‘प्रतिस्पर्धी विनिमय दर तथा गुणस्तरीय सेवाका लागि ज्योति विकास बैंक’
काठमाडौं । ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओ) मनोजकुमार ज्ञवालीले प्रतिस्पर्धी विनिमय दर तथा गुणस्तरीय सेवाका लागि यस बैंकमा कारोबार गर्न आग्रह गरेका छन् । बैंकको ठमेल शाखाको आयोजना तथा मनि चेन्जर एसोसियसनको सहकार्यमा बैदेशिक मुद्रा सम्बन्धि अन्तरक्रिया कार्यक्रममा सीईओ ज्ञवालीले सो कुरा बताएका हुन् । साथै, उनले यस बैंकले विदेशी मुद्रा कारोबार तथा पर्यटन क्षेत्रलाई प्रर्वधन गर्न ठमेलमा शाखा विस्तार गरिएको बताएका छन् । सो अवसरमा नेपाल राष्ट्र बैंकका निर्देशक रामप्रसाद गौतम र साहायक निर्देशक माधव पोखरेलले विदेशी मुद्रा कारोबार तथा जोखिम सम्बन्धमा जानकारी गराएका छन् । त्यस्तै, विदेशी विनिमय प्रमुख भिष्मराज ढुङ्गानाले विनिमय सम्बन्धि ऐन नियम तथा राष्ट्र बैंकको निर्देशन बारे बताएका छन् । कार्यक्रममा मनि चेन्जर एसोसिएसनका अध्यक्ष केशव बस्नेतले व्यवसायीहरुका समस्या बारे जानकारी गराउँदै समाधानका निम्ति आग्रह गरेका छन् ।
सन्दिपले चट्काए सुर्यसंकरको विकेट
काठमाडौं । नेपाली बलर सन्दिप लामिछानेले मुम्बई इन्डियान्सका सुर्यसंकर यादवको विकेट लिएका छन् । तेस्रो पटक आइपिएल खेलिरहेका सन्दिपले तेस्रो विकेट लिएका हुन् । यसअघि उनले चेन्नै सुपर किगसका सुरेश रैना र ब्यङलोर विरुद्ध पनि विकेट लिएका थिए ।
वृद्धभत्ताको साढे २४ लाख हिनामिना गर्ने वडासचिव गोपालचन्द्र लामा समातिए
काठमाडौं । हुम्लाको ताजाकोट गाउँपालिका वडा नं ५ मा कार्यरत वडा सचिव गोपालचन्द्र लामा वृद्धभत्ता अनियमितता गरेको आरोपमा पक्राउ परेका छन् । उनले आव २०७३ र ०७४को सामाजिक सुरक्षा भत्ता र पुँजीगत रकम गरी जम्मा २४ लाख ५० हजार रकम हिनामिना गरेपछि पक्राउ परेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई गैह्र कानूनी लाभ पुर्याउने र नेपाल सरकारलाई गैरकानूनी हानी पुर्याउने बदनियतले कार्य गरेको आरोप लगाएको छ । उनीमाथी थप अनुसन्धान भैरहेको अख्तियारले जनाएको छ ।
नेपाल इन्फ्रास्ट्रक्चर बैंकले पायो सैद्धान्तिक सहमति, सञ्चालनका लागि राष्ट्र बैंकमा निवेदन दिनुपर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाल इन्फ्रास्ट्रक्चर बैंक स्थापनका लागि सैद्धान्तिक सहमति प्रदान गरेको छ । राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीवि नेपालले इस्फ्रास्ट्रक्चर बैंकका अध्यक्ष डा. विमलप्रसाद कोइरालालाई आइतबार सैद्धान्तिकपत्र हस्तान्तरण गरेका हुन् । राष्ट्रको पुर्वाधार विकासका लागि लगानी जुटाउन सार्वजनिक-निजी साझेदारीको प्रारुपमा पुर्वाधार विकास बैंक स्थापना हुन लागेको हो । सैद्धान्तिक सहमति प्राप्त भएको मितिले ६ महिना भित्र बैंक सञ्चालन गर्न आवश्यक पूर्वाधार तयार गरी वित्तीय कारोबार थाल्न अनुमतिपत्र (लाइसेन्स) का लागि राष्ट्र बैंकमा निवेदन दर्ता गराउनु पर्नेछ । केन्द्रीय बैंकले लाइसेन्स दिएपछि कारोबार शुरु हुने बैंकले जनाएको छ । इन्फ्रास्ट्रक्चर बैंकको चुक्तापुँजी २० अर्ब रुपैयाँ छ । जसमध्ये संस्थापक समुहको तर्फबाट १२ अर्ब र सर्वसाधारण समुहको तर्फबाट ८ अर्ब रुपैयाँ सेयर पुँजी रहने छ । बैंकमा सरकारको तर्फबाट १० प्रतिशत, संस्थापकको तर्फबाट ५० प्रतिशत र सर्वसाधारण जनताको तर्फबाट ४० प्रतिशत सेयर रहेको छ । इन्फ्रास्ट्रक्चर बैंकमा सरकार लगायत विभिन्न वाणिज्य बैंक, बीमा कम्पनी तथा निजी क्षेत्रको लगानी रहने छ ।बैंकको मुख्य उद्देख्य पूर्वाधार विकास सम्बन्धी परियोजनामा कर्जा प्रवाह तथा सेयरमा लगानी गर्ने, पूर्वाधार विकास सम्बन्धी परियोजना सञ्चालन गर्ने कम्पनीहरुको धितोपत्रमा लगानी गर्ने, पूर्वाधार विकास सम्बन्धी परियोजनको निर्माण तथा सञ्चालनको लागि आवश्यक मेसिन, उपकरण तथा औजारको खरिद, बिक्री, आपूर्ति वा जडान सम्बन्धी कारोबारको लागि प्रतितपत्र खोल्ने तथा जमानतपत्र जारी गर्ने छ । यस्तै राष्ट्र बैंकको स्वीकृती लिई पूर्वाधार विकास सम्बन्धी परियोजनामा लगानी गर्न आवश्यक पुँजी रकम जुटाउन विभिन्न प्रकारका स्वदेशी वा विदेशी मुद्रामा वित्तीय उपकरण जारी गर्ने तथा ऋण प्राप्त गर्ने तथा लिजीङ्ग कारोबार गर्ने, दिर्घकालीन प्रकृतिको निक्षेप स्वीकार गरी वा डिवेन्चर जारी गरी श्रोत परिचालन गर्ने, विदेशी बैंक तथा वित्तीय संस्थाको जमानत स्वीकार गरी परियोजनामा कर्जा तथा सुविधा प्रदान गर्ने छ ।
नेपाल बङ्गलादेश बैंकको थप शाखा धनुषा र सिराहामा
काठमाडौं । नेपाल बङ्गलादेश बैंक लिमिटेडले शाखा विस्तारको क्रममा आफ्नो ६८ र ६९औं शाखाहरु संचालनमा ल्याएको छ । यस बैंकले जेठ ६ गते(आज)बाट धनुषा जिल्लाको धनौजी र सिराहा जिल्लाको अर्नमामा नयाँ शाखाहरुको औपचारिक कारोबार शुभारम्भ गरेको छ । बैंकले ग्रामीण क्षेत्रका सर्वसाधारणलाई समेत सहज बैंकिङ्ग सेवा प्रदान गर्ने उदेश्यले वित्तीय संजाल नपुगेका क्षेत्रमा शाखा विस्तारको अभियानलाई निरन्तरता दिएको छ । साथै, यी शाखाहरुबाट सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पुर्ण बैंकिङ्ग सेवा प्राप्त गर्न सक्नेछन् । यी दुई शाखाहरु सहित बैंकले ६९ शाखा, ५ एक्सटेन्सन काउन्टर, ७ शाखारहित बैंकिङ्ग सेवा तथा ५१ वटा एटीएमबाट बैंकिङ्ग सुविधा दिंदै आएकोे छ ।
गृहमन्त्री थापाको प्रहरीलाई निर्देशन : कानून विपरित एकाधिकार जमाउने व्यवसायीलाई तह लगाउनु
काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले सबै किसिमका सिण्डिकेट अन्त्य गर्न उच्च प्रहरी अधिकृतलाई निर्देशन दिएका छन् । बिभिन्न प्रदेशको प्रहरी प्रमुख, केन्द्रीय अनुसन्धान व्युरोको प्रमुख तथा महानगरीय प्रहरी कार्यालयको निमित्त प्रमुखको जिम्मेवारी पाएका डिआईजिहरुलाई आईतबार मन्त्रालयमा निर्देशन दिँदै गृहमन्त्री थापाले अब कुनै किसिमको सिण्डिकेट सरकारलाई स्वीकार्य नहुनेबताएका हुन् । उनले भने “यतायात क्षेत्रको सिण्डिकेट अन्त्यको प्रक्रियामा छ, अब स्वास्थ्य, शिक्षादेखि तरकारीसम्ममा रहेको सिण्डिकेट अन्त्य गर्न जरुरी छ । तपाईहरुले अब सम्हाल्ने कार्यक्षेत्रमा रहेका ति सबै किसिमका सिण्डिकेट हटाउनुहोस् । ’ उनले भ्रष्टचार र तस्करीलाई निस्तेज पार्नेगरी काम गर्न समेत प्रहरी अधिकारीहरुलाई निर्देशन दिए । उनले थपे-‘गृहमन्त्रालयले तपाईहरुलाई विश्वास गरेर यो जिम्मेवारी दिएको छ , सबै जिम्मेवारी आफैमा महत्वपुर्ण छन् । हाम्रो अपेक्षा र विश्वास तपाईहरुले पुरा गर्नुहुनेछ । ’ सरकारको लक्ष्य विकास र समृद्धि रहेको भन्दै त्यसका लागि सुशसान कायम गर्नु पहिलो काम भएकाे बताए । निर्देशनको क्रममा गृहसचिव प्रेमकुमार राई, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र गृहमन्त्रीको सल्लाहकार सूर्यप्रकाश सुवेदीको उपस्थिति रहेको थियो ।
सी–आस्वामा समस्या आएपछि धितोपत्र बोर्डले सीडीएसलाई सुधार्न दियो निर्देशन
काठमाडौं । धितोपत्र बोर्डले सार्वजनिक निस्काशनमा (सी–आस्वा) प्रणालीलाई प्रभावकारी बनाउन सीडीएस क्लियरिङ हाउस लिमिटेडलाई निर्देशन दिएको छ । बैंक तथा वित्तीय संस्थाबाट समेत सी–आस्वा सफ्टवेयर मा समय समयमा सम्पर्क टुट्ने र प्रणाली नै ह्याङ हुने भएपछि बोर्डले आइतबार यसलाई सुधार्न आवश्यक सयन्त्रको विकास गर्न सुझाएको हो । क्षमतामा अभिवृद्वि गरी निर्वाध रुपमा सी–आस्वा सेवा सुचारु रहने संयन्त्रको बिकास, सी–आस्वाबाट आवेदन गर्दाको समयमा नै खातामा रहेको रकम तत्काल रोक्का हुने ब्यवस्था सहित आवेदनको सुनिश्चतताको बारेमा सेवाग्राहीलाई तत्कालै जानकारी गराउने संयन्त्रको विकास गर्न बोर्डले सीडीएसलाई निर्देशन दिएको छ । यस्तै सेवाग्राहीलाई सी–आस्वा सेवा सम्बन्धमा जानकारी प्रदान गर्न पर्याप्त प्रचार प्रसार गर्ने, सी–आस्वा प्रदायक वैंक वित्तीय संस्थालाई सेवा प्रभावकारी रुपमा कार्यान्वयन गर्न संस्थाका कर्मचारीलाई आवश्यक तालिम प्रदान गर्ने व्यवस्था गर्न भनेको छ ।
गण्डकी विकास बैंक अब नेपालगञ्जमा पनि
काठमाडौं । गण्डकी विकास बैंकले आफ्नो नयाँ शाखा नेपालगञ्जमा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन बैंकका अध्यक्ष जगनबहादुर गुरुङ्गले गरेका हुन् । कार्यक्रममा गुरुङ्गले आगामी दिनहरुमा बैंकले सम्भाव्य ठाउँहरुमा थप शाखा विस्तार गर्दै जाने बताएका छन् । त्यस्तै, बैंकका प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले यही जेठ २५ गते सम्पन्न हुने वार्षिक साधाराण सभाले पारित गरे पश्चात चुक्ता पूँजीमा सवै भन्दा ठूलो विकास बैक हुने बताएका छन् । बैंकले उक्त शाखाबाट निक्षेप संकलन, सहज र सरल रुपमा कर्जा प्रवाहको साथै आधुुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेकोे छ । यस पश्चात बैंकका कुल ७७ वटा शाखा र देशका सातै प्रदेशबाट बैंकिङ् सेवा प्रदान हुने सीईओ थापाले बताए ।