यस्तो छ मंगलबारका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ८१ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४१ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ ०१ पैसा र बिक्रीदर १७४ रुपैयाँ ७२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०० रुपैयाँ ६५ पैसा र बिक्रीदर २०१ रुपैयाँ ४७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८८ रुपैयाँ ७३ पैसा र बिक्रीदर १८९ रुपैयाँ ५० पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०१ रुपैयाँ ५४ पैसा र बिक्रीदर १०१ रुपैयाँ ९६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ २९ पैसा र बिक्रीदर १०७ रुपैयाँ ७२ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११५ रुपैयाँ ६५ पैसा र बिक्रीदर ११६ रुपैयाँ १२ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ५५ पैसा र बिक्रीदर नौ रुपैयाँ ५९ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ११ पैसा र बिक्रीदर २१ रुपैयाँ २० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ १५ पैसा र बिक्रीदर ३९ रुपैयाँ ३१ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ २८ पैसा र बिक्रीदर ४० रुपैयाँ ४५ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाईभाट एकको खरिददर चार रुपैयाँ ७२ पैसा र बिक्रीदर चार रुपैयाँ ७४ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ९७ पैसा र बिक्रीदर ४० रुपैयाँ १३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ०२ पैसा र बिक्रीदर ३७ रुपैयाँ १७ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ १७ पैसा र बिक्रीदर १० रुपैयाँ २२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ४० पैसा र बिक्रीदर १६ रुपैयाँ ४६ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ३० पैसा र बिक्रीदर २३ रुपैयाँ ३९ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १८ रुपैयाँ ८३ पैसा र बिक्रीदर १८ रुपैयाँ ९० पैसा, कुवेती दिनार एकको खरिददर ४८१ रुपैयाँ २७ पैसा र बिक्रीदर ४८३ रुपैयाँ २३ पैसा, बहराइन दिनार एकको खरिददर ३८९ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३९० रुपैयाँ ९८ पैसा, ओमनी रियाल एकको खरिददर ३८१ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३८२ रुपैयाँ ९१ पैसा रहेको छ । यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
मुस्ताङ भन्सारबाट साढे ५ अर्ब राजस्व संकलन, बिवाईडीले भित्र्यायो ४ अर्ब २३ करोडका ईभी
अन्तरराष्ट्रिय भन्सार दिवसका अवसरमा व्यवसायी र कर्मचारी सम्मानित काठमाडौं । मुस्ताङ भन्सार कार्यालयले व्यवसायी र कर्मचारीलाई सम्मान प्रदान गरेको छ । नेपाल-चीन उत्तरी कोरला नाका स्थित लोमान्थाङ-२ छोसेरमा रहेको मुस्ताङ भन्सार कार्यालयले ७४औँ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा व्यवसायी र कर्मचारीलाई सम्मान प्रदान गरेको हो । जोमसोममा एक कार्यक्रम गरी कार्यालयका कम्प्युटर अपरेटर ओमप्रकाश महतोलाई सम्मान गरिएको छ । कठिन भूगोलमा रहेर लगनशील र कर्तव्यनिष्ठ भएर सेवाग्राही मैत्री कार्यसम्पादन गरेको भन्दै उनलाई भन्सार विभागले सम्मान अर्पण गरेको हो । कार्यक्रममा पुस मसान्तसम्म मुस्ताङ भन्सारबाट धेरै मूल्यको मालवस्तु निकासी गर्ने अष्ठ मङ्गल प्राइभेट कम्पनी र पैठारी गर्ने मेनल्यान्ड सिपिङ एण्ड लजिस्टिक कम्पनीलाई सम्मान गरिएको छ । साथै मुस्ताङ भन्सारबाट गत भदौ ३१ गतेदेखि हालसम्म बिवाईडी ब्राण्डका सवारी साधन बिक्री गर्ने साइमेक्स इन्क प्रालिले ४ अर्ब २३ करोड ४२ लाख रुपैयाँको मालवस्तु पैठारी गरेको र निकासीतर्फ अष्टा मङ्गल कम्पनीले ६ करोड ५६ लाख ९४ हजार रुपैयाँ बराबरको कारोबार गरेको कार्यालयले जनाएको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी अजिता शर्माले भन्सार कार्यालयलाई थप गतिशील र सेवा मैत्री तुल्याउन आवश्यक रहेको बताए । भन्सार सेवालाई थप प्रभावकारी, जिम्मेवार र उत्तरदायी बनाउँदै थप सुधार गर्नुपर्ने र त्यसका लागि प्रविधिमा जोड दिनुपर्ने उनको भनाइ छ । माथिल्लो मुस्ताङस्थित न्हेचुङमा २०१३ सालमा भन्सार कार्यालय स्थापना भएको बताए । कार्यालयका निमित्त भन्सार प्रमुख रमेश खड्काले पछिल्लो समय सडक स्तरोन्नितिसँगै नाकालाई पूर्ण रूपमा सञ्चालनमा ल्याइएपछि राजस्व वृद्धिका साथै व्यवसायीलाई समेत निकै सहज भएको बताए । कार्यक्रममा व्यवसायी प्रभु अधिकारी, मुस्ताङ उद्योग वाणिज्य सङ्घका सचिव तिलक विक लगायतले नाका पूर्ण सञ्चालनमा आए पनि व्यवस्थापनमा अझै सुधार गर्दै जानुपर्ने आवश्यकता औंल्याए । गत भदौ ३१ गतेबाट पूर्ण रूपमा सञ्चालनमा आएको यस नाकाबाट हालसम्म ५ अर्ब ५४ करोड ३ लाख रुपैयाँ राजस्व सङ्कलन गरिएको निमित्त प्रमुख खड्काले जानकारी दिए ।
रसुवा भन्सारले उठायो १.१६ अर्ब राजस्व, बढी कर तिर्ने सिजी मोटर र सोनामलाई सम्मान
काठमाडौं । रसुवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको साउनदेखि हालसम्म १ अर्ब १६ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ । साथै चीनबाट सामान बोकी आएका करिब २०० वटा माल वाहक कन्टेनरका सामग्रीको परीक्षण कार्य भइरहेको कार्यालयका प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईले जानकारी दिए । गत असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीका कारण सुक्खा बन्दरगाह क्षेत्रमा थुप्रिएको ढुङ्गा, बालुवा हटाउने कार्य नेपाल इन्टरमोडल यातायात विकास समितिमार्फत भइरहेको उनको भनाइ छ । उनका अनुसार हालसम्मको सरसफाइबाट करिब २५० वटा ट्रक अट्ने वातावरण बनेको छ भने केही भागमा अझै सफाइ कार्य बाँकी छ । ७४औँ भन्सार दिवसका अवसरमा उत्कृष्ट कार्य गर्ने २ जना व्यवसायी र ४ जना कर्मचारीलाई कार्यालयले सम्मान गरेको छ । व्यवसायीतर्फ विद्युतीय सवारीसाधन आयात गरी गत आवमा राज्यलाई ३ अर्ब २१ करोड रुपैयाँ राजस्व बुझाउने सिजी मोटर सप्लायर्स तथा ७४ करोड रुपैयाँ बराबरको सामग्री निर्यात गर्ने फिन्जो सोनाम सप्लायर्स, काठमाडौंलाई सम्मान गरिएको हो । कर्मचारीतर्फ नायब सुब्बा रमेश ज्ञावली, इलेक्ट्रिसियन राजु ओली, हल्का सवारी चालक श्यामकुमार सिलवाल र कार्यालय सहयोगी नरेश दत्त जोशीलाई सम्मानपत्र प्रदान गरिएको छ । रसुवागढी नाकालाई नीतिनियमअनुसार सञ्चालन गर्दै उत्तरी नाकाको गरिमा अझ उच्च बनाउन सबैपक्ष जिम्मेवार बन्नुपर्नेमा सरोकारवालाहरुले जोड दिए । साथै सडक सुधार कार्ययोजना सफल बनाउन सबैको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै चीन सरकारको सहयोगमा सुधार हुन लागेको सडकको पहिलो चरणमा असहज मोडहरू सिधा बनाउन सवारी चालकले माग गरेका छन् ।
सपोर्ट लघुवित्तको नाफामा १०४.८३ प्रतिशत उछाल, ईपीएस ५१.८७ रुपैयाँ
काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाको चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासमा खुद नाफा १०४.८३ प्रतिशत बढेर ३ करोड १७ लाख ५५ हजार रुपैयाँ आर्जन गरेको छ । लघुवित्तले गत वर्षको सोही अवधिमा १ करोड ५५ लाख रुपैयाँ खुद नाफा गरेको थियो । चालु आर्थिक वर्षको ६ महिनामा लघुवित्तको खुद ब्याज आम्दानी ७३.२० प्रतिशत बढेर ८ करोड ९४ लाख ४९ हजार रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा लघुवित्तले ५ करोड १६ लाख ४५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आवको दोस्रो त्रैमासमा लघुवित्तको खुद शुल्क तथा कमिसन आम्दानी ११.९० प्रतिशत बढेर ७ लाख ९० हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी ६०.२१ प्रतिशत बढेर १० करोड ३९ लाख १० हजार रुपैयाँ र सञ्चालन नाफा ७३.८३ प्रतिशत बढेर ३ करोड ८४ लाख ९९ हजार रुपैयाँ गरेको छ । लघुवित्तको वितरणयोग्य नाफा ४ करोड ४० लाख रुपैयाँ रहेको छ । १२ करोड २४ लाख रुपैयाँ चुक्ता पुँजी रहेको लघुवित्तको जगेडा कोषमा १० करोड ८९ लाख रुपैयाँ सञ्चित छ । नाफासँगै लघुवित्तको प्रतिसेयर आम्दानी (ईपीएस) २६.५५ रुपैयाँ बढेर ५१.८७ रुपैयाँ पुगेको छ । पुस मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ३४.३७ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १८९.१ रुपैयाँ रहेको छ । समीक्षा अवधिमा लघुवित्तको खराब कर्जा १.४३ प्रतिशत बढेर ३.१७ प्रतिशत पुगेको छ । गत वर्षको सोही अवधिमा १.७४ प्रतिशत खराब कर्जा थियो ।
पेट्रोलियम पदार्थ आयात निरन्तर उकालो, वीरगञ्जबाट मात्रै ९० अर्बको भित्रियो
काठमाडौं । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको ६ महिनामा ९० अर्ब ६ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । वीरगञ्ज नाका हुँदै गत आवको ६ महिनाको तुलनामा चालु आवमा सोही अवधिमा २ अर्ब ७५ करोड रुपैयाँ बढीको पेट्रोलियम पदार्थ आयात भएको हो । चालु आवको ६ महिनामा पेट्रोलियम पदार्थको आयातबाट भने ३७ अर्ब ८५ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार गत आवको ६ महिनाको तुलनामा चालु आवको सोही अवधिमा पेट्रोलियम पदार्थको आयात र सोबाट प्राप्त हुने राजस्वमा पनि उल्लेखनीय वृद्धि भएको छ । जबकि गत आवको छ महिनामा भने ८७ अर्ब ३१ करोड रुपैयाँको पेट्रोलियम पदार्थ आयात हुँदा ३६ अर्ब १४ करोड रुपैयाँ राजस्व सङ्कलन भएको थियो । भन्सार कार्यालयका अनुसार चालु आवको ६ महिनामा ४५ अर्ब ३८ करोड रुपैयाँ पर्ने डिजेल आयात हुँदा १९ अर्ब ८५ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ । त्यसैगरी सोही अवधिमा २० अर्ब ९८ करोड रुपैयाँको पेट्रोल आयात हुँदा १३ अर्ब ८२ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ । त्यस्तै १४ अर्ब ७९ करोड रुपैयाँको एलपीजी ग्यास आयात हुँदा २ अर्ब ७७ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ ।
बागलुङको गौरवको आयोजना ‘ब्लु हिल’मा पर्यटकीय पूर्वाधार निर्माणमा साढे २ करोड खर्च
काठमाडौं । बागलुङ नगरपालिकाको गौरवको आयोजनाका रूपमा रहेको बागलुङ नगरपालिका-९ स्थित ‘ब्लु हिल’मा अहिले पूर्वाधार निर्माणलाई तीव्रता दिइएको छ । आगामी असार मसान्तसम्म २ करोड ५० लाख रुपैयाँ बराबरको भौतिक संरचना तयार हुने गरी तीव्र गतिमा निर्माण भइरहेको हो । यसअघि बागलुङ नगरपालिकाले जग्गा व्यवस्थापन, शौचालय तथा सत्तल निर्माणमा ७० लाख रुपैयाँ खर्च गरिसकेको छ । आँखै अघि देखिने दुई दर्जन हिमशृङखला र बागलुङ बजारको दृश्यले बागलुङको डोयलाई पर्यटकीय केन्द्र बनाउनका लागि नगरपालिकाले ‘ब्लु हिल’ नामकरण गरेको थियो । ब्लु हिललाई धार्मिक तथा पर्यटकीय गन्तव्य बनाउनका लागि पूर्वाधार निर्माण गत वर्षदेखि थालिएको हो । २५ करोड रुपैयाँको पूर्वाधार बनाउने विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)मा उल्लेख गरिएको छ । गत वर्ष पहिलो चरण अन्तर्गत ७० लाख रुपैयाँको र चालु आवमा दोस्रो चरण अन्तर्गत २ करोड ५० लाख रुपैयाँको काम भइरहेको बागलुङ-९ तित्याङका वडाध्यक्ष राजु थापाले जानकारी दिए । उनका अनुसार अहिले ब्लु हिलमा निर्माण गर्ने २० फिट शिवको मूर्ति राख्नका लागि आवश्यक दुई तला पक्की भवन बनाउने काम भइरहेको छ । डोयको निलो पहाडलाई ब्लु हिलका रूपमा परिणत गर्न नगरपालिकाले बजेट विनियोजन गरी लगानी गरिरहेको छ । यस वर्ष २ करोड ५० लाख रुपैयाँको पूर्वाधारसहित शिवमूर्ति निर्माण गर्न निर्माण कम्पनी क्वालिसट रिन्युयबल इनर्जीले तीव्रताका साथ काम गरिरहेको छ । प्राकृतिक क्षेत्रमा धार्मिक पूर्वाधार बनाएर पर्यटक भित्र्याउने उद्देश्य राखिएको बागलुङ नगरपालिकाले जनाएको छ । पर्यटकीय गन्तव्य बनाउन बागलुङ नगरपालिकाले गत वर्षदेखि नगरकै गौरवको योजनाका रूपमा डोयको पहाडलाई ब्लु हिल नामकरण गरेर पर्यटकीय पूर्वाधार निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाएर काम अघि बढाएको थियो । मनोरम प्राकृतिक सौन्दर्यता भएको डोयको डाँडालाई नगरपालिकाले ‘ब्लु हिल’ नामकरण गरेपछि नगरपालिकाले लगानी गरिरहेको बागलुङ-९ का वडाध्यक्ष थापाले जानकारी दिए । ‘नगरकै ठूलो लगानीमा पूर्वाधार निर्माण थालिएको छ, हामीले पहाडमाथि शिवमूर्ति बनाएर धार्मिक पर्यटक र प्रकृति प्रेमी पर्यटक भित्र्याउने उद्देश्य राखेका छौँ, ठूलो पूर्वाधार बने पनि स-साना पूर्वाधार पछि बन्छन्,’ उनले भने, ‘पर्यटकीय गन्तव्य बनेपछि अन्य पूर्वाधारले प्राथमिकता पाउनेछन्, त्यहाँ पुग्ने सडक भने सुधारको आवश्यक छ ।’ ब्लु हिल पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न २४ करोड ५६ लाख २२ हजार रुपैयाँको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार गरेको थियो । गत वर्ष जग्गा सम्याउने, पर्खाल लगाउने, सत्तल निर्माण गर्ने र शौचालय बनाउने काम सम्पन्न भएको थियो । यस क्षेत्रमा वनभोजस्थल, ध्यान केन्द्र, दृश्य अवलोकन स्थल, जिमहल, मन्दिर, पार्किङलगायत अतिरिक्त पूर्वाधार निर्माण गर्ने डीपीआरमा उल्लेख छ । दृश्यावलोकनका लागि ब्लु हिलमा आन्तरिक पर्यटक पुर्याउन नगरपालिकाको ठूलो लगानी भइरहेको बागलुङ नगरपालिकाका प्रमुख वसन्त कुमार श्रेष्ठले बताए । नगरपालिकाको उत्कृष्ट गन्तव्यका रूपमा विकास गर्न नगरपालिकाले आन्तरिक बजेटबाट ठूलो लगानी गरिरहेको बताउँदै ब्लु हिलमा थामि नसक्नु धार्मिक पर्यटक भित्रिने उनले विश्वास व्यक्त गरे । ‘नगरपालिकाभित्रको पर्यटकीय सम्भावना बोकेको डोय प्राकृतिक रूपमा सुन्दर र हरियाली छ । आँखै अगाडि हिमाल र बागलुङ बजार देखिन्छ । प्रकृति र धर्मलाई सँगै जोडेर पर्यटक भित्र्याउने गरी पक्की संरचना निर्माणले गति लिएको छ । अहिले एकसाथ १६ वटा खम्बा खडा गरिएको छ,’ नगर प्रमुख श्रेष्ठले भने, ‘ब्लु हिल स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्ने गरी नामकरण गरेका छौँ । मौसम खुलेको समयमा यहाँ आउने जो-कोहीले हरियाली पहाडबाट धौलागिरि, माछापुच्छ्रे, निलगिरि अन्नपूर्णलगायत दुई दर्जन हिमालसँगै बागलुङ बजार देख्न सकिन्छ ।’ समुद्री सतहबाट करिब २ हजार २०० मिटरको उचाइमा पर्यटकीय पूर्वाधार निर्माण गर्न थालेपछि ब्लु हिलले चर्चा पाउन थालेको छ । विस्तृत परियोजना प्रतिवेदनका अनुसार योजनाले पूर्णता पाउन भने समय लाग्नेछ ।
‘एसियन हाइवे’ निर्माण २ वर्षमा ३५ प्रतिशत प्रगति, एक लेन कालोपत्रे सुरु
काठमाडौं । सडक सञ्जालमार्फत एसियाली राष्ट्रलाई जोड्ने मुख्य उद्देश्यका साथ अगाडि बढाइएको ‘एसियन हाइवे’ काँकरभिट्टाबाट लौकही सडक खण्डमा निर्माण सुरु भएको दुई वर्षमा करिब ३५ प्रतिशत काम सकिएको छ । आइतबारदेखि झापाको पाडाजुगीबाट पश्चिम सडक पहिलो चरणको एक लेन कालोपत्रे सुरु भएको आयोजनाअन्तर्गत पश्चिम खण्ड इटहरी कार्यालयका प्रमुख जगत प्रजापतिले बताए । निर्माण सम्झौता भएको २ वर्षमा करिब ३५ प्रतिशत काम सकिएको उनले जानकारी दिए । प्रमुख प्रजापतिका अनुसार एसियन राजमार्ग नं २ अन्तर्गत काँकरभिट्टाबाट लौकहीसम्मको १२० किलोमिटर सडक स्तरोन्नति हुने भनिए पनि हाल ९५.७६ किमी सडक मात्र ठेक्का लागेर काम भइरहेको छ । पूर्वी खण्ड र पश्चिम खण्ड गरी दुई भागमा विभाजन गरेर काम भइरहेको उनले उल्लेख गरे । हालसम्म दुवै खण्डमा गरी करिब २० किलोमिटर एकतर्फी सडकमा पहिलो चरणको कालोपत्रे सकिएको छ । आयोजना पूर्वी खण्ड दमक कार्यालयका प्रमुख सुनिलबाबु पन्तका अनुसार पूर्वीखण्डमा पनि करिब ३५ प्रतिशत काम सम्पन्न भएको बताए । निर्माण सामग्री उपलब्धतामा सहजता भएमा कामले तीव्रता पाउने पन्तले बताए । पूर्वी खण्डमा बिजुलीका खम्बा सार्ने काम करिब ८० प्रतिशत सकिएको जनाउँदै उनले पश्चिम खण्डमा करिब ४० प्रतिशत मात्र काम भएको बताए । बजार क्षेत्रका खम्बा सार्न बाँकी रहेको आयोजना कार्यालयले जनाएको छ । कार्यालयका अनुसार पूर्वी खण्डका ठूला पुल निर्माणमा २३ प्रतिशत प्रगति भएको छ भने पश्चिम खण्डमा २५ प्रतिशत प्रगति भएको छ । एसियन हाइवे थाइल्याण्डको बैंककबाट सुरु भई म्यान्मा, बङ्गलादेश, भारत हुँदै नेपालको काँकडभिट्टाबाट पूर्व-पश्चिम राजमार्ग भएर भारतको दिल्ली हुँदै पाकिस्तानको कराँचीसम्म पुग्नेछ । तीन वर्षमा निर्माण सम्पन्न गर्ने योजनाका साथ एशियाली विकास बैंकको आर्थिक सहयोगमा विसं २०८० माघ १९ गतेदेखि सडक निर्माण काम सुरू भएको हो । यो आयोजना निर्माणमा ३० करोड अमेरिकी डलर लाग्ने अनुमान गरिएको छ । ३ वर्गमा निर्माण हुने उक्त सडक बजार क्षेत्र, जङ्गल क्षेत्र र ग्रामीण क्षेत्र भनेर छुट्याइएको छ । बजार क्षेत्रमा ५० मिटर, जङ्गल क्षेत्रमा २४ मिटर र ग्रामीण क्षेत्रमा ३३ मिटर चौडाइको सडक निर्माण हुनेछ ।
देशभरका ९ जिल्ला डढेलोको उच्च जोखिममा, यी हुन मध्यम र कम जोखिम भएका जिल्ला
काठमाडौं । देशका विभिन्न ९ जिल्ला वन डढेलोको उच्च जोखिममा रहेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अघिल्लो वर्षको विवरणका आधारमा बाँके, बर्दिया, चितवन, दाङ, कैलाली, कञ्चनपुर, पर्सा, सल्यान र सुर्खेत वन डढेलोको उच्च जोखिममा रहेका हुन् । यस्तै, अछाम, अर्घाखाँची, बारा, डडेल्धुरा, डोटी, गोरखा, जाजरकोट, कपिलवस्तु, मकवानपुर, नवलपुर, प्युठान, सिन्धुली र उदयपुर भने मध्यम जोखिममा छन् । प्राधिकरणले वन डढेलो पूर्वानुमान, निगरानी तथा चेतावनीलाई प्रभावकारी बनाउने, पूर्वतयारी र वन व्यवस्थापनका उपायलाई अवलम्बन गरी वन डढेलोको जोखिम कम गर्ने कार्ययोजना तय गरेको छ । सङ्घ, प्रदेश, तथा स्थानीय तहका जिम्मेवार निकाय तथा सरोकार भएकाहरूका बीचमा समन्वय गरी डढेलो नियन्त्रणका प्रयासलाई थप प्रभावकारी र परिणाममुखी बनाउने प्राधिकरणले कार्ययोजना तय गरेको छ । वन डढेलो नियन्त्रण गरी जनधन तथा पर्यावरणीय स्रोतको हानि नोक्सानी न्यूनीकरण गर्नु कार्ययोजना तय गरिएको छ । जनचेतना अभिवृद्धि तथा नियमनलाई प्रभावकारी बनाई वन डढेलोको जोखिम बारेको बुझाइलाई स्पष्ट पार्ने रणनीति तय गरिएको छ । वन डढेलोको आँकलन, वन क्षेत्र एवं वनजन्य इन्धन व्यवस्थापन गरी आगलागीको जोखिम न्यूनीकरण गरिनेछ । मौसम पूर्वानुमान एवं पूर्व सूचनालाई सुदृढ र सबल बनाई वन डढेलोजन्य विपद् प्रति कार्यलाई प्रभावकारी बनाउने रणनीति तय गरिएको छ । प्रविधिको प्रयोग एवं मानव संशाधन परिचालनमार्फत आगलागी जोखिम क्षेत्रको निगरानी, अनुगमन, पहिचान तथा पूर्व चेतावनीलाई प्रभावकारी प्रभावकारी बनाउने, सरोकारवाला निकायबीच समन्वय, सञ्चार कायम गर्दै सचेतना मूलक अभियान, तालिम र कृत्रिम अभ्यासमार्फत पूर्वतयारी तथा डढेलो नियन्त्रण कार्यलाई सुदृढ तुल्याउने रणनीति प्राधिकरणले तय गरेको छ । यसैगरी, वन डढेलोबाट प्रभावित वर्ग, क्षेत्र र समुदायको उद्धार, उपचार राहत तथा पुनःस्थापनासम्बन्धी कार्यलाई प्रभावकारी तुल्याउने, अनुगमन र तथ्याङ्क व्यवस्थापनसम्बन्धी कार्यलाई प्रभावकारी बनाई पृष्ठपोषण र अध्ययन तथा अनुसन्धानको आधार तयार पार्ने प्राधिकरणको रणनीति छ ।