हाइब्रिडमा सफलतापश्चात ईभीमा जम्दै टोयोटा, २०२५ र २६ मा नौवटा नयाँ ईभी ल्याउने

<p>काठमाडौं । टोयोटाले सन् २०२५ र २०२६ मा आफ्नो टोयोटा र प्रिमियम लेक्सस ब्रान्डका लागि युरोपमा कुल नौवटा पूर्ण रूपमा विद्युतीय मोडेलहरू (ईभी) सार्वजनिक गर्ने भएको छ । टोयोटाले बुधबार यस्तो घोषणा गरेको हो । यसले ठूलो ईभी बजारमा प्रतिस्पर्धा गर्ने बुझिएको छ । जापानी अटो निर्माता कम्पनीले यस वर्ष टोयोटा ब्रान्डका नयाँ संस्करणका तीनवटा [&hellip;]</p>

काठमाडौं । टोयोटाले सन् २०२५ र २०२६ मा आफ्नो टोयोटा र प्रिमियम लेक्सस ब्रान्डका लागि युरोपमा कुल नौवटा पूर्ण रूपमा विद्युतीय मोडेलहरू (ईभी) सार्वजनिक गर्ने भएको छ ।

टोयोटाले बुधबार यस्तो घोषणा गरेको हो । यसले ठूलो ईभी बजारमा प्रतिस्पर्धा गर्ने बुझिएको छ ।

जापानी अटो निर्माता कम्पनीले यस वर्ष टोयोटा ब्रान्डका नयाँ संस्करणका तीनवटा विद्युतीय एसयूभी सार्वजनिक गर्नेछ, जसलाई २०२६ मा थप तीनवटा मोडेलहरूले पछ्याउने छन् ।

त्यसैगरी, कम्पनीले आगामी १२ महिनामा युरोपमा तीनवटा लेक्सस ब्रान्डका ईभी पनि ल्याउने जनाइएको छ ।

बिक्रीका आधारमा विश्वको सबैभन्दा ठूलो अटो निर्माता टोयोटा परम्परागत प्रतिस्पर्धीहरूको तुलनामा ईभी रणनीतिमा बढी सतर्क देखिएको छ ।

गएको वर्षमा विद्युतीय गाडीहरूको माग विश्वभर सुस्ताउँदा टोयोटाले विशेषगरी अमेरिकाजस्तो प्रमुख बजारमा आफ्नो हाइब्रिड मोडेल लाइनअपबाट फाइदा उठाएको छ ।

टोयोटाको ईभी कार ।

टोयोटाले पहिलो पटक हाइब्रिड गाडी सन् १९९७ मा सार्वजनिक गरेको थियो । यसको पहिलो हाइब्रिड मोडेल टोयोटा प्रिअस हो, जसले स्वच्छ ऊर्जामा आधारित गाडीको युगको सुरुवात गर्‍यो ।

टोयोटाले हालसम्म २ करोडभन्दा बढी हाइब्रिड गाडी बिक्री गरिसकेको छ । यो संख्या २०२३ को अन्त्यसम्मको हो र कम्पनीले लगातार आफ्ना हाइब्रिड मोडेलहरूको उत्पादन र बिक्री विस्तार गरिरहेको छ ।

हाइब्रिड गाडीहरूको सफलताले टोयोटालाई इलेक्ट्रिक गाडीमा ढिलो प्रवेश गर्दा पनि बजारमा मजबुत बनाइराखेको छ । टोयोटाले सन् २०२२ मा २४ हजार  विद्युतीय कारहरू उत्पादन गरेको थियो । कम्पनीले २०२५ सम्ममा वार्षिक रूपमा ६ लाख विद्युतीय कारहरू उत्पादन गर्ने लक्ष्य राखेको छ ।

युरोपमा नयाँ पूर्ण विद्युतीय कारहरूको बिक्री जनवरी महिनामा ३७.३ प्रतिशतले उकालो लागेको छ । ईभीले बजारको करिब १७ प्रतिशत हिस्सा ओगटेको छ ।

टोयोटाले दिएको विज्ञप्तिमा भनेको छ कि कार्बनडाइअक्साइड उत्सर्जन कटौती गर्न यसको ‘बहु-मार्गीय रणनीति’ विभिन्न क्षेत्रका ग्राहकहरूका लागि सही विकल्प प्रदान गर्न केन्द्रित छ ।

उदाहरणका लागि ईभी बिक्री अझै कमजोर रहेको दक्षिण अमेरिकामा टोयोटाले हाइब्रिड गाडीहरूलाई प्राथमिकता दिनेछ ।

‘विकल्पहरू उपलब्ध गराउनु र अवसरहरू सिर्जना गर्नु नै उत्कृष्ट गाडीहरू उत्पादन गर्ने हाम्रो मुख्य आधार हो,’ टोयोटाका प्रमुख ब्रान्डिङ अधिकृत साइमन हम्फ्रिजले विज्ञप्तिमा भने ।

२०२४ मा युरोपमा टोयोटाको बिक्री १३.१ प्रतिशतले वृद्धि भएर १० लाख युनिट नाघेको थियो जबकि समग्र बजार वृद्धि दर ०.९ प्रतिशतमात्र थियो । (एजेन्सीहरूको सहयोगमा)

यी पनि पढ्नूहोस् : 

निसानले पायो नयाँ सीईओ, दिशाहीन कम्पनीको लय अनुभवी एस्पिनोसाको हातमा

मस्कलाई ट्रम्प प्रशासन घाँडो, वाशिंगटन प्रवेशसँगै टेस्लाका सेयर घट्दै

Share News