विकासन्युज

ज्योति विकास बैंक र सानिमा बैंकबीच रेमिटेन्स सम्झौता

काठमाडौं । ज्योति विकास बैंक र सानिमा बैंकबीच रेमिटेन्स सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा ज्योति विकास बैंकको तर्फबाट संचालन विभाग प्रमुख बलदेव थापा तथा सानिमा बैंकका तर्फबाट प्रबन्धक सरोज गुरागाँईले हस्ताक्षर गरेका छन् । सम्झौता पश्चात दुई संस्थाले रेमिट आदान प्रदान गर्ने भएका छन् । ज्योति विकास बैंकले हालै संचालनमा ल्याएको ज्योति रेमिट सेवा अबदेखि सानिमा बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट पनि रकम भुक्तानी लिन र दिन सकिने बैंकले जनाएको छ ।

लक्ष्मी बैंकको १०२ औं एटिएम पोखराको बिजयपुर व्यारेकमा

काठमाडौं । लक्ष्मी बैंकले पोखराको पश्चिम पृतना हेडक्वाटर बिजयपुर व्यारेकमा नयाँ एटिएम सेवा संचालनमा ल्याएकोे छ । उक्त एटिएमको उद्घाटन पृतनापति देवेन्द्र बहादुर मेधासी र लक्ष्मी बैंकको तर्फबाट मनिषराज कुँवरले गरेका छन् । यस एटिएमको सेवा व्यारेकका सैनिकहरुका लागी मात्र नभई, सर्वसाधारणहरुका लागी पनि उपलब्ध हुनेछ । यस सहित बैंकको ए.टि.एम संख्या १०२ पुगेको छ भने देशभर कुल ८४ शाखाहरु पुगेका छन् ।

‘भ्वाइस अफ नेपाल’ अब डिशहोमको रमाइलो टिभीमा, साउनदेखि प्रशारण हुने

काठमाडौं । अर्न्तराष्ट्रिय रियालिटि शो ‘भ्वाइस अफ नेपाल’ अब डिशहोमको रमाइलो टिभीमा प्रसारण हुने भएको छ । उक्त कार्यक्रम प्रायोजनको लागि डिशहोम र एडि रिलिज प्रा.लिबीच सम्झौता भएकाे छ । उक्त सम्झौतामा बिहीबार एक कार्यक्रमकाबीच डिशहोमका प्रमुख कायृकारी अधिकृत(सीईओ) सुदीप आचार्य र एडिरिलिजका मार्केटिङ् म्यानेजर दिपक कोइरालाले हस्ताक्षर गरेका छन् । ‘भ्वाइस अफ नेपाल’ नेदरल्याण्डको गायन रियालिटि शो ‘द भ्वाइस’को नेपाली संस्करण हो । जुन शो आगामी साउनको पहिलो हप्तादेखि प्रशारण हुने डिशहोमले जनाएको छ । कार्यक्रममा डिशहोमका प्रमुख कायृकारी अधिकृत सुदीप आर्चायले यस रमाईलो टिभीमा नेपाली हाँस्य श्रृंखला, नेपालीमा अनुवाद गरिएका चर्चित हिन्दी टेलिश्रृंखला, सांगितिक कार्यक्रम, जिवन कथा लगायतका विभिन्न मनोरञ्जनात्मक सामाग्रीहरु प्रशारण भइरहेका बताएका छन् । साथै, उनले भ्वाईस अफ नेपालसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताए । त्यस्तै, डिशहोमका जेनरल म्यानेजर कल्यान अधिकारीले यस टिभी ‘हाई डेफिनेशन’मा प्रशारण हुने बताएका छन् । साथै, कार्यक्रममा रमाइलो टिभीका दयाराम पाण्डेले ९० प्रतिशत टिभी डिशहोमबाट चल्ने र सबै डिशहोममा रमाइलो टिभी आउने बताएका छन् ।

बंगलादेशले धागोमा लगाएको अबरोध हटायाे, निर्यातको बाटो खुल्यो

काठमाडौं । बंगलादेशले नेपालमा उत्पादन भएको धागो (यार्न) फेरी निर्यात गर्ने भएको छ । बुधबार र बिहीबार काठमाडौंमा जारी नेपाल र बंगलादेशबीचको वाणिज्य मन्त्रालय स्तरिय बैठकमा बंलादेशले नेपालकाे धागाेमा लगाएकाे अबराेध हटाउने सहमति गरेकाे हाे । उक्त सहमतिसँगै स्वदेशमा उत्पादन भएकाे धागो ब‌ंगलादेश निर्यातकाे लागि बाटो खुलेकाे छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता रविशंकर सैंजुले जारी बैठकमा बंलादेशले बिगतदेखि धागोमा लागाइएको अबरोध हटाइ फेरी आयात गर्ने सहमति भएको बताए । ‘सहमति भएसँगै बंलादेशले अब नेपाली धागो खरिद गर्ने प्रक्रिया अघि बढाउने ब‌ंगलादेशका उच्च अधिकारीहरुले सहमति जनाएका छन्,’ उनले भने । अबरोध हटेपछि बंगलादेशमा मात्रै नेपालदेखि करिब ५ अर्ब रुपैयाँभन्दा बढी धागो (यार्न) वार्षिक रुपमा निर्यात हुने मन्त्रालयको भनाइ छ । विगतमा पनि सोही बराबरको धागो निर्यात हुने प्रवक्ता सैंजुले जानकारी दिए । केही वर्षअघि बंगलादेशले एकै पटक नेपाल र भारतबाट धागो आयात गर्न छोडेको थियो । यद्यपि पछिल्लो समय भारतदेखि भने बंगलादेशले धागो खरिद गर्न शुरु गरिसकेकोमा नेपालसँगको अबरोध भने यथावत थियो । बैठकमा उक्त अबरोध हटाउने सहमति भएको हो । अबरोध हुनअघि नेपालबाट बंगलादेशले कांकडभिट्टाको फुलबारी बंगलावन्ध नाका हुँदै धागो बंगलादेश निर्यात हुन्थ्यो । त्यस्तै व्यवसायीहरुले पछिल्लो समय तेस्रो मुलकको रुपमा बंगलादेशलाई रोज्ने गरेका छन् । केहि महिनाअघि मात्रै अदुवामा भारतले अवरोध गरेपछि अदुवा व्यवसायीहरुले बंगलादेशमा पहिलो पटक अदुवा निर्यात गर्न शुरु गरिसकेका छन् । नेपाल धागो उत्पादक संघकाका अनुसार स्वदेशी धागो उद्योगहरुमा १५ अर्ब रुपैयाँ बराबरकाे लगानी भएकाे छ । हाल मुलुकमा ठूला ४ टेक्स्टायल उद्योगहरु सञ्चालनमा छन् । ती उद्योगहरुले १० हजार जनालाई प्रत्यक्ष भने हजाराैंलार्इ अप्रत्यक्ष रोजगार प्रदान गरिरहेकाे छ ।  

रैराङ हाइड्रोपावरको सेयर रजिष्ट्रेशनको काम भिवोर क्यापिटलले गर्ने

काठमाडौं । रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर रजिष्ट्रेशनको काम भिवोर क्यापिटल लिमिटेडले गर्ने भएकाे छ। उक्त कार्यकाे लागि बिहीबार(आज) कम्पनीका कार्यकारी संचालन गुरुप्रसाद न्यौपाने र भिवोर क्यापिटलका प्रमुख कार्यकारी अधिकृत बद्रीबिक्रम थापाले हस्ताक्षर गरेका छन् । यस पश्चात हाइड्रोको सेयर रजिष्ट्रेशन सम्बन्धी सम्पूर्ण कार्यहरु भिवोर क्यापिटलले गर्ने भएको छ । क्यापिटलले असार १ गतेदेखि रैराङ हाइड्रोको सेयर रजिष्ट्रेशन सम्बन्धी सम्पूर्ण कार्य गर्ने कम्पनीले जनाएको छ ।

बजारमा परिसूचक र कारोबार दुबैमा गिरावट, ट्रेडिङ् बाहेक सबै समूह राताम्मे

काठमाडौं । सेयर बजार ओरालो लाग्ने क्रम जारी रहेको छ । बिहीबारको बजारमा पनि नेप्से परिसूचक र कारोबार रकम दुबैमा गिरावट आएको छ । सो दिनको परिसूचक १४.६१ अंकले घटेर १३०७ अंकमा झरेको छ । त्यस्तै, १६५ कम्पनीको कुल ३४ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जुन अघिल्लो दिनको तुलनमा १० करोड रुपैयाँ घटि हो । दिनभर कारोबारमा आएका सूचक मध्ये ट्रेडिङ् बाहेक सबैसमूह राताम्मे भएका छन् । सबैभन्दा बढी बीमा समूह ११५ अंकले घटेको छ । ट्रेडिङ समूह भने २.९६ अंकले उकालो लागेको छ । त्यस्तै, बैंकिङ् समूहको सबैभन्दा बढी अर्थात १० करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । बिहीबार सबैभन्दा बढी मेघा बैंकको सेयर मूल्य ९.६५ प्रतिशतले घटेकोे छ ।

परिसंघले भन्यो– बजेट सकरात्मक

काडमाडौं । नेपाल उद्योग परिसंघले आगामीआर्थिक वर्ष २०७५/७६ को बजेट सरात्मक रहेको बताएको छ । संघले बजेटमार्फत रोजगारी, पूर्वाधार विकास, पर्यटन, कृषि व्यवसायको प्रवद्र्धनको लागि नीतिगत सुधार गरी औद्योगिक लगानीको सुनिश्चितता प्रदान गरेको जानकारी दिए । त्यस्तै निर्यात प्रोत्साहन रकममा वृद्धि, ऊर्जा दशकको घोषणा, उद्योग दर्ता र खारेजी सरलीकरण, जग्गा प्राप्तीमा सरलीकरण, उद्योगमा रोजगारी दिए वापत करमा छुट, प्राविधिक शिक्षामा इन्टर्नको लागि बजेट विनियोजन, सातै प्रदेशमा विशेष आर्थिक क्षेत्र र औद्योगिक क्षेत्र स्थापना गर्ने प्रावधान सकारात्मक पक्ष रहेको संघको भनाइ छ । सुशासनमा उच्च प्राथमिकता दिएको र सुशासन कायम भए स्वतःलगानी विस्तार हुने संघको भनाइ छ । आगामी ५ वर्षमा नेपालीको आय दोब्बर बनाउन ८ प्रतिशतको हाराहारीको आर्थिक वृद्धिदर लक्ष्य सहित संघीय गणतन्त्र नेपालको पूर्ण संघीय बजेट समृद्धिको इतिहास रच्ने आधार वर्ष बनाउने प्रयास रहेको छ । ८ प्रतिशतको आर्थिक वृद्धि र ५ प्रतिशतको मूल्यवृद्धिको लक्ष्य राख्दै ल्याइएको बजेटमा अन्र्तनिहित कार्यक्रम मुलुकलाई औद्योगिकरणतर्फ उन्मुख गर्ने प्रयास भएतापनि विकासको इञ्जिनको रुपमा रहेको निजी क्षेत्रभन्दा सहकारीलाई बढी जोड दिइएको पाइएको संघले बताएको छ । संघको अनुसार बजेटले परिलक्षित गरिएका उद्देश्यहरुमा नागरिकका मौलिकहकको रुपमा रहेको जीवनयापनका न्यूनतम आधारभूतआवश्यकताहरु शीघ्र परिपूर्ति गर्दै चरम गरिबी, विपन्नता र पछौटेपनको अन्त्य गर्ने, साधन स्रोत, अवसर र क्षमताको विकास तथा उच्चतम उपयोग गरी द्रुत आर्थिक तथा मानवीय विकास गर्ने र आर्थिक भौतिक तथा सामाजिक पूर्वाधार विकास गरी समुन्नत, सुदृढ, स्वाधीन र समाजवाद उन्मुख आर्थतन्त्रको निर्माण गर्ने उद्देश्य सकारात्मक छ । त्यस्तै आगामी दुई वर्षभित्र चिनी, औषधी, फलामे डण्डी, काठ सिमेन्ट लगायतका आधारभूत निर्माण सामाग्रीकामा आत्मनिर्भर हुने, बन्द र रुग्ण उद्योगहरुलाई सम्भाव्यताका आधारमा सहकारी र निजी क्षेत्रको साझेदारीमा सञ्चालनगर्ने व्यवस्था मिलाउनु, उद्यमशीलता र सीपविकास तथा तालिमको माध्यमबाट महिला उद्यमशीलता विकास गरी उनीहरुबाट सञ्चालन हुने परियोजनामा आधारित रु. १५ लाखसम्मको सामूहिक ऋणमा ६ प्रतिशतव्याजअनुदानको व्यवस्था गरिनु उद्योगमैत्री रहेको परिसंघको धारणा छ ।

कीर्तिपुर-रत्नपार्क हुँदै चल्ने एस ३ रुटमा ७६ साना माइक्रो हटाइँदै, अब ठूला बस मात्रै

काठमाडाैं । कीर्तिपुरदेखि बल्खु, कालिमाटी, त्रिपुरेश्वर र रत्नपार्कसम्म एस ३ रुटमा अब ठूला बस मात्रै सञ्चालन हुने भएका छन् । यातायात व्यवस्था विभागले एस ५ रुट जस्तै प्रतिस्पर्धाबाट एस ३ रुटमा पनि कम्पनीहरुलाई जिम्मा लगाउन लागिएको हो । अहिले एस ३ रुटको प्रारम्भिक अध्ययन प्रतिवेदन आइसकेकोे यातायात व्यवस्था विभागका निर्देशक तुलसीराम अर्यालले बताए । ‘रुटमा माइक्रो लेवलमा अनुसन्धान भैरहेको छ, बाटो, यात्रुको अवस्था, चलिरहेको सवारीहरुको अवस्था र कुन समयमा यात्रुको चाप बढी हुन्छ भन्ने विषयमा अनुसन्धान भैरहेको छ,’ विभाग अर्यालले विकासन्युसँग भने । नयाँ आर्थिक वर्ष अगावै रुट अध्ययन सकिने अर्यालले जानकारी दिए । एस ३ रुटलाई ‘ए’ र ‘बी’ ग्रेडमा रुटमा छुट्याइएको छ । एस ३ ए कीर्तिपुरदेखि नारायणगोपाल चोकसम्म १३.९ किमी रहेको छ । त्यस्तै एस ३ ‘बी’ अन्तर्गत कीर्तिपुर गल्फुटारसम्म १५.४ किमी रहेको छ । एस ३ ‘ए’ अन्तर्गत नयाँ बजार कीर्तिपुर, बल्खु, कालीमाटी, त्रिपुरेश्वर, जय नेपाल सिनेमा, भाटभटेनी, धम्बाराई मार्ग, चप्पल कारखाना, नारायणगोपाल चोक हुँदै गुड्नेछ । यस्तै एस ३ ‘बि’ अन्तर्गतको रुट नयाँ बजार कीर्तिपुर, बल्खु, कालीमाटी, त्रिपुरेश्वर, जय नेपाल सिनेमा, भाटभटेनी, धुम्बाराई मार्ग, धुम्बाराही, मन्डीखाटापुर, गोल्फुटार र न्युरोहस्पिटल हुँदै गुड्नेछ । अहिले एस ३ रुटमा १९४ वटा साना ठुला बस सञ्चालनमा रहेका छन् । जसमध्ये कीर्तिपुर यातायात सेवा कम्पनीले ४१ वटा बस किर्तिपुर रत्नपार्क सञ्चालन गर्दै आएको छ । कीर्तिपुर मिनीबस समितिले २५ वटा मिनीबस र १० वटा माइक्रोबस सञ्चालन गर्दै आएको छ । यसैगरी विशालबजार माइक्रोबस समितिले २८ वटा माइक्रोबस सञ्चालन गर्दै आएको छ । सो रुटमा ७६ वटा माइक्रोबस बिस्थापित गर्नुपर्ने विभागका इन्जिनियर सरोज आचार्यले बताए । ‘एस ३ रुटमा ७६ वटा साना सवारीलाई ३२ वटा ठुला बसले विस्थापन गर्नुपर्ने देखिएको छ, जसमा तीन यातायात व्यवसायी मिलेर ३२ ठुला बस किन्नु पर्नेछ,’ आचार्यले विकासन्युसँग भने । इन्जिनियर आचार्यका अनुसार बस किन्नका लागि एसियाली विकास बैंकले १५ प्रतिशत अनुदान रकम दिनेछ भने ८० प्रतिशत ऋण सहायता ५ प्रतिशत ब्याजमा सरकारले दिनेछ । ५ प्रतिशत रकम भने व्यवसायीले आफ्नै लगानी गर्नु पर्नेछ । यो प्रोजेक्ट निकै आकर्षक भएपनि व्यवसायी बिचमा समझदारी बन्न नसकेको आचार्यले बताए । यो आयोजनाको म्याद असारसम्म मात्र रहेकोले व्यवसायीहरुले समयमै समझदारी गरी विभाग आउनुपर्ने बताए । विस्थापित हुने साना सवारीलाई भने कुन रुट दिने भन्नेबारे छलफल भैरहको विभागले जनाएको छ । रुट अध्ययनको काम धमाधम भैरहका विभागका प्रविधिक सल्लाहकार पदमबहादुर शाहीले बताए । शाहीका अनुसार साविकको सुदुरपश्चिमाञ्चल विकास क्षेत्र र मध्यपश्चिमाञ्चल विकास क्षेत्रको रुट प्रतिवेदन आइसकेको छ । यातायात क्षेत्र व्यवस्थापनमा धेरै काम गर्न बाँकी रहेको भौतिक तथा यातायात मन्त्रालयका प्रवक्ता राजेन्द्रराज शर्माले बताए । आर्थिक वर्ष २०७५/०७५ मा स्मार्ट लाइसेन्स, रुट व्यवस्थापन, इम्बुस्ट नम्बर प्लेट, राजस्व भुक्तानी प्रणालीलाई अनलाईन मार्फत लैजाने लगायतको काम सम्पन्न गर्ने गरी काम मन्त्रालयले अघि बढाएको शर्माले जानकारी दिए ।