विकासन्युज

रेल किन्न ५० करोड बजेट, अर्काे बर्ष गुड्ने पक्का

काठमाडौं । सरकारले रेल खरिदका लागि ५० करोड रुपैंयाँ बजेट छुट्याएको छ । रेल खरिदका लागि बजेट विनियोजन भएसँगै आगामी आर्थिक बर्षभित्रै नेपाली भूमिमा रेल गुड्ने पक्का भएको हो । ‘रेलका डब्बा खरिदका लागि ५० करोड रुपैंयाँ बजेट विनियोजन भएको छ, आगामी आर्थिक बर्षभित्रै नेपाली भूमिमा रेल गुड्नेछ’, रेल विभागका सिनियर डिभिजनल इञ्जिनियर प्रकाशभक्त उपाध्यायले विकास न्यूजलाई भने । सरकारले आफ्नो श्रोतबाट ३ करोड ७५ लाख र विदेशी सहयोगबाट ४६ करोड २५ लाख रुपैंयाँ रेल खरिदका लागि छुट्याएको हो । उपाध्यायका अुनसार जनकपुर जयनगर रेलमार्गको काम अन्तिम चरणमा पुगिसकेको छ । सोही मार्गमा गुडाउन रेलका डब्बा खरिदका लागि रकम विनियोजन गरिएको हो । जयनगर जनकपुर बर्दिबाससम्म ६९ किलोमिटर रेल वे ट्रयाकमा गुडाउन डब्बा खरिद गर्न लागिएको हो । बजेट पाएपछि तत्कालै रेलका डब्बा बुक(अर्डर) गर्न सकिने उपाध्यायले जानकारी दिए । ‘यो ५० करोडले तत्कालै पाँच सात वटा रेलका डब्बा अर्डर गर्न सकिन्छ, हामीले छिट्टै त्यो काम सुरु गर्छाै’, उपाध्यायले भने । सरकारले आगामी आर्थिक बर्षभित्रै पुर्वपश्चिम रेलमार्ग अन्तगर्त बर्दिबास लालबन्दीदेखि निजगढसम्मको खण्डमा रेल मार्ग निर्माणको काम अघि बढाउन लागेको अर्थमन्त्री डा. युवराज खतिवडाले बताए ।    

एनआईसी एशिया बैंकको थप शाखा रौतहटको बंकुल बजारमा

काठमाडौं । एनआईसी एशिया बैंकले रौतहटको बंकुल बजारमा नयाँ शाखा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन बौधीमाई नगरपालिकाका मेयर राजीव रंजन यादवले गरेका छन् । हाल बैंकले २१७ शाखा कार्यालयहरु, २०३ एटिएम, ८ वटा एक्स्टेन्सन काउण्टर एवं ८ वटा शाखारहित बैंकिङ्ग मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

पैसा खाएर ड्राइभिङ लाइसेन्स पास गराउने ४ जना एकान्तकुनाबाट पक्राउ

काठमाडौं । यातायात व्यवस्था कार्यालय एकान्तकुना, ललितपुरबाट लिएको बस, ट्रक जीप ट्रायल परीक्षामा अनियमितता गर्ने ४ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । लाइसेन्स परिक्षामा रकम लिई पास गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा उद्ववबहादुर खत्री, दिनेश श्रेष्ठ, सुरेन्द्र श्रेष्ठ र श्यामप्रसाद खनाल रहेका छन् । उद्ववबहादुर खत्री सिन्धुली कपी सेन्टर एकान्तकुनाका सञ्चालक हुन् भने दिनेश श्रेष्ठ र सुरेन्द्र श्रेष्ठ ड्राइभिङ इन्सिच्युट एकान्तकुनामा मोटरसाइकल सिकाउने काम गर्छन । उनीहरुलाई व्यवस्था कार्यालय एकान्तकुना अगाडिबाट तथा मेघा ड्राइभिङ्ग ट्रेनिङ सेन्टर धोबीघाटका सञ्चालक श्यामप्रसाद खनाललाई धोवीघाटबाट अख्तियारले पक्राउ गरेको हो । पक्राउ परेका चार जनामाथि नै अनुसन्धान भैरहेको अख्त्तियारका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए ।

अर्थमन्त्रीले सुनाए ८ प्रतिशत आर्थिक वृद्धिदरका आधा दर्जन आधार

  काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी बर्ष ८ प्रतिशत आर्थिक वृद्धि हासिल हुने आधारहरु सार्वजनिक गरेका छन् । अर्थमन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै अर्थमन्त्री खतिवडाले प्रक्षेपित वृद्धिदर हासिल हुने दावी गर्दै आधा दर्जन आधार पेश गरेका हुन् । आगामी वर्षमा आर्थिक वृद्धिको मुल इन्जिन औद्योगिक क्षेत्र हुने उनको भनाई छ । आगामी आवमा औद्योगिक उत्पादन १२ प्रतिशत बढ्ने प्रक्षेपण सरकारले गरेको उनले जानकारी दिए । यही प्रक्षेणका आधारमा सरकारले ८ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य निधारण गरेको हो । देश लोडसेडिङमुक्त भएपछि औद्योगिक उत्पादन विस्तार हुदै गएको र आगामी वर्ष थप बढ्ने आधारमा यो लक्ष्य निर्धारण गरेको खतिवडाले बताएका छन् । पत्रकार सम्मेलनमा अर्थमन्त्री खतिवडाले आगामी वर्ष राष्ट्रिय गौरवका ४५६ मेगावाटको माथिल्लो तामाकोसी र मेलम्ची खानेपानी आयोजना सञ्चालनमा आउने जानकारी दिए । दुई आयोजनाले मूल्य अभिवृद्धि गर्न उनको भनाई छ । यस्तै नयाँ ठुला सिमेन्ट र खानी उद्योग सञ्चालनमा आउने भएकाले यी क्षेत्रले आर्थिक गतिविधिमा विस्तार गर्ने खतिवडाको तर्क छ । आगामी वर्ष पनि साढे ८ प्रतिशत् सेवा विस्तार हुने उनले जानकारी दिए । यस्तै कृषि क्षेत्रको विस्ता साढे ४ प्रतिशत हुने उनको भनाई छ । उद्योग, सेवा र कृषिको विस्तारका आधारमा ८ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य निर्धारण गरिएको उनको भनाई छ । पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिले मुद्रास्फिती बढाउने उनको भनाई छ ।

वर्षा सुरु हुन लाग्दा नारायणगढ–मुग्लिन सडक खण्ड ३३ प्रतिशत मात्रै सम्पन्न

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डको तीनमध्ये एक खण्डको काम सम्पन्न भएको छ । पाँचौँ पटक थपिएको मिति आज सम्पन्न भएपनि बाँकी दुई खण्डको काम भने सकिएको छैन । नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार सो सडकको दासढुंगाबाट सिमलतालसम्मको १०।७ किलोमिटर सडक सम्पन्न भएको ठेकेदार कम्पनीले आयोजनालाई जानकारी गराएको छ । सो सडकको काम हाल सम्पन्न भए पनि एक वर्षसम्म भत्के बिग्रिएमा हेर्नुपर्ने भएकाले बजेटको हिसाबले शतप्रतिशत सम्पन्न भएको देखिँदैन । खनालका अनुसार आँपटारीदेखि दासढुंगासम्म भारतीय बिएलए तथा नेपाली श्रेष्ठ निर्माण कम्पनी, त्यसपछिको सिमलतालसम्म भारतीय उड हिल तथा नेपाली लामा निर्माण कम्पनी र सिमलतालदेखि मुग्लिनसम्म भारतको सुप्रिम र नेपाली रौताहा निर्माण कम्पनीलाई ठेक्का दिइएको छ । यसमध्ये बीचको खण्ड उडहिल लामा जेभीले काम सम्पन्न गरेको हो । उसले ९७ प्रतिशत काम सम्पन्न गरेको छ भने पहिलो खण्ड बिएलए श्रेष्ठ जेभीले ८९।६ प्रतिशत र तेस्रो खण्ड सुप्रिम रौताहा जेभीले ८४ प्रतिशत काम सम्पन्न गरेका छन् । समग्रमा ८९।८ प्रतिशत काम सम्पन्न भएको खनालले बताए । सो सडकको पाँचौँ पटक थप गरिएको मिति पहिलो खण्डको मे १०, दोस्रो खण्डको मे २० र तेस्रो खण्डको मे ३० मा सम्पन्न भएको छ । पुनः मिति थपका लागि तीनवटै कम्पनीले परामर्शदाता कम्पनीलाई आग्रह गरिसकेका छन् । हाल सो सडकको ४५० मिटरबाहेक अन्यत्र एक तह र कतिपय तेस्रो तहको कालोपत्रको काम सम्पन्न भएको छ । सो सडक आयोजनाका परामर्शदाता कम्पनीका आवासीय इञ्जिनियर पुष्कर रेग्मीका अनुसार तेस्रो खण्डको चेपाङ डाँडामा आज साँझसम्ममा भित्तो काट्ने काम सकिन्छ भने दुई दिनमा कालोपत्रको पहिलो तह सम्पन्न हुने बताए । तेस्रो खण्डकै एङ्कर वाल उठाउने काम बाँकी रहेकाले झण्डै तीन हप्ता सो कामका लागि समय लाग्ने अनुमान गरिएको छ । सो सडक हेर्दैआएका प्रविधिज्ञले असार मसान्तसम्ममा अन्य दुई खण्ड पनि सम्पन्न हुने अनुमान गरेका छन् । चाँडै वर्षात् भएकाले काममा केही ढिलाइ भएको जनाइएको छ । रासस

वृद्ध भत्ता मासिक ५०० रुपैंयाँले बढेको छ-अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले वृद्ध भत्ता मासिक पाँच सय रुपैंयाँका दरले वृद्धि गरेको दावी गरेका छन् । आगामी आर्थिक बर्षका लागि संसदमा पेश गरिएको बजेटका बारेमा आयोजना गरेको पत्रकार सम्मेलनमा अर्थमन्त्री खतिवडाले वृद्ध भत्ता बढाएको दावी गरेका हुन् । डा. खतिवडाले गरेको दावी उनकै शब्दमा पाँच बर्षमा जेष्ठ नागरिकको भत्ता दोब्बर बनाउने भनिएको छ र युवराज खतिवडा आफैं पनि घोषणा पत्र लेखनमा बसेको मान्छे हो । मैले त्यहि बेला देखि नै भन्दै आएको छु की सामाजिक सुरक्षाका धेरै स्किम हुन्छन् । भत्ता दिने, बीमा गर्ने र आवास बनाइदिने । हामी अहिले बीमा गरिदिने स्किमबाट अघि बढेका छौं । भोली आबासमा पनि जान्छौं । अहिले आवास नभएका वृद्धवृद्धालाई आवास दिने पनि भनेका छौं । आवास र स्वास्थ्य बीमा जोड्ने हो भने भत्ता बढाएको जस्तै देखिन्छ । एक लाख रुपैंयाँको निशुल्क जीवन बीमा गर्ने भनेको ६।७ हजार त पर्छ नै । त्यसरी हेर्ने हो भने पाँच सय रुपैंयाँ त महिनाको यसै पनि बढ्यो नै । बुढाबुढीको सबै भन्दा धेरै खर्च हुने भनेको त्यहि स्वास्थ्यमा हो । खान त कति नै खाइन्छ र ? त्यो स्वास्थ्यको हेरचार सरकारले गरिदिन्छ । म अग्रज बुवाआमाहरुलाई आग्रह गर्न चाहान्छु, अब छोरा छोरीले तपाईहरु बिरामी हुँदा हस्पिटल नलगिकन पैसा छैन भनेर बस्दैनन् । हस्पिटलसम्म पुर्याउँछन र त्यहाँ निःशुल्क उपचार हुन्छ । वृद्ध भत्तालाई स्वास्थ्यसँग जोडेर अघि सारिएको कुरा त्यसरी नै बुझिदिनुहुन अग्रज बुवाआमाहरुलाई आग्रह गर्दछु ।

सिद्धार्थ बैंक ‘आइएमई पे’ वालेटमा आवद्ध, रकम जम्मा गर्न सजिलो हुने

काठमाडौं । आइएमई पेका सेवाग्राहीहरूले अबदेखि सिद्धार्थ बैंक लिमिटेडको खातामा लिङ्क गरि ‘आइएमई पे’ वालेटमा सिधैं रकमान्तर गर्न सक्ने भएका छन् । बैंकले सेवाग्राहीहरूलाई आइएमई पे वालेटमा बैंक खाता लिङ्क गर्ने लगायत बैंक खाताबाट वालेट र वालेटबाट बैंक खातामा रकम जम्मा गर्ने जस्ता सेवाहरू उपलब्ध गराउनेछ । साथै, सिद्धार्थ बैंकका सेवाग्राहीहरुले ‘आइएमई पे’ मा उपलब्ध रिचार्ज र विभिन्न प्रकारका अनलाइन र अफलाइन भुक्तानी सेवाका अतिरिक्त मनी ट्रान्सफर सम्बन्धी सुविधा पनि प्राप्त गर्न सक्नेछन् । आइएमई ग्रुपद्धारा प्रवद्र्धित ‘आइएमई डिजिटल’ र सिद्धार्थ बैंकबीच ‘आइएमई पे वालेट’ मार्फत विविध मोबाइल वित्तीय सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता पत्रमा गत फागुनमा भएको हस्ताक्षर भएको थियो । सो अनुसार यो सेवा प्रदान गर्न लागिएको कम्पनीले जनाएको छ । सिद्धार्थ बैंक ‘आइएमई डिजिटल’ को बैंकिङ्ग साझेदार संस्था हो ।

नुवाकोटको स्थानीय तहमा बजेट घट्यो, सबैभन्दा बढी विदुर नगरपालिकालाई

नुवाकोट । सरकारले आगामी आर्थिक वर्ष २०७५/७६ को लागि यहाँका दुई नगरपालिका र १० गाउँपालिकालाई दुई अर्ब ५४ करोड ४३ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । मंगलबार सार्वजनिक भएको बजेटमा सबैभन्दा बढी विदुर नगरपालिकालाई ४६ करोड २३ लाख रुपैयाँ र बेलकोटगढी नगरपालिकालाई ३३ करोड ४६ लाख रुपैयाँ बजेट छुट्याइएको छ । चालू आवभन्दा आगामी आवमा विदुर नगरपालिकालाई दुई करोड रुपैयाँ बजेट थप गरिएको छ भने बेलकोटगढीको बजेट रु पाँच करोड घटेको छ । यस्तै, ककनी गाउँपालिकाका लागि रु २३ करोड ७६ लाख, किस्पाङलाई रु १५ करोड ३१ लाख, तादीलाई रु १७ करोड ४४ लाख, तार्केश्वरलाई रु १५ करोड ८१ लाख, दुप्चेश्वरलाई रु १९ करोड ३५ लाख, पञ्चकन्यालाई रु १५ करोड नौ लाख, मेघाङलाई रु १४ करोड ६५ लाख, लिखुलाई रु १६ करोड ५० लाख, शिवपुरीलाई रु २१ करोड ६९ लाख र सूर्यगढीका लागि रु १५ करोड १४ लाख विनियोजन गरिएको छ । चालू आवका लागि यहाँ रहेका स्थानीय तहलाई वित्तीय समानीकरण र सशर्त अनुदानमार्फत रु दुई अर्ब ९९ करोड ११ लाख बजेट विनियोजित भएकामा आगामी आवका लागि रु ४४ करोड ६८ लाख कम बजेट विनियोजन भएको छ । चालू आवमा भन्दा आगामी आवमा विदुर नपा र ककनी गापाको बजेटमा केही वृद्धि भए पनि बाँकी स्थानीय तहमा बजेट कम विनियोजन गरिएको छ । रासस