विकासन्युज

काठमाडौंबाट हेटौंडा गइरहेको सवारी दुर्घटनाः २ जनाको ज्यान गयो, १४ घाइते

काठमाडौं । मकवानपुरमा सवारी दुर्घटनामा परी २ जनाको ज्यान गएको छ भने १४ जना घाइते भएका छन् ।   आज राति १ बजे मकवानपुरगढी गाउँपालिका-२ धरमपानीस्थित कान्तिलोकपथ सडकखण्डमा काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको यात्रु बाहक गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको तथा १४ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उक्त कार्यालयका अनुसार बा प्र ०१-००६ ख ७०७२ नम्बरको गाडी शुक्रबार १ बजे सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटना ग्रस्त भएको हो ।  दुर्घटनाको जानकारी प्राप्त भएसँगै इलाका प्रहरी कार्यालय मकवानपुरगढीबाट प्रहरी निरीक्षक वीरेन्द्र रायमाझीको कमाण्डमा प्रहरी टोली खटिएको थियो । गाडीमा चालकसहित १६ जना सवार थिए । दुर्घटनामा गम्भीर घाइते भएकी रौतहटकी ५० वर्षीया नीलमदेवी राउतको उपचारको क्रममा आज बिहान हेटौंडा अस्पतालमा मृत्यु भएको हो । प्रहरीका अनुसार सर्लाहीकी १३ वर्षीया मानुषी मगरको शव आज बिहान घटनास्थल नजिकैको खोल्सामा फेला परेको हो ।  दुर्घटनामा घाइते भएका १० जनाको हेटौंडा अस्पताल र अन्यको  मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ । 

देशका अधिकांश भागमा आज मौसम सफा रहने

काठमाडौं । हाल देशमा स्थानीय तथा पश्चिमी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले आज अपरान्ह कोशी, मधेस, बागमती प्रदेशलगायत अन्य प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली हुने बताएको छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना  छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का वर्षाका साथै हिमपातको पनि सम्भावना छ । महाशाखाका अनुसार आज राति कोशी, मधेस, बागमती  र गण्डकी प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । यी प्रदेशका केही भेगमा हल्कादेखि मध्यम वर्षा पनि हुनसक्ने छ । 

नेको इन्स्योरेन्सको २.२५ लाख कित्ता सेयर वैशाख १२ गतेदेखि बिक्री खुला हुने

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले अवितरित हकप्रद सेयर बिक्री गर्ने भएको छ । कम्पनीले वैशाख १२ गतेदेखि २ लाख २५ हजार २६१ कित्ता अवितरित हकप्रद सेयर बिक्री गर्ने भएको हो । कम्पनीले फागुन ८ गतेदेखि चैत १४ गतेसम्म चुक्ता पुँजीको २५ प्रतिशत अर्थात् प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ५० लाख ३० हजार ९०१ कित्ता हकप्रद सेयर बिक्री गरेको थियो । जसमध्ये संस्थापक समूहको बिक्री नभएको ४३ हजार ७७९ कित्ता र सर्वसाधारण समूहको बिक्री नभएको १ लाख ८१ हजार ४८१ कित्ता गरी कुल २ लाख २५ हजार कित्ता सेयर लिलामीमार्फत बिक्री गर्ने भएको हो । कम्पनीको सो सेयरमा इच्छुक जो कोही व्यक्ति, कम्पनी, संघसंस्थाहरूले बोलपत्र पेस गर्न सक्नेछन् । लगानीकर्ताले न्यूनतम् संस्थापकतर्फ १ हजार कित्ता र सर्वसाधारणतर्फ १ सय कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्नेछन् । लिलामीमा राखिएको सेयरको मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ । त्यसैले लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । इच्छुक लगानीकर्ताले वैशाख २१ गतेभित्र बोलपत्र पेस गर्नुपर्नेछ । कम्पनीको सो सेयर बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।  

नेपालमा केही पनि भएन, देशमा बसेर के काम भनेर नकारात्मक प्रचार गरियो : मन्त्री डा राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले देशमा केही पनि परिवर्तन भएको छैन भन्ने जस्ता नेपाललाई बदनाम गराउने किसिमका भ्रामक किसिमका प्रचारप्रसार भएको बताएकी छिन् ।  डा महेश्वरी कुँवरद्वारा लिखित ‘सात प्रदेशको चित्र, एउटै क्यानभासभित्र’ पुस्तक विमोचन समारोहमा मन्त्री डा राणाले नेपालका बारेमा कूटनीतिक पक्षले भने सकारात्मक टिप्पणी गरिरहेका बेलामा मुलुकमा २०४६ सालपछि भएको सकारात्मक परिवर्तनलाई भुलेर केही विकास भएको छैन भन्नु गलत भएको उल्लेख गरिन् ।  ‘गाउँगाउँमा सडक, स्वास्थ्यलगायत सेवासुविधा विस्तार भइरहेको छ । सञ्चार तथा प्रविधिको विकासमा पनि नेपालले फड्को मारेको छ,’ मन्त्री डा राणाले भनिन्, ‘नेपालमा केही पनि भएन । अब यो देशमा बसेर के काम ? भनेर नेपालीले नै अनावश्यक नकारात्मक प्रचार गरिरहेका छन् । नेपालमा परिवर्तन भइरहेको सकारात्मक कुरा पनि मिडियामा आउनुपर्छ । नेपालमा सुधार भएको छ ।’ आन्दोलन, हड्ताल, राजनीतिक विवादजस्ता कुराले परिवर्तनका कार्यलाई असहज बनाउने काम भइरहेको उल्लेख गर्दै उनले यस्ता समस्या समाधान गरेर मुलुकको समृद्धिमा सबै लाग्नुपर्ने बताइन् ।  बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले लोकतन्त्र स्थापनापछि भौतिक पूर्वाधारलगायत क्षेत्रमा सकारात्मक परिवर्तन भइरहेकाले निराश हुनुपर्ने आवश्यक भएको बताए ।  गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखरा पर्यटकीय राजधानी घोषणा भइसकेको जिकिर गर्दै कार्यान्वयनका लागि पूर्वाधार विकासमा जोड दिइएको बताए । पुस्तककी लेखिका डा कुँवरले पुस्तकले नेपाल चिनाउन मद्दत पुग्ने बताए । 

आगामी बजेटबारे पूर्वअर्थमन्त्रीहरूले भने- ३ करोडको सीमा ख्याल गर्नु, अनुशासित बजेट ल्याउनु

काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटबारे अर्थ मन्त्रालयले पूर्वअर्थमन्त्रीहरूसँग परामर्श गरेको छ । बिहीबार अर्थ मन्त्रालयमा भएको छलफलका क्रममा कार्यान्वयनयोग्य र यथार्थपरक बजेट ल्याउन पूर्वअर्थमन्त्रीहरूबाट सुझाव आएको छ ।  आगामी आवको बजेटसम्बन्धी परामर्शमा पूर्वअर्थमन्त्रीहरूले लोकप्रिय र नारामा केन्द्रित नभइ व्यावहारिक बजेट ल्याउन सुझाव दिए । त्यसैगरी उनीहरूले बजेटलाई उत्पादन र रोजगारीमा केन्द्रित गर्न पनि सुझाव दिए ।  पूर्वअर्थमन्त्रीहरूले धेरै आयोजना प्रस्ताव गर्नेभन्दा ठूला, प्रतिफलयुक्त र कार्यान्वयनयोग्य आयोजनामा प्राथमिकता दिनुपर्नेमा जोड दिए । त्यसैगरी, स्वास्थ्य, शिक्षा र आयआर्जनका कार्यक्रमलाई प्राथमिकता दिन पनि सुझाव दिए । पूर्वप्रधानमन्त्री एवं अर्थमन्त्री डा बाबुराम भट्टराईले वैचारिक र नीतिगत स्पष्टतासहित कार्यान्वयनयोग्य बजेटलाई प्राथमिकता दिनुपर्ने बताए । पर्याप्त साधन, स्रोत नभईकन राज्यले सबै कुरा गर्न खोज्दा समस्या आएको उल्लेख गर्दै पूर्वअर्थमन्त्री डा भट्टराईले सार्वजनिक, निजी, सहकारी र समुदायको भूमिका पनि स्पष्ट हुनुपर्नेमा जोड दिए । पूर्वअर्थमन्त्री डा प्रकाशशरण महतले आयोजना वर्गीकरणको मापदण्ड पालना गर्दै सीमित र कार्यान्वयन हुने खालका आयोजना ल्याउन आग्रह गरे । उनले वित्त नीति र मौद्रिक नीतिबीच तालमेल हुनुपर्नेमा जोड दिए ।  पूर्वअर्थमन्त्री वर्षमान पुनले राष्ट्रिय गौरवका आयोजनालाई चरणबद्ध रूपमा सम्पन्न गर्न जरुरी रहेको धारणा व्यक्त गर्दै बनेका पूर्वाधारलाई सदुपयोग गर्नुपर्ने बताए । उनले सूचना प्रविधिलाई विशेष महत्त्व दिनुपर्ने उल्लेख गर्दै प्रादेशिक हिसाबले पनि सन्तुलित बजेट ल्याउन सुझाव दिए ।  त्यसैगरी, पूर्वअर्थमन्त्री जनार्दन शर्माले आयातमा आधारित राजस्वलाई आन्तरिक उत्पादनमा आधारित बनाउनुपर्ने बताए । उनले नयाँ नीति बनाउनुभन्दा परिणाममुखी बजेट बनाउन जरुरी रहेको उल्लेख गर्दै ठूला पूर्वाधार निर्माणका लागि निजी क्षेत्रलाई जिम्मा दिनुपर्ने धारणा व्यक्त गरे ।  पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले चुनौतीलाई अवसरका रूपमा लिनुपर्ने बताउँदै क्षेत्रीय, प्रादेशिक र भौगोलिक सन्तुलन कायम हुने गरी बजेट विनियोजन गर्नुपर्ने बताए । उनले जनताले अनुभूति गर्ने खालका र सबै निर्वाचन क्षेत्रको विकासमा ध्यान दिनुपर्ने धारणा व्यक्त गरे । वैदेशिक लगानीलाई विशेष जोड दिन पनि पूर्वअर्थमन्त्री कार्कीले सुझाव दिए ।  यस्तै, पूर्वअर्थमन्त्री शङ्कर कोइरालाले पुराना आयोजनालाई सम्पन्न गर्ने र ३ करोड रुपैयाँको सीमालाई ख्याल गर्न सुझाव दिए। ३ करोडभन्दा कम लागतका आयोजनाका लागि सङ्घ सरकारबाट बजेट विनियोजन गर्न नहुनेमा उनको जोड छ । विगतको तुलनामा पर्यटन, पूर्वाधार, सिँचाइ, ऊर्जालगायत क्षेत्रमा धेरै प्रगति भएको उल्लेख गर्दै प्रतिफल दिने उद्योगहरूमा केन्द्रित हुन सुझाव दिए । पूर्वअर्थमन्त्री डा प्रकाशचन्द्र लोहनीले सङ्घ, प्रदेश र स्थानीय तहमा आम्दानी र खर्चको योजनासहित अनुशासित बजेट ल्याउन आवश्यक रहेको बताए । उनले उद्योग र कृषिलाई समन्वय गर्ने संयन्त्र जरुरी रहेको उल्लेख गर्दै बजेट निर्माणलाई प्रभावकारी र परिणाममुखी बनाउनमा जोड दिए।  पूर्वअर्थमन्त्री डा रूप ज्योतिले निजी क्षेत्रलाई सहजीकरण गर्न नीतिगत सुधारमार्फत प्रतिस्पर्धालाई प्रवर्द्धन तथा प्रोत्साहन गर्न आग्रह गरे । छलफलका क्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लोकप्रियताको खोजी गरेर बजेट ल्याउने सुविधा नभएको उल्लेख गर्दै यथार्थपरक र अनुशासित बजेटको तयारीमा रहेको बताए । 

कर्णालीमा ५ हजार बढी उद्योग खारेज, साढे ४३ हजार दर्ता हुँदा १ लाख २१ हजारले रोजगारी पाए

काठमाडौं । कर्णाली प्रदेशका १० जिल्लामा ५ हजारभन्दा बढी उद्योग खारेजीमा परेका छन् । उद्योग दर्ता गरेर नियमित सञ्चालन नगरेका कारण ५ हजार ३६३ उद्योग खारेजीमा परेको उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय सुर्खेतका प्रमुख देवीलाल सापकोटाले बताए ।  खारेजीमा सबैभन्दा बढी दैलेखमा स्थापना गरिएका उद्योग छन् । दैलेखमा १ हजार ६७५ वटा उद्योग खारेज भएका छन् । दोस्रो खारेजीमा पर्नेमा सुर्खेत छ । सुर्खेतमा १ हजार ४५५ वटा खारेज भएका छन् । कालिकोटमा ४७८, जुम्लामा ५८७, मुगुमा २१, सल्यानमा ५०२, जाजरकोटमा ४२७, डोल्पामा ५१ वटा उद्योग खारेज भएका छन् । त्यस्तै हुम्लामा ९ र रुकुमपश्चिममा १५८ वटा उद्योग खारेज गरिएका छन् । कर्णालीका १० जिल्लामा ४३ हजार ६७८ उद्योग दर्ता भएकामा सबैभन्दा बढी सुर्खेतमा दर्ता गरिएका थिए । सुर्खेतमा मात्र १४ हजार २६५ वटा उद्योग दर्ता भएको निर्देशनालयले जनाएको छ । हाल यहाँ १ हजार ३४१ उद्योगमात्र नवीकरण भएका छन् । दैलेखमा ४ हजार ७४८ उद्योग दर्ता गरिएकामा हालसम्म ३ हजार ५९१ उद्योगको नवीकरण गरिएको छ । कालिकोटमा २ हजार ८३७ उद्योग दर्ता भएकामा हाल १ हजार ९३६ वटामात्र उद्योग नवीकरण गरिएको छ । यसैगरी, जुम्लामा ४ हजार ३८६ वटा उद्योग दर्ता भएकामा २ हजार ३५७ वटा मात्र नवीकरण भएको कार्यालय प्रमुख सापकोटाले बताए। मुगुमा २ हजार २३ वटा उद्योग रहेकामा हाल ४५० वटा मात्र नवीकरण भएका छन् । सल्यानमा ३ हजार ६६३ वटा उद्योग रहेकामा ३ हजार २१७ वटा मात्र सञ्चालनमा रहेको निर्देशनालयले जानकारी दिएको छ । जाजरकोटमा ३ हजार ६८ दर्ता भएकामा १ हजार ८९७ वटा मात्र सञ्चालनमा रहेको पाइएको छ ।  त्यसैगरी, डोल्पामा २ हजार २३६ उद्योग दर्ता भएकामा हाल ९२२ मात्र नवीकरण भएको निर्देशनालयले जनाएको छ । हुम्लामा ३ हजार ७१९ वटा उद्योग दर्ता भएकामा हाल आएर ७३६ वटा मात्र नवीकरण गरिएको छ ।  रुकुमपश्चिममा २ हजार ७३३ उद्योगमा २ हजार २५० उद्योगमात्र सञ्चालनमा रहेको उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय सुर्खेतको तथ्याङ्कमा उल्लेख छ । १ लाख २१ हजार ५५५ जनाले यी दर्ता भएका उद्योगबाट रोजगारी पाएको निर्देशनालयले जनाएको छ । 

सगरमाथा चढ्नेहरू नयाँ कीर्तिमान बनाउने प्रतिस्पर्धामा, २० दिनमा ४ पटक आरोहण गर्ने

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको ७२ वर्षे दौरानमा प्रतिस्पर्धा, होडबाजी र कीर्तिमानका चाङ लागिरहेका छन् । सगरमाथा आरोहण आफैँमा जोखिम र संवेदनशील यात्रा हो । आरोहणका क्रममा कतिपय आरोहीले ज्यान नै दाउ लाउनुपर्छ । जोखिमपूर्ण यात्रा भए पनि सगरमाथामा नयाँ नयाँ कीर्तिमान बनाउने बढिरहेका छन् ।  ३० पटक सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान बनाउने कामीरिता शेर्पादेखि एकै सिजनमा ३ पटक सगरमाथा चढेर कीर्तिमान कायम गर्ने फोटो पत्रकार पूर्णिमा श्रेष्ठ, दुवै खुट्टा गुमाएका हरिबहादुर बुढासहित विभिन्न कीर्तिमान बनाउनेको सङ्ख्या लामै छ । हिउँचितुवाको उपनामले चर्चित स्वर्गीय आङ्रिता शेर्पाले बिना अक्सिजन १० पटक सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान बनाएका छन् ।  केही आरोहीले सबैभन्दा छोटो समयमा, सानो उमेरमा सगरमाथा चढेर नयाँ ‘रेकर्ड’ बनाएका छन् भने बिना अक्सिजन आरोहण गरेर पनि विभिन्न कीर्तिमान कायम गरेका छन् । यसै सन्दर्भमा सगरमाथा आरोही टासी ग्याल्जेन शेर्पा २० दिनमा ४ पटक सगरमाथा चढेर नयाँ कीर्तिमान बनाउने उद्देश्यले आरोहणमा निस्किएका छन् ।  ‘२० दिनभित्र ४ पटक सगरमाथा चढेर विश्व कीर्तिमान बनाउने मेरो उद्देश्य छ,’ उनले भने ।  सन् २०१७ देखि आरोहणमा लागेका शेर्पाले सगरमाथा ४ पटक आरोहण गरिसकेका छन् । आमादब्लम, चोयु, मकालु तथा चीनको सिसापाङ्मा हिमाल पनि चढेका छन् ।  सोलुखुम्बु खुम्बु पासाङ ल्हामु गाउँपालिका-४ का २८ वर्षीय टासीले सुरुमा सगरमाथा आरोहण, दोस्रोपटक आमादब्लम आरोहण गरे । उनका बुबाले सगरमाथा आरोहण गरेका थिए । बुबाकै प्रेरणाले आरोहणमा नयाँ रेकर्ड बनाउन लागेको उनले बताए । दावा फुञ्जु शेर्पाले आठ दिनमा तीनपटक सगरमाथामा चढेर कीर्तिमान बनाएका थिए ।  एटके एक्सपीडिसन कम्पनीमार्फत सगरमाथा आरोहणको नयाँ कीर्तिमान बनाउन त्यसतर्फ लागेको उनले बताए । टासीले सेभेनसमिट ट्रेक्स र फर्टिन पिक कम्पनीमा व्यावसायिक गाइडका रूपमा काम गरेका छन् । परिवारमा बुबा, श्रीमती एक छोरा एक छोरी छन् । टासीले सगरमाथाको ४ पटक सफल आरोहण गरिसकेका छन् ।  सिनियर आरोहीले सगरमाथामा राखेको रेकर्ड तोडेर नयाँ रेकर्ड कायम गर्नेगरी आरोहण यात्रामा लागेको उनले उल्लेख गरे । नेपाललाई तेन्जिङ नोर्गे, आप्पा शेर्पा, बाबुछिरी, कामीरिता लगायत कीर्तिमानी शेर्पाले विश्वभर परिचित गराए । आफूमा पनि उहाँहरूले जस्तै सगरमाथामा रेकर्ड राख्ने उद्देश्य रहेको उनले बताए । टासीले सगरमाथाको रेकर्डपछि नेपालमा बढीभन्दा बढी विदेशी पर्यटक आकर्षण गर्ने अभियानमा केन्द्रित हुने विश्वास व्यक्त गरे । आफ्नो सगरमाथा यात्राका क्रममा भारत, चीन, अमेरिकालगायत विभिन्न मुलुकका नागरिकलाई चुचुरोमा पुर्याएको अनुभव सुनाउने टासीले आगामी दिनमा ७ महादेशका अग्ला हिमाल चढ्ने योजना बनाएका छन् । 

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा १४ अर्बको घोटाला

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा १४ अर्ब रुपैयाँभन्दा बढी भ्रष्टाचार भएको संसदीय छानबिन उपसमितिले निष्कर्ष निकालेको छ । संसद्को सार्वजनिक लेखा समितिमा पेस गरिएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको सम्बन्धमा उपसमितिले तयार पारेको अध्ययन प्रतिवेदनमा १४ अर्बभन्दा बढी भ्रष्टाचार भएको उल्लेख छ ।  साथै विमानस्थल ठेक्का प्रक्रियाको प्रारम्भमै अनियमितता र भ्रष्टाचार भएको, निर्माणका क्रममा आर्थिक र प्राविधिक दृष्टिकोणले व्यापक अनियमितता भएको प्रतिवेदनमा उल्लेख छ ।  विमानस्थल निर्माण गर्दा मूल सम्झौताको प्रावधान विपरीत कर छुट दिएर आर्थिक अनियमितता गर्ने मनसायबाट नयाँ कार्यान्वयन सम्झौता गरी पटक-पटक गरेर २ अर्ब २२ करोड ४० लाख कर छुट दिएर आर्थिक अनियमितता गरेको देखिन आएको उपसमितिको निष्कर्ष छ । विमानस्थल निर्माणमा कर छुट दिइएको रकम २ अर्ब २० करोड रुपैयाँसमेत गैरकानुनी रूपमा भुक्तानी भएको तथ्य उपसमितिले प्रतिवेदनमा उल्लेख छ । राजेन्द्रप्रसाद लिङ्देनको संयोजकत्वमा उपसमिति गठन गरेर सो विमानस्थल निर्माणका सम्बन्धमा भएको समग्र पक्षको अध्ययन गरेको छ। उपसमितिमा सांसद अर्जुननरसिंह केसी, अमनलाल मोदी, गोकुलप्रसाद बाँस्कोटा, जनार्दन शर्मा, तारा लामा तामाङ, दीपक गिरी, देवप्रसाद तिमिल्सिना, प्रेमबहादुर आले र रामकृष्ण यादव सदस्य थिए । उपसमितिको प्रतिवेदन समितिमा पेस हुने र आवश्यक छलफलपछि निर्णय हुने समितिले जनाएको छ ।  विभिन्न क्षेत्र र निकायबाट प्रश्न उठेपछि संसदीय समितिको २०८१ जेठ २७ को निर्णयबमोजिम अध्ययन तथा अनुगमन गरेको थियो । विसं २०८१ असार २३ देखि २५ गतेसम्म लिङ्देन संयोजकत्वको उपसमितिले स्थलगत अध्ययन गरेको थियो । उपसमितिले विमानस्थल निर्माणमा संलग्न सरोकारवाला निकाय, स्थानीय बासिन्दा तथा विज्ञहरूसँग आवश्यक छलफल गरेको थियो । उपसमितिले तयार पारेको प्रतिवेदनमा समग्र पक्षका बारेमा उल्लेख गरिएको छ । विमानस्थलको भौतिक संरचना, उपकरण, धावनमार्ग तथा विमानस्थल वरिपरिको स्थल, कटान गरिएको छिनेडाँडाको पनि स्थलगत अनुमगन गरेको थियो । चीनको एक्जिम बैंकको ऋण सहयोगमा करिब २२ अर्ब रुपैयाँ लागतमा सो विमानस्थल निर्माण भएको हो । सो विमानस्थल २९ डिसेम्बर, २०२२ मा निर्माण सम्पन्न भई १ जनवरी २०२३ (२०७९ पुस १७ गते)देखि सञ्चालनमा आएको हो ।  सो विमानस्थलमा केही अन्तरराष्ट्रिय चार्टर उडानबाहेक अन्य अन्तरराष्ट्रिय उडान हुनसकेको छैन । हाल सो विमानस्थलबाट नियमित रूपमा आन्तरिक उडान मात्र भइरहेको छ । उपसमितिले तयार पारेको प्रतिवेदनको आवश्यक अध्ययनपछि उपयुक्त निर्णयमा पुगिने समितिले जनाएको छ ।