विकासन्युज

चितवनमा सेवा विस्तार गर्दै ब्रेनब्रिज एजुकेसन, विद्यार्थीलाई छात्रवृत्ति दिने

काठमाडौं । काठमाडौंको मध्यबानेश्वरमा स्थापित ब्रेनब्रिज एजुकेसनले चितवनमा शाखा विस्तार गर्दै सेवा सुरु गर्ने भएको छ । विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीलाई सही परामर्श र सहजीकरण प्रदान गर्दै आएको संस्थाले अब चितवनका विद्यार्थीलाई लक्षित गर्दै शाखा सञ्चालनमा ल्याएको हो । संस्थाकी अध्यक्ष अर्चना दवाडीका अनुसार चितवनमा विद्यार्थीले उच्च शिक्षाका लागि उपयुक्त गन्तव्य छनोट गर्न सहज होस् भन्ने उद्देश्यले शाखा विस्तार गरिएको हो । 'हामीले काठमाडौंमा जसरी विद्यार्थीलाई परामर्श दिइरहेका छौं, त्यसैगरी चितवनमा पनि उनीहरूको अध्ययन सपना पूरा गर्न सहजीकरण गरिनेछ,' अध्यक्ष दवाडीले बताइन् । उनका अनुसार चितवनमा पनि निःशुल्क भाषा शिक्षण कार्यक्रमहरू सञ्चालन गरिनेछ । आइइएलटिएस, पिटिइ, डिस्याट र ड्युलिङ्गो जस्ता तयारी कक्षाहरू काठमाडौंमा जस्तै निःशुल्क उपलब्ध हुनेछन्, जसबाट विद्यार्थीले आर्थिक बोझ नबोकी अध्ययनका लागि तयारी गर्न सक्नेछन् । अष्ट्रेलिया, युके, अमेरिका, क्यानडा, फ्रान्स, जर्मनी, इटाली, न्यूजिल्याण्ड, आयरल्याण्ड लगायतका देशमा अध्ययन गर्न चाहने विद्यार्थीलाई परामर्श दिँदै आएको ब्रेनब्रिजले चितवनबाट सेवा दिन पाउँदा खुसी व्यक्त गरेको छ। त्यस्तै, संस्थाले चितवनमा प्लस टु तथा ब्याचलर्स तहमा अध्ययनरत विद्यार्थीलाई लक्षित गर्दै प्रत्येक वर्ष करिब १०० जनालाई छात्रवृत्ति उपलब्ध गराउने योजना पनि ल्याएको छ । यसका लागि केही समयपछि आवेदन खुला गरिनेछ । ब्रेनब्रिजले यो चितवनमा अहिलेसम्मकै ठूलो छात्रवृत्ति योजना भएको दाबी गरेको छ । 'यस छात्रवृत्तिबाट चितवनका विभिन्न शिक्षण संस्थामा अध्ययनरत विद्यार्थीहरू लाभान्वित हुनेछन्,' अध्यक्ष दवाडीले भनिन्, 'हामी देशका अन्य शहरहरूमा पनि शाखा विस्तार गर्दैछौं, र हरेक ठाउँमा विद्यार्थीका लागि समान अवसर सुनिश्चित गरिनेछ ।'

सबैभन्दा सस्तो बन्दा, यस्तो छ सागसब्जी र फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।  गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु २५, आलु रातो प्रतिकिलो रु ३५, आलु रातो (भारतीय) प्रतिकिलो रु ४०, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ४०, गाजर (लोकल) प्रतिकिलो रु ४०, गाजर (तराई) प्रतिकिलो रु ३०, बन्दा (लोकल) प्रतिकिलो रु १५, बन्दा (तराई) प्रतिकिलो रु १२, बन्दा (नरिवल) प्रतिकिलो रु २५, काउली (स्थानीय) प्रतिकिलो रु २५, स्थानीय काउली (ज्यापु) प्रतिकिलो रु २५, मूला रातो प्रतिकिलो रु ४५, मूला सेतो (लोकल) प्रतिकिलो रु २०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २५, भन्टा लाम्चो प्रतिकिलो रु ४० तथा भन्टा डल्लो प्रतिकिलो रु ४०, तने बोडीको मूल्य प्रतिकिलो रु ८० कायम गरिएको छ । यसैगरी, मटरकोसा प्रतिकिलो रु ९०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ९०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ९०, घिउ सिमी (राजमा) प्रतिकिलो रु ८०, टाटे सिमी प्रतिकिलो रु ९०, तितो करेला प्रतिकिलो रु ५०, लौका प्रतिकिलो रु ४०, परबर (लोकल) प्रतिकिलो रु ९०, परबर (तराई) प्रतिकिलो रु ९०, चिचिण्डो प्रतिकिलो रु ७०, घिरौला प्रतिकिलो रु ६०, झिगुनी प्रतिकिलो रु ७०, फर्सी पाकेको प्रतिकिलो रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु ४०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ४०, सलगम प्रतिकेजी रु ७०, भिण्डी प्रतिकिलो रु ९० कायम गरिएको छ ।  यस्तै, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो रु ६०, पिँडालु प्रतिकिलो रु ९०, स्कूस प्रतिकिलो रु ६०, रायो साग प्रतिकिलो रु ७०, पालुङ्गो साग प्रतिकिलो ८०, चमसुरको साग रु १००, तोरी प्रतिकिलो रु ४०, मेथीको साग प्रतिकिलो रु ९०, प्याज हरियो प्रतिकिलो रु ४०, बकुला प्रतिकिलो रु ५०, तरुल प्रतिकिलो रु १००, च्याउ (कन्य) प्रतिकिलो रु १७०, च्याउ (डल्ले) प्रतिकिलो रु ३५० तथा कुरिलो प्रतिकिलो रु ६०० निर्धारण गरिएको छ । निगुरो प्रतिकिलो रु ८०, ब्रकाउली प्रतिकिलो रु ४०, चुकुन्दर प्रतिकिलो रु ६०, सजीवन प्रतिकिलो रु १८०, कोइरालो प्रतिकिलो रु २२०, रातो बन्दा प्रतिकिलो रु ६५, जिरीको साग प्रतिकिलो रु ६५, ग्याठकोभी प्रतिकिलो रु ६५, सेलरी प्रतिकिलो रु २००, पार्सले प्रतिकिलो रु ३००, सौफको साग प्रतिकिलो रु ९०, पुदिना प्रतिकिलो रु ३५०, गान्टे मूला प्रतिकिलो रु ६०, इमली प्रतिकिलो रु १७०, तामा प्रतिकिलो रु १००, तोफु प्रतिकिलो रु १२० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकेकोे छ । समितिले स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फूजी) प्रतिकिलो रु ३५०, केरा (दर्जन) रु १६०, कागती प्रतिकिलो रु २८०, अनार प्रतिकिलो रु ३५०, अङ्गुर (हरियो) प्रतिकिलो रु २००, अङ्गुर (कालो) प्रतिकिलो रु २५०, भारतीय सुन्तला रु १५०, तरबुजा हरियो प्रतिकिलो रु ७०, मौसम प्रतिकिलो रु २००, जुनार प्रतिकिलो रु २००, भुइँकटहर प्रतिगोटा रु २००, काँक्रो (लोकल) प्रतिकिलो रु १००, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ३०, रुख कटहर प्रतिकिलो रु १००, निबुवा प्रतिकेजी रु ५०, नासपाती (चाइनिज) प्रतिकिलो रु २६०, मेवा (नेपाली) प्रतिकिलो रु ५०, मेवा (भारतीय) प्रतिकिलो रु १२०, अम्बा प्रतिकिलो रु १२०, लप्सी प्रतिकिलो रु ९०, उखु प्रतिगोटा रु १००, स्ट्रबेरी (भुइँऐसेलु) प्रतिकिलो रु २५०, किबी प्रतिकिलो रु ४५०, आभोकाडो प्रतिकिलो रु ६५० तथा अमला प्रतिकिलो रु १२० निर्धारण गरिएको छ । यसैगरी, अदुवा प्रतिकिलो रु १३०, खुर्सानी सुकेको प्रतिकिलो रु ४२०, खुर्सानी हरियो प्रतिकिलो रु ७०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ६०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु ८०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो रु ३००, भेडे खुर्सानी प्रतिकिलो रु १३०, लसुन हरियो प्रतिकिलो रु ८०, हरियो धनिया प्रतिकिलो रु १८०, लसुन सुकेको चाइनिज प्रतिकिलो रु ३२०, लसुन सुकेको नेपाली प्रतिकिलो रु ३००, ताजा माछा (रहु) प्रतिकिलो रु ३२०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २६०, ताजा माछा (छडी) प्रतिकिलो रु २४०, रुख टमाटर प्रतिकिलो रु १४० र राजा च्याउ प्रतिकिलो रु ३००, सिताके च्याउ प्रतिकिलो रु ८०० तोकेको छ ।

डेडिकेटेड र ट्रङ्कलाइनको बक्यौता उठाउन र श्वेत पत्र जारी गर्न प्राधिकरणलाई निर्देशन

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले लक्ष्यअनुसार प्रगति हासिल हुने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । ऊर्जा मन्त्रालय र त्यस मातहतका उच्च कर्मचारीको बुधबार मन्त्रालयमा बसेको बैठकमा मन्त्री खड्काले आफूले राखेको लक्ष्यको प्रगति हासिल हुने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिए ।  आगामी दिनमा नयाँ कार्यक्रमलाई अगाडि बढाउने गरी काम गर्नुपर्ने उनको भनाइ छ । मन्त्री खड्काले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले विपन्न वर्गका नागरिकको घरमा शौर्य ऊर्जा जडान गरेर डबल मिटरिङ गर्नसके उनीहरुको जीवनस्तरमा सुधार आउने भएकाले त्यसतर्फ सोच्नुपर्ने बताए ।  उनले सरकारले सन् २०३५ सम्म राखेको ऊर्जा विकासको लक्ष्यलाई पूरा गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रसारण लाइन निर्माणको गतिलाई तीव्रता दिनुपर्ने भन्दै निजी क्षेत्रलाई समेटेर प्रसारण लाइन निर्माणको कामलाई अगाडि बढाउनुपर्ने उल्लेख गरे । मन्त्री खड्काले नेपाल विद्युत् प्राधिकरणलाई भार परेको भन्दै सरकारले ऊर्जा क्षेत्रको विकासका लागि विभिन्न कम्पनी खडा गरे पनि उक्त कम्पनीले सोचेजस्तो काम गर्न नसकेको बताए ।  उनले नेपाल विद्युत् प्राधिकरणलाई १० वर्षदेखि बाँकी रहेको डेडिकेटेड र ट्रङ्कलाइनको बक्यौता उठाउनका साथै प्राधिकरणको हालको अवस्थाबारे श्वेत पत्र जारी गर्न निर्देशनसमेत दिए । बजेट माग्ने तर खर्च नगर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने उनको भनाइ छ ।  ‘आयोजना अध्ययन निजी क्षेत्रले चाँडो सके पनि सरकारी संयन्त्रमा भइरहेको ढिलाईले हामीलाई चिन्तित बनाएको छ, हिजो मागेको बजेटको प्रतिफल देखिएन भने आगामी दिनमा कसरी माग गर्ने,’ उनले प्रश्न गरे ।  वर्षे बजेटको बहानामा बजेट सिध्याउने प्रवृत्तिको अन्त्य हुनुपर्ने उनको भनाइ छ । मन्त्रालयका ऊर्जा सचिव सुरेश आचार्यले बजेटको सुनिश्चितता हुँदाहुँदै पनि राष्ट्रिय गौरवका आयोजनामा प्रगति हुन नसकेको बताए । उनले ऊर्जा विकासका क्षेत्रमा सरकारले गरेका प्रतिबद्धता पूरा हुन नसकेको भन्दै त्रिशूली थ्री वी आयोजना, मध्य भोटेकोसी जलविद्युत् आयोजनालाई चाँडो सम्पन्न गर्नुपर्ने बताए । आगामी आवदेखि आयोजनाका बारेमा नयाँ ढङ्गले सोच्नुपर्ने बेला आएको उनको भनाइ छ । मन्त्रालयका जलस्रोत तथा सिँचाइ सचिव सरिता दवाडीले तेस्रो चौमासिकसम्म आइपुग्दा काम सन्तोषजनक नभएको बताइन् । गत आवको तुलनामा यस समयसम्म बजेट कम खर्च हुनु दुःखद भएको उनको भनाइ छ। उनले प्राप्त सिलिङभित्र बसेर आगामी आवको बजेट बनाउनुपर्ने बताए ।  जल तथा ऊर्जा आयोगको सचिवालयका सचिव मधुप्रसाद भेटवालले आयोजनाको प्राथमिकतालाई ध्यान दिएर अगाडि बढ्नुपर्ने बताए । उनले एकापसमा समन्वय गरेर अगाडि बढ्दा काम देखिने उल्लेख गरे ।  विद्युत् विकास विभागका महानिर्देशक नवीनराज सिंह, जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशी, जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक सञ्जिव बराल, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकाललगायत मन्त्रालय मातहतका कार्यालयका प्रमुखहरुले ९ महिनामा भएको भौतिक तथा वित्तिय प्रगतीका बारेमा जानकारी गराएका थिए । 

सरकार सञ्चालनमा कुनै समस्या छैन, शिक्षकको माग चाँडो सम्बोधन हुन्छ : गृहमन्त्री लेखक

काठमाडौं । सत्ता गठबन्धन दलको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ भएको बैठकमा पछिल्लो विकसित राजनीतिक घटनाक्रम, बाहिर उत्पन्न भएका क्रिया प्रतिक्रियाबारे समीक्षा भएको हो । बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिँदै गृहमन्त्री रमेश लेखकले समसामयिक नियमित विषयमा सकारात्मक छलफल भएको बताए । ‘दुई दलीय उच्चस्तरीय राजनीतिक संयन्त्रको नियमित बैठक बसेको हो । समसामयिक विषयमा राम्रो छलफल भएको छ,’ उनले भने, ‘सत्ता सञ्चालनका विषयमा कुनै समस्या छैन । बाहिर जुन ढङ्गले कुरा आइरहेको छ, त्यस्तो कुनै समस्या छैन । दुई शीर्ष नेतासहितको बैठकमा सौहार्दता पूर्ण र सकारात्मक कुराकानी भयो ।’ बैठकमा पछिल्लो समसामयिक राजनीतिक घटनाक्रम, सरकार सञ्चालनको विषयबारे समीक्षा भएको बताइएको छ ।  गृहमन्त्री लेखकले शिक्षकको माग चाँडो सम्बोधनका लागि सरकार गम्भीर रहेको बताए । उनले संसदको आगामी अधिवेशनबाट शिक्षासम्बन्धी विधेयक टुङ्गो लाग्ने विश्वास व्यक्त गरे ।  बैठकमा प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित संयन्त्रका नेताहरू सहभागी थिए । एमालेबाट उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शङ्कर पोखरेल र उपमहासचिव तथा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल सहभागी थिए ।  यस्तै, कांग्रेसका तर्फबाट गृहमन्त्री लेखक, परराष्ट्रमन्त्री डा.आरजुराणा देउवा सहभागी थिए । 

चार ठेकेदार कम्पनी कालोसूचीमा

काठमाडौं । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न ४ कम्पनीहरुलाई कालोसूचीमा राखेको छ ।  तोकिएको मापदण्ड पूरा नगरेको भन्दै कार्यालयले बिल्ड ब्रदर्श कन्सट्रक्सन प्रालि गोंगबु, एसएम. कन्सट्रक्सन मकवानपुर, राना फर्निचर सःमलि उद्योग मध्यनेपाल लमजुङ र गौरीगोमा निर्माण सेवा सल्यानलाई कालोसूचीमा राखेको हो । बिल्ड ब्रदर्श कन्सट्रक्सनका सञ्चालक छिरिङ लामा डोङ र पम्बर लामा हुन् भने एसएम कन्सट्रक्सन मकवानपुरका सहदेव गौतम मुख्य व्यक्ति हुन् ।  यस्तै, राना फर्निचर सःमलि उद्योगका मुख्य व्यक्ति सुकु रानामगर हुन् भने गौरीगोमा निर्माण सेवाका तुफान सिंह बुढाथोकी हुन् ।  यी चार कम्पनीमध्ये वनगाड कुपिण्डे नगरपालिकाको सल्यानको सिफारिसमा गौरीगोमा निर्माण सेवालाई एक वर्षका लागि कालो सूचीमा राखिएको हो । अन्य तीन कम्पनीहरुलाई भने डेढ वर्षका लागि कालो सूचीमा राखिएको हो । कालोसूचीमा राखिएका कमपनीले कुनै पनि काम कारबाहीमा सहभागी हुन पाउने छैनन् । 

स्थानीय, पश्चिमी र न्यूनचापीय वायुको प्रभाव, देशभर मौसम बदली हुने

काठमाडौं । हाल देशमा स्थानीय तथा पश्चिमी वायुको प्रभाव रहनका साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय क्षेत्रको वायुको पनि प्रभाव परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू-भागका केही स्थानका मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । विभागका अनुसार कोशी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।  त्यसैगरी आज राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम सफा रहनेछ । कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी  र कर्णाली प्रदेशका केही स्थानमा  मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपात हुने सम्भावना छ ।

एनसेलले ल्यायो नयाँ प्याकहरू, २८.३ रुपैयाँमैँ अनलिमिटेड भ्वाइस र डेटा

काठमाडौं । नेपालको अग्रणी दूरसञ्चार कम्पनी एनसेलले पहिलोपटक दिनको ३० रुपैयाँभन्दा कममा नै अनलिमिटेड भ्वाइस र डेटा सेवा लिन सकिने प्याकहरुसहित विभिन्न नयाँ प्याकहरू संचालनमा ल्याएको छ । आम ग्राहकहरूमाझ बढ्दो भ्वाइस र डेटा सेवाको मागलाई ध्यानमा राख्दै कम्पनीले नयाँ प्याकहरु संचालनमा ल्याएको हो ।   भ्वाइस सेवामा, एनसेलले ३९ रुपैयाँदेखि ५९९ रुपैयाँसम्म शुल्क पर्ने ६ वटा नयाँ प्याकहरू सार्वजनिक गरेको छ । जसमा ७ दिनको लागि मात्र १९८ रुपैयाँमा उपलब्ध अनलिमिटेड अल नेपाल प्याक पनि समावेश छ । यस प्याकमार्फत ग्राहकहरूले दिनको मात्र २८.३ रुपैयाँमा अनलिमिटेड भ्वाइस कल सेवाको फाइदा लिन सक्छन् । एनसेलबाट एनसेलमा कल गर्न टक टाइम चाहिने ग्राहकहरूले ३ दिनको लागि मान्य अनलिमिटेड डे अन नेट प्याक लिन सक्छन्, जसको मूल्य मात्र ५० रुपैयाँ रहेको छ । त्यसैगरी, ५९९ रुपैयाँमा ग्राहकहरूले ८४ दिन अर्थता झण्डै तीन महिनासम्म प्रयोग गर्न मिल्ने ९९९ मिनेटको कुनै पनि नेपाली नेटवर्कमा कल गर्न मिल्ने अल नेपाल टक टाइम प्राप्त गर्न सक्छन् ।  भारतमा फोन गरी सम्पर्कमा रहिरहन पर्ने ग्राहकहरूलाई लक्षित गर्दै, एनसेलले ४९ रुपैयाँमा २८ दिनसम्म मान्य रहने इन्टरनेशनल लङ् डिस्ट्यान्स (आइएलडी) प्याक संचालन गरेको छ, जसअन्तर्गत ग्राहकहरूले भारतमा प्रतिमिनेट मात्र २.९९ रुपैयाँ (कर बाहेक) मा फोन गर्न सक्छन् । यो दर हाल लाग्दै आएको शुल्कभन्दा २५ प्रतिशत सस्तो हो । सस्तो शुल्कमा बढी मोबाइल डेटाको माग बढिरहेको अवस्थालाई ध्यानमा राख्दै, एनसेलले २ आकर्षक प्याकहरू सार्वजनिक गरेको छ । ९९ रुपैयाँ पर्ने पहिलो प्याकमा ग्राहकहरूले ३ दिनसम्म अनलिमिटेड डेटा लिन सक्छन् । २ हजार ४९९ रुपैयाँ शुल्क रहेको दोस्रो प्याकमा ग्राहकहरुले ८४ दिनसम्म अनलिमिटेड डेटाको फाइदा लिन सक्छन् । यसले अनलिमिटेड डेटाको प्रति दिनको खर्च मात्र २९.८ रुपैयाँमा झारेको छ ।  आफ्नो लोकप्रिय सधैं अन प्याकअन्तर्गत, एनसेलले १ हजार ९९९ रुपैयाँमा २८ दिनसम्म मान्य रहने अनलिमिटेड डेटा र अनलिमिटेड भ्वाइस सेवा रहेको प्याक संचालनमा ल्याएको छ । त्यसैगरी, ग्राहकहरूलाई १ हजार १९९ रुपैयाँमा ८४ दिनका लागि १ हजार १९९ मिनेट अल नेपाल टक टाइम, २५ जीबी डेटा र ९९ एसएमएस पाइने अर्को प्याक पनि उपलब्ध गराएको छ ।  ‘नयाँ अनलिमिटेड भ्वाइस, डेटा प्याकहरू र अन्य प्याकहरूमार्फत सबैका लागि कनेक्टिभिटी अझ सहज र सस्तो बनाउँदै छौं । ग्राहकलाई डिजिटल जीवनशैलीसँग मेल खाने गरी सेवा प्रदान गर्दै, कनेक्टेड नेपालको निर्माणमा योगदान दिन प्रतिबद्ध रहेका छौं,’ एनसेलका चीफ कमर्शियल अफिसर उमेर मोहसिनले भने ।  ग्राहकहरूलाई थप लाभ सुनिश्चित गर्दै एनसेलले हाल जारी एनसेल नेपाल सुपर लिग (एनएसएल) सिजन ३ को अवसरमा सधैं अन रिन्यूअल ल्याक र साना डेटा प्याकहरूमा आकर्षक बोनसहरू पनि प्रदान गर्दै आएको छ । एनएसएल डबल डेटा अफरअन्तर्गत ३९९ रुपैयाँबाट सुरु हुने सधैं अन रिन्यूअल प्याकमा ग्राहकहरूले बोनसको रूपमा डबल डेटा प्राप्त गर्दछन् । त्यसैगरी, एनसेल एप मार्फत खरीद गरिने ५० रुपैयाँको अनलिमिटेड डेटा र १५० रुपैयाँको डबल मजा प्याकमा ग्राहकहरूले क्रमशः एनसेलबाट एनसेल नम्बरमा कल गर्न मिल्ने २० मिनेट टक टाइम र २ जीबी बोनस डेटा प्राप्त गर्दछन् ।  

९ महिनामा साढे २ अर्ब राजस्व सङ्कलन, कर बक्यौता राख्नेको बैंक खाता र जग्गा रोक्का गर्दै

काठमाडौं । आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८१/८२ को ९ महिनामा २ अर्ब ३५ करोड १४ लाख ४४ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । उक्त रकम गत आव २०८०/८१ को सोही अवधिको तुलनामा ८.२६ प्रतिशतले बढी हो । कार्यालयको तथ्याङ्कअनुसार गत आव २०८०/८१ को (साउन-चैत) महिनामा २ अर्ब १७ करोड १९ लाख ३ हजार रुपैयाँ राजस्व सङ्कलन भएको सूचना अधिकारी एवं कर अधिकृत डोरराज सुनुवारले जानकारी दिए। चालु आव २०८१/८२ मा ४ अर्ब ६१ लाख रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य रहेको उनले बताए ।  गत आवको भन्दा राजस्व सङ्कलन बढेको भए पनि चालु आवको ९ महिनाको लक्ष्यको ८१.४५ प्रतिशत मात्र राजस्व सङ्कलन भएको कर अधिकृत सुनुवारले बताए ।  कार्यालयले ९ महिनामा आयकरबाट १ अर्ब ७ करोड ९४ लाख ९४ हजार रुपैयाँ, ब्याज बापत ७ करोड १९ लाख ९४ हजार रुपैयाँ, मूल्य अभिवृद्धि कर बापत ७६ करोड ७१ लाख ९ हजार रुपैयाँ, अन्तःशुल्क बापत ३९ करोड ९७ लाख ६७ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । यसैगरी आयकर र मूल्य अभिवृद्धि कर नतिर्ने विभिन्न ११ वटा फर्म तथा कम्पनीहरूलाई कारबाही गरी १ करोड ७५ लाख रुपैयाँ असुल गरिएको कर अधिकृत सुनुवारले जानकारी दिए ।  ‘कार्यालयले राजस्व सङ्कलनको लक्ष्य हासिल गर्न निरन्तर बजार अनुगमन र निगरानी गरिरहेको छ । यसका साथै कर बक्यौता राख्ने करदाताको बैंक खाता रोक्का गर्ने, जग्गा रोक्का गर्ने लगायत कानुनी कारबाही पनि गरिएको छ,’ उनले भने ।