कोरोना बीमाको भुक्तानीमा विवाद चर्किएपछि अध्यक्ष घिमिरेको राजीनामा

  २०७९ मंसिर १२ गते १८:५५     विकासन्युज

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि) का अध्यक्ष डा. रविन्द्र घिमिरेले राजीनामा दिएका छन् । उनले आइतबार नै अर्थमन्त्रालय पुगेर पदबाट राजीनामा दिएका हुन् । स्रोतका अनुसार उनको राजीनामा स्वीकृत पनि भइसकेको छ ।

लामो समयदेखि नेपाल पुनर्बीमा कम्पनी, बीमा समिति र अर्थमन्त्रालयबीच काेराेना बीमाको दावी भुक्तानीको विषयमा विवाद भइरहेको थियो । एकले अर्कालाई दोषारोपण गर्दै आएकोमा अन्ततः घिमिरेले पदबाट राजीनामा दिनुपर्ने बाध्यता आएको हो ।

अर्थमन्त्रालय स्रोतका अनुसार अर्थमन्त्री जनार्दन शर्माले नै अध्यक्ष घिमिरेसँग राजीनामा माग गरेपछि उनी पदबाट राजीनामा दिन बाध्य भएका हुन् । बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले कोरोना बीमाको दावी भुक्तानीमा घिमिरेले साथ नदिने भन्ने ब्रिफिङ अर्थमन्त्री शर्मासमक्ष गरेपछि शर्माले घिमिरेको राजीनामा मागेको बुझिएको हो ।

‘प्राधिकरणका अध्यक्षज्यूले नेपाल रिले बीमा प्राधिकरणको निर्देशन पालना नगरेको र कोरोना बीमाको भुक्तानीमा समस्या सिर्जना गरेको भन्दै अर्थमन्त्री शर्मासँग ब्रिफिङ गर्नु भएको थियो, अर्थमन्त्रीज्यू पनि कोरोना बीमाको पैसा निकासा गर्ने पक्षमा हुनुहन्थ्यो, उहाँले त्यसमा सहयोग गर्न घिमिरेसँग आग्रह गर्नु भएको थियो तर उहाँ त्यसमा सहमत नभएपछि अर्थमन्त्रीले राजीनामा माग्नु भएको हो,’ स्रोतले विकासन्युजसँग भन्यो ।

उसो त यसअघि नै विकासन्युजसँग कुरा गर्दै अध्यक्ष डा. घिमिरेले बीमा प्राधिकरणको निर्देशन अनुसार कोभिड बीमा दावी भुक्तानीको लागि करोडौं रुपैयाँ भुक्तानी गर्न नसकिने बताएका थिए । उनले पुनर्बीमा कम्पनी व्यवसायिक संस्था भएकोले व्यवसायिक लाभहानी हेरेर जिम्मेवारी पूर्वक निर्णय लिने र कसैको दवावमा परेर गलत निर्णय नलिने उनले उनको भनाइ थियो ।

कारबाही भोग्न तयार छु, करोडौं रुपैयाँ डोनेशन गर्न सक्दिन – डा. रविन्द्र घिमिरे

उनले गलत काम गरेको भए बीमा प्राधिकरणको कारबाही भोग्न पनि आफू तयार भएको सार्वजनिक रुपमै बताउँदै आएका थिए ।

‘अध्यक्षको शपथ लिने बेलामा सेयरधनीको सम्पत्तिको सुरक्षा गर्ने प्रतिवद्धता जनाएको छु, म त्यसको पालना गर्छु, सेयरधनीको सम्पत्ति जोगाउने काम गर्दा नियामकले कारवाही गर्छ भने म कारवाही भोग्न पनि तयार छु, तर भविष्यमा मेरो हातमा हतकडी लाग्न सक्ने जोखिम लिएर गलत निर्णयमा सहि गर्दिन,’ उनले विकासन्युजसँग बोल्दै भनेका थिए ।

सरकारले कोरोना बीमा दावी भुक्तानीको लागि १ अर्ब रुपैयाँ निकासा गरेपछि बीमा प्राधिकरणले त्यसको ४५ प्रतिशत रकम थप गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएको थियो । त्यसमा ८ प्रतिशत प्राधिकरणले आफैले थप्ने, १२ प्रतिशत पुनर्बीमा कम्पनीले थप्नुपर्ने र २५ प्रतिशत निर्जीवन बीमा कम्पनीहरुले थप्नु पर्ने मापदण्ड प्राधिकरणले बनाएर सोही अनुसार कम्पनीहरुलाई निर्देशन जारी गरेको थियो ।

बीमा प्राधिकरणका अध्यक्ष सिलवालले यसअघि पनि सरकारको निर्णय विपरित पुनर्बीमा कम्पनीको सञ्चालक समितिले निर्णय गर्नु गलत भएको बताउँदै आएका थिए । पुनर्बीमा कम्पनीले सरकारको निर्णय मान्दिन भन्न नपाउने र अटेर गरे कारवाही भोग्न पनि तयार हुनु पर्ने उनको धारणा छ । अन्ततः उनकै ब्रिफिङमा अध्यक्ष घिमिरेले पदबाट राजीनामा दिनु पर्ने अवस्था सिर्जना भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.