विकासन्युज

नेशनल लाइफ इन्स्योरेन्सलाई ६० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेशनल लाइफ इन्स्योरेन्सलाई ६० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको छ । बोर्डले शुक्रबार(आज) ९९ करोड ३६ लाख रुपैयाँ बराबरको ९९ लाख ३६ हजार कित्ता सेयर निष्कासन गर्न अनुमति दिएको हो । कम्पनीले अंकित मूल्य १०० रुपैयाँको सो मात्राको सेयर बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलमार्फत निष्काशन गर्ने भएको छ । इन्स्योरेन्सले चुक्तापुँजी बढाउन साविका सेयरधनीलाई हकप्रद निष्कासन गर्न लागेको हो । हाल कम्पनीको चुक्तापूँजी एक अर्ब ६६ करोड ४१ लाख रुपैयाँ रहेको छ । ६० प्रतिशत हकप्रद पश्चात कम्पनीको पुँजी २ अर्ब ६६ करोड रुपैयाँ नाघ्ने छ । पछिल्लो समय कम्पनीको सेयर मूल्य प्रतिकित्ता १३८६ रुपैयाँ रहेको छ ।

ईटहरीमा टाटा मोटर्सकाे कार मेला शुरु, निःशुल्क टेस्ट ड्राइभ गर्न सकिने

काठमाडौं । टाटा मोटर्सको ‘टाटा मोटर्स कार मे सिजन थ्री’ शुक्रबार(आज)बाट ईटहरीको ओसन पार्कमा शुरु भएको छ । उक्त मेला आजदेखि पर्सी(अर्थात जेठ ६ गते)सम्म बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म संचालन हुनेछ । नेपालका लागि एकमात्र आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा.लि. र सिप्रदी ट्रेडिङ्ग प्रा.लि.कालागि आधिकारिक वितरक ग्लोबल अटो ट्रेडर्सको संयुक्त सहकार्यमा उक्त मेलाको आयोजना गरिएको हो । यस कार मेलाले हरेक वर्ष ग्राहक तथा दर्शकहरुबाट धेरैभन्दा धेरै सकारात्मक प्रतिक्रियाहरु पाइरहेको छ । यस मेलामार्फत ग्राहकहरुले आकर्षक अफरहरुका साथ टाटाका कारहरु खरिद गर्ने गर्दछन् । यस वर्ष टाटा कार मेलाका मुख्य आकर्षणहरुमा टाटा प्यासेन्जर गाडीहरुको बृहत प्रदर्शनी, टेस्ट ड्राइभ, एक्स्चेन्ज र अन द स्पट फाइनान्स सुविधा, वाटर स्लाइड, स्विमिङ्ग पुल, रेन डान्स, वेभ पुल, नेल आर्ट, फेस पेन्टिङ्ग, फोटोसुट, फुड स्टल लगायत विभिन्न साङ्गितिक एवं मनोरञ्जनात्मक कार्यक्रमहरु रहेका छन् । साथै, उक्त मेलामा टाटा मोटर्सद्धारा टाटा नेक्सन कारको बृहत प्रदर्शनी तथा टेस्ट ड्राइभ गर्न सकिने कम्पनीले जानकारी गराएको छ । यस मेलामा सम्पूर्ण दर्शकहरुका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको कम्पनीले बताएको छ ।

अघि बढ्यो नागढुंगा-धुलिखेल मेट्रो रेलः विस्तृत सम्भाव्यता अध्ययनका लागि ग्लोबल टेण्डर

काठमाडौं । काठमाडौं उपत्यकामा मेट्रो रेल निर्माण सम्बन्धी प्रक्रिया औपचारिक रुपमै अघि बढेको छ । लगानी बोर्डले काठमाडौंको नागढुंगादेखि काभ्रेको धुलिखेलसम्म ४५ किलोमिटर लामो मेट्रो रेलको विस्तृत सम्भाव्यता अध्ययनका लागि ग्लोबल टेण्डर आव्हान गरेको हो । तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षमा २०७४ कात्तिक २७ गते बसेको लगानी बोर्डको बैठकले नागढुंगादेखि धुलिखेलसम्म ४५ किलोमिटर लामो मेट्रो रेल निर्माणका लागि विस्तृत सम्भाव्यता अध्ययन र विस्तृत आयोजना प्रतिवेदन(डीपीआर) बनाउने निर्णय गरेको थियो । बोर्डले सोही निर्णयका आधारमा बिहिबार विस्तृत सम्भाव्यता अध्ययनका लागि ग्लोबल टेण्डर निकालेको हो । आगामी तीन साता भित्र विस्तृत सम्भाव्यता अध्ययनका लागि इच्छुक कम्पनीहरुले प्रस्ताव बुझाउनुपर्नेछ । बोर्डले विस्तृत सम्भाव्यता अध्ययन र विस्तृत आयोजना प्रतिवेदन(डीपीआर) बनाउने जिम्मा पाएको छ ।  लगानी बोर्डले नै गठन गरेको राािष्ट्रय योजना आयोगका पुर्वाधार हेर्ने तत्कालिन सदस्य हिरेन्द्रमान प्रधान नेतृत्वको कार्यदलले पहिलो चरणमा नागढुंगा कलंकी कोटेश्वर धुलिखेल मेट्रो रेल बनाउन सकिने सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा बोर्डले ग्लोबल टेण्डर निकालेको हो । विस्तृत सम्भाव्यता अध्ययन र डीपीआर तयार भैसकेपछि लगानी बोर्डकै अगुवाईमा निर्माण, सञ्चालन र हस्तान्तरण(बुट) मोडलमा अन्तराष्ट्रिय कम्पनीको खोजि हुनेछ । लगानी बोर्डका प्रवक्ता उत्तमभक्त वाग्लेले पहिलो चरणमा नागढुंगा कलंकी कोटेश्वर धुलिखेल खण्डमा मेट्रो रेल निर्माण प्रक्रिया अघि बढाउने र दोश्रो चरणमा बुढानिलकण्ठ सातदोबाटो हुँदै फास्ट ट्रयाक स्टेशनसम्म अर्काे लाइन निर्माण गरिने बताए । मेट्रो रेलको प्रति किलोमिटर लागत ४ अर्ब हुने प्रक्षेपण गरिएको छ । यसको कल लागत १८० अर्ब पुग्नेछ । जमिनमाथी पुल निर्माण गरेर मेट्रो रेल सञ्चालन गरिनेछ । ‘एलेटेटेड ट्रयाक(पुल) माथी रेल गुडाउने प्रबिधी अन्तर्गत मेट्रो रेलको निर्माण गर्न लागिएको हो’, वाग्लेले भने । मेट्रो रेलहरु व्यवसायीक रुपले सञ्चालन गर्न कठिन हुनेगरेको छ । त्यसैले मेट्रो रेल सञ्चालनको जिम्मेवारी पाउने कम्पनीलाई नेपाल सरकारले केहि अनुदान वा सहुलियतको सुबिधा उपलब्ध गराउनेछ । ‘मेट्रो रेल निर्माण, सञ्चालन र हस्तान्तरण मोडलमा अघि बढ्छ, त्यसका लागि निर्माण कर्ता कम्पनीलाई केहि अनुदान वा सहुलियत प्रदा गर्नेछ, त्यसको मोडालिटी कस्तो हुने भन्नेबारे भने बोर्डले थप अध्ययन गर्नेछ ।’, वाग्लले भने । उपत्यकामा मेट्रो रेल निर्माणका लागि कोरियाली, जापानी तथा केहि चिनियाँ कम्पनीहरुले इच्छा देखाएका छन् । उनीहरुले केहि बर्ष पहिले नै मेट्रो रेल निर्माणका लागि भन्दै रेल विभागमा आसय पत्र बुझाएका थिए ।

ज्योति विकास बैंकको एक्सटेन्सन काउन्टर सुर्खेतको विद्यालयमा

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले सुर्खेत स्थित जन माध्यामिक विद्यालयमा एक्सटेन्सन काउन्टर विस्तार गरेको छ । उक्त काउन्टरको उद्घाटन विरेन्द्रनगर नगरपालिका वडा नं ६ का वडा अध्यक्ष मोतीप्रसाद कडेल तथा बैंकका अध्यक्ष हरिचन्द्र खड्काले संयुक्त रुपमा गरेका छन् । यसका साथै, बैंकको निकट भविष्यमा नै ९ वटा नयाँ शाखा र ८ वटा नयाँ एटिएम संचालनमा ल्याउने लक्ष्य रहेको छ । हालै बैंकले आफ्नो रेमिट सेवा ज्योति रेमिट पनि संचालनमा ल्याएको छ । हाल बैंकले ५० वटा शाखा एवं १४ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आएको छ ।

‘माहेश्वरी अन्तर्राष्ट्रिय समागम’ जेठ ५ गतेदेखि शुरु

काठमाडौं । अखिल भारत वर्षीय माहेश्वरी महासभाको २८औं सत्रको पंचम कार्य समिति बैठक “माहेश्वरी अन्तर्राष्ट्रिय समागम” जेठ ५ गतेदेखि शुरु हुने भएको छ । उक्त समागम माहेश्वरी सदन काठमाडौंको नक्साल, कमलपोखरीमा ६ गतेसम्म हुने भएको छ । उक्त कार्यक्रमको उद्घाटन संघीय गणतन्त्र नेपालका उपराष्ट्रपति नन्दबहादुर पुनले गर्ने भएका छन् । उक्त समारोहको विशिष्ट अतिथिमा मित्र राष्ट्र भारतका राजदुत मंजीव सिंह पुरी, नेपाल राष्ट्रिय मारवाडी परिषदका अध्यक्ष पवनमित्तल र अखिल भारत वर्षीय माहेश्वरी महासभाका सभापति श्याम सुन्दर सोनी रहेका छन् । नेपाल माहेश्वरी परिषद (नेपाल चैप्टर)को संयोजन र माहेश्वरी समाज काठमाडौंको आतिथ्यतामा “माहेश्वरी अन्तर्राष्ट्रिय समागम” सुसम्पन्न हुने भएको छ । उक्त कार्यक्रम अखिल भारत वर्षीय माहेश्वरी महासभाको कार्य समितिको नियमित बैठक अन्तर्गत २८औं सत्रको पाँचौ कार्यसमिति बैठकको रुपमा हुन गइरहेको छ । साथै, कार्यक्रमको प्रमुख उद्देश्य विश्वभर रहेका माहेश्वरी बन्धुहरुलाई एकै छाता मुनी संगठीत गराउनु रहेको संगठनले जनाएको छ ।

एनएडीईपी लघुवित्तले ३० प्रतिशत आईपीओ निष्काशन गर्ने, पायो बोर्डको अनुमति

काठमाडौं । एनएडीईपी लघुवित्त वित्तीय संस्था लिमिटेडले ३० प्रतिशत आईपीओ निष्काशन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले शुक्रबार मात्रै यस संस्थालाई अंकित मूल्य १००को ४ लाख ८० हजार कित्ता आइपीओ निष्काशन गर्न अनुमति दिएको हो । बोर्डले दिएको अनुमति अनुसार संस्थाले चार करोड ८० लाख रुपैयाँकाे आइपीओ निष्कासन गर्ने भएको छ । सो मात्राको आईपीओ निष्कासन गर्न कम्पनीको धितोपत्र निष्काशन तथा कम्पनीको बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ् लिमिटेड रहेको छ ।

करको दर र दायरा बढाउन अर्थमा तीन वटा गोप्य समूह सक्रिय, कहाँ कहाँ बढ्दैछ ?

काठमाडौं । कार्यभार सम्हाल्दा नै अर्थतन्त्रको मुहान सफा गर्ने घाेषणा गरेका अर्थमन्त्री डा. युवराज खतिवडाले तीन वटा गोप्य समूह बनाएर अध्ययन तीब्र पारेका छन् । आगामी आर्थिक बर्षको बजेट निर्माणमा जुटेका अर्थमन्त्री डा. खतिवडाले तीन वटा गोप्य समूह बनाएर करको दर र दायरा वृद्धिबारे व्यापक अध्ययन थालेका हुन् । ‘बिभिन्न समूहहरु गठन गरेर करको दर र दायरा बढाउने बारे विस्तृत अध्ययन भैरहेको छ, आ-आफ्नो क्षेत्रका विज्ञहरुले क्षेत्रगत काम गरिरहनु भएको छ’, अर्थमन्त्रालय उच्च श्रोतले भन्यो । अर्थमन्त्रालयले भन्सार विन्दुमा कडाईको उपाय, करका नयाँ क्षेत्र पहिचान, दर बढाउन सकिने क्षेत्रबारे अध्ययन गर्न छुट्टा छुट्टै समूह बनाएको हो । अत्यन्त गोप्य रुपमा अध्ययनको काम भैरहेको अर्थमन्त्रालय श्रोतले बतायो । ‘संघियता कार्यान्वयन र बामपन्थी सरकारको घोषणा पत्रका महत्वकांक्षी विकासे योजना अघि बढाउन राजश्व संकलनको आधार बढाउनै पर्ने बाध्यता छ, त्यसका लागि अनौपचारिक अर्थतन्त्र नियन्त्रणको उपाय खोजी भैरहेको छ’, श्रोतले भन्यो । अर्थतन्त्रको मुहान सफा गरिन्छ, निजी क्षेत्रले जिम्मेवार करदाताको भूमिका निभाओस्-अर्थमन्त्री अब मेन पावर व्यवसायी, जग्गा दलाल, शैक्षिक परामर्श दिने कन्सल्टेन्सी, वकिलको फर्म, इञ्जिनियरिङ फर्म, सञ्चार माध्यमहरुलाई करको दायरामा ल्याउने तयारी थालेको श्रोतले बताएकाे छ । भन्सारमा हुने चुहावट नियन्त्रण, न्युन बिजिकरण, भ्याटको सफल कार्यान्वयन, आयकरको दायरा विस्तार, अन्तशुल्कको स्टिकर लगायतका क्षेत्रमा व्यापक कडाई गर्ने तयारी अघि सारेको छ । हरेक घन्टा मेरो आँखा भन्सार बिन्दुमा पुगेको छ, त्यहाँको गतिविधी सीसी टीभीबाट हेरिरहेको छु : अर्थमन्त्री खतिवडा प्रा.डा. मदन कुमार दाहालले २५ प्रतिशत आयातलाई मात्रै विद्यमान कर प्रणालीले फेला पार्ने गरेको बताए । ‘आयातको २५ प्रतिशत समानलाई मात्रै भन्सारले ट्रयाक गर्छ, अब आफैं बुझ्नुस् हाम्रो अर्थतन्त्र कस्तो छ ?’, प्रा.डा. दाहालले भने । अर्थमन्त्रालयको राजश्व महाशाखाका प्रमुख रामशरण पुडासैनीले संघियताको कार्यान्वयन र नागरिकको तीब्र विकासको आकांक्षा पुरा गराउन करको दायरा फराकिलो बनाउनुपर्ने अवस्था रहेको बताए । ‘हामी अथाह दायित्व बोकेर बसेका छौं, खर्च बढेको छ र विकासको महत्वकांक्षा पनि थपिएको छ, यस्तो अवस्थामा राजश्वको दायरा व्यापक बढाउनुपर्ने चुनौती छ’, राजधानीमा आयोजित एक कार्यक्रममा पुडासैनीले भनेका थिए ।

पोखरा फाइनान्सका सीईओ गुरुङ्ले दिए राजीनामा, असार १० गतेबाट लागु हुने

काठमाडौं । पोखरा फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजकुमार गुरुङ्ले आफ्नो पदबाट राजीनामा दिएका छन् । गत जेठ ३ गते सम्पन्न कम्पनी सञ्चालक समितिको ४४७औँ बैठकले गुरुङ्ले दिएका राजीनामालाई स्वीकृत गरेको छ । बैठकले आगामी असार १० गतेबाट लागु हुने गरी गुरुङ्को राजीनामालाई स्वीकृत गरेको कम्पनी सचिव नारायणप्रसाद शर्माले बताएका छन् ।