अर्थतन्त्रमा कोरोना असरः राष्ट्र बैंकको नजरमा ५ क्षेत्र बढी जोखिममा

  २०७६ फागुन २८ गते १६:३८     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले विश्वभर महामारीको रुप लिइरहेको कोरोना भाइरस (कोभिड–१९) ले सबैभन्दा असर पार्ने नेपाली अर्थतन्त्रको ५ क्षेत्र पहिचान गरेको छ ।

नेपालको पर्यटन, रेमिटान्स, प्रत्येक्ष विदेशी लगानी, शोधनान्तर अवस्था र वित्तीय स्थायित्वमा धेरै असर पार्ने राष्ट्र बैंकको भनाइ छ । नेपालको व्यापारिक सम्बन्ध भएका देश, रोजगारी प्रदान गर्ने प्रमुख राष्ट्र तथा पर्यटकीय सम्भावना उच्च भएका देशको अर्थतन्त्रमा पनि असर परेको र नेपालको आन्तरिक अर्थ व्यवस्था पनि कमजोर हुने भएकोले यी ५ क्षेत्रमा सबैभन्दा बढी असर देखिने राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले जानकारी दिए ।

‘पर्यटन क्षेत्रमा अहिले नै गम्भीर असर देखिइसकेको छ, रेमिटान्स आयमा पनि असर देखिने संकेत मिलेको छ, वाह्य क्षेत्रको चुनौति बढ्ने तथा नेपालको वित्तीय स्थीरतामा प्रतिकूल असर पर्ने देखिन्छ,’ राष्ट्र बैंकको अनुसन्धान विभागका प्रमुखसमेत रहेका प्रवक्ता डा. भट्टले विकासन्युजसँग भने ।

विश्वभर सन्त्रास फैलाएको कोरोना भाइरसको असर सबैभन्दा पहिला नेपालको पर्यटन क्षेत्रमा देखिएको छ । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउने घोषणा गरेको थियो । सरकारको यस्तो घोषणा र तयारीलाई केन्द्रीत गरेको निजी क्षेत्रले पनि पर्यटन क्षेत्रमा लगानी बढाएको थियो ।

सरकारले नेपाल भ्रमण वर्ष मनाउने भएपछि निजी क्षेत्रले एयरलाइन्स, होटल, रेष्टुरेन्ट तथा लज, ट्राभल, ट्रेकिङ जस्ता पर्यटकीय व्यवसायसँग सम्बन्धित क्षेत्रमा लगानी बढाएका थिए । तर, विश्वभर कोरोना संक्रमण बढेसँगै सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्षको प्रचार प्रसार लगायतका प्रायः सबै गतिविधि अनौपचारिक रुपमा रोकिएका छन् ।

कोरोना प्रभावको कारण विश्वका अधिकांश देशले अन्तराष्ट्रिय हवाई उडान रद्द गरेका छन् । कतिपय देशहरुमा त अन्य देशसँगको हवाई सम्पर्क नै टुटेको छ । आफूहरुको व्यवसाय चौपट भएको भन्दै हवाई सेवा संचालक संघले बैंकबाट लिएको ऋणको नियमित किस्ता, बीमा शुल्क जस्ता भुक्तानीमा समेत समस्या भएको बताएको छ ।

कोरोना संक्रमण बढेसँगै विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोना संक्रमणको उच्च जोखिममा राखेको छ । यद्यपि नेपालमा कोरोना संक्रमण पुष्टी भने अझै भएको छैन ।

विश्व स्वास्थ्य संगठनले कोरोना संक्रमणको उच्च जोखिममा राख्नु र नेपाल भ्रमणमा आउने पर्यटकको देशमा पनि कोरोना संक्रमण बढ्नु जस्ता कारणले होटल बुकिङ रद्द भएका छन् । नेपाल आउने पर्यटकको कमी हुने तथा पहिला बुकिङ भइसकेको पनि रद्द भएकोले होटल क्षेत्र कोरोनाबाट अधिक प्रभावित भएको छ ।

कोरोना भाइरस सन्त्रासको कारण पर्यटक आगमन कम भएर नेपालमा प्राप्त हुने ट्राभल आय घट्ने डा. भट्टले बताए । यद्यपि कोरोना संक्रमण देखिनु अघि नै पनि नेपालमा आउने पर्यटक गत वर्षको तुलनामा कम थियो । यस्तै, कोरोना सन्त्रासको कारण आन्तरिक पर्यटनमा पनि कमी आएको छ । आन्तरिक पर्यटनमा कमी आउँदा बन्द व्यापार, उद्योग, यातायात जस्ता क्षेत्रका आर्थिक गतिविधि कम भएका छन् ।

कोरोना भाइरस संक्रमणको कारण नेपाली अर्थतन्त्रको मेरुदण्ड जस्तै बनेको रेमिटान्स आयमा कमी देखिने भएको छ । नेपालीलाई सबैभन्दा धेरै रोजगारी दिइरहेका खाडी देशमा कोरोना संक्रमण फैलिएको, पेट्रोलियम पदार्थको मूल्य घटेका कारण ती देशको अर्थतन्त्रमा अर्काे प्रकारको समस्या देखिएकोले रेमिटान्स घट्न सक्ने अनुमान राष्ट्र बैंकको छ ।

आर्थिक गतिविधिमा शिथिलता आउँदा बैंकिङ क्षेत्रबाट प्रवाह भएको ऋणको नियमित किस्ता भुक्तानीमा समस्या उत्पन्न हुने र त्यसले वित्तीय स्थीरतामै समस्या पार्न सक्ने प्रारम्भिक अनुमान राष्ट्र बैंकको छ ।

कोरोना संक्रमणको विस्तारकै कारण नेपालमा आउने प्रत्येक्ष विदेशी लगानी पनि घट्ने देखिएको छ । रेमिटान्स र प्रत्येक्ष विदेशी लगानीमा कमी आउँदा नेपालको शोधनान्तर अवस्थामा समस्या आउन सक्ने आकलन राष्ट्र बैंकको छ । तर, नेपालमा उत्पन्न भएको असहज अवस्थालाई दृष्टिगत गरी विदेशी अनुदान र ऋण धेरै आयो भने शोधनान्तर अवस्थामा खासै समस्या देखिने छैन ।

सम्बन्धित सामग्री

कोरोनाले नेपाली अर्थतन्त्रको खम्बा हल्लायो, आधा रेमिटान्स आउने देशमा नेपालीलाई ‘नो इन्ट्री’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.