२०७९ मंसिर ७ गते १३:२८ विकासन्युज
काठमाडौं । कोरोना बीमाको रकम भुक्तानीको लागि विभिन्न तीन कम्पनीले पैसा पठाएका छन् । नेपाल बीमक संघका अनुसार २० निर्जीवन बीमा कम्पनी (मर्ज भएका समेत) मध्ये हालसम्म तीन वटा कम्पनीले कूल ६ करोड ८१ लाख ८१ हजार ८१६ रुपैयाँ संघको खातामा पठाएका हुन् ।
जसमा नेशनल इन्स्योरेन्स, नेको इन्स्योरेन्स र दी ओरियन्टल रहेका छन् । प्रत्येक कम्पनीबाट २ करोड २७ लाख २७ हजार २७२ रुपैयाँको दरले कूल ६ करोड ८१ लाख ८१ हजार ८१६ रुपैयाँ खातामा जम्मा भएको संघले बताएको छ ।
यससँगै पैसा पठाएका तीन कम्पनीलाई कोरोना दावी भुक्तानी गर्नको लागि चेक समेत तयार भइसकेको संघले जनाएको छ ।
तर, दावी भुक्तानीमा भने ढिलाई हुने बुझिएको छ । नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि) ले पैसा नथपेसम्म कम्पनीहरुले दावी भुक्तानीको प्रकृया शुरु नगर्ने मनसायमा छन् । संघले पनि नेपाल रिले २१ करोड ८१ लाख ८१ हजार ८१८ रुपैयाँ पैसा नपठाएसम्म कम्पनीहरुलाई चेक वितरण गर्न नसकिने बताएको छ ।
यता सरकारको स्वामित्व रहेको नेपाल रिले कोरोना बीमाको दावी भुक्तानीको लागि पैसा दिँदै नदिने अडान लिएको छ । यस विषयमा नेपाल बीमा प्राधिकरणले कम्पनीलाई ७ दिने स्पष्टिकरण सोधेको छ । प्राधिकरणले कोरोना बीमाको दावी भुक्तानी गर्न पैसा किन नदिने हो ? जवाफ चाहिँयो भन्दै गत साता कम्पनीसँग स्पष्टिकरण माग गरेको हो ।
दावी भुक्तानीको प्रकृया अघि बढाउनको लागि कम्पनीहरुले दावी भुक्तानी गरिने दावीकर्ताहरुको सूची बीमक संघ तथा पुललाई उपलब्ध गराउनु पर्ने छ । सो अनुसार संघले कम्पनीहरुलाई चेक वितरण गर्ने छ । कम्पनीहरुले संचालक समितिबाट स्वीकृति लिई दावी भुक्तानीलाई सकेसम्म छिटो अघि बढाउन संघले आग्रह गरेको छ । दावी भुक्तानी गर्दा पहिलो चरणमा व्यक्ति तथा परिवारको दावी भूक्तानी गर्नुपर्ने छ ।
त्यस्तै, कम्पनीहरुको स्वीकृत दावी संख्यालाई आधार मनी समानुपातिक रुपमा बाँडफाँड गरिने छ । समानूपातिक रूपमा बाँडफाँड गर्दा व्यक्ति तथा परिवारलाई तिर्नुपर्ने दावी संख्याभन्दा बढि रकम नदिने समेत संघले बताएको छ । सो बमोजिम बाँडफाँड भइ बाँकी रहने रकमलाई जुन कम्पनीहरुको व्यक्ति तथा परिवारका संख्या बढि छन् तिनै कम्पनीहरुमा पुनस्वीकृत दावी संख्याको अनुपातमा बाँडफाँड गरिने छ ।
संघका अनुसार दावी भूक्तानी गर्ने व्यक्ति तथा परिवारको नाम कम्पनीहरुले बीमक संघबाट सहि छाप गराई आ आफनो वेब साइटमा प्रकाशित गुर्नपर्ने छ । यससँगै कम्पनीहरुले बीमक संघबाट आफूले प्राप्त गर्ने रकमको चेक लिई दावी रकम बाँडफाँड गर्न सक्ने छन् ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.