट्र बैंकले वार्षिक साधारणसभा गर्न अनुमति पनि दिएको छैन ।
सिन्धु विकास बैंकको ५ लाख ३५ हजार कित्ता संस्थापक हकप्रद लिलामीमा
काठमाडौं । सिन्धु विकास बैंकको संस्थापक हकप्रद सेयर लिलामी हुने भएको छ । बैंकको ५ लाख ३५ हजार ३०१ कित्ता हकप्रद सेयर बिक्री नभएपपिछ लिलामी प्रक्रियाबाट बेच्न लागिएको हो । खरिदका लागि बोलपत्र पेश जेठ ११ देखि सुरु भई २७ गतेसम्म तोकिएको छ । बोलपत्रका लागि आवेदन एनआईबीएल एस क्यापिटल लिमिटेडको लाजिम्पाट र लालदरबार, लगनखेल, चिप्लेढुङा, बुटलबल, बीरगञ्ज, र विराटनगरबाट पाइने छ । यस्तै नेपाल इन्भेष्टमेन्ट बैंकको सुर्खेत, नेपालगञ्ज, नारयणगढ र धनगढी शाखाबाट पाइने एनआईबीएल एसले जनाएको छ । बैंकले चुक्तापूँजी बढाउन गत भदौ १८ देखि कात्तिक ५ गतेसम्म बिक्री खुला गरेकोमा आवेदन नपरेको संस्थापक हकप्रद सेयर लिलामी गर्न लागेको हो ।
नविल ब्यालेन्स फण्ड १ खारेजीमा, बाँकी रहेका सेयर र ऋणपत्र स्वामित्व बोलकबोलबाट बिक्रीमा
काठमाडौं । नविल बैंकले नविल ब्यालेन्स फण्ड १ को स्वामित्वमा रहेको सेयर बिक्री गर्ने भएको छ । नविल कोष प्रवद्र्धक र नविल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड योजना व्यवस्थापक रहेको सामुहिक लगानी कोष (म्युचअल फण्ड) को गत चैत २९ गते परिपक्व भएकाले खारजीमा लैजान लागेको हो । परिपक्व भएको ३ महिनाभित्र इकाइ स्वामित्व खारेजीमा लैजानुअघि नगदमा प्ररिणत गरी सेयरधनीलाई फिर्ता दिने भएको छ । स्वामित्व बिक्रीका लागि आइतबारदेखि जेठ १३ गतेसम्म बोलपत्र पेश गर्न नविल इन्भेष्टमेन्टले भनेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा कारोबार भएका सबै इकाइ बिक्री भएको छ । यस्तै लगानीमा रहेका ऋणपत्र र डिबेञ्चरको समय अझै केही वर्ष बाँकी रहेकाले ब्यालेन्स फण्ड खारेजीमा जानुअघि बोलकबोलबाट बिक्री गर्न लागेको हो । सेयरको मूल्य प्रतिकित्ता १०० र ऋणपत्र न्युनतम १ हजार रुपैयाँ तोकिएको छ । हालै घोषित बोनस सेयर तथा सुचिकरण हुन बाँकी हकप्रद सेयर रहेको, केही सेयरहरुको बजारमा स्वच्छ र पर्याप्त माग नदेखिएको र केहीको मूल्य निर्धारण प्रक्रिया पुरा भइनसकेको र केहीको मर्जर प्रक्रियामा रहेर कारोबार रोक्का भएकाले यी सेयरलाई बोलकबोलबाट बिक्री गर्न लागेको नविल इन्भेष्टमेन्टले जनाएको छ । बोलकबोलबाट बिक्री गरेपछि सुचिकरण र कारोबार योग्य भएपछि खरिदकर्ताको नाम धितोपत्र नियमावलीअनुसार नामसारी गर्ने शर्तमा बिक्री गर्न लागेको नविलले जानकारी दिएको छ । नबिल ब्यालेन्स फण्ड आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड, मेगा बैंक, स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेड, सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्था, टुरिजम डेभलपमेन्ट बैंक, उन्नती माइक्रोफाइनान्स वित्तीय संस्था, सेञ्चुरी कमर्शियल बैंक, डिप्रोक्स डेभलपमेन्ट बैंक, फस्र्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक, हिमालयन बैंक र मितेरी डेभलपमेन्ट बैंकमा लगानी रहेको छ । यस्तै नेको इन्स्याुेरेन्स कम्पनी लिमिटेड,नेपाल सेवा लघुवित्त वित्तीय संस्था, नेरुड लघुवित्त वित्तीय संस्था, निर्धन उत्थान विकास बैंक, एनएलजी इन्स्योरेन्स कम्पनी, ओम डेभलपमेन्ट बैंक, आरएसडीसी लघुवित्त वित्तीय संस्था, समता माइक्रोफाइनान्स वित्तीय संस्था, सामुदायिक लघुवित्त, साना किसान विकास बैंक, साइन रेसुङा डेभलपमेन्ट बैंक, सिद्धार्थ बैंक र सुर्योदय लघुवित्त वित्तीय संस्थामा लगानी रहेको नविलले जनाएको छ । यस्तै ब्यालेन्स फण्ड ग्लोबल बैंक, लक्ष्मी बैंक, बीओके डिबेञ्चरमा पनि लगानी रहेको छ । एसबीएल ऋणपत्र, एभरेष्ट बैंक ऋणपत्र र सिटिजन्स बैंकको ऋणपत्रमा पनि लगानी रहेको छ । यी ऋणपत्रको परिपक्व हुन समय अझै लाग्ने भएपछि पछि हस्तान्तरण हुने गरे इकाई बोलकबोलबाट बिक्री गर्न लागेको हो ।
आउँदो ३ वर्षमा बिजुली उत्पादन ३ हजार मेगावाट पुग्दै, यी हुन् आयोजना
काठमाडौं । आउँदो ३ वर्षमा ३ हजार मेगावाट बिजुली पुग्ने भएको छ । सार्वजनिक र निजी साझेदारबाट झण्डै दुई दर्जन आयोजना सम्पन्न भई विद्युत उत्पादन ३ हजार मेगावाट पुग्ने भएको हो । ३ वर्षमा २ हजार मेगावाट बिजुली थप गरी सरकारले यो लक्ष्य पुरा गर्ने लागेको हो । हाल जडित क्षमता १ हजार १०० मेगावाट पुगेको छ । सरकार, नेपाल विद्युत प्राधिकरण र यसका सहायक कम्पनीहरु तथा निजी क्षेत्रबाट लक्ष्य पुरा हुनेछ । आउँदो ३ वर्षभित्र सम्पन्न हुन आयोजनामा राष्ट्रिय गौरवको ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजना रहेको छ । सम्पन्न हुन लागेको यो सबैभन्दा ठुलो आयोजना हो । यो आयोजना आउँदो आर्थिक वर्ष २०७५÷७६ भित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ । ३ वर्षमा विद्युत प्राधिकरणको लगानीमा ६० मेगावाटमा माथिल्लो त्रिशुली ३ ए, १४ मेगावाटको कुलेखानी तेस्रो र २५ मेगावाटको सोलार समेत गरी ९९ मेगावाट बिजुली थप हुने ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले जनाएको छ । विद्युत प्राधिकरणअन्तर्गतका यस्तै सहायक कम्पनीमार्फत १११ मेगावाटको रसुवागढी, ५७ मेगावाटको सान्जेन, १०२ मेगावाटको मध्यभोटेकोसी र ३७ मेगावाटको त्रिशुली ३ बी आयोजना सम्पन्न हुनेछन् । यस्तै निजी क्षेत्रबाट २५ मेगावाटको कावेली बी, २० मेगावाटको मोदी, २१ मेगावाटको तल्लो हेवाखोला, २२ मेगावाटको अपर चाकु ए, ४० मेगावाटको खानीखोला, २७ मेगावाटको दोर्दीखोला, ४२ मेगावाटको मिस्त्री खोलालगायत साना र ठुला गरी डेढ दर्जन आयोजना सम्पन्न हुनेछन् । यी आयोजना सम्पन्न भएपछि भारतबाट बिजुलीको आयात बन्द हुने छ । लोडसेडिङ् हटाउन भारतबाट ५०० मेगावाटसम्म बिजुली आयात भइरहेको छ । विद्युत क्षेत्रको समग्र विकास गरी देशलाई विद्युतमा आत्मनिर्भर बनाउन, देशभित्र खपत हुने ऊर्जाका अन्य स्रोतहरुलाई विद्युतीय ऊर्जाले विस्थापित गरी व्यापार घाटा कम गर्न, उत्पादित विद्युत ऊर्जाको आन्तरिक तथा बाह्य बजार विस्तार गर्न तथा आम जनतामा विद्युत ऊर्जाको पहुँच बढाउने सरकारको योजना छ । चालु आर्थिक वर्षमा ढेढ दर्जन आयोजना सम्पन्न भई १९४ मेगावाट बिजुली थप हुदैछ । आगामी वर्ष पनि ७०० मेगावाट बिजुली थप हुने विद्युत प्राधिकरणको अनुमान छ ।