विकासन्युज

प्रभु बैंकको एक्स्टेन्सन काउण्टर बागलुङ्ग मालपोत कार्यालयमा

काठमाडौँ । प्रभु बैंकले बागलुङ्ग नगरपालिका स्थित मालपोत कार्यालयमा एक्स्टेन्सन काउण्टरहरु सञ्चालनमा ल्याएको छ । बागलुङ्गस्थित मालपोत कार्यालयको परिसरमा स्थापित एक्स्टेन्सन काउण्टरको असोज ०१ गते बागलुङ्ग मालपोत कार्यालयका कार्यालय प्रमुख केशबराज ढकाल र प्रमुख राजश्व अधिकृत बिष्णुप्रसाद शर्माले एक समारोहबीच संयूक्त रुपमा उद्घाटन गरेका हुन् । बागलुङ्ग जिल्लास्थित मालपोत कार्यालयमा आउने सेवाग्राहीहरुले अब बिना झण्झट प्रभु बैंकको एक्स्टेन्सन काउण्टरमा रहेको सम्बन्धित मालपोत कार्यालयको खातामा राजश्व रकम जम्मा गरी सरल र सहज रुपमा मालपोत कार्यालयको काम गर्न सक्ने बताइएको छ ।

शुल्क वृद्धिको विरोधमा १६ दिनदेखि चितवन मेडिकल कलेजको पठनपाठन ठप्प

चितवन । सरकारले तोकेकोभन्दा बढी शुल्क लिइएको भन्दै चितवन मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीले आन्दोलन गरेपछि १६ दिनदेखि पठनपाठन ठप्प भएको छ । कलेजको २६ वटा सङ्कायमा दुई हजार विद्यार्थी अध्ययनरत रहेका छन् । त्यहीँ अध्ययनरत प्रकाश चन्दको नेतृत्वमा गठित चिकित्सा शिक्षा सङ्घर्ष समितिले आन्दोलनको नेतृत्व गरिरहेको छ । चन्दले सरकारले तोकेभन्दा बढी शुल्क चितवन मेडिकल कलेजले असुल गरेकै कारण आन्दोलन गर्नुपरेको बताएका छन् । शुल्क नघटेसम्म आन्दोलन जारी रहने उनको भनाइ छ । मुख्य रुपमा एमबिबिएसमा सरकारले तोकेभन्दा रु १२ लाख बढी शुल्क कलेजले असुल गरेको चन्दको भनाइ छ । यता कलेज प्रशासनले भने सरकारले तोकेभन्दा बढी शुल्क नलिएको जिकिर गर्दै आएको छ । कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा. डा. हरिशचन्द्र न्यौपानेले चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)ले एमबिबिएसका लागि शैक्षिक शुल्क रु ४२ लाख तोकेको बताएका छन् । यसका अतिरिक्त आइओएमलाई जनाकारी गराएर परीक्षा शुल्क, इन्टर्नसिप शुल्क र समुदायमा जाँदा हुने खर्च गरी रु छ लाख मात्र अतिरिक्त शुल्क लिइएको उनको भनाइ छ । शुल्कका विषयमा विवाद भएपछि प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य संसदीय समितिले अध्ययनसमेत गरेको भन्दै उनले सो समितिले दिएको प्रतिवेदन र सुझावअनुसार अघि बढ्न आफूहरु तयार रहेको बताएका हुन् । समितिले शैक्षिक शुल्कका अतिरिक्त कलेजले लिँदै आएको तीन शुल्कबाहेक रजिष्टे«शन, काउन्सिल शुल्क र सम्बन्धन शुल्क लिन पाउने उल्लेख गरेको भन्दै त्यसमा रहेर काम गर्न आफूहरु तयार रहेको प्रा.डा. न्यौपानेले बताए । अन्य सङ्कायमा सरकारले शुल्क निर्धारण गर्नुअघि कलेज स्वयंले निर्धारण गरेको शुल्क बढी भए पनि तोकेपछि भने बढी नलिएको न्यौपानेले जानकारी दिएका छन् । पुरानो शुल्क घटाउन नमिल्ने भन्दै नयाँ शुल्क सरकारले तोकेभन्दा बढी नलिइने जानकारी दिए । कलेज बन्द हुँदा विद्यार्थीको पठनपाठन प्रभावित भएको भन्दै उनले तत्काल आन्दोलन फिर्ता लिएर नियमित पठनपाठनमा सहयोग पुर्याउन आग्रह गर्दै आएको बताएका छन् । नेपालमा हाल १८ वटा मेडिकल कलेज सञ्चालनमा रहेका छन् । सबै मेडिकल कलेजमा यस्ता समस्या भए पनि यहाँमात्र आन्दोलन भएको उनले बताए । “सरकारले तोकेको शुल्कमा पढाउन तयार हुँदा अन्यत्र हुने हाम्रोमा मात्र आन्दोलन किन भइरहेको छ हामी अन्योलमा छौँ ” न्यौपानेको प्रश्न छ । रासस

नेप्से परिसूचक अस्थिर, २२ अंकले बढेको बजार १२ अंकमा झर्यो

काठमाडौ । अर्थमन्त्री डा. युवराज खतिवडाको अभिव्यक्तिका कारण मंगलबार एकाएक उचालिएको सेयर बजार साताको चौथो दिन अस्थिर देखिएको छ । साताको चौथो दिन आज सेयर बजारमा कारोबार शुरु भएको एक घण्टामै २२ अंक उकालो लागेर पुनः तल ओर्लिएको छ । बिहान ११ बजे बजार खुल्दा ११५०.६६ अंकको परिसूचक ११ बजेर २६ मिनेट जाँदा ११७२.५९ अंकमा पुगेको थियो । बजार खुलेको आधा घण्टा नबित्दै २२ अंकले बढेको थियो । १२ बजेर २० मिनेट १२.५२ अंकले बजार बढेको छ र परिसूचक ११६३.२६ अंकमा पुगेको छ । मंगलबार कर्मचारी संचय कोषको ५८ औं बार्षिकोत्सव समारोहमा अर्थमन्त्री खतिवडाले सेयरमा लगानी गर्ने उपयुक्त समय आएको अभिव्यक्ति दिएपछि २ दिनसम्म लगातार दोहोरो अंकले घटेको बजार एकाएक २७ अंकले बढेको थियो ।  

खुशीको खबरः ज्येष्ठ नागरिकको घरघरमै स्वास्थ्य जाँच

गोरखा । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले पालिकाभित्रका ज्येष्ठ नागरिकहरुका लागि घरमा गएर उपचार सेवा दिन शुरु गरेको छ । गाउँपालिकाले चालु आर्थिक वर्षदेखि ‘ ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण कार्यक्रम’ सञ्चालन गरी ८० वर्ष माथिका ज्येष्ठ नागरिकलाई घरमै पुगेर उपचार सेवा दिन शुरु गरेको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख मोदराज भट्टले जानकारी दिएका हुन् । कार्यक्रमबाट पालिकाभित्रका सबै ज्येष्ठ नागरिकमा स्वास्थ्य सुविधाको पहुँच पुग्ने उनले बताए । गाउँपालिकाभित्रका आठ वटै वडामा घरमै पुगेर स्वास्थ्य उपचार सेवा सञ्चालन गरिएको उनको भनाइ छ । ‘ धेरै ज्येष्ठ नागरिकहरु उपचारका लागि स्वास्थ्य संस्था आउन नसक्ने अवस्था धेरै छ उनले भने, “कम्तीमा महिनाको पाँच दिन मात्र स्वास्थ्यकर्मी घर–घरमा पुगेर उनीहरुको स्वास्थ्य जाँच गर्दा पनि सबै ज्येष्ठ नागरिकमा स्वास्थ्यसेवा पुर्याउनका लागि कार्यक्रमको थालनी गरिएको हो ।” यही भदौ ४ गते सबै स्वास्थ्यकर्मीका लागि अभिमुखीकरण तालीम प्रदान गरी कार्यक्रम शुरु गरेको उनले बताए । गाउँपालिकाले ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकको घरमै पुगेर उपचार दिने योजना बनाएको भए पनि स्वास्थ्यकर्मीको सङ्ख्या थोरै भएकाले त्यो सम्भव नभएपछि पहिलो चरणमा ८० वर्ष माथिका ज्येष्ठ नागरिकका लागि सेवा दिने शुरु गरेको उनको भनाइ छ । “हरेक वडामा ८० वर्ष माथिका कम्तीमा १५० जना ज्येष्ठ नागरिक छन्, उनले भने, । “ती मध्ये पनि आधाजति मात्र गाउँमा बसोवास गर्दा रहेछन्, उनीहरुमा सबैमा उपचार सेवा पुर्याउन सकिने पालिकाले अपेक्षा गरेको छ ।” नेपाल सरकारको तय गरेका विभिन्न राष्ट्रिय कार्यक्रमलाई असर नपर्ने गरी गाउँपालिकाले ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरेको उनको भनाइ छ ।‘गाउँघर क्लिनिक, खोप कार्यक्रम, पोषण कार्यक्रमलगायतका कार्यक्रमलाई प्रभाव नपर्ने गरी स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरेका छौ ।’ शाखा प्रमुख भट्टले भने,“घरघरमा गएर उपचार सेवा दिने स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्तास्वरुप केही रकम गाउँपालिकाले उपलब्ध गराउछ ।” एकजना स्वास्थकर्मीले एक दिनमा कम्तीमा २० जना ज्येष्ठ नागरिकको स्वास्थ्यपरीक्षण गर्न सक्ने उनले बताएका छन् । रासस

नेपाल इन्भेष्टमेन्ट बैंकद्वारा नेपाल रेडक्रसलाई ५ लाखको चेक हस्तान्तरण

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड (एनआईबीएल) र नेपाल रेडक्रस सोसाइटी (एनआरसीएस)बीच (सीएसआर) अन्तर्गत स्वास्थ्य हेरचाह र साक्षरता प्रबद्र्धनका लागि सहमतिपत्रमा हस्ताक्षर सम्पन्न भएको छ । सो सहमतिपत्र हस्ताक्षर गर्नुका साथै बैंकका प्रतिनिधीहरुद्घारा नेपाल रेडक्रस व्यवस्थापनलाई रु ५ लाखको चेक हस्तान्तरण गरिएको थियो । रक्तदान संकलन, सचेतना तथा स्वस्थ्य जीवनलाई सुधार तथा प्रबर्धनका लागि आवश्यक ज्ञान अभिवृद्धि गर्ने शिक्षामूलक प्रेरणादायी कार्यक्रमहरू सञ्चालनमा सहयोग पुर्याउने उद्देश्यले नेपाल रेडक्रसलाई यो आर्थिक सहयोग गरिएको हो । एनआईबीएलले विगतदेखि नै यस्ता किसिमका स्वास्थ्य हेरचाहका गतिविधिहरूमा पहल गर्दै आएको छ र सामाजिक विकासका साथसाथै त्यसमा व्यक्तिगत रुपमा सचेत र स्वस्थ्य व्यवहार सामेल गराउन आफ्नो भूमिका निर्वाह गर्ने यसको उद्देश्य रहेको हाे । यसरी, नेपाल इन्भेष्टमेन्ट बैंक (एनआईबीएल)ले ८२ शाखा, १२० एटीएम, १५ एक्सटेन्सन काउन्टरहरू, १० राजस्व संकलन काउन्टरहरू र ५४ शाखारहीत बैंकिङ काउन्टरमार्फत आफ्ना ग्राहकहरूलाई सेवा पुर्याउँदै आएको छ ।

वर्षाका कारण अरनिको राजमार्ग ठप्प, खुलाउने प्रयासमा

बनेपा । अविरल वर्षाका कारण अरनिको राजमार्गअन्तर्गत पाँचखाल नगरपालिकाको ५४ किलो र भुम्लु गाउँपालिकाको दोलालघाट बजार आसपासमा पहिराले यातायात ठप्प भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख प्रहरी उपरीक्षक जयराज सापकाटोका अनुसार भुम्लु गाउँपालिका–१० दोलालघाट बजार नजिकै गएराति पहिराका कारण सडक भत्किएपछि यातायात बन्द भएको हो । “त्यो लगायतका अरु ठाउँ–ठाउँमा पहिराका कारण सडक भत्किएको र भासिएको छ”, उनले भने, “धेरै ठाउँमा सडक अवरुद्ध भएका कारण अहिले यातायातका साधन चल्न सकेका छैनन् ।” गाउँपालिकाका अध्यक्ष गुमानध्वज कुँवरले दोलाघाट बजार नजिकै पहिरो गएको भन्ने खबर प्राप्त हुनासाथ खुलाउनका लागि डोजर लगाएर खुलाउने प्रयास भइरहेको बताएका छन् । अविरल रूपमा परिरहेको वर्षाका कारण ठाउँ–ठाउँमा धेरै क्षति भइरहेको र त्यस क्रममा अरनिको राजमार्गको ठाउँ–ठाउँमा पहिराले सडक भत्किएकाले खुलाउने प्रयास भइरहेको छ । उता रोशी गाउँपालिकाअन्तर्गत बिपी राजगर्माको ल्हासकोटमा वर्षाका कारण हिजो सडकमाथिबाट खसेको लेदोका कारण अवरोध भएको सडक गाउँपालिकाको पहलमा सञ्चालन भएको छ । नमोबुद्ध नगरपालिका–५ ल्हासकोटमा सञ्चालित मनकामना एक्रिकेट क्रसर उद्योगले सडकमाथि भित्तामा थुपारेको डस्ट वर्षाका कारण बगेर सडक पुरिएर अवरुद्ध भएको र त्यसलाई सफा गर्ने काम निरन्तर जारी राखिएको गाउँपालिकाका अध्यक्ष दलबहादुर लामाले बताए । रासस

बिग मार्टको ‘दशैं तिहार सुपथ पसल’ शुरू

काठमाडौं । बिगमार्टले चाडबाडलाई लक्षित गरेर ‘दशैतिहार सुपथ पसल’ ल्याएको छ । असोज १ गतेदेखी छठसम्म संचालन हुने सो अफर अन्तर्गत करिब २ सय समानहरुमा ५ रुपैयाँदेखी २ सय ५१ रुपैयाँसम्म छुट दिइएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार सनफ्लावर तेल देखी जिरा मसिनो चामलसम्मका खाद्यान्नमा छुट दिइएको छ । जसअनुसार अमृत सनफ्लावर तेलमा प्रतिलिटर ५ रुपैयाँ, मसुरो दालमा प्रतिकिलाे १५ रुपैयाँ, चिउरामा १० रुपैयाँ, चनामा ६ रुपैयाँ छुट दिएको कम्पनीले बिज्ञप्ति मार्फत जनाएको छ । डिडिसी घिउमा प्रतिकिलो ५० रुपैयाँ छुट दिइएको छ । धारा तेलमा १८ रुपैयाँ र चिनीमा प्रति रुपैयाँ ७ रुपैयाको दरले छुट दिएको बिगमार्टका आर्थिक प्रशासन प्रमुख विवेक देवले बताए । यस्तै जिरा मसिनो चामलमा प्रतिबोरा १ सय २६ रुपैया छुट दिइएको छ । उक्त छुट आफ्नो ३७ वटै शाखाबाट दिइएको उनले बताए । ‘चाडबार्डको अवसरमा सरकारले पनि सहुलियत पसल संचालन गर्न आग्रह गरेको थियो,’ प्रमुख देवले भने, ‘सोही अनुसार हामीले सहुलियत पसल संचालन गरेका छौ ।’ बिगमार्टले बजारको मूल्यमा नै तरकारी तथा फलफुल उपलब्ध गराउँदै आएको छ । यसका साथै हरेक दिन बेलुका तरकारीहरुमा बिशेष छुटको व्यवस्था गरेको कम्पनीले जनाएको छ । घरायसी प्रयोजनका लागि प्रयोग हुने खाद्य सामग्री, सरसफाईका सामग्री तथा पेय प्रदार्थ लगायतमा पनि बिशेष छुट दिइएको बिगमार्टले जनाएको छ ।

एक महिनामा दुई करोड बढीको मदिरा कारोवार

बाजुरा । गरिबको हिसाबले सबैभन्दा पछाडि रहेको बाजुरामा एक महिनामा रु दुई करोडभन्दा बढीको मदिरा कारोवार भएको छ । वर्षैपिच्छे खाद्यान्न अभाव खेपिरहने जिल्लामा एक महिनामा रु दुई करोडभन्दा बढी मदिराको कारोवार हुने गरेको उद्योग वाणिज्य सङ्घको तथ्याङ्कमा उल्लेख छ । उद्योग वाणिज्य सङ्घका कार्यालय सचिव टेकबहादुर धामीका अनुसार रु डेढ करोडदेखि दुई करोडसम्मको मदिरा यसै महिनामा मात्रै कारोवार भएको बताएका छन् । व्यावसायिक प्यान नम्बर लिएका मदिरा पसलबाट न्यूनतम एक महिनामा रु दुई करोडभन्दा बढी मदिरा खपत भएको र त्योसँगै लाखौँका स्थानीयवासीद्वारा उत्पादन गरिएको अवैध मदिरा पनि बिक्री हुने गरेको उनको भनाइ छ । मदिरा पसलको कारोवारका लागि जिल्लाभरि ८४१ ले अनुमतिपत्र प्यान नम्बर लिएको कोष तथा लेखा नियन्त्रण कार्यालयको तथ्याङ्क छ । मदिरा पसल नवीकरणबाट यो असोजसम्ममा गत वर्षको रु ३५ लाखभन्दा बढी राजश्व सङ्कलन हुने निमित्त कोष तथा लेखा नियन्त्रक धनबहादुर थापाले जानकारी दिएका छन् । आठ सय ४१ मदिराका पसलमध्ये १२ पसल मात्रै भ्याटमा दर्ता छन् भने बाँकी सबै पसल प्यानमा कारोवार गरिरहेका जनाइएको छ । जिल्ला सदरमुकाम मार्तडीपछिको ठूलो व्यापारी केन्द्र कोल्टी बजारमा मदिराका थोक बिक्रेता मङ्गल थापाका अनुसार मासिक रु ३० देखि ४० लाखसम्मको मदिरा बिक्री गर्ने गरेको बताए । जिल्ला प्रहरी कार्यालयले गत वर्ष असोजदेखि हालसम्म करिब १५ हजार लिटर घरेलु मदिरा जफत गरेर नष्ट गरेको जनाएको छ । घरेलु मदिरा उत्पादन गर्न सबैजसो खाद्यान्नको बनाउने गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिएका छन् । जिल्लाका स्थानीय तह त्रिवेणी नगरपालिका, बूढीगङ्गा नगरपालिका, हिमाली गाउँपालिका र जगन्नाथ गाउँपालिकाले मदिरा निषेध गरेको छ भने गौमुल गाउँपालिकाले मदिरा सेवन बन्द नगरे पनि व्यवस्थापन गरेर मदिरा सेवन कार्ड प्रयोग गरेको छ । रासस