एलन मस्कको एक्सएआई होल्डिङ्सले २० अर्ब डलर जुटाउँदै
काठमाडौं । अर्बपति एलन मस्कको एक्सएआई होल्डिङ्सले करिब २० अर्ब अमेरिकी डलर जुटाउनका लागि लगानीकर्तासँग छलफल गरिरहेको ब्लूमबर्ग न्यूजले जनाएको छ । रिपोर्टअनुसार उक्त लगानी जुटाएपछि कम्पनीको मूल्यांकन १२० अर्ब डलरभन्दा बढी हुने अनुमान गरिएको छ । यस महिनाको सुरुमा मस्कले एक्सएआईको 'उचित मूल्यांकन' निर्धारण गर्न खोजिरहेको सीएनबीसीलाई स्रोतहरूले जानकारी दिएका थिए । सो कुरा एक्सएआईका लगानीकर्ताहरूको सम्मेलनका क्रममा उल्लेख गरिएको थियो । त्यस समयमा मस्कले आगामी कुनै लगानी संकलनबारे प्रत्यक्ष रूपमा उल्लेख नगरे पनि स्रोतहरूले एक्सएआई छिट्टै ठूलो मात्रामा पूँजी संकलन गर्ने तयारीमा रहेको संकेत दिएका थिए । ब्लूमबर्गले थप जनाएको छ कि जुटाइने पूँजी २० अर्ब डलरभन्दा बढी हुन सक्नेछ, यद्यपि ठ्याक्कै रकम अझै निर्धारण भएको छैन । गत महिना एक्सएआईले एक्स (सोसल मिडिया प्लेटफर्म) किन्न अख्तियार विनिमय गरेको थियो, जसमा एक्सएआईको मूल्यांकन ८० अर्ब डलर र एक्सको मूल्यांकन ३३ अर्ब डलर निर्धारण गरिएको थियो । मस्कले सो सम्झौताबारे एक्समा लेख्दै भनेका छन्- 'एक्सएआई र एक्सको भविष्य एक आपसमा जोडिएको छ । आज हामीले औपचारिक रूपमा डेटा, मोडेल, कम्प्युट, वितरण र प्रतिभालाई एकीकृत गर्ने कदम चालेका छौं । यस संयोजनले एक्सएआईको उन्नत एआई क्षमता र विशेषज्ञतालाई एक्सको विशाल पहुँचसँग मिलाएर अपार सम्भावनाहरूको ढोका खोल्नेछ ।’
एकतोला सुनको मूल्य एक लाख ८९ हजार ७००
काठमाडौं । आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला एक लाख ८९ हजार ७०० रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोही परिमाणको चाँदी आज एक हजार ९९० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । गत शुक्रबार एक तोला सुन एक लाख ८९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो भने त्यति नै परिमाणको चाँदी दुई हजार रुपैयाँमा किनबेच भएको थियो । अन्तरराष्ट्रिय बजारमा आज प्रतिऔंस सुन तीन हजार ३१८ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
गभर्नर नहुँदा पनि राष्ट्र बैंकका काम कारवाहीमा कुनै असर परेको छैन {कार्यकारी निर्देशक पौडेलसँगको कुराकानी}
नेपाल राष्ट्र बैंकले आइतबार (आज) ७०औं वार्षिकोत्सव मनाउँदैछ । वित्तीय क्षेत्रको स्वायत्त र स्वतन्त्र नियमनकारी निकायको छवि निर्माण गरेको नेपाल राष्ट्र बैंकले पछिल्लो समय भने विभिन्न किसिमका प्रहार र चुनौतीहरुको सामना गर्नुपरेको छ । सरकारबाटै राष्ट्र बैंकको स्वायत्ततामाथि हुने प्रहार, यस पटक राष्ट्र बैंकको गभर्नर नियुक्तिमा देखिएको राजनीतिक हस्तक्षेप तथा खिचातानी र नीतिगत अस्थिरताले राष्ट्र बैंकको प्रतिस्ठा धुमिल बनिरहेको छ । यिनै विषयमा केन्द्रीत रहेर राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता रामु पौडेलसँग विकासन्युजका लागि सन्तोष रोकाया र सीआर भण्डारीले कुराकानी गरेका छन् । नेपाल राष्ट्र बैंकले ७०औं वार्षिकोत्सब कसरी मनाउँदैछ ? हामीले ७०औं वार्षिकोत्सव भव्यरुपमा मनाउनका लागि विभिन्न अगाडिदेखि नै तयारी गर्दैै आइरहेका थियौं । आन्तरिक कर्मचारीका लागि खेलकुद, रक्तदान, प्रतियोगिताहरु गरेका थियौं । सोही प्रतियोगिताको पुरस्कार आज वितरण गरिनेछ । आइतबार राष्ट्र बैंकले प्रादेशिक कार्यालय र केन्द्रीय कार्यालयमा विशेष कार्यक्रम गरेर मनाउँदैछौं । गभर्नरज्यू, पूर्व गभर्नरज्यूहरु, सञ्चालकज्यूहरु, सरकारका प्रतिनिधिहरु र अन्य निकायका प्रतिनिधि तथा स्टेक होल्डरहरुको समउपस्थितिमा हामीले ७०औं वार्षिकोत्सव भव्यताका साथ आयोजना गर्दैछौं । राष्ट्र बैंकको विगतको ६९औं बसन्तहरु कसरी समीक्षा गर्नुहुन्छ ? यो अवधिमा देशको आर्थिक र वित्तीय क्षेत्रमा राष्ट्र बैंकको भूमिका कस्तो रह्यो ? नेपाल राष्ट्र बैंक २०१३ साल बैशाख १४ गते स्थापना भएको संस्था हो । राष्ट्र बैंक स्थापना हुनुअघि फरक किसिमका चुनौतीहरु थिए । ती चुनौतीहरुलाई समाधान गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकको स्थापना भएको हो । जस्तै, नेपाली मुद्राको चलनचल्ती अगाडि बढाउने, अर्थतन्त्रलाई मनिटाइजेसन गर्ने, वित्तीय संस्थाहरुको स्थापनामा जोड दिने, बैंक तथा वित्तीय संस्थाको शाखा विस्तार गर्ने, ब्याजदरमा स्थायित्व, कर्जाको पहुँच सर्वसाधारणसम्म पुर्याउने र विनिमयदरमा स्थायित्व कायम गर्ने लगायतका उद्देश्य राखेर नेपाल राष्ट्र बैंकको स्थापना भएको थियो । समयक्रम सँगसँगै ती उद्देश्यहरु हाँसिल गर्न पनि हामी सफल भयौं । त्यसपछि नेपाल सरकारले आर्थिक उदारिकरणको नीति अगाडि सारेपछि राष्ट्र बैंकले पनि आफ्नो मौद्रिक नीति, कर्जा नीति, विनिमय नीतिहरु परिवर्तन गर्दै आइरहेको छ । ती नीतिहरुलाई समयानुकुल बनाउँदै गइरहेका छौं । राष्ट्र बैंकको यही प्रयासस्वरुप कुल ग्राहस्थ उत्पादनमा कर्जा अनुपात र मनिटाइजेसन रेसियो अत्यधिक रुपमा विस्तार भएका छन् । यो राष्ट्र बैंक र सर्वसाधारणका लागि पनि गौरवको विषय हो । पछिल्लो समय राष्ट्र बैंकले कर्जाको पहुँच सर्वसाधारण समक्ष पुर्याउने, वित्तीय समावेशीकरणलाई जोड दिने, वित्तीय स्थायितत्व कायम गर्ने र आर्थिक कारोबारलाई डिजिटाइजेसन गर्ने कार्यलाई प्राथमिकताका साथ अगाडि बढाएको छ । बैंक तथा वित्तीय संस्थाको काम कारवाहीप्रति सर्वसाधारणको विश्वास कायम गर्ने, बैंकिङ कारोबारमा प्रविधि, अनलाइन बैंकिङमा पनि जोड दिइरहेका छौं । क्रस बोर्डर भुक्तानी र नेपालको आफ्नै पेमेन्ट कार्ड प्रयोगमा आइसकेको छ । हामीले हरेक काम कारवाहीमा डिजिटाइजेसन गर्दै आइरहेका छौं । नेपाल राष्ट्र बैंक ७०औैं वार्षिकोत्सव मनाइरहँदा नेतृत्वविहीन अवस्थामा छ । कार्यवाहक गभर्नरले राष्ट्र बैंक चलाउनु परेको छ । सरकारले लामो समयसम्म पनि गभर्नर नियुक्त गर्न सकेको छैन । यो अवस्थालाई कसरी लिनुहुन्छ ? नेपाल राष्ट्र बैंक राष्ट्र बैंक ऐनअनुसार स्थापना भएको संस्था हो । यो संस्थामा कामकारवाही, निणर्यका प्रक्रिया, दैनिक कार्य, नीतिगत विषयमा गभर्नरको अनुपस्थितिमा कुनै पनि कार्यहरू रोकिएका छैनन् । यद्यपि राष्ट्र बैंक ऐनअनुसार सरकारले गभर्नर नियुक्तिको प्रक्रिया सुरु गरिसकेको छ । केही समय ढिलो भएपनि छिट्टै गभर्नर नियुक्ति हुनेछ र राष्ट्र बैंकले नियमित रुपमा कामकारबाही थप प्रभावकारी रुपमा अगाडि बढाउने अपेक्षा छ । अन्य नियामक निकायको तुलनामा नेपाल राष्ट्र बैंक एक सशक्त र बलियो नियामकका रुपमा हेरिन्छ । तर, पछिल्लो समय सरकारबाटै राष्ट्र बैंकको स्वायत्ततामाथि प्रहार गर्ने काम र घटनाक्रम पनि भइरहेका छन्, यस्तो अवस्था किन सिर्जना हुन्छ ? नेपाल राष्ट्र बैंक एनेअनुसार राष्ट्र बैंक एउटा स्वायत्त र स्वतन्त्र नियामक निकाय हो । मौद्रिक अधिकारी हो । विगतमा पनि राष्ट्र बैंकले आफ्नो उद्देश्य र दिएको अधिकारअनुसार काम गर्दै आएको छ । राष्ट्र बैंकले सक्षम रुपमा मौद्रिक उपकरण प्रयोग गरेर वित्तीय स्थायित्व कायम गर्न र वाह्य क्षेत्र स्थायित्व कायम गर्नका लागि काम गर्दै आएको छ । विगतमा नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त स्वतन्त्र र निश्पक्ष रुपमा हुन्थ्यो । तर, यस पटक खुलेआम राजनीतिक हस्तक्षेप देखियो । राष्ट्र बैंकको प्रवक्ताको रुपमा यो घटनाक्रमलाई कसरी बुझ्नुहुन्छ ? नेपाल राष्ट्र बैंकको ऐन अनुसार नेपाल सरकारले गभर्नर नियुक्त गर्न सक्ने व्यवस्था छ । सरकारले ऐनको व्यवस्थाअनुसार नै गभर्नर नियुक्त गर्छ भन्ने आशा छ । अर्थतन्त्रमा समस्या सिर्जना हुँदा वित्तीय क्षेत्र पनि त्यसको मारमा परेको छ, बैंकमा प्रयाप्त तरलता छ, कर्जा प्रवाह र असुली हुन सकेको छैन, खराब कर्जा बढेको बढ्यै छ, यो समस्याबाट माथि उठ्न राष्ट्र बैंकले केही गृहकार्य गरिरहेको छ कि छैन ? राष्ट्र बैंक मौद्रिक अधिकारी र देशको केन्द्रिय बैंक भएको कारणले अर्थतन्त्रमा देखिएका सबै समस्या समाधान गर्न सक्दैन । हामीसँग मौद्रिक नीतिका केही सीमितताहरु छन् । राष्ट्र बैंकको आफ्नो उद्देश्य र मेन्डेटअनुसार मौद्रिक नीतिका उपकरणहरु प्रयोग गरेर अर्थतन्त्रको विकास, विस्तार र समस्याहरु समाधान गर्ने प्रयास गर्दै आइरहेको छ । अहिले अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्ने किसिमले काम गरिरहेको छ, मौद्रिक उपकरण सञ्चालन गर्दै आइरहेको छ , परिणामस्वरुप ब्याजदरमा कमी आएको छ, अर्थतन्त्रमा तरलता प्रयाप्त छ, अन्य सुविधा पनि उपलब्ध गराएको छ । अब लगानीकर्ताहरुले एकल अंकको ब्याजदरको सदुपयोग गर्न पनि म आग्रह गर्दछु । बैंकहरुले पनि कर्जाका प्रडक्टहरु पनि ल्याएका छन् । अर्थतन्त्र पछिल्लो दिनमा सुधारको दिशामा छ । मुद्रास्फिति नियन्त्रित अवस्थामा छ । वाह्य क्षेत्रका सूचकहरु राम्रो छन् । आयातमा वृद्धि भएको छ । आयतमा भएको वृद्धिले अर्थतन्त्रमा चलायमान बनाउन मद्दत गर्छ । हामीले अन्य प्रयास पनि गरिरहेका छौं । सरकारले पनि पुँजीगत खर्च पनि बढाएको छ । यी विभिन्न कारणले देशको अर्थतन्त्र चलायनमान तथा सुधार हुने अपेक्षा गर्न सकिन्छ । बैंक तथा वित्तीय क्षेत्रले गैर बैंकिङ सम्पत्तिको वृद्धिदरप्रति चिन्ता व्यक्त गरिरहेका छन् । धेरैले अब गैर बैंकिङ सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गर्नुपर्ने आवाज पनि उठाइरहेका छन्, यसप्रति राष्ट्र बैंकको ध्यान कति छ ? पछिल्लो समयमा अर्थतन्त्रमा देखिएका केही समस्याका कारण बैंक तथा वित्तीय क्षेत्रको कर्जा असुलीमा केही चुनौती देखिएका छन् । यद्यपि, कर्जा असुलीमा क्रमशः प्रगति भएको हामीले पाएका छौं । खराब कर्जाको अनुपातमा केही वृद्धि भएपनि बैंक तथा वित्तीय संस्थाको पूँजीकोष राष्ट्र बैंकले तोकेको सीमाभन्दा माथि नै छ । राष्ट्र बैंकको कारोबारप्रति कुनै शंका र चिन्ता गर्नुपर्ने अवस्था पनि छैन । किनभने नेपाल राष्ट्र बैंकले सर्वसाधारणको निक्षेपको सुरक्षा गर्ने र वित्तीय स्थायित्व कायम गर्ने कार्यलाई प्राथमिकता दिएको छ । त्यसका लागि नियमित तथा विशेष सुपरीवेक्षण भइरहेका छन् । अहिले देखिएको खराब कर्जा र गैर बैंकिङ सम्पत्ति वृद्धिको समस्या अर्थतन्त्र सुधारसँगै विस्तारै समाधान हुने विश्वास छ । नेपाल राष्ट्र बैंकको नीति तथा कार्यक्रम र राष्ट्र बैंकले जारी गरेका नीतिहरु बैंकहरुले पालना गरिरहेका छन्, त्यसले वित्तीय संस्थालाई बलियो बनाउने काम गरिरहेको छ । पछिल्लो समय राष्ट्र बैंकमा नीतिगत अस्थिरता बढेको महसुस धेरैले गरेका छन्, यो अवस्था किन सिर्जना भयो ? राष्ट्र बैंकले आफ्नो नीतिगत कार्यक्रमहरुलाई मौद्रिक नीतिको सञ्चालन गरेर दीर्घकालीन समस्याहरु समाधान गर्नेभन्दा पनि तत्कालीन अवस्थामा अर्थतन्त्रमा वित्तीय स्थायित्व, मुद्रास्फिति र समष्टिगत अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्नका लागि मौद्रिक नीतिले के गर्न सक्छ भन्ने सन्दर्भमा मौद्रिक नीतिका औजारहरु प्रयोग गर्छ । राष्ट्र बैंकले तथ्य र तथ्यांकको आधारमा नीति तथा कार्यक्रम घोषणा तथा कार्यान्वयन गर्ने गर्छ । हामीले समायानुकुल नीति अवलम्बन गर्छौं । पोलिसी रेट, बैंक रेट, कर्जा नीतिको सम्बन्धमा हामीले तत्कालीन समस्या हेरेर काम गर्छौं । कसैको भनाइ, धारणा र अभिव्यक्ति अनुसार नीति बनाउँदैनौं । तथ्य र तथ्यांकका आधारमा हामी निर्णय लिन्छौं । नेपाल सम्पत्ति शुद्धिकरणको ग्रे लिष्टमा छ, धेरैले यसको प्रमुख जिम्मेवार नेपाल राष्ट्र बैंक भएको धारणा राखिरहेका छन्, यो जिम्मेवारी राष्ट्र बैंकले लिन्छ कि लिँदैन ? हामी आगामी दुई वर्षभित्र ग्रे लिष्टबाट बाहिर सक्छौं कि सक्दैनौं ? नेपाल प्राविधिक कम्पलायन्समा राम्रो देखिए पनि इफेक्टिभनेस कम्पलायन्समा केही कमजोरीका कारण सम्पत्ति शुद्धिकरणको ग्रे लिष्टमा छ । यो लिष्टबाट पार पाउनका लागि नेपाल राष्ट्र बैंकसहित अन्य निकायहरुले पनि नन कम्पलायन्सका विषयहरुलाई पनि कार्यान्वयन गर्दै जानुपर्ने हुन्छ । हामीले अहिले काम पनि गरिरहेका छौं । राष्ट्र बैंक बैंक तथा वित्तीय संस्थाको नियामक भएकोले यो विषयमा राष्ट्र बैंकमात्रै जिम्मेवार हुन्छ भन्ने होइन, यसमा विभिन्न नियमनकारी निकायहरु जिम्मेवार छन् । हामी अहिले मिलेर काम गरिरहेका छौं । नीति नियममा परिमार्जन र देखिएका समस्याको समाधान गरिरहेका छौं ।त्यतिधेरै समस्या छैन । समय अगावै हामी ग्रे लिष्टबाट बाहिरिन्छौं भन्ने विश्वास छ । हामीले यसअघि नै फाइनान्सिङ, टरोरिज्म सम्बन्धि नीति तथा कार्यविधिहरु जारी गरिसकेका छौं, त्यसको कार्यान्वयन गराइरहेका छौं । अब अन्य निकायसँग पनि समन्वय गरिरहेका छौं । यो समस्याबाट छिट्टै नै बाहिरिन सक्ने आधारहरु तयार भइरहेका छन् । बैंक तथा वित्तीय संस्थाहरू धेरै भए, बजारमा अस्थिरता भयो, राष्ट्र बैंकलाई नियमन गर्न अफ्ठ्यारो भयो भनेर राष्ट्र बैंकले धेरै बैंक तथा वित्तीय संस्थाहरूलाई मर्ज गरायो । यसले वित्तीय क्षेत्रले के पायो ? विगत र अहिलेमा फरक के महसुस भयो ? पुँजीको आधारमा र जोखिम लिने हिसाबले सक्षम भएका छन् । साना संस्थाहरू सानो झट्काले ठूलो उथलपुथल हुन्छ । ठूलो संस्था भइसकेपछि यी जोखिमहरू व्यवस्थापन गर्न सक्षम भएका छन् । यसैगरी संस्थाहरू सूचना प्रविधि लगायत विषयमा अपग्रेड गर्दै यसमा पनि सक्षम भएका छन् । बैंक तथा वित्तीय संस्थाहरूका मर्जरको फलस्वरूप कारोबार, नाफा, सम्पत्तिमा वृद्धि भएको छ । बैंकको पहुँच, कर्जाको सुलभता भएको छ । त्यसैले बैंक तथा वित्तीय संस्थाहरू मर्जर तथा एक्विजिशनले बैंकिङ प्रणालीलाई विभिन्न किसिमका जोखिमबाट जोगाउन सफल भएका छन् । साथै, संस्थाहरूले आफ्नो जोखिम व्यवस्थापनमा समेत अब्बल बनेका छन् । मर्जर भएका संस्थाहरूमा ज्ञान आदानप्रदान, विभिन्न किसिमका विशेषज्ञता विकास भएका छन् । कुनै एउटा क्षेत्रमा मात्रै केन्द्रित संस्था मर्जरपछि विभिन्न क्षेत्रमा पनि आफ्नो व्यवसाय विस्तार गर्न सक्ने भएको छ । त्यसकारण विभिन्न किसिमका जोखिमलाई पनि मर्जर भएका संस्थाहरूले सहज स्वीकार गर्न सक्ने भएका छन् । अहिले रहेका बैंक तथा वित्तीय संस्था अब यतिमै सीमित रहन्छन् कि थप घट्छन् ? नेपाल राष्ट्र बैंकले मर्जर तथा एक्विजिशनको नीतिलाई कायम राखेको छ । यो बाध्यकारी भने होइन । राष्ट्र बैंकले प्रोत्साहन गरेका कारण बैंक तथा वित्तीय संस्थामा कमी आएको हो । सम्बन्धित संस्थाहरूले पनि वर्तमान समयमा व्यवसाय गर्न सक्छु वा सक्दिन भनेर विश्लेषण गर्नुहुन्छ । यदि व्यवसाय गर्न नसक्ने अवस्था र जोखिम स्वीकार गर्न नसक्ने अवस्थामा राष्ट्र बैंकले थप मर्जर तथा एक्विजिशनको बाटोलाई खुला राखेको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको व्यवसाय खुम्चाउने नीति ल्याएको भनेर बैंकरहरू गुनासो गर्नु हुन्छ । यसमा के भन्नु हुन्छ ? यस्तो छैन । हामीले बैंक तथा वित्तीय संस्थाहरूले अर्थतन्त्रका क्षेत्रहरूमा कर्जा प्रवाह गर्ने, अर्थतन्त्रका विभिन्न क्षेत्रमा सहयोग वा मध्यस्थकर्ताको भूमिका निर्वाह गर्ने हो । जुन मध्यस्थतालाई राष्ट्र बैंकले बैंकिङ स्ट्याण्डर्ड, अन्तर्राष्ट्रिय अभ्यास, अनुभवको आधारमा ती क्षेत्रलाई खुम्च्याउन सक्दैन । र, खुम्च्याउने गरी राष्ट्र बैंकको कुनै पनि नीति तथा कार्यक्रम ल्याएको छैन । बैंक तथा वित्तीय संस्थाहरूले गर्ने व्यवसायलाई अन्य क्षेत्रमा मोडिएको छैन । अर्थतन्त्रलाई उत्पादनमुलक क्षेत्रमा कर्जा प्रवाह गर्न प्रोत्साहन गर्ने हिसाबले ल्याइएका नीति हुन् । यी नीतिले समाजमा रहेका विभिन्न किसिमका फर्म, कम्पनी, उद्योगी व्यवसायीलाई कर्जा प्रवाह गर्न सकुन भन्ने हिसाबले राष्ट्र बैंकले नीति ल्याएको हो । यदि बैंकको पहुँच विस्तार भएपछि क्रमशः ती नीतिहरूलाई न्यूट्रलाइज हुँदै जान्छन् । अर्थतन्त्रको विकास गर्ने हिसाबले पनि राष्ट्र बैंकले यस्ता नीति ल्याउने गर्छ । प्राथमिकता प्राप्त क्षेत्र अर्थतन्त्रका लागि आवश्यक छन् । जसले यी क्षेत्रमा कर्जा प्रवाह गरेर उत्पादनमुलक क्रियाकलाप बढाउन सकिन्छ । जसले आयआर्जन, रोजगारी श्रृजना गर्न सक्छन् । र, अर्थतन्त्रमा एउटा हिस्सा बन्न सक्छन् भन्ने हिसाबले ल्याइएका हुन् । यस्ता नीतिहरू भारत लगायत विकसित देशहरूमा समेत छन् । विशेषगरी विकासमा लम्किरहेका विकासोन्मुख देशमा यस्ता नीति छन् । थ्रेस होल्डका विषयमा विशेषगरी सेक्टरल रिस्क एक्सपोजरलाई कम गर्नका लागि जोखिम कम गर्न ल्याएका हुन् ।
भेरी अस्पतालमा आगलागीबाट ३ करोडको क्षति, ओपीडी सेवा स्थगित
काठमाडौं । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालको मेडिकल स्टोरमा आगलागी हुँदा करिब ३ करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ । आगलागीका कारण आइतबार र सोमबार आकस्मिक सेवाबाहेक अन्य सबै सेवा बन्द गरिएको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. निराजन सुवेदीका अनुसार शनिबार ओपीडी भवनमा रहेको मेडिकल स्टोरमा आगलागी भएपछि ओपीडी सेवा र ल्याब सेवा दुई दिनका लागि स्थगित गरिएको हो । विद्युत सर्ट भई भ्याक्सिन राख्ने फ्रिजबाट आगलागी शुरु भएको प्रारम्भिक अनुमान गरिएको छ । आगलागीबाट ओपीडी भवन, मेडिकल स्टोर र फार्मेसीमा ठूलो क्षति पुगेको डा. सुवेदीले जानकारी दिए । यद्यपि आगलागीको वास्तविक कारण र क्षतिको विस्तृत विवरण पत्ता लगाउन डा. डक्ट धितालको नेतृत्वमा पाँच सदस्यीय अनुसन्धान समिति गठन गरिएको छ । समितिलाई चाँडो प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ । आगलागी नेपालगञ्ज उपमहानगरपालिकाको दमकलको सहयोगमा नियन्त्रणमा लिइएको थियो । आगो निभाइसकेपछि बिल्डिङभित्र पानी र जलेका सामानहरू छरपस्ट रहेकाले दुई दिन आकस्मिक बाहेक अन्य सेवा बन्द गरिएको अस्पतालले जनाएको छ । 'अल्ट्रासाउन्ड र इमर्जेन्सी सेवा भने सुचारु रहेका छन्,' डा. सुवेदीले भने, 'तर ओपीडी सेवा र ल्याब सेवा आइतबार र सोमबार बन्द रहनेछ ।'
औद्योगिक सम्पत्तीको दता गर्न प्रोत्साहन गर्नुपर्छ : अध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले औद्योगिक सम्पत्ती दर्ता गर्न प्रोत्साहन गर्न राज्यको भूमिका फराकिलो हुनुपर्ने बताएका छन् । विश्व बौद्धिक सम्पत्ति दिवसका अवसरमा उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय, उद्योग विभाग तथा संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, प्रतिलिपी अधिकार राजिष्ट्रारको कार्यालयले शनिवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले उक्त धारणा राखेका हुन् । बौद्धिक सम्पत्ति (आइपी) बारे पर्याप्त ज्ञानको अभावले पनि यसको संरक्षणमा चुनौती थपिने गरेको उल्लेख गर्दै अध्यक्ष ढकालले कतिपय ट्रेडमार्कका विषयमा विवादहरु आउने गरेकाले यसको समाधानमा जोड दिनुपर्ने बताए । उनले ट्रेडमार्क तथा पेटेन्टका विषयमा पर्ने उजुरी र यसको सुनुवाईको प्रक्रियालाई सरल रहज र छिटो गर्नुपर्ने सुझाव दिए । ‘नेपालको कानूनले पनि बौद्धिक सम्पत्तिलाई कानुनमा सुरक्षित गरिएको छ । जसले पेटेन्ट, प्रतिलिपि अधिकार र ट्रेडमार्कहरूलाई सुरक्षित राख्न सहयोग गरेको छ । यस्ता कार्यक्रमले बौद्धिक सम्पत्तिका विषयमा जनचेतना अभिबृद्धिमा ठूलो सहयोग पुग्ने छ,’ उनले भने । उनले गीत संगीत क्षेत्र मनोरञ्जन उद्योगका रुपमा विकास हुँदै आएको अवस्थामा सर्जकहरुले सिर्जनाको संरक्षण आवश्यक रहेको बताए । विश्व बौद्धिक सम्पदा संगठन (वाइपो) ले पहिलो विश्व आईपी दिवस २००१ देखि मनाउन थालेको होे । विश्व बौद्धिक सम्पदा संगठनले हरेक वर्ष विभिन्न फरक फरक नारा तय गरेर यो दिवस मनाउँदै आइरहेको सन्दर्भमा यो वर्ष आईपी एण्ड म्युजिक फील द वेस्ट अफ आईपी भन्ने नारा तय गरेको छ ।
इनड्राइभद्वारा 'द बेटर ड्राइभ इनिसिएटिभ' कार्यक्रम सम्पन्न, चालक साझेदारहरूको सशक्तीकरणमा जोड
काठमाडौं । विश्वव्यापी मोबिलिटी र अर्बन सर्भिसेस प्लेटफर्म इनड्राइभले चालक साझेदारहरूको सशक्तीकरण र सामुदायिक संलग्नतालाई मजबुत बनाउन ‘द बेटर ड्राइभ इनिसिएटिभ - मनी, माइन्ड, म्यानर’ कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ कार्यक्रममा आर्थिक साक्षरता, मानसिक स्वास्थ्य, शिष्ट व्यवहार र व्यावसायिक सेवाको महत्वजस्ता विषयमा ज्ञान र सीप प्रदान गरिएको थियो । यस पहलको उद्देश्य सुरक्षित, पेशागत र मैत्रीपूर्ण सवारी प्रणाली निर्माण गर्न चालकहरूलाई आवश्यक मनोबल र सीप विकास गर्नु रहेको इनड्राइभले जनाएको छ । सहभागी चालकहरूलाई वित्तीय योजना, सडक सुरक्षाका सावधानीहरू, मानसिक स्वास्थ्य व्यवस्थापन र उत्कृष्ट ग्राहक सेवा सम्बन्धी प्रशिक्षण दिइएको थियो । ट्राफिक प्रहरीका प्रतिनिधिहरूद्वारा सञ्चालित सत्रमा सडक सुरक्षा र नियम पालना सम्बन्धी जानकारी प्रदान गरिएको थियो । आर्थिक साक्षरताका लागि आईएमईका चिफ ग्रोथ अफिसर संजीव न्यौपानेको नेतृत्वमा दिगो आर्थिक व्यवस्थापन, बचत, लगानी र डिजिटल वित्तीय उपकरणहरूको व्यवहारिक तालिम दिइयो । मानसिक स्वास्थ्य विषयमा ह्याप्पी माइन्ड्सकी संस्थापक श्रेया गिरीले तनाव व्यवस्थापन र सकारात्मक सोचको प्रभावबारे गहन छलफल गरिन् । इनड्राइभका एसिया प्यासिफिक क्षेत्रीय निर्देशक मार्क टलीले चालक साझेदारहरूको सशक्तीकरण केवल प्रविधिसँग सीमित नभई मानव कल्याण, सुरक्षा र आर्थिक सुदृढता सँग जोडिएको बताए । उनले ‘द बेटर ड्राइभ इनिसिएटिभ’ जस्ता पहलहरूले नेपालमा उत्तरदायी, दिगो र समावेशी मोबिलिटी इकोसिस्टम निर्माणमा महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरे ।
स्ट्यान्डर्ड चार्टर्ड बैंकद्वारा पहिलो क्षेत्रीय ‘करेस्पोन्डेन्ट बैंकिङ एकेडमी’ सम्पन्न
काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक (एससीबी) ले नियामक निकाय र प्रमुख वित्तीय संस्थाहरूसँगको सहकार्यमा सफलतापूर्वक कार्यशाला सम्पन्न गरेको छ । अन्तर्राष्ट्रिय बैंकिङमा वित्तीय सञ्चालन बलियो बनाउन, अनुपालन मापदण्ड सुधार गर्न र विश्वव्यापी उत्कृष्ट अभ्यास प्रवर्द्धन गर्ने उद्देश्यका साथ बैंकले नेपालमा पहिलोपटक यो कार्यशाला आयोजना गरेको हो । बिहीबार र शुक्रबार काठमाडौंमा आयोजना भएको दुईदिने कार्यशालाको उद्घाटन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव फणिन्द्र गौतमले गरेका थिए । उनले नेपालमा यस्ता कार्यक्रम आयोजना गर्नुको आवश्यकता औल्याउँदा क्षेत्रीय विषयविज्ञहरू ल्याउने एससीबीको प्रयासको सराहना गरे । साथै उनले वित्तीय अपराधविरूद्ध लड्न सरकार र वित्तीय क्षेत्रबीचको समन्वयमाथि जोड दिए । दुई दिने कार्यक्रममा एसियान र दक्षिण एसियाका १५ देशहरूबाट आएका १३० भन्दा बढी प्रतिनिधि सहभागी थिए । गोष्ठीमा केन्द्रीय बैंक, नियामक निकाय र बैंकिङ क्षेत्रका प्रतिनिधिहरू सहभागी थिए । विशेषज्ञहरूले सञ्चालन गरेको कार्यशाला, समूह छलफल र केस स्टडीमार्फत बैंकिङ र डिजिटल क्षमताहरूको प्रगतिबारे जानकारी गराएका थिए । गोष्ठीमा जोखिम व्यवस्थापन, एन्टी–मनी लन्डरिङ र आतंकवादी वित्तीयकरणविरूद्धका उपाय, कानुनी कारबाही, सीमापार कारोबारमा देखिने चुनौती, वित्तीय सन्देश प्रणालीमा नवप्रवर्तन र विदेशी विनिमयलगायतका विषयहरू समावेश गरेको थियो । नेपालका सीईओ तथा हेड अफ कभरेज गोरख राणाले गोष्ठीको उद्देश्य एन्टी मनी लन्डरिङलगायतका विषयमा जानकारी गराएका थिए । दुईदिने कार्यक्रममा क्यास प्रोडक्ट म्यानेजमेन्टका कार्यकारी निर्देशक चानी सिओङ, हेड अफ क्लाइन्ट एन्ड थर्ड पार्टी इन्टिेलिजेन्सका कार्यकारी निर्देशक क्रिस फ्लेमिङ, एसियान र दक्षिण एसियाका हेड अफ स्यान्क्शन्स कम्प्लयान्स सेर्हाने भिक्टर र एफसीसी एक्ट प्रमुख तथा एसीसी जोखिम विशेषज्ञ निर्देशक जयेश कदमले प्रशिक्षण दिएका थिए ।
काठमाडौं महानगरमा आज शोक बिदा
काठमाडौं । काठमाडौं महानगरपालिकाले पञ्चायतकालका पूर्वउपप्रमुख तीर्थराम डंगोलको निधनमा आज शोक बिदा दिएको छ । महानगरले सूचना जारी गर्दै अत्यावश्यक सेवाबाहेकका सबै कार्यालय बन्द गरिएको जनाएको हो । नेपाली कांग्रेसका नेता तथा पूर्वस्वास्थ्य राज्यमन्त्री समेत रहेका डंगोलको शुक्रबार राति ७७ वर्षको उमेरमा उपचारका क्रममा निधन भएको हो । लामो समयदेखि प्रोष्टेट क्यान्सर र मिर्गौलासम्बन्धी समस्याबाट ग्रसित डंगोलको शनिबार नेवारी परम्परा अनुसार अन्त्येष्टि गरिएको छ । डंगोल विसं २०५६ र २०६५ मा प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । साथै, उनले विसं २०६२–६३ को जनआन्दोलनमा काठमाडौं क्षेत्रको नेतृत्वसमेत गरेका थिए ।