यस्ता छन् ल्यापटपको स्पीड बढाउने ५ सजिला तरिका
काठमाडौं । आजको डिजिटल युगमा प्रायः सबैले ल्यापटपको प्रयोग गर्छन् । ल्यापटपसँग जोडिएको एक सामान्य समस्या भनेको समयसँगै यसको गति ढिलो हुँदै जानु हो । विस्तारै ल्यापटप ह्याङ हुन थाल्छ । यस्तो अवस्थामा हामी प्रायः यस्ता उपाय खोजिरहेका हुन्छौं जसले ल्यापटपलाई ढिलो हुन नदिन सकोस् । यदि तपाईंको ल्यापटप लगातार ह्याङ भइरहेको छ भने पनि यसमा पुनः नयाँ जस्तो स्पीड ल्याउने उपाय खोज्न सकिन्छ । आज हामी तपाईंलाई ५ यस्ता सजिला तरिकाहरू बताउँदैछौं जसको सहयोगले तपाईं आफ्नो स्लो ल्यापटपलाई फेरि नयाँ जस्तै तेज बनाउन सक्नुहुन्छ । अनावश्यक स्टार्टअप प्रोग्रामहरू बन्द गर्ने जब तपाईं ल्यापटप सुरु गर्नुहुन्छ, त्यतिबेला केही प्रोग्रामहरू स्वतः खुल्ने गर्छन् । यी प्रोग्रामहरू ब्याकग्राउण्डमा चलिरहन्छन् र सिस्टमलाई स्लो बनाउँछन् । यदि तपाईंको ल्यापटपमा पनि यस्ता धेरै प्रोग्रामहरू स्वतः चलिरहेका छन् भने यसरी बन्द गर्न सक्नुहुन्छः स्टेप वान : टास्क म्यानेजर खोल्न Ctrl + Shift + Esc थिच्नुहोस् स्टेप टुः 'स्टार्टअप' ट्याबमा जानुहोस् र जुन प्रोग्रामहरू आवश्यक छैनन्, तीलाई 'डिसाबल' गर्नुहोस् । यसले ल्यापटपको बुट समय कम गर्छ र सिस्टम छिटो सुरु हुन्छ । साथै ती प्रोग्रामहरू ब्याकग्राउण्डमा चल्न पनि बन्द गर्छन् । टेम्पोररी फाइल र क्यास क्लियर गर्ने विन्डोज चलाउँदा समयसँगै धेरै अस्थायी फाइलहरू र क्यास ल्यापटपमा सञ्चित हुँदै जान्छन्, जसले सिस्टमलाई ढिलो बनाउँछ। यी हटाउनका लागिः स्टेप वानः रन (Win + R) थिच्नुहोस् स्टेप टु : %temp% टाइप गर्नुहोस् स्टेप थ्री : खुलेको फोल्डरमा रहेका सबै फाइलहरू डिलिट गर्नुहोस् । यसका लागि तपाईं डिस्क क्लिनअप टुलको पनि प्रयोग गर्न सक्नुहुन्छ । यो ल्यापटपको स्पीड बढाउने एक सजिलो उपाय हो । ल्यापटपको र्याम अपग्रेड गर्ने यदि तपाईंको ल्यापटप धेरै ह्याङ गर्छ वा सामान्य काम गर्न पनि समय लगाउँछ भने यसको र्याम कम हुन सक्छ । ल्यापटपको र्याम अपग्रेड गर्दा मल्टिटास्किङ राम्रो हुन्छ र स्पीड पनि बढ्छ । विज्ञहरूले कम्तिमा ८ जीबी र्याम सिफारिस गर्छन् । र्याम अपग्रेड प्राविधिक प्रक्रिया भएकाले विशेषज्ञको सहयोग लिनु उचित हुन्छ । एसएसडीको प्रयोग गर्ने यदि तपाईंको ल्यापटपमा अझै एचडीडी स्टोरेज छ भने यसलाई एसएसडीमा अपग्रेड गर्न सक्नुहुन्छ । एसएसडीमा डेटा छिटो रिड/राइट हुन्छ, जसले बुट टाइम, एप लोडिङ र फाइल ट्रान्सफर स्पीडलाई निकै बढाउँछ । यसले ल्यापटपको समग्र प्रदर्शनलाई धेरै नै सुधार गर्छ । भाइरस र मालवेयर स्क्यान गर्ने धेरै पटक भाइरस वा मालवेयरका कारण ल्यापटप ढिलो हुन्छ । राम्रो एन्टिभाइरसको प्रयोग गरी समय-समयमा स्क्यान गर्दै गर्नुहोस् । यदि तपाईं पैसा खर्च गर्न चाहनुहुन्न भने विन्डोज डिफेन्डर पनि एक राम्रो निःशुल्क विकल्प हो । नियमित स्क्यानिङले हानिकारक फाइल हटाउँछ र ल्यापटप हलुका महसुस हुन्छ ।
स्वास्थ्यमन्त्री पौडेल भन्छन्- सरकारको निर्देशन कार्यान्वयन नगर्ने छुट निजी मेडिकललाई छैन
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सरकारले गरेको निर्णय मान्दैन भन्ने अधिकार निजी मेडिकल कलेजलाई नभएको बताएका छन् । बिहीबार स्वास्थ्य मन्त्रालय घेराउ गर्न पुगेका आवासीय चिकित्सकसँग गरेको छलफलमा उनले चिकित्सा शिक्षा आयोगले आवासीय चिकित्सकलाई ४८ हजार ७ सय रुपैयाँ दिन भन्दै परिपत्र गरेको स्मरण गराउँदै यो निर्णय कार्यान्वयन गर्न आग्रह गरेका हुन् । उनले निजी मेडिकल कलेजले यो निर्णय कार्यान्वयन नगरे मन्त्रालयसँग सम्बन्धित कुनै पनि काम अगाडि नबढाउने चेतावनी दिए । आवासीय चिकित्सक कुनै सिकारु नभइ दक्ष चिकित्सक भएकाले उनीहरूलाई काम श्रमअनुसार पारिश्रमिक उपलब्ध गराउनु पर्ने मन्त्री पौडेलको भनाइ छ । उनी भन्छन्, निजी मेडिकल कलेजले सरकारले गरेका निर्णय कार्यान्वयन गर्नुपर्छ, निर्णय कार्यान्वयन नगरेको खण्डमा कुनै सहयोग गर्न सकिँदैन ।’ मन्त्री पौडेलले चिकित्सकको माग जायज भएको बताउँदै तत्काल कार्यान्वयनका लागि पहल गर्ने प्रतिवद्धता जनाए । 'तपाईंहरूका माग जायज छन्, यसलाई तत्काल कार्यान्वयन गर्न के के गर्ने भन्ने विषयमा चिकित्सक शिक्षा आयोग र प्रधानमन्त्रीसँग छलफल गर्नेछु,’ उनले भने । राज्यले दक्ष चिकित्साका जनशक्ति उत्पादन गर्न गरेको लगानी पर्याप्त नभएको बताउँदै मन्त्री पौडेलले दक्ष जनशक्ति उत्पादन गर्न राज्यले पूर्ण रुपमा लगानी गर्नुपर्ने बताए । सिट र शुल्क बढाउने विषयमा निजी मेडिकल कलेजले सरकारले गरेको निर्णय कार्यान्वयन गरेपछि मात्र सोंच्न सकिने बताए । 'पहिले निर्णय कार्यान्वयन गर्नुपर्छ त्यसपछि मात्र दोस्रो पटक यो विषयमा छलफल गर्न मिल्छ,’ उनले भने । चिकित्सकका माग जायज रहेको र यिनलाई कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउँदै मन्त्री पौडेलले आन्दोलनरत चिकित्सकलाई कार्यस्थलमा फर्कन आग्रह गरेका छन् । अस्पतालमा हुनुपर्ने चिकित्सक सडकमा हुँदा यसको सास्ती सर्वसाधारणलाई परेको भन्दै उनले काममा फर्कन आग्रह गरेका हुन् । उनले भने,‘अस्पताल चिकित्सक बिना न मालिकले चलाउन सक्छन् न सरकारले । सिर्फ सक्ने भनेको तपाईंहरूले हो । तपाईंहरूको मागलाई सम्बोधन गर्न हामी छलफल गर्छु तपाईंहरू काममा फर्किदिनूहोस् ।’
ढुंगेअड्डामा चलिरहेको बसमा आगलागी
काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका–१५ स्थित ढुंगेअड्डामा बिहीबार दिउँसो एक सार्वजनिक बसमा अचानक आगलागी भएको छ । कलंकीबाट थानकोटतर्फ जाँदै गरेको बाप्र०३–०१–००५ ख ९७८६ नम्बरको पाँचपोखरी यातायातको बसमा आगो लागेको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपील राज बोहराका अनुसार बसको फाइबर भागमा तार सर्ट भएर आगलागी भएको थियो । आगलागीपछि तुरुन्तै चन्द्रागिरी नगरपालिकाबाट डम्पर मगाई आगो नियन्त्रणमा लिइएको हो । दिउँसो १ बजे लागेको आगो करिब २० मिनेटमै नियन्त्रणमा आएको हो । बस पूर्ण रूपमा जलेर क्षति पुगे पनि कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । समयमै आगो नियन्त्रण गरिएकाले ठूलो दुर्घटनाबाट जोगिएको हो
युट्युबबाट एकै महिना ८ लाखभन्दा धेरै कमाउँछिन् यी हजुरआमा
काठमाडौं । ७४ वर्षीया सुमन धामनेले यो प्रमाणित गरिदिएकी छन् कि नयाँ कुरा सुरु गर्न कुनै उमेरको सीमा हुँदैन । आफ्ना नातिको सहयोगमा उनले ’आपली आजी’ नामक युट्युब च्यानल सुरु गरिन् । अहिले उनका १७.९ लाख सब्सक्राइबर छन् र उनी हरेक महिनामा करिब साढे ८ लाखसम्म कमाइरहेकी छन् । सुमन आफ्नो च्यानलमा परम्परागत महाराष्ट्रीयन परिकार बनाउने गर्छिन् । २०२० मा सुरु युट्युब च्यानल सुरु सुमन धामने महाराष्ट्रको अहमदनगर नजिकको सरोला कासार गाउँकी हुन् । उनले मार्च २०२० मा युट्युब च्यानल सुरु गरिन् । यो आइडिया उनको १७ वर्षीय नाति यशको थियो । उनले हजुरआमाई पाव भाजी बनाउन भने र त्यहीबाट सुरु भयो उनको युट्युब यात्रा । सुरुवात सजिलो थिएन- उनी क्यामेराको अगाडि आउन डराउँथिन्, प्रविधिमा कठिनाइ भोगिन्, एकपटक च्यानल नै ह्याक भयो । तर उनले हार मानिनन् । आफ्ना रमाइला र नयाँ भिडियोमार्फत दर्शकहरूलाई जोडिरहिन् । उनका परिकारहरूले दर्शकको मन छोए । अन्ततः युट्युबले उनलाई सिल्वर प्ले बटन प्रदान ग¥यो । पकाउने कला संसारलाई देखाइन् आज सुमन धामने हरेक हप्ता धेरै भिडियो बनाउँछिन् । उनले इन्टरनेट र सामाजिक सञ्जालबारे धेरै कुरा सिकेकी छन् । डिजिटल दुनियाँमा उनको प्रवेश परिवारको सहयोगकै परिणाम हो । यशले उनलाई युट्युब च्यानल सुरु गर्न सहयोग गरे र प्रविधिका कुरा सिकाए । सुमनले यो नयाँ यात्रा आत्मसात गरिन् र आफ्नो पकाउने सीप तथा परम्परागत महाराष्ट्रीयन रेसिपीहरूलाई विश्वसँग बाँडिन् । सबैलाई मन पर्यो उनकै शैली 'आपली आजी' च्यानल छिट्टै चर्चित बन्यो । यसको कारण थियो सुमन धामनेको सरलपन, माया भरिएको बोली र परम्परागत खाना बनाउने शैली । उनले घरेलु मसलाहरू प्रयोग गरेर बनाएका परिकारहरूले दर्शकलाई वास्तविक र पोषिलो खाना कस्तो हुन्छ भन्ने सम्झाए । पाव भाजी, करेलाको तरकारी, पारम्परिक मिठाइहरूजस्ता स्वादिला रेसिपीहरूले उनीलाई मन जिताउने हजुरआमा बनाइदियो । उमेरले अर्थ राख्दैन आज सुमन धामने केवल युट्युब स्टार होइनन्- उनी प्रेरणाको स्रोत हुन् । उनले प्रमाणित गरिन् कि सफलताका लागि उमेर बाधक हुँदैन । च्यानलको सफलताले उनलाई व्यावसायीक अवसरहरू पनि दिलाएको छ । उनले आफ्ना परम्परागत मसलाहरू पनि बेच्न थालिसकेकी छन् । उनको कथा हामी सबैलाई सिकाउँछ- परिवर्तनलाई स्वीकार गर्नुपर्छ, परिवारको साथ अमूल्य हुन्छ र डिजिटल दुनियाँमा अनगिन्ती सम्भावना छन् । उनको सफलताले देखाउँछ- शिक्षा होस् या पहुँच, सबैभन्दा महत्त्वपूर्ण कुरा हो दृढ इच्छाशक्ति ।
काभ्रेमा रगतको चरम अभाव, बिरामी समस्यामा
काभ्रेपलाञ्चोक । बनेपास्थित नेपाल रेडक्रस सोसाइटी काभ्रेको रक्त सञ्चार सेवा केन्द्रमा रगत मौज्दात शून्य अवस्थामा रहेको छ । विरामीका लागि स्थानीय नागरिक तथा अस्पतालद्वारा रगत लिन आज केन्द्रमा पुग्दा केन्द्रले एक यूनिट रगतसमेत दिन नसकेको जनाइएको छ । केन्द्रमै केही दिनदेखि रगत अभाव भएको बताइएको छ । 'केन्द्रमा एक यूनिट रगत पनि छैन, जिल्लाका अस्पताल र व्यक्तिबाट माग भइरहेको छ', केन्द्रका ‘स्टोर इन्चार्ज’ गोकुल बानियाँले भने । उनका अनुसार रगतका लागि बिहीबार विहानैदेखि केन्द्रमा लगातार फोन आइरहेको छ । रगतको मुख्य बैंकका रुपमा रहेको नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालितको उक्त केन्द्रमा रगत नहुँदा निकै समस्या भइरहेको उनले बताए । रेडक्रसले सात सय यूनिट रगत भण्डारण क्षमताको केन्द्र सञ्चालन गर्दै आएको छ । जिल्लामा नियमित रूपमा रक्तदाता नहुँनुले पनि रगतको अभाव भइरहेको जनाइएको छ । केही दिनयता जिल्लामा रगत अभाब हुनथालेको हो । रगत दान गर्नेभन्दा रगत लिनेको सङ्ख्या बढ्नथालेपछि रगत अभाव हुनथालेको केन्द्रले जनाएको हो । रक्तदान कार्यक्रम कम भएका कारण पनि रगत अभाव देखिएको रेडक्रस काभ्रेले जनाएको छ । केन्द्र प्रमुख राधा थापाका अनुसार हाल केन्द्रमा रगतको अभाव पूर्ति गर्न कठिनाई भइरहेको छ । 'कहिलेकाही सम्पर्कमा रहेका रक्तदातालाई अनुरोध गरेर बिरामीका आफन्तसँग समन्वय गराउँछौँ, अन्यथा निकै कठिन भइरहेको छ', उनले भने । उनका अनुसार केन्द्रमा ‘ए–पोजेटिभ’, ‘बी–पोजेटिभी’, ‘एबी–पोजेटिभी’ र ‘ओ–पोजेटिभ’लगायत सबै प्रकारको रगतको माग भएको हो । रगत अभाव हुनथालेपछि बिरामीहरू समस्यामा परेका छन् । काभ्रेपमा रगत अभाब भएपछि केही हप्तादेखि भक्तपुर र काठमाडौंबाट रगत पूर्ति गर्नुपर्ने बाध्यता रहेपनि पछिल्ला दिनदेखि ती दुई जिल्लामा रगत अभाव भएको खबर प्राप्त भएको ‘स्टोर इन्चार्ज’ बानियाँले बताए । जिल्लामा आधा दर्जन अस्पताल तथा एक दर्जन क्लिनिक सञ्चालनमा छन् । जिल्लाक सबै अस्पतालमा सामान्यदेखि बिशिष्ट खालका शल्यक्रियासमेत हुने गरेका छन् । शल्यक्रियाका क्रममा रगतको आवश्यकता पर्ने भएकाले बिरामीलाई आवश्यता पर्ने गु्रपको रगत नहुँदा अस्पतालका साथै बिरामीका आफन्तलाईसमेत समस्या हुने गरेको पाइएको छ । काभ्रेमा सञ्चालित अस्पतालमा छिमेकी जिल्ला सिन्धुपाल्चोक, सिन्धुली, रामेछाप, दोलखा तथा ओखलढुङ्गा, सोलुखुम्बु, उदयपुरसँगै मधेस र भित्री मधेसका विभिन्न जिल्लाबाट बिरामी उपचार गर्न आउँछन् । अस्पतालमा बिरामीको चाप बढेसँगै रगत अभावको समस्या चुलिएको हो । रासस
क्यानडामा बनेका कारहरूमा लगाइएको २५ प्रतिशत शुल्क अझ बढ्न सक्ने ट्रम्पको चेतावनी
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार क्यानडाबाट अमेरिकामा आयात गरिने कारहरूमा लगाइएको २५ प्रतिशत शुल्क अझ बढ्न सक्ने बताएका छन् । बुधबार पत्रकारहरूसँगकाे कुराकानीमा उनले यस्तो बताएका हुन् । 'मैले क्यानडामा शुल्क लगाएसँगै उनीहरूले २५ प्रतिशत तिरेका छन् तर कारकाे सन्दर्भमा त्यो अझ बढ्न सक्छ," ट्रम्पले भने। 'हामीले चाहेको भनेको के हो भने, 'हामी तपाईंका कारहरू चाहँदैनौं, हामी साँच्चै आफ्नै कारहरू बनाउने चाहन्छाैं,' उनले भने ।
दिपल इभीको ‘अनमिसेबल प्रि-बजेट अफर’ सार्वजनिक, निःशुल्क बीमा र चार्जर पाइने
काठमाडौं । दिपल इभीको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्पले 'अनमिसेबल प्रि-बजेट अफर' सार्वजनिक गरेको छ । कम्पनीका अनुसार यो अफर अन्तर्गत ग्राहकले आकर्षक नगद छुट, पुरानो गाडीमा एक्सचेञ्ज बोनस, आगामी आर्थिक वर्षको निःशुल्क रोड ट्याक्स, कम्प्रिहेन्सिभ अटो प्लस बीमा, र ८.९९ प्रतिशत ब्याजदरमा २० प्रतिशत डाउनपेमेन्टमा कर्जा सुविधा पाउनेछन् । अफर वैशाख १० बाट सुरु भई ४५ दिनसम्म लागू हुनेछ । अफरमा निःशुल्क ७ किलोवाटको वाल चार्जर र ३ किलोवाटको ट्राभल चार्जर पनि दिइनेछ । नेपालमा एक वर्षमै ८ सयभन्दा बढी बिक्रीसहित शीर्ष लक्जरी इभी ब्रान्डको रूपमा स्थापित दिपल इभीमा ‘जेस्चर कन्ट्रोल’, ‘सनफ्लावर टचस्क्रिन’, ‘एआर–एचयूडी’ जस्ता १० भन्दा बढी ‘इन्डस्ट्री फस्ट’ फिचरहरू छन् । एमएडब्लु वृद्धिले १०० भन्दा बढी स्थानमा चार्जिङ स्टेसन सञ्चालन गरेर दिपल इभी प्रयोगकर्ताका लागि सुलभ र भरपर्दो सेवा उपलब्ध गराएको छ । यस अफरमार्फत दिपल इभी खरिद गर्ने यो समयलाई कम्पनीले 'छुटाउनै नमिल्ने मौका' भनेको छ।
मार्चमा युरोपमा १४ लाखभन्दा बढी कार बिक्री, ईभीले गर्यो कमाल
काठमाडौं । नयाँ कारको बिक्री युरोपमा २.८ प्रतिशतले बढेको देखिएको छ । उद्योगसम्बन्धी तथ्याङ्कअनुसार मार्च महिनामा विद्युतीय सवारीसाधन (ईभी) को दर्ता बढ्दा पेट्रोल र डिजेल कारको घट्दो दर्तालाई पूर्ति गरेको छ । युरोपेली अटोमोबाइल उत्पादक संघ (एसीईए) का अनुसार पूर्ण रूपमा ईभीको बिक्री मार्चमा २३.६ प्रतिशतले बढेको थियो। यसको महत्त्व किन ? युरोपेली कार उत्पादकहरूले घरेलु बजारमा उच्च लागत नियन्त्रण गर्ने र चीनबाट आएका गाडीहरूसँग प्रतिस्पर्धासँग जुधिरहँदा अब अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा लगाइएका २५ प्रतिशत आयात करहरूको असर खेपिरहेका छन्, जसले उद्योगको भविष्यमा अनिश्चितता ल्याएको छ । ट्रम्पको १४५ प्रतिशत चिनियाँ आयातमा कर र चीनको जवाफी करहरूले विश्वव्यापी आर्थिक वृद्धिको अनुमानलाई पनि तल झारेको छ, जसले अटोमोबाइल कम्पनीहरूलाई थप जोखिममा पारेको छ । मार्चमा युरोपेली संघ, बेलायत र युरोपेली स्वतन्त्र व्यापार संघ (ईएफटीए) मा बिक्री १४ लाख २० हजार कारमा पुगेको थियो, जुन अघिल्ला दुई महिनाको घट्दो प्रवृत्तिपछि आएको वृद्धि हो । फक्सवागन र रिनल्टको दर्ता क्रमशः १०.३ प्रतिशत र १३.० प्रतिशतले बढ्यो भने स्टेलान्टिसको बिक्री ५.९ प्रतिशतले घट्यो । टेस्लाको बिक्री लगातार तेस्रो महिनासम्म घट्दै २८.२ प्रतिशतले कम भयो र यसको बजार हिस्सेदारी २.९ प्रतिशतबाट घटेर २ प्रतिशतमा झर्यो । युरोपेली आयोगमा समग्र कार बिक्री वर्षको तुलनामा ०.२ प्रतिशतले घट्यो, लगातार तेस्रो महिनामा गिरावट देखियो । यद्यपि ब्याट्री इलेक्ट्रिक (बीईभी), हाइब्रिड इलेक्ट्रिक (एचईभी) र प्लग–इन हाइब्रिड (पीएचईभी) सवारीहरूको दर्ता क्रमशः १७.१ प्रतिशत, २३.९ प्रतिशत र १२.४ प्रतिशतले बढेको थियो । बीईभी, एचईभी वा पीएचईभीमध्ये कुनै पनि प्रकारका विद्युतीकरण सवारीहरूले मार्चमा युरोपेली संघमा ५९.२ प्रतिशत यात्रु कार दर्ताको हिस्सा ओगटेका थिए, जुन अघिल्लो वर्षको ४९.१ प्रतिशतबाट उल्लेखनीय वृद्धि हो । सबैभन्दा ठूला युरोपेली बजारहरूमा स्पेन र इटालीमा बिक्री क्रमशः २३.२ प्रतिशत र ६.३ प्रतिशतले बढेको थियो भने फ्रान्स र जर्मनीमा बिक्री १४.५ प्रतिशत र ३.९ प्रतिशतले घटेको थियो । बेलायतमा दर्ता १२.४ प्रतिशतले बढेको थियो । विश्वको दोस्रो ठूलो विद्युतीय सवारी बजार यूरोपमा विद्युतीय कारप्रति बढ्दो रुचि देखिनु नयाँ युरोपेली उत्सर्जन लक्ष्यहरू र सस्ता विद्युतीय मोडेलहरूको प्रक्षेपणसँग जोडिएको छ । यद्यपि, हालै ईयूले ती लक्ष्यहरू केही सहज बनाउने प्रस्ताव ल्याएको छ । भन्सार शुल्कको तनाबबीच 'सावधानीपूर्वक' भारत प्रवेश गर्दै टेस्ला शाङ्घाई अटो शो : बीवाईडीसहित अन्य कम्पनी आक्रामक रूपमा प्रस्तुत हुँदै, दबाबमा टेस्ला ट्यारिफको आँधीमा बुइकको स्वप्न यात्रा ईभीमा कडाइ गर्दै चीन : 'स्मार्ट ड्राइभिङ' र 'स्वायत्त ड्राइभिङ' भन्ने शब्द प्रयोगमा रोक घाटैघाटामा मस्क, ट्रम्पले चिनियाँ पार्टपुर्जामा कर बढाउँदा टेस्लाको अमेरिकी उत्पादन योजना प्रभावित ट्यारिफ असर : निसानले अमेरिकामा सबैभन्दा धेरै बिक्री भएको मोडेलको जापानी उत्पादन कटौती गर्ने २५ प्रतिशत अटो ट्यारिफले अमेरिकी अटो निर्माता कम्पनीलाई थप १०८ अर्ब डलर लागत लाग्ने साउदीमा टेस्लाको डेब्यू : मरुभूमिको गर्मी, थोरै चार्जिङ स्टेशन र बीवाईडीसँग प्रतिस्पर्धा