मातृभूमि लघुवित्तको छैठौं वार्षिक साधारण सभा सम्पन्न, नयाँ सञ्चालक समिति चयन
काठमाडौं । मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडले छैठौं वार्षिक साधारण सभा वैशाख २ गते सम्पन्न गरेको छ । सभाले संस्थापक र सर्वसाधारण समूहतर्फका नयाँ सञ्चालकहरू निर्वाचित गरेको छ । नेपाल राष्ट्र बैंकबाट 'घ' वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय कार्यक्षेत्र भएको यस लघुवित्त संस्थाको सञ्चालक समितिमा संस्थापक समूहबाट शम्भु प्रसाद घिमिरे, बिमला योगी, इन्द्र कुमार शाह र खडानन्द सापकोटा निर्वाचित भएका छन् । त्यस्तै, सर्वसाधारण समूहतर्फबाट भरत बहादुर हमाल र विनोद आचार्य सञ्चालकमा निर्वाचित भएका छन् । लघुवित्तले नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा पठाएको सूचना अनुसार नवनिर्वाचित सञ्चालकहरूको नाम र ठेगाना सार्वजनिक गर्दै निर्वाचन प्रक्रिया सफलतापूर्वक सम्पन्न भएको जनाएको छ । यससँगै नयाँ सञ्चालक समितिले मातृभूमि लघुवित्तको भावी रणनीति र संस्थागत सुदृढीकरणमा योगदान पुर्याउने विश्वास गरिएको छ।
स्मार्टच्वाइस टेक्नोलोजिज पीसीआई–डीएसएस संस्करण ४.०.१ प्रमाणित
काठमाडौ । स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) पीसीआई–डीएसएस संस्करण ४.०.१ प्रमाणित भएको छ । एससीटीले हालसालै पीसीआई–डीएसएस संस्करण ४.०.१ प्रमाणीकरण प्राप्त गरेको हो, जुन हालसम्मको सर्वाधिक सुरक्षित र अद्यावधिक संस्करण मानिन्छ । पीसीआई–डीएसएस एक अन्तर्राष्ट्रिय स्तरको सुरक्षात्मक मापदण्ड हो, जुन भुक्तानी कार्ड सम्बन्धी डाटा सुरक्षा सुनिश्चित गर्नका लागि तयार गरिएको हो । यस मापदण्डअन्तर्गत विभिन्न १२ प्रकारका सुरक्षा आवश्यकता र प्रक्रियाहरू निर्धारण गरिन्छ जसले डाटा चोरी, अनधिकृत पहुँच तथा साइबर आक्रमणबाट बच्न सहयोग पुर्याउँछ । कुनै पनि भुक्तानी सेवा प्रदायक संस्थाको लागि पीसीआई– डीएसएस जस्तो प्रमाणीकरण प्राप्त गर्नु एक महत्वपूर्ण उपलब्धि हो, किनभने यसले कम्पनीको प्रणाली, नेटवर्क तथा डाटा संरचनाहरू उच्चस्तरको सुरक्षा अनुरूप संचालन भइरहेका छन् भन्ने कुरा प्रमाणित गर्दछ । नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन बमोजिम कार्डमार्फत भुक्तानी कारोबार गर्न अनुमतिपत्रप्राप्त संस्थाले कारोबार तथा कार्डसंग सम्बन्धित संवेदनशील सुचनाको प्रत्याभूति गर्न कार्डको प्रकृति अनुसार पीसीआई–डीएसएसजस्ता अन्तराष्ट्रिय रुपमा प्रचलित मापदण्डहरु पालना गर्नुपर्ने नियम गरेअनुरुप यस संस्था पीसीआई–डीएसएस प्रमाणित हुँदै आइरहेको छ ।
उपप्रमुख सुनिता डंगोल विश्वव्यापी युवा नेताको मञ्चमा चयन, नेपालबाट एक्लै प्रतिनिधित्व
काठमाडौं । काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल सन् २०२५ का लागि विश्व आर्थिक मञ्च अन्तर्गत विश्वव्यापी युवा नेताहरूको मञ्चमा चयन भएकी छन् । स्वीजरल्याण्डको जेनेभाबाट घोषित सूचीअनुसार दक्षिण एशियाबाट छानिएका ११ जनामध्ये नेपालबाट डंगोल एक्लो प्रतिनिधित्व हुन् । यसअघि उनी ग्लोबल शेपर्स काठमाडौं हवकी सक्रिय सदस्य पनि रहिसकेकी छन् । विश्वका ५० भन्दा बढी देशका ११६ जना युवा नेताहरू सहभागी रहेको यस मञ्चमा उपप्रमुख डंगोल सरकार क्षेत्रको प्रतिनिधिका रूपमा चयन भएकी हुन् । समूहमा शिक्षा, कला–संस्कृति, खेलकुद, व्यवसाय, नागरिक समाज, मिडिया र सामाजिक उद्यमशीलता क्षेत्रका युवा नेताहरू समावेश छन् । विश्व आर्थिक मञ्चको आधिकारिक वेबसाइटमा डंगोलको बारेमा भनिएको छ, 'उहाँ युवालाई प्रेरित गर्ने, र सांस्कृतिक पहिचानलाई आधुनिकतासँग जोड्ने राजनीतिज्ञ हुनुहुन्छ ।' चयनपछि प्रतिक्रिया दिँदै डंगोलले भनिन्, 'विश्वस्तरीय मञ्चमा प्रतिनिधित्व गर्न पाउनु गर्वको विषय हो । यो अवसरले थप जिम्मेवारी बोध गराएको छ । अन्तर्राष्ट्रियस्तरका नेताहरूसँग सहकार्य गर्दै युवालाई नेतृत्वमा प्रेरित गर्ने कार्यमा लाग्नेछु ।' विश्वव्यापी समस्या समाधानका लागि व्यवहारिक दृष्टिकोण र प्रविधिको प्रयोगमार्फत सकारात्मक परिवर्तन ल्याउने, नयाँ दृष्टिकोण तयार गर्ने उद्देश्यले यो नेतृत्व समूहको स्थापना गरिएको हो । सन् २००४ मा स्थापना भएको यो फोरममा हालसम्म १२० देशका १ हजार ४ सयभन्दा बढी सदस्यहरू सहभागी भइसकेका छन् ।
सगरमाथा क्षेत्रमा ४३ हजार पर्यटकले गरे भ्रमण, ११ करोड ३२ लाख राजस्व जम्मा
सोलुखुम्बु । वरिपरि हिउँका पर्खाल, शेर्पा संस्कृतिको सुगन्ध, अनि हिमाली सौन्दर्यको चित्ताकर्षक दृश्यले सगरमाथा क्षेत्रमा हजारौं पर्यटकको ध्यान खिच्ने गरेको छ । वसन्त ऋतु प्रारम्भ भएसँगै सगरमाथा क्षेत्रमा पर्यटकको चहलपहल बढेको छ । सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालयका अनुसार गत महिना १२ हजार तीन जना पर्यटकले सगरमाथा क्षेत्रको भ्रमण गरेका छन् । राष्ट्रिय निकुञ्जका रेन्जर विवेक श्रेष्ठका अनुसार यो याम हिमाल आरोहण, ट्रेकिङ तथा हिमाली दृश्यावलोकनको दृष्टिले उपयुक्त भएकाले पर्यटकको आगमन बढेको हो । 'हिमाल आरोहण तथा दृष्यावलोकनका लागि यो समय उत्तम हुने भएकाले विदेशी तथा स्वदेशी पर्यटक आउने क्रम जारी छ, सगरमाथासहितका हिमाल सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्ने भएकाले यहाँ पर्यटक बढेसँगै हाम्रो व्यस्तता पनि बढेको छ,’ रेन्जर श्रेष्ठले भने । पर्यटकको आवागमन बढेसँगै खुम्बु क्षेत्रमा व्यावसायिक गतिविधि, होटल लजहरूको व्यस्तता पनि बढेको छ । हाल नाम्चे बजारदेखि लुक्लासम्मका होटल पर्यटकले भरिभराउ छन् । अनुकूल मौसम हुँदा काठमाडौं तथा रामेछापको मन्थली विमानस्थलबाट दैनिक सयौं पर्यटक लुक्ला हुँदै निकुञ्ज प्रवेश गरिरहेका छन् । यद्यपि, मौसम प्रतिकूल हुँदा सोही पर्यटकहरू वैकल्पिक मार्ग रोज्दै काठमाडौंबाट जिप चढेर सल्लेरी हुँदै सुर्केसम्मको यात्रा गरिरहेको यातायात व्यवसायीहरू बताउँछन् । हवाइ र सडक मार्ग सगरमाथा क्षेत्र पुग्ने माध्यम पहिले–पहिले सगरमाथा पुग्ने एकमात्र प्रमुख विकल्प लुक्लाको हवाई यात्रा थियो । तर हालैका वर्षहरूमा लुक्लासम्म सडक विस्तार हुँदै जाँदा अब गाडी चढेर पनि हिमालको काखमा पुग्न सकिने सम्भावना बढेको छ । मौसम प्रतिकूल हुँदा हवाइजहाज उड्न नसक्दा वैकल्पिक बाटोको खोजीमा निस्केका पर्यटकहरू जिपमार्फत खुर्कोट, घुर्मी, ओखलढुङ्गा हुँदै सोलुखुम्बु सदरमुकाम सल्लेरी पुग्छन् । यहाँबाट बोलेरोबाट लुक्ला नजिकैको स्थान सुर्केसम्म यात्रा गर्छन् । निकुञ्ज क्षेत्रमा कार्यरत सवारी चालकदेखि होटल व्यवसायीसम्मले पछिल्लो समयको सडक विकासलाई स्वागत गरेका छन् । अब मौसम खराब भयो भनेर लुक्ला नपुगी फर्कनुपर्ने बाध्यता हटेको पर्यटन व्यवसायी बताउँछन् । लुक्ला–मन्थली तथा काठमाडौं–लुक्ला हवाइ सेवा प्रभावित हुनसाथ सल्लेरी हुँदै लुक्लाभन्दा केही तलसम्मको स्थान सुर्के जाने विदेशी पर्यटकको सङ्ख्या उच्च हुने गरेको यातायात व्यवसायी रामबहादुर बराइलीले बताए । काठमाडौंबाट जिपमार्फत खुर्कोट, घुर्मी हुँदै सोलुखुम्बु जिल्ला सदरमुकाम सल्लेरी आइपुगेका पर्यटक सल्लेरीबाट बोलेरोमार्फत सुर्केसम्म पुग्ने गरेका छन् । सल्लेरीभन्दा माथिको बाटो कच्ची भएकाले सुमो जिप नजाने भएकाले बोलेरो प्रयोग गर्ने गरेको सवारी चालक सन्तोष तामाङले बताए । लुक्ला नजिकै कच्ची सडक पुगेकाले पर्यटकलाई जहाजको विकल्प भएको ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान)का वरिष्ठ उपाध्यक्ष कर्मा शेर्पाले बताए । 'लुक्लामा मौसम बिग्रिरहने भएकाले बारम्बार जहाज उडान अवरुद्ध हुन्छ तर अब लुक्ला नजिकै रोड पुगेकाले गाडीबाट पनि जान सकिने भएको छ, यो खुसीको कुरा हो,’ उपाध्यक्ष शेर्पाले भने । यद्यपि खुम्बु आउन चाहने केही पर्यटक भने मौसमका कारण अन्यत्र डाइभर्ट हुने गरेको व्यवसायीहरूको भनाइ छ । व्यवसायी तेम्बाछिरिङ शेर्पाले भने, 'खुम्बु जाने सहज माध्यम भनेको हवाइजहाज हो, तर लुक्लामा मौसम खराब हुँदा खुम्बु जाने कतिपय विदेशीहरू अन्य स्थानतर्फ लागे । उनीहरू निश्चित समयको 'भिषा' लिएर आउने भएकाले मौसम प्रतिकूल हुनासाथ अन्य स्थानतर्फ जाने सम्भावना बढ्छ ।' निकुञ्ज क्षेत्रमा पर्यटकको आगमन उत्साहवर्धक विसं २०३२ मा सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपािलका क्षेत्रमा स्थापना भएको सगरमाथा राष्ट्रिय निकुञ्ज एक हजार एक सय ४८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । पूर्वी नेपालको सोलुखुम्बु जिल्लामा रहेको यो राष्ट्रिय निकुञ्जमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित छ हजार मिटरभन्दा अग्ला ल्होत्से, नुप्से, चोयु, ल्होत्सेसार, पुमोरी, आमादब्लम, थामसेर्कुलगायत हिमचुचुरा पर्दछन् । कुञ्जभित्रको गोक्यो र सम्बद्ध ताललाई सन् २००७ मा रामसार सूचीमा समावेश गरिएको थियो । सन् १९७९ देखि यस निकुञ्जलाई विश्वसम्पदा सूचीमा समावेश गरिएको हो । यो निकुञ्ज एक हजार आठ सय मिटरदेखि आठ हजार आठ सय ४८ मिटरसम्मको उचाइमा छ । उच्च पर्वतीय वातावरण रहेको यस राष्ट्रिय निकुञ्जमा गोब्रे सल्ला, ठिङ्ग्रे सल्ला, हेमलक, धुपी, भोजपत्र, गुराँस जातका रुख पाइन्छन् । वसन्त ऋतुमा लालीगुराँसका फूलले निकुञ्जभित्रको जङ्गललाई अति मनोरम र सुन्दर बनाउँछन् । कस्तुरी मृग, हिमाली भालु, हिउँ चितुवा, थार, घोरल, झारलजस्ता वन्यजन्तुका साथै डाँफे, चिलिमे, कालिज, हिम कुखुरा, लालचुच्चे काग (टुङ्गा) र पहेँलो चुच्चे काग (टेमुलगायत १९३ प्रजातिका चरा यस राष्ट्रिय निकुञ्जमा पाइन्छन् । सगरमाथा राष्ट्रिय निकुञ्ज सांस्कृतिक महत्त्वको क्षेत्र पनि हो । यहाँका तेङ्वोचे, तथा थामे गुम्बाहरूमा बौद्ध शिक्षा दिइन्छ । मुख्यतः सगरमाथा हिमाल र यस क्षेत्रको मनोरम दृश्य हेर्न, पर्वतारोहण गर्न, शेर्पा संस्कृति तथा वन्यजन्तु अवलोकन गर्न बर्सेनि हजारौं पर्यटक यहाँ आउने गर्दछन् । हिमाल आरोहण, ट्रेकिङ मात्र नभई सांस्कृतिक भ्रमणले वार्षिक हजारौं पर्यटकलाई आकर्षित गर्दै आएको छ । सगरमाथा क्षेत्रमा पर्यटक आगमनको मुख्य याम फागुनदेखि जेठ र असोजदेखि मङ्सिरसम्म हो । नौ महिनामा ४३ हजार पर्यटकद्वारा निकुञ्ज भ्रमण चालु आर्थिक वर्षको नौ महिनामा ४३ हजारभन्दा धेरै पर्यटकले सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रको भ्रमण गरेका छन् । निकुञ्जका अनुसार गत साउन महिनादेखि चैतसम्ममा ४४ हजार छ सय आठ जना पर्यटक सगरमाथा क्षेत्र पुगेका हुन् । गत साउनमा १२५ जना, भदौमा एक हजार ३९४ जना, असोजमा आठ हजार दुई, मङ्सिरमा चार हजार ३९४, पुसमा एक हजार ७११, माघमा ९४३, फागुनमा दुई हजार ४८७ र चैतमा १२ हजार तीन जना निकुञ्जको चेकपोष्ट जोरसल्लेबाट प्रवेश गरेका रेन्जर विवेक श्रेष्ठले जानकारी दिए । पर्यटकबाट सगरमाथा राष्ट्रिय निकुञ्जले रु ११ करोड ३२ लाख नौ हजार १०० राजस्व सङ्कलन गरेको छ । भ्रमणकर्तामध्ये विदेशी ३७ हजार ७९६ जना र नेपाली पाँच हजार ८९७ जना रहेका छन् । तीन हजार ९९६ जना सार्क राष्ट्रका र ३३ हजार ८०० अन्य देशका पर्यटकले निकुञ्जको भमण गरेका हुन् । हाल दैनिक ४०० जनाभन्दा धेरै विदेशी तथा स्वदेशी पर्यटक विभिन्न माध्यमबाट सगरमाथा क्षेत्र पुगिरहेका जनाइएको छ । पर्यटकको लगातार बढ्दो आगमनले सगरमाथा क्षेत्रलाई आर्थिक रुपमा फाइदा पुर्याइरहेको छ तर आम्दानीसँगै पर्यावरणीय समस्या पनि थपिएका छन् । पर्यटन क्षेत्रका जानकार आङछिरिङ शेर्पा भन्छन्, 'अबको प्राथमिकता भनेको प्राकृतिक स्रोतको संरक्षण, पर्यटनको दिगो विकास हुनुपर्छ । सगरमाथा नेपाल र नेपालीको गौरव हो, याे देशको अद्वितीय सौन्दर्यको रासास्वादन जीवनमा एकपटक गर्नैपर्ने सन्देश दिनुपर्छ ।'
२०८२ भित्र काठमाडौंमा सय बढी ईभी गुडाउने मयुर यातायातको तयारी, भाडा अनलाइनबाटै, जेष्ठ नागरिकलाई निःशुल्क
काठमाडौं । मयुर यातायात प्रालिले १ सय वटा ईभी बस (विद्युतीय सवारी) सञ्चालनमा ल्याउने तयारी थालेको छ । ५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको मयुर यातायातले २०८२ सालभित्र १ सय वटा विद्युतीय बस सञ्चालनमा ल्याउने योजना बनाएको हो । मयुर यातायातका अध्यक्ष मोहन बहादुर श्रेष्ठका अनुसार हाल मयुरको नाममा ९० वटा बस (स्वागतम यातायातसहित) बजारमा गुडिरहेका छन् । कम्पनीको योजना अनुसार थप १ सय विद्युतीय बस सञ्चालनको तयारीमा रहेको उनले बताए । ‘हामीले ४ सयभन्दा बढी ईभी बस ल्याउने योजना बनाएका छौं । कुल २२ अर्बको प्रोजेक्ट छ । एउटा बसको मूल्य नै करोड पर्छ । चीनबाट ल्याउन लागेका छाैं, पहिलो चरणमा १ सय वटा ल्याउँछौं । २०८२ मा काठमाडौं उपत्यका मयुरमय हुन्छ,’ उनले भने । अब आउने विद्युतीय बसहरूको रुट परमिट पनि निर्धारण भइसकेको छ । उनका अनुसार साँखुदेखि दक्षिणकाली, नारायाणथानदेखि गोदावरी, रिङरोड (चक्रपथ) र थानकोटदेखि धुलीखेल रूटमा बसहरू गुड्नेछन् । साथै विद्युतीय बसहरू पूर्णरूपमा क्यासलेस (नगदरहित) हुने छन् । ‘विद्युतीय बसहरूलाई क्यासलेसको योजना छ । कार्डको माध्यमबाट भाडा रकम तिर्नुपर्ने हुन्छ । कार्डमा नागरिकता नम्बर र फोटो हुनेछ । नगदको जमाना सकियो । साथै वृद्धवृद्धाहरूका लागि जेष्ठ नागरिक कार्ड वितरण गर्ने योजना छ । ६५ वर्षभन्दा माथिको व्यक्तिलाई पैसा लाग्दैन,’ अध्यक्ष श्रेष्ठले भने, ‘मुख्य ठाउँमा कार्ड बिक्री लागि काउन्टर राख्नेछौं । बसमा यात्रा गर्दा अनिवार्य कार्ड बोक्नुपर्ने हुन्छ । त्यो कार्ड लिएपछि नि:शुल्क यात्रा गर्न मिल्नेछ ।’ एक वर्ष अगाडि नै चाइनिज कम्पनीसँग विद्युतीय बसका सम्झौता भइसकेको श्रेष्ठले दाबी गरे । अर्कै कम्पनीको नाममा बसहरू दर्ता भएपनि मयुरको नामबाटै बजारमा गुड्ने उनले बताए । कम्पनीमा भने २/३ जना अन्य लगानीकर्ता रहेको उनले बताए । ‘एकवर्ष अगाडि म आफै चीन गएर चाइनाको एक कम्पनीसँग सम्झौता बुक गरेको छु । यसमा अरू पनि लगानीकर्ता छन् । कम्पनी अर्कै नाममा दर्ता भएपनि सञ्चाल भने मयुरको नाममा हुनेछ,’ उनले भने । बस खरिदका लागि ग्लोबल आइएमई, हिमालयन बैंकबाट ऋण लिने सहमति भइसकेको छ । तर, बसहरू बजारमा गुडेपछि मात्रै कर्जा लिने अध्यक्ष श्रेष्ठको भनाइ छ । मयुर यातायात प्रालिका सञ्चालक राजकुमार टकाची ईभी बस ल्याउने छलफल भएपनि कहिलेसम्म ल्याउने भनेर जानकारी नरहेको बताउँछन् । साथै आफू मयुर यातायातको नाम मात्रैको सञ्चालक रहेको जानकारी दिए । ‘केही परेको बेला सल्लाह दिन्छु । म मयुरमा संलग्न भएको ५/६ महिना भयो । एक/दुई जनालाई मैले पैसा दिएको थिएँ । उनीहरूले त्यो बापतको सेयर मेरो नाममा गरिदिएको हो,’ उनले भने, ‘ईभी ल्याउने विषयमा छलफल भएको हो । एक सय वटा ईभी ल्याउने भन्ने छलफल भएकाे थियाे ।’ साथै बस ल्याउन कर्जाका लागि बैंकसँग सम्झौता भएको आफूले सुनेको उनले बताए । तर, नेपालमा बाटो राम्रो नभएकाले धेरै गाडी ल्याउनु नहुने भनेर सुझाव दिएको उनको भनाइ छ । अध्यक्ष श्रेष्ठका अनुसार ग्वार्काे पुल समयमा निर्माण सम्पन्न नहुँदा बस सञ्चालनमा ढिला भएको छ । जहिले ग्वार्काे पुल निर्माण सम्पन्न हुन्छ, त्यसको एक साताभित्र विद्युतीय बस सञ्चालनमा ल्याउने उनको भनाइ छ । ‘एक वर्षदेखि बस ल्याउने भनिरहेका छौं । तर, गफमात्रै जस्तो भइरहेको छ । यसअघि एक महिनाभित्र बस चलाउने तयारी थियो । फेरी पुल निर्माण कार्य पछि धकेलिँदा बस ल्याउन पनि धकेलिएको छ,’ अध्यक्ष श्रेष्ठले भने, ‘व्यवसाय विस्तारमा समेत असर परिरहेको छ । पुल निर्माण नभई बसहरू ल्याउँदा जाम पर्ने भएकाले तत्काल नल्याएको हो ।’ मयुर यातायातमा बहुमत सेयर मोहनबहादुर श्रेष्ठको नाममा रहेको छ ।
वीरगञ्जको सद्भाव खल्बल्याउने घटनामा मन्त्री गुप्ताको ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको निर्देशन
काठमाडौं । हनुमान जयन्तीका अवसरमा वीरगञ्जमा निकालिएको शोभा यात्राका क्रममा भएको झडप र त्यसपछिका घटनाक्रमप्रति संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको गम्भीर ध्यानाकर्षण भएको छ । धार्मिक, साँस्कृतिक र जातीय विविधता रहेको समाजमा आपसी सम्मान, भाइचारा र सहिष्णुता आवश्यक रहेको भन्दै मन्त्री गुप्ताले सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेका छन् । उनले समाजमा शान्ति र सहअस्तित्व कायम राख्नका लागि सबै नागरिकको भूमिका महत्वपूर्ण हुने बताएका छन् । मन्त्री गुप्ता घटनापछि स्थानीय प्रशासन र सुरक्षा निकायसँग निरन्तर सम्पर्कमा रहेको र घटनाको गम्भीरता अनुसार दोषी पहिचान गरी कडा कानुनी कारबाही गर्न निर्देशन दिएको प्रेस सल्लाहकार कृष्णप्रसाद कुशवाहाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 'कुनै पनि वहानामा आपसी सद्भाव भङ्ग गर्ने कार्य अत्यन्त दुःखद र चिन्ताजनक हो,' मन्त्री गुप्ताले भनेका छन्, 'नागरिकले एक अर्काको धार्मिक विश्वास र परम्पराप्रति सम्मान जनाउनु नै सहअस्तित्वको आधार हो ।' झडपपछि दुवै समुदायका प्रतिनिधि र विभिन्न राजनीतिक दलबीच सर्वदलीय बैठक बसेर घटनाको समिक्षा गरिएको थियो । सो बैठकले तयार पारेको पाँच बुँदे सहमतिअनुसार दोषी पहिचान, अनुसन्धान र कारबाही प्रक्रियालाई तिव्रता दिन मन्त्री गुप्ताले आग्रह गरेका छन् । मुलुकको प्रमुख आर्थिक केन्द्रको रूपमा रहेको वीरगञ्जमा सामाजिक सद्भावमा खलल ल्याउने कुनै पनि गतिविधि स्वीकार्य नहुने भन्दै उनले सबै नागरिकलाई संयमित, विवेकी र सजग रहन अनुरोध गरेका छन् ।
एकले अर्काेलाई निषेध गर्नुभन्दा एक अर्काका गुण सिकेर अघि बढौँ : डा. भट्टराई
काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले उदारवादी र समाजवादी लोकतन्त्र एउटै रुखका दुई हाँगा भएको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित नेपाली काँग्रेसका नेता तथा पूर्व जिल्ला विकास समिति गोरखा सभापति स्व. चन्द्रप्रसाद न्यौपानेको स्मृति दिवस एवं ग्रन्थ लोकार्पण कार्यक्रममा बोल्दै डा. भट्टराईले लोकतन्त्र नै मुल आधार भएको भन्दै एकअर्कालाई निषेध नगरी गुण सिकेर अघि बढ्नुपर्ने धारणा व्यक्त गरे । उनले भने, 'लोकतन्त्र नै प्रमुख कुरा हो। उदारवादी लोकतन्त्र र समाजवादी लोकतन्त्र एउटै रुखका दुई हाँगा हुन् । हामीले एकले अर्कालाई निषेध गर्नुभन्दा पनि एकअर्काका राम्रा गुणहरू सिक्दै, खराब गुण त्याग्दै अघि बढ्नुपर्छ।' पछिल्लो समय प्रतिगामी तत्वहरू सक्रिय हुन थालेको उल्लेख गर्दै उनले लोकतान्त्रिक मूल्य–मान्यता र राष्ट्रहितलाई केन्द्रमा राख्दै सबै दलहरूबीच सहकार्य अपरिहार्य भएको बताए । डा. भट्टराईले आफू काँग्रेस र कम्युनिस्ट दुवै विचारधाराबाट सिकेर अगाडि बढेको व्यक्ति भएको स्पष्ट पारे । उनले २०३३ सालसम्म काँग्रेससँग निकटता राखेको, पछि कम्युनिस्टहरूसँग मिलेर गणतन्त्र स्थापनामा योगदान दिएको उल्लेख गरे । उनले थपे, 'म सामन्तवाद, निरङ्कुशता र राजतन्त्रविरोधी चेतना बोकेको मान्छे हुँ । म अलिकति काँग्रेस पनि हुँ, अलिकति कम्युनिस्ट पनि । दुवैको गुण लिएर अगाडि बढेको मान्छे हुँ ।' राजनीतिमा मूल्यमान्यता र निष्ठाको सट्टा व्यक्तिको तडकभडक र सम्पत्तिप्रतिको मोह बढेकोप्रति पनि उनले चिन्ता व्यक्त गरे ।
खाद्यवस्तु परीक्षण गर्न भारत जानुपर्ने बाध्यता हट्यो, नेपालका दुई प्रयोगशालाले पाए अन्तर्राष्ट्रिय मान्यता
काठमाडौं । नेपालबाट निर्यात हुने खाद्यवस्तुहरू परीक्षणको लागि भारतमै जानुपर्ने बाध्यात्मक परिस्थितिको अन्त्य भएको छ । नेपालमा रहेका दुईवटा प्रयोगशालाले परीक्षणको लागि अन्तर्राष्ट्रिय मान्यता पाएसँगै खाद्यवस्तुहरू परीक्षणको लागि भारत जानुपर्ने बाध्यता हटेको हो । नेपालको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग मातहतको नेपाल राष्ट्रिय खाद्य तथा दाना रिफ्रेन्स प्रयोगशाला र विराटनगरस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय अन्तर्गत रहेको प्रयोगशालालाई भारतले अन्तर्राष्ट्रिय मान्यता दिएको हो । भारत सरकारले नेपालबाट भारतमा निर्यात हुने ८ खाद्य समूहभित्र पर्ने वस्तुको विश्लेषण गुणस्तर परीक्षण प्रमाणपत्रलाई पारस्परिक मान्यता दिने निर्णय गरेपछि खाद्यवस्तुको परीक्षणमा भइरहेको जटिलताको अन्त्य भएको छ । भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (फुड सेफ्टी एन्ड स्टाण्डर्डस अर्थोरिटी अफ इण्डिया (एफएसएसएआई) र परीक्षण तथा क्यालिब्रेसन प्रयोगशालाहरूको लागि राष्ट्रिय मान्यता बोर्ड (एनएबीएल) ले नेपालका दुई प्रयोगशालालाई पारस्परिक मान्यता प्रदान गरेको न्युज एजेन्सी नेपालसँगको कुराकानीमा खाद्य प्रविधि गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जीवकुमार कर्णले जानकारी गराए । अबदेखि यहाँबाट परीक्षण हुने खाद्यवस्तुहरूले पाएको परीक्षण प्रतिवेदनले अन्तर्राष्ट्रिय बजारमा मान्यता पाउनेछ । उनले भने, 'नेपालको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग मातहतको नेपाल राष्ट्रिय खाद्य तथा दाना रिफ्रेन्स प्रयोगशाला र विराटनगरस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयअन्तर्गत रहेको प्रयोगशालाले अन्तर्राष्ट्रिय मान्यता पाएको हो । अबदेखि यहाँबाट परीक्षण हुने खाद्यवस्तुहरूले अन्तर्राष्ट्रिय बजारमा उक्त परीक्षण प्रतिवेदनले मान्यता पाउँछ ।' निर्यात बढाउनको लागि जुन देशमा खाद्यवस्तुहरू निर्यात गर्न चाहन्छौं, उक्त देशको स्वच्छता नियामक निकायहरू नेपाली प्रयोगशाला र परीक्षण प्रतिवेदनलाई मान्यता दिनुपर्ने हुन्छ । तसर्थ अबदेखि निर्यात गर्न खोजेको मुलुकमै गएर खाद्यवस्तुको परीक्षण गर्नुपर्ने बाध्यता हटेको हो । सरकारले भारतको फुड सेफ्टी एन्ड स्टाण्डर्डस अर्थोरिटी अफ इण्डिया (एफएसएसएआईसँग मान्यताको पटक पटक विविध चरणमा काम गर्दै आएको थियो । अन्ततः यही अप्रिल ४ देखि नेपाली दुई प्रयोगशालाले आधिकारिक रूपमा मान्यता पाएका हुन् । भारतले मान्यता दिएसँगै नेपालबाट निर्यात हुने जुस, जाम, जेली, अचार, चिनीका सामग्री, अदुवा, फलफूल, तरकारी र इन्स्टेन्ट नुडल्सलगायतको परीक्षण नेपालमै हुनेछ । साथै नेपाली प्रयोगशालाले दिएको प्रमाणपत्रको आधारमा भारतमा विना अवरोध निर्यात हुनेछ । यसले नेपालबाट परीक्षण भई प्रमाणपत्र दिएर भारत निर्यात भएका समानहरूको पुनः भारतको प्रयोगशालामा परीक्षण गर्नुपर्ने बाध्यता नहुने उहाँले बताए । उनले नेपाली राष्ट्रिय ल्याबबाट परीक्षण गराएर परीक्षण प्रतिवेदन र उपभोगको लागि उपयुक्त प्रमाणपत्र लगिसकेपछि भारतको भन्सारले त्यसलाई प्रक्रिया पुराएर जारी गर्ने बताए । अन्तर्राष्ट्रिय पाएसँगै व्यवसायीहरूको लागत पनि घट्ने महानिर्देशक कर्णले बताउनु भयो । नेपाली खाद्यवस्तुहरू भारतमा पुगेर परीक्षण गरिसकेपछि उक्त खाद्यवस्तु न्यून गुणस्तरको पाइएमा फेरि फिर्ता ल्याउनुपर्ने वा उतै नष्ट गर्नुपर्ने बाध्यता समेत हट्ने उनको भनाइ छ । विभागले यो एउटा सुखद् सुरुवात भएको बताउँदै व्यापारमा सहजीकरण र निर्यात बढ्ने विश्वास लिएको छ । यसले धेरै खाद्यवस्तुहरू निर्यात गर्नको लागि सहजीकरण गर्ने र यो ठूलो उपलब्धि भएको विभागले जनाएको छ । विभागले अब व्यवसायीहरूले निर्यात गर्नुभन्दा दुई हप्ता अगाडि नै निवेदन दिने र आफ्नो उद्योगको निरीक्षण तथा ब्याच प्रमाणीकरण गराउनुपर्ने बताएको छ । विभागले भारतीय निकायमा आवेदन दिएपछि भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण र परीक्षण तथा क्यालिब्रेसन प्रयोगशालाहरूको लागि राष्ट्रिय मान्यता बोर्डको टोली नेपाल आएर मूल्याङ्कन गरेको थियो । प्रयोगशालाले खाद्य वस्तु दुई सय ८४ प्यारामिटरमा परीक्षण गर्ने मानक रहेकोमा अहिले त्यसलाई बढाएर ६ सय ३४ पुर्‍याइएको विभागले जनाएको छ । विभागसँग हाल १३ वटा ल्यावहरू रहेका छन् ।