मस्कलाई ट्रम्प प्रशासन घाँडो, वाशिंगटन प्रवेशसँगै टेस्लाका सेयर घट्दै

<p>काठमाडौं । टेस्लाको सेयरले अहिलेसम्म यस्तो घाटा बेहोरेको थिएन । जबदेखि टेस्लाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्क  वाशिंगटन गएर ट्रम्प प्रशासनमा सामेल भए तबदेखि टेस्लाको सेयर घटिरहेको छ । लगातार सात हप्तासम्म टेस्लाको सेयर घटेको छ । सार्वजनिक कम्पनी बनेको १५ वर्षमा यो टेस्लाको अहिलेसम्मकै सबैभन्दा लामो गिरावट हो । २०२५ मा करिब ३० प्रतिशत [&hellip;]</p>

काठमाडौं । टेस्लाको सेयरले अहिलेसम्म यस्तो घाटा बेहोरेको थिएन ।

जबदेखि टेस्लाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्क  वाशिंगटन गएर ट्रम्प प्रशासनमा सामेल भए तबदेखि टेस्लाको सेयर घटिरहेको छ । लगातार सात हप्तासम्म टेस्लाको सेयर घटेको छ ।

सार्वजनिक कम्पनी बनेको १५ वर्षमा यो टेस्लाको अहिलेसम्मकै सबैभन्दा लामो गिरावट हो ।

२०२५ मा करिब ३० प्रतिशत गिरावट

यस वर्ष टेस्लाका सेयरमा करिब ३० प्रतिशत गिरावट आएको छ। यो गिरावट विश्वका प्रमुख कम्पनीहरू गुगल र एनभीडीयाको भन्दा पनि धेरै हो । गुगलका सेयरहरू यस वर्ष करिब ८ प्रतिशत घटेका छन् भने एनभीडीयाका सेयरमा करिब १८ प्रतिशत गिरावट आएको छ । टेस्लाका सेयर पछिल्लो एक महिनामा मात्रै करिब २५ प्रतिशत घटिसकेका छन् ।

विश्लेषकहरूले टेस्लाका नयाँ गाडीहरूको बिक्री घट्दै गएको र ‘कम लागतको मोडेल’ सम्बन्धी मस्कबाट हालसालै कुनै अपडेट नआएको कारण देखाएका छन् ।

गोल्डम्यानका विश्लेषकहरूले युरोप, चीन र अमेरिकाका विभिन्न बजारमा टेस्लाका इलेक्ट्रिक गाडी बिक्री घटेको उल्लेख गरेका छन् ।

गोल्डम्यानका विश्लेषकहरूले भने, ‘चीनमा एफएसडी (पूर्ण स्वचालित ड्राइभिङ) को लागि टेस्लाले कडा प्रतिस्पर्धा सामना गरिरहेको छ, जहाँ प्रमुख प्रतिस्पर्धीहरूले स्मार्ट ड्राइभिङ सुविधाहरूको लागि छुट्टै सफ्टवेयर खरिद गर्नुपर्दैन ।’

यसैबीच बाएर्डले टेस्लालाई ‘बेयरिश फ्रेश पिक्स’ सूचीमा समावेश गरेको छ । विश्लेषकहरूले लेखेका छन्, ‘उत्पादन अवरोधले टेस्लाको आपूर्ति चेनलाई जटिल बनाउनेछ ।’

मस्कको राजनीति र प्रभाव

तर वाल स्ट्रिटका लगानीकर्ताहरू मात्र बिक्री र उत्पादनजस्ता मौलिक कारकहरूलाई लिएर चिन्तित छैनन् । मस्कको राजनीति र ह्वाइट हाउसमा उनको संलग्नताले टेस्लामा कति असर पार्नेछ भन्ने विषयमा पनि छलफल भइरहेको छ ।

बाएर्डका विश्लेषकहरू लेख्छन्, ‘मस्कको ट्रम्प प्रशासनसँगको सम्बन्धले माग पक्षमा अनिश्चितता थपेको छ ।’

मस्क हालै ट्रम्प प्रशासनको ‘सरकारी दक्षता विभाग’ (डीओजीई) को नेतृत्व गरिरहेका छन् । उनी पहिल्यैदेखि कृत्रिम बौद्धिकता स्टार्टअप एक्सएआई, सामाजिक सञ्जाल कम्पनी एक्स र अन्तरिक्ष तथा रक्षा कम्पनी स्पेसएक्सको नेतृत्व गरिरहेका थिए ।

टेस्ला र मस्कविरुद्धको प्रतिक्रियाहरू

मस्क हाल ट्रम्प प्रशासनको संघीय सरकारको बजेट, श्रमशक्ति र संस्थागत क्षमतामा कटौती गर्ने प्रयासको सार्वजनिक अनुहार बनेका छन् । साथै उनी एक्समा विवादास्पद राजनीतिक टिप्पणीहरू पोस्ट गर्दै आएका छन् ।

अमेरिका र युरोपमा मस्क तथा टेस्लाविरुद्धको असन्तुष्टि बढ्दै गएको छ । टेस्लाका सोरूमहरूमा आगजनी तथा तोडफोडका घटनाहरू पनि देखिएका छन् ।

यहाँसम्म कि टेस्लाका कट्टर समर्थक विश्लेषकहरू र प्रशंसकहरू पनि अब मस्कको राजनीतिक गतिविधिले टेस्लाको ग्राहक र लगानीकर्तामा असर पारिरहेको स्वीकार्न बाध्य भएका छन् ।

ईभी समर्थक वेबसाइट क्लिनटेचनिकाले बिहीबार ‘टेस्लाका मालिकहरूले अब आफ्नो गाडी बेच्नुपर्छ ?’ भन्ने शीर्षकमा एक नैतिक लेख प्रकाशित गर्‍यो । उक्त लेखमा टेस्लाको बोर्डले मस्कलाई सीईओ पदबाट हटाउनुपर्छ कि भनेर बहस गरिएको थियो।

मस्क र टेस्लाले यसबारे कुनै प्रतिक्रिया दिएका छैनन् ।

टेस्लाका बुलहरूका लागि कठिन समय

शुक्रबार वेडबुश सेक्युरिटीजका ड्यान आइभ्सले लेखे, ‘टेस्लाका बुलहरू (उत्साही लगानीकर्ताहरू) अहिले कठिन अवस्थामा छन् । मस्क, डीओजीई र ट्रम्प प्रशासनसँग सम्बन्धित नकारात्मक धारणा विश्वभर फैलिएको छ ।’

उनले यो समय टेस्ला बुलहरूका लागि ‘गम्भीर परीक्षणको क्षण’ भएको बताए ।

तर वेडबुशले यो सेयरको गिरावटलाई अवसरको रूपमा लिएको छ । फर्मले टेस्लालाई आफ्नो ‘सबैभन्दा उत्कृष्ट विचारहरू’ सूचीमा समावेश गरेको छ र १२ महिनाभित्र ५५० डलरको लक्ष्य निर्धारण गरेको छ ।

वेडबुशले लेख्यो, ‘टेस्लाका लागि ट्रम्प प्रशासनकै नेतृत्व सबैभन्दा राम्रो कुरा हुनसक्छ किनकि यसले स्वचालित गाडीहरूको लागि संघीय नियमहरू नरम पार्नेछ।’

विश्वभर टेस्लाको बिक्रीमा गिरावट

हाल विश्वभर टेस्लाका कारहरूको बिक्री घटिरहेको छ ।

जर्मनीमा फेब्रुअरी महिनामा ७६ प्रतिशत, नेदरल्याण्डमा २४ प्रतिशत, स्वीडेनमा ४२ प्रतिशत, फ्रान्समा ४५ प्रतिशत, इटालीमा ५५ प्रतिशत, स्पेनमा १० प्रतिशत र पोर्चुगलमा ५३ प्रतिशतले बिक्रीमा गिरावट आएको छ ।

चीनमा उत्पादित टेस्ला गाडीहरूको विश्वव्यापी बिक्रीमा ४९ प्रतिशत गिरावट आएको छ । यो गिरावटले टेस्लाको भविष्यमा गम्भीर असर पार्न सक्ने अनुमान गरिएको छ।

कति घट्यो मस्कको नेटवर्थ ?

ब्लूमबर्ग बिलेनियर्स इन्डेक्सका अनुसार एलन मस्कको नेटवर्थ यस वर्ष १०३ अर्ब डलरले घटेको छ । यद्यपि यसको बावजुद पनि उनी अझै विश्वकै सबैभन्दा धनी व्यक्ति बनेका छन् । अहिले मस्कको नेटवर्थ ३३० अर्ब डलर रहेको छ ।

यस वर्ष सम्पत्ति गुमाउने मामलामा पनि मस्क पहिलो स्थानमा छन् । उनको सम्पत्ति घट्नुको मुख्य कारण टेस्लाका सेयरहरूमा आएको भारी गिरावट हो । (एजेन्सीहरूको सहयोगमा)

Share News