नेपाल लाइफमा १ लाख लगानी गर्नेको सम्पत्ति यसरी भयो ५ करोड ९२ लाख

  २०७७ पुष १६ गते १२:०८     विकासन्युज

काठमाडौं । नेपाली बीमा बजारमा जीवन बीमा व्यवसाय गर्नेमध्ये अहिलेसम्मको सबैभन्दा राम्रो कम्पनी नेपाल लाइफ इन्स्यारेन्स हो । चुक्ता पुँजी, कम्पनीले प्रदान गर्ने बोनस दर, बिमितको संख्या, सेयरधनीलाई दिने प्रतिफल जस्ता परिसुचकले नेपाल लाइफलाई सबैभन्दा अगाडि देखाएको छ ।

नेपाल लाइफले स्थापनाकालमा १ लाख लगानी गर्ने सेयरधनीलाई अहिले ५ करोड रुपैयाँभन्दा बढीको मालिक बनाइसकेको छ । कम्पनीले प्रदान गरेको प्रतिफल हिसाव गर्दा कम्पनी स्थापनाको समयमा १ लाख रुपैयाँ लगानी गर्नेको सम्पत्ति अहिले ५ करोड १८ लाख रुपैयाँभन्दा बढी भइसकेको छ ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी सन् २००१ मा स्थापना भएको थियो । त्यसको ७ वर्षसम्म कम्पनीले सेयरधनीलाई कुनै प्रतिफल दिएन । कम्पनीले एकैपटक सन् २००८ मा आएर २० प्रतिशत बोनस सेयर दियो । यो बोनस सेयरपछि सुरुमा हजार कित्ता सेयर हुनेसँग कुल १२ सय कित्ता सेयर भयो ।

कम्पनीले सन् २००९ मा २५ प्रतिशत हकप्रद सेयर जारी गर्यो । यसरी सेयर जारी गर्दा भने लगानीकर्ताले थप लगानी गर्नु परेको देखिन्छ । तर, हकप्रद सेयर किनिसकेपछि सो लगानीकर्तासँग १५ सय कित्ता सेयर हुन आउँछ ।

कम्पनीले त्यसपछि एकैचोटी सन् २०१२ मा ५६ प्रतिशत नगद लाभांश र ७० प्रतिशत बोनस सेयर गरी १२६ प्रतिशत प्रतिफल दियो । कम्पनीले प्रदान गरेको ७० प्रतिशत बोनस सेयर थप गर्दा सुरुमा १ हजार कित्ता सेयर हुने व्यक्तिसँग यो समयसम्ममा २५ सय ५० कित्ता सेयर भएको थियो ।

त्यसपछि सन् २०१३ मा कम्पनीले २८.५ प्रतिशत नगद लाभांश र ७० प्रतिशत नै बोनस सेयर गरी ९८.५ प्रतिशत प्रतिफल दिएको थियो । सो वर्ष दिएको बोनस सेयर जोड्दा सो लगानीकर्तासँग ४३ सय ३५ कित्ता सेयर पुगेको थियो ।

सन् २०१४ मा कम्पनीले ८ प्रतिशत नगद र ६० प्रतिशत बोनस सेयर गरी ६८ प्रतिशत प्रतिफल दिएको थियो । सो वर्ष कम्पनीले दिएको ६० प्रतिशत बोनस सेयर जोड्दा सो व्यक्तिसँग ६ हजार ९ सय ३६ कित्ता सेयर हुन पुग्यो ।

सन् २०१५ मा कम्पनीले १.३ प्रतिशत नगद र २५ प्रतिशत बोनस सेयर गरी कुल २६.३ प्रतिशत लाभांश दियो । सो वर्ष कम्पनीले दिएको बोनस सेयर जोडेजपछि सुरुमा १ हजार कित्ता सेयर हुने व्यक्तिसँग ८ हजार ६ सय ७० कित्ता सेयर भयो ।

सन् २०१६ मा पनि कम्पनीले १.३ प्रतिशत नगद र २५ प्रतिशत बोनस सेयर गरी कुल २६.३ प्रतिशत लाभांश दिएको थियो । सो बोनस सेयर पनि थप भएपछि सुरुमा १ हजार कित्ता सेयर हुने व्यक्तिसँग १० हजार ८ सय ३७.५ कित्ता सेयर भएको थियो ।

सन् २०१७ मा कम्पनीले २८.५ प्रतिशत नगद र ४२ प्रतिशत बोनस सेयर गरी कुल ७०.५ प्रतिशत प्रतिफल दिएको थियो । सो बोनस सेयरपछि सुरुमा एक हजार कित्ता सेयर हुने व्यक्तिको सेयर संख्या १५ हजार ३ सय ८९.२५ कित्ता हुन पुगेको थियो ।

सन् २०१८ मा कम्पनीले २३.५ प्रतिशत नगद र २५ प्रतिशत बोनस सेयर गरी कुल ४८.५ प्रतिशत प्रतिफल दिएको छ । कम्पनीले प्रदान गरेको यस्तो बोनस सेयर थपिएपछि सुरुमा १ हजार कित्ता सेयर हुने व्यक्तिसँग कुल १९ हजार २ सय ३६.५६ कित्ता सेयर पुगेको छ ।

सन् २०१९ मा कम्पनीले २० प्रतिशत नगद ३१ प्रतिशत बोनस सेयर गरी कुल ५१ प्रतिशत प्रतिफल दिएको छ । तर, कम्पनीको साधारणसभा हुन बाँकी रहेकोले यो प्रस्तवित प्रतिफल वितरण भने भइसकेको छैन । कम्पनीले सन् २०१९ को बोनस सेयर दिएपछि सुरुमा एक हजार कित्ता सेयर हुने व्यक्तिसँग कुल २५ हजार २ सय कित्ता सेयर पुग्नेछ ।

अहिले नेपाल लाइफको सेयर दोस्रो बजारमा प्रतिकित्ता २ हजार रुपैयाँभन्दा बढीमा कारोबार भइरहेको छ । औसतमा प्रतिकित्ता २ हजार रुपैयाँ नै मूल्य मान्दा पनि कम्पनीमा सुरुमा लाख रुपैयाँ लगानी गरी १ हजार कित्ता सेयर लिनेसँग अहिले २५ हजार २ सय कित्ता सेयर पुगेको छ । सो सेयरको आजको मूल्यांकन अुनसार ५ करोड ४ लाख रुपैयाँ हुन आउँछ ।

यस्तै, कम्पनीले यसबीचमा प्रदान गरेको नगद लाभांश मात्रै सो एक हजार कित्ता सेयर हुने व्यक्तिले १४ लाख २० हजार रुपैयाँको हाराहारीमा पाएका छन् । यो नगद लाभांश समेत जोड्दा सुरुमा १ लाख रुपैयाँ लगानी गरी नेपाल लाइफको १ हजार कित्ता सेयर किन्नेको सम्पत्ति अहिलेसम्म ५ करोड १८ लाख रुपैयाँभन्दा बढी भइसकेको छ ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको आज (१६ पुस, २०७७) को नेप्सेमा प्रतिकित्ता २२ सय ९५ रुपैयाँमा कारोबार बन्द भएको छ । यो मूल्य अनुसार २५ हजार २ सय कित्ता सेयरको मूल्यांकन ५ करोड ७८ लाख ३४ हजार रुपैयाँ हुन आउँछ । यसमा नगद लाभांश लिएको १४ लाख २० हजार रुपैयाँ थप गर्दा आजको दिनमा भने सुरुमा १ लाख रुपैयाँ लगानी गर्नेको सम्पत्ति ५ करोड ९२ लाख ५४ हजार रुपैयाँ हुन आउँछ । तर, दोस्रो बजारमा हुने सेयरको मूल्य घटबढले यस्तो मूल्यांकन भने फेरबदल भइरहन्छ ।

सम्बन्धित समाचार

नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.