एलपी ग्यास र हवाई इन्धनको मूल्य घट्यो
काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य घटाएको छ । निगमले खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँले घटाएर १३ सय ५० रुपैयाँ कायम गरको छ भने बाह्य हवाई इन्धनमा प्रतिकिलोलिटर ५० अमेरिकी डलर घटाएको छ । काठमाडौंमा हवाई इन्धनको खुद्रा बिक्री मूल्य बाह्य उडानतर्फ प्रतिकिलोलिटर १ हजार अमेरिकी डलर कायम भएको छ । शुक्रबार राती १२ बजेदेखि घटेको मूल्य लागू हुने आयल निगमले बताएको छ । पेट्रोल, डिजेल र मट्टितेलको हकमा भने खुद्रा बिक्री मूल्य यथावत राखिएको छ । ।
भारतमा आयो एन्टर्कको ‘रेस एडिशन’, नेपालमा कहिले ?
काठमाडौँ । टिभिएस मोटर कम्पनीले भारतमा एन्टर्क १२५ को ‘रेस एडिशन’ लञ्च गरेको छ । सो स्कुटरको मूल्य भारतीय बजारमा रु.६२,९९५ तोकिएको छ, जुन एन्टर्क डिस्क ब्रेक भेरियन्टभन्दा रु.३,००० ले महँगो रहेको छ । एन्टर्क १२५ रेस एडिशनमा एलईडि हेडलाईट, टि सेपको एलईडी डिआरएल र हाजार्ड ल्याम्पजस्ता नयाँ फिचरहरु दिइएका छन् । हाजार्ड लाइट अस्थाई रुपमा सडक छेउ गाडि रोक्नुपर्दा अरु गाडिले सतर्कता अपनाउन सकुन् भन्ने उद्देश्यले प्रयोग गरिएको हुन्छ । त्यसैगरी यस स्कुटरको साइड प्यानल्स्मा ‘रेस एडिसन’ को लोगो पनि दिइएको छ । टिभिएसले एन्टर्क रेस एडिसनलाई म्याट ब्ल्याक, मेटालिक व्ल्याक र रेड गरी तिन कलर अप्सनहरुमा सार्वजनिक गरेको छ । यस स्कुटरमा एन्टर्कमै भएको १२४ सीसी सिङ्गल–सिलिण्डर ३–भल्व इञ्जिन दिइएको छ जसले ९.४ एचपीको पावर र १०.५ एनएमको टर्क प्रोड्युस गर्दछ । त्यसैगरी यस स्कुटरका अगाडिको चक्कामा डिस्क ब्रेक र पछाडिको चक्कामा चाहिँ ड्रम बे्रक प्रयोग भएका छन् । यसको सस्पेन्सन सेटअपको कुरा गर्नुपर्दा अगाडितर्फ १२ इञ्चको टेलिस्कपिक फर्क र पछाडि भने मोनोसक फिट गरिएको छ । टिभिएसको नेपालका लागि आधिकारिक विक्रेता जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा एन्टर्क १२५ लाई रु.२,२९,९०० मा विक्री गर्दै आइरहेको छ । एन्टर्क १२५ रेस एडिशन चाहिँ नेपाली बजारमा आइपुग्न अझै केहि समय लाग्ने र सो स्कुटरको मूल्य एन्टर्क १२५ को तुलनामा थोरै बढेर आउने कम्पनीले जनाएको छ ।
कम्पनी रजिष्ट्रार कार्यालय अझै गएन अनलाइन प्रणालीमा, कम्पनी दर्ता गर्न ५ दिनसम्म लाग्ने
काठमाडौं । सरकारले सबै सरकारी कार्यालयहरुलाई आधुनिक र प्रविधिमैत्री बनाएर सञ्चालन गर्ने भनेपनि पूर्ण कार्यान्वयनमा आएको छैन । आधुनिक र प्रविधिमैत्री हुन नसकेको एउटा कार्यालय हो कम्पनी रजिष्ट्रार कार्यालय । कार्यालयले चालु आर्थिक वर्षको सुरुवातदेखि नै अनलाइन प्रणालीमा जाने घोषणा गरेको थियो । तर, अझै पनि अनलाइन प्रणालीमा जाने चासो देखाइएको छैन । अनलाइन प्रणाली र डिजिटल सिग्नेचरको कार्यविधि बनाएर उद्योग मन्त्रालय पठाएको करिब १ महिना मात्रै भएको छ । कार्यालयले मन्त्रालयलाई पठाएको कार्यविधि स्वीकृत भएर आइसकेको छैन । प्रविधिको अभावमा कम्पनी रजिष्ट्रार कार्यालयमा कम्पनी दर्ता गर्न २ देखि ५ दिन लाग्ने गरेको छ । यस सम्बन्धमा उद्योग मन्त्रालयका प्रवक्ता दिनेश भट्टराईले कम्पनी रजिष्ट्रार कार्यालयले पठाएको कार्यबिधिको अध्ययन भइरहेको र केही समयमा नै पास भएर जाने जानकारी दिए । कम्पनी रजिष्ट्रार कार्यालयका सूचना अधिकारी सन्तोष दहालले डिजिटल सिग्नेचरको कारणले अनलाइन प्रणालीमा जान ढिलो भएको बताए । अहिले कम्पनी दर्ता गर्दा हार्ड कपि बोकेर आउनु पर्नेछ । कार्यालयमा कर्मचारी कम भएको कारणले नै कम्पनी दर्ता गर्न २-४ दिन लागेको हो । मन्त्रालयबाट कार्यबिधि पास भएर आएपछि घरबाट नै कम्पनी दर्ता र प्रमाण पत्र लिन सकिन्छ । कम्पनी रजिष्ट्रारको कार्यालयमा धरानबाट कम्पनी दर्ता गर्न आएका निरज सिग्देलले कम्पनी दर्ता गर्न आएको ३ दिन भएपनि अझै कम्पनी दर्ता नभएको बताए । कम्पनी दर्ता अनलाइनबाट नै हुने हो भने सबैलाई सजिलो हुने उनले बताए । उनले भने–‘समयको र पैसा दुबै बचत हुने थियो ।’ अनलाइन प्रणालीको काम के हुँदैछ ? अहिले नयाँ कम्पनी दर्ता गर्दा अनलाइनबाट नै डकुमेन्ट अपलोड भइहरको छ । तर, अपलोड गरेर मात्रै हुँदैन । त्यसको हार्ड कपि पनि लिएर आउनु पर्नेछ । कम्पनी रजिष्ट्रार कार्यालयले सबै कागपत्रहरु अनलाइनबाट अपलोड गर्नु पर्ने व्यवस्था गरेका छ । कम्पनीहरुको आर्थिक कारोबार पनि अनलाइनबाट भइरहेको छ ।
मार्ग ईआरपीको सर्भिस सेन्टर काठमाडौँमा
काठमाडौँ । भारतीय कम्पनी मार्ग ईआरपी लिमिटेड नेपाल च्याप्टरले काठमाडौंमा आफ्नो सर्भिस सर्पोट सेन्टर खोलेको छ । नेपाल च्याप्टर “नेपाल ईआरपी इन्टप्र्राइजेज्” अन्तर्गत मार्ग ईआरपी दुई वर्ष अगाडि नेपालमा संचालनमा आएको हो र यसले कस्टुमाइज टेक्नोलोजी सोलुसनको माध्यमबाट पहिले देखि सेवा शुरु गरिसकेको छ । कम्पनीको लक्ष्य १५ जना स्थानीय साझेदारी तथा मार्ग कर्मचारीहरुको टोलीका साथ प्रत्येक महिना ३५० भन्दा बढी उद्यम तथा व्यवसायहरुलाई स्वचालित र कम्प्यूटराइज गर्ने रहेको छ । कम्पनीको भर्टिकल तथा होरिजेन्टल विस्तारका लागि उनीहरुले थप मानव जनशक्ति नियुक्त गर्दैछन् । देशका सरोकारवालाहरुसँग संलग्नता र अन्तक्रिया बढाउन नेपाल ईआरपी इन्टप्र्राइजेज (मार्ग ईआरपी) ले नेपाल बिजनेश पार्टनर मिट पनि आयोजना गरेको थियो । मार्ग ईआरपीका भारतका कन्ट्री हेड प्रितेश प्रभाकर पाटिल, इन्टरनेशनल मार्केटिङ्गका सिनियर म्यानेजर तारकेराव सिंहले सम्बोधन गरेको उक्त बैठकमा नेपालका सातै वटा प्रदशेका साझेदारहरुको उपस्थीति रहेको थियो । कार्यक्रममा मार्ग ईआरपी नेपालका सिनियर म्यानेजरले फार्मेसी एसोसिएसनका अध्यक्ष अमृत खनाल, अडिटर एसोसिएसन नेपालका सीईओ नरेश खनाल तथा फेडेरेसन अफ नेपाल गोल्ड एण्ड सिल्भर डिलर एसोसिएसनका उपाध्यक्ष माणिकरत्नले रचनात्मक छलफल गरेका थिए । मार्ग ईआरपी नेपालले देशमा सक्रिय रुपमा स्थानीय प्रतिभालाई प्रशिक्षण गर्नेछ र अभ्यस्त जनशक्ति उत्पादन गर्नेछ । कम्पनी लघु, साना तथा मझौला उद्योगको बढ्दो आवश्यकतालाई सहयोग गर्न देशमा उच्च दक्ष मानव विकास गर्न प्रतिबद्ध रहेको छ । कम्पनीको योजना र यसको भावी योजनाबारे बोल्दै मार्ग ईआरपी लिमिटेडका प्रबन्ध निर्देशक सुधिर सिंह नेपालको लघु, साना तथा मझौला उद्योग आकर्षक छ र विश्वव्यापी बजारका लागि बेजोड अफरहरु रहेका बताए ।
काठमाडौं मेरिएट होटेलमा चाडपर्वको अवसरमा विशेष अफर, खाना तथा पेय पदार्थमा २५% छुट
काठमाडौँ । नेपालको राजधानीमा हालै संचालनमा आएको काठमाडौं मेरिएट होटेलले दशैंको अवसरमा दैनिक जीवनको भीड–भाडबाट पन्छिन खोज्ने व्यक्तिहरुका लागि उत्तम गन्तव्य प्रदान गर्ने विशेष अफर ल्याएको छ । काठमाडौं मेरिएट होटेलले जोडीहरुलाई ठमेल किचनको कमप्लीमेनटरी बुफे ब्रेकफास्ट सहित दुई रातका लागि शानदार डिलक्स कोठामा समय व्यतित गर्न स्वागत गर्ने जनाएको छ । ठमेल किचन दिनभर संचालन रहने एक मल्टीक्वीजीन डाइनिङ्ग रेष्टुरेन्ट हो जसले मुखमा पानी आउने विश्वभरका स्वादिष्ट भोजनहरु पेश गर्दछ । अतिथिहरुले यस प्रचुर रमणीय स्थलमा सबै सेवाहरु लिन सक्छन् – स्वीमीङ्ग पुलको मज्जा लिन, आरमदायी स्टीम र सौना, स्टेट–अफ–आर्ट फिटनेस सेन्टरमा वर्कआउट गरेर जाकुजीमा आराम गर्नु, आफुलाई स्पा ट्रीटमेन्टबाट प्याम्पर गर्न एम–वेल्नेसर रहेको छ साथै यस शान्त वातावरमा सम्पूर्णका लागि केहि न केहि विशेष रहेको छ । अतिथिहरुले अक्टुबर ३ तारिखदेखि अक्टुबर १० तारिखसम्म रु. १४५००ं मा यस प्याकेजको आनन्द लिन सक्ने जनाइएको छ । यस प्याकेजका लागि न्यूनतम २ रातसम्म बस्नुपर्नेछ र अतिथिहरुले निशुल्क प्रारम्भिक चेक–इन र ढिलाई चेक–आउट रोज्न पनि सक्नेछन् । काठमाडौं मेरिएट होटेलले स्पा ट्रीटमेन्ट, चारवटै रेष्टुरेन्टमा कम्प्लीमेन्टरी वाई–फाई सहित खाना तथा पेय पदार्थमा २५% छुट दिने भएको छ । अतिथिहरुले दशैंको अवसरमा होटेलको आफ्नो कोठामा विशेष उपहारको पनि आशा गर्न सक्नेछन् । देशमा चाडपर्वको उत्साह छाएसँगै, काठमाडौं मेरिएट होटेल स्वादिष्ट मिठाई “मिठाई बाई मेरिएट” अफर गर्ने पहिलो लक्जरी होटेलको छाप बनाएको छ । यस मिठाई होटेलका कार्यकारी शेफ सञ्जीव रनजनले सुन्दर तरिकाले बनाएका हुन् । प्याट्रोनहरुले आफ्नो प्रियजनहरुलाई स्थानीय इन्ग्रीडेन्टहरुबाट बनाइएको व्यञ्जनको होस्ट गर्न पनि सक्छन् । बेसनको लड्डू, तरबूजा बर्फी, गूडको लड्डू र काजुकाट्ली, अंजीर रोल जुन कुनै समय मनपर्ने ट्रिटलाई ५०० ग्राम र १ केजीको बक्समा राखेर उपहार दिन सकिन्छ । काठमान्डौं मेरिएट होटलले दशैं का लागि २६ सेप्टेम्बरदेखि र दिपावली अघि पनि प्रि–अर्डर स्वीकार गर्दछ । नक्सालमा अवस्थीत काठमाडौं मेरिएट होटल कन्टेम्प्रोररी होटेल हो जुन स्थानीय संस्कृतिको ट्वीस्ट हो । सुन्दर रुपमा सजाइएका कोठाहरुलाई विशेष ध्यान राख्ने आतिथ्य स्टाफले कम्प्लीमेन्ट गर्दछ र अतिथिहरुलाई आफ्ना सम्पूर्ण चिन्ताहरु रिसेप्सेनमै छोडेर होटेलले प्रदान गर्ने सम्पूर्ण सेवाहरुको आनन्दमा केन्द्रित हुन सक्ने वातावरण सुनिश्चित गर्दछ । रेष्टुरेन्टहरुको आमन्त्रित दायराका भित्र यो होटेलले डाईनिङ्ग अनुभवमा एक नयाँ दृष्टिकोण प्रदान गर्दछ । ठमेल किचेनले मल्टी–क्वीजीन अफर गर्दछ भने आधुनिक एशियन स्पेसियालिटी रेष्टुरेन्ट एडमामीले थाई, जापनीज र चाइनीज क्वीजीन प्रदान गर्दछ । रक्सी म्युजिक बार र यसको वाटरफल टेरेन्स एक्टेन्सन साझँमा विदेशी पेय पदार्थ र उत्तम खानाको आनन्द लिने एक अद्भुत विकल्प हो । इन–हाउस प्याटिसेरीमा रहेको काठमाडौं बैकिङ्ग कम्पनी न्यानो र आरामदायक छ ।
वैज्ञानिकहरु भन्छन्-‘पाँच वर्षमुनिका बालबालिकाले दूध र पानी मात्र पिउनुपर्छ’
न्यूयोर्क । वैज्ञानिकहरुको एक प्यानलले बालबालिकाहरुको लागि नयाँ पौष्टिक मार्गनिर्देशन जारी गरेको छ । वैज्ञानिकहरुको प्यानलले बुधबार बालबालिकाहरुले जन्मेको पहिलो बर्षमा के खानुहुन्छ र के खानुहुदैन भनेर नयाँ मार्गनिर्देशन जारी गरेको हो । प्यानलले जन्मको पहिलो बर्षका शिशुहरुले दूधमात्र पिउनु पर्ने बताएको छ । उनिहरुले बालबालिकाको खानामा ६ महिनापछि पानी थप्न र १२ महिनापछि गाईको दूध बदल्न सकिने बताएका छन् । मार्गनिर्देशनको अनुसार जन्मिएको पाँच बर्षसम्म बालबालिकाले दूध र पानी मात्र पिउनु उपयुक्त हुन्छ । साथै ५ बर्ष वा सोभन्दा कम उमेरका बालबालिकाहरुलाई कुनै पनि प्रकारको गुलियो, कम क्यालोरी युक्त पेय पदार्थ तथा चकलेट दूध वा अन्य स्वादयुक्त दूधहरु खुवाउनु हुँदैन । यस्तै बदाम, चामलमा आधरित पेय पदार्थको सेवनबाट पनि बालबालिकालाई टाढै राख्न पर्दछ । गाईको दूधको विकल्प चाहने आमाबुवाहरूको लागि भने सोया दूध रुचाइएको विकल्प हो । नयाँ मार्गनिर्देशन ‘हेल्दी ईटिङ समुह’ का पोषण अधिवक्ता समूहले बनाएका हुन् । मार्गनिर्देशन अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्स, एकेडेमी अफ न्यूट्रिशन एण्ड डायटेटिक्स, अमेरिकन हार्ट एसोसिएसन र अमेरिकन एकेडेमी अफ पेडियाट्रिक डेन्टिस्ट्रीले बनाएको कारण दिईएका सुझावहरु निकै नै प्रभावकारी हुने बताईएको छ ।गुलियो पेय पदार्थहरुबाट बालबालिकाहरुलाई टाढा राख्नुको कारण बालबालिकामा सानै पनि देखिने अत्याधिक मोटोपना हो, जसले आजीवन दीर्घकालीन रोगहरुलाई निम्ताउने गर्दछ । विश्व स्वास्थ्य संगठन अनुसार संसारभरमा ४ करोड बालबालिका मोटोपनको शिकार भएका छन् । नयाँ मार्गनिर्देशनलाई यसरी उमेर समुहमा विभाजित गरिएको छ : जन्मेदेखी ६ महिनासम्म बालबालिकाहरुले दूधको मात्र सेवन गर्नुपर्छ। बालबालिकाहरुलाई कुनै पनि प्रकारको गुलियो, कम क्यालोरीयुक्त पेय पदार्थ तथा चकलेट दूध वा अन्य स्वादयुक्त दूधहरु खुवाउनु हुँदैन । यस्तै बदाम, चामलमा आधरित पेय पदार्थको सेवनबाट पनि बालबालिकालाई टाढै राख्न पर्दछ । ६ महिनादेखी १ बर्षसम्म बालबालिकाहरु अझै पनि आमाको दुधमै निर्भर हुनुपर्दछ। एकपटक बालबालिकाले ठोसकुरा खाना थालेपछी उनिहरुले पानी पिउन सुरु गर्न सक्छन् । बालबालिकाहरुलाई कुनै पनि प्रकारको गुलियो, कम क्यालोरी युक्त पेय पदार्थ तथा चकलेट दूध वा अन्य स्वादयुक्त दूधहरु खुवाउनु हुँदैन । यस्तै बदाम, चामलमा आधरित पेय पदार्थको सेवनबाट पनि बालबालिकालाई टाढै राख्न पर्दछ। १२ देखी २४ महिनासम्म बालबालिकाहरुले दैनिक १ देखी ४ कप पानी पिउनु पर्नेछ । उनिहरुलाई एकदमै थोरै मात्रामा मात्र जुस पिउन दिनुपर्छ । २ बर्ष देखी ३ बर्षसम्म बच्चाले दैनिक एक वा चार कप पानी र फ्याट-फ्रि वा कम फ्याट (१ प्रतिशत फ्याट) दूध पिउनु पर्दछ । उनिहरुले १०० प्रतिशत जुसको चार अंश भन्दा बढी पिउनु हुँदैन र अन्य पेय पदार्थ पनि सेवन गर्नुहुँदैन। ४ देखी ५ बर्ष यी बच्चाहरूले दिनको एक कप देखी पाँच कपसम्म पानी पिउनुपर्दछ। यसका साथै थोरै मात्रामा जुस र त्यस बाहेक अन्य गुलियो पेय पदार्थको सेवन गर्नु हुँदैन । (न्यूयोर्क टाईम्सबाट उल्था गरिएको । )
स्वदेशी उद्योगका लागि भारतले घटायो संस्थागत आयकरको दर, शेयरकाे पुँजीगत लाभकर पनि छुट
काठमाडौं । स्वदेशी उद्योगलाई संरक्षण गर्न संस्थागत आयकरमै छुट दिनेगरी भारत सरकारले ऐतिहासिक घोषणा गरेको छ । संघीय आयकर ऐनमा हाल रहेको ३० प्रतिशत संस्थागत आयकरको दरलाई केन्द्र सरकारले २२ प्रतिशतमा झारेको छ । विभिन्न उपकर र अतिरिक्त शुल्कहरु समेत गर्दा यो कर २५.१७ प्रतिशत कायम हुन्छ । त्यस्तो उद्योगको लागि न्यूनतम वैकल्पिक करसमेत तिर्नु नपर्ने व्यवस्था गरिएको छ । त्यस्तै भारतमा नयाँ उत्पादनमूलक उद्योग स्थापना गर्ने कम्पनीलाई हाल रहेको २५ प्रतिशत संस्थागत आयकरलाई १५ प्रतिशतमा झारिएको छ । यसमा न्यूनतम वैकल्पिक करलाई १८.५ प्रतिशतको सीमाबाट १५ प्रतिशतमा झारिएको छ । यही वर्षको अक्टोबरसम्म स्थापना भएका त्यस्ता कम्पनीहरुलाई २०२३ मार्चसम्म १५ प्रतिशतमात्रै आयकर तिरे पुग्नेगरी आयकर ऐनमा संशोधन गर्न लागिएको हो । तर, सुरुमै अनुदान वा छुटहरु लिएर स्थापना गरिएका कम्पनीहरुको हकमा भने छुटसम्बन्धी कुनै व्यवस्था गरिएको छैन । गोवामा शुक्रबार आयोजित सम्मेलनमा भारतीय वित्तमन्त्री निर्माला सीतारकणले आयकर ऐन १९६१ र वित्त ऐन २०१९ लाई संशोधन गर्दै त्यस्तो व्यवस्था गर्ने घोषणा गरेकी हुन् । यो व्यवस्था आगामी आर्थिक वर्षदेखि लागु हुनेछ । त्यस्तै, शेयर बजारमा लाग्ने पुँजीगत लाभकरलाई सरकारले खारेज गरिदिएको छ । पुँजी बजारमा कोषको प्रवाहलाई गतिशील बनाउन यस्तो व्यवस्था गर्न लागिएको वित्तमन्त्री सीतारमणले बताइन् । सरकारले संस्थागत सामाजिक उत्तरदायित्वमा गर्नैपर्ने खर्चको क्षेत्रलाई विस्तार गरी विश्वविद्यालय, प्रयोगशाला लगायतका क्षेत्रमा खर्च गर्न पाउने व्यवस्था समेत गरेको छ । त्यस्तो रकम कुल नाफाको २ प्रतिशत रहेकोमा त्यसलाई यथावत राखिएको छ ।
शर्त उल्लंघन गर्ने २० हाइड्रो कम्पनी कार्वाहीमा, विद्युत विभागले उठायो १५ लाख जरिवाना
काठमाडाैं । विद्युत विकास विभागले २० वटा जलविद्युत कम्पनीहरुलाई कार्वाही गरेको छ । विभागले कम्पनीहरुलाई प्रदान गरेको अनुमति पत्रमा उल्लेख गरेका शर्त तथा नियमहरु उल्लंघन गरेको भन्दै २० हाइड्रो कम्पनीहरुलाई कार्वाही गरेको हो । गत आव र चालु आर्थिक वर्षको हाल सम्म विभागले २० वटा कम्पनीहरुलाई कार्वाही गरेको हो । विभागले सो कम्पनीहरुबाट १५ लाख ८५ हजार रकम जरिवाना उठाउने जनाएको छ । विभागले गत आवमा १७ र चालु आवमा तीन वटा हाइड्रो कम्पनीलाई कार्वाही गर्ने निर्णय गरेको थियो । कार्बाही पर्ने कम्पनीहरुमा सिसा हाइड्रो इलेक्ट्रिक, पोखरी हाइड्रोपावर, हिमाल पावर, मनाङ्ग ट्रेड लिंक, रारा हाइड्रोपावर डेभेलपमेण्ट, बज्र इनर्जी भेञ्चर्स र पुवाखेला वान हाइड्रोपावर कार्बाहीमा परेका छन् । यस्तै इष्टन हाइड्रोपावर, कालिका इनर्जी, भगवति हाइड्रोपावर, तुँदी पावर, म्याग्दी हाइड्रो पावर, सुरीखोला हाइड्रो पावर, शिव श्री हाइड्रो पावर, अपरसेती हाइड्रो, साम्लीङ्ग पावर र सभापोखरी हाइड्रो पावर प्रा.लि पनि कार्बाहीमा परेका छन् । यी १७ वटा कम्पनीलाई विभागले पाँच हजार रुपैयाँ जरिवाना गरेको हो । विद्युतिय ऐन २०४९ को दफा ३८ उपदफा (२) अनुसार अनुमति पत्रमा उल्लेख भएक सर्तहरु पालना नगरी विद्युत उत्पादन, प्रसारण वा वितरण गरेमा तोकिएको अधिकारीले निजलाई पाँच हजार रुपैयाँ सम्म जरिवाना गर्न सक्ने उल्लेख गरिएको छ । तर उक्त ऐनलाई संसोधन गरी २०७५ देखि विभागले जारी गरेका सर्तहरु उल्लंघन गर्नेलाई ५ लाख रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको थियो । सो निर्णय भए पश्चात तीन वटा कम्पनीहरु कार्वाहीमा परि सकेका छन् । चालु आवको हाल सम्म पाँच लाखमा कार्बाहीमा पर्ने कम्पनीहरुमा माउण्ट एभरेष्ट पावर डेभलपमेण्ट, माउण्ट कैलाश इनर्जी र युनियन हाइड्रो पावर प्रा.लि रहेका छन् । यी तीनवटै कम्पनीलाई विभागले पाँच/पाँच लाख जरिवाना गरेको जनाएको छ । यी कम्पनीहरुले प्राप्त गरेको अनुमति पत्रमा उल्लेख गरेका सतहर्रु उल्लंघन गरेर कार्बाहीमा परेका विभागकी सुचना अधिकारी निशा रिजालले बताइन् । उनले विद्युत ऐन २०४९ को दफा ३८ को उपदफा (२) बमोजिम कसुर गरेकोमा ऐ. ऐनको दफा ३८ बमोजिम जरिवाना गरिएको बताईन् । हाल हाइड्रो उद्यमीहरुले सरकारले जलविद्युत आयोजनाहरुलाई कडा खालका सर्तहरु पालना गर्न लगाएको आरोप लगाउँदै आएका छन् । उनिहरुले सरकारले त्यस्ता कडा खालका सर्तहरु फुकुवा नगरेसम्म हाइड्रोमा व्यवसायीहरुको आकर्षण घट्नुका साथै समग्र जवविद्युत क्षेत्र नै संकटमा पर्ने आवाज उठाएका छन् । उनिहरुले हाल विद्युत खरिद दर, ब्याजदर, प्रसारण, प्रसारण लाईन, ढिलो उत्पादन हर्जाना, लगायत जलविद्युत क्षेत्रका विद्यमान समस्याहरु रहेको बताउँदै आएका छन् । स्वतन्त्र उर्जा उत्पादक संका उपाध्यक्ष कुमार पाण्डेले विभागले अनावश्यक रुपमा सर्त राखेर जटिले गरेको बताए । उनले कम्पनी रजिष्टार कार्यालयले गर्ने काम पनि विभागले नै गर्न खोजेको जानकारी दिए । विभागले स्विकृतीका आधार पनि नप्रष्ट्याई कार्वाही गर्ने गरेको बताए । ‘विभागले आफ्नो क्षेत्राधिकार भन्दा बाहिरको काम गरेको जस्तो लाग्छ’ उनले भने, यो बेकारमो झण्जटिलो छ ।’ विभागको स्विकृति नलिई कम्पनीको शेयर संरचना परिवर्तन गरेको, प्रालिलाई लिमिटेडमा लगेको, कम्पनीमा आयोजना सञ्चालन गरेको लगायतका सर्तहरु उल्लघंन गर्ने कम्पनीहरुलाई विभागले कार्बाही गरेको जनाएको हो ।