पोखरा फाइनान्सका सीईओ गुरुङ्ले दिए राजीनामा, असार १० गतेबाट लागु हुने
काठमाडौं । पोखरा फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजकुमार गुरुङ्ले आफ्नो पदबाट राजीनामा दिएका छन् । गत जेठ ३ गते सम्पन्न कम्पनी सञ्चालक समितिको ४४७औँ बैठकले गुरुङ्ले दिएका राजीनामालाई स्वीकृत गरेको छ । बैठकले आगामी असार १० गतेबाट लागु हुने गरी गुरुङ्को राजीनामालाई स्वीकृत गरेको कम्पनी सचिव नारायणप्रसाद शर्माले बताएका छन् ।
समयमै काम नसक्ने काठमाडौंका २४ ठेकेदारलाई अत्यन्त जरुरीपत्र, ३ दिनमा विवरण नआए पक्राउ गर्ने
काठमाडौं । काठमाडौंमा विभिन्न आयोजनाको काम गरिरहेका २४ ठेकेदारलाई अत्यन्त जरुरी पत्र काटिको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौँले ३ दिनभित्र आयोजनाको कामबारे विस्तृत विवरण पठाउन निर्देशन दिएको हो । सहायक प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जिल्लाका २४ विकास निर्माणका आयोजना प्रमुखलाई आज पत्र काटिएको बताए । ‘हामीले गृहमन्त्रालयको निर्देशन अनुसार २४ ठेकेदाारलाई जरुरी पत्र काटेका छौं, ३ दिनभित्र आयोजनाको विवरण नआए ठेकेदारलाई पक्राउ गर्छौ,’ घिमिरेले विकासन्युजसँग भने । सडक डिभिजन कार्यालय, भवन डिभिजन कार्यालय, सिँचाइ डिभिजन, काठमाडौं उपत्यका खानेपानी लिमिटेडसहित ११ स्थानीय तहमा आज पत्र पठाइएको छ । बिहीबार गृह मन्त्रालयले भवन, सडक तथा पुल निर्माणको ठेक्का लिएर लापरवाही ढंगले काम गर्ने र ठेकेदारको सूची बनाएर एक हप्ताभित्र पठाउन देशभरका जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेपछि काठमाडौँ कार्यालयले सम्बन्धित आयोजनाबाट कामको प्रगति विवरण माग गरेको हो । निर्माणको ठेक्का लिएर समयमा काम सम्पन्न नगर्ने तथा सम्पन्न गरेका काम पनि कमसल हुने गरेको गुनासो बढ्दै गएपछि मन्त्रालयले जिल्लास्तरमा सञ्चालित विकास निर्माण, सबै आयोजना, परियोजनाको अनुगमन गरी विवरण संकलन गर्ने, समयमै कार्य सम्पन्न नगर्ने फार्म, ठेकेदारको ठेगाना, सम्पर्क नम्बरसमेतका विवरण एक हप्ताभित्र पठाउन निर्देशन दिएको हो ।
मर्चेन्ट बैंकरको दबावमा एफपीओको मूल्य घटाउँदै नेपाल बैंक, ३१० कि २८० ?
काठमाडौं । मर्चेन्ट बैंकरहरुको दबावमा नेपाल बैंकले थप निष्कासन (एफपीओ)को मूल्य आफँैले घटाउन लागेको छ । मर्चेन्ट बैंकरहरु मिलेर प्रतिकित्ता २८० रुपैयाँमा एफपीको प्रत्याभूति (अण्डरराइटिङ) दवाव दिएपछि नेपाल बैंकले बिहीबार पुनः दोस्रो पत्र पठाइ उनीहरुसंग नयाँ दररेट मागेको हो । यसअघि गत बैंशाख २१ मा प्रस्ताव आव्हान गर्दा सीबीआईएल क्यापिटल लिमिटेडले कमिशन र शुल्क कटाएर २९७ मा अण्डराइटिङ गर्न प्रस्ताव गरेको थियो । शुल्क, कमिशन हटाउँदा एफपीओको मूल्य प्रतिकित्ता ३१० रुपैयाँ हुन्छ । सिद्धार्थ क्यापिटल लिमिटेडको अगुवाइमा मर्चेन्ट बैंकरले प्रतिकित्ता २८० रुपैयाँ भन्दा बढीमा अण्डरराइटिङ नगर्ने अडान लिएपछि घटाउनका लागि दोस्रो पटक प्रस्ताव मागेको बैंक स्रोतले बतायो । सिद्धार्थको अगुवाइमा अहिले एउटै प्रस्ताव बनाएर बैंकमा पेश गर्ने तयारी भएको स्रोतले जानकारी दियो । प्रतिकित्ता ३१० रुपैयाँसम्ममा किन्ने प्रस्ताव गरेको सीबीआईएलले एफपीओको मूल्य घटाउन कार्टेलिङमा भाग लिन नमानेको स्रोतको भनाई छ । धितोपत्र बोर्डले निर्धारण गरेकोे बैंकको पुँजीकृत भएको आम्दानी, प्रति सेयर खुद सम्पत्तिको बजार मूल्य, १८० दिनको औसत बजार मूल्य र भविष्यमा प्राप्त हुने नगद प्रवाहको वर्तमान मूल्य समेतलाई आधार मान्दा बैंकको एफपीओको मूल्य प्रतिकित्ता ३१० हुने स्रोतले बतायो । बैंकले प्रस्ताव गर्दा सोही दरमा १०० प्रतिशत अण्डरराइटिङ गर्न भनेपछि बैंकले मर्चेन्ट बैंकसंग प्रस्ताव मागेको थियो । बोर्डले नै सोही दरमा १०० प्रतिशत अण्डरराइटिङ गर्न भनेपछि उसले स्वीकार गरेको स्रोतको भनाई छ । यद्यपी औपचारिक रुपमा स्वीकृति भने दिन बाँकी छ । साधारण सेयर (आईपीओ) को ५० प्रतिशत मात्र अण्डरराइटिङ गरे पुग्छ । तर एफपीओको भने सीमा तोकिएको छैन् । सीबीआईएलले ४ प्रतिशत कमिशन शुल्क घटाउँदा प्रतिकित्ता २९७ रुपैयाँमा एफपीओ अण्डरराइटिङ गर्ने भनेको छ । सीबीआईएलको भन्दा कम मूल्यमा एफपीओको प्रत्याभूति गर्न नपाइने बैंक स्रोतको भनाई छ । बैंकको एफपीओ निष्कासन तथा बिक्री प्रवन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड नियुक्त भएको छ । बैंकले चुक्तापुँजी बढाउन १ अर्ब ७६ करोड ८४ लाख रुपैयाँको एफपीओ निष्कासन गर्न लागेको हो । एफपीओ निष्कासनपछि चुक्तापुँजी बढेर ९ अर्ब ८१ करोड ११ लाख रुपैयाँ पुग्ने छ । गत फागुन २५ गते सम्पन्न बैंकको ५८औं वार्षिक साधारणसभा पुँजीगत रुपमा अझ मजबुत बन्नका लागि एफपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरिसकेको छ । बैंकमा सरकारको ५१ र सर्वसाधारणको ४९ प्रतिशत स्वामित्व हुने गरी एफपीओ सेयर संरचना सभाले पारित गरेको छ । एफपीओ निष्कासनपछि बैंकमा सरकारको ५१ र सर्वसाधारणको ४९ प्रतिशत स्वामित्व रहनेछ । बैंकले गत चैतसम्म २ अर्ब ५६ करोड ७७ लाख रुपैयाँ खुदनाफा गरेको छ ।
देशभर बन्दैछन् ४० नयाँ विमानस्थल, २ अर्ब ९४ करोड सक्न काम धमाधम
काठमाडौं । आर्थिक वर्ष सकिन लाग्दा देशभरका निर्माणाधिन विमानस्थलको काम धमाधम भैरहेका छन् । ४० विमानस्थलमा ९६ थरी विभिन्न काम भैरहेका हुन् । देशभरको विमानस्थलमा फरक प्रकृतिको काम भैरहेको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता विरेन्द्र प्रसाद श्रेष्ठले बताए । निर्माण भैरहेका ४० विमानस्थलमा ९६ प्रकृतिका कामहरु भैरहेका छन्, केहि आन्तरिक विमानस्थलहरु निर्माण सम्पन्न हुन लागेको प्रवक्ता श्रेष्ठले जानकारी दिए । अहिले देशभर २ अन्तराष्ट्रिय विमानस्थल, १ क्षेत्रिय विमानस्थल र ३७ आन्तरिक उडान गर्ने विमानस्थलमा काम भैरहेका छन् । गुल्मीको रेसुङगा, अछामको साँफे बगर, राजविराज र इलामको सुकिलम्बा यहि जेठमा परिक्षण उडान हुने तयारीमा रहेका छन् । यसैगरी अर्घाखाँची विमानस्थल, गुल्मी, इलाम सुकिलम्बा, कालीकोट, कमल बजार, खिजी चण्डेश्वरी र लम्पुङ विमानस्थलको काम तिब्र गतिमा भैरहेका छन् । यस्तै बाजुरा, भरतपुर, भोजपुर, विराटनगर, चन्द्रगढी, दाङ, डोल्पा, धनगढी, गौतम बुद्ध, जनकपुर, जोमसोम, जुम्ला, खानीदण्ड, मनाङ, नेपालगञ्ज, फाप्लु, पोखरा, रामेछाप, रुकुम चौरजाहारी, रुकुम साल्ली, रुम्जाटार, रारा, सिमरा, सिसमकोट, सुर्खेत, तालेजुङ, तेङजिङ हिलारी, त्रिभुवन विमानस्थल, र तुम्लिङटार विमानस्थलको काम भैरहेका हुन् । गत आर्थिक वर्षमा ३९ विमानस्थलका लागि २ अर्ब ९४ करोड बजेट बिनियोजन भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । आगामी आर्थिक वर्षमा यो भन्दा धेरै बजेट आवश्यक पर्ने श्रेष्ठले बताए । अहिले प्राधिकरणले देशभरको विमानस्थलको आगामी वर्ष अवश्यक पर्ने बजेटको तथ्याङक संकलन गरिरहेको छ । काभ्रेको नागीडाडा विमानस्थलको पनि काम शरु त्रिभुवन विमानस्थलबाट आन्तरिक उडान अलग गर्ने विकल्पको रुपमा काभ्रेको नागीडाडामा विमानस्थल निर्माणको प्रक्रिया शुरु भएको छ । नागिडाडामा विमानस्थल निर्माणको लागि वातावरणिय प्रभाव मुल्याङकनको काम शुरु हुन लागेको प्राधिकरणका सूचना अधिकृत त्रिलोचन पौडेलले जानकारी दिए । नागीडाडा विमानस्थलको लागि सामान्य भन्दा धेरै खर्च लाग्ने इन्जिनियरहरुले अनुमान गरेका छन् । काम अवरोध नभए ५ वर्षभित्रै विमानस्थल निर्माण सम्पन्न हुने प्रवक्ता श्रेष्ठले बताए । यो विमानस्थल निर्माण सम्पन्न गन १० अर्ब भन्दा बढी खर्च लाग्ने अनुमान गरिएको छ । गौतम बुद्ध विमानस्थल २०१९ भित्र सम्पन्न हुने दोस्रो अन्तराष्ट्रिय विमानस्थलको रुपमा हेरिएको गौतम बुद्ध विमानस्थलको काम सन् २०१९ सम्ममा सम्पन्न हुनेछ । अहिले विमानस्थलमा भवन निर्माण लगायतका कामहरु भैरहेका छन् । देशको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा चिनिन लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ४० प्रतिशत काम सकिएको छ । विमानस्थलको आगामी असार सम्ममा पीच भैसक्ने विमानस्थल आयोजनाका प्रमुख ओमनारायण शर्माले बताए । ‘विमानस्थलको अहिले उच्च गतिमा काम भैरहेको छ । निर्माणाधिन भवनमा अहिले छाना राख्न लागिएको छ । धावनमार्गको ५ चरणको काम मध्ये अर्दन पेमेन्ट, मिक्स ग्राभेल, रिभर बेस म्याटिरीयलको काम सकिसकेको छ भने अहिले एलिग्रेड बेस लेयरको काम भैरहेको छ । तीन किलोमिटर लामो धावनमार्गमा एलिग्रेड बेसको काम सकिन २ महिना लाग्नेछ । त्यसपछि अन्तिम चरणको बिटामिन लेयरको काम शुरु हुनेछ । बिटामिन लेयरको काम सकिन करिब ४ महिना लाग्नेछ । विमानस्थलको धावनमार्ग पिच भैसकेपछि सन् २०१९ को अन्त्यसम्ममा सबै काम सकिने आयोजना प्रमुख शर्माले बताए ।
शुक्रबार मात्रै ९ कम्पनीको २ करोड ९० लाख सेयर सूचिकृत, सबैभन्दा बढी हकप्रद
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा विभिन्न ९ वटा बैंक तथा वित्तीय संस्थाको २ करोड ९० लाख ५२ हजार ५३ कित्ता सेयर सूचिकृत भएका छन् । उक्त विभिन्न कम्पनीको बोनस र हकप्रद गरी शुक्रबार(एकैदिन) मात्र सो मात्राको सेयर सूचिकृत भएको हो । त्यसमध्ये सबैभन्दा बढी हकप्रद सेयर थपिएका छन् । २ कम्पनीको गरी २ करोड २१ लाख ८३ हजार कित्ता सेयर नेप्सेमा सूचिकृत भएका छन् । हकप्रद सेयर सूचिकृत गर्नेमा पोखरा फाइनान्स र प्रभु बैंक लि. रहेका छन् । त्यस्तै, कूल सूचिकृत सेयर मध्ये विभिन्न ७ कम्पनीको ६८ लाख ६९ हजार कित्ता बोनस सेयर नेप्सेमा थपिएका छन् । जसमध्ये सबैभन्दा बढी शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको २७ लाख ५७ हजार २३१ कित्ता बोनस सेयर रहेको छ ।
२० वर्ष पुराना गाडी हटाउनेबारे पुर्नविचार हुन्छ: मन्त्री महासेठ
काठमाडौं । यातायातमन्त्री रघुविर महासेठले २० वर्ष पुराना गाडीलाई पुन सञ्चालनमा ल्याउने बताएका छन् । २० वर्ष पुराना गाडी चलाउन पाउनु पर्ने व्यवसायीको मागलाई सम्बोधन गर्दै यस विषयमा पुन विचार गर्ने बताएका हुन् । महासेठले २० वर्ष पुराना सवारी साधन हटाउने विषयमाआफूले पुनःविचार गर्ने बताए । “२० वर्ष पुराना गाडी हटाउने निर्णयका विषयमा हामी गम्भीर छौँ, चाँडै नै नयाँनीति बनाउँछौँ ।”उनले भने । यद्यपी पुराना गाडी कुनै न कुनै दिन हटाउनै पर्नेउनको तर्क छ । यसअघि नेपाल राष्ट्रिय यातायात सर्वोच्च महासंघले २० वर्ष पुराना गाडीले प्रदुषणको मापदण्ड पास गरे सञ्चालन गर्न पाउनु पर्ने र नयाँ सवारी खरिदमा करछुट दिनुपर्ने माग गरेका थिए ।
मार्जिन ट्रेडिङ कार्यविधि पास, जेठदेखि कारोबार सुबिधा, बढ्ला त सेयर बजार ?
काठमाडौं । नेपाल धितोपत्र बोर्डले मार्जिन ट्रेडिङ कार्यविधि पास गरेको छ । बिहीबार धितोपत्र बोर्ड सञ्चालक समितिले कार्यविधि पारित गरेको बोर्डका सहायक प्रवक्ता निरञ्जय घिमिरेले बताए । कार्यविधि पास भएसँगै आगामी जेठ महिनाभत्रै योग्यता पुगेका ब्रोकरहरुले मार्जिन कारोबार गर्न सक्ने भएका छन् । उक्त कार्यविधि तत्काल कार्यान्यनमा ल्याउन बाेर्डले जेठ ३ गते नै नेप्सेलाई निर्देशन दिएको छ । बाेर्डको निर्देशन बमोजिम नेप्सेले छिट्टै उक्त कार्यविधि कार्यान्वयनमा ल्याउने र सोबाट धितोपत्रको दोस्रो बजारमा नयाँ अध्याय थपिने बोर्डको विश्वास छ । दक्षिण एसियाका कतिपय मुलुकहरुमा समेत कार्यान्वयनमा आइनसकेको यो सुविधाबाट दोस्रो बजारको तरलतामा अभिबृद्धि हुने, लगानीकर्ताहरुलाई शेयर खरिद बिक्री गर्न थप सहज हुने तथा धितोपत्र व्यवसायको दायरा समेत फराकिलो हुनगई धितोपत्र कारोवार बढी गतिशिल हुन मद्दत पुग्ने बोर्डको अपेक्षा रहेको छ । मार्जिन ट्रेडिङको सुबिधाले सेयर बजारको विकास र स्थायीत्वमा सहयोग पुग्ने अनुमान गरिएको छ । तर मार्जिन कारोबार सम्बन्धी निर्देशन अनुसार थोरै ब्रोकर कम्पनीले मात्रै यो सुबिधा दिन सक्ने सेयर ब्रोकरहरुको भनाई छ । अन्तर्राष्ट्रिय मूल्य र मान्यता अनुरुप लगानीकर्तालाई मार्जिन कारोवार सुविधा उपलब्ध गराउने तथा धितोपत्र दलाल व्यवसायीको कार्यक्षेत्र विस्तार गर्ने उद्देश्यले बोर्डले मार्जिन कारोवार सुविधा सम्बन्धी निर्देशन २०७४ र कार्यविधि २०७५ जारी गरेको बोर्डले जनाएको छ ।
एनआईसी एशियाले ल्यायो कृषि तथा पर्यटन व्यवसाय कर्जा, ५ प्रतिशत व्याज अनुदान दिने
काठमाडौं । एनआईसी एशिया बैंकले हालै ‘कृषि ब्यवसाय कर्जा’ र ‘पर्यटन व्यवसाय कर्जा’ योजना सार्वजनिक गरेको छ । बैंकले कृषि तथा पर्यटन क्षेत्रमा लगानी बढाई यस क्षेत्रलाई सबल बनाउने उद्देश्यले उक्त योजना सार्वजनिक गरेको हो । कृषि तथा पर्यटन क्षेत्रमा स्व–व्यवसायलाई थप प्रबद्र्धन तथा भएको व्यवसायलाई विस्तार गर्ने योजना बनाईरहेका व्यवसायीहरुलाई साथ दिने उद्देश्यले बैंकले यो योजना ल्याएको र यस योजनाले कृषि तथा पर्यटन व्यवसाय बृद्धिमा थप टेवा पुर्याउने विश्वास लिएको छ । व्यवसायीक कृषि क्षेत्रमा निर्धारण गरिएको मापदण्ड पुरा गरेका कृषि उद्यमीलाई नेपाल सरकारको नीति बमोजिम ५ प्रतिशत व्याज अनुदानको लागि आवश्यक व्यवस्था मिलाउनुका साथै शुन्य प्रशासनिक शुल्कमा कर्जा प्रवाह गरिने यस योजनाबाट कृषि उद्यमीलाई आफ्नो व्यवसाय विस्तारमा लाभ पुगि मुलुकको कृषि क्षेत्रको विकासमा थप टेवा पुग्ने विश्वास बैंकले लिएको छ । उपरोक्त व्यवसायीक कृषि क्षेत्रमा निर्धारण गरिएको मापदण्ड भित्र नपर्ने कृषि तथा पर्यटन व्यवसायीहरुलाई समेत यस बैंकले सुलभ ब्याजदरमा कर्जाको व्यवस्था गरेको र सो बाट सम्पुर्ण कृषि तथा पर्यटन व्यवसायी लाभान्वित हुने बैंकको विश्वास छ ।