काठमाडौं । एनआईसी एशिया क्यापिटलले एक अर्ब रुपैयाँ बराबरको म्युचुअल फण्ड निष्काशन तथा बिक्री खुला गर्दै छ । क्यापिटलले जेठ १९ गतेदेखि ‘एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड’ नामक म्युचुअल फण्डको निष्काशन तथा बिक्री खुला गर्न लागेको हो ।
क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरको १० करोड इकाई बिक्रीमा ल्याउन लागेको हो । जसमध्ये एक करोड ५० लाख इकाई कोष प्रवर्धक एनआईसी एशिया बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री खुला गर्न लागेको हो ।
यो बन्दमुखी प्रकृतिको योजना हो । जसको अवधि ७ वर्षको रहेको छ । अर्थात ७ वर्षपछि यो योजना स्वतः परिपक्व हुने छ । यो योजनामा नेपाली नागरिक, गैरआवासीय नेपालीको प्रमाणपत्र (परिचय पत्र जारी भएका व्यक्ति, प्रचलित कानून बमोजिम दर्ता भएका नेपाली फर्म, संघ संस्था, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, कुनै पनि वर्ग वा समूहले खडा गरेको कोषहरु जस्तै सञ्चय कोष, कल्याणकारी कोष, गुठी, अक्षय कोष आदिले आवेदन दिन सक्ने छन् । उक्त फण्डमा इच्छुकले न्यूनतम एक सयदेखि एक करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ ।
जेठ १९ गतेदेखि खुला हुने उक्त आईपीओमा छिटोमा जेठ २४ गतेसम्म आवेदन दिन सक्नेछन् । यदि, उक्त अवधिमा माग अनुसारको बिक्री नभएमा आगामी असार २ गतेसम्म आवेदन खुला गरिने क्यापिटलले जनाएको छ ।
त्यस्तै, सेयर बजारको बारेमा राम्रो ज्ञान नभएको र व्यवस्थताका कारण बजारमा समय दिन नसक्ने लगानीकर्ताले यो फण्डमा लगानी गर्न सक्नेछन् । पछिल्लो समय सेयर बजार निरन्तर रुपमा घटिरहेको छ । घटिरहेको बजारमा म्युचुअल फण्ड मार्फत गरिएको लगानी गर्दा राम्रो प्रतिफल पाइने जानकारहरु बताउँछन् ।
यस्ता छन् विशेषता
क्यापिटलले सञ्चालनमा ल्याउन लागेको ‘एनआईसी एशिया फ्लेक्सी क्याप’ चौथो बन्दमुखी योजना हो । यो योजनाबाट उठेको अधिकांश रकम क्यापिटलले सेयर बजारमा लगानी गर्ने छ । क्यापिटलका चिफ अपरेटिङ्ग अफिसर तथा चिफ इन्भेष्टमेन्ट अफिसर मनिष घिमिरेका अनुसार क्यापिटलले सूचीकृत कम्पनीमा लगानी गर्दा बजारको पुँजीकरण अनुसार सूचीकृत कम्पनीहरुलाई तीन समूह (स्मल क्याप, मिड क्याप तथा लाज क्याप) मा वर्गीकरण गर्छ । त्यसमध्ये जुन क्याप भित्र रहेका कम्पनीहरुले राम्रो प्रतिफल दिन सक्छ, सोही समूह अन्तर्गतका कम्पनीहरुमा क्यापिटलले लगानी गर्ने घिमिरेले बताए ।
किन गर्ने लगानी ?
एनआईसी एशिया फ्लेक्सी अन्य म्युचुअल फण्डभन्दा फरक छ । यो फण्डले कम्पनीहरुलाई विभिन्न वर्गमा वर्गीकरण गर्छ र त्यसले दिने प्रतिफलको आधारमा लगानी गर्छ । यसले सूचीकृत कम्पनीहरुको ग्रोथलाई हेरेर भन्दा पनि उनीहरुको क्षमतालाई आधार मानेर लगानी गर्ने भएकोले यो फण्ड अन्यभन्दा फरक भएको क्यापिटलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेन्द्र रायमाझीले बताए ।
‘यो हाम्रो पाचौं म्युचुअल फण्ड हो, योभन्दा पहिला हामीले ल्याएका योजनाहरुको विश्लेषण गर्दा ती विभिन्न सूचकहरुमा फोकस थिए, जस्तै, कुनै ग्रोथमा, कुनै टप कम्पनीमा, कुनै भ्याल्यू, कुनै डेप्थ मार्केटमा लगानी गर्ने भन्ने थियो, तर साना साना कम्पनीहरुलाई छुटाएको पायौं,’ उनले भने- ‘अब यसमा हामीले कम्पनीको क्यापिटलका अनुसार विभिन्न क्यापमा वगाीकरण गर्छौं, कम्पनीहरुको ग्रोथमात्रै हेरिएको तर मिस भएको उनीहरुको क्षमतालाई समेत समेट्ने गरी फेक्जिबल भएर लगानी गछौं, बजारमा फेक्जिबल भएर लगानी गर्न पाउनु पर्छ भनेर यो फण्ड ल्याएका हौं, त्यसैले यो अन्य भन्दा फरक छ, जसले मार्केटमा भएको उतारचढावलाई विश्लेषण गरी एग्रेशिभ रुपमा लगानी गर्ने हाम्रो उद्देश्य हो,’ सीईओ रायमाझीले भने ।
उनका अनुसार क्यापिटलले साना साना पुँजी भएका कम्पनीहरुमा पनि उनीहरुको क्षमतालाई हेरेर लगानी गर्ने रणनीति बनाएको छ । जसले बजारमा सूचीकृत भएका सबै कम्पनीहरु समेट्ने छ ।
लगानी गर्ने क्यापिटलको दुई रणनीति
क्यापिटलले उक्त फण्डबाट उठेको रकम बजारमा लगानी गर्न विभिन्न दुई वटा रणनीति बनाएको छ । जसमा एउटा एग्रेशिभ र अर्को कन्जरभेटिभ । बजार ओरालो लागेको अर्थात घटेको बेलामा क्यापिटलले एग्रेशिभ भएर लगानी गर्छ भने बजार बढेको बेलामा कन्जरभेटिभ भएर लगानी गर्ने क्यापिटलका घिमिरे बताउँछन् ।
लगानीकर्तालाई १३६ प्रतिशतभन्दा बढी प्रतिफल दिने प्रक्षेपण
यो योजनामा लगानी गर्ने लगानीकर्ताले १३६ प्रतिशतभन्दा बढी प्रतिफल पाउनेछन् । क्यापिटलका अनुसार ७ वर्षे अवधिको यो योजनामा लगानी गर्ने लगानीकर्तालाई सो अवधिभरमा १३६ प्रतिशतभन्दा बढी प्रतिफल वितरण गरिने प्रक्षेपण गरेको छ ।
यो फण्डमा लगानी गर्ने लगानीकर्ताले पहिलो वर्षमै १० प्रतिशत प्रतिफल पाउने छन् । सो वर्षमा फण्डको प्रति इकाई खुद सम्पत्ति (न्याभ) ११.०७ रुपैयाँ हुने छ । जुन प्रतिफल वितरण पश्चातको हो । त्यस्तै, प्रतिफल वितरण नगरेको अवस्थामा भने सो अवधिमा फण्डको न्याभ १२.०७ रुपैयाँ हुने क्यापिटलको प्रक्षेपण छ ।
यसरी नै ७ वर्षसम्ममा प्रतिफल बढेर १८ प्रतिशत पुग्ने छ । र, प्रतिफल वितरण गर्दा र नगर्दाको न्याभ बढेर क्रमशः १५.१५ र ३७.११ रुपैयाँ हुने क्यापिटलले जनाएको छ ।
एनआईसीले हाल सञ्चालनमा ल्याएको योजनाहरु
क्यापिटलले एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत हाल चार वटा योजनाहरु व्यवस्थापकको रुपमा सञ्चालन गरिरहेको छ । जसमा तीन वटा बन्दमुखी प्रकारका हुन् भने बाँकी एउटा खुलामुखी योजना हो । सञ्चालनमा आएकामध्ये एनआईसी एशिया ग्रोथ फण्ड, एनआईसी एशिया ब्यालेन्स्ड फण्ड र एनआईसी एशिया सेलेक्ट ३० (इन्डेक्स फण्ड) बन्दमुखी प्रकारको योजना हो भने एनआईसी एशिया डाईनामिक डेप्ट फण्ड खुलामुखी योजना हो ।