विकासन्युज

कृषि विकासका लागि छुट्याइयाे १४ करोड ४४ लाख

राँझा । बाँकेमा कृषि विकासका लागि चालू आर्थिक वर्षमा रु १४ करोड ४४ लाख बजेट विनियोजित गरिएको छ । कृषि ज्ञान केन्द्रका प्रमुख सागर ढकालका अनुसार बाँकेमा ज्ञान केन्द्र र स्थानीय तहमार्फत कृषिका लागि छुट्याइएको बजेट एकमुष्ट रु १४ करोड ४४ लाख रहेको छ । बाँकेका आठ स्थानीय तहको कृषि शाखामार्फत रु सात करोड ९९ लाख कृषि कार्यक्रमका लागि सञ्चालन गर्न बजेट छुट्याइएको छ । स्थानीय तहमध्ये कृषिमा सबैभन्दा धेरै बाँकेको कोहलपुर नगरपालिकाले छुट्याएको हो । कोहलपुरले कृषि शाखामार्फत रु एक करोड ५१ लाख बजेट विनियोजन गरेको छ । त्यस्तै, जानकी गाउँपालिकाले रु एक करोड ३५ लाख, राप्ती सोनारी गाउँपालिकाले रु एक करोड १५ लाख, बैजानाथ गाउँपालिकाले रु एक करोड १० लाख, नरैनापुर गाउँपालिकाले रु ८० लाख ५० हजार, नेपालगञ्ज उपमहानगरपालिकाले रु ७४ लाख, खजुरा गाउँपालिकाले रु ७० लाख र डुडुवा गाउँपालिकाले रु ६४ लाख बजेट कृषिको विकासमा छुट्याएका छन् । ज्ञान केन्द्रले स्थानीय तहसँग समन्वय गरी कृषिका कार्यक्रम सञ्चालन गर्ने केन्द्रका प्रमुख सागर ढकालले जानकारी दिएका छन् । रासस

ढुक्क हुनुस्, नेपाल इन्फ्रास्ट्रक्चर बैंकले उपर्युक्त समयमा विदेशी लगानी भित्र्याउँछ-अनिल ज्ञवाली

ऊर्जा, सडक, सुरुङ, केबलकार, एयरपोर्ट, होटेललगायतका ठूला पूर्वाधार परियोजनामा लगानी जुटाउने उद्देश्यले नेपाल इन्फ्रास्ट्रक्चर बैंक सञ्चालनमा आएको छ महिना पूरा भएकाे छ । नबिल, ग्लाेवल  आइएमइ जस्ताे ठूला बैंककाे प्रमुख कार्यकारी अधिकत सफल बैंकर्सकाे छवि बनाउनु भएकाे अनिल ज्ञवालीले यस बैंककाे प्रमुख कार्यकारी अधिकृतकाे  जिम्मेवारी समाल्नु भएकाे १० महिना भएकाे छ । शुरूमा नै २० अर्ब रूपैयाँ पुँजी लिएर पूर्वाधार निर्माणमा फाेकस गर्ने उदेश्यका साथ विशेष व्यवस्थासहित खुलेकाे याे बैंकले के गर्दैछ ?  २० अर्बभन्दा बढी काेर क्यापिटल भएकाे वाणिज्य बैंकबीचमा हाल मात्र १२ अर्ब पुँजी लिएकाे याे बैंकले कहिले फड्काे मार्छ ? कुन कुन क्षेत्रमा लगानी गर्दैछ ? सर्वसाधारणका लागि आईपीओ निष्कासन कहिले गर्छ ? प्रस्तुत छ  बैंक संचालनमा आएको यो अवधिमा बैंकले गरेका काम र भावी योजनाका विषयमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवालीसँग गरिएको विकास बहस । नेपाल इन्फ्रास्ट्रक्चर बैंक कसरी अघि बढिरहेको छ ? नेपाल इन्फ्रास्ट्रक्चर बैंक हाल सालै संचालनमा आएको राष्ट्रिय स्तरको पूर्वाधार विकास बैंक हो । पूर्वाधारका परियोजनाहरूमा कर्जा प्रवाह गर्नुका साथै त्यस्ता परियोजना संचालन गर्ने कम्पनीहरूको धितोपत्रमा लगानी गर्ने र उक्त परियोजनाहरुलाई आवश्यक पर्ने लगानीका स्रोतहरू आन्तरिक तथा वाह्य वित्त बजारबाट जुटाउने गरी यस बैंकलाई नेपाल राष्ट्र बैंकले संचालन अनुमति दिएको हो । पूर्वाधार परियोजनामा लगानी गर्न ठूलो पूँजी र लामो समयावधि चाहिन्छ । सोही आवश्यकतालाई पूर्ति गर्न स्थापना भएको यो बैंकले परियोजना छनोट गर्ने, अध्ययन गर्ने, सरोकारावालासँग छलफल गर्ने तथा पुँजी संकलनका उपयुक्त स्रोतहरु पहिचान गर्ने लगायतका कार्यहरू अघि बढाएको छ । बैंकका प्राथमिकताका क्षेत्रहरू के के हुन् ? कतिसम्म लगानीका आयोजनामा बैंकले लगानी गर्छ ? ऊर्जा, सडक, सुरुङ, केबलकार, एयरपोर्ट, होटल अन्य पर्यटन पूर्वाधार साथै सामाजिक पूर्वाधारहरू जस्तै शिक्षा, स्वास्थ्यलगायतका पूर्वाधारको परियोजनाहरूलाई बैंकले प्राथमिकता प्राप्त क्षेत्रहरूमा राखेको छ । नेपाल राष्ट्र बैंकबाट पूर्वाधार विकास बैंकलाई जारी गरिएको निर्देशन, २०७५ मा हालै भएको संशोधनले यस बैंकको न्यूनतम लगानी सीमा प्रति परियोजना ३० करोड तय गरेको छ । कस्ता कस्ता र कति लागतसम्मका आयोजनाहरूबाट बैंकमा कर्जाको लागि प्रस्ताव आएका छन् ? पूर्वाधार विकासमा लगानीको पहुँच राज्यको सबै तहसम्म पुर्याउन हामी केन्द्र सरकार सहित प्रदेश र स्थानीय सरकारहरूसँग साझेदारीको प्रयास गरेका छौं, छलफल भइरहेको छ । बैंकले राम्रा परियोजनाहरू छनोट गर्दै लगानी विस्तार गर्दै जानेछ, सोही सन्दर्भमा हामी आफैले पनि परियोजना खोज्ने काम गरेका छौं, डेभलपरहरू पनि हामीकहाँ आउनु भएको छ । हामीले हाल गृहकार्य गरिरहेका पूर्वाधारका परियोजनाहरूमा मुख्यत ऊर्जातर्फ हाइड्रो र सोलार, पर्यटनतर्फ होटेल, केवलकार, एम्युजमेन्ट पार्क र रिक्रियशन सेन्टर हुन् । साथै एयरपोर्ट, मेडिकल कलेज, अस्पताल तथा कृषि पूर्वाधारका परियोजनाहरूमा कार्य अघि बढाइएको छ । यी सबै परियोजनाहरूमा हाम्रो लगानी हुन्छ नै भन्ने छैन । हामी परियोजनाहरूको विस्तृत अध्ययन र विश्लेषण गरेपछिमात्र लगानी गर्ने निर्णयमा पुग्छौ । बैंकको निक्षेप संकलनको अवस्था कस्तो छ ? कस्ता निक्षेपकर्ताले बैंकमा निक्षेप राख्न पाउँछन् ? बैंकमा निक्षेप संकलन गर्ने पनि मापदण्ड तयार भएको छ । मैले माथि नै भने हामी संचालनको शुरुवाती चरणमा नै भएको हुँदा एकातर्फ हामीलाई निक्षेपको टट्कारो आवश्यकता छैन । अर्काेतर्फ हामीले निक्षेप संकलनका अलवा बण्ड जारी गर्ने, विदेशबाट रकम भित्रयाउने लगायतका पुँजी संकलनका विभिन्न विकल्पहरू पहिचान गरी अगाडी बढेका छौ । व्यक्तिगततर्फ न्यूनतम ५ वर्ष अवधिको न्यूनतम १ करोड र संस्थागततर्फ सोही अवधिको न्यूनतम ५ करोडको निक्षेप राख्न सकिने व्यवस्था छ । अहिलेसम्म कति कर्जा प्रवाह भयाे ? हालै यस बैंकको अगुवाईमा ३२ मेगावाटको जलविद्युत आयोजनामा चार अर्ब ६ करोड लगानी गर्न डेभलपरसँग सह–वित्तीयकरण सम्झौता भएको छ । कर्जाको माग उच्च छ । यथेष्ट परियोजनाहरू पहिचान भई कर्जा प्रवाह गर्ने निर्णयको प्रकृयामा छ । परियोजनाहरूमा थप कर्जा प्रवाह भएको समाचार तपाईंहरूले छिट्टै पाउनुहुनेछ । बैंक स्थापनादेखि अहिलेसम्म गरेका र गर्न लागेका उल्लेख्य कामहरू के के हुन् ? १,२, ३ गरेर यो यो गर्याै भन्ने भन्दा पनि संचालनको शुरुको वर्ष भएकोले पनि अहिले हामी मुख्यतः नीति तथा योजना निर्माणका साथै उपयुक्त परियोजनाको छनोट गरी लगानी गर्ने तयारीमा छौं । विशेषतः विदेशी बजारबाट स्रोत संकलन गर्नेतर्फ हाम्रो ध्यान केन्द्रीत छ । यस आर्थिक वर्षमा हामी सर्वसाधारणको लागि सर्वसाधारण शेयर (आईपीओ) जारी गर्ने र बण्ड जारी गरी विदेशी वित्त बजारबाट ५ अर्ब रकम संकलन गर्ने योजनामा छौं । बैंकमा विदेशी पार्टनर पनि भित्र्याउने कुरा थियो ? त्यो के भइरहेको छ ? विदेशी साझेदार भित्र्र्याउने कुरा अलि गहकिलो विषय हो । विभिन्न तहबाट सोका लागि प्रयास भइरहेको छ । हामी सम्भावित विदेशी साझेदारहरूसँग सम्पर्कमा पनि छौं । यस बैंकमा कुनै विदेशी बैंक तथा वित्तीय संस्थाले मात्र लगानी गर्न पाउने गरी नीतिगत प्रावधान रहेको हुँदा प्रर्याप्त गृहकार्य पश्चात उपयुक्त समयमा विदेशी बैंक तथा वित्तीय संस्थाहरूसँग सहकार्य गर्नेछौ । नेपालकै ठूलो बैंकमा लगानी गर्न विदेशी लगानीकर्ता त अहिलेसम्म नआउनुकाे कारण के हो ? मैले अघि पनि भने विदेशी लगानीकर्ता नआएको होइन । सम्भावित विदेशी बैंक तथा वित्तीय संस्थाहरूसँग कुरा हुँदा उहाँहरू सहकार्य गर्न इच्छुक हुनुहुन्छ । यद्यपि, उहाँहरूको पनि आ–आफ्नै नीतिगत व्यवस्थाहरू होलान्, हामीले पनि विदेशी लगानीकर्ता भित्र्याउदा नीतिगत एवम् व्यवहारिक पक्ष दुबै हेर्नुपर्ने हुन्छ, कतिपय शर्त बन्देजहरू मान्नुपर्ने हुन्छ । यी सबै चाँजोपाँजो मिलाउन समय पक्कै लाग्छ । तर, ढुक्क हुनुस्, बैंकले उपर्युक्त समयमा कुनै न कुनै रुपमा विदेशी लगानी भित्र्याउछ । बैंकमा कस कसको सेयर कति कति छ ? कुल ४० अर्ब रुपैयाँ अधिकृत पुँजी, २० अर्ब जारी पुँजी र १२ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकमा नेपाल सरकारको १० प्रतिशत, वाणिज्य बैंकहरूको २०.८९ प्रतिशत, सार्वजनिक तथा निजी कम्पनीको ५.१५ प्रतिशत, इन्स्योरेन्स कम्पनीको १८.९७ प्रतिशत र उद्योगीहरूको ४.९९ प्रतिशत शेयर लगानी रहेको छ । ४० प्रतिशत शेयर आईपीओ मार्फत जारी हुने गरी सर्वसाधारणका लागि छुट्याइएको छ । बैंकको भावी रणनीति के हो ? ५ वर्षमा बैंक कहाँ पुग्छ र कस्तो अवस्थामा रहन्छ ? मैले अघि पनि भने संचालनको शुरुको वर्ष हामी मुख्यतः नीति तथा योजना निर्माणको तहमा धेरै कार्यहरु अगाडी बढाइएको छ । बैंकलाई पहिलो वर्ष रणनीतिक रुपमा सवल बनाउने छौं र सोही रणनीतिको आधारमा आउँदा वर्षहरुमा स्रोत संकलन र लगानी विस्तारलाई तीब्रता दिनेछौ । तँपाईले ५ वर्षमा बैंक कहाँ पुग्छ भन्नुभयो । यो प्रश्नको उत्तर यही नै हो भन्न त सक्दिन । तर, बैंकले अबको ५ बर्षभित्रमा पूर्वाधार विकासको अपेक्षाकृत लक्ष्य प्राप्त गर्न लगानीको पहुँच मुलुक भरिनै पुर्याउनेछ । बैंकको धेरै शाखा संजाल नहुने भएपनि प्रत्येक प्रदेशमा सम्पर्क अफिस स्थापित होलान् र त्यही संरचना मार्फत हामी संघ, प्रदेश र स्थानीय तहमा निर्माण हुने प्रायः सबै ठूला पूर्धारका परियोजनाहरूमा कर्जा प्रवाह गर्न मुख्य भूमिका खेल्नेछौ । साथै, त्यस्ता परियोजना संचालन गर्ने कम्पनीहरूको धितोपत्रमा लगानी र अन्तर्राष्ट्रिय बजारबाट स्रोत संकलन गरेको अवस्थामा यो बैंक हुनेछ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक, २० अर्ब पुँजी भएकाे बैंक, ठूलाे हुन्छ भनिन्थ्याे । तर अहिले धेरै बैंककाे काेर क्यापिटल २० अर्ब भन्दा बढी छ । वाणिज्य बैंक अन्य वाणिज्य बैंक र यो बैंकमा के भिन्नता छ ? वाणिज्य बैंक र हाम्रो स्कोप नै फरक छ । हामी पूर्वाधार सम्बन्धी परियोजनामा मात्रै लगानी गर्ने र त्यसका लागि स्रोत जुटाउन खोलिएको विशेष प्रकृतिको बैंक हो । हामीले रिटेल बैंकिङको कार्य गर्दैनौ । बैंक संचालन हुँदै गर्दा कुनै समस्याहरू देखिएका छन् कि ? छन् भने के कस्ता समस्या बैंकले झेल्नु परेको छ र यसको निराकरणको लागि बैंकले कस्तो कदम चाल्छ ? नयाँ अवधारणा सहित स्थापना भएको नयाँ प्रकृतिको बैंक भएकोले बैंक संचालनका काम कारवाही गर्दा केही समस्या देखिनु त स्वभाविक नै हो । मुख्यतः शुरुवाती अवस्थामा बाझिएका नीति नियमहरुको गाँठो फुकाउने, पूर्वाधार परियोजनामा लगानीका नमूनाहरू नभएकोले ति नमूनाहरू विश्व बजारबाट सिक्ने, त्यसका व्यवहारिक पक्षहरूमा थप कार्य गर्ने र विदेशी स्रोत भित्र्याउन आवश्यक पर्ने कन्ट्री रेटिङ, हेजिङ तथा अन्य नीति नियमका विषयहरू पहिचान गर्दै समाधानतर्फ डोर्याउन समय लागि रहेकोछ । व्यवसायिक जगतमा लगानीयोग्य पूँजीको अभाव छ । त्यसैले गर्दा बैंकको ब्याजदर बढिरहेको छ । यस्तो अवस्थामा महँगोमा निक्षेप उठाएर पूर्वाधारमा लागानी गर्ने भन्ने कुरा पनि सम्भव नदेखिएला, सस्तो लागतमा स्रोत जुटाउने विकल्प के हुन सक्छन् ? ब्याजदर भनेको बजारले निर्धारण गर्ने विषय हो । महँगाे र सस्तो भन्दा पनि प्रतिस्पर्धी दररेटमा निक्षेप उठाउने हाम्रो सदैव प्रयास रहनेछ । तपाईले हाम्रो अहिलेको मुद्दती निक्षेपको दररेट हेर्नुभयो भने यो बजार अनुसार नै छ । मैले पहिले पनि भने हामी जस्ता बैंकले स्रोत संकलनका लागि मूलतः फण्ड, बोण्ड, डिवेञ्चरहरूजस्ता उपकरणहरु प्रयोगमा ल्याउने हो । मुद्दती निक्षेपमा यस्ता बैंकहरूको धैरै हिस्सा हुँदैन र हाम्रो सोच पनि मुद्दती निक्षेप भन्दा अन्य माध्यमबाट स्रोत जुटाउने नै हो । याे बैंकको स्वभाव नै दीर्घकालमा नाफा कमाउने खालको छ, तर लगानीकर्ताहरू अल्पकालमै प्रतिफल खोज्छन् । साधारण सेयर निष्कासनपछि त झन् यो दवाव बढ्ला, यस्तो अवस्थामा बैंकको रणनीति के हुन्छ ? यस बैंकका संस्थापक लगानीकर्ताहरु मूलतः नेपाल सरकार सहित वाणिज्य बैंकहरू, सार्वजनिक तथा निजी कम्पनीहरू, इन्स्योरेन्स कम्पनीहरू र प्रतिष्ठित उद्यमी व्यवसायीहरू नै हुनुहुन्छ । उहाँहरू यो बैंकको उद्देश्य, लगानीको प्रकृति र क्षेत्र दीर्घकालिन हो । सोबाट प्राप्त हुने प्रतिफल सोही बमोजिमकोे विषयमा प्रष्ट हुनुहुन्छ । यसैगरी आईपीओ मार्फत बैंकको सर्वसाधारण शेयर निष्काशन गर्दा हामी आव्हान पत्रमा समेत पूर्वाधारको लगानीको प्रकृति, क्षेत्र एवम् सोबाट प्राप्त हुने प्रतिफलका विषयहरूमा प्रष्ट रुपले उल्लेख गरेर जानेछौं । यसले गर्दा यस बैंकमा लगानी गर्ने सर्वसाधारण शेयरधनीहरूले समेत यो कुरा बुझ्नु हुनेछ भन्ने लाग्दछ । यद्यपि, अन्य बैंकको तुलनामा हाम्रो बैंकको संचालन खर्च तुलनात्मक रुपमा कम हुने र पुँजी तथा लगानीको आकार ठूलो भएकोले शुरुवाती अवस्था देखि नै प्रतिफल दिन सक्नेगरी कार्ययोजनाहरू समावेश गरेका छौ । पहिलो लगानीको रुपमा हाइड्रो क्षेत्र राज्नु भएको छ, तर समयमा आयोजना नबढ्ने र लागत बढ्दै जाने समस्या यो क्षेत्रमा देखिन्छ, समयमै गुणस्तरीय आयोजना बन्ने र नाफा दिनसक्ने विश्वास कसरी गर्ने ? हाइड्रोमा पहिलो लगानी हुनुको मतलव अरु क्षेत्रमा हामीले लगानीको प्रयास नथालेको भन्ने होइन । हामी सोलार, होटल, केवलकार, एम्युजमेन्ट पार्क जस्ता पूर्वाधारका ठूला परियोजनाहरूमा कार्य अघि बढाएका छौ । मूलत: हाम्रो लगानीको न्यूनतम सीमा रु.३० करोड प्रति परियोजनाभएको र हालको बजारमा अन्य पूर्वाधारका परियोजनाका तुलनामा हाइड्रोका परियोजनाहरूको हिस्सा बढी भएकोले हामीकहाँ पनि हाइड्रोका परियोजनाहरू शुरुवाती अवस्था देखि नै आएका हुन् र सोही बमोजिम पहिलो लगानीको सम्झौता हाइड्रोमा भएको हो । हामी प्रोजेक्ट फाइनान्सिङ मात्र गर्ने भएकोले परियोजना विश्लेष्ण तथा छनोट सम्बन्धि मापदण्ड तयार गरी लागू गरेका छौ । यसले हामीलाई पूर्वाधारको कुन क्षेत्र तथा कस्तो परियोजनामा कति लगानी गर्ने भन्ने सम्बन्धी सीमा तय गरेको छ । सोही अनुरुप हामी सम्भाव्यता भएका राम्रो प्रतिफल दिन सक्ने परियोजनाहरूलाई छनोट गर्दैछौं । छनोट भएका परियोजनाहरू यस बैंकअन्तर्गतको विभाग तथा व्यवस्थापन तहमा विस्तृत अध्ययन गर्ने गराउने छौं । हामीले सोका लागि एउटा नविनतम अभ्यास स्वरुप पूर्वाधार सम्भाव्यत विभागको स्थापना गरेका छौं । विभाग र व्यवस्थापनबाट गरिने अध्ययन तथा विश्लेषणको अलावा हरेक परियोजनालाई हरेक परियोजनाको डीडीए गरेरमात्र स्वीकृत गर्ने गरेका छौ । यसले परियोजनाहरूलाई केन्द्रीत गरी विशेष निरीक्षण तथा सुपरिवेक्षण गर्ने गराउने बहुवैकल्पिक टीमको व्यवस्था गर्ने सोच पनि छ । तपाई त बैंकिङ क्षेत्रमा सफल भनेर चिनिएको व्यक्ति, एउटा फरक बैंकिङ अभ्यास गर्ने संस्थाको नेतृत्व गरिरहनु भएको छ, वाणिज्य बैंक र पूर्वाधार विकास बैंकको सवल र कमजोरीलाई कार्यकारी प्रमुखको रुपमा कसरी विश्लेषण गर्नुहुन्छ ? वाणिज्य बैंक र हाम्रो कार्यक्षेत्र त विल्कुलै फरक छ र स्वभाव पनि धैरै हदसम्म भिन्न छ । हामी भनेको विशेषतः पूर्वाधारमा विशेषज्ञता राख्ने वाह्य विशेषज्ञ व्यक्तिफर्म /कम्पनीहरूसँग सहकार्य गर्ने र बैंकको कर्मचारीलाई पूर्वाधार सम्बन्धी विषयहरूमा केन्द्रीत गराइ क्षमता अभिवृद्धि गर्दै पूर्वाधारमा लगानीको जोखिमलाई न्यूनीकरण तथा विविधिकरण गर्दै अगाडी बढ्नुपर्छ ।  यही नै हाम्रो विशेषता हो । अर्को गम्भिर विषय भनेको सम्पत्ति र दायित्वको मेल गराउँदै लैजान सक्ने क्षमता हो । वित्त बजारबाट अपेक्षित आकारको स्रोत संकलन तथा परियोजनाहरूको विशिष्टिकृत मूल्यांकन र निरिक्षण सम्बन्धी आवश्यक कार्यविधि, प्रकृया र सोसँग सम्बन्धित उपकरण लगायतका विषयहरूमा हाल केही असमन्जस्यता देखिएता पनि समयसँगै यस बैंकले सोमा परिपक्वता र अनुभव प्राप्त गर्दै जानेछ । वाणिज्य बैंकहरूले आफ्नो पोर्टफोलियो समय, लगानीको क्षेत्र लगायतमा विभाजन गर्छन्, तपाईँहरूलाई त्यो छुट छैन, जोखिम कम गर्ने तपाईको रणनीति चाहिँ के हो ? हाम्रो पोर्टफोलियो भनेको कर्जा लगानीतर्र्फ पूर्वाधारको कुन क्षेत्रमा कती लगानी गर्दा जोखिम व्यवस्थापनको दृष्टिकोणले जोखिमलाई विविधिकरण गर्न सकिन्छ भन्ने हो र सोका लागि पूर्वाधारको लागि गहन विश्लेषण र छनोट मापदण्ड तयार गरी लागू गरिएकोछ । यसैगरी दायित्व तर्फ स्रोत संकलनका कस्ता उपकरणहरूले बैंकलाई व्याजदरको जोखिम न्यून गर्न सकिन्छ । सोको मूल्यांकन गरी सोही बमोजिम दायित्व तर्फको मिश्रण तयार गर्ने गरिन्छ । क्षेत्र र उपकरण फरक भएपनि जोखिम र पोर्टफोलियो व्यवस्थापनको विधि हाम्रो र वाणिज्य बैंकहरूको उस्तै उस्तै हो ।

डोल्मा इम्प्याक्ट फण्डको पाँचौं वार्षिकोत्सव

काठमाडौँ । नेपालमा लगानीको पाँच वर्ष पूरा गरेको उपलक्ष्यमा डोल्मा ग्रुपले एक कार्यक्रमको आयोजना गरेको छ । सो कार्यक्रममा डोल्मा कन्सलटिङ्ग तथा डिएफआइडिद्घारा समर्थित डोल्मा हिमालयन इनर्जीको पनि शुरुवात भएको छ । पाँच वर्ष पूरा गरेका डोल्मा इम्प्याक्ट फण्ड नेपालको एकमात्र अन्तर्राष्ट्रिय प्राइभेट इक्विटी फण्ड हो । डोल्मा इम्प्याक्ट फण्डले दुईवटा हाइड्रोपावर परियोजना, दुईवटा सोलरपावर परियोजना, तीनवटा टेक्ननोलोजी कम्पनी तथा दुईवटा स्वास्थसेवा संग सम्बन्धित कम्पनीमा लगानी गरेको छ । जसले पाँच हजार भन्दा बढी रोजगारी सिर्जना भएको छ । डोल्मा इम्प्याक्ट फण्ड, प्रोफेसर टिम गोचरद्घारा स्थापित डोल्मा ग्रुपको एक शाखाको रुपमा रहेको छ । डोल्मा ग्रुप अन्तर्गत डोल्मा इम्प्याक्ट फण्ड, डोल्मा हिमालयन इनर्र्जी, डोल्मा कन्सलटिङ्ग तथा डोल्मा फाउण्डेशन रहेका छन् ।

एनआईसी एशिया बैंककोे नयाँ शाखा सल्यानको श्रीनगरमा

काठमाडौँ । एनआईसी एशिया बैंकको नयाँ शाखा सल्यानको श्रीनगरमा सञ्चालनमा आएको छ । सल्यान जिल्ला शारदा नगरपालिका वडा नं १ स्थित श्रीनगर शाखा मंगलबारदेखि सञ्चालनमा आएको हो । बैंकले सञ्चालनमा ल्याएको श्रीनगर शाखाकोे उद्घाटन शारदा नगरपालिकाका मेयर सुरेश अधिकारीले गरेका हुन् । श्रीनगर शाखा सञ्चालनमा आएसँगै सल्यान क्षेत्रका ग्राहकहरुलाई बैंकिङ सेवा प्राप्त गर्न थप सहज हुने बैंकले विश्वास लिएको छ ।

नायरले असोज २ गते अष्ट्रेलियन एजुकेसन फेयर गर्ने

काठमाडौँ । नेप्लिज एसोसियसन अफ अष्ट्रेलियन एजुकेसन रिप्रिजेन्टेटिभ नेपाल (नायर)ले अष्ट्रेलियामा उच्च शिक्षा लिन चाहने विद्यार्थीहरुको जिज्ञासा समाधान गर्ने हेतुले अष्ट्रेलियन एजुकेसन फेयर आयोजना गर्ने भएको छ । अष्ट्रेलियाको बदलिँदो शिक्षा नीति, त्यहाँ पढ्न चाहनेका लागि भिसा प्रक्रिया तथा छात्रवृत्ति र अन्य विषयमा जानकारी दिने उद्देश्यले यो फेयर गर्न लागिएको हो । ‘समयसमयमा विभिन्न फेयर आयोजना भइरहेका छन्, तर हामीले विद्यार्थीलाई उचित परामर्श दिन र उनीहरुको करिअर सेट गर्नका लागि हाम्रो योगदान होस् भन्नका लागि यो फेयर आयोजना गरेका हौँ,’ नायरका अध्यक्ष विज्ञान श्रेष्ठले भने, ‘यसले विद्यार्थीहरुलाई विशेष फाइदा पुर्याउनेमा हामी विश्वस्त छौँ । हामी समुन्नत नेपाली समाज निर्माणका लागि विदेशमा वा स्वदेशमा जहाँ भए पनि विद्यार्थीले आफ्नो चाहनाअनुरुप पढ्नु पर्छ भन्नेमा विश्वास गर्छौँ ।’ ‘उच्च शिक्षामा जान चाहने विद्यार्थीलाई भ्रमहरुबाट मुक्त गर्नका लागि यो फेयरको आयोजना गरिएको हो,’ नायरका महासचिव उद्धव खड्काले भने, ‘यो फेयर यसअघि गरिएका फेयरभन्दा भिन्न हुनेछ किनकी यो विशुद्ध विद्यार्थीहरुलाई फाइदा होस् र अष्ट्रेलियाका विषयमा रहेका विविध भ्रमहरु चिर्न सहयोग पुगोस् भन्ने उद्देश्यका साथ गरिएको हो ।’ यो फेयरमा काठमाडौंमा अष्ट्रेलियन शिक्षाको परामर्श गरिरहेका हब एकजुकेसन, एजुकेसन पार्क, युनिक्याम्पस, एक्सपर्ट एजुकेसनलगायतका २० भन्दा बढी संस्थाहरु सहभागी हुँदैछन् । ‘धेरै शैक्षिक संस्थाहरु भएकाले एउटै स्थलोमा विद्यार्थीहरुले धेरै शिक्षा लिन पनि पाउँछन्,’ खड्काले जानकारी दिए, ‘सबै विषयमा बुझेर भोलि आफूलाई तयार पार्न र आफ्नो चाहना सम्बोधन होस् भन्ने चाहने विद्यार्थीले हाम्रो फेयरमा भाग लिन सक्नुहुनेछ ।’ यो फेयर असोज २ गते अर्थात् सेप्टेम्बर १९ तारिखमा अन्नपूर्ण होटलमा आयोजना गरिएको छ । विहान १० बजे सुरु भएर साँझ पाँच बजे सकिने फेयरमा निःशुल्क भाग लिन पाइनेछ ।

दशैँमा खसीबोकाको मासुको मूल्य बढ्दैन, ‘अहिलेकै मूल्यमा खरिद बिक्री’

काठमाडौं । दशैं पर्व नजिकिँदै गर्दा यो पर्वका बेला धेरै खपत हुने खसीबोकाको मासुको मूल्य के होला ? कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यो वर्ष दशैँमा खसीबोकाको मासुको मूल्य नबढ्ने र अहिलेकै मूल्यमा खरिद बिक्री हुने जनाएको छ । गतवर्ष ८ सयदेखि ८ सय ५० रुपैयाँमा किनबेच भएको खसीको मासु हाल १३ सय रुपैयाँ प्रतिकेजी बिक्री भइरहेको छ । अन्य समयमा सामान्य रहने बजार दशैंको समयमा भने चापमा पर्ने गरेको छ । दशैंलाई करिब ४० हजार वटा खसीबोकाको माग भएपनि १७ हजारमात्र व्यवस्थापन भएको नेपाल पशु चौपाय खरिद विक्री सेवा संघका अध्यक्ष भानुभक्त पराजुलीले बताए । त्यस्तै भारतबाट आउन खसीबोकामा रोक लगाएसँगै नेपाली बजारमा बिक्री हुने मासुको मूल्य बढेको अध्यक्ष पराजुलीले बताए । देश मासुमा आत्मनिर्भर राज्य घोषणा भएपनि हालसम्म देश पुर्णरुपमा आत्मनिर्भर नभई सकेको पराजुलीले बताए । यता, पशु सेवा विभागका महानिर्देशक डा. बंशी शर्माले दशैँमा मासुको समस्या नहुने र मूल्य पनि नबढ्ने बताए । कृषि तथा पशुपक्षी विकास मन्त्रालयकाले अघिल्लो वर्ष नेपालमा उत्पादित खसीबोकाले बजार नपाएको र भारतबाट हुने आयात प्रभावित गरेको निश्कर्ष सहित गाँउगाँउमा उत्पादन भएका खसीबोका खपत गर्न केन्द्रीय बाख्रा पालक महासंघ तथा विभिन्न सहकारी संस्था र आमा समूहहरुसँग सहकार्य गरेको थियो । हाल देशभर १ करोड १८ लाख खसीबोका तथा बाख्रा पालन भएको छ । वार्षिक ६ लाख खसीबोका काठमाडौं उपत्यकामै खपत हुने नेपाल पशु चौपाया खरिद बिक्री सेवा संघका अध्यक्ष पराजुलीले बताए ।

आज विश्वकर्मा पूजा, फलामे औजारको पूजा गरी मनाइँदै

काठमाडौँ । आज असोज १ गते अर्थात विश्वकर्मा पूजा मनाइदैछ । आश्विन सङ्क्रान्तिका दिन कालीगढले विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाउँदै छन् । आजको दिनलाई वास्तु दिवसका रुपमा समेत मनाउने गरिन्छ । विश्वकर्मा पूजाको दिन कलकारखानामा रंगीचंगी पार्नुका साथै बिशेष पूजा गरिन्छ । मजदुरहरुलार्इ बिदा पनि दिने चलन छ । फलामे औजारको पूजा गर्नाले लामो समय सम्म टिक्ने जनबिश्वास छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवम् धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमका अनुसार द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रका बीचमा ‘भेद द्वारका’ बनाइ लुकाएको धार्मिक विश्वास छ । एकै रातमा समुद्रका बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी त्यसै समयदेखि पूजाआजा गर्ने परम्परा बसेको हो ।

नारायणगढ-मुग्लिन खण्डका १५ पुलको बोलपत्र आह्वान, कहिले बनिसक्ला ?

चितवन । सडक फराकिलो हुँदासमेत साँघुरा पुलका कारण यातायात आवागमनमा समस्या देखिएका नारायणगढ–मुग्लिन सडकखण्डका १५ पुल निर्माणका लागि बोलपत्र आह्वान गरिएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ मन्त्री भएसँगै पहिलो हस्ताक्षर सोही पुल निर्माण गर्ने निर्णय पुस्तिकामा गरेका थिए । हाल ती पुलहरु छ मिटर हाराहारी फराकिला छन् । सडक भने नौदेखि ११ मिटर फराकिलोे छ । सडक विभागका उपमहानिर्देशक एवं पुल महाशाखा प्रमुख इञ्जिनियर दीपक भट्टराईका अनुसार एक साताअघि डिजाइनसहित निर्माणका लागि बोलपत्र आह्वान गरिएको छ । एक महिनाभित्रमा प्राप्त बोलपत्रमध्ये छनोट गरी ठेक्काको टुङ्गो लगाइनेछ । ती पुल निर्माण सम्पन्न गर्न करीब तीन वर्ष लाग्ने अनुमान गरिएको भट्टराईले जानकारी दिए । बोलपत्रको टुङ्गो लागेपछि वास्तविक लागत आउने भए पनि रु एक अर्ब ३० करोड हाराहारी खर्च हुने अनुमान गरिएको छ । शुरुमा नेपाल सरकारले पुल निर्माणको भुक्तानी गर्नेछ । पछि सो रकम ऋणका रूपमा विश्व बैंकले उपलब्ध गराउने उनले जानकारी दिए । निर्माण गर्न अप्ठ्यारो पर्ने तीन पुल नौ मिटर फराकिला हुनेछन् भने अन्य पुल ११ मिटर फराकिला हुने भट्टराईले बताए । ठेक्का परेपछि ठेकेदार कम्पनीले पहिले पुलको नक्साङ्कन गर्नेछन् । सो नक्सा विभागले अनुमोदन गरेपछि निर्माणको काम शुरु हुनेछ । हाल सोही सडकखण्डका तीन पुल निर्माण सम्पन्न भएका छन् भने एउटा पुल निर्माणाधीन अवस्थामा छ । साँघुरा र जीर्ण पुल भएकाले समय–समयमा सवारी आवागमनमा अवरोध हुँदै आएको छ । सडकको भित्ता काटेर फराकिलो बनाएसँगै यस वर्षको वर्षात्मा यात्रुले दुःख पाएका छैनन् । यही सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारी साधन आवागमन हुने गर्दछन् । राजधानी प्रवेश गर्ने र बाहिरिने प्रमुख सडकका रूपमा यस सडकलाई लिने गरिएको छ । रासस