‘नीतिगत स्थिरता भए नेपालमै गाडी उत्पादन र निर्यात सम्भव छ’

‘गाडी नकिन्नेलाई पनि सूचना र प्रविधिको भण्डार, शैक्षिक सत्र र फ्री पासको विशेष व्यवस्था छ’

नेपालको अटोमोबाइल क्षेत्रको सबैभन्दा ठूलो र प्रतिष्ठित उत्सव नाडा अटो शोको १८औं संस्करण मंगलबार  (भाद्र ९) देखि १४ गतेसम्म भृकुटीमण्डपमा आयोजना हुँदैछ । नाडा अटो शो प्रदर्शनी मात्र नभएर प्रविधि र आधुनिकताको संगम भएको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले दाबी गरेको छ । अटो शोमा दुईपाङ्ग्रे, चारपाङ्ग्रे र कमर्शियल गरी कुल ५१ वटा ब्राण्डले आफ्ना उत्पादनहरू प्रदर्शन गर्दैछन् । नाडाको ५० वर्षको लामो इतिहास र यस वर्षको अटो शोको तयारी, आकर्षण र चुनौतीका विषयमा केन्द्रित रहेर नाडाका अध्यक्ष सुरेन्द्र कुमार उप्रेतीसँग विकासन्युजका नरेन्द्र विष्टले कुराकानी गरेका छन् । 

नाडा अटो शो सुरु हुन अब केही समयमात्र बाँकी छ । तयारीको अन्तिम चरणमा हुनुहुन्छ, कस्तो छ अहिलेको माहोल ?

हामी अहिले साँच्चै नै अत्यन्तै व्यस्त र उत्साहजनक घडीमा छौं । अटो शो सुरु हुन अब केही समय मात्र बाँकी रहँदा हामी तयारीको अन्तिम फिनिसिङमा छौं । भृकुटीमण्डपमा स्टल निर्माणदेखि लिएर सहभागी ब्रान्डहरूको व्यवस्थापनसम्मका कामहरू भइरहेका छन् । हाम्रा सदस्यहरू, सल्लाहकारहरू र तपाईंहरू जस्तो सञ्चारकर्मीहरूको साथले गर्दा हामी यो १८औं संस्करणलाई विगतको भन्दा अझ भव्य र व्यवस्थित बनाउन सफल हुनेमा ढुक्क छौं । यसपालिको अटो शोले नेपाली अटोमोबाइल क्षेत्रमा एउटा नयाँ ऊर्जा सञ्चार गर्नेछ ।

१८औं संस्करणसम्म आइपुग्दा नाडा अटो शोले नेपाली बजारमा आफ्नो एउटा विशिष्ट पहिचान बनाएको छ । यसपटकको शो विगतका वर्षहरूभन्दा कुन-कुन विषयमा फरक र विशेष छ ?

नाडा अटो शो आफैमा एउटा मौलिक ब्रान्ड बनिसकेको छ । तर, यसपटक हामीले यसलाई केवल गाडीको मेलामा मात्र सीमित राखेका छैनौं । यस वर्षको मुख्य नारा नै उद्योगदेखि रोजगारसम्म’ तय गरेका छौं । यसको अर्थ हामी अब गाडी आयात गर्ने र बेच्ने मात्र होइन, नेपालमै सवारी साधन उत्पादन र एसेम्ब्लिङ गर्ने दिशामा अघि बढ्दैछौं भन्ने सन्देश दिन चाहन्छौं ।

यसपटक हामीले मेड इन नेपाल पेभिलियन बनाएका छौं । जहाँ नेपालमै एसेम्बल भएका सवारीसाधनहरू जस्तै यात्री, सिप्रदीका उत्पादनहरू र अन्य स्वदेशी कम्पोनेन्ट्स उद्योगका उत्पादनहरूलाई प्राथमिकताका साथ प्रदर्शनीमा राखिएको छ । यसले नेपाली उद्योगीहरूलाई प्रोत्साहन गर्नेछ र उपभोक्ताहरूमा स्वदेशी उत्पादनप्रति विश्वास जगाउनेछ । त्यसैले, यो शो यसपटक आर्थिक राष्ट्रियता र औद्योगिक विकासको दृष्टिकोणले निकै फरक छ ।

नाडाको ५० वर्ष लामो इतिहास छ । एउटा संस्थाका लागि ५० वर्षको यात्रा निकै ठूलो कुरा हो । यो स्वर्णिम वर्षमा अटो शो आयोजना गर्दा कस्तो महसुस भइरहेको छ ?

५० वर्षको यात्रा कुनै पनि संस्थाका लागि गौरवको विषय हो । केही सीमित व्यापारीहरूबाट सुरु भएको यो संस्था आज ३ हजार भन्दा बढी सदस्यहरू भएको एउटा विशाल परिवार बनेको छ । यो ५० वर्षमा हामीले सवारीसाधन मात्र बेचेनौं, नेपालको मोबिलिटी, सडक सुरक्षा, प्राविधिक शिक्षा र कर प्रणालीमा समेत सरकारसँग सहकार्य गर्दै आएका छौं । यो स्वर्णिम वर्षमा अटो शो आयोजना गर्नु हाम्रा लागि एउटा उत्सव हो । हामीले यो ५० वर्षमा आर्जन गरेको अनुभव र विश्वासलाई यस शोमार्फत प्रदर्शन गर्न खोजिरहेका छौं ।

यसपटक स्टल र ब्रान्डहरूको संख्या कस्तो छ ? उपभोक्ताले एउटै छानामुनि के-के देख्न पाउनेछन् ?

यसपटकको शो विगतको तुलनामा निकै बृहत् छ । हामीसँग २०० भन्दा बढी स्टलहरू रहेका छन् । यो संख्या त हामीले व्यवस्थापन गर्न सकेको मात्र हो, माग त योभन्दा निकै धेरै थियो । त्यसैगरी, १५० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरूको सहभागिता छ । ग्राहकहरूले एउटै छानामुनि नयाँ मोडलका कार, मोटरसाइकल, स्कुटर मात्र होइन, लुब्रिकेन्ट्स, टायर, ब्याट्री, र अन्य स्पेयर पार्ट्सहरू पनि हेर्न र बुझ्न पाउनेछन् । यसबाहेक गाडी किन्ने योजनामा रहेकाहरूका लागि बैंकिङ सुविधा र इन्स्योरेन्सका स्टलहरू पनि सँगै छन् । यसले गर्दा उपभोक्ताले सम्पूर्ण अटोइकोसिस्टमको अनुभव एउटै ठाउँमा लिन पाउनेछन् ।

null

यसपटक रोबोटिक्सलाई पनि समावेश गरिएको सुनिन्छ । प्रविधिको यो प्रयोगले अटो शोमा कस्तो रौनकता थप्नेछ ?

हो, हामीले प्रविधिलाई सधैं प्राथमिकता दिँदै आएका छौं । गत वर्ष पनि हामीले रोबोटिक्सको प्रयोग गरेका थियौं र यसपालि त्यसलाई अझ व्यवस्थित रूपमा निरन्तरता दिएका छौं । यसको मुख्य उद्देश्य भनेको भविष्यको प्रविधिबारे मानिसहरूलाई जानकारी गराउनु हो । अहिले संसारभर ड्राइभरलेस कार र आर्टिफिसियल इन्टेलिजेन्सको चर्चा छ । रोबोटिक्सले कसरी मानवीय क्षमतालाई बढाउँछ र भविष्यको अटोमोबाइल क्षेत्र कस्तो हुन्छ भन्ने एउटा झलक यसले दिनेछ । हामीले प्रविधिलाई अंगाल्नुपर्छ र नयाँ पुस्तालाई यसप्रति आकर्षित गर्नुपर्छ भन्ने हाम्रो चाहना हो ।

सामान्यतया अटो शोलाई गाडी किन्नेहरूको मेला भनिन्छ । तर गाडी नकिन्ने वा हेर्न मात्र आउनेहरूका लागि तपाईंहरूसँग के अफर छ ?

यो केवल गाडी बेच्ने ठाउँ मात्र होइन, यो एउटा शैक्षिक र सूचनामूलक प्लेटफर्म पनि हो । हामी सबैलाई प्रदर्शनी हेर्न आउन आह्वान गर्छौं । त्यहाँ मोबिलिटीको भविष्यबारे कक्षाहरू सञ्चालन हुन्छन्। ई–मोबिलिटी, सडक सुरक्षा, बैंकिङ प्रक्रिया र कर प्रणालीबारे हामीले निःशुल्क जानकारीमूलक सेसनहरू राखेका छौं । 

हामीले त्यस्ता शैक्षिक सत्रमा सहभागी हुन चाहनेहरूका लागि फ्री पासको समेत व्यवस्था गरेका छौं । त्यसैले जो कोही पनि आएर त्यहाँका विज्ञहरूसँग कुरा गर्न सक्नुहुन्छ, जिज्ञासा राख्न सक्नुहुन्छ । आफूलाई मन परेको गाडीको बारेमा बुझ्न सक्नुहुन्छ । यो सूचना र ज्ञानको एउटा ठूलो भण्डार हो । 

गाडी किन्नेहरूका लागि विशेष के छ ? के नाडा अटो शोमा मात्र पाइने विशेष सहुलियतहरू छन् ?

पक्कै पनि ! नाडा अटो शोको सबैभन्दा ठूलो आकर्षण नै अफरहरू हुन् । सहभागी कम्पनीहरूबीच ग्राहक तान्नका लागि स्वस्थ प्रतिस्पर्धा हुन्छ । कुनै गाडीको बजार मूल्य छ भने अटो शोका लागि उनीहरूले विशेष मूल्य तय गरेका हुन्छन् । यति सस्तो मूल्य र यति धेरै उपहारहरू सायद वर्षभरि अरू बेला पाइँदैन । यसबाहेक वित्तीय क्षेत्रको कुरा गर्दा अहिले बैंक ब्याजदर इतिहासकै सस्तो छ । कतिपय बैंकहरूले ७ वर्षसम्मका लागि फिक्स ब्याजदरमा ऋण उपलब्ध गराइरहेका छन् । यसले गर्दा ग्राहकलाई भविष्यमा ब्याज बढ्ने डर हुँदैन । बैंकिङ, इन्स्योरेन्स र चार्जिङ सुविधा सबै एकै ठाउँमा भएकाले गाडी खरिद प्रक्रिया अत्यन्तै सहज छ ।

भृकुटीमण्डपको पूर्वाधारलाई लिएर सधैं प्रश्न उठ्ने गर्छ । सानो ठाउँ, बर्खाको समयमा हिलो र पानीको समस्या यसलाई यसपटक कसरी व्यवस्थापन गर्नुभएको छ ?

भृकुटीमण्डपको सीमितता हाम्रो लागि सधैंको चुनौती हो । काठमाडौंको मुटुमा अरू विकल्प नभएकाले हामीले यहीँ चित्त बुझाउनुपरेको छ । तर, यसपटक हामीले धेरै मेहनत गरेका छौं । सम्पूर्ण प्रदर्शनीस्थललाई वाटरप्रुफ बनाएका छौं । बर्खामा पानी चुहिने वा हिलो हुने समस्या नहोस् भनेर छानादेखि भुइँसम्म विशेष व्यवस्थापन गरिएको छ । सरसफाइ र शौचालयको व्यवस्थापनमा पनि हामीले ध्यान दिएका छौं । हामीले सरकारसँग पनि आग्रह गर्दै आएका छौं कि एउटा अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी केन्द्र चाँडै बनोस् । अहिलेको बजेटमा केही कुराहरू समेटिएका छन्, जुन सकारात्मक छ। आगामी दिनमा पार्किङ र सुरक्षा प्रविधियुक्त ठूलो ठाउँ उपलब्ध भयो भने हामी अझ ठूला मेलाहरू आयोजना गर्न सक्छौं ।

null

पार्किङको समस्या सधैंजसो हुन्छ । यसपटक अवलोकनकर्ताहरूका लागि पार्किङको के व्यवस्था छ ?

पार्किङको समस्या हल गर्न हामीले यसपटक एउटा नयाँ रुट र सटल बसको व्यवस्था गरेका छौं । अवलोकनकर्ताहरूले सुन्धाराको पार्किङ, आरएनएसी, आर्मी ग्राउन्ड, पुरानो बसपार्क र नेसनल ट्रेडिङको पार्किङ स्थल प्रयोग गर्न सक्नुहुन्छ । ती ठाउँहरूमा गाडी पार्क गरेपछि नाडाले उपलब्ध गराएको सटल बसले तपाईंलाई प्रदर्शनी स्थलसम्म ल्याउने र पुर्याउने काम गर्नेछ । ५ मिनेटभित्र बस आइपुग्ने व्यवस्था मिलाइएको छ। यसले गर्दा भृकुटीमण्डपको गेटमा हुने ट्राफिक जाम कम हुने हाम्रो अपेक्षा छ । साथै, प्रदर्शनी केन्द्रको पछाडि र पुलिसको ब्लु पेभिलियनमा पनि केही पार्किङको व्यवस्था मिलाइएको छ ।

पछिल्लो समय नेपाली सडकमा विद्युतीय सवारीसाधन (ईभी) को लहर नै चलेको देखिन्छ । यसपटकको शोमा ईभीको प्रभाव कस्तो रहला ?

यो परिवर्तनको समय हो । अहिले संसारभर नै ईभीको लहर छ र नेपाल पनि यसबाट अछुतो छैन । अहिलेको बजारमा ७५ देखि ८० प्रतिशत हिस्सा ईभीले ओगटिसकेको छ । यो वातावरणीय हिसाबले राम्रो मात्र होइन, नेपालको आफ्नै बिजुली खपत बढाउन र पेट्रोलियम पदार्थको आयात घटाउन पनि निकै ठूलो भूमिका खेलिरहेको छ ।

हाम्रो लागि ईभी अब विकल्प होइन, अपरिहार्यता भइसकेको छ । यसपटकको शोमा ईभीका धेरै नयाँ मोडलहरू लन्च हुँदैछन्। ईभीसँगै यसको पूर्वाधार, जस्तै चार्जिङ स्टेसन र ब्याट्री व्यवस्थापनका बारेमा पनि हामीले धेरै स्टलहरू राखेका छौं । अबको बहस ईभी कि पेट्रोलियम भन्नेमा होइन, ईभीको पूर्वाधार कसरी बलियो बनाउने भन्नेमा केन्द्रित हुनुपर्छ । 

अटो व्यवसायीहरूले भोगिरहेको मुख्य समस्या चाहिँ के हो ? सरकारी नीतिमा तपाईंहरूको के गुनासो छ ?

व्यवसायीको लागि सबैभन्दा ठूलो कुरा भनेको नीतिगत स्थिरता हो। नेपालमा सरकार छिटो-छिटो परिवर्तन हुने र सँगसँगै नीतिहरू पनि परिवर्तन हुने परिपाटी छ । प्रत्येक बजेट भाषणमा सवारी साधनको करका दरहरू परिवर्तन भइदिँदा व्यवसायी र ग्राहक दुवै अन्योलमा पर्छन् । अटोमोबाइल क्षेत्र नेपालको राजस्वको एउटा ठूलो स्रोत हो । यसलाई अस्थिर बनाउनु हुँदैन । हामी चाहन्छौं कि सरकारले कम्तीमा ५/१० वर्षका लागि एउटा स्थिर नीति ल्याओस् ताकि व्यवसायीले निर्धक्कसँग लगानी गर्न सकून् । उद्योग स्थापना र एसेम्ब्लिङका लागि पनि दीर्घकालीन सोच आवश्यक छ ।

उद्योगदेखि रोजगारसम्म भन्ने नारा साँच्चै नै महत्त्वाकांक्षी छ । के नेपाल साँच्चै अटोमोबाइलमा आत्मनिर्भर हुन सक्छ ?

यो असम्भव छैन, हामीले सुरु गरिसकेका छौं । नेपालमा एसेम्ब्लिङ उद्योगहरू खुल्न थालेका छन् । जब नेपालमा गाडी बन्न थाल्छ, त्यसले हजारौंको सङ्ख्यामा रोजगारी सिर्जना गर्छ । गाडीको इकोसिस्टम निकै ठूलो हुन्छ ग्यारेज, टायर पसल, स्पेयर पार्टस्, चार्जिङ स्टेसन, सर्भिसिङ सेन्टर यी सबैले रोजगारी दिन्छन् । हाम्रा दाजुभाइ, दिदीबहिनी रोजगारीका लागि विदेश जानुपर्ने अवस्था अन्त्य गर्न अटोमोबाइल क्षेत्रले ठूलो भूमिका खेल्न सक्छ । सरकारले अलिकति सहयोग र संरक्षण गरिदियो भने हामी गाडी मात्र होइन, यसका कम्पोनेन्ट्सहरू पनि नेपालमै बनाएर निर्यात गर्ने क्षमता राख्छौं ।

अन्तमा यो शो हेर्न आउने तयारीमा रहेका देशभरका अटो प्रेमीहरूलाई तपाईंको सन्देश के छ ?

म सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई भाद्र ९ गतेदेखि १४ गतेसम्म भृकुटी मण्डपमा हुन गइरहेको १८औं नाडा अटो शोमा निमन्त्रणा दिन चाहन्छु । यो केवल व्यवसायीको शो मात्र होइन, यो तपाईं, हाम्रो शो हो । यहाँ आउनुस्, नयाँ प्रविधि हेर्नुस्, अनुभव लिनुस् । तपाईं गाडी किन्ने सोचमा हुनुहुन्छ भने यो सबैभन्दा उत्तम समय हो । यदि किन्ने सोचमा हुनुहुन्न भने पनि भविष्यको मोबिलिटी कस्तो हुँदैछ भनेर बुझ्न एकपल्ट अवश्य पाल्नुहोला । तपाईंहरूका केही सल्लाह वा सुझाव छन् भने पनि हामीलाई दिनुहोला, हामी त्यसलाई अंगाल्दै अघि बढ्नेछौं । 

Share News