डोल्पामा बिहानै भूकम्पको धक्का
काठमाडौं । डोल्पामा आज बिहान भूकम्पको हल्का धक्का महशुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ३ बजेर ६ मिनेट जाँदा डोल्पा जिल्लाको काञ्जिरोवा हिमाल क्षेत्र केन्द्रबिन्दु बनाएर ४ म्याग्निच्युडको भूकम्प गएको हो । यसअघि, वैशाख १२ गते सिन्धुपाल्चोकमा पनि ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।
कृषि औजार कारखाना : ३२ महिनामा १६ थरिका औजार विकसित
हिमाल लम्साल काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रले वीरगञ्जको कृषि औजार कारखाना सञ्चालन र व्यवस्थापनको जिम्मेवारी लिएको ३२ महिनामा १६ थरिका कृषि औजार अनुसन्धान तथा विकास गरेको छ । कृषि औजार कारखाना वीरगञ्जका प्रमुख तथा इञ्जिनियर रितेश देवले कारखानामा अहिलेसम्म १६ थरिका कृषि औजार अनुसन्धान र विकास गरेको जानकारी दिए । ‘केन्द्रले अहिले नेपालका लागि आवश्यक पर्ने कृषि औजार अनुसन्धान तथा विकास गर्दै आइरहेको छ । अहिलेसम्म साना–ठूला गरेर १६ थरिका औजार अनुसन्धान र विकास गरेका छौँ,’ उनले भने । केन्द्रले पराल काट्ने, धान काट्ने (रिपर), दाना बनाउने, धान रोप्ने सानो मेसिन (रिपर), घाँस खुर्किने, ड्याङ बनाउने, खाल्डो खन्ने हाते औजार, आलु रोप्ने, आलु गोड्ने, साना ट्रयाक्टरमा राख्ने कल्टिभेटर, हाते प्रेस मेसिन, प्लास्टिक ओछ्याउने, केराको फाइबर निकाल्ने, गोबर पेल्ने, कोदो रोप्ने मेसिन, चाँप कटर, हाते औजारमा बञ्चरो, खुँडा, साना कुटो कोदाली, चाँपलगायत घरायसी प्रयोजनमा प्रयोग हुने कृषि औजार तयार पारिसकेको छ । ‘केन्द्रमार्फत कारखानामा अहिले अनुसन्धान र विकासकै चरणमा भएकाले पनि ठूलो मात्रामा व्यावसायिक रूपमा उत्पादन हुन सकिरहेको छैन । यद्यपि सामान्य खालका औजार भने बिक्री वितरण भइरहेको छ,’ उनले भने, ‘कोही शुभचिन्तकहरू यहाँ आएर नै कहिलेकाहीँ यहीँ उत्पादन भएका कृषि औजार खरिद गरेर लैजाने गर्नुभएको छ ।’ कारखानाका प्रमुख देवले केन्द्रले केही समयअघि ५० लाख रुपैयाँ खर्चेर सिएनसी मेसिन ल्याएसँगै औजार उत्पादनमा सहजीकरण र सरलता ल्याएको जानकारी दिए । ‘सिएनसी मेसिनले नयाँ औजार उत्पादनभन्दा पनि काम गर्नका लागि निकै सहजता गराइरहेको छ । यहाँका कार्यरत इञ्जिनियर तथा अन्य प्राविधिक कर्मचारीलाई काम गर्न सजिलो र सहजता प्रदान गर्दै आइरहेको छ,’ उनले भने । अहिले कृषि औजार कारखाना वीरगञ्जमा ३६ कार्यरत छन् । ‘कृषि औजार कारखाना पनि राज्यकै हो, राज्यले नै यसको अनुसन्धान र विकासका लागि ध्यान दिन जरुरी छ । देशका किसानका लागि अत्यावश्यक पर्ने सबै खालका औजार यही कारखानाबाट बनाउन पाएको खण्डमा जनता धेरै लाभान्वित हुने थिए,’ उनले भने । कारखानाका प्रमुख देवले तीनवटै तहका सरकार बजेट निर्माणको पूर्वसन्ध्यामा रहेकाले पनि कृषि औजार कारखानाका लागि आवश्यक पर्ने फलामको कच्चा पदार्थमा भन्सार छुटको व्यवस्था गरिदिनका लागि माग गरेका छन् । ‘तयारी अवस्थाका कृषि औजारमा एक प्रतिशतमात्र भन्सार शुल्क लाग्ने गर्छ । तर औजार निर्माणका लागि आवश्यक पर्ने फलामलगायत कच्चा पदार्थको आयातमा कम्तीमा पनि २० प्रतिशत पर्न जाने गर्छ,’ उनले भने, ‘विदेशमा बनाइएका तयारी कृषि औजारसँग स्वदेशमा निर्माण गर्ने औजारलाई प्रतिस्पर्धी बनाउन गाह्रो भइरहेको छ । यसले पनि उत्पादनमा धेरै समस्या ल्याइरहेको छ ।’ प्रमुख देवले कृषिका लागि आवश्यक पर्ने कच्चा फलामको आयातमा धेरै करको दर भएकाले पनि कृषि औजार कारखाना लागि आवश्यक पर्ने कच्चा पदार्थमा सहुलियत वा छुटको व्यवस्था गरिदिनका लागि आग्रह गरे । तत्कालीन सोभियत सङ्घको आर्थिक र प्राविधिक सहयोगमा वीरगञ्जस्थित कृषि औजार कारखाना सञ्चालनमा ल्याइएको थियो । कारखाना २०२४ साल फागुन २८ गते सञ्चालनमा आएको थियो । कारखानाले सुरुआती चरणमा कृषि औजारको उत्पादन गरेर स्वदेशमा मात्र होइन, विदेशमा निर्यात गर्दै आइरहेको थियो । तर कारखाना व्यवस्थापनमा भएका कमीकमजोरीले अन्ततः २०५९ सालसम्म आइपुग्दा कारखाना बन्द हुने अवस्थामा आइपुग्यो । कृषि तथा पशुपन्छी मन्त्री रामनाथ अधिकारीले कृषि औजार कारखानालाई आवश्यक पर्ने सहयोगका लागि आफूले सहजीकरण गर्दै आएको जानकारी दिए । ‘मैले कृषिमन्त्रीको पदभार सम्हालेपछि कारखानाको स्थलगत अवलोकन एवं जानकारी लिएँ । कारखानालाई सदृढ बनाउँदै व्यवसायीक उत्पादन गर्न आवश्यक सहयोग गर्न म तयार छु,’ उनले भने । केन्द्रलाई पुनर्जीवित बनाउने कोसिस जारी केन्द्रले दुई दशकभन्दा लामो समयदेखि बन्द भएर अलपत्र भएको औजार कारखानालाई पछिल्लो समय पुनर्जीवित बनाउने कोसिस जारी राखेको छ । विसं २०७९ भदौ ३१ गते बसेको मन्त्रिपरिषद् बैठकले दुई दशकदेखि बन्द अवस्थामा रहेको कृषि औजार कारखानाको व्यवस्थापन र सञ्चालनका लागि राष्ट्रिय अविष्कार केन्द्रलाई १० वर्षका लागि उपलब्ध गराउने निर्णय गरेसँगै कृषि औजार कारखानाले पुनर्जीवन प्राप्त गरेको हो । विसं २०७९ असोज ११ गते अर्थ मन्त्रालयका तत्कालीन सहसचिव रमेश केसी र राष्ट्रिय अविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो । तर केन्द्रले औपचारिक रूपमा काम सुरु भने २०७९ साल माघमा मात्र थालेको हो । पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रको काँधमा कृषि औजार कारखाना आउँदा कारखानाको अवस्था भने निकै दयनीय अवस्थामा थियो । रासस
सहकारीको रकम अपचलनको कसुरमा कांग्रेसकी सांसद माया राई पक्राउ
काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले नेपाली कांग्रेसकी सांसद माया राईलाई पक्राउ गरेको छ । कालीमाटी स्थित स्वर्ण लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको अभियोगमा सांसद राईलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रहरी उपरीक्षक अङ्गुर जिसीले जानकारी दिए । सहकारी ठगी र सङ्गठित अपराधको कसुरमा सांसद राईलाई काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरिएको उनले बताए । सांसद राई समेतका व्यक्तिले उक्त सहकारीमा बचतकर्ताको रकम हिनामिना गरेको आरोप छ । सांसद राई पक्राउ परेको सूचना सभामुखलाई पुगेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले संघीय संसद सचिवालयमा पत्र पठाएर राईलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जानकारी गराएको हो ।
गर्मीले उत्पादन कम हुने भएपछि अण्डाको मूल्य बढ्यो, प्रतिक्रेट ४५० रुपैयाँ पुग्यो
काठमाडौं । पछिल्लो समय निरन्तर घटेको अण्डाको मूल्य विस्तारै उकालो लाग्न थालेको छ । लागत मूल्यसमेत पाउन नसक्दा चिन्तित बनेका किसानले अण्डाको मूल्य बढ्न थालेपछि केही राहत महसुस गरेका छन् । गत वर्ष प्रतिक्रेट (३० गोटा) को ५२५ रुपैयाँसम्म पुगेको अण्डाको मूल्य घटेर ३५० रुपैयाँमा पुगेको थियो । अहिले मूल्यमा वृद्धि भएर ४५० रुपैयाँ पुगेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार आजबाट लागू हुनेगरी ठूलो अण्डाको समर्थन फार्म मूल्य प्रतिक्रेट (३० वटाको) ४३० रुपैयाँ, मध्यमको ३८० रुपैयाँ र ‘एक्सएल’को ४५० रुपैयाँ कायम गरिएको छ । यसअघि ठूलो अण्डाको मूल्य ३५० रुपैयाँमा झरेको थियो । सङ्घको शनिबार सम्पन्न छलफलले अण्डाको मूल्य बढाउने निर्णय गरेको उनले जानकारी दिए । एक्सएल अण्डा फार्म मूल्य प्रतिपेटी (७ क्रेट) ३ हजार १४० रुपैयाँ, ठूलो अण्डा ३ हजार रुपैयाँ र मझौलाको २ हजार ६५० रुपैयाँ कायम गरिएको छ । योसँगै किसानलाई केही राहत मिल्ने उनले बताए। नेपालमा अण्डाको लागत मूल्य प्रतिगोटा १६.५६ रुपैयाँ पर्न आउँछ । अण्डाको मूल्य उच्च हुँदा ठूलो अण्डा प्रतिपेटी ३ हजार ६७५ रुपैयाँसम्म पुगेको थियो । सो समयमा किसानले उत्पादन मूल्य पाएको भए पनि पछिल्ला दिनमा अण्डाको मूल्य घट्दा किसानले लागत मूल्यसमेत पाउन गाह्रो हुने गरेको पोखरेलको भनाइ छ । ‘गर्मीका कारण अण्डा उत्पादन कम हुनु र बजारमा माग बढ्नुले अण्डाको मूल्य बढेको हो,’ उनले भने । उच्च गर्मीका कारण कुखुरामा विभिन्न खालका रोग देखिँदा उत्पादन निकै घटेको छ । सङ्घका सचिव मदन पोखरेलका अनुसार अण्डा उत्पादन गर्ने कुखुरा घटेको र माग बढेको छ । ‘अहिलेको अवस्थालाई हेर्दा अण्डाको मूल्य क्रमशः बढ्ने देखिन्छ,’ उनले भने, ‘अण्डाको मूल्य बढेपछि किसान उत्साहित बनेका छन् । अहिले दैनिक ३० लाख गोटा हाराहारी अण्डा उत्पादन हुँदै आएको छ ।’ नेपालमा कुखुरापालक किसानले लागत मूल्य नपाएपछि धेरै विस्थापित भएका छन् ।
सरकार परिवर्तनका हल्ला चलेपछि ओली र देउवाबीच भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको भेटवार्तामा सत्ता सहकार्यलाई अझ प्रभावकारी र सुदृढ गर्ने विषयमा छलफल भएको उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जानकारी दिए । नेताहरूले सरकार परिवर्तनका बारेमा चलाइएका हल्ला गलत र निराधार भएको बताएको पनि उनले जानकारी दिए । सो अवसरमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेल र गृहमन्त्री रमेश लेखक पनि सहभागी थिए ।
बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको प्रभावले तापक्रम वृद्धि
काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । यसका साथै बङ्गालको खाडीबाट भित्रि रहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी र मधेस प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम सफादेखि आंशिक बदली रहने छ । मधेस प्रदेशलगायत देशका पहाडी भागका केही स्थानमा तथा बाँकी भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको हिमाली भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । त्यसैगरी, आज राति कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफादेखि आंशिक बदली रहने छ । कोशी र मधेस प्रदेशलगायत गण्डकी प्रदेशका पहाडी भागका केही स्थानमा तथा बागमती र कर्णाली प्रदेशको पहाडी भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
अबको एक सातामा दर्ता नभए ‘मेटा’लाई नेपालमा प्रतिबन्ध लगाउने
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले चलचित्र क्षेत्रको सुधार तथा आधुनिकीकरणका लागि तयार पारिएको नयाँ ‘चलचित्र ऐन’ चाँडै ल्याइने बताएका छन् । उनले आजको राष्ट्रिय सभामा ऐन पेस गर्ने बताए । नेपाली चलचित्र वितरक तथा प्रदर्शकहरूको छाता संस्था नेपाल चलचित्र सङ्घको ५०औँ वार्षिक साधारणसभामा मन्त्री गुरुङले २०२६ सालमै बनेको ‘चलचित्र ऐन’ परिमार्जन भएर आएपछि चलचित्रकर्मीले सामना गरिरहेको अवरोध हट्ने बताए । उनले भने, ‘नयाँ चलचित्र ऐन टेबल गर्दैछु । म आफू सञ्चार मन्त्रालयमा आएपछि पुरानो नीति र कानुनले दिएको कठिनाइलाई राम्रोसँग बुझेर परिमार्जन गर्न लागिरहेको छु । रेडियो नेपाल, नेपाल टेलिभिजन, हुलाक, रासस, सबै सञ्चार क्षेत्रसँग जोडिएका संस्थाहरूको नीति पुरानो पञ्चायतकालको छ । कानुन पनि पञ्चायतकै छ । यसमा हामीले काम गर्नुपर्ने छ, गरिरहेका छौँ ।’ मन्त्री गुरुङले अबको एक सातामा नेपालको कानुनअनुसार दर्ता नभए ‘मेटा’लाई नेपालमा प्रतिबन्ध लगाउने बताए । मेटाले नेपालको कुल गार्हस्थ्य उत्पादन (जिडिपी)भन्दा आफ्नो आम्दानी धेरै भएको उल्लेख गरेको बताउँदै मुलुकको स्वाधीनता पैसामा जोड्न नसकिने उनको भनाइ छ । ‘मेटा भन्ने बित्तिकै फेसबुक होला, म्यासेन्जर, ह्वाट्सएप, इन्ट्राग्राम होला, चलिरहेका छन् । तर, उनीहरूले नेपालको कानुन मान्दिनँ भन्न मिल्दैन, हाम्रो कानुनअनुसार दर्ता भई सञ्चालन हुनुपर्छ । यहाँ हामीसँग दर्ता हुनुपर्दैन, कर तिर्नुपर्दैन ? त्यसका कारणले फैलने गलत कुरा हामीले नियन्त्रण गर्नुपर्दैन ? उनीहरूको कन्टेनले हाम्रो राष्ट्रिय स्वाधीनताका विरुद्धमा बोल्यो भने समाजमा ठूलो प्रभाव पर्न सक्छ । त्यसैले तिनीहरूको नियमन हुनुपर्छ,’ मन्त्री गुरुङले भने ।
पोखरामा ३ खानेपानी आयोजना एकसाथ निर्माण हुँदै, लागत १ अर्ब २९ करोड रुपैयाँ
काठमाडौं । कास्कीको पोखरा महानगरपालिका-११, २१ र ३३ मा तीन ठूला खानेपानी आयोजना निर्माण हुने भएका छन् । पोखरा-११ मा जलवायु अनुकूलित वृहत् आयोजनाअन्तर्गत काँहुधरहरा खानेपानी आयोजना, पोखरा-२१ र ३३ लाई समेट्ने गरी केन्द्रीय खानेपानी आयोजनाअन्तर्गत वृहत् भरतपोखरी-निर्मलपोखरी-कृष्ती खानेपानी आयोजना र मट्टीखान खानेपानी आयोजना निर्माणका लागि प्रक्रिया अगाडि बढेको हो । आयोजना निर्माण, सञ्चालन र कार्यान्वयन गर्न सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना पोखराका आयोजना प्रमुख पदमबहादुर कुँवर क्षेत्री, पोखरा महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईँ र तीनवटै खानेपानी आयोजनाका अध्यक्षले बिहीबार त्रिपक्षीय समझदारी गरेका थिए । लागत साझेदारीमा बन्ने ती आयोजनामार्फत काहुँडाँडा, कृष्ती, भरतपोखरी, निर्मलपोखरी, मट्टीखानलगायत क्षेत्रमा खानेपानीको सहज सेवा पुग्ने छ । बृहत् भरतपोखरी-निर्मलपोखरी-कृस्ती खानेपानी आयोजना निर्माणका लागि ५१ करोड ७७ लाख ७६ हजार रुपैयाँ कुल लागतमध्ये पहिलो चरणमा अर्थ मन्त्रालयबाट २८ करोड ४९ लाख ९१ हजार रुपैयाँ स्रोत सुनिश्चित भई कार्यान्वयनको चरणमा रहेको जनाइएको छ । काँहुधरहरा खानेपानी आयोजनाका लागि ४९ करोड १७ लाख रुपैयाँ मध्ये २१ करोड ६ लाख २४ हजार रुपैयाँ र मट्टीखान खानेपानी आयोजनाको २८ करोड ५४ लाख ६५ हजार रुपैयाँमध्ये १९ करोड ७६ लाख ४१ हजार रुपैयाँ अर्थ मन्त्रालयले स्रोत सुनिश्चित गरेको छ । समझदारीअनुसार स्रोत सुनिश्चित भई कार्यान्वयनमा गइसकेपछि चालु आवमा पोखरा महानगरपालिकाले कुल लागतको १० प्रतिशत रकम बेहोर्ने छ । तीनवटै परियोजनाको कुल लागत १ अर्ब २९ करोड ४९ लाख ५८ हजार रुपैयाँ लाग्ने अनुमान छ । परियोजनाको कुल लागतको ९० प्रतिशत सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले खर्च गर्ने जनाइएको छ । वृहत् भरतपोखरी-निर्मलपोखरी-कृस्ती खानेपानी आयोजनाअन्तर्गत पोखरेल थोकमा निर्माणाधीन अत्याधुनिक पानी प्रशोधन केन्द्रमा पानी सङ्कलन तथा प्रशोधन गरी १७ किमी सिमलेससहित ३५ किमी पाइपमार्फत उपभोक्ताको घरघरमा पानी पुर्याइने आयोजना प्रमुख क्षेत्रीले बताए। उक्त आयोजनाबाट करिब २४ सय घरपरिवार लाभान्वित हुने उपभोक्ता समितिका अध्यक्ष दाताराम आचार्यले जानकारी दिए । उक्त आयोजनामा २ सय, १ सय, ७५, ५० र २० घन मिटरका ११ पानी ट्याङ्की निर्माण हुनेछन् । यस्तै काँहुधरहरा खानेपानी आयोजनामा काँहुमा प्रशोधन केन्द्र निर्माण गरी १७ किमी पाइप लाइनमार्फत उपभोक्ताको घरघरमा पानी पुर्याइने छ । करिब १ हजार ५०० घरपरिवार लाभान्वित हुने यो आयोजनाअन्तर्गत तीन सय घनमिटरको १/१ सय घनमिटरका २ वटा ट्याङ्की निर्माण गरिने छ । मट्टीखान खानेपानी आयोजनाअन्तर्गत सेतीखोलाबाट पानी पम्पिङ गरी स्याङ्जाको फेदीखोला गाउँपालिकाको नुवाकोटमा पानी सङ्कलन गरी मट्टीखान क्षेत्रमा वितरण गरिने छ । यस आयोजनामा ३५ किमी पानीको पाइप लाइन विस्तार हुने छ । विभिन्न ठाउँमा १५० र ३५ घनमिटर क्षमताका ८ वटा पानी ट्याङ्कीमार्फत आयोजनाले १ हजार २०० घरपरिवारलाई पानी वितरण गर्ने छ । चालु आर्थिक वर्षबाटै योजना सञ्चालन गर्नेगरी सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले गत फागुनमा बोलपत्रसमेत आह्वान गरिसकेको छ । तीनवटै आयोजना सम्पन्न भएपछि पाँच हजार घरपरिवार प्रत्यक्ष रूपमा लाभान्वित हुने जनाइएको छ । आयोजना कार्यान्वयन भएको मितिले ३० महिनाभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ । ‘एक घर, एक धारा’ लक्ष्यअनुसार यी आयोजना निर्माण हुन लागेका हुन् । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले नगरवासीलाई आधारभूत खानेपानीको उपलब्धताका लागि महानगर लागिपरेको बताए । महानगर क्षेत्रमा सङ्घ, प्रदेश र महानगरस्तरीय विभिन्न आयोजना सञ्चालन भइरहेको उहाँले भनाइ छ । ‘पोखरा महानगरपालिकाको भूगोल विविधतायुक्त छ, यहाँ समथर मैदानदेखि अग्ला पहाडी भेग छन्, सबै स्थानमा खानेपानीको सहज उपलब्धता हुन नसकिरहेका बेला यी आयोजना सञ्चालन गर्ने चरणमा हामी आइपुगेका छौँ,’ उनले भने, ‘ठूलो लगानीका आयोजनामा जनसहभागिता जुटाउन निकै कठिन छ, तसर्थ नागरिकको संवैधानिक अधिकारको प्रत्याभूतिका लागि पनि यसको दायित्व महानगरपालिकाले लिनुपर्छ भन्ने मान्यताका साथ हामीले प्रतिबद्धतासहित अग्रसरता लिएका छौँ ।’ ‘जी टु जी’ अवधारणामा उपभोक्ताको तर्फबाट बेहोर्नुपर्ने १० प्रतिशत जनसहभागिताबापतको रकम महानगरपालिकाले सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनालाई उपलब्ध गराउने महानगर प्रमुख आचार्यले बताए ।