विकासन्युज

गाउँका युवालाई स्वरोजगार बनाउन सहकारीलाई एक करोड लिन सरकारले बोलायो

काठमाडौं । सरकारले वेरोजगार युवालाई स्वरोजगार बनाउन विभिन्न सहकारी संस्थामार्फत कर्जा दिने प्रक्रिया अघि बढाएको छ ।  युवा तथा साना व्यवसायी स्वरोजगार कोषले युवालाई स्वरोजगार बनाउन सहकारी संस्थामार्फत कर्जा दिने व्यवस्था गर्न लागेको हो । कोषले १ करोड रुपैयाँसम्म थोक कर्जा लिन सहकारी संस्थालाई बोलाएको छ । कोषले सहकारी संस्थालाई आउदो असार ९ गतेसम्म थोक कर्जा लिन प्रस्ताव पेश गर्न भनेको छ । कोषबाट लिएको थोक कर्जा वेरोजगार व्यक्तिलाई व्यक्तिगत वा सामूहिक रुपमा प्रवाह गर्नुपर्ने कोषले जनाएको छ । महानगरपालिका भित्र सञ्चालन भएका सहकारीको सेयर पुँजी न्युनतम ८ लाख र सेयर सदस्य ४०० जना, सञ्चालनमा आएको २ वर्ष र नाफामा रहेको हुनुपर्ने छ । यस्तै उपमहानगरपालिकामा सेयर पुँजी ५ लाख, ३०० जना सेयर सदस्य, नगरपालिकामा सेयर पुँजी ३ लाख र सेयर सदस्य २००, गाउँपालिकामा २ लाख सेयर पुँजी र १०० सेयर सदस्य हुनुपर्ने कोषले जनाएको छ । यसैगरी नगरपालिकामा उत्पादनमुलक २ लाख, गाउँपालिकामा उत्पादनमुलक १ लाख र दुर्गमा जुम्ला, हुम्ला, कालिकोट, मुगु, अछाम, बझाङ, बाजुरा र जाजरकोटमा सञ्चालनमा रहेका सहकारीको सेयर पुँजी १ लाख रुपैयाँ हुनुपर्ने व्यवस्था गरिएको हो । गत असारसम्म नोक्सन नभएको, भाखा नाघेको ऋण कुल लगानीको ५ प्रतिशत बढी नभएको हुनुपर्ने छ ।    

अग्रेंजी माध्यमबाट पढाई हुने सरकारी विद्यालयमा विद्यार्थीको चाप बढेपछि भर्ना बन्द

काठमाडौं । केही वर्षअघिसम्म अभिभावकले आफ्ना छोराछोरी पठनपाठन गराउन सरकारी विद्यालयमा भन्दा निजी विद्यालयमा बढी आकर्षित हुने गरेका थिए । तर अहिले त्यसको ठीक उल्टो अभिभावक निजी विद्यालय छाडेर सरकारीतिर आकर्षित हुन थालेको एउटा उदाहरणका रुपमा रहेको सरकारी विद्यालय मध्येको एक उदयपुरको त्रियुगा उच्चमाध्यमिक विद्यालय बन्न पुगेको छ । पाँच वर्षअघिदेखि अंग्रेजी माध्यमबाट पठनपाठन सञ्चालन हुँदै आएको उदयपुर जिल्लाको सदरमुकाम गाईघाटस्थित त्रियुगा उच्चमाध्यमिक विद्यालयमा यस वर्षको नयाँ शैक्षिकसत्रमा अंग्रेजी माध्यममा भर्ना हुने विद्यार्थीको चाप अत्यधिक बढेपछि भर्ना कार्य बन्द गर्नु परेको छ । विद्यालय प्रशासनका अनुसार यस वर्षको शैक्षिकसत्रमा वैशाख महिनाभित्र झण्डै एक हजार विद्यार्थीले अंग्रेजी माध्यममा विभिन्न कक्षामा भर्ना भइसके पनि अझै नयाँ विद्यार्थी भर्ना हुन आउने क्रम निरन्तर जारी हुने गरेका कारण अहिले भर्ना अभियान बन्द नै गर्नु परेको हो । त्रियुगा उच्च माविका प्राचार्य सुवास विष्टका अनुसार अहिले विद्यालयमा झण्डै दुई हजार विद्यार्थीले विभिन्न कक्षामा अध्ययन गर्दै आएका छन् । यस वर्षमात्र कक्षा ५ देखि माथिल्ला तहमा एक हजारसम्म नयाँ विद्यार्थी भर्ना भइसकेको र अब विद्यालयको क्षमताले धान्न नसक्ने हुनाले भर्ना बन्द गर्नु परेको विद्यालयका प्राचार्य विष्टको भनाइ छ । विद्यालयका शिक्षक सञ्जय दत्त भन्छन्, “वैशाख महिनाभित्र अंग्रेजी माध्यममा मात्र एक हजार विद्यार्थी भर्ना भए, अब विद्यालयका भवन र कोठाले विद्यार्थीको संख्या थाम्न नसक्ने भएपछि भर्ना बन्द गरेको हौँ ।” जिल्लाको पहाडी क्षेत्रसहित सदरमुकाम गाईघाटमा सञ्चालन हुँदै आएका निजी विद्यालयबाट समेत धमाधम विद्यार्थी त्रियुगा उच्चमाविमा भर्ना गर्न लाने क्रम बढ्दै गएपछि विद्यालयले विद्यार्थीको चाप थेग्न नसकेर विद्यार्थी भर्ना बन्द गर्नु परेको विद्यालय प्रशासन बताउँछ । त्रियुगा उच्चमाविमा नयाँ विद्यार्थीका एक अभिभावक कमल परियारले भन् , “अब सरकारी विद्यालयमा पनि अंग्रेजी माध्यमबाट पढाइ हुन थाल्यो,सरकारले अब सरकारी विद्यालयमा पढ्ने विद्यार्थीलाई मात्र पछि सरकारी जागिरमा समावेशी कोटामा प्राथमिकता दिन्छ रे भन्ने सुनेर पनि सरकारीमा नै विद्यार्थी फर्काएर ल्याएको छु ।” त्रियुगा उच्चमाविका अंग्रेजी माध्यमका विद्यार्थीले जिल्लाकै पहिलो सरकारी विद्यालयका रुपमा यसपटक अंग्रेजी माध्यममा एसइई परीक्षामा समावेश भएर परीक्षा दिएको समेत विद्यालयका प्राचार्य विष्टले बताए । गत वर्षसम्म उदयपुरमा दशवटा मात्र सरकारी विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन हुँदै आएको थियो । यसपटकको नयाँ शैक्षिकसत्रदेखि तीन दर्जन सरकारी विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन शुरु भएको जिल्ला शिक्षा समन्वय एकाइका प्रमुख हरिहर धितालले बताए। सरकारले अब सरकारी विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई सरकारी जागिरपछि प्राविधिक शिक्षा अध्ययनमा विशेष प्राथमिकता दिने नीति र सरकारी विद्यालयमा पनि अंग्रेजी माध्यमिक विद्यालयबाट पठनपाठन शुरु भएपछि उदयपुरमा पनि सरकारी विद्यालयमा विद्यार्थीको भर्नाको चापसमेत ह्वात्तै बढेको हो । रासस

पश्चिमसेती आयोजनाबाट चाइना थ्री गर्जेज आउट, सरकारले प्रतिस्पर्धाबाट बनाउने !

काठमाडौं । ७५० मेगावाट क्षमताको पश्चिमसेती जलसाययुक्त आयोजना प्रतिस्पर्धाबाट बनाउने तयारी भएको छ । आयोजना निर्माणका लागि लगानीलगायत अन्य खाकाको सहितको प्रतिवेदन तयार पार्न गठित समितिले चाइना थ्री गर्जेज इन्टरनेसनले कर्पोरेशनले आयोजना नबनाउने निष्कर्षमा पुगेको छ । समितिले अब प्रतिस्पर्धाबाट पश्चिमसेती आयोजना बनाउनुपर्ने सुझाव दिने लागेको हो । समितिले प्रतिवेदन तयारीको क्रममा रहेको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयलसंग राय मागेको बोर्ड स्रोतले बतायो । ठुला आयोजना प्रतिस्पर्धामार्फत दिनुपर्ने सरकारी योजना भएको र यसमार्फत दिदा लाभ बढी पाइने समितिको ठहर छ । यसअघि माथिल्लो कर्णाली र अरुणतेस्रो आयोजना अघि बढाउन विश्वव्यापी बोलपत्र (ग्लोबल टेण्डर) आब्हान गर्दा बढी निःशुल्क बिजुली र सेयर दिनेलाई आयोजना निर्माणको जिम्मा दिएको थियो । थ्री गर्जेजले आयोजना नबनाउने भएकाले उसको सर्वेक्षण अनुमतिपत्र रद्ध गरी ग्लोबल टेण्डरबाट आयोजना दिनुपर्ने निष्कर्ष समितिको रहको स्रोतको भनाई छ । “२५ प्रतिशत स्वामित्व रहेको नेपाल विद्युत प्राधिकरण पहिला सकरात्मक भएन र अहिले थ्री गर्जेज” स्रोतले भन्यो “प्राधिकरण सकरात्मक नहुँदा धेरै कुरा बिग्रिएको छ । तर पछि आएर उ सकरात्मक भयो ।” आयोजनाको क्षमता घटाउनु पर्ने र न्युनतम् ३५ प्रतिशत ऊर्जाको प्रत्याभूति गर भन्न नमिल्ने तर्क रहेको समितिको ठहर छ । गत कात्तिक ३० गते प्राधिकरण र थ्री गर्जेजबीच लगानी सम्झौता भएको थियो । हालको विद्युत खरिद दर (पीपीए) ले आयोजना आर्थिक रुपमा आर्कषक नहुने भन्दै यसलाई बढाउनु पर्ने बताएको छ । यस्तै पीपीएपछि हुने डलर जोखिम सबै विद्युत प्राधिकरणले व्यहोर्नुपर्ने उसको अडान छ । उसले पीपीए दर र डलर जोखिमको विषयमा अडान लिएपछि जेभीए बाहेक अन्य कुनै पनि विषयमा सहमति भएको छैन । प्राधिकरण ऊर्जाले तयार पारेको पीपीए दर पुनरावलोकन गर्ने र डलर जोखिम सबै व्योहर्ने पक्षमा छैन् । यता सरकारले जलाशययुक्त आयोजनाको पीपीए दर तयार गरी मंसिर १५ देखि जेठ १५ सम्म प्रतियुनिट १२ रुपैयाँ ४० पैसा र जेठ १६ देखि मंसिर १४ सम्म वर्षादको ६ महिनामा प्रतियुनिट ७ रुपैयाँ १० पैसा निर्धारण गरेको छ । सुख्खायाममा न्युनतम ३५ प्रतिशत ऊर्जा उत्पादन भएको हुनुपर्ने नयाँ पीपीएमा व्यवस्था छ । जेभीएअनुसार आयोजनामा थ्री गर्जेजको ६५, विद्युत प्राधिकरणको २५ र आयोजना प्रभावित स्थानियबासिन्दाको १० प्रतिशत लगानी हुने गरी सेयर संरचना तयार पारिएको छ । ६५ प्रतिशत मध्ये १४ प्रतिशत नेपाली लगानीकर्तालाई थ्री गर्जेजले स्वामित्व बेच्न सक्ने व्यवस्था गरेको छ । आयोजना निर्माण भई सञ्चालनमा आएको ५ वर्षसम्म ५१ प्रतिशत स्वामित्वबाट घट्न नपाइने व्यवस्था गरिएको छ ।०६९ भदौमा भएको समझदारीपत्र (एमओयू) भएको हो । आयोजना निर्माणका लागि १ खर्ब ६० अर्ब रुपैयाँसम्म लगानी सरकारबाट ल्याउन स्वीकृति पाइसकेको छ । आयोजनाबाट वार्षिक ३ अर्ब ३३ करोड युनिट बिजुली उत्पादन हुने सम्भाव्यता अध्ययनले देखाएको छ । आयोजना सुदूरपश्चिमका डोटी, डडेलधुरा, बैतडी र बझाङ जिल्लामा पर्छ । आयोजा निर्माणपछि खपत केन्द्रसम्म बिजुली पु¥याउन आवश्यक ४ सय किलोमिटर लामो ४ सय केभीए क्षमताका प्रसारणलाइन बनाउन थप ४० अर्ब रुपैयाँ बढी लगानी लाग्ने छ । सरकारले जलासययुक्त आयोजनाको पीपीए दर सार्वजनिक गरिसकेको छ । आयोजना अघि बढाउन २ हजार ३२० हेक्टर क्षेत्रफल अधिग्रहण गर्नुपर्ने देखिएको छ ।

बहुराष्ट्रिय होङसी शिवम् उद्योगले थाल्यो सिमेन्ट उत्पादन, घट्ला त सिमेन्टको भाउ ?

काठमाडौं । बहुराष्ट्रिय उद्योग होङ्सी शिवमले सिमेन्ट उत्पादन थालेको छ । उद्योगले क्लिङकर बाहिरबाट आयात गरेर सिमेन्टको परीक्षण उत्पादन थालेको हो । जेठदेखि उत्पादन गर्ने लक्ष्य अनुसार बाहिरबाट क्लिंकर आयात गरेर उत्पादन थालिएको उद्योगका जनसम्पर्क अधिकृत भोला पाठकले जानकारी दिए । उनले यो साताभित्र आफनै खानीको क्लिंकरबाट सिमेन्ट उत्पादन थाल्ने जानकारी दिए । बजारमा सिमेन्ट आपूर्ति बढेपछि मूल्य पनि कम हुने अनुमान गरिएको छ । पहिलो चरणमा दैनिक ६ हजार टन र दोस्रो चरणमा दैनिक १२ हजार टन सिमेन्ट उत्पादन गर्ने लक्ष्य लिएको उनले सुनाए । तत्काल दैनिक ३ हजार टन उत्पादन हुने छ । नेपाल र चिनियाँ संयुक्त लगानीको होङ्सी शिवमले सिमेन्ट उत्पादन थाल्ने भएपछि बजारमा ६ हजार टन सिमेन्ट आपूर्ति बढ्ने भएको हो । गत भदौ १८ गते लगानी बोर्ड र होङसीबीच परियोजना लगानी सम्झौता (पीएनए) भएको थियो । सम्झौताअनुसार कम्पनीले नवलपरासीमा सिमेन्ट कारखाना स्थापनाको लागि ३६ अर्ब ७५ करोड रुपैयाँ (करिब ३५ करोड ९१ लाख अमेरिकी डलर) लगानी गरेको छ । कारखानाका लागि आवश्यक खानी पाल्पाको ज्यामिरेमा छ । चीनको होङसी सिमेन्ट ग्रुपको सहायक कम्पनी हङकङ रेडलायन सिमेन्ट ३ लिमिटेडको लगानी छ । कारखानामा नेपालको विभिन्न व्यवसायीक समुह शिवम् होल्डिङसको ३० र होङसीको ७० प्रतिशत लगानी छ । सिमेन्ट उद्योगबाट उत्पादित सिमेन्ट वा ब्राण्डको नाम ‘होङ्सी’ राखिएको छ । चिनियाँ गुणस्तर पीओ ४२.५ र पीओ ५२.५ ग्रेडको “लो अल्काली” ओपीसी र पीपीसी सिमेन्ट उत्पादन गर्दैछ । उद्योगले दैनिक ६ हजार र वार्षिक २६ लाख टन उत्पादन गर्ने जानकारी दिएको छ । १३ करोड टन उच्चगुणस्तरको आफनो चुनढुङा खानी छ । उद्योगले ६ सेट हवल स्वचालित प्याकेजिङ मेशिन र १२ सेट बोरा सिमेन्ट लोडिङ मेशिन जडान गरिएको छ । जसको प्याकेजिङ र ढुवानी क्षमता १० हजार टन भएको उद्योगले जनाएको छ । अहिलेसम्म नेपालमा सबैभन्दा बढी अर्घाखाँची सिमेन्टले ३ हजार टन सिमेन्ट उत्पादन गर्दै आएको छ । “केही दिनमै बजारमा सिमेन्ट आउँछ”, होङ्सी शिवम सिमेन्टका सञ्चालक सतिश मोरले बताए । उद्योगका अनुसार ठूलो क्षमताको सिमेन्ट उत्पादन शुरु भएकाले अब राम्रो र बलियो बजार बन्ने छ । उद्योगमा करीब १ हजार कामदार कार्यरत छन् । कारखाना पूर्णरुपमा सञ्चालनमा आएपछि दैनिक एक हजार नेपाली र ४०० भन्दा बढी चिनियाँ कामदारले समेत रोजगारी पाउने कम्पनीले जनाएको छ । कारखानाले सिमेन्ट उत्पादनमा प्रयोग हुने ऊर्जा नै प्रयोग गरेर थप १२ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसमेत राखेको छ । कारखाना पूर्ण क्षमतामा सञ्चालनका लागि हामीलाई ८० मेगावाट विद्युत् आवश्यक हुन्छ, तत्काल ५० मेगावाट जरुरत छ, तर प्रसारणलाइनको अभावमा आफँै विद्युत् उत्पादन गर्नुपर्ने भएको छ । चिनियाँ लगानीमा थप ३ हजार टन सिमेन्ट उत्पादन हुने भएको छ । चीनको हुवासिन सिमेन्टले १५ अर्ब रुपैयाँ लगानी ल्याउदैछ ।

२७७ आरोही सगरमाथाको चुचुरोमा

काठमाडौ । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको सातौँ दिनसम्म २७७ जना आरोही सगरमाथाको चुचुरोमा पुग्न सफल भएका छन् ।यस वर्षको वसन्त ऋतुको आरोहण शुरु भएयता हालसम्म २७७ भन्दा बढी आरोहीले सगरमाथाको सफल आरोहण गरेको आधार शिविरमा रहेका पर्यटन विभागका सम्पर्क अधिकृत तीलकराम पाण्डेले जानकारी दिए । उनका अनुसार आजमात्रै ३६ जनाले सगरमाथाको आरोहण गरेका छन् । यसमा २१ नेपाली र १५ विदेशी छन् । शुक्रबार ६५ जनाले सगरमाथा आरोहण गरेका थिए । वैशाख ३० गते आठजना शेर्पा आरोहीबाट सगरमाथाको चुचुरोसम्म डोरी टाँगेपछि यस वर्षको आरोहण शुरु भएको थियो । वसन्त ऋतुको यो याममा चार नेपालीसहित ३८ आरोही दलका ३६४ आरोही शिखर चुम्ने अभियानमा छन् । अधिकांश आरोही सगरमाथाको चुचुरोमा पुगेर धमाधम फर्कंदैछन् भने केही आरोही आरोहणको तयारीमा छन् । कतिपय आरोही आरोहण सकेर गन्तव्यतिर पुगिसकेको सम्पर्क अधिकृत पाण्डेले बताए । रासस

४ वर्षभित्र नागढुंगा–धुलिखेल मेट्रो रेल सञ्चालनको तयारी, निर्माण गर्न विश्वव्यापी बोलपत्र आब्हान

काठमाडौं । सरकारले काठमाडौँको नागढुंगादेखि काभ्रेपलान्चोकको धुलिखेलसम्म मेट्रो रेल निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको छ ।प्रधानमन्त्रीको अध्यक्षता रहेको लगानी बोर्डले मेट्रो रेल निर्माणको प्रक्रिया अगाडि बढाएको हो । लगानी बोर्डले सो रेलमार्ग निर्माणको लागि विस्तृत सम्भाव्यता अध्ययन र निर्माणको आवश्यक तयारी गर्ने लक्ष्यका साथ विश्वव्यापी बोलपत्र आह्वान गरेको छ । आगामी चार साताभित्र विस्तृत सम्भाव्यता अध्ययनका लागि इच्छुक कम्पनीहरुले प्रस्ताव बुझाउनुपर्ने गरी विश्वव्यापी बोलपत्र आह्वान गरिएको हो । पहिलो चरणमा परामर्शदाता चयन गरी सो रेलमार्गको अध्ययन गरिनेछ । सार्वजनिक निजी साझेदारी ढाँचामा शहरी यातायातलाई व्यवस्थित गर्ने लक्ष्यका साथ मेट्रो रेलको अध्ययनका लागि प्रारम्भिक काम शुरु गरिएको बोर्डले जनाएको छ । बोर्डले छनोट गर्ने परामर्शदाताले विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन (डिएफएस) तयार पार्नुपर्नेछ । सो कार्यका लागि सरकारले नै स्रोतको व्यवस्थापन गर्नेछ ।यस्तै बोर्डले इच्छुक परामर्शदातालाई सो मेट्रो रेल निर्माणको समग्र पक्ष समेटिएको आशयपत्र पेश गर्न समेत आग्रह गरेको छ । विश्वका धेरै जसो देशमा सहज यातायाताका लागि मेट्रो रेल चलाई राखिएको सन्दर्भमा सो मार्गमा मेट्रो सञ्चालनका लागि आवश्यक प्रक्रिया शुरु गरिएको हो ।आगामी चार वर्षभित्र मेट्रो रेल चलाउने तयारीका साथ आवश्यक प्रक्रिया शुरु गरिएको लगानी बोर्डले जानकारी दिएको छ । काठमाडौंको नागढुंगादेखि काभ्रेको धुलिखेलसम्मको मेट्रो रेलको लम्बाई ४५ किलोमिटर लामो रहेको छ । बोर्डको २०७४ कात्तिक २७ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले मेट्रो निर्माणका लागि विस्तृत सम्भाव्यता अध्ययन र विस्तृत आयोजना प्रतिवेदन तयार पार्ने निर्णय गरेको थियो । बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीकाअनुसार सोही निर्णयका आधारमा बोर्डले विश्वव्यापी बोलपत्र मार्फत परामर्शदाता चयनका लागि आवश्यक प्रक्रिया शुरु भएको हो । बोर्डले यही जेठ ३ गते सार्वजनिक सूचनामार्फत विश्वव्यापी बोलपत्रको सूचना प्रकाशित गरेको हो । राष्ट्रिय योजना आयोगले समेत नागढुंगादेखि धुलीखेलसम्म मेट्रो रेल चलाउन सकिने भन्दै आवश्यक प्रक्रिया शुरु गर्न सिफारिश गरेको थियो । आयोगले सो कार्यका लागि लगानी बोर्डमार्फत सहजीकरण गर्ने निर्णय गरेको थियो । लगानी बोर्डका प्रवक्ता उत्तमभक्त वाग्लेले विश्वव्यापी बोलपत्र आह्वान गरिएको र त्यसमा परामर्शदाताको रुपमा काम गर्न चाहने संस्थाको आशयपत्र हेरेर उपयुक्त संस्था छनोट गरिने जानकारी दिए । उनले भने , “हामीले ३० दिनको अवधि राखेर बोलपत्र आह्वान गरेका छौँ । विश्वभर नै मेट्रो रेल बनाएका अनुभवी संस्था वा निकाय यस प्रक्रियामा सहभागी हुन्छन् भन्ने हामीले अपेक्षा गरेका छौ ।” जानकारहरुका अनुसार एक किलोमिटर मेट्रो रेल निर्माणका लागि रु चार अर्ब खर्च लाग्नेछ । त्यस हिसाबमा ४५ किलोमिटर लामो मेट्रो निर्माणका लागि १८० अर्ब लाग्नेछ । निर्माण सामग्रीमा भएको मूल्यवृद्धि तथा अन्य प्राविधिक उपकरणमा भएको मूल्यवृद्धिका आधारमा रु दुई खर्बको हाराहारीमा खर्च लाग्ने देखिएको छ । विस्तृत सम्भाव्यता अध्ययन र विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेपछि लगानी बोर्डकै अगुवाईमा निर्माण, सञ्चालन र हस्तान्तरण (बुट) ढाँचामा सो रेलमार्ग निर्माणको प्रक्रिया अगाडि बढाइनेछ । सडक तथा यातायात क्षेत्रका विज्ञ आशिष गजुरेल ३० लाख जनसंख्या भएको शहरमा मेट्रो सञ्चालनमा आएको सन्दर्भमा काठमाडौँमा पनि त्यसको प्रक्रिया अगाडि बढ्नु जरुरी भइसकेको बताए । उनले भने , “मेट्रो रेल निर्माणमा पनि सरकार नै लाग्नुपर्ने अवस्था छ । नागरिकलाई सहज रुपमा शहरी यातायातको प्रबन्ध गर्नु पनि अत्यावश्यक छ ।” निर्माण सम्पन्न भइसकेपछि पनि सरकारले उचित अनुदान दिनु जरुरी हुने गजुरेलको भनाइ छ । लागत तथा सञ्चालनका हिसाबले मेट्रोमा फाइदा नहुने भएपनि शहरी यातायात व्यवस्थित गर्न त्यस्तो माध्यम जरुरी भइसकेको छ । नेपालमा मेट्रो निर्माणमा लागि चिनियाँ र जापानी कम्पनीले चासो व्यक्त गरिसकेका छन् । काठमाडौँ महानगरपालिकाले पनि चक्रपथमा मोनो रेल निर्माणको प्रक्रिया शुरु गरेको छ । रासस

फोटो पत्रकार पूर्णिमा श्रेष्ठ सगरमाथको शिखरमा

काठमाडौ । फोटो पत्रकार पूर्णिमा श्रेष्ठले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकि छिन्  । आरोही श्रेष्ठले शनिबार बिहान ८ः१० बजे शिखरमा पाइला टेकेकी फोटो पत्रकार क्लबका प्रवक्ता दिपेश श्रेष्ठले जानकारी दिए । क्लबले उनको सफल आरोहणपछि सर्वोच्च शिखरमा पाइला टेक्ने श्रेष्ठ पहिलो नेपाली फोटो पत्रकार भएको दाबी गरेको छ ।गोरखाको आरुघाट स्थायी घर भएकी २८ वर्षीया श्रेष्ठले यसअघि २६ सेप्टेम्बर २०१७ मा ८ हजार १६३ मिटर अग्लो मनास्लु हिमालको पनि सफल आरोहण गरेकी थिइन्। आरोहणका क्रममा पत्रकार श्रेष्ठले पहिलोपटक सर्वोच्च शिखर सगरमाथाको आधार शिविरबाट चुचुरोसम्म ‘मुस्कुराइरहेका नेपाली महिलाहरू’ नामक एकल फोटो प्रदर्शनीसमेत गरेकी क्लबले जनाएको छ । मुलुकको संस्कृति तथा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्डको सहयोगमा श्रेष्ठले उक्त फोटो प्रदर्शनी गरेकी थिइन्। उनी पाँच वर्षदेखि फोटो पत्रकारितामा सक्रिय छिन्। रासस      

अब मर्चेन्ट बैंकरको पनि आईपीओ, सीबीआईएल क्यापिटलले निष्कासन गर्दै

काठमाडौं । सीबीआईएल क्यापिटल लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । चुक्तापुँजी बढाउन सीबीआइएलले आईपीओ निष्कास गर्न लागको हो । १५ प्रतिशत अर्थात ३ करोड रुपैयाँ बराबरको ३ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको सीबीआईएलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) समीरप्रसाद दाहालले बताए । उनले आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डमा निवेदन दिइसकेको जानकारी दिए । सीबीआईएलको गत बैशाख ११ गते सम्पन्न विशेष साधारणसभाले आईपीओमा जाने प्रस्ताव पारित गरेपछि प्रक्रिया अघि बढेको दाहालले बताए । धितोपत्र बोर्डले मर्चेन्ट बैंकरको चुक्तापूँजी बढाएर २० करोड रुपैयाँ पुर्याउनु पर्ने वाध्यकारी व्यवस्था गरेपछि आईपीओमा जान लागेको हो । आईपीओ निष्कासन गर्नेमा सीबीआईएल पहिलो मर्चेन्ट बैंकर हुने छ । मर्चेन्ट बैंकरलाई आईपीओमा जान वाध्यकारी गराइएको छैन् । हाल सीबीआइएलको चुक्तापुँजी १७ करोड रुपैयाँ छ । सीबीआइएलमा सिटिजन्स बैंकको ६८.९४ प्रतिशत स्वामित्व रहेको छ । बाँकी व्यवसायी घरनाको लगानी छ । सीबीआईएलको आईपीओ निष्कासनको बिक्री प्रवन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकर लिमिटेड रहेको छ । कम्पनीले २० प्रतिशत आईपीओ निष्कासनका लागि स्वीकृति मागेकोमा धितोपत्र बोर्डले १५ प्रतिशत मात्र दिएको छ । सीबीआईएलले अघिल्लो वर्ष सेयरधनीलाई १० र यो वर्ष ५ प्रतिशत लाभांश दिएको छ । नागरिक लगानी कोषको ७५ हजार कित्ता संस्थापक सेयर बिक्री भएपछि मात्र सीबीआईएलले सेयर निष्कासनको अनुमति पाउने छ । कोषको ७५ हजार कित्ता सेयर किन्न कर्मचारी संचय कोष तयार भइसकेको छ । धितोपत्र निष्कासन नियमावलीमा एउटा मर्चेन्ट बैंकरको सेयर लगानी अर्को मर्चेन्ट बैंकरमा नहुने व्यवस्था गरेपछि कोषले स्वामित्व संचय कोषलाई बेच्न लागेको हो ।