डलर बेच्न रोक्यो दराजले, रोकेन आईसी बेच्न

  २०७८ फागुन २६ गते ११:१८     शिव सत्याल

काठमाडौं । विदेशी मुद्रा अपचनमा संलग्न रहेको पाइएको इकमर्श साइड दराज डटकम डटएनपीले प्रत्यक्ष रुपमा अमेरिकी डलर विक्री गर्न भने रोकेको छ । नेपालीलाई खुल्लेआम डलर विक्री गरिरहेको दराजले विकासन्युजमा समाचार आएपछि डलर विक्री रोक लगाएको हो ।

दराजले आफ्नो प्लेटफर्म मार्फत अमेरिकी डिजिटल वालेट पे–पालमा डलर लोड गर्न पाउने सुविधा उपलब्ध गराएको थियो । दराजलाई यसरी अमेरिकी डलर विक्री गर्ने कानुनी अधिकार छैन । विकासन्युजले सो सम्बन्धी समाचार प्रकाशित गरेपछि दराजले पे–पालमा डलर लोड गर्ने सुविधा हटाएको छ ।

हिजो (फागुन २५ गते) सम्म दराजको प्लेटमर्फमा १३ सय रुपैयाँ तिरेर पे–पालमा १० अमेरिकी डलर लोड गर्न पाइने सुविधा उपलब्ध थियो । तर, आज त्यस्तो सुविधा हटाइएको दराजको वेबसाइटमा देखिन्छ । दराजले प्रिमियम मूल्यमा अमेरिकी डलर विक्री गर्दै आएको थियो ।

तर, अझै पनि दराजले भारतीय मुद्रा (आईसी) को विक्री वितरण भने रोक लगाएको छैन । यो समाचार तयार पार्दासम्म (फागुन २६ गते विहान साढे १० बजेसम्म) दराजको प्लेटफर्ममा गएर पेटीएम गिफ्टकार्ड खरिद गर्न सकिन्छ ।

दराजको प्लेटफर्ममा उपलब्ध जानकारी अनुसार ९ सय रुपैयाँ तिरेर ५ सय आईसी बराबरको ‘पेटीएम आईएनआर ५०० गिफ्टकार्ड’ खरिद गर्न सकिन्छ । यस्तै, एक सय आईसीको पेटीएम डिजिटल गिफ्टकार्ड पनि विक्रीमा राखिएको छ ।

दराजमार्फत आईसी पनि प्रिमियम मूल्यमा विक्री गर्ने गरिएको छ । नेपाल राष्ट्र बैंकले एक सय आईसी बराबर १६० रुपैयाँ हुने विनिमय दर तोकेको छ । तर, एक सय आईसी भएको पेटीएम डिजिटल गिफ्ट कार्डको मूल्य दराजमा १९० रुपैयाँ तोकिएको छ । त्यस्तै, ५ सय आईसी बराबरको गिफ्टकार्डको मूल्य पनि ९ सय रुपैयाँ तोकिएको छ ।

दराज आफैले कुनै पनि वस्तु तथा सेवा उत्पादन गरेर विक्री गर्दैन । विक्रेताहरुले दराजको प्लेटफर्म मार्फत वस्तु तथा सेवा विक्री गर्ने हो । यद्यपि, दराज मार्फत विक्री भएको सामानको भुक्तानी दराजले नै लिन्छ । सामानको डेलिभरी पनि दराजमार्फत नै हुन्छ ।

दराजमार्फत पेटीएम गिफ्ट कार्ड खरिद गर्नु भनेको भारतका बैंकमा नेपालीले पैसा राख्नु जस्तै हो ।

‘तपाईले ५ सय आईसी बराबरको पेटीएम गिफ्टकार्ड लिनुभयो भने भारतमा गएर ५ सय आईसी झिक्न सक्नुभयो, भारतभर जे–जे सामान चाहिन्छ, त्यो किन्न पनि सक्नु भयो, रेष्टुरेन्टमा खाएको विल तिर्न पनि सक्नुभयो, यसलाई अझ सजिलोसँग यसरी बुझ्दा हुन्छ– जसरी इसेवामा भएको पैसा हामीले चलाउन पाउँछौं, पेटीएम गिफ्टकार्ड मार्फत किनेको आईसी भारतमा हामीले त्यसरी नै चलाउन पाउँछौं,’ एक व्यवसायीले भने ।

पे–पालमार्फत अमेरिकी डलर र पेटीएम मार्फत आईसी विक्री गर्ने दराजको कारण नेपालबाट पुँजी पलायन गर्न पनि सहज भएको छ ।

विकासन्युजले हिजो (फागनु २५ गते) दराज मार्फत विदेशी मुद्रा अपचलन भएको समाचार ब्रेक गरेका थियौं । दराजले पनि सो विषय स्वीकार गरेको छ । विकासन्युज प्रकाशित गरेको समाचारमा कमेन्ट गर्दै दराजले मुद्रा अपचन भएको स्वीकार गरेको हो ।

‘हामीलाई यस् समस्या सम्बन्धी सुचित गरिदिनुभएकोमा धन्यवाद । हामी यस बिषयमा अनुसन्धान गरिरहेका छौं र आवश्यक विवरणको साथ छिट्टै नै अप्डेट गर्नेछौं । कृपया हामीसँग सम्पर्कमा रहनुहोला,’ दराज अनलाइन सपिङको फेसबुक म्यासेन्जरबाट विकासन्युजको समाचार कमेन्टमा उल्लेख गरिएको छ ।

सम्बन्धित समाचार

विदेशी मुद्रा अपचलनमा दराज डटकम संलग्न

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.