बिपी राजमार्गमा १८ भन्दा बढी सिट क्षमताका सवारी सञ्चालनमा रोक
सिन्धुली । बिपी राजमार्गमा १८ भन्दा बढी सिट क्षमता भएका यात्रुवाहक र १० टन भन्दा बढी वजन भएका मालवाहक सवारीसाधन बाहेक अन्यलाई सञ्चालनमा रोक लगाइएको छ । सडक सुरक्षा र सुरक्षित यात्रालाई मध्यनजर गर्दै नियम विपरित सञ्चालन हुदै आएको त्यस्ता सवारी साधनलाई कारवाही गर्ने जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । बिपी राजमार्गमा २ हजार एमएम भन्दा बढी ह्लिवेस भएका र १८ भन्दा बढी सिट क्षमता भएका यात्रुवाहक सार्वजनिक सवारी साधनलाई सञ्चालनमा रोक लगाइएको सिन्धुलीका प्रहरी उपरीक्षक रामेश्वरप्रसाद यादवले जानकारी दिए। १८ सिट भन्दा बढी क्षमता भएका सवारी साधन सञ्चालनका लागि यातायात व्यवस्था कार्यालयबाट इजाजत लिनुपर्ने अन्यथा सञ्चालन गर्न नदिने उनले जानकारी दिए। यसैगरी, १० टन भन्दा बढी वजन भएका मालबाहक सवारी साधनलाई पनि सञ्चालनमा रोक लगाइएको छ, प्रहरी उपरीक्षक यादवले भने, “सार्वजनिक निर्माण कार्यमा प्रयोग हुने हेभी इक्युपमेन्ट तथा निर्माण सामग्री ढुवानी गर्ने सवारी साधनको हकमा सडक विभागको सिफारीसमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट सञ्चालन स्वीकृति ल्याएमा मात्र सञ्चालन हुन दिइनेछ ।” सवारी चलाउन इजाजत नपाएका धेरै सवारी साधन बिपी राजमार्गमा सञ्चालन भइरहँदा दैनिक दुर्घटना बढेको भन्दै उनले अब यातायात मन्त्रालय तथा यातायात व्यवस्था विभागले गरेका निर्णय कडाइका साथ कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गरे । सडक सुरक्षाका लागि यसअघि नै यस्ता सवारी रोकिनुपर्ने भए पनि नरोकिएको पाइएकाले अब इजाजत बिना सञ्चालनमा रहेका सबै सवारी साधनलाई पूर्ण रुपमा रोकिने उनकाे भनाइ छ । यो व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि काभ्रेपलाञ्चोक, रामेछाप, दोलखा, उदयपुर, र महोत्तरीका जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई इजाजत नभएका त्यस्ता यात्रुवाहक तथा मालवाहक सवारीसाधनलाई बिपी राजमार्गमा नपठाउन आग्रह गरिएको सिन्धुलीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले बताए । सरकारले २०७२ असोज १ गतेबाट बिपी राजमार्गमा १८ सिट क्षमता भएका यात्रुवाहक तथा १० टन भन्दा बढी वजन भएका मालवाहक सवारी साधनबाहेक अन्यलाई सञ्चालन हुन नदिने निर्णय गरेको थियो । निर्णय कार्यान्वयन गर्न यातायात मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभागले जिल्ला प्रशासन कार्यालय लगायत मातहतका कार्यालयलाई पटक/पटक पत्राचार गरेको थियो । तर यसको प्रभावकारी कार्यान्वयन हुन सकिएको थिएन् । रासस
सिद्धार्थ बैंकको सबैभन्दा बढी सेयर कारोबार, यस्तो छ कारण
काठमाडौ । यो साता सिद्धार्थ बैंकको सबैभन्दा बढी सेयर कारोबार भएको छ । आइतबारदेखि बिहीबारसम्म बैंकको ७ करोड १ लाख ८० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस्तै कारोबार भएको सेयर संख्याका आधारमा पनि सिद्धार्थ बैंक अग्रस्थानमा छ । बैंकको २ लाख ११ हजार कित्ता शेयर कारोबार भएको थियो । बैंकको सेयर सस्तो भएपछि लगानीकर्ताले खरिद गरेका हुन् । सिद्धार्थको सेयर मूल्य घटेर प्रतिकित्ता ३३५ रुपैयाँमा कारोबार भएको छ । यस्तै वित्तीय अवस्था राम्रो, आकर्षक प्रतिफल दिने आशामा लगानीकर्ताले सिद्धार्थको सेयर किनेका हुन् । यो साता १ अर्ब ८ करोड १९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेञ्ज लिमिटेडकाअनुसार २३ लाख २९ हजार ४४० कित्ता सेयर खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा ४५.९६ प्रतिशत कम हो । गत साता १८१ कम्पनीको २ अर्ब १९ लाख ९९ हजार बराबरका ४८ लाख १२ हजार ७७० कित्ता शेयर खरिद बिक्री भएका थिए । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १.४८ अंकले बढेर अन्तिम दिन १ हजार ३३९ अंकमा पुगेको छ । यस साता डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको ९ लाख ६९ हजार ७९३ बोनस सेयर, प्रभु बैंकको २ करोड ११ लाख ९९ हजार ३२१ कित्ता हकप्रद, नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको २ लाख ३ हजार ५६० कित्ता बोनस सेयर सुचिकृत भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । यस्तै साइन रेसुङ डेभलपमेन्ट बैंकको २७ लाख ५१ हजार २३१ कित्ता बोनस, सिर्जना फाइनान्स लिमिटेडको ९ लाख ८२ हजार ८०० कित्ता बोनस, समता माइक्रोफाइनान्सको ६३ हजार ३०० कित्ता बोनस, पोखरा फाइनान्स कम्पनीको ९ लाख ८३ हजार ६८२ कित्ता हकप्रद, मितेरी डेभलपमेन्ट बैंकको ११ लाख ९७ हजार ६९ कित्ता बोनस र प्रिमियर इन्स्योरेन्स कम्पनीको ६ लाख ९५ हजार ३९७ कित्ता बोनस शेयरसमेत स्टकमा सूचीकृत भएको छ ।
नक्कली स्टिकर प्रकरणः कुलेश्वरका तीन जना व्यापारीलाई पक्राउ गर्न सीआइबीलाई राजश्वको पत्र
वीरगञ्ज । मदिराको बिर्कोमा टाँस्ने राजश्वको नक्कली स्टिकर प्रकरणमा थप तीन जना अनुसन्धानको दायरामा आएपछि उनीहरुमाथि छानबिन गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ( सिआइबी) लाई अनुरोध गरेको छ । उक्त प्रकरणमा थप तीन जना अनुसन्धानको दायरामा आएपछि उनीहरुमाथि छानबिन गर्न आन्तरिक राजश्व कार्यालय पर्सा वीरगञ्जले सिआइबीलाई अनुरोध गरेको हो । नक्कली स्टिकर प्रकरणमा पक्राउ परेका अन्य अभियुक्तसँगको बयानका आधारमा काठमाडौं कुलेश्वरका थप तीन जनालाई पक्राउ गरी आवश्यक छानबिन गर्न सिआइबीलाई पत्राचार गरेको आन्तरिक राजश्व कार्यालय पर्साले जनाएको छ । ती व्यक्तिहरुको नाम सार्वजनिक गरिए फरार हुने भएकोले नाम सार्वजनिक नगरिदिन आन्तरिक राजश्व कार्यालय पर्साले आग्रह गरेको छ । सो प्रकरणमा हाल चारजना आवश्यक कारबाहीका लागि वीरगञ्ज कारागारमा राखिएका छन् भने प्रमोद दवाडी, सुगम सापकोटा तथा प्रकाश सापकोटालाई बयान गरी छाडिएको बताइएको छ । बयान दिने व्यक्तिले अन्य व्यक्तिको नाम समेत सार्वजनिक गर्ने गरेकाले अनुसन्धान लम्बिदै गएको हो तर आउँदो असार मसान्तभित्र नक्कली स्टिकर प्रकरणको मुद्दा छिनोफानो हुने प्रमुख कर अधिकृत गोपिकृष्ण कोइरालाले बताए । नक्कली स्टिकर छाप्ने भारतीय कम्पनीको नामसमेत खुली सकेकाले ती कम्पनीलाई छानबिनको दायरामा ल्याउन राजश्व विभागलाई पत्राचार गरेको भन्दै प्रमुख कर अधिकृत कोइरालाले भने, “विभागले परराष्ट्र मन्त्रालयमार्फत अघि बढ्ने छन् ।” विसं २०७४ भदौ १९ गते राजधानीको हरिओम ट्रेडिङ प्रालिले भारतको कलकताबाट करिब तीन करोड ५० लाख मूल्य बराबरको ८६ हजार ४७० थान नक्कली स्टिकर वीरगञ्ज भन्सारको वैधानिक च्यानलबाट नेपाल भित्र्याइरहेको बेलामा पक्राउ परेको थियो । हिमालय रोडबेज नामक ढुवानी कम्पनीका कर्मचारी छिमेकी भारत रक्सौलका वीरेन्द्रकुमार महतो नक्कली स्टिकरसहित पक्राउ परेपछि प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो(सिआइबी) ले अनुसन्धानको क्रममा स्टिकर आयातकर्ता कम्पनीका सहयोगी विराटनगरका प्रकाश घिमिरे, धादिङ धुनीबेँसीका राजकुमार भण्डारी, हरिओम ट्रेडिङ कम्पनीका सञ्चालक कूलप्रसाद राजभण्डारी, हिमालयन कार्गोका सञ्चालक विनोदकुमार गुप्तालाई पक्राउ गरेका थिए । आन्तरिक राजश्व विभागले प्रायः गरी ग्लोबल टेण्डरमार्फत इण्डोनेसियाबाट मदिराको स्टिकर छपाउने गरे पनि यस प्रकारको स्टिकर पहिलो पटक भारतको कलकतामा छपाएको फेला परेको हो । आन्तरिक राजश्व विभागले हालसम्म भारतबाट यस प्रकारको कुनै स्टिकर नछपाएकाले पक्राउ परेका उक्त स्टिकर नक्कली भएको बताइएको छ । पक्राउ परेकासँग बयान पश्चात जनही सात करोडको धरौटी माग गर्दा धरौटी बुझाउन नसकेपछि विनोदकुमार गुप्ता बाहेक सबैलाई पूर्पक्षका लागि वीरगञ्ज कारागारमा राखिएको जनाएको छ । गुप्ता भने सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेपछि तत्कालीन प्रधानन्यायधीश गोपाल पराजुलीको इजलासको आदेशबाट रिहा भएका थिए । पक्राउ परेकासँग पटक÷पटक बयान लिने क्रममा थप तीन जनाको नाम आएकाले उनीहरुको खोजी भइरहेको बताइएको छ । सो नक्कली स्टिकर बजारमा गएको भए सरकारलाई करीब चार करोड राजश्व घाटा हुने थियो ।
किङ्गफिसरले भित्र्यायो गुड टाईम्स
काठमाडौं । युनाइटेड ब्रुअरीज लिमिटेडले किङ्गफिसरका नयाँ बियर नेपाली बजारमा भित्र्याएको छ । कम्पनीले यति ब्रुअरीसँगको सहकार्यमा किङ्गफिसर प्रिमियम तथा किङ्गफिसर स्ट्रङ्ग नेपाली बजारमा भित्र्याएको हो । युनाइटेड ब्रुअरीज लिमिटेड ग्लोबल बियर लिडर हेइनकेन एनभीसँगको संयुुक्त उद्यम हो । युनाइटेड ब्रुअरीजले आफ्नो विभिन्न देशहरुमा विस्तार गर्ने योजना अनुरुप नेपाली बियर पारखीहरुको लागि नेपाली बजारमा पनि किङ्गफिसर बियर प्रस्तुत गरेको हो । युवा, समकालीन तथा रमाइलो ब्राण्ड, किङ्गफिसरले निरन्तर आफ्ना उपभोक्ताको साथ रमाइलो तवरले आफूलाई जोड्दै आएको छ । किङ्गफिसर स्ट्रङ्गको उत्पादन गुणस्तरीय माल्टेड बार्ली तथा हप्सको प्रयोगद्वारा गरिन्छ । यसको अद्वितीय स्वाद तथा गुणस्तरीयतका कारण किङ्गफिसर बियरको माग दिनानुदिन बढ्दै गईरहेको छ । युनाइटेड ब्रुअरीजका प्रबन्ध निर्देशक शेखर राममुर्तिले किङ्गफिसर विश्वव्यापी रुपमा स्थापित भारतीय ब्राण्ड भएको दावी गरे । यति ब्रुअरीका प्रबन्ध निर्देशक सन्जिव सराफले “किङ्गफिसर बियरलाई नेपाली बजारमा ल्याइनु ठुलो उपलब्धि भएको बताए । नेपाल अधिराज्यभरका सम्पूर्ण विक्रीकक्षमा किङ्गफिसर प्रिमियम तथा स्ट्रङ्ग उपलब्ध रहेको छ । किङ्ग फिसर प्रिमियम ६५० एमएलको बोटलमा उपलब्ध रहेको छ र यसको मूल्य २७५ रुपैंयाँ रहेको छ । त्यसै गरी ५०० एमएलको क्यानको मूल्य २१० रहेको छ । किङ्ग फिसर स्ट्रङ्ग ६५० एमएल बोटलको मूल्य २३५ तथा क्यानको मूल्य १८० रुपैंयाँ तोकिएको छ ।
अनिशको समुहद्वारा साईकलबाटै २० मुलुकको भ्रमण, यात्रामा नेपालको झण्डा र बुद्धको प्रचार
काठमाडौं । विश्व साईकल यात्री अनिश ढकालको समुहका निर्मल बराल र दिलिप क्षेत्रीले साईकलबाट विश्वका २० वटा मुलुकको भ्रमण गरेका छन् । २०७२ सालको भुकम्पपश्चात विश्वभर नेपालको प्रवद्र्धन गर्ने उद्देश्यका साथ अनिशको समुहले ‘प्रोमोटिङ नेपाल एण्ड एड्भोकेटिङ ईन्भाइरोमेन्टलिज्म एण्ड पिस’ भन्ने नाराका साथ भारत, बंगलादेश, श्रीलंका, म्यानमार, थाइल्याण्ड, लाओस, कम्वोडिया, भियतनामकाे भ्रमण गरेका हुन । त्यस्तै बु्रनाई सिंगापुर, मलेसिया, ताईवान, साउथ कोरिया, ईजरायल, चिलि, अर्जेन्टिना, बोलिभिया, ब्राजिल र संयुक्त राज्य अमेरिकाको पनि साईकलबाट भ्रमण गरेकाे कार्यकंममा जानकारी गराए। विश्व साईकल यात्रा बारे जानकारी दिन शुक्रवार आयोजित पत्रकार सम्मेलनमा अनिशले विश्वका विभिन्न देशमा साईकल यात्रीका रुपमा आँफु पुग्दाको अनुभवहरु सुनाएका थिए । साईकल यात्राका क्रममा लाओस,ताईवान लगायतका देशको यात्रा रोमाञ्चक रहेको वताउँदै आफ्नो यात्राको क्रममा सहयोग गर्ने सबैलाई उनले धन्यवाद दिए । आँफुहरुले साईकल यात्राको क्रममा नेपालको झण्डा र बुद्धको प्रचार–प्रसार गरेको उनको भनाइ छ । कार्यक्रममा बोल्दै नेपाल पर्यटन वोर्डका सञ्चालक समिति सदस्य दीपक महतले साईकल यात्रा चुनौतीपूर्ण रहेको वताउँदै अवको यात्रामा नेपालको पर्यटन प्रवद्र्धनका लागि जिम्मेवारीपूर्ण ढंगले अगाडी बढ्न सुझाव दिए । साईकल यात्रालाई अझ प्रभावकारी ढङ्गले सञ्चालन गर्न सके त्यसले नेपाल आउने पर्यटकहरुको संख्या वृद्धि गर्न सकिने उनको भनाइ थियो । नेपाल उद्योग वाणिज्य महासंघ का कार्यसमिति सदस्य रामशरण थपलियाले साईकल यात्रामार्फत अनिशको समुहले नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान गरेको वताउँदै आगामी दिनमा साईकल यात्रालाई नेपाल उद्योग वाणिज्य महासंघ सहयोग गर्न तयार रहेको वताए । कार्यक्रममा ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल (टान) का महासचिव सागर पाण्डे, युवा पर्यटन व्यवसायि तथा लेखक राजन सिम्खडा, नेपाल एशोयिशसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) का उपाध्यक्ष अच्युत गुरागाईं लगायत पर्यटन व्यवसायीहरुको उपस्थिति थियो ।
कृषिमन्त्री चक्रपाणी खनालले भने– घाटामा चलेको संस्थालाई बचाउदिन
काठमाडौं । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले घाटामा चलेको संस्थालाई नबचाउने उद्घोष गरेका छन् । बिहीबार दुध वितरण आयोजना (डिडिसी) विराटनगरको दुध उत्पादनको अनुगमन गर्ने क्रममा पत्रकारहरुसँगको भेटमा उनले घाटामा गएको संस्थालाई नबचाउने बताए । पत्रकारहरु सामु उनले भने,‘संस्था भित्र भ्रष्टाचार, अनियमितता र खरिदमा पारदर्शिता छैन भन्ने गुनासो आइरहेको छ,’ उनले भने ‘शुरुमा संस्थाहरुलाई राम्रोसँग अनुगमन गरिन्छ र अनियमितताका बावजुत घाटामा चलिरहेको छ भने बचाइ राख्न आवश्यक छैन ।’ सरकारले आगामी दुई वर्ष भित्र दुधमा आत्मनिर्भर हुने गरी कार्ययोजना बनाए पनि डीडीसीको उत्पादन त्यसअनुसार नरहेको उहाँको भनाइ छ । डीडीसी प्रविधिमा निक्कै पुरानो रहेको, व्यवस्थित हुन नसकेको भन्दै त्यसले अहिलेको मागलाई थेग्न नसक्ने उनले बताए । ‘जनताको जीवनस्तर जहाँ पुगेको छ, त्यसलाई हेर्दा धेरै सुधार गर्नु पर्ने देखिएको छ,’ मन्त्री खनालले भने । सँधै घाटामा सञ्चालन गर्ने भए बन्द गर्नु पर्ने नत्र आन्तरिक समस्या समाधान गरेर अघि बढ्नुको बिकल्प नरहेको उनको धारणा छ । मन्त्री खनालले प्रतिष्पर्धात्मक समयमा पनि आयोजना पुराना प्रविधिमा भर परिरहेको बताए । उनले आधुनिक र नयाँ प्रविधिसहित दुध उत्पादनलाई आत्मनिर्भर बनाउनेतर्फ मन्त्रालयले छलफल गरिरहेको जानकारी गराए ।
बाजुराको घटमुना बजारमा एनआईसी एशियाको शाखारहित बैंकिङ्ग सेवा
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले यु. के. एड एक्सेस टु फाईनान्स सक्षमसँगको सहकार्यमा बाजुराको घटमुना बजारमा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकको यो सातौ शाखारहित बैंकिङ्ग सेवा हो । यस सेवाको उद्घाटन गौमुल गाउँपालिकाका अध्यक्ष हरि रोकायाले गरेका छन् । उक्त शाखारहित बैंकिङ्ग सेवा संचालनको लागि बैंकले प्रतिनिधिको रुपमा घटाल ब्रह्रादेव जनरल स्टोर (प्रोप्राईटरः कलक बहादुर रोकाया) लाई नियुक्त गरेको छ । शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले आफ्नो गाउँमै स्थानीय प्रतिनिधि मार्फत बैंकिङ्ग सेवा लिन सक्नेछन् । साथै, स्थानीय बासिन्दाले विभिन्न निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोवाईल रिचार्ज गर्ने, उपयोगी सेवा (जस्तैः टेलिफोन, मोबाईल, एडिएसएल, डिस होम) को महशुल भुक्तानी गर्ने, स्वीकृत सिमा भित्र रहि कर्जा कारोबार गर्ने, कर्जाको साँवा तथा व्याज भुक्तानी गर्न सक्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
सिन्डिकेटधारीको साढे २ अर्बमा मन्त्री रघुवीर महासेठको नजर, रोक्का बैंक खाता खोल्ने तयारी
काठमाडौं । भौतिक पुर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सिडिकेटधारी यातायात व्यवसायीको पक्ष लिदैं यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईलाई मन्त्रालयमा तानेका छन् । सिन्डिकेटको अन्त्य गरी चर्चा कमाएका विभागका महानिर्देशक भट्टराइलाई व्यवसायीको दावावमा महासेठले मन्त्रालयमा तानेका हुन् । महासेठले अर्का निर्देशक तुलसीराम अर्याललाई पनि तान्ने तयारी गरेका छन् । सिन्डिकेटका अन्त्य भएपनि विभागले जारी गरेको कार्यविधि तथा निर्देशिका कार्यान्वयनको बेलामा भट्टराइलाई मन्त्रालय तान्नुले मन्त्रीको नियतमाथी शंका देखिएको हो । सिन्डिकेटधारी २४५ व्यवसायीको बैंक खातामा साढे २ अर्ब रुपैयाँभन्दा बढी रकम रहेको अनुमान गरिएको छ । बैंक खाता खोल्नका लागि गृह र यातायात मन्त्रालयले सामूहिक निर्णय गरी अर्थ मन्त्रालयमा चिठ्ठी लेख्नु पर्नेछ । अर्थले नेपाल राष्ट्र बैंकलाई चिठ्ठी लेखेपछि मात्रै व्यवसायीको खाता खुल्ने राष्ट्र बैकका सहायक प्रबन्धक गोविन्द नागिलाले बताए । यातायात व्यवसायीका अनुसार मन्त्री महासेठले बैंक खाता खुल्ला गरिदिने सहमति गरिसकेको बताएका छन् । व्यवसायीहरुको वैद्यानिकता सकिन करिब ५५ दिन बाँकी रहँदा सो अगावै बैंक खाता खोल्न व्यवसायीहरुले मन्त्रीलाई दबाब दिइरहेका छन् । श्रोतका अनुसार सिन्डिकेट अन्त्य गर्न कडा कदम चालेको विभागका महानिर्देशकलाई व्यवसायीको दबाबमा मन्त्रीले हटाएका हुन् । ुअहिले कार्यविधि तथा निर्देशिका लागू गर्ने महत्वपुर्ण समय हो, रुट इजाजतका लागि टेण्डर खोल्ने तयारी गरिरहेको बेला महानिर्देशकलाई हटाएर सिन्डिकेट फिर्ता गर्ने अभियानमा मन्त्री लागेका छन् श्रोतले विकासन्युजसँग भन्यो । बैंक खाता खुल्ला गर्ने सरकारसँग कानूनी बाटो रहेको छैन । संस्था दर्ता ऐन २०३४ अनुसार व्यवसायी रकम राज्य कोषमा आउने देखिन्छ तर यसलाई रोक्न मन्त्री महासेठ लागि परेका छन् । मन्त्री महासेठले २० वर्ष पुराना सवारीलाई समेत पुन सञ्चालनमा ल्याउने तयारी गरेका हुन् । २० वर्ष पुराना गाडी चलाउन पाउनु पर्ने व्यवसायीको मागलाई सम्बोधन गर्दै यस विषयमा पुन विचार गर्ने बताइसकेका छन् । यसअघि नेपाल राष्ट्रिय यातायात सर्वोच्च महासंघले २० वर्ष पुराना गाडीले प्रदुषणको मापदण्ड पास गरे सञ्चालन गर्न पाउनु पर्ने र नयाँ सवारी खरिदमा करछुट दिनुपर्ने माग गरेका थिए ।