नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?

  २०७७ पुष ७ गते १८:३५     विकासन्युज

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७५/७६ को नाफाबाट सेयरधनीलाई ५१ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

पुस ७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सेयरधनीलाई ३१ प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांश गरी कूल ५१ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

कम्पनीले १ करोड ७० लाख ३८ हजार ९८ दशमलव ५१ कित्ता बराबरको सेयर लाभांश र १ अर्ब ९ करोड रूपैयाँ बराबरको नगद लाभांश दिने प्रस्ताव गरेको जनाएको हो । उक्त प्रस्ताव बीमा समिति र कम्पनीको वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण गरिनेछ ।

उक्त प्रस्तावलाई बीमा समितिले स्वीकृत तथा कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्रको लाभांश पाउने छन् ।

हाल कम्पनीको चुक्ता पुँजी ५ अर्ब ४९ करोड रुपैयाँ रहेको छ । ३१ प्रतिशत बोनस पछि कम्पनीको चुक्ता पुँजी ७ अर्ब १९ करोड रुपैयाँ नाघ्ने छ ।

उक्त प्रस्तावित लाभांश अघिल्लो आर्थिक वर्षको तुलनामा बढी हो । कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७४/७५ को नाफाबाट सेयरधनीलाई २५ प्रतिशत बोनस र २३.५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

आज पुस ७ गते मंगलबारको बजारमा कम्पनीको सेयर मूल्य सर्किट लेभलमा कारोबार भएको थियो । बजार खुल्दा प्रतिकित्ता २ हजार १३८ रुपैयाँ रहेको कम्पनीको सेयर मूल्य ९.९६ प्रतिशतले बढेर प्रतिकित्ता २ हजार ३५१ रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा प्रतिकित्ता २१३ रुपैयाँले बढी हो ।

जीवन बीमा कम्पनीहरूमध्ये करिब एक तिहाई बजारहिस्सा ओगटेको यस कम्पनीको जीवन बीमा क्षेत्रकै सर्वाधिक करिब ५ अर्ब ५० करोड रूपैयाँ रहेको चुक्तापूँजी लाभांश वितरण पश्चात ७ अर्ब १९ करोड रूपैयाँ हुनेछ भने लगानी १०४ अर्ब रुपैयाँ रहेको छ । त्यस्तै, कम्पनीको जीवन बीमा कोष ९४ अर्ब ८२ करोड रुपैयाँ र शेयरधनी कोष ९ अर्ब ७७ करोडभन्दा बढी रहेको छ ।

कम्पनीले यस आर्थिक वर्षको मंसिर समान्त सम्ममा जम्मा १३ अर्ब ३१ करोड रूपैयाँ बीमा शुल्क संकलन गरेको छ । १ लाख ६७ हजार ५ सय ६५ प्रशिक्षित अभिकर्ता रहेको यस कम्पनीले आफ्ना सेवाग्राहीहरू तथा ग्राहकहरूका लागि हालसम्म देशभर फैलिएका २ सय शाखा तथा उप शाखा कार्यालयहरु मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ ।

हालसम्म स्वदेश र विदेश गरी २८ लाख २० हजार १ सय ९६ व्यक्ति यस कम्पनीमा बीमित भइसकेका छन् । ग्राहकहरूको हितलाई ध्यानमा राखी यस कम्पनीले समयसापेक्ष आवश्यक थप सेवा तथा सुविधाहरूसमेत उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.