टेस्ला इन्कको बाटोमा नेपाल लाइफ, नेपालमा कति सहज छ सेयर स्प्लिट ?

  २०७७ माघ ११ गते १०:४८     विकासन्युज

काठमाडौं । नेपाली जीवन बीमा बजारको जायन्ट कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यका सेयरलाई प्रतिकित्ता ५० रुपैयाँ गर्ने विशेष प्रस्ताव आगामी वार्षिक साधारणसभा पेश गर्दैछ ।

कम्पनीले गर्न लागेको यो व्यवस्थालाई प्राविधिक भाषामा ‘स्प्लिट’ भनिन्छ । नेपाल लाइफले एक कित्ता सेयरलाई २ कित्ता बनाउन लागेको हो । कम्पनीले माघको २८ गते २०औं वार्षिक साधारणसभा बोलाएको छ ।

नेपाल लाइफले पहिलो पटक सेयर स्प्लिट गर्न लागेको भने होइन । केही वर्षअघि पनि उसले आफ्नो प्रतिकित्ता १ सय रुपैयाँको अंकित सेयर मूल्यलाई प्रतिकित्ता १० रुपैयाँ गर्न पहल गरेको थियो । तर, कार्यान्वयन हुन सकेको थिएन ।

नेपाल लाइफले गर्न लागेको सेयर स्प्लिटलाई नेपाली सेयर बजारमा टेस्ला इन्कसँग दाजेर पनि हेर्न थालिएको छ । अमेरिकी इलेक्ट्रिक कार उत्पादक तथा क्लिन इनर्जी कम्पनी टेस्ले गत अगष्ट अन्तिम साता आफ्नो एक कित्ता सेयरलाई ५ कित्ता बनाएको थियो । सेयर स्प्लिट गरेको र कम्पनीको उत्पादनको विक्री बढेपछि सो कम्पनीमा मालिक एलन मस्क संसारकै धनी व्यक्तिमध्येमा उदायका थिए ।

के हुन्छ सेयर स्प्लिट गर्दा ?

विकसित देशका कम्पनीहरुले आफ्नो सेयर स्प्लिट गर्नु सामान्य जस्तै कुरा हो । विश्व बजारमा सेयर स्प्लिट गर्ने टेस्ला एक्लो कम्पनी भने होइन । अन्य कम्पनीले पनि बेलाबेलामा आफ्नो सेयर स्प्लिट गरिरहेका हुन्छन् ।

सेयर स्प्लिट गर्दा कम्पनीलाई भने झन्झट थपिन्छ । अहिले नेपाल लाइफले प्रस्ताव गरे अनुसार सेयर स्प्लिट गरेमा उसका सेयरकित्ता दोब्बर हुनेछन् । अहिले नेपाल लाइफको चुक्ता पुँजी ५ अर्ब ५० करोड रुपैयाँ जति छ । अंकित मूल्यका आधारमा उसको सेयर संख्या ५ करोड ५० लाख कित्ता छ । अब एक कित्ता सेयरलाई २ कित्ता बनाउने हो भने नेपाल लाइफको सेयर संख्या ११ करोड कित्ता हुनेछ । साढे ५ करोड कित्ता सेयर व्यवस्थापन गर्नभन्दा ११ करोड कित्ता सेयर व्यवस्थापन गर्न कम्पनीलाई काम नै थपिनेछ ।

तर, कुनै पनि कम्पनीको सेयर मूल्य बढी भएमा कम्पनीहरुले आफ्नो सेयर स्प्लिट गर्ने गराउँछन् । जस्तो कि अहिले नेपाल लाइफको सेयर मूल्य प्रतिकित्ता ३ हजार रुपैयाँको हाराहारीमा छ । कम्पनीको प्रस्ताव अनुसार अंकित मूल्य प्रतिकित्ता ५० रुपैयाँ गरी सेयर स्प्लिट गरिएमा अहिलेको प्रतिकित्ता ३ हजार रुपैयाँको सेयर प्रतिकित्ता १५ सय रुपैयाँ हुन सक्थ्यो ।

यसलाई अझ सजिलोसँग अर्काे उदाहरणबाट पनि बुझ्न सकिन्छ । जस्तो कि अहिले नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सोल्टी होटलको सेयर प्रतिकित्ता २ सय रुपैयाँको हाराहारीमा कारोबार भइरहेको छ । सोल्टी होटलको सेयरको अंकित मूल्य प्रतिकित्ता १० रुपैयाँ हो । यो हिसावले हेर्दा सोल्टी होटलको सेयरको अंकित मूल्य १ सय रुपैयाँ हुन्थ्यो भने दोस्रो बजारमा अहिले सो होटलको सेयर मूल्य प्रतिकित्ता २ हजार रुपैयाँ हो । तर, सोल्टीको सेयर २ सय रुपैयाँमा पाइएको छ भनेर किन्न तम्सिनेहरु पनि छन् बजारमा ।

झन्झट थपिने भएपनि सेयरधनीहरुको भर्चुअल सम्पत्ति बृद्धि हुने भएकोले कम्पनीहरु सेयर स्प्लिट गर्न तयार हुने गरेका छन् । कुनै पनि कम्पनीको सेयर आपूर्ति कम भएपछि सेयरको मूल्य बढ्ने हो । आपूर्ति बढ्ने र मूल्य पनि थप बृद्धि हुने भएकोले सेयर स्प्लिट गर्ने गरिन्छ । किनभने आज अंकित मूल्य १ सय रुपैयाँ हुँदा दोस्रो बजारमा ३ हजार रुपैयाँमा कारोबार भएको नेपाल लाइफको सेयर स्प्लिट गरेर अंकित मूल्य ५० रुपैयाँ बनाइयो भने दोस्रो बजारमा १८ सय रुपैयाँमा कारोबार हुने सम्भावना अधिक हुन्छ । यसो हुँदा अहिले ३ हजार रुपैयाँ मूल्य महंगो भयो भन्नेहरु १८ सय देखेको आधारमा सहजै ३६ सय रुपैयाँ हाल्न तयार हने अवस्था रहन्छ ।

सेयर मूल्य महंगो भएको कम्पनीप्रति सर्वसाधारणको पनि नकारात्मक धारणा हुने भएकोले पनि कम्पनीहरु स्प्लिट गरेर सेयरको मूल्य घटाउन लाग्ने गरेका हुन्छन् ।

कति सहज छ नेपालमा ?

नेपाल लाइफले अहिले प्रस्ताव गरे अनुसारको स्प्लिट गर्न भने त्यति सहज छैन । पहिलो कुरा त अहिलेको बजार संयन्त्र नै अंकित मूल्य ५० रुपैयाँ कायम गर्ने गरी सेयर स्प्लिट गर्नको लागि बाधक छ ।

धितोपत्र कारोबार संचालन विनियमावली २०७५ ले सेयर वा ऋणपत्रको कारोबार गर्दा प्रतिकारोबार कम्तिमा पनि अंकित मूल्य १ हजार रुपैयाँ बराबरको हुनै पर्छ भन्छ । जस्तो कि प्रतिकित्ता अंकित मूल्य १ सय रुपैयाँ छ भने कम्तिमा १० कित्ता सेयर किनबेच गर्नुपर्छ । अंकित मूल्य १ हजार रुपैयाँ भएको ऋणपत्रको एक कित्ता पनि कारोबार गर्न सकिन्छ भने प्रतिकित्ता १ सय रुपैयाँ भएको ऋणपत्रको कम्तिमा १० कित्ता भएपछि मात्रै कारोबार हुन्छ । यस्तै, प्रतिकित्ता १० रुपैयाँ अंकित मूल्य भएको सेयरको हकमा भने प्रतिकारोबार १ सय कित्ता सेयर किनबेच हुनुपर्छ भनिएको छ ।

नेपाल लाइफको सेयर स्प्लिट गरेर अंकित मूल्य प्रतिकित्ता ५० रुपैयाँ बनाएपछि कारोबार गर्नको लागि पहिलाको १० कित्ताको साटो २० कित्ता चाहिने हो कि होइन भन्ने विषय नियामक निकायका लागि अर्काे बहसको विषय बन्न सक्छ । आज दोस्रो बजारमा कम्तिमा १० कित्ता किन्दा हुने अवस्थामा जति रकम चाहिन्छ, न्यूनतम २० कित्ता किन्नै पर्ने र अहिलेकोभन्दा बढी रकम चाहिने अवस्था आयो भने सेयर स्प्लिट गरेर आपूर्ति बढाउन नेपाल लाइफले गरेको प्रयत्नले बान्छित उपलब्धी हासिल नहुन सक्छ ।

धितोपत्र कारोबार संचालन विनियमावली २०७५ मा भएको अंकित मूल्य प्रतिकित्ता १० रुपैयाँको व्यवस्था सोल्टी होटलको सेयरका लागि मात्रै हो । सोल्टी होटलको सेयरलाई पनि प्रतिकित्ता १ सय रुपैयाँ नै अंकित मूल्य कायम गराउनु पर्छ, लगानीकर्ता झुक्किए भनेर आवाज उठिरहेको अवस्थामा नेपाल लाइफ (एउटा कम्पनी) को लागि फेरि अंकित मूल्य ५० रुपैयाँको लागि अर्काे थप व्यवस्था हुन सक्छ कि सक्दैन भन्ने अर्काे प्रश्न पनि छ ।

सम्बन्धित समाचार

लाभांश पारित गर्न नेपाल लाइफ इन्स्योरेन्सले बोलायो वार्षिक साधारणसभा, अंकित मूल्य ५० रुपैयाँ बनाउने 
नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?
नेपाल लाइफमा १ लाख लगानी गर्नेको सम्पत्ति यसरी भयो ५ करोड ९२ लाख

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.