विदेशी मुद्रा अपचलनमा दराज डटकम संलग्न

  २०७८ फागुन २५ गते १५:३३     शिव सत्याल

काठमाडौं । इकमर्श साइड दराज डटकम डटएनपी विदेशी मुद्रा अपचनमा संलग्न भएको पाइएको छ । दराजले प्रिमियम मूल्यमा अमेरिकी डलर लगायतका विदेशी मुद्रा विक्री गरिरहेको पाइएको हो ।

सो इकमर्श साइडमा उल्लेख भए अनुसार १ हजार ३ सय रुपैयाँ तिरेमा पे–पालमा १० अमेरिकी डलर लोड गर्न पाइन्छ । तर, केही समय अघि इसेवाले पे–पालमा रकम लोड गर्ने गरेको पाइएपछि नेपाल राष्ट्र बैंकले कारवाही नै गरेको थियो । सो कारवाहीपछि इसेवाले पे–पालमा डलर लोड गर्ने सेवा बन्द गरेको छ ।

दराजले पे–पालमा रकम लोड गर्न तोकेको विनियम दर नेपाल राष्ट्र बैंकले तोकेको भन्दा निकै बढी पनि छ । नेपाल राष्ट्र बैंकले आजको लागि प्रतिअमेरिकी डलर १२३ रुपैयाँ ३६ पैसा विक्री दर तोकेको छ । तर, दराजमा १० अमेरिकी डलर पे–पालमा लोड गर्नको लागि १ हजार ३ सय रुपैयाँ तिर्नुपर्ने भनिएको छ । १० डलरको लागि १ हजार ३ सय रुपैयाँ तिर्नु भनेको विनिमय दर १३० रुपैयाँ हुनु हो ।

नेपालको विद्यमान कानुन अनुसार राष्ट्र बैंकबाट अनुमति लिएका बैंक वित्तीय संस्था बाहेकले अमेरिकी डलर विक्री गर्न पाउँदैनन् । तर, दराजले आफ्नो साइडबाटै प्रिमियम मूल्यमा अमेरिकी डलर विक्री गरिरहेको पाइएको छ ।

‘नेपालमा दराज मार्फत १३ सय तिरेर १० डलर पे–पालमा लोड गर्यो भने विदेशमा गएर डलर झिक्न पाइने भयो, यसले पुँजी विदेश लैजान पनि सजिलो हुन्छ,’ एक व्यवसायीले भने ।

दराजकै प्लेटफर्मबाट विभिन्न प्रकारका डिजिटल गिफ्ट विक्री भइरहेको पाइएको छ । सो इकमर्श साइडमा गएर सर्च गर्दा ५ हजारभन्दा बढी डिजिटल गिफ्टहरु विक्रीको लागि राखिएको पाइएको छ ।

यस्ता डिजिटल गिफ्ट खरिद गरेर अरुलाई उपहार दिन पाइन्छ । दराजले यस्ता गिफ्ट गरिद गर्नको लागि नेपाली रुपैयाँमा नै भुक्तानी लिन्छ । यद्यपि, दराज आफैले कुनै सामान उत्पादन गरेर विक्री गर्दैन । दराजमा सुचिकृत भएका विक्रेताहरुले आफ्नो उत्पादन विक्री गर्ने हो । तर, दराजले सामान विक्रीको लागि प्लेटफर्म उपलब्ध गराएकोले दराजमाथि पनि प्रश्न उठेको छ ।

टिकटक, एक्सबक्स, स्टीम जस्ता डिजिटल गिफ्ट कार्ड खरिद गर्दा यस्ता कार्ड दिने कम्पनीहरु विदेशी भएकोले विदेशी मुद्रा बाहिरिने गर्छ ।

नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल यस सम्बन्धमा थप अध्ययन आवश्यक भएको बताउँछन् ।

‘यो विषय (दराज मार्फत विदेशी मुद्राको कारोबार भएको) अनुसन्धान र छानविनको विषय हो, के कसो भएको हो भनेर सम्बन्धित निकायसँग सोध्ने र आवश्यक छानविन र अनुसन्धान हुने कार्य भने हुन्छ,’ कार्यकारी निर्देशक पौडेलले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.