विकासन्युज

प्राधिकरणकाे नौ रणनीतिक प्रसारण लाइन चालू आवमा सक्ने लक्ष्य

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले रणनीतिक महत्वका नौ प्रसारण लाइन चालू आर्थिक वर्षको अन्त्यसम्म निर्माण सम्पन्न गर्ने भएको छ । निर्माणाधीन आयोजनामा उत्पादित बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा ल्याउनका लागि महत्वपूर्ण मानिएका ती आयोजनाको कामको गति युद्धस्तरमा अगाडि बढेको जानकारी दिँदै प्राधिकरणले ऊर्जा क्षेत्रले थप सकारात्मक प्रभाव पर्ने विश्वास लिएको छ । रुग्ण आयोजना निर्माण सम्पन्न गरेपछि प्रसारण लाइनको निर्माण, विस्तार, संस्थागत सुशासन र विद्युत् चुहावट नियन्त्रणमा लागेको तथ्य पेश गर्दै प्राधिकरणले चालू आर्थिक वर्षमा थप हुने विद्युत्को व्यवस्थापनका लागि योजनाबद्ध तवरले लागिपरेको जनाएको छ । कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार चालू आवमा सम्पन्न हुने प्रसारण लाइनमा सिङ्गटी–लामो साँघु प्रसारण लाइन रहेको छ । कूल १३२ केभी क्षमताको सो प्रसारण लाइनमा देखिएको समस्या समाधान गरी चालू आवमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । यस्तै, वनको जग्गा प्रयोग तथा रुख काट्ने समस्याबाट आजित भएको सोलु करिडोर प्रसारण लाइन तोकिएको समयमा पूरा गर्ने लक्ष्य राखिएको छ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सो प्रसारण लाइनमा देखिएको समस्या साधनका लागि आफैं लाग्ने प्रतिबद्धता देखाएकाले आयोजना चालू आवमा नै सकिने प्राधिकरणको विश्वास रहेको कार्यकारी निर्देशक घिसिङले जानकारी दिएका छन् । उदयपुरमा वन क्षेत्रको जग्गा प्रयोगमा सबैभन्दा बढी समस्या देखिएको सो आयोजना चालू आवभित्रै जसरी भएपनि सम्पन्न गर्नुपर्ने दबाबमा प्राधिकरण छ । ऊर्जा उद्यमीसँग भएको विद्युत् खरिद सम्झौताअनुसार प्रसारण लाइनका कारण उत्पादित विद्युत् खेर गएको अवस्थामा ४५ प्रतिशत हर्जना तिर्नुपर्ने शर्त रहेकाले पनि समस्या समाधान गरेर प्रसारण लाइन सम्पन्न गर्नैपर्ने दबाबमा प्राधिकरण छ । यस्तैगरी, प्राधिरकणले चालू आवमा सम्पन्न गर्ने लक्ष्य राखेका प्रसारण लाइनमा दाना–कुश्मा, दोर्दी करिडोर, भरतपुर–बर्दघाट, मस्र्याङ्दी–काठमाडौँ, चिलिमे–त्रिशूली, समुन्द्रटार–त्रिशूली थ्री बी केन्द्र, कोशी करिडोरको इनरुवा–तुम्लिङटार खण्ड रहेको छ । अधिकांश प्रसारण लाइन निर्माणमा वन क्षेत्रको जग्गा प्रयोग, स्थानीयको माग सम्बोधन तथा प्रसारण लाइनको क्षेत्र परिवर्तनलगायतका मागका कारण समस्यामा परेको छ । आर्थिक वर्ष २०७२/७३ सम्ममा विद्युत् प्रसारण लाइनको सञ्जाल दुई हजार ९११ सर्किट किलोमिटर पुगेको छ । गत आवमा मात्रै ७५७ सर्किट किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न भएको थियो । लामो समयदेखि रुग्ण बनेको काबेली करिडोरसहित प्रसारणतर्फ तीन र वितरणतर्फ ३४ गरी कूल ३७ रुग्ण आयोजना आर्थिक वर्ष २०७५/७६ मा सम्पन्न भएको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले जानकारी दिए । सरकारले निर्माणाधीन प्रसारण लाइन निर्माणलाई तोकिएको समयमा पूरा गर्न देखिएका सबै प्रकारका समस्या समाधानका लागि प्राधिकरणलाई स्पष्ट मार्गनिर्देशन गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आयोजनामा देखिएका समस्या स्थलगत रुपमा नै गएर समाधान गर्न कार्यकारी निर्देशक लगायतका कर्मचारीलाई स्पष्ट निर्देशन दिएका छन् । मन्त्री पुनः प्राधिकरण सञ्चालक समितिको अध्यक्ष छन् । मन्त्रालयको स्पष्ट निर्देशन र सरकारले लिएको आर्थिक समृद्धिको प्रमुख आधारका रुपमा ऊर्जा क्षेत्र रहेकाले प्रसारण लाइन निर्माणलाई प्राधिरकणले रणनीतिक महत्वमा राखेको छ । सोही लक्ष्यअनुसार आगामी २०७९ भित्र सबै नेपालीलाई विद्युत् सेवा पुर्याउन प्रसारण लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । भारतर्फ नियमित विद्युत् निर्यात प्राधिकरणले भारतबाट विद्युत् खरिद मात्रै गरेको छैन । नियमित रुपमा विद्युत् निर्यात गरिरहेको छ । दैनिक ४० देखि ४५ मेगावाट विद्युत् विहार निर्यात भइरहेको छ । उनले भने, “उताबाट पनि औपचारिक रुपमा माग भई आएकाले हाल दैनिकजसो नै ४० देखि ४५ मेगावाट विद्युत् निर्यात भइरहेको छ ।” प्राधिकरणले गत साउनको अन्तिम साता २५० मेगावाट भारत पठाई इनर्जी बैंकिङको अभ्यास गरेको थियो । कार्यकारी निर्देशक घिसिङले भारतबाट विद्युत् आयात गर्ने मात्रै नभई निर्यात भइरहेको जानकारी दिँदै चालू आर्थिक वर्षको अन्त्यसम्म त्यसको मात्रा बढ्ने बताए । हाल रक्सौल–परवानीपुर प्रसारण लाइनमार्फत विद्युत् निर्यात भइरहेको छ । प्राधिरकणले कटैया कुशाहा १३२ केभी दोस्रो सर्किट र रक्सोल परवानीपुर १३२ केभी प्रसारण लाइनको निर्माण सम्पन्न गरी नेपाल र विहारबीच विद्युत् आदानप्रदानको क्षमता विस्तार गरिएको छ । रासस

आठ दिनदेखि घटेको घट्यै शेयर बजार, आठ दिनदेखि ७० अंकको गिरावट, किन घटदैछ बजार ?

काठमाडौं । आठ दिनको कारोबारमा शेयर बजार परिसूचक नेप्से ७० अंक भन्दा बढीले घटेको छ । भदौ १८ गतेदेखि सोमबारसम्म आइपुग्दा परिसूचक निरन्तर रुपमा घट्दै ११९४.७७ अंकबाट घटेर ११२३.८४ अंकमा झरेको हो । सोमबार मात्रै परिसूचकमा १६.१८ अंकको गिरावट देखिएको छ । आइतबार यो १७.८७ अंकले को थियो । सोमबारको कारोबारमा कुल ३४ करोड ३९ लाख रुपैंयाको शेयर कारोबार भएको छ । कारोबार भएका कुल ११ उपसूचक मध्ये ट्रेडिङ बाहेक सबै उपसूचकमा गिरावट आएको छ । हाल बजारमा तीव्र गिरावट हुनुमा सम्पत्ति शुद्धीकरणसम्बन्धी निर्देशिका कार्यान्वयनमा आउने तयारी हुनु र बजारका जिम्मेवार अधिकारीहरुबाटै कालो धन सम्बन्धी अभिव्यक्ति आउनुलाई लिइएको छ ।

डेंगुबाट पर्ने प्रभावबारे पर्यटन मन्त्रालयमा छलफल, विमानस्थल सफा राख्न मन्त्रीको निर्देशन

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको सक्रियतामा लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक रोग डेंगुबाट पर्यटन क्षेत्रमा पर्ने प्रभाव र यसको निराकरणको बिषयमा सोमबार मन्त्रालयमा छलफल भयो । छलफलमा मन्त्रालयका सचिव केदारबहादुर अधिकारी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विशेषज्ञ प्रतिनिधि, गृह मन्त्रालयका प्रतिनिधि, नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रतिनिधि, नेपाल होटल संघ, वायुसेवा सञ्चालकका प्रतिनिधि, पर्यटन वस व्यवसायी संघ लगायतका पर्यटन तथा हवाई क्षेत्रसँग सम्बन्धित निजी क्षेत्रका संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । उक्त छलफलमा मन्त्री भट्टराईले सन्मुखमा रहेको ‘भ्रमण वर्ष–२०२०’ र नेपालको पर्यटन क्षेत्रमा यस रोगको कारणबाट पर्न सक्ने असर निराकरणका लागि आवश्यक तयारी तथा पूर्वशर्तकता अपनाउन सबै सरोकारवालाहरुलाई निर्देशन दिए । नेपाल नागरिक उड्डयन प्राधिकरणबाट सबै विमानस्थल सफा राख्ने तथा उडानपूर्व जहाजभित्र तोकिएको मापदण्ड अनुसार औषधी छर्किने व्यवस्था मिलाउन निर्देशन दिए । साथै, नेपाल होटल संघ, रेष्टुरेन्ट व्यवसायी संघ, पर्यटक यातायात लगायत पर्यटकीय सेवा दिने बिभिन्न निकायहरुले आफ्नो क्षेत्र सफा राख्ने, पर्यटकलाई सूसुचित गर्ने तथा औषधीको समेत मापदण्ड अनुरुप गर्न गराउन निर्देशन दिए । उनले राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा सही सूचना सिघ्र प्रवाह गरी यसको असर न्युनीकरण गर्न जोड दिए । उनले खुल्ला क्षेत्र रहेका तथा पर्यटकहरुको बढी उपस्थिति रहने पशुपति क्षेत्र, लुम्बिनी क्षेत्र, जनकपुर क्षेत्र, पोखरा एवम् सौराहा लगायतका पर्यटकीय क्षेत्रहरुमा सरसफाई अभियान चलाउन निर्देशन दिए । यसैगरी राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा यससम्बन्धी तथ्यपूर्ण सूचना सम्प्रषेण गरी नेपालको पर्यटन क्षेत्रमा यसको असर पर्न नदिन तथा अन्तर्राष्ट्रिय जगतमा पर्यटकीय दृष्टीले नेपाल पूर्ण सुरक्षित रहेको सन्देश प्रवाह गर्न नेपाल पर्यटन बोर्डलाई निर्देशन दिएको मन्त्रालयका प्रवक्ता सहसचिव घनश्याम उपाध्यायले बताए ।

क्यान निर्वाचनको नयाँ मिति तय, असोज १० र ११ गते हुने

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान)को केन्द्रीय निर्वाचन आगामी असोज १० र ११ गते हुने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)का प्रतिनिधि इमरान ख्वाजा र अमर शेख, राष्ट्रिय खेलकूद परिषद् (राखेप)का सदस्यसचिव रमेशकुमार सिलवाल र स्वतन्त्र कमिटीका कानूनी परामर्शदाता राजेश्वर श्रेष्ठसहितको आज बसेको बैठकले क्यान निर्वाचनको मिति तय गरेको हो । यसअघि जिल्ला र प्रदेशको निर्वाचन सकिएपछि स्वतन्त्र समितिले असोज ३ र ४ गतेका लागि केन्द्रीय निर्वाचनको मिति तोकेको थियो । तर, त्यसमा राखेपले असहमति जनाएपछि चुनाव हुने/नहुनेबारे अन्यौल भएको थियो । राखेप सदस्यसचिव सिलवालले निर्वाचनको मिति तय, निर्वाचनलाई कसरी स्वतन्त्र पारदर्शी बनाउने र आइसिसीको बैठकमा क्यानको निलम्बनलाई कसरी फुकुवा गर्न सकिन्छ भन्ने विषयमा बैठकमा छलफल भएको जानकारी दिएका छन् । उनले अब बस्ने आइसिसीको बैठकमा क्यानको निलम्बन फुकुवा हुनेमा आफू आशावादी रहेको बताए । त्यस्तै नेपालमा क्रिकेट पूर्वाधारका साथै प्रतियोगिता आयोजना र खेलाडीको प्रशिक्षणलाई कसरी राम्रो गर्न सकिन्छ भन्ने विषयमा आइसिसी सकारात्मक रहेको सदस्यसचिव सिलवालको भनाइ थियो । त्यसैगरी, आइसिसीका प्रतिनिधि इमरान ख्वाजाले नेपाली क्रिकेटमा विद्यमान विवाद समाधानको अन्तिम चरणमा रहेको बताएका छन् । उनले निर्वाचन भएपछि औपचारिक रुपमा क्रिकेटमा नयाँ नेतृत्व आउने र त्यसपछि आइसिसीको आगामी बैठकमा क्यानको निलम्बन फुकुवाका लागि पहल गर्ने जानकारी दिए ।

आईआईएमएस कलेजद्वारा दशैँ कार्निभल तथा नेपाल फुड फेस्टिभलको आयोजना

काठमाडौँ । आईआईएमएस कलेजले दशैँ कार्निभल तथा नेपाल फुड फेस्टिभलको आयोजना गरेको छ । शनिबार काठमाडौंको भृकुटीमण्डपमा मेलाको आयोजना गरेको हो । नेपाली टिपिकल खाना र संस्कृतिको प्रवद्र्धन गर्न मेलाको आयोजा गरिएको आईआईएमएस कलेजका सीर्इओ सविन्द्र महर्जनले जानकारी दिए । फेस्टिभलमा सातवटै प्रदेशका खानाका परिकारलाई मेलामा सहभागी गराइएको थियो । सुदूरपश्चिमको दुप्का, डोटेली सेकुवा र मास पुरी, कर्णालीको मार्सी भात, हिमालको टि–मोम, तराईको घोंगी, पूर्वको एङुबेन, नेवारी खाना, एमरी लगायतका परिकार मेलामा राखिएको थियो । फेस्टिभलमा नेपाली संस्कृति झल्काउने दुर्गा, कुमारी, घिमे, लाखे, मारुनी, कौडा, हुडकेली नाच प्रस्तुत गरिएको सिइओ सविन्द्र महर्जनले जानकारी दिए । भिजिट नेपाल २०२० लाई प्रोमोट गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो । कलेजले प्रत्येक वर्ष फेस्टिभको आयोजना गर्दै आएको छ ।

नेपालमा उत्तर कोरियाको लगानी माथि प्रतिबन्ध, उद्योग विभागले काट्यो पत्र

काठमाडौं । सरकारले अमेरिकाको दबाबमा उत्तर कोरियाको लगानी माथि प्रतिवन्ध लगाएको छ । नेपाल सरकारले उत्तर कोरियाको लगानीलाई प्रतिबन्ध गर्दै सञ्चालनमा रहेको उद्योग व्यापारलाई फिर्ता लान पत्र काटेको हो । नेपाल सरकारले उत्तर कोरियाको लगानीमा सञ्चालन भइरहेको व्यापार र व्यावसायलाई एक महिना भित्र बन्द गरेर लगानी फिर्ता लैजान पत्र काटेको छ । उद्योग विभागका निर्देशक प्रेम लुइटेलले उत्तर कोरियाको लगानी फिर्ता लैजान र अब लगानी नगर्न पत्र काटेको बताए । अमेरिकाले यूएनको सदस्य भएका राष्ट्रहरुलाई उत्तर कोरियाको लगानी नलिन र भएको लगानी पनि फिर्ता गराउन पत्र कटेको थियो । त्यसै अनुरुप विभागले उत्तर कोरियालाई लगानी प्रतिवन्ध र भएको लगानी फिर्ता लान पत्र काटेको निर्देशक लुईँटेलले बताए । युएनले नेपालको परराष्ट्रलाई पत्र काटेको थियो । परराष्ट्रले उद्योग मन्त्रालयलाई र उद्योग मन्त्रालय मार्फत उद्योग विभागमा पत्र आएको बताए । हामीले उत्तर कोरियाको लगानी रहेको उद्योग लगायत सबै ठाउँमा लगानी फिर्ता गर्न पत्र काटेका छौ । उनले भने–अब उत्तर कोरियाको कुनै लगानी स्वीकृत नहुने र पुराना लगानी पनि फिर्ता लैजाने बताए । उत्तर कोरियाली लागि व्यवसायी प्रयोजनका लागि भिसा थप हुने छाडिसकेको छ । भ्रमण भिसामा भने उत्तर कोरियाली नागरिक नेपाल आउन पाउने छन् । उत्तर कोरियाले आणविक हातहतियार र क्षेप्यास्त्र प्रक्षेपण गर्न थालेपछि संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्ले सदस्य राष्ट्रहरुलाई उत्तर कोरियासँग आर्थिक कारोबार नगर्न र काममा लगाउन समेत आग्रह गरेको थियो ।

पर्यटकको पर्खाइमा बौडेश्वर झरना, झण्डै तीन करोडको लागतमा बालमैत्री पार्क बन्दै

काठमाडौँ । धुँवाधुलो र कोलाहलबाट एकछिन मुक्ति पाउन चाहनुहुन्छ ? यदि चाहानुहुन्छ भने तपाईँका लागि उपर्युक्त गन्तब्य बन्न सक्छ बौडेश्वर झरना । शामाखुसीचोकबाट करिब १० किलोमिटर दुरीमा रहेको बौडेश्वर झरना काठमाडौं उपत्यकाबाट सबैभन्दा नजिक पर्ने पर्यटकीय स्थल हो । साँस्कृतिक, ऐतिहासिक र प्राकृतिक महत्व बोकेको बौडेश्वर क्षेत्र हेर्दा मनमोहक मात्र होइन धार्मिक दृष्ट्रिकोणले पनि उतिकै चिरपरिचित छ । काठमाडौंको टोखा नगरपालिका १ झोरमा अवस्थित बौडेश्वर झरना पछिल्लो समय सबैको रोजाई बनेको छ । निश्चल, स्वच्छ र गडगडाहट छहराहरु छर्केर बहेको बौडेश्वर झरनाको सौन्दर्यतामा जो कोहि पनि मन्त्रमुग्ध हुन्छन् । प्राकृतिक संरचनामै यथावथ रहेको यो झरनाको मनोरञ्जन र आनन्द लिन दिनहुँ आन्तरिक र बाह्य पर्यटकहरुको चाप बढ्दै गएको छ । कर्मचारीहरु शनिबारे बिदा मनाउन होस्, साथीहरु मिलेर पिक्निक खान होस् वा परिवारजन धार्मिक संस्कार गर्नकै लागि भएपनि मानिसहरु मनोकाक्षां पुरा गर्ने विश्वासका साथ झोर पुग्ने गरेका छन् । बौडेश्वर पर्यटकिय क्षेत्रका रुपले मात्र होइन धार्मिक हिसावले पनि महत्वपूर्ण क्षेत्रका रुपले चिन्ने गरिन्छ । भगवान महादेवको शक्ति पिठका रुपमा लिएको बौडेश्वरमा मानिसहरु ब्रतबन्ध, विवाह र धार्मिक कार्यका लागि पनि पुग्ने गर्दछन् । मनमोहक र सुन्दर झरनाको छेउमै एउटा अलौकिक गुफा पनि छ । जसभित्र छिरे भगवान महादेवलाई मागेको बर पाइने धार्मिक विश्वास रहि आएको छ । गुफा भित्र भगवान महादेवको मन्दिर पनि छ । हिँउदको समयमा भन्दा पनि बर्खायाममा बढि पर्यटकहरु बौडेश्वरमा पुग्ने गरेको एक स्थानियले बताए । ‘हिउँदमा पानी अलि कम हुने गरेको छ’, उनले भने,बर्खामा पानी बढि भएका कारण पर्यटकहरु पानी सँग रमाउन बढि आउने गर्दछन् ।’ यो समय पर्यटकका लागि बौडेश्वर उचित पर्यटकिय स्थल हो । काठमाडौं कोलाहल र धुलोधुवाँबाट छुट्कारा पाउन अहिले बौडेश्वरमा जाने मानिसहरुको भिँड लाग्ने गरेको छ । २४ करोडको बौडेश्वर गुरुयोजना तयार टोखा नगरपालिकाले झोर क्षेत्रको पूर्वाधार विकासका लागि २४ करोड ६७ लाख ९२ हजारको गुरुयोजना तयार पारेको छ । बौडेश्वर क्षेत्रमा पर्यटकहरुको आकर्षित गन्तब्य बनाउनका लािग नगरपालिकाले सो रकमको गुरुयोजना तयार पारेको बताएको हो । नगरपालिकाले गुरुयोजनामा मनोरञ्जनपार्क, मन्दिर, रक क्लाइम्बिङ, पिक्निक स्पोट्स र फुटवल ग्राउण्ड निर्माण गर्ने गुरुयोजनामा उल्लेख गरेको छ । बौडेश्वर क्षेत्रमा सडक स्तरोन्नतीका लागि ३ करोड, झरनाको ड्याम निर्माणका लागि १ करोड, मनोरञ्जनात्मक पार्क,पिक्निक स्पोट र रक कलाइम्बिङका लागि ५ करोड, झुलुङ्गे पुलका लागि ३ करोड, खेलकुद संरचनाका लागि ३ करोड र बालमैन्त्री पार्क नजिकै अन्य संरचनाहरुका लागि २ करोड ५० लाख रुपैयाँ लागत लाग्ने गुरुयोजनामा उल्लेख गरिएको छ । नगरपालिकामा यी संरचनाहरु निर्माण भएपछि बौडेश्वर क्षेत्रको विकास र पर्यटक भित्र्याउन उल्लेख्य भूमिका खेल्न सक्ने अपेक्षा गरिएको छ । नगरपालिकाले प्रथम चरणमा बालमैत्री पार्क, दित्तिय चरणमा पिक्निक स्पोटस्, तेस्रो चरणमा मनोरज्नात्मक पार्क, चौथो चरणमा झुलुङ्गे पुल र रक कलाइम्बिङ र पाँचौं चरणमा बाँकी र छुटपुटका कामहरु गर्ने गुरुयोजनामा उल्लेख गरिएको छ । २ करोडको लागतमा बालमैत्री पार्क बन्दै टोखा नगरपालिकाले २ करोड ७६ लाख ७५ हजारको लागतमा बालमैत्री पार्क निर्माण शुरु गरेको छ । बौडेश्वर गुरुयोजना अन्तर्गत पहिलो चरणको काममा पर्ने बालमैत्री पार्कको निर्माण कार्य शुरु गरेको नगरपालिकाले जनाएको छ । टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले नगरसभाबाट प्रत्येक वडामा उद्यान निर्माण गर्ने योजना रहेको बताउँदै वडा न १ बाट बालमैत्री पार्कको निर्माणे शुरु गरिएको बताए । यसरी ठाउँठाउँमा उद्यान निर्माण गर्नाले सौन्दर्यतासँगै सार्वजनिक जग्गाको संरक्षणमा समेत टेवा पुग्ने उनको भनाई छ । चार रोपनी जग्गामा निर्माणाधीन पार्कमा टोखा नगरपालिका, काठमाडौं महानगरपालिका र अर्थ मन्त्रालयको लगानी रहेको जनाइएको छ । साईट इञ्जिनियर रुद्रनाथ आचार्यले ३ करोड ८४ लाख अनुमानित रकम भएपनि माथि उल्लेखित रकममा पार्क बनाउन शुरु गरिएको बताए । उनले बौडेश्वरमा प्राकृतिक झरना मात्र भएकोले पर्यटकहरुलाई भुलाउन र मनोरञ्जन गराउनको माध्यमका रुपमा पार्कले महत्वपूर्ण भूमिका खेल्ने बताए । ‘काठमाडौंमा पर्यटकका लागि निशासिने अवस्था छ’, उनले भने, बौडेश्वर प्राकृतिक सुन्दरताले रमणिय भएकोले पर्यटकको सहजताका लागि भौतिक पूर्वाधारका संरचनाहरु निर्माण गर्न शुरु गरिएको बताए । श्रृंखला निर्माण सेवाले पार्कको निर्माणको ठेक्का लिएको छ । पाकको निर्माण कार्य चालु आर्थिक वर्षको असार सम्म सक्ने लक्ष्य लिएको छ । नगरपालिकाको झोरमा अवस्थित बौडेश्वर क्षेत्र प्राकृतिक रुपमा मात्र होइन साँस्कृतिक र धार्मिक रुपले पनि भरिपूर्ण छ । सरकारले बौडेश्वरलाई उचित प्राथमिकताका साथ भौतिक संरचनाहरु निर्माण गरे पर्यटकहरुको आकर्षण बढ्ने कुरामा दुईमत छैन । सरकारले नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्यायने लक्ष्यलाई सहयोग गर्न पनि बौडेश्वरले महत्वपूर्ण भूमिका खेल्न सक्छ ।

सानिमा बैंक लिमिटेड र यु.के.एडको सक्षमबीच सम्झौता

काठमाडौं । सानिमा बैंक लिमिटेड र यु.के.एडको सक्षमबीच भदौ ३० गते कृषि कर्जा प्रबर्धनका लागि सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा सानिमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन कुमार दाहाल र सक्षमको तर्फबाट टिम लिडर निर्मल दाहालले हस्ताक्षर गरेका हुन् । यो परियोजनाको मुख्य उद्देश्य कृषि क्षेत्रमा कर्जा विस्तार गर्नको लागि आवश्यक संरचना स्थापना गर्ने, आवश्यक अध्ययन गर्ने र यस संग सम्बन्धित नीति तथा कार्य योजना बनाइ लागु गर्ने हुनेछ । यसका लागि सानिमा बैंकका शाखाहरुबाट कृषि क्षेत्रमा धेरै भन्दा धेरै कर्जा प्रदान गर्न आवश्यक पर्ने साधन सक्षमसँगको सहकार्यमा परिचालन गरिनेछ । यस परियोजना सक्षमको च्यालेन्ज फण्ड अन्तर्गत संचालन गर्न लागिएको हो, जुन नेपाल सरकार र यु.के. सरकारको सम्झौता अनुरुप यु.के. एडको आर्थिक सहयोगमा संचालित कार्यक्रम हो ।सानिमा बैंकका सातवटै प्रदेशमा गरी हाल ७९ वटा शाखा, १ एक्सटेन्सन काउन्टर र ७५ वटा एटिएम रहेका छन् ।