
इभान एस्पिनोसा । फाइल तस्बिर
काठमाडौं । निसानले इभान एस्पिनोसालाई आफ्नो नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त गरेको छ ।
दुई दशकदेखि कम्पनीसँग आबद्ध रहेका एस्पिनोसालाई विगतका वर्षहरूमा घोटाला, व्यवस्थापकीय अस्थिरता र बिक्रीमा गिरावटका कारण बदनाम भएको कम्पनीलाई पुनर्जीवित गर्ने जिम्मेवारी कम्पनीले दिएको छ ।
४६ वर्षीय एस्पिनोसा मेक्सिकोका नागरिक हुन् र निसानका मुख्य योजना अधिकृत हुन् । अब उनले तेस्रो ठूलो जापानी कार निर्माता कम्पनीको नेतृत्व गर्नेछन् । यससँगै निसानले ६ वर्षमा चौथो पटक सीईओ नियुक्त गरेको छ ।
सन् २००३ मा पहिलो पटक निसानको मेक्सिको शाखामा प्रवेश गरेका एस्पिनोसा दक्षिणपूर्वी एसिया र युरोपमा पनि विभिन्न पदहरूमा काम गरिसकेका छन् । उनी अप्रिल १ देखि सीईओको रूपमा कार्यभार सम्हाल्नेछन् ।
सूत्रहरूका अनुसार निसानको बिग्रँदो आम्दानी र यो वर्ष होन्डासँगको मर्जर वार्ता असफल भएपछि माकोटो उचिडामाथि राजीनामाको दबाब बढ्दै गएको थियो ।
एस्पिनोसाको नियुक्तिले मर्जर वार्ता पुनः सुरु हुने वा कुनै नयाँ साझेदारबाट लगानीको सम्भावना खुल्ने वा नखुल्ने स्पष्ट छैन ।
ब्रोकर फर्म सीएलएसएका जापानी अटोविश्लेषक क्रिस्टोफर रिच्टरले भने, ‘उनी एकदमै जोशिला उत्पादन विशेषज्ञ हुन् । निसानले उत्पादनलाई उच्च प्राथमिकता दिन चाहन्छ भन्ने यो राम्रो संकेत हो, किनकि निसान ब्रान्ड लामो समयदेखि दिशाहीन बन्दै गइरहेको छ ।
अनुभवी कर्मचारी
एस्पिनोसाले उत्पादन योजना तथा विकासमा अनुभव राखेका छन् । साथै उनले निसानको वैश्विक उत्पादन रणनीति र पोर्टफोलियोको व्यवस्थापन गरेका छन् ।
उनी अप्रिल २०२४ मा कम्पनीको मुख्य योजना अधिकारी (सीपीओ)मा नियुक्त भएका थिए ।
कम्पनीको घोषणापछि आयोजित अनलाइन पत्रकार सम्मेलनमा एस्पिनोसाले भने, ‘मलाई यो निर्णयको बारेमा भर्खरै जानकारी दिइएको छ, म अझै यसलाई बुझ्ने प्रक्रियामा छु । हामीले धेरै सम्भावनाका ढोकाहरू खुला गर्न सक्छौं ।
होन्डासँग वार्ता पुनः सुरु हुने सम्भावनाबारे सोध्दा उनले प्रतिक्रिया दिन मानेनन् ।
२०१८ मा पूर्व अध्यक्ष कार्लोस गोसनलाई आर्थिक अनियमितताको आरोपमा टोकियोका अभियोजनकर्ताले हटाएपछि निसान कहिल्यै पूर्ण रूपमा उकासिन सकेको छैन ।
हालको वित्तीय वर्षमा (मार्च अन्त्यसम्म) निसानले तीन पटकसम्म नाफाको पूर्वानुमान घटाइसकेको छ । (एजेन्सीहरूको सहयोगमा)
संकटमा निसान : ६ वर्षमै चौथो सीईओको खोजी